जुन हृदय परिवर्तनद्वारा हामी परमेश्वरका सन्तान बन्न पुग्दछौं त्यसैलाई बाइबलले नयाँ जन्म भनी बताउँदछ । यसलाई किसानद्वारा रोपिएको असल बीउको अंकुरणसित पनि तुलना गरिएको छ । यसरी नै जो-जति भर्खरै मात्र ख्रीष्टमा परिवर्तन भएका छन् तिनीहरू, “नयाँ जन्मेका बालकहरूजस्तै” हुन् जो येशू ख्रीष्टमा पूर्ण कदसम्मै बढ्दै जानुपर्नेछ । १ पत्रुस २:२; एफिसी ४:१५ । बारीमा रोपिएको असल बीउझैँ तिनीहरूपनि बढ्नुपर्ने तथा फल फलाउनुपर्नेछ । यशैया बताउँदछ कि “उहाँका गौरवको प्रर्दशन होस् भनेर परमप्रभुले नै रोप्नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन् ।” यशैया ६१:३ । यसरी हामीलाई आत्मिक जीवनका रहस्यमय सत्यताहरू अझ सहजतापूर्वक बुझ्नमा मद्दत पुगोस् भन्ने हेतुले प्राकृतिक जीवनबाट दृष्टान्तहरू रचिएका छन् । SB 75.1
मानिसको सारा बुद्धि तथा सीपले प्रकृतिको सबैभन्दा सानो वस्तुमा पनि जीवन उत्पन्न गर्न सक्दैन । केवल स्वयं परमेश्वर आफैंले दिनुभएको जीवनद्वारा मात्र वनस्पति तथा प्राणीहरू बाँच्न सक्दछन् यसरी परमेश्वरबाट प्राप्त हुने जीवनद्वारा मात्र मानिसको हृदयमा आत्मिक जीवन उत्पन्न हुने गर्दछ । कुनै व्यक्ति माथिबाट “जन्मेन भने” ऊ त्यस जीवनको भागीदार बन्न सक्नेछैन जुन जीवन प्रदान गर्नका निम्ति नै ख्रीष्ट आउनुभयो । यूहन्ना ३:३ । SB 75.2
जुन कुरा जीवनमा लागू हुन्छ सोही कुरा वृद्धिमा पनि लागू हुन्छ । परमेश्वरले कोपिलालाई फक्रने तुल्याउनुहुन्छ तथा फूललाई फुलाउनुहुन्छ । उहाँको शक्तिद्वारा बीउमा वृद्धि आउँछ, “पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ ।” मर्कूस ४:२८ । इस्राएलको बारेमा भविष्यवक्ता होशे यसो भन्दछन्, “त्यो लिली फूलझैँ फुल्नेछ ।” “मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ ।” होशे १४:५, ७ येशूले हामीलाई “लिली फूललाई विचार गर,”— ती कसरी बढ्छन् भनी आज्ञा दिनुहुन्छ । लूका १२:२७ । वनस्पति तथा फूलहरू स्वयं आफ्नै व्याकुलता, फिक्री वा प्रयासद्वारा वृद्धि हुँदैनन्, तर त्यही कुरा प्राप्त गरेर वृद्धि हुने गर्छन् जुन तिनीहरूकै जीवनलाई पूर्ति गर्नका निम्ति परमेश्वरले जुटाइदिनुभएको छ । कुनै एक बालकले स्वयं आफ्नै फिक्री वा शक्तिद्वारा आफ्नो उचाइमा वृद्धि ल्याउन सक्दैन । यसरी नै तपाईंले स्वयं आफ्नै फिक्री वा प्रयासद्वारा आत्मिक वृद्धि प्राप्त गर्न सक्नुहुनेछैन । वनस्पति तथा कुनै एक बालक वातावरणबाट वायु, घाम र भोजन जस्ता जीवनमा अति आवश्यक वस्तुहरू प्राप्त गरेर वृद्धि हुन्छन् । जसरी प्राणी तथा वनस्पति जगतको निम्ति प्रकृतिका देनहरूका ठूलो महत्व छ त्यसरी नै ज-जसले ख्रीष्टमाथि भरोसा राख्दछन् तिनीहरूका निम्ति पनि उहाँको महत्व ठूलो हुनेछ । उहाँ तिनीहरूका “सदाको ज्योति” तथा “सूर्य र ढाल” हुनुहुन्छ । यशैया ६०:१९; भजनसंग्रह ८४:११ । उहाँ “इस्राएलको निम्ति शीतझैँ” हुनुहुनेछ । उहाँ “काटिएको चउरमा परेको वर्षाझैँ” हुनुहुनेछ । होशे १४:५; भजनसंग्रह ७२:६ । उहाँ जिउँदो पानी, “परमेश्वरको रोटी” हुनुहुन्छ...“जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ ।” यूहन्ना ६:३३ । SB 76.1
परमेश्वरले आफ्नो पुत्ररूपी अनुपम उपहारमार्फत सारा संसारलाई अनुग्रहको बायुमण्डलद्वारा ढाक्नुभएको छ जुन पृथ्वीमा बहने वायुजस्तै वास्तविक छ । जो-जति मानिसहरू यस जीवन प्रदान गर्ने वायुमण्डल सेवन गर्ने रोजाइ गर्दछन् तिनीहरू येशू ख्रीष्टमा पूर्ण कदसँगै वृद्धि हुँदै जानेछन् । SB 77.1
जसरी फूल सूर्यतर्फ फर्कंदा यसको सौन्दर्यलाई पूर्ण तुल्याउनमा उज्यालो ज्योतिले मद्दत पुऱ्याउँदछ, त्यसरी नै हामी पनि धार्मिकताको सूर्यतर्फ फर्कनुपर्छ, ताकि स्वर्गको ज्योति हामीमाथि चम्किनेछ, ताकि हाम्रो चरित्र ख्रीष्टको स्वरूपमा बढ्न सक्नेछ । SB 77.2
येशू यही कुरा सिकाउनुहुन्छ जब उहाँ यसो भन्नुहुन्छ, “ममा रहो, र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ ।...मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।” यूहन्ना १५:४, ५ । जसरी हाँगा बढ्न तथा त्यसमा फल लाग्नका निम्ति यो मूल बोटमाथि निर्भर रहनुपर्छ त्यसरी नै एक पवित्र जीवन जिउनको निम्ति तपाईं पनि ख्रीष्टमा निर्भर रहनुपर्नेछ । उहाँदेखि अलग रहेर तपाईंमा कुनै जीवन हुनेछैन । तपाईंमा परीक्षाको सामना गर्ने तथा अनुग्रह र पवित्रतामा बढ्ने कुनै शक्ति हुनेछैन । उहाँमा रहेको खण्डमा तपाईंको उन्नति हुनेछ । उहाँबाट जीवनरूपी रस प्राप्त गर्नुभए पश्चात् तपाईं न त ओइल्याउनुहुनेछ न फलरहित नै बन्नुहुनेछ । तपाईं नदीको किनारामा रोपिएको रूखझैँ बन्नुहुनेछ । SB 77.3
कैयौं मानिसहरूले कामको केही अंश आफैंले एक्लै पूरा गर्नुपर्नेछ भन्ने विचारधारा राख्ने गर्दछन् । तिनीहरूले पाप क्षमाको निम्ति ख्रीष्टमाथि विश्वास गरेका हुन्छन्, तर अब तिनीहरू स्वयं आफ्नै प्रयासहरूद्वारा शुद्ध जीवन व्यतित गर्ने प्रयत्न गर्दछन्, तर हरेक यस्तो प्रयास असफल हुनैपर्छ । येशू भन्नुहुन्छ, “मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।” अनुग्रहमा हाम्रो वृद्धि, हाम्रो आनन्द, हाम्रो उपयोगिता जस्ता सबै कुराहरू ख्रीष्टसँग भएको हाम्रो मिलापमा निर्भर रहन्छन् । उहाँसित दैनिक वा प्रत्येक घण्टा सम्पर्कमा रहेर, वा उहाँमा रहेर नै हामी अनुग्रहमा बढ्नुपर्नेछ । उहाँ हाम्रा विश्वास शुरु गर्नुहुनेवाला मात्र हुनुहुन्न तर पूरा गर्नुहुनेवाला पनि हुनुहुन्छ । ख्रीष्ट प्रथम, अन्तिम, तथा सदासर्वदा हुनुहुन्छ । उहाँ हाम्रो यात्राको शुरु तथा अन्त्यमा मात्र हामीसँग हुनुहुने होइन तर हाम्रो यात्राको हरेक पाइलामा हाम्रै साथमा हुनुहुनेछ । दाऊद भन्दछन्, “मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु । उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्नेछैनँ ।” भजनसंग्रह १६:८ । SB 78.1
के तपाईं “म कसरी ख्रीष्टमा रहनुपर्छ” भनी प्रश्न गर्नुहुन्छ ? त्यही रीतिले जसरी तपाईंले उहाँलाई सर्वप्रथम ग्रहण गर्नुभयो । “यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गऱ्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ ।” “धर्मी जन विश्वासद्वारा जिउनेछ ।” कलस्सी २:६; हिब्रू १०:३८ (KJV)। तपाईंले पूर्णरूपमा परमेश्वरकै हुनका निम्ति, र उहाँको सेवा गर्न तथा उहाँको आज्ञापालन गर्नका निम्ति स्वयंलाई उहाँमा सुम्पनुभएको छ, र तपाईंले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ । स्वयं तपाईं आफैंले आफ्नो पाप प्रायश्चित्त गर्न वा आफ्नो हृदय परिवर्तन गर्न सक्नुहुनेथिएन; तर स्वयं आफैंलाई परमेश्वरमा समर्पण गर्नुभई तपाईं यो विश्वास गर्नुहुन्छ कि उहाँले ख्रीष्टकै खातिर यी सबै काम तपाईंको निम्ति गर्नुभयो । विश्वासद्वारा तपाईं ख्रीष्टको जन बन्नुभयो र विश्वासलाई बाँडचूँड गर्दै तपाईं उहाँमा बढ्नुपर्नेछ । तपाईंले आफ्नो सारा थोक—आफ्नो हृदय, आफ्नो इच्छाशक्ति र आफ्नो सेवा उहाँमै समर्पित गर्नुपर्छ । उहाँका सारा व्यवस्थाहरू पालन गर्नका निम्ति स्वयं आफैंलाई उहाँमा समर्पित गर्नुहोस्; र तपाईंले आफ्नो हृदयमा बसाल्नका निम्ति, आफ्नो शक्ति, धार्मिकता, अनन्तको सहायक बनाउन तथा तपाईंलाई आज्ञापालन गर्ने शक्ति प्रदान गर्नका निम्ति ख्रीष्टलाई ग्रहण गर्नुपर्छ जो सारा आशिष्हरूका पूर्णता हुनुहुन्छ । SB 78.2
बिहानको समयमै स्वयं आफैंलाई परमेश्वरमा समर्पित गर्नुहोस्; यसलाई तपाईंको सबैभन्दा प्रथम कार्य बनाउनुहोस् । तपाईंले यसरी प्रार्थना गर्नुहोस्, “हे परमप्रभु मलाई पूर्णरूपले तपाईंकै जनको रूपमा ग्रहण गर्नुहोस् । म आफ्ना सारा योजनाहरू तपाईंको चरणमा राख्दछु । मलाई आज तपाईंको सेवामा प्रयोग गर्नुहोस् । मसँग रहनुहोस्, र मेरा सारा कामहरू तपाईंको लागि समर्पित रहोस् ।” यही नै एक दैनिक प्रसंग हुनुपर्छ । प्रत्येक बिहान त्यस दिनको निम्ति स्वयं आफैंलाई परमेश्वरमा अर्पण गर्नुहोस् । तपाईंका सारा योजनाहरू उहाँमा समर्पित गर्नुहोस्, जुन उहाँको दूरदृष्टिले सूचित गरेअनुसार कार्यान्वयन गरिनुपर्नेछ वा त्यागिनुपर्नेछ । यसप्रकार दिन प्रतिदिन तपाईंको आफ्नो जीवन झन्-झन् बढ्तारूपमा ख्रीष्टको जीवनको स्वरूपमा परिवर्तित हुँदै जानेछ । SB 79.1
ख्रीष्टमा रहेका जीवन एक शान्तिको जीवन हो । त्यहाँ कुनै परमानन्दको अनुभव नहुन सक्छ तर त्यहाँ एक सदा रहिरहने शान्तिमय भरोसा हुनेछ । तपाईंको आशा स्वयं आफैंमा छैन; तर यो त ख्रीष्टमा छ । तपाईंको कमजोरी उहाँको शक्तिसित, तपाईंको अज्ञानता उहाँको ज्ञानसित तथा तपाईंको दुर्बलता उहाँको स्थाई शक्तिसित जोडिन पुग्दछन् । तसर्थ तपाईंले स्वयं आफैंलाई हेर्नुहुँदैन, मनलाई आफैंमाथि केन्द्रित रहन दिनुहुँदैन तर यसको सट्टा ख्रीष्टतर्फ हेर्नुहोस् । आफ्नो मन उहाँको प्रेम, उहाँको चरित्रको सौन्दर्य तथा पूर्णतामाथि केन्द्रित रहन दिनुहोस् । ख्रीष्टले आत्म-त्यागको जीवन व्यतित गर्नुभएको, उहाँले अपमान सहनुभएको, शुद्धता र पवित्रताका साथ जीवन व्यतित गर्नुभएको तथा ख्रीष्टसँग भएको अनुपम प्रेम—यी सबै कुराहरू नै हाम्रो निम्ति मनन गर्नुपर्ने विषयहरू हुन् । उहाँलाई प्रेम गरेर, उहाँको अनुकरण गरेर, उहाँमाथि पूर्णरूपले निर्भर रहेर नै तपाईं उहाँको स्वरूपमा परिवर्तन हुँदै जानुपर्नेछ । SB 80.1
येशू भन्नुहुन्छ “ममा रहो ।” यी शब्दहरूले विश्राम, स्थिरता तथा भरोसाको भावना प्रकट गर्दछन् । उहाँ पुनः यसरी आमन्त्रण गर्नुहुन्छ, “मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु ।” मत्ती ११:२८ । भजनसंग्रहका लेखकका वचनहरूले पनि यही विचारलाई प्रकट गरेका छन्; “परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर ।” र यशैया विश्वास दिलाउँदछन्, “मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्छ ।” भजनसंग्रह ३७:७; यशैया ३०:१५ । यो विश्राम निष्क्रियतामा पाईंदैन; किनकि मुक्तिदाताको निमन्त्रणामा विश्रामको प्रतिज्ञालाई परिश्रम गर्ने यो आव्हानसित जोडिएको छ: “मेरो जुवा आफूमाथि लेओ,...अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ ।” मत्ती ११:२९ । जुन व्यक्तिले ख्रीष्टमा पूर्णरूपले विश्राम लिएको हुन्छ सो व्यक्ति उहाँको निम्ति परिश्रम गर्नमा सबैभन्दा बढी उत्सुक तथा सक्रिय रहनेछ । SB 80.2
जब मन स्वयं आफैंमाथि केन्द्रित रहन्छ, तब यो शक्ति र जीवनको मुहान ख्रीष्टदेखि तर्किने गर्दछ । तसर्थ ध्यानलाई मुक्तिदातादेखि मोड्नु नै शैतानको निरन्तर प्रयास हो; ताकि यसरी उसले आत्मा र ख्रीष्ट बीचको मिलाप तथा संगतिमाथि अवरोध उत्पन्न गर्न सक्नेछ । संसारका सुख-चैनहरू, जीवनका फिक्री, व्याकुलता र शोक, अरूका गल्ती वा स्वयं तपाईं आफ्नै गल्ती तथा दोषहरूमार्फत शैतानले मन मोड्ने प्रयत्न गर्नेछ । उसका छलकपटहरूद्वारा भ्रममा नपर्नुहोस् । कैयौं मानिसहरू जो वास्तवमा विवेकशील छन्, जो परमेश्वरको निम्ति जिउन चाहन्छन्, शैतानले कैयौं पटक तिनीहरूलाई आफ्नो भुल तथा कमजोरीहरूमाथि ध्यान केन्द्रित गर्नेतर्फ अभिप्रेरित गर्दछ र यसरी तिनीहरूलाई ख्रीष्टबाट अलग तुल्याई असल विजय प्राप्त गर्ने आशा राख्दछ । हामीले स्वयं आफैंलाई केन्द्र बनाई उद्धार पाउनेछौं वा छैनौं भनी अन्योलता तथा भयमा डुब्नुहुँदैन । यी सबै कुराहरूले आत्मालाई हाम्रो शक्तिको मुहानदेखि तर्काउने गर्दछ । तपाईंको आत्मालाई सुरक्षित राख्ने जिम्मा परमेश्वरमा नै सुम्पने गर्नुहोस् र उहाँमाथि भरोसा राख्नुहोस् । येशूको बारेमा बोल्ने तथा मनन गर्ने गर्नुहोस् । स्वयं आफैंलाई उहाँमै विलिन हुन दिनुहोस् । सारा शंकाहरूलाई हटाउनुहोस् तथा आफ्ना डरहरूलाई त्याग्नुहोस् । प्रेरित पावलसँगै यसो भन्नुहोस्, “अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो ।” गलाती २:२० । परमेश्वरमा विश्राम लिनुहोस् । जुन कुरा तपाईंले उहाँलाई सुम्पनुभएको छ, त्यसलाई सुरक्षित राख्न उहाँ सामर्थी हुनुहुन्छ । यदि तपाईंले स्वयं आफैंलाई उहाँको हातमा सुम्पनुभयो भने उहाँले तपाईंलाई उहाँमार्फत विजेताभन्दा महान् तुल्याउनुहुनेछ जसले तपाईंलाई प्रेम गर्नुभएको छ । SB 81.1
जब ख्रीष्टले मानव स्वभाव धारण गर्नुभयो तब उहाँले मानवजातिलाई त्यस प्रेमको वन्धनद्वारा स्वयं आफैंमा बाँध्नुभयो जसलाई स्वयं मानिसकै रोजाइले बाहेक अरू कुनै शक्तिले पनि कदापि तोड्न सक्नेछैन । हामीलाई यस बन्धनलाई तोड्न प्रेरित गर्नका निम्ति तथा स्वयं आफैंलाई ख्रीष्टबाट अलग तुल्याउने रोजाइ गराउनका निम्ति शैतानले निरन्तर रूपमा प्रलोभनहरू प्रस्तुत गर्नेछन् । हामीले होसियार बन्नुपर्ने, चेष्टा गर्नुपर्ने, तथा प्रार्थना गर्नुपर्ने कुरा यही हो कि हामीलाई अर्को मालिक रोज्नेतर्फ कुनै पनि कुराले मोहित नपारोस्; किनकि हामी यसो गर्नका निम्ति सदा स्वतन्त्र छौं । तर हामीले आफ्नो दृष्टि ख्रीष्टमै केन्द्रित राखौं, र उहाँले हामीलाई रक्षा गर्नुहुनेछ । येशूतर्फ हेर्नुमा नै हाम्रो सुरक्षा छ । हामीलाई कुनै पनि कुराले उहाँको हातदेखि खोस्न सक्दैन । उहाँतर्फ निरन्तर रूपमा हेर्दा-हेर्दै “एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं । परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ ।” २ कोरिन्थी ३:१८ । SB 82.1
यसरी नै प्रथम चेलाहरूले आफ्ना प्रिय मुक्तिदाताको स्वभाव हासिल गरेका थिए । जब ती चेलाहरूले येशूको वचन सुने तब तिनीहरूले आफ्ना जीवनमा येशूको आवश्यकताको बारेमा महसूस गरे । तिनीहरूले उहाँलाई खोजे, अनि भेटे, र त्यसपछि पछ्याए । तिनीहरू घरमा, टेबुलमा, भित्री कोठामा तथा खेतमा उहाँसँगै थिए । तिनीहरू एक गुरुको सामुन्ने शिष्यहरूका रूपमा उहाँको साथमा थिए, र दैनिक उहाँको ओठबाट पवित्र शिक्षा प्राप्त गर्ने गदर्थे । आफ्ना कर्तव्य सिक्नका निम्ति तिनीहरूले उहाँलाई जसरी एक सेवकले आफ्नो मालिकतर्फ हेर्ने गर्दछ त्यसरी नै हेर्ने गदर्थे । ती चेलाहरू “हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए ।” याकूब ५:१७ । तिनीहरूले पनि हामीले जस्तै पापको विरुद्धमा संघर्ष गर्नुपर्नेथियो । एक पवित्र जीवन जिउनका निम्ति तिनीहरूलाई पनि त्यही अनुग्रहको आवश्यकता थियो । SB 83.1
यूहन्ना, जसलाई येशूले प्रेम गर्नुहुने चेला भनिन्छ, जसले मुक्तिदाताको चरित्रलाई सबैभन्दा पूर्णरूपमा प्रतिविम्ब गरेका थिए, उनी पनि स्वभाविक रूपले चरित्रमा त्यस सौन्दर्यताले भरिपूर्ण थिएनन् । उनी केवल हठी तथा प्रतिष्ठाको लागि महत्वकांक्षी मात्र थिएनन्, तर आफूमाथि हानि आइपर्दा प्रचण्ड तथा रिसाह बन्ने गर्दथे । तर जसै उनलाई ईश्वरीय चरित्र प्रकट गरियो, तब उनले स्वयं आफ्नै कमी कमजोरी देखे र ज्ञानद्वारा नम्र बन्न पुगे । परमेश्वरको पुत्रको दैनिक जीवनमा उनले जुन शक्ति र धैर्यता, सामर्थ्य र कोमलता, गौरव र नम्रता देखेका थिए, ती सबैले उनको आत्मालाई प्रशंसा तथा प्रेमले भरिपूर्ण तुल्याइदियोे । दिन प्रतिदिन उनको हृदय तबसम्म आकर्षित बन्दै गयो जबसम्म उनले आफ्नो गुरूप्रति प्रेमको भावनाले गर्दा स्वयं आफ्नै अस्तित्वको बारेमा दृष्टि गुमाए । उनको रिसाह तथा महत्वाकांक्षी स्वभावलाई ख्रीष्टको परिवर्तन गर्न सक्ने शक्तिको अधीनमा सुम्पिएको थियो । पवित्र आत्माको पुनर्जीवन दिन सक्ने शक्तिले उनको हृदयलाई पुनः नयाँ तुल्याइदिएको थियो । ख्रीष्टको प्रेमको शक्तिले चरित्रमा परिवर्तन ल्यायो । यही नै येशूसँगको मिलापको निश्चित परिणाम हो । जब ख्रीष्ट हृदयमा वास गर्नुहुन्छ, तब हाम्रो पुरै स्वभावमा परिवर्तन आउँदछ । ख्रीष्टको आत्मा तथा प्रेमले हृदयलाई कोमल तुल्याउँदछ, आत्मालाई अधीनमा पार्दछ, र विचार तथा आकांक्षाहरूलाई परमेश्वर र स्वर्गतर्फ उचाल्दछ । SB 83.2
जब ख्रीष्ट स्वर्गतिर उचालिनुभयो, तत्पश्चात् पनि उहाँका चेलाहरूमा उहाँको उपस्थितिको अनुभूति व्याप्त थियो । यो एक व्यक्तिगत उपस्थिति थियो, जुन प्रेम र ज्योतिद्वारा भरिपूर्ण थियो । मुक्तिदाता येशू जो तिनीहरूसँगै हिँड्नुभएको थियो, कुराकानी गर्नुभएको थियो र प्रार्थना गर्नुभएको थियो, जसले तिनीहरूका हृदयमा आशा तथा सान्त्वनाका वचनहरू बोल्नुभएको थियो र जब शान्तिको सन्देश अझैपनि उहाँको ओठैमा हुँदा-हुँदै तिनीहरूबाट स्वर्गतिर उचालिनुभएको थियो र जसै स्वर्गदूतहरूका समूहले उहाँलाई ग्रहण गरे तब उहाँले यसो भन्नुभयो, “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” मत्ती २८:२० । उहाँ मानव स्वरूपमै स्वर्गतिर उचालिनुभएको थियो । उनीहरूलाई थाहा थियो कि उहाँ परमेश्वरको सिंहासनको सामुन्ने हुनुहुन्छ जो अझैपनि तिनीहरूका मित्र तथा मुक्तिदाता हुनुहुन्छ; र यो पनि थाहा थियो कि उहाँका करुणाहरू अझै पनि अपरिवर्तित छन्; कि उहाँ अझै पनि पीडित मानवजातिका दुःखहरूमा अभिन्न हुनुहुन्छ । उहाँ परमेश्वरको सामु आफ्नो अमूल्य रगतको योग्यताहरू चढाउँदैहुनुहुन्थ्यो, र आफ्ना उद्धार गरिएका जनहरूका निम्ति तिर्नुभएको मूल्यको स्मरण स्वरूप आफ्ना चोटले भरिएका हात तथा पाउहरू देखाउँदैहुनुहुन्थ्यो । चेलाहरूलाई थाहा थियो कि उहाँ तिनीहरूका निम्ति ठाउँ तयार पार्न स्वर्गतिर उचालिनुभएको छ, र तिनीहरूलाई उहाँकहाँ लैजानका निम्ति पुनः आउनुहुनेछ । SB 84.1
येशूको आरोहण पश्चात् जब चेलाहरू एकसाथ भेला भए तब तिनीहरू आफ्ना बिन्तीहरू येशूका नाउँमा परेमश्वर पिताको अघि चढाउन उत्सुक थिए । पवित्र भयको साथ यो प्रतिज्ञालाई उच्चारण गर्दै तिनीहरूले प्रार्थनामा शिर झुकाए, “तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ । अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस् ।” यूहन्ना १६:२३, २४ । तिनीहरूले यो शक्तिशाली तर्कका साथ विश्वासको हात झन्-झन् उच्चसम्म फैलाए, “मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ ।” रोमी ८:३४ । पेन्तिकोसको दिनमा तिनीहरूमाझ शान्तिदाता प्रकट हुनुभयो, जसको बारेमा ख्रीष्टले यसो भन्नुभएको थियो, उहाँ “तिमीहरूभित्र हुनुहुनेछ ।” र उहाँले अझै भन्नुभयो, “म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।” यूहन्ना १४:१७; १६:७ (KJV)। यस उप्रान्त पवित्र आत्मामार्फत ख्रीष्ट आफ्ना जनहरूका हृदयमा निरन्तर रूपले बास गर्नुपर्नेथियो । उहाँसँगको तिनीहरूका सम्बन्ध उहाँ तिनीहरूका साथ व्यक्तिगत रूपमा रहनुभएको अवस्थामा भन्दा अझ बढी घनिष्ट थियो । ज्योति, प्रेम र तिनीहरूको हृदयमा रहेको ख्रीष्टको शक्ति तिनीहरूमार्फत चम्किएको थियो, र यसरी देख्नेजति मानिसहरू छक्क परे, र “यिनीहरू येशूका साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए ।” प्रेरित ४:१३ । SB 85.1
चेलाहरूका निम्ति ख्रीष्ट जोे हुनुहुन्थ्यो त्यसैगरी उहाँ आफ्नो सन्तानहरूका निम्ति पनि सोही बन्न चाहनुहुन्छ; किनकि आफ्नो साथमा भेला भएका चेलाहरूका साथ गर्नुभएको त्यस अन्तिम प्रार्थनामा उहाँले यसो भन्नुभयो, “म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु ।” यूहन्ना १७:२० । SB 86.1
येशूले हाम्रो निम्ति प्रार्थना गर्नुभयो, र जसरी उहाँ परमेश्वरमा एक हुनुहुन्छ त्यसैगरी हामी पनि उहाँमा एक होऔं भनी उहाँले प्रार्थना गर्नुभयो । यो कति अचम्मको सम्बन्ध ! मुक्तिदाताले स्वयं आफ्नै बारेमा यसो भन्नुभयो, “पुत्र आफैले केही गर्न सक्दैन;” “ ममा वास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ ।” यूहन्ना ५:१९; १४:१० । तब यदि ख्रीष्ट हाम्रो हृदयमा बास गर्नुभएको छ भने “उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई” उहाँले हामीमा काम गर्नुहुनेछ । फिलिप्पी २:१३ । जसरी उहाँले काम गर्नुभयो हामीले पनि सोहीरूपले काम गर्नेछौं; र हामीले त्यही आत्मा प्रकट गर्नेछौं । यसरी उहाँलाई प्रेम गर्दै तथा उहाँमा रहँदै, “हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ ।” एफिसी ४:१५ । SB 86.2