Go to full page →

११. प्रार्थना गर्ने विशेषाधिकार SB 108

परमेश्‍‍वर हामीहरूसँग प्रकृति तथा प्रकाशमार्फत, उहाँको प्रबन्धमार्फत र उहाँको आत्माको प्रभावमार्फत बोल्‍नुहुन्छ । तर यतिमात्र पर्याप्‍त छैन; हामीले पनि उहाँमा आफ्‍नो हृदयका कुराहरू खन्याउनुपर्नेछ । आत्मिक जीवन तथा शक्ति प्राप्‍त गर्नका निम्ति हाम्रा स्‍वर्गीय पितासँग हाम्रो वास्तविक सम्बन्ध रहेको हुनुपर्छ । हाम्रो मन उहाँतर्फ आकर्षित हुन सक्‍नेछन्; हामीले उहाँको कार्य, करुणा तथा आशिष्‌हरूका बारेमा चिन्तन गर्न सक्‍नेछौं; तर यसैलाई पूर्ण अर्थमा उहाँसित वार्तालाप गरिएको रूपमा मान्‍न सकिन्‍न । परमेश्‍‍वरसित वार्तालाप गर्नको निम्ति हामीसँग आफ्‍नो वास्तविक जीवनको बारेमा उहाँलाई बताउनका निम्ति केही न केही कुरा हुनुपर्छ । SB 108.1

प्रार्थनाको अर्थ एक मित्रको सामु आफ्‍नो हृदय खोलेझैँ परमेश्‍‍वरको सामु हृदय खोल्‍नु हो । हामी के हौं भनी परमेश्‍‍वरलाई अवगत गराउनु आवश्‍‍यक छ भन्‍ने उद्देश्‍‍यका साथ नभई उहाँलाई ग्रहण गर्न स्‍वयं आफैंलाई सक्षम तुल्याउनका निम्ति प्रार्थनाको आवश्‍‍यकता छ । प्रार्थनाले परमेश्‍‍वरलाई हामीकहाँ ल्याउँदैन तर यसको सट्टा हामीलाई माथि उहाँको सामु लैजान्छ । SB 108.2

जब येशू यस संसारमा हुनुहुन्थ्यो तब उहाँले आफ्‍ना चेलाहरूलाई प्रार्थना कसरी गर्ने भन्‍ने विषयमा सिकाउनुभयो । उहाँले तिनीहरूलाई आफ्‍ना दैनिक आवश्‍‍यकताहरू परमेश्‍‍वरको सामु प्रस्तुत गर्न तथा आफ्‍ना सारा फिक्रीहरू उहाँमा बिसाउनका निम्ति आदेश दिनुभयो । तिनीहरूका प्रार्थनाको सुनुवाइ हुनेछ भनी जुन आश्‍‍वासन उहाँले तिनीहरूलाई दिनुभयो सोही आश्‍‍वासन हाम्रो निम्ति पनि हो । SB 108.3

येशू पनि मानिसहरूका साथ रहनुहुँदा प्रायः प्रार्थनामा तल्‍लिन रहने गर्नुहुन्थ्यो । हाम्रो मुक्तिदाताले स्‍वयं आफैंलाई हाम्रा आवश्‍‍यकताहरूसित तथा कमजोरीसित अभिन्‍न सबूत गर्नुभयो, र यसरी उहाँको पिताबाट ताजा शक्तिको माग गर्दै उहाँ एक प्रार्थी बन्‍नुभयो, ताकि उहाँले कर्तव्य र परीक्षाको सामना गर्न सक्‍नुहुनेछ । हरेक कुरामा उहाँ नै हाम्रो उदाहरण हुनुहुन्छ । हाम्रा दुर्बलताहरूमा उहाँ हाम्रो जेठो दाई हुनुहुन्छ । “हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो;” तर पापरहित हुनुभएकोले उहाँको स्‍वभाव पापदेखि पछि तर्कने गर्दथ्यो, पापमय संसारमा उहाँले कठिन परिस्थितिहरूलाई तथा आत्माको यातनालाई सहनुभयो । उहाँको मानव स्‍वभावले प्रार्थनालाई एक आवश्‍‍यकता तथा एक विशेषाधिकार तुल्यायो । उहाँले पितासँगको वार्तालापद्वारा सान्त्‍वना तथा आनन्द प्राप्‍त गर्नुहुन्थ्यो । यदि मानवजातिको मुक्तिदाता, तथा परमेश्‍‍वरको पुत्रको हैसियतले पनि प्रार्थनाको खाँचो महसूस गर्नुभयो भने हामी दुर्बल तथा पापी मरणशील मानवजातिका हैसियतले अझ बढी मात्रामा ज्‍वलन्त तथा अटुट प्रार्थनाको आवश्‍‍यकतालाई महसूस गर्नुपर्नेछ । SB 109.1

हाम्रा स्‍वर्गीय पिता हामीलाई उहाँको आशिष्‌को पूर्णता प्रदान गर्न उत्सुक रहनुहुन्छ । असीमित प्रेमको मुहानदेखि प्रशस्त रूपले पिउन पाउनु हाम्रो निम्ति एक विशेषाधिकारको कुरा हो । तर यो कस्तो विडम्बना कि हामी अति कम मात्रामा प्रार्थना गर्ने गर्दर्छौं ! परमेश्‍‍वर आफ्‍ना सारा सन्तानहरूका प्रार्थनाको सुनुवाई गर्न तयार तथा इच्छुक हुनुहुन्छ, तैपनि हामी परमेश्‍‍वरको सामु आफ्‍ना आवश्‍‍यकताहरू बताउनमा धेरै अनिच्छा प्रकट गर्ने गर्दछौं । स्‍वर्गदूतहरूले पनि परीक्षाको नियन्‍‍त्रणमा रहेका दुःखी असहाय मानवजातिका बारेमा के सोचाइ राख्दछन् होला, जबकि परमेश्‍‍वरको असीमित प्रेमले भरिपूर्ण हृदय तिनीहरूप्रति व्याकुल रहन्छ, र तिनीहरूले मागेको वा सोचेको भन्दा बढी दिन तैयार हुनुहुन्छ, तैपनि किन तिनीहरू अति कम मात्रामा प्रार्थना गर्ने गर्दछन् र किन तिनीहरूमा यति कम विश्‍‍वास छ त ? स्‍वर्गदूतहरू परमेश्‍‍वरको सामु शिर झुकाउन मन पराउँदछन्; तिनीहरू उहाँको सामु रहन चाहन्छन् । तिनीहरू परमेश्‍‍वरसँगको संवादलाई आफ्‍नो सर्वोच्‍च आनन्द ठान्दछन्; तर यस जगतका मानिसहरू जसलाई यति धेरै मद्दतको खाँचो छ जुन केवल परमेश्‍‍वरले मात्र दिन सक्‍नुहुन्छ, तिनीहरू यसरी उहाँको आत्माको ज्योति तथा उहाँको उपस्थितिको संगतविना नै हिँड्‍नमा सन्तुष्‍ट देखिन्छन् । SB 109.2

जुन मानिसहरूले प्रार्थनालाई बेवास्ता गर्ने गर्दछन् तिनीहरूलाई पापको अन्धकारले घेर्दछ । शैतानको षड्‌यन्‍‍त्रयुक्त परीक्षाहरूले तिनीहरूलाई पापतर्फ आकर्षित तुल्याउँदछ; र परमेश्‍‍वरले तिनीहरूलाई प्रार्थनामार्फत दिनुभएको ईश्‍‍वरीय नियुक्तिको विशेषाधिकारलाई प्रयोग नगरेको हुनाले नै यस्तो हुन आउँदछ । जब प्रार्थना नै विश्‍‍वासीहरूका हातमा सर्वशक्तिमान् परमेश्‍‍वरको असीमित धन-सम्पत्ति सञ्‍चय गरिराखिएको स्‍वर्गको भण्डार खोल्‍ने साँचो हो भने परमेश्‍‍वरका जनहरू प्रार्थना गर्ने मामलामा किन अनिच्छुक बन्‍ने त ? अटुट प्रार्थना तथा लगनशीलता सतर्कताविना हामी लापरवाही बन्‍ने तथा सत्य मार्गदेखि मोडिने खतरामा पर्न सक्छौं । शैतानले निरन्तररूपमा कृपा आसन पुऱ्याउने मार्गलाई अवरुद्ध पार्ने कोशिस गर्दछ, ताकि हामीले गम्भीर प्रार्थना तथा विश्‍‍वासद्वारा परीक्षाको सामना गर्ने शक्ति प्राप्‍त गर्न सक्‍नेछैनौं । SB 110.1

त्यहाँ केही निश्‍चित शर्तहरू छन् जसलाई पूरा गरेको खण्डमा मात्र परमेश्‍‍वरले हाम्रा प्रार्थनाहरूका सुनुवाइ भयो भनी हामी आशा राख्‍न सक्‍नेछौं । हामीलाई परमेश्‍‍वरबाट मद्दतको खाँचो छ भनी महसूस गर्नु नै ती शर्तहरू मध्येकै पहिलो शर्त हो । उहाँले यसरी प्रतिज्ञा गर्नुभएको छ, “म तिर्खाएको मानिसमाथि पानी खन्याउनेछु, र सुक्खा भूमिमा बाढ़ीहरू चलाउनेछु ।” यशैया ४४:३ । जो-जति धार्मिकताको निम्ति भोका तथा प्यासा बन्दछन्, जसले परमेश्‍‍वरको तिर्सना गरेका हुन्छन्, तिनीहरू तृप्‍त पारिनेछन् भन्‍ने विषयमा निश्‍चित बन्‍न सक्‍नेछन् । पवित्र आत्माको प्रभावका निम्ति हृदयलाई खुला राखिनुपर्छ, अन्यथा परमेश्‍‍वरको आशिष् ग्रहण गर्न सकिनेछैन । SB 111.1

हाम्रो ठूलो खाँचो आफैंमा एक तर्क हो र यसले सर्वाधिक धारावाहिकको रूपले हाम्रो पक्षमा बहस गर्दछ । तर हामीले परमप्रभुको खोजी गर्नुपर्नेछ ताकि उहाँले हाम्रो निम्ति यी कार्यहरू सम्पादन गर्न सक्‍नुहुनेछ । उहाँ भन्‍नुहुन्छ, “माग त तिमीहरूलाई दिइनेछ ।” र “उहाँले आफ्‍नै पुत्रलाई पनि बाँकी राख्‍नुभएन, तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो; त कसरी उहाँले उहाँको साथमा सबै कुराहरू पनि हामीलाई सित्तैंमा दिनुहुनेछैन र ?” मत्ती ७:७; रोमी ८:३२ (KJV)। SB 111.2

यदि हामीले आफ्‍नो हृदयमा अधर्म साँच्यौं भने, वा यदि हामी कुनै जानेको पापमै टाँसिएर बस्यौं भने परमप्रभुले हामीलाई सुन्‍नुहुनेछैन; तर एक पश्‍चात्तापी तथा चूर्ण आत्माको प्रार्थनालाई सदा ग्रहण गरिन्छ । जब सबै जानेको भुलहरूलाई सुधार गरिन्छ तब हामी यो विश्‍‍वास गर्न सक्‍नेछौं कि परमेश्‍‍वरले हाम्रा प्रार्थनाहरूका जवाफ दिनुहुनेछ । स्‍वयं आफ्‍नै गुणहरूले हामीलाई परमेश्‍‍वरको अनुग्रह प्राप्‍त गर्नका निम्ति कदापि योग्य तुल्याउनेछैन; केवल येशूको योग्यताले मात्र हामीलाई बचाउनेछ, उहाँको रगतले मात्र हामीलाई शुद्ध पार्न सक्छ; तैपनि हामीसँग स्‍वीकृतिका शर्तहरूलाई मञ्‍जुर गरी पूरा गर्नुपर्ने एक कार्य छ । SB 112.1

प्रभावकारी प्रार्थनाको अर्को मूल तत्‍व विश्‍‍वास हो । “परमेश्‍‍वरकहाँ आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्‍नसित खोज्‍नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्‍‍वास गर्नुपर्छ ।” हिब्रू ११:६ (KJV)। येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्‍ने विश्‍‍वास राख, र त्यो तिमीहरूको हुनेछ ।” मर्कूस ११:२४ । के हामी उहाँको वचनमुताबिक उहाँमाथि विश्‍‍वास गर्ने गर्दछौं त ? SB 112.2

यो आश्‍‍वासन विस्तृत तथा असीमित छ, र जसले यो प्रतिज्ञा गर्नुभएको छ उहाँ विश्‍‍वासयोग्य हुनुहुन्छ । जब हामीले आफूले माग गरेको कुरा त्यस मागिएको समयमै प्राप्‍त गर्दैनौं, हामीले अझै पनि यो कुरामाथि विश्‍‍वास गर्नुपर्नेछ कि परमप्रभुले हाम्रा प्रार्थनाहरू सुन्‍नुहुनेछ तथा उहाँले हाम्रा प्रार्थनाहरूका जवाफ दिनुहुनेछ । हामी यति चुक्‍ने तथा अल्पदृष्‍टियुक्त छौं कि हामी कहिलेकाहीँ आफूलाई आशिष् सावित नहुने कुराहरूका समेत माग गर्दछौं, र प्रेमको कारणले गर्दा हाम्रा स्‍वर्गीय पिताले हाम्रो निम्ति सर्वाधिक भलाइका कुराहरू दिनुभई हाम्रा प्रार्थनाहरूका जवाफ दिनुहुन्छ—जुन कुरा यदि हामी ईश्‍‍वरीय दृष्‍टिद्वारा प्रकाशयुक्त भई सबै कुराहरूलाई तिनका वास्तविक अवस्थामा देख्‍न सकेको खण्डमा स्‍वयं हामी आफैंले ती आशिष्‌का निम्ति अभिलाषा राख्‍नेथियौं । जब हाम्रा प्रार्थनाहरूका सुनुवाइ नभएको जस्तो आभास हुन्छ, तब हामी प्रतिज्ञामाथि दृढ रहनुपर्छ; किनकि सुनुवाइको समय अवश्‍‍य पनि आउनेछ, र हामीलाई जुन आशिष्‌को सबैभन्दा बढी आवश्‍‍यकता छ सोही आशिष् हामीले प्राप्‍त गर्नेछौं । तर हामीले जुन रूपमा चाहेका छौं र जुन विशेष कुरामाथि हामीले इच्छा राखेका छौं र सोकैमुताबिक सदा प्रार्थनाको सुनुवाइ हुनेछ भनी दाबी गर्नु एक अड्‍कल मात्र हो । परमेश्‍‍वरले कदापि भुल गर्नुहुन्‍न किनकि उहाँ सर्वबुद्धिमान् हुनुहुन्छ, र जो-जति सत्य मार्गमा हिँड्‍दछन् तिनीहरूबाट कुनै भलो कुरा थाम्‍नुहुन्‍न किनकि उहाँ भलो चिताउनेवाला हुनुहुन्छ । यसर्थ उहाँमाथि भरोसा गर्न नडराउनुहोस्, यद्यपि तपाईं आफ्‍नो प्रार्थनाको उत्तर तुरुन्तै पाउनुहुन्‍न । उहाँको यस निश्‍चित प्रतिज्ञामाथि भरोेसा राख्‍नुहोस्, “माग त तिमीहरूलाई दिइनेछ ।” SB 112.3

हामीसँग विश्‍‍वास हुनु अघि यदि हामीले आफ्‍ना शंका तथा डरहरूसित परामर्श लियौं, वा जुन कुरा हामी स्पष्‍टसाथ देख्‍न सक्दैनौं त्यसलाई समाधान गर्ने प्रयत्‍न गऱ्यौं भने व्याकुलताहरू केवल बढ्‍दै तथा गहिरिँदै जानेछन् । तर यदि हामी असहाय, निर्भर र हामी जे-जस्ता छौं सोही अवस्थामा परमेश्‍‍वरकहाँ आउँदछौं, र नम्र भरोसामय विश्‍‍वासका साथ उहाँमा हाम्रा खाँचोहरू अवगत गराउँदछौं जसको ज्ञान असीमित छ, जसले सृष्‍टिको सबै थोक देख्‍नुहुन्छ, र जसले सबैथोक आफ्‍नो इच्छाशक्ति र वचनद्वारा शासन गर्नुहुन्छ, उहाँले हाम्रो पुकारलाई सुन्‍नुहुनेछ; र हाम्रो हृदयमा ज्योति चम्किन दिनुहुनेछ । निष्कपट प्रार्थनाद्वारा हामी परमेश्‍‍वरको मनको सम्पर्कमा ल्याइन्छौं । हाम्रो मुक्तिदाताको मुहार हामीप्रति करुणा र प्रेमका साथ झुकिरहेको छ भन्‍ने कुराको अद्‌भुत प्रमाण हामीले त्यस समयमा नपाएका हुन सक्छौं तर यो कुरा वास्तविक हो । सायद हामीले उहाँको स्पर्शलाई प्रत्यक्षरूपले महसूस गर्नेछैनौं होला तर उहाँको प्रेम र करुणाको हात हामीमाथि रहेको हुन्छ । SB 113.1

जब हामी करुणा तथा आशिष्‌को निम्ति परमेश्‍‍वरमा आउँदछौं तब हाम्रो हृदयमा प्रेम र माफीको भावना छाएको हुनुपर्छ । अन्यथा कसरी हामीले “हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं” भनी प्रार्थना गरेपश्‍चात् पनि क्षमा नगर्ने भावनालाई कायम राख्‍न सक्‍नेछौं त ? मत्ती ६:१२ । यदि हामी स्‍वयं आफ्‍नै प्रार्थनाहरूको सुनुवाइ होस् भनी आशा राख्दछौं भने हामीले अरूलाई पनि उही तवरले र उही परिमाणमा क्षमा गर्नुपर्नेछ जुन तवरले र परिमाणमा हामी क्षमा पाउने आशा राख्दछौं । SB 114.1

प्रार्थनामा खुरन्धार रूपमा लागिरहनु नै प्रार्थनाको सुनुवाइको एक शर्त हो । यदि हामी विश्‍‍वास र अनुभवमा बढ्‍न चाहन्छौं भने हामीले सदा प्रार्थना गर्नुपर्नेछ । हामी “प्रार्थनामा निरन्तर” लागिरहनुपर्छ र “सर्तक भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा” लागिरहनुपर्छ । रोमी १२:१२; कलस्सी ४:२ । पत्रुस विश्‍‍वासीहरूलाई “प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत” भइरहन सल्‍लाह दिँदछन् । १ पत्रुस ४:७ । “हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्‍‍वरमा जाहेर होऊन्” भनी पावल सुझाव दिँदछन् । फिलिप्पी ४:६ । यहूदा भन्दछन्, “तर प्रिय हो,...पवित्र आत्मामा प्रार्थना गर । आफैलाई परमेश्‍‍वरको प्रेममा राख ।” यहूदा २०, २१ । SB 114.2

निरन्तरको प्रार्थना भन्‍नु नै आत्मा र परमेश्‍‍वरबीचको अटुट सम्बन्ध हो । जसद्वारा परमेश्‍‍वरको जीवन हाम्रो जीवनतर्फ तथा हाम्रो जीवनबाट शुद्धता र पवित्रता पुनः परमेश्‍‍वरतर्फ बहने गर्दछ । SB 115.1

प्रार्थनामा लगन हुनु आवश्‍‍यक छ; तपाईंलाई कुनै कुराले पनि बाधा नपुऱ्याओस् । येशू तथा तपाईंको आत्माबीचको सम्पर्कलाई कायम राख्‍नका निम्ति सक्दो प्रयास गर्नुहोस् । जुन ठाउँमा प्रार्थना सभा गरिने चलन छ त्यहाँ जाने हरेक अवसरको खोजी गर्नुहोस् । जो-जति साँचो रूपमा परमेश्‍‍वरमा सम्पर्क पाउने प्रयत्‍न गरिरहेका छन् तिनीहरू प्रार्थना सभामा देखिनेछन्, तिनीहरू आफ्‍ना कर्तव्यप्रति विश्‍‍वासयोग्य हुन्छन् र आफूले प्राप्‍त गर्न सक्‍ने सारा लाभहरू कटनी गर्नका निम्ति उत्सुक तथा व्याकुल देखिनेछन् । तिनीहरूले स्‍वयं आफैंलाई त्यस स्थानमा राख्‍नका निम्ति हरेक अवसरको उन्‍नति गर्नेछन् जहाँ तिनीहरूले स्‍वर्गको ज्योति ग्रहण गर्न सक्‍नेछन् । SB 115.2

हामीले पारिवारिक प्रार्थना गर्नुपर्छ, र सबैभन्दा बढी त हामीले गुप्‍त प्रार्थनालाई बेवास्ता गर्नुहुँदैन किनकि यही नै आत्माको निम्ति जीवन हो । जब प्रार्थनालाई बेवास्ता गरिन्छ तब आत्माको उन्‍नति हुन असम्भव छ । केवल पारिवारिक एवं सार्वजनिक प्रार्थनामात्र पर्याप्‍त छैन । आफ्‍नो आत्मालाई एकान्तमा परमेश्‍‍वरको निरीक्षण गर्ने आँखाको सामु खुल्‍ला राख्‍नुहोस् । केवल प्रार्थनाको जवाफ दिनुहुने परमेश्‍‍वरले मात्र गुप्‍त प्रार्थना सुन्‍नुहुनेछ । कुनैपनि जिज्ञासु कानले यसप्रकारका बिन्तीहरूका बोझलाई ग्रहण गर्नुपर्नेछैन । हाम्रो आत्मा गुप्‍त प्रार्थनाको समयमा वरिपरिका प्रभाव तथा उत्तेजनाहरू देखि स्‍वतन्‍‍त्र हुन्छ । यसप्रकार हाम्रो प्रार्थना शान्त अनि व्यग्रताको साथ परमेश्‍‍वरको सामु पुग्‍नेछ । परमेश्‍‍वरदेखि उत्पन्‍न हुने प्रभाव मीठो तथा स्थायी हुन्छ, जसले गुप्‍तमा देख्‍नुहुन्छ, जसको कान हृदयदेखि नै उत्पन्‍न हुने प्रार्थना सुन्‍नको निम्ति खुल्‍ला रहन्छ । शान्त तथा सरल विश्‍‍वासद्वारा आत्माले परमेश्‍‍वरसँग सम्पर्क कायम राख्दछ र यसलाई शैतान विरुद्ध संघर्षमा मजबुत तुल्याउन र थाम्‍नका निम्ति ईश्‍‍वरीय ज्योतिको किरणहरू सँगाल्दछ । परमेश्‍‍वर हाम्रो शक्तिको किल्‍ला हुनुहुन्छ । SB 116.1

आफ्‍नो गुप्‍त कोठामा प्रार्थना गर्नुहोस् र जसै तपाईं आफ्‍नो दैनिक कार्यहरूमा लाग्‍नुहुन्छ, तब बारम्बार आफ्‍नो हृदयलाई परमेश्‍‍वरसम्मै उचालिन दिनुहोस् । हनोक पनि यसरी नै परमेश्‍‍वरमा हिँड्‍ने गर्दथे । यी गुप्‍त प्रार्थनाहरू बहुमूल्य धूपजस्तै अनुग्रहको सिंहासनसम्मै पुग्दछन् । जुन व्यक्तिको हृदय परमेश्‍‍वरमा यसरी स्थिर रहन्छ त्यस व्यक्तिलाई शैतानले जित्‍न सक्‍नेछैन । SB 116.2

परमेश्‍‍वरमा बिन्ती चढाउनका निम्ति त्यहाँ कुनै त्यस्तो अनुचित समय वा स्थान भन्‍ने कुनै कुरा छैन । हाम्रो हृदयलाई उत्सुक प्रार्थनाप्रति उत्तेजित गर्नुदेखि हामीलाई रोक्‍न सक्‍ने त्यहाँ कुनै त्यस्ता कुराहरू छैनन् । गल्‍लीको भीडमा, तथा व्यापरिक व्यस्ततामाझ पनि हामीले परमेश्‍‍वरमा बिन्ती चढाउन तथा ईश्‍‍वरीय मार्गदर्शनको निम्ति बिन्ती गर्न सक्दछौं जसरी नहेम्याहले राजा अर्तासास्तको सामु आफ्‍नो बिन्ती चढाएका थिए । हामी जहाँ-जहाँ छौं त्यहीँ नै हामीले वार्तालाप गर्ने भित्री कोठा भेट्टाउन सक्छौं । हाम्रो हृदयको ढोका निरन्तर रूपमा खुला रहेको हुनुपर्छ, र हाम्रो निमन्‍‍त्रणा सदा माथि स्‍वर्गतिर गइरहेको हुनुपर्छ ताकि येशू एक स्‍वर्गीय पाहुनाको रूपमा आत्माभित्र आउन तथा बास गर्न सक्‍नुहुनेछ । SB 117.1

यद्यपि हाम्रो वरिपरि कलङ्कित तथा दुषित वातावरण भएको हुन सक्छ तर हामीले यसको विषाक्त हावामा सास फेर्नु आवश्‍‍यक छैन, तर स्‍वर्गको शुद्ध हावामा जीवन व्यतित गर्न सक्‍नेछौं । निष्कपट प्रार्थनाद्वारा आत्मालाई परमेश्‍‍वरको उपस्थितिसम्म उचालेर हामीले अशुद्ध कल्पना तथा अपवित्र विचारका सबै ढोकाहरूलाई बन्द गर्न सक्‍नेछौं । जुन व्यक्तिको हृदय परमेश्‍‍वरको सहारा तथा आशिष् प्राप्‍त गर्नका निम्ति खुला रहेको हुन्छ ऊ पृथ्वीको भन्दा अधिक पवित्र वातावरणमा हिँड्‍नेछ र स्‍वर्गसित निरन्तरको सम्पर्कमा रहनेछ । SB 117.2

हामीसँग येशूको अझ स्पष्‍ट दृष्‍टि हुनु तथा अनन्तका वास्तविकताहरूका महत्‍वको बारेमा अझ पूर्ण बोध हुनु आवश्‍‍यक छ । पवित्रताको सौन्दर्यले परमेश्‍‍वरको जनहरूको हृदय भर्नेछ; र यसलाई पूरा गर्नका निम्ति हामीले स्‍वर्गीय कुराहरूका प्रकाशनको निम्ति माग गर्नुपर्छ । SB 117.3

हाम्रो आत्मा हामीदेखि बाहिर र माथि उठोस्, ताकि परमेश्‍‍वरले हामीलाई स्‍वर्गीय वातावरणको वायु प्रदान गर्नुहुनेछ । हामी परमेश्‍‍वरको यति नजिक रहन सक्‍नेछौं कि हरेक, आकस्मिक परीक्षामा जसरी प्राकृतिकरूपले फूल सूर्यतर्फ फर्कन्छ त्यसरी नै हाम्रा विचारहरू स्‍वतः उहाँतर्फ नै फर्कनेछन् । SB 118.1

तपाईंका आवश्‍‍यकता, आनन्द, शोक, फिक्री तथा भयहरू परमेश्‍‍वरको सामु राख्‍नुहोस् । तपाईंले उहाँलाई बोझले लाद्‍न तथा थकित तुल्याउन सक्‍नुहुनेछैन । परमेश्‍‍वरले तपाईंको शिरको कपालको गन्ती राख्‍नुहुन्छ, र उहाँ आफ्‍ना सन्तानका खाँचोहरूप्रति उदासीन हुनुहुन्‍न । “प्रभु अति नै टिठाउनुहुने र दयालु हुनुहुन्छ ।” याकूब ५:११ (KJV)। उहाँको प्रेमिलो हृदयलाई हाम्रा शोकहरूका उच्‍चारणले समेत प्रभावित तुल्याउँदछ । जे-जति कुराहरूले मनलाई व्याकुल तुल्याउँदछ, ती सबैलाई उहाँमै लैजानुहोस् । उहाँले थाम्‍न नसक्‍ने कुनै त्यस्तो ठूलो कुरा छैन किनकि उहाँले नै संसारलाई थामेर राख्‍नुहुन्छ, र सारा जगतको मामलाहरूमाथि शासन गर्नुहुन्छ । हाम्रो शान्तिसित सरोकार राख्‍ने कुनैपनि कुरा उहाँको ध्यानको पहुँचदेखि पर हुनेगरी तुच्छ छैनन् । हाम्रो अनुभवमा त्यहाँ कुनै त्यस्तो अध्याय छैन जुन उहाँद्वारा पढ्‍नै नसकिनेगरी अन्धाकार भएको होस्; त्यहाँ कुनै त्यस्तो अन्योल छैन जसलाई सुल्झाउन उहाँलाई कठिन सावित भएको होस् । उहाँका सन्तानहरूमध्ये कसैमाथि पनि विपत्ति पर्न सक्‍नेछैन, कुनै फिक्रीले पनि आत्मालाई पिरोल्‍नेछैन, हरेक ओठबाट निस्कने कुनै पनि आनन्दको जयध्वनि तथा निष्कपट प्रार्थना हाम्रो स्‍वर्गीय पिताको ध्यानविना पार भएर जाँदैनन्, वा जसको बारेमा उहाँले अविलम्बरूपले चाख लिनु नभएको होस् । “उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ ।” भजनसंग्रह १४७:३ । परमेश्‍‍वर र हरेक आत्माबीचको सम्बन्ध यति स्पष्‍ट र पूर्ण छ कि मानौं पृथ्वीमा उहाँको हेरविचार अरू कसैलाई बाँड्‍नका निम्ति त्यहाँ कुनै अर्को व्यक्ति नै छैन, मानौं उहाँको एकलौटे पुत्रलाई दिनका निम्ति त्यहाँ कुनै अर्को व्यक्ति नै छैन । SB 118.2

येशूले भन्‍नुभयो, “तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ । म तिमीहरूका निम्ति पितासँग बिन्ती गरिदिनेछु भनी तिमीहरूलाई भन्दिनँ, किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ ।” मैले तिमीहरूलाई चुने “तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ ।” यूहन्‍ना १६:२६, २७; १५:१६ । तर येशूको नाउँमा प्रार्थना गर्नुको अर्थ येशूको मन र आत्मामा भई प्रर्थना गर्नु तथा उहाँको प्रतिज्ञाहरूमाथि भरोसा राख्दै उहाँको अनुग्रहमाथि भरोसा राख्‍नु तथा उहाँकै काम गर्नु हो । SB 119.1

हामीले स्‍वयं आफैंलाई आराधनामा समर्पित गर्ने क्रममा हामी सन्यासी वा भिक्षु बन्‍नुपर्नेछ र संसारलाई त्याग्‍नुपर्नेछ भन्‍नु परमेश्‍‍वरको अभिप्राय होइन । हाम्रो जीवन ख्रीष्‍टको झैँ हुनुपर्छ अर्थात् पहाड र मानिसहरूमाझ जीवन बिताइनुपर्छ । जुन व्यक्तिले अरू केही नगरी केवल प्रार्थना मात्र गरिरहन्छ, त्यस व्यक्तिले चाँडै नै प्रार्थना गर्ने क्रम रोक्‍नेछ, वा उसका प्रार्थनाहरू केवल एक औपचारिक दिनचर्याका रूपमा मात्र सावित हुन पुग्‍नेछन् । जब मानिसहरूले स्‍वयं आफैंलाई सामाजिक जीवनदेखि टाढा राख्दछन्, इसाई कर्तव्य र क्रूस उठाउनबाट पन्छिन पुग्दछन्; जब तिनीहरू आफ्‍ना प्रभुको निम्ति उत्सुकपूर्वक काम गर्न छोड्‍दछन् जसले तिनीहरूका निम्ति उत्सुकपूर्वक काम गर्नुभएको थियो, तब तिनीहरूले प्रार्थनाका विषयवस्तु नै गुमाउँदछन् र तिनीहरूसित आराधनाको निम्ति कुनै प्रेरणा नै बाँकी रहँदैन । तिनीहरूका प्रार्थनाहरू व्यक्तिगत तथा स्‍वार्थी बन्‍न पुग्दछन् । तिनीहरूले मानवजातिको खाँचोहरूका निम्ति, वा ख्रीष्‍टको राज्य विस्तार गर्नका निम्ति शक्तिको माग गर्दै प्रार्थना गर्न सक्दैनन् । SB 119.2

परमेश्‍‍वरको सेवामा लाग्‍ने क्रममा जब हामी एक अर्कालाई मजबुत तुल्याउँदै तथा प्रोत्साहन दिँदै एक आपसमा भेला हुने विशेषाधिकारलाई उपेक्षा गर्दछौं तब हामीले नेाक्सान भोगिरहेका हुन्छौं । उहाँका वचनका सत्यताहरूले हाम्रो मस्तिष्कमा सजिवता तथा महत्‍व गुमाउँदछन् । हाम्रो हृदय उहाँका वचनको सत्यताहरूको पवित्र प्रभावद्वारा उज्‍ज्‍वल बन्‍न तथा उत्तेजित हुन सक्‍नेछैन र हामी आत्मिकरूपले पतित हुनेछौं । हामीले इसाईका रूपमा एक अर्काप्रति कायम राख्‍ने सम्पर्कमा यदि हामीमा सहानुभूतिको कमि भएको खण्डमा हामीले धेरै कुरा गुमाइरहेका हुन्छौं । जुन व्यक्तिले आफूलाई स्‍वयं आफैंमा बन्द गरेर राख्दछ उसले परमेश्‍‍वरद्वारा उसको निम्ति सुम्पिएको पदलाई वहन गरिरहेको हुँदैन । हाम्रो स्‍वभावको सामाजिक तत्‍वहरूलाई उचितरूपले उन्‍नति गरिएको खण्डमा यसले हामीमा अन्य व्यक्तिहरूप्रति सहानुभूतिको भावना जगाउँदछ र यही नै हाम्रा निम्ति परमेश्‍‍वरको सेवामा वृद्धि र शक्तिको एक माध्यम हो । SB 120.1

यदि इसाईहरू परमेश्‍‍वरको प्रेम र उद्धारको अमूल्य सत्यताहरूका बारेमा चर्चा गर्दै एक आपसमा मेलजुल गर्दछन् भने स्‍वयं तिनीहरूकै हृदय ताजा बन्‍नेछ र यसरी तिनीहरूले एक अर्कालाई जोश प्रदान गर्नेछन् । हामीले दैनिकरूपमा हाम्रा स्‍वर्गीय पिताको बारेमा सिक्‍न सक्‍नेछौं र यसरी उहाँको अनुग्रहको बारेमा ताजा अनुभव प्राप्‍त गर्न सक्‍नेछौं; तब हामीले उहाँको प्रेमको बारेमा चर्चा गर्ने इच्छा प्रकट गर्नेछौं; र जब हामी यसो गर्ने गर्दछौं, तब हाम्रो हृदय न्यानो तथा उत्साहित बन्‍न पुग्‍नेछ । यदि हामीले स्‍वयं आफ्‍नै बारेमा कम र येशूको बढी चिन्तन तथा चर्चा गरेका खण्डमा हामीसँग उहाँको उपस्थिति अझ बढ्‍दो मात्रामा नै हुनेछ । SB 121.1

यदि हामीले आफूप्रति परमेश्‍‍वरको फिक्रीको प्रमाण पाएपिच्छे उहाँको बारेमा चिन्तन गरेको खण्डमा हामीले उहाँलाई सदा हाम्रो ध्यानमा राख्‍नेछौं र उहाँको चर्चा गर्न तथा प्रशंसा गर्न प्रसन्‍न रहनेछौं । सांसारिक कुराहरूमाथि हाम्रो चाख भएकै कारण हामी तिनका बारेमा चर्चा गर्ने गर्दछौं । हामी आफ्‍ना मित्रहरूका बारेमा चर्चा गर्दछौं किनकि हामी तिनीहरूलाई प्रेम गर्दछौं; हाम्रा आनन्द तथा शोकहरू तिनीहरूसँगै बाँधिएका छन् । तैपनि हाम्रा सांसारिक मित्रहरूलाई भन्दा परमेश्‍‍वरलाई बढी प्रेम गर्नका निम्ति हामीसँग असीमित तवरको अझ ठूलो कारण छ; हाम्रा सबै सोचाइहरूमा उहाँलाई नै प्रथम बनाउनु, उहाँको भलाइको बारेमा चर्चा गर्नु र उहाँको शक्तिको बारेमा बताउनु नै संसारमा हाम्रो निम्ति सबैभन्दा स्‍वभाविक कार्य हुनुपर्छ । उहाँले हामीलाई जुन प्रचुर उपहारहरू प्रदान गर्नुभएको छ ती सबै उपहारहरू हाम्रा विचार तथा प्रेमलाई त्यति बढ्‍तारूपमा सोस्‍नका निम्ति अभिप्राय गरिएका थिएनन् ताकि हामीसँग परमेश्‍‍वरलाई सुम्पनका निम्ति केही पनि हुने छैनन्; तिनले त हामीलाई निरन्तररूपले उहाँको बारेमा स्मरण गराइरहनुपर्नेछ र हामीलाई हाम्रा स्‍वर्गीय दाता परमेश्‍‍वरसँग प्रेम र कृतज्ञताको बन्धनद्वारा बाँध्‍नुपर्नेछ । हामी पृथ्वीको अति होचो स्थानमा निवास गरिरहेका छौं । हामी आफ्‍ना आँखाहरूलाई पवित्र स्थानको खुल्‍ला ढोकातर्फ माथि उठाऔं जहाँ ख्रीष्‍टको मुहारमा परेमश्‍‍वरको महिमाको ज्योति चम्कन्छ, “उहाँद्वारा परमेश्‍‍वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्‍नुहुन्छ ।” हिब्रू ७:२५ । SB 121.2

हामीले परमेश्‍‍वरलाई उहाँको “अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्‍चर्य कामका निम्ति” अझ बढी मात्रामा प्रशंसा गर्नुपर्नेछ । भजनसंग्रह १०७:८ । हाम्रा उपासनाका अभ्यासहरू केवल माग्‍नु र पाउनुमा मात्र सीमित रहनुहुँदैन । हामीले सदा आफ्‍ना खाँचोहरूका बारेमा मात्र सोच्‍ने तथा आफूले प्राप्‍त गरेका लाभहरूका बारेमा कदापि नसोच्‍ने प्रवृत्ति नराखौं । हामी अति कम मात्रामा प्रार्थना गर्ने तथा विरलै धन्यवाद चढाउने गर्दछौं । हामीले निरन्तररूपमा परमेश्‍‍वरको अनुग्रह प्राप्‍त गरिरहेका छौं, तैपनि हामी अति कम मात्रामा कृतज्ञता व्यक्त गर्दछौं, र उहाँले हाम्रो निम्ति जे-जति गर्नुभएको छ त्यसको निम्ति उहाँलाई अति कम मात्रामा प्रशंसा गर्ने गर्दछौं । SB 122.1

प्राचीन कालमा जब इस्राएलीहरू परमप्रभुको सेवाको निम्ति भेला हुने गर्दथे तब उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्‍ना परमेश्‍‍वरको सामुन्‍ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्‍‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।” व्यवस्था १२:७ । परमेश्‍‍वरको महिमाको निम्ति जे-जति काम गरिन्छ सो खिन्‍नता र उदासीनताको साथ होइन तर प्रसन्‍नता, प्रशंसा र धन्यवाद स्तुतिगानका साथ गरिनुपर्छ । SB 123.1

हाम्रा परमेश्‍‍वर कोमल तथा दयालु पिता हुनुहुन्छ । उहाँको सेवालाई एक मन दुखाउने तथा कष्‍टप्रद अभ्यासको रूपमा लिनुहुन्‍न । परमप्रभुको उपासना गर्नु तथा उहाँको काममा सहभागी हुनु हाम्रो निम्ति एक हर्षमय कुरा हुनुपर्छ । परमेश्‍‍वरले आफ्‍ना जुन जनहरूका निम्ति यति महान् मुक्ति प्रदान गर्नुभयो तिनीहरूले नै परमेश्‍‍वर एक कठोर तथा कज्याउने मालिक हुनुहन्छ भनी व्यवहार गरेका उहाँ देख्‍न चाहनुहुन्‍न । उहाँ तिनीहरूका सबैभन्दा असल मित्र हुनुहुन्छ; र जब तिनीहरू उहाँको उपासना गर्ने गर्दछन् तब तिनीहरूलाई आशिष् प्रदान गर्न र सान्त्‍वना दिलाउनका निम्ति, तिनीहरूका हृदय आनन्द र प्रेमले भरिपूर्ण तुल्याउनका निम्ति उहाँ तिनीहरूकै साथमा रहन चाहनुहुन्छ । परमप्रभु आफ्‍ना सन्तानहरूद्वारा उहाँको सेवामार्फत सान्त्‍वना प्राप्‍त गरेका तथा उहाँको काममा कष्‍टभन्दा बढी आनन्द प्राप्‍त गरेका देख्‍न चाहनुहुन्छ । उहाँको इच्छा यही छ कि जो-जति उहाँको उपासनाको निम्ति आउँदछन् तिनीहरूले उहाँको वास्ता र प्रेम सम्बन्धि अमूल्य विचारहरू आफूसँगै लिएर जाऊन्, कि तिनीहरू दैनिक जीवनको सारा पेशाहरूमा प्रसन्‍न रहन सकून्, कि सबै कार्यहरूलाई इमानदारितापूर्वक र विश्‍‍वासयोग्य ढंगले निर्वाह गर्नका निम्ति तिनीहरूले अनुग्रह प्राप्‍त गरून् । SB 123.2

हामी क्रूसको वरिपरि भेला हुनुपर्छ । ख्रीष्‍ट, र उहाँ क्रूसमा चढाइनुभएको कुरा नै चिन्तन, वार्तालाप, र हाम्रो सर्वोच्‍च आनन्दमय विषय हुनुपर्छ । हामीले परमेश्‍‍वरबाट प्राप्‍त गर्ने हरेक आशिष्‌को बारेमा मनन गर्नुपर्छ, र जब हामी उहाँको महान् प्रेमको बारेमा बुझ्दछौं तब हामी सबैथोेक त्यस हातमा सुम्पनका निम्ति राजी हुनुपर्दछ जुन हात हाम्रै खातिर क्रूसमा टाँगिएका थिए । SB 124.1

प्रशंसाको पखेटामार्फत आत्मा स्‍वर्गको अझ नजिक पुग्‍न सक्‍नेछ । स्‍वर्गमा भजनसंग्रह तथा संगतिद्वारा परमेश्‍‍वरको उपासना हुने गर्दछ, र जसै हामी आफ्‍नो कृतज्ञता व्यक्त गर्ने गर्दछौं तब हामी स्‍वर्गदूतहरूकै उपासनामा सामेल हुन पुग्दछौं । “धन्यवाद बलि चढ़ाउनेले नै मेरो महिमा गर्दछ ।” भजनसंग्रह ५०:२३ । “धन्यवाद र गीतको” सोरका साथ हामी आफ्‍नो सृष्‍टिकर्ताको सामु जाऔं । यशैया ५१:३ । SB 124.2