Go to full page →

अध्याय - १६
पावलको यरुशलेम भ्रमण 1BP 100

ख्रीष्‍टमा नयाँ जीवन पाएपछि पावलले ख्रीष्‍टकै प्रचार गर्दै र उहाँको अद्‍भुत अनुग्रहको विषयमा सुनाउँदै यरुशलेम भ्रमण गर्नथाले । तिनले आफ्‍नो अद्‍भूत जीवन परिवर्तन बारे गवाही दिए, तर त्यसले गर्दा पूजाहारीहरू र अन्य शासकहरू रिसले चूर भएर तिनको ज्यान हत्याउन खोजे । तिनले प्रार्थना गरिरहेको बेलामा, तिनको ज्यान बचाउनको लागि प्रभु येशूले फेरि तिनलाई दर्शन दिई भन्नुभयो, “तिमी झट्टै यरुशलेमदेखि निस्किहाल, किनकि तिनीहरूले मेरो विषयमा तिम्रो गवाही सुन्ने नै छैनन् ।” तर पावलले यसो भनी विन्ती गरे, “हे प्रभु, तपाईंमा विश्‍‍वास गर्नेहरूलाई मैले कैद गरेको र प्रत्येक सभाघरमा पिटेको ता तिनीहरूलाई थाहै छ; अनि तपाईंका सेवक शहीद स्तिफनसको रक्तपात हुँदा पनि म छेउमा उभिएर तिनलाई मार्ने काममा सहयोग पुऱ्याउँदै तिनका हत्याराहरूका लुगाहरूको रखवारी गर्दै थिएँ ।” 1BP 100.1

तिनको जुन जीवन परिवर्तन भयो, त्यो परमेश्‍‍वरकै शक्तिद्वारा भएको भन्ने बुझेर यरुशलेमका यहूदीहरूले तिनको गवाहीको विरोध गर्नेछैनन् भन्ने पावलले सोचेका थिए । तर प्रभु येशूले तिनलाई भन्नुभयो. “जाऊ, किनकि अब उसो म तिमीलाई टाढा अन्यजातिहरूकहाँ पठाउनेछु ।” 1BP 100.2

पावलले आफू यरुशलेममा नहुँदा आफ्‍ना अनुभवहरू उल्‍लेख गर्दै धेरैवटा पत्रहरू विभिन्न ठाउँमा पठाए अनि प्रभावशाली गवाहीपूर्ण जीवन बिताए । तर कतिपय मानिसहरूले भने तिनका पत्रहरूमा जुन प्रभावकारिता थियो, सो बिगार्न खोजे । आखिरमा तिनीहरूले पनि तिनका पत्रको गहनतालाई मानिलिन कर लाग्यो । 1BP 100.3

मैले देख्दाहुँदि पनि पावल एक विद्वान् मानिस थिए, अनि तिनको ज्ञान एवम् भद्रताले तिनका श्रोतावर्ग पनि दङ्ग पर्थे । अरु विद्वान्‌हरू पनि तिनको ज्ञान देखेर प्रसन्न हुन्थे, र धेरैजनाले ता ख्रीष्‍टमाथि विश्‍‍वास पनि गरे । तिनले राजाहरू र विराट जनसभा सामु पनि यति वाक्‌पटुतापूर्वक बोले, यहाँसम्म कि त्यहाँका सबलाई तिनले प्रभावित पारिदिए । त्यो देखेर पूजाहारीहरू र फरिसी-शास्‍‍त्रीहरू झन् रिसले आगो भए । पावलले सहजै मानिसलाई गम्भीर तर्कात्मक ढङ्गमा आकाश-पाताल देखाईकन तिनीहरूलाई विचारमग्‍न तुल्याएर परमेश्‍‍वरको अनुग्रहको अथाह धन एवम् ख्रीष्‍टको अजीव प्रेमको सप्रमाण चित्रण गरी विश्‍‍वास गराउन सक्थे । त्यसपछि साधारण मानिसहरूको बुझ्‍ने क्षमताअनुसार सरल र प्रभावशाली ढङ्गमा आफ्‍ना अनुभवहरू बताउँथे, जसले गर्दा मानिसहरूका मनमा पनि ख्रीष्‍टका अनुयायी हुने उत्कट इच्छा जागृत हुन थाल्यो । 1BP 101.1

प्रभुले पावललाई तिनी फेरि यरुशलेम जानुपर्ने र त्यहाँ उहाँको नाउँको खातिर बाँधिमाग्‍नु र कष्‍ट खप्‍नुपर्ने कुरा प्रकट गरिदिनुभयो । अनि यद्यपि तिनी लामो समयावधिसम्म कैदमा रहे, तथापि तिनीद्वारै प्रभुले विशेष रूपले कार्य सञ्‍चालन गरिरहनुभयो । वास्तवमा भनौं भने पावल बन्धनमा पर्नुको तात्पर्य नै ख्रीष्‍टको ज्ञानको विस्तार भईकन परमेश्‍‍वरकै महिमा हुनु थियो । तिनलाई जाँचको निम्ति एउटा शहरदेखि अर्को शहर पठाउँदा राजाहरू र राज्यपालहरूका सामु तिनलाई ख्रीष्‍टको सुसमाचार साथै आफ्‍नो जीवन-परिवर्तन बारे गवाही दिने मौका मिल्यो । त्यस प्रकारले तिनीहरू सबलाई ख्रीष्‍टका बारेमा गवाही नदिई छोड़िएन । हजारौंले उहाँमाथि विश्‍‍वास गरी उहाँको नाउँमा आनन्दित भए । अनि मैले पावलको जलयात्राद्वारा पनि परमेश्‍‍वरको विशेष उद्देश्‍‍य पूरा भएको देखें किनकि नाविकहरूले पावलद्वारा परमेश्‍‍वरको सामर्थ्य देख्‍न पाए । अर्को कुरा, मूर्तिपूजक अन्यजातिहरूले ख्रीष्‍टको नाउँ सुने, र तिनीबाट शिक्षा पाएर अनि तिनीद्वारा आश्‍चर्यकर्महरू देखेर धेरैजनाको जीवन परिवर्तन भयो । तिनका युक्तिसंगत कुराहरू सुनेर राजाहरू र हाकिमहरू पनि मानौं मन्‍‍त्रमुग्ध हुन्थे । अनि तिनले आत्मिक जोश र पवित्रात्माको सामर्थ्यमा ख्रीष्‍टको सुसमाचार प्रचार गर्दा र तिनले अनुभव गरेका रोचक घटनाको वर्णन गर्दा साँच्‍चै येशू परमेश्‍‍वरका पुत्र हुनुहुँदो रहेछ भन्ने निष्कर्षमा पुगेर तिनीहरू कायल पनि हुन्थे; अनि कति तिनको कुरा सुनेर आश्‍चर्यचकित हुँदै थिए, तर राजा अग्रिपासले चाहिँ भने, “तिमीले मलाई झन्डै इसाई बनाइदियौ ।” त्यति सुनेर पनि तिनीहरूले आफूले सुनेका कुराहरूका बारेमा पछि कुनै समयमा विचार गरौंला भनी सोचे मात्रै । तिनीहरूले त्यसरी आनाकानी गर्दै त्यस शुभ अवसर हुँदै अर्थात् हृदय कायल हुँदै विलम्व गरिबस्दा शैतानले मौका छोप्यो र तिनीहरूका हृदयलाई कठोर पारिदियो । 1BP 101.2

प्रथमतः शैतानले यहूदीहरूकै आँखालाई बन्द गरिदियो । त्यसो हुँदा तिनीहरूले येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहेनन् । अर्को कुरो, उसले तिनीहरूको हृदयमा उहाँका सामर्थ्यशाली कार्यहरूका कारण उहाँप्रति ईर्ष्या र द्वेष उब्‍जाइदिएर उहाँको हत्या गर्न तिनीहरूलाई सुऱ्यायो । ख्रीष्‍टकै एकजना चेलाभित्र पनि शैतानले प्रवेश गरेर उहाँलाई तिनीहरूका हातमा सुम्पाइदियो, र तिनीहरूले उहाँलाई अर्थात् महिमाका प्रभुलाई क्रूसमा झुन्ड्‍याए । फेरि ख्रीष्‍ट येशू मरेकाबाट बौरी उठिसकेपछि पनि ती यहूदीहरूले रोमी सिपाहीहरूलाई घूस दिईवरी झूटा साक्षी दिन लगाईकन उहाँ बौरी उठ्‍नुभएको सत्य घटना आधारित कुरालाई दबाउन खोजेर पापमाथि पनि महापाप गरे । तर तिनीहरूले दबाएर दब्‍ने कुरो थिएन, किनकि ती साक्षीहरूको समूहले जो उहाँका साथमा बौरी उठेका थिए - उहाँको बौरिउठाइको सम्बन्धमा अझ निश्‍चित रूपले प्रमाणित गरिदिए । अनि येशू ख्रीष्‍ट आफ्‍ना चेलाहरूकहाँ, साथै एकै पल्टमा पाँचसयभन्दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, अनि उनीहरू पनि, जसलाई उहाँले आफ्‍ना साथमा ल्याउनुभयो, येशू बौरी उठ्‍नुभएको प्रमाणसाथ धेरैजनाकहाँ देखा परे । 1BP 102.1

शैतानले ती यहूदीहरूलाई उल्क्‍याएर परमेश्‍‍वरका पुत्रलाई इन्कार गर्न र उहाँलाई क्रूसमा टँगाई उहाँको रक्तपात गराईकन तिनीहरूका हात कलङ्कित पार्न लगायो । अनि येशूको विषयमा उहाँ परमेश्‍‍वरका पुत्र अर्थात् संसारका मुक्तिदाता हुनुहुन्छ भनेर जत्तिकै अकाट्य रूपले प्रमाणित गरिए तापनि यस कुरालाई तिनीहरूले स्‍वीकार नगरेर उहाँलाई बरु हत्या गरे । त्यसरी नै तिनीहरूले ख्रीष्‍टका चेलाहरू अर्थात् प्रेरितहरूलाई पनि सताउन र हत्या गर्न छोड़ेनन् । तिनीहरूलाई येशू नामभन्दा अप्रिय अरु कुनै शब्द लाग्दैनथियो, र यो नाउँसम्बन्धि कुनै कुरा पनि तिनीहरूले पटक्‍कै सुन्न माग्दैन थिए । उदाहरणार्थ, जब स्तिफनसद्वारा पवित्र आत्माले येशू ख्रीष्‍ट परमेश्‍‍वरकै पुत्र हुनुहुन्छ भनी प्रमाणित गरी देखाउनथाल्‍नुभयो, तब तिनीहरूले सुन्न नपरोस् भनेर आफ्‍ना कान बन्द गरे, र स्तिफन्सलाई ढुङ्गाले हानेर मारे; तर परमेश्‍‍वरले तिनलाई आफ्‍नो महिमामा अँगालेर लानुभयो । त्यसैगरी शैतानले ख्रीष्‍टका हत्याराहरूलाई आफ्‍नो हतियार बनाईकन आफ्‍नो मुठ्ठीमा राखेर ख्रीष्‍टका अनुयायीहरूलाई बारम्बार सताइरह्यो । त्यतिमात्र भएन, उसले यहूदीहरूद्वारै येशू नाउँ र यस नाउँमाथि विश्‍‍वास गर्नेहरूका विरुद्धमा अन्यजातिहरूलाई समेत उल्क्‍यायो । तर पनि परमेश्‍‍वरले आफ्‍ना दूतहरू पठाईकन उनीहरूले देखेका र सुनेका कुराहरूका साक्षी दिऊन् भन्ने हेतुले प्रभुका ती कार्यरत भक्तजनलाई स्थिर गर्नुभयो, र अन्तमा उनीहरूकै शहीद-रक्तले उनीहरूद्वारा दिएका साक्षीमाथि छाप लगाउनुभयो । 1BP 103.1

यहूदीहरूलाई आफ्‍नो मुठ्ठीमा राखिराख्‍न सकेकोमा शैतान खुशी थियो । उनीहरूले आफ्‍ना व्यर्थका रीतिथितिहरू र बलिदानहरूमै आस्था राखिरहे । वास्तवमा मानिसको पापको लागि प्रायश्‍चितको बलिदान त्यतिखेरै पूरा भएको थियो, जब ख्रीष्‍टले क्रूसमा झुण्डीकन ‘अब सिद्धियो’ भनीवरि प्राण त्याग्‍नुभयो, र मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, जसको साङ्केतिक अर्थचाहिँ त्यहाँदेखि यसो पूजाहारीहरूको बलिदान र भेटी आदिको आवश्‍‍यकता पर्दैन भन्ने थियो । त्यसको अर्थ यो पनि थियो, कि त्यहाँदेखि यसो यहूदीहरू र अन्यजातिहरू बीचको पार्थक्‍य-पर्खाल पनि तोड़िएको थियो । ख्रीष्‍टले जुन प्रायश्‍चितको बलिदान स्‍वरूप आफैलाई अर्पण गर्नुभयो, त्यो दुवैकै लागि थियो । हामीले - चाहे यहूदी चाहे अन्यजाति - केवल उहाँलाई हाम्रो पापको प्रायश्‍चितको बलिदान अनि संसारका मुक्तिदाताको रूपमा ग्रहण गर्नु मात्रै रह्यो । 1BP 104.1

येशू ख्रीष्‍ट क्रूसमाथि नै हुनुहुँदा एकजना सिपाहीले उहाँको कोखामा भालाले रोप्यो, र त्यसबाट रगत र पानी निस्क्‍यो । त्यहाँ रगत र पानीको धारा अलग-अलगै थियो । त्यसले के देखाएको थियो भने - रगतले उनीहरूका पाप धोई शुद्ध पारिन्छ, जसले उहाँको नाउँमा विश्‍‍वास गर्छन्, अनि पानीले त्यो जिउँदो पानीलाई सङ्केत गर्दछ, जुनचाहिँ ख्रीष्‍टले आफूमाथि विश्‍‍वास गर्नेहरूलाई जीवन दिनलाई दिनुहुन्छ। 1BP 104.2