Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ५. कलवरी

    मत्ती २७:३१-५३; मर्कूस १५:२०-३८; लूका २३:२६-४६; यूहन्ना १९:१६-३० मा आधारित ।

    “जब तिनीहरू कलवरी भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे ।”PAP 98.1

    “यसकारण येशूले पनि उहाँको आफ्‍नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्‍ट भोग्‍नुभयो ।” हिब्रू १३:१२ । परमेश्‍‍वरको व्यवस्था भङ्ग गरेकै कारण आदम र हव्‍वालाई अदनको बगैंचादेखि निष्कासन गरिएको थियो । ख्रीष्‍ट, जो हाम्रा बन्धक हुनुुहुन्थ्यो, उहाँले यरुशलेमको पर्खाल बाहिर दुःख भोग्‍नु पर्ने थियो । मुलढोका बाहिर उहाँको मृत्यु भयो, जहाँ अपराधी तथा हत्याराहरूलाई मृत्युदण्ड दिइने गरिन्थ्यो । यी वचनहरू कति महत्‍वपूर्ण छन्, “हाम्रा निम्ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो ।” गलाती ३:१३ ।PAP 98.2

    असंख्य मानिसहरूले येशूलाई महलदेखि कलवरीसम्म पछ्‌याए । उहाँको दण्डाज्ञाको खबर सारा यरुशलेमभरी नै फैलिएको थियो, र हरेक वर्ग तथा ओहदाका मानिसहरू क्रूसमा चढाइने स्थानतर्फ लम्किए । यदि स्‍वयम् ख्रीष्‍ट आफैलाई पूजाहारी तथा शासकहरूका हातमा सुम्पिएको खण्डमा तिनीहरू उहाँका चेलाहरूलाई नसताउने प्रतिज्ञाद्वारा बाँधिएका थिए, र यरुशलेम शहर तथा आसपासका क्षेत्रका चेला तथा विश्‍‍वासीहरू मुक्तिदातालाई पछ्‌याउँदै गरेका भीडमा सामेल भए ।PAP 98.3

    जसै येशू पिलातसको सभामा मुलढोका हुँदै अघि बढ्‍दैहुनुहुन्थ्यो तब बारब्‍बाको निम्ति तयार पारिएको क्रूस चोट र रगतद्वारा भरिएको उहाँको काँधमा राखियो । बारब्‍बाका दुई मित्रहरूले येशूको साथमै मृत्युदण्ड भोग्‍नु पर्नेथियो, र तिनीहरूका काँधमा पनि क्रूस राखिएको थियो । मुक्तिदाताको त्यस कमजोर तथा पीडाले भरिपूर्ण अवस्थामा उहाँको बोझ अति गह्रौं नै सावित भयो । निस्तार-चाडको बेलुकाको भोजनपछि उहाँले भोजन तथा पानी सेवन गर्नुभएको थिएन । उहाँले गेतसमनीको बगैंचामा शैतानसँगको विवादमार्फत् कष्‍ट भोग्‍नुभएको थियो । उहाँले धोखाको पीडालाई सहनुभएको थियो, र उहाँका चेलाहरूले उहाँलाई त्यागेको दृश्‍‍य देख्‍नुभएको थियो । उहाँलाई हन्नासदेखि कैयाफाकहाँ र त्यसपछि पिलातसकहाँ लगिएको थियो । पिलातसदेखि उहाँलाई हेरोदकहाँ लगिएको थियो, जहाँबाट पुनः उहाँलाई पिलातसकहाँ लगियो । अपमानमाथि थप अपमान, गिल्‍लामाथि गिल्‍ला, दुईपटक कोर्रा लगाइनु भएको-त्यस रात एक व्यक्तिको आत्मालाई परीक्षामा पार्नका निम्ति विभिन्न जुक्तिहरू अपनाइए । ख्रीष्‍ट त्यस परीक्षामा असफल बन्नुभएन । उहाँले परमेश्‍‍वरको महिमा गर्ने वचनबाहेक अन्य कुनै कुरा बोल्‍नुभएन । अपमानजनक ठट्टाले भरिपूर्ण पुर्पक्षकालभर उहाँले स्थिरता तथा प्रतिष्‍ठाका साथ स्‍वयम् आफैलाई सम्हाल्‍नुभयो । तर दोश्रोपटक कोर्रा लगाइएपछि जब उहाँको काँधमा क्रूस राखियो तब मानव देहले थप पीडा सहन सकेन । उहाँ क्रूसको बोझद्वारा बेहोश भई लड्‍नुभयो ।PAP 99.1

    मुक्तिदातालाई पछ्‌याइरहेका मानिसहरूले उहाँको कमजोर तथा लड्‍खडाउँदो कदमलाई देखे, तर तिनीहरूले कुनै दयाको भावना प्रकट गरेनन् । उहाँ गह्रौं क्रूस बोक्‍न असमर्थ बन्नुभएको कारण तिनीहरूले उहाँलाई खिल्‍ली तथा गाली गरे । पुनः उहाँमाथि क्रूसको बोझ थामियो, उहाँ पुनः बेहोस भई जमिनमा लड्‍नुभयो । उहाँलाई सतावट गर्नेमानिसहरूले अब उहाँले आफ्‍नो त्यस बोझलाई थाम्‍न सक्‍नुहुनेछैन भनी चाल पाए । तिनीहरू त्यस अपमानजनक क्रूस बोक्‍ने मानिस खोज्‍ने क्रममा अलमलिन पुगे । यहूदीहरूले सो बोझ बोक्‍न सक्‍नेथिएनन्, किनकि अपवित्रताका कारण तिनीहरू निस्तार-चाडमा सहभागी हुनुदेखि बञ्‍चित हुन सक्‍नेथिए । उहाँलाई पछ्‌याइरहेका भीडमध्ये कुनै एक व्यक्ति पनि क्रूस उठाउन झुक्‍नेथिएन ।PAP 99.2

    यसैबेला गाउँबाट आउँदै गरेका कुरेनी सिमोनको भीडसित जमकाभेट हुँदछ । उसले भीडको छेडपेच तथा ठट्टाबाज सुन्यो; साथै उसले “यहूदीहरूका राजालाई बाटो छोड” भनी तिरस्कारयुक्त रूपमा दोहोऱ्याइएका वचनहरू पनि सुन्यो । जब ऊ त्यस दृश्‍‍यप्रति अचम्म हुँदै खडा थिए; र जब उनले आफ्‍नो सहानुभूति व्यक्त गरे तब तिनीहरूले उनलाई समातेर उनको काँधमा क्रूस चढाइदिए ।PAP 100.1

    सिमोनले येशूको बारेमा सुनेको थियो । उसका छोराहरूले मुक्तिदातामाथि विश्‍‍वास गर्ने गर्दथे, तर ऊ स्‍वयम् आफै भने विश्‍‍वासी थिएन । कलवरीसम्म क्रूस बोक्‍न पाउनु उसको लागि एक आशिष सरह थियो, र यस ईश्‍‍वर कृपाको लागि ऊ सदा धन्यवादी थियो । यसैकारण उसले ख्रीष्‍टको क्रूस बोक्‍न तथा सदा प्रसन्नताका साथ यसको बोझमुनि पर्ने रोजाई गऱ्यो ।PAP 100.2

    निर्दोष येशूलाई क्रूर मृत्युतर्फ लगिंदै गरेको भीडलाई पछ्‌याउदै मानिसहरूमध्ये कैयौं स्‍‌त्रीहरू पनि सामेल थिएन । तिनीहरूका ध्यान येशूमाथि केन्द्रित थियो । तिनीहरूमध्ये केहिले उहाँलाई यसअघि पनि देखेका थिए । केहीले आफ्‍ना बिरामी तथा पीडित सदस्यहरूलाई उहाँकहाँ ल्याएका थिए । तिनीहरूमध्ये केहीले चङ्गाइदान पनि पाएका थिए । तिनीहरूका जीवनमा घटेका घटनाका दृश्‍‍यहरू एक आपसमा मिल्‍न आउँछन् । तिनीहरू उहाँविरुद्ध भीडले प्रकट गरेको घृणाप्रति अचम्म मान्दछन् जसको निम्ति स्‍वयम् तिनीहरूका हृदय पग्‍लिनपुगेको छ तथा छियाछिया हुन लागेको छ । क्रोधित भीडको व्यवहार तथा पूजाहारी र शासकहरूका रिसले भरिपूर्ण वचनहरूलाई पर्वाह नगर्दै ती स्‍‌त्रीहरूले आफ्‍ना सहानुभूति व्यक्त गरे । जब येशू क्रूसको बोझद्वारा बेहोस भई लड्‍नुभयो तब तिनीहरू विलाप गर्दै रुन थाले ।PAP 100.3

    केवल यसैले मात्र ख्रीष्‍टको ध्यानलाई आकर्षित गरेको थियो । संसारको पापको बोझ बोक्‍ने क्रममा पीडाले भरिपूर्ण भएता पनि उहाँले ती स्‍‌त्रीहरूद्वारा व्यक्त गरिएको शोकलाई उपेक्षा गर्नुभएन । उहाँले ती स्‍‌त्रीहरूप्रति कोमल दयाको भावानका साथ हेर्नुभयो । तिनीहरूले उहाँमाथि विश्‍‍वास गर्दैनथे; उहाँ परमेश्‍‍वरद्वारा पठाइनुभएको हो भनी तिनीहरूले शोक व्यक्त गरेका होइनन् तर केवल मानव करुणाको भावनाद्वारा प्रभावित हुनपुगेको हुन् भनी उहाँलाई थाहा थियो । उहाँले तिनीहरूका सहानुभूतिलाई तिरस्कार गर्नुभएन, तर यसले उहाँको हृदयमा तिनीहरूप्रति अझ गहिरो सहानुभूतिको भावना उत्पन्न गरायो । उहाँले भन्नुभयो, “यरुशलेमका छोरी हो, मेरो निम्ति नरोओ, तर तिमीहरू आफ्‍नै निम्ति र आफ्‍ना छोराछोरीका निम्ति रोओ ।” उहाँ सामु भएको दृश्‍‍यमार्फत ख्रीष्‍टले यरुशलेमको विनाशको समय देख्‍नुभयो । यरुशलेमको विनाशको त्यस भयानक समयमा अहिले उहाँका लागि विलाप गरिरहेका मानिसहरूमध्ये धेरैजना आफ्‍ना सन्तानहरूका साथ मर्नेछन् ।PAP 101.1

    येशूको चिन्तन यरुशलेमको पतनदेखि एक विस्तृत इन्साफतर्फ सऱ्यो । अपश्‍चातापी शहरको विनाशमार्फत उहाँले यस संसारमा आउने अन्तिम विनाशको चिन्ह देख्‍नुभयो । उहाँले भन्नुभयो, “तब तिनीहरूले पहाडहरूलाई हामीमाथि खस्, र डाँडाहरूलाई ‘हामीलाई छोप’ भन्न लाग्‍नेछन् । किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने सुख्‍खा हुँदा के गर्लान् ?” हरियो रूखमार्फत ख्रीष्‍टले स्‍वयम् आफ्‍नै बारेमा प्रतिनिधित्‍व गर्दैहुनुहुन्थ्यो जो निर्दोष उद्धारकर्ता हुनुहुन्छ । परमेश्‍‍वरले पापविरुद्ध उहाँको क्रोधलाई आफ्‍नो प्रिय पुत्रमाथि पर्न दिनुभयो । येशू मानिसहरूका पापका खातिर क्रूसमा टाँगिनुपर्ने थियो । यदि कुनै पापी पापमय अवस्थामै रहिरहने हो भने उसले कस्तो पीडा भोग्‍नुपर्नेछ त ? अपश्‍चातापी तथा अविश्‍‍वासीहरूले भोग्‍नुपर्ने शोक तथा पीडा अवर्णनीय तवरको हुनेछ ।PAP 102.1

    मुक्तिदातालाई कलवरीसम्म पछ्‌याउने भीडमध्ये धेरै मानिस जब उहाँ यरुशलेमसम्म विजयोल्‍लासका साथ सवार हुनुहुन्थ्यो त्यस समय होसन्ना गाउँदै तथा खजूरको हाँगाहरू लिएर स्‍वागत गर्ने क्रममा सहभागी भएका थिए । त्यस समयको लोकप्रिय चलनअनुसार जुन मानिसहरूले उच्‍च सोरका साथ उहाँको प्रशंसा गरेका थिए तिनै मानिसहरू अहिले “क्रूसमा टाँग्‍नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस्” भनी कराए । जब ख्रीष्‍ट यरुशलेमसम्म सवार हुनुहुन्थ्यो तब चेलाहरूका आशा सर्वाधिक उँचाइसम्म पुगेको थियो । उहाँसँग सम्बन्धित हुन पाउनुलाई एक उच्‍च सम्मानको रूपमा लिंदै तिनीहरू आफ्‍ना गुरुसँग अति घनिष्‍ट सम्बन्धमा बाँधिएका थिए । तर अहिले उहाँको यस अपमानजनक अवस्थामा तिनीहरूले उहाँलाई टाढादेखि पछ्‌याए । तिनीहरू शोकले भरिपूर्ण थिए, र निराशाजनक हुँदै झुक्‍नपुगेका थिए । येशूका निम्‍न वचनहरू पूरा हुन आएका थिए: “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ । किनभने यसो लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेडाहरू जताततै छरपष्‍ट हुनेछन् ।” मत्ती २६:३१ ।PAP 102.2

    मृत्युदण्ड दिइने स्थानमा आइपुगे पश्‍चात कैदीहरूलाई यातना दिइने औजारमा बाँधियो । दुई चोरहरूले आफूलाई क्रूसमा चढाउने व्यक्तिहरूसित कडा संघर्ष गरे; तर येशूले कुनै प्रतिरोध गर्नुभएन । यूहन्नाको सहाराद्वारा येशूकी माताले कलवरीसम्म आफ्‍नो पुत्रको कदमलाई पछ्‌याएकी थिइन् । तिनले आफ्‍नो पुत्र येशू क्रूसको बोझद्वारा बेहोस हुनपुगेको देखिन्, र चोटले भरिपूर्ण उहाँको शिरमुनि आफ्‍नो सहाराको हात राख्‍ने इच्छा गरेकी थिइन् र त्यस निधारलाई धुन चाहेकी थिइन् जुन निधारले कुनै समय उनको कोखमा आड लिएको थियो । तर तिनलाई यो शोकपूर्ण कार्य गर्ने अधिकार दिइएन । येशूले आफ्‍नो शक्ति प्रकट गर्नुभई स्‍वयम्‌लाई उहाँका शत्रुहरूदेखि मुक्त तुल्याउनुहुनेछ भनी तिनले पनि चेलाहरूले जस्तै आशा राखेकी थिइन् । तर जुन कुराहरू उहाँले अगमवाणी गर्नु भएको थियो तिनै कुराहरू पूरा हुँदैगरेको दृश्‍‍यद्वारा तिनको हृदय शिथिल बन्नपुग्यो । जसै चोरहरूलाई क्रूसमा बाँधिदै थियो, तब तिनले कष्‍टले भरिपूर्ण सुर्ताका साथ त्यस दृश्‍‍यतर्फ नजर लगाइन् । मृतकहरूलाई जीवन दिनुहुने ख्रीष्‍टले के स्‍वयम्‌लाई क्रूसमा चढाइने अनुमति दिनुहुनेछ त ? के परमेवरको पुत्रले स्‍वयम्‌लाई यसरी क्रूररूपमा मारिने अनुमति दिनुहुनेछ त ? के तिनले येशू नै मसिह हुनुहुन्छ भन्ने आफ्‍नो विश्‍‍वासलाई त्याग्‍नुपर्नेछ त ? के तिनले उहाँको कष्‍टको समयमा समेत सेवा गर्ने सौभाग्य नै नपाई उहाँको अपमान तथा शोकलाई देख्‍नुपर्नेछ त ? तिनले उहाँको हातलाई क्रूसमा पसारिएको देखिन्; हतौडी तथा कीलाहरू ल्याइयो, र जब कोमल देहलाई छेड्‍ने गरी कीला गाडियो तब हृदय विच्छेद हुनपुगेका चेलाहरूले बेहोस बन्नपुगेकी येशूकी मातालाई त्यस क्रूर दृश्‍‍यदेखि पर लगे ।PAP 103.1

    मुक्तिदाताले कुनै गुनासो व्यक्त गर्नुभएन । उहाँको अनुहार शान्त तथा निर्मल थियो, तर उहाँको निधार अत्यधिक पसिनाले भरिनपुग्यो । त्यहाँ उहाँको निधारदेखि त्यस मृत्युको शीत पुछ्‌ने कुनै दयालु हात थिएन न त उहाँको मानव हृदयलाई शान्त पार्ने कुनै करुणामयी वचन तथा अपरिवर्तनीय भक्ति नै थियो । जब सिपाहीहरूले आफ्‍ना भयानक कार्य गर्दैथिए तब येशूले उहाँका शत्रुहरूका निम्ति यसरी प्रार्थना गर्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” उहाँको मन स्‍वयम् आफ्‍नै पीडादेखि उहाँलाई सतावट गर्ने मानिसहरूका पापप्रति तथा तिनीहरूमाथि आइपर्ने भयानक बदलामाथि केन्द्रित हुनपुग्यो । जुन सेनाहरूले उहाँमाथि यति कठोररूपमा व्यवहार गरिरहेका थिए तिनीहरूमाथि कुनै सरापहरू आइपरेनन् । जुन पूजाहारी तथा शासकहरूले आफ्‍ना सफलताप्रति ईवीखुशी मनाउँदैथिए तिनीहरूमाथि कुनै बदला आव्हान गरिएन । आफ्‍ना अज्ञान तथा दोष बाबजुद ख्रीष्‍टले तिनीहरूमाथि दया प्रकट गर्नुभयो । उहाँले तिनीहरूका क्षमाका निम्ति यसरी बिन्ति गर्नुभयो,- “किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।”PAP 104.1

    यदि तिनीहरूले पापी मानवजातिलाई अनन्तको विनाशदेखि बचाउन आउनुभएको ख्रीष्‍टलाई यातना दिंदैछन् भनी जानेका भए तिनीहरूले पश्‍चात्ताप गर्ने तथा भयको अनुभव गर्नेथिए । तर तिनीहरूका अज्ञानले आफ्‍ना दोषलाई हटाएन; किनकि येशूलाई आफ्‍ना मुक्तिदाताको रूपमा स्‍वीकार गर्नु तिनीहरूका निम्ति एक विशेषाधिकार थियो । तिनीहरूमध्ये केही मानिसहरूले अझ पनि आफ्‍ना पापलाई देख्‍नेछन्, पश्‍चात्ताप गर्नेछन् तथा परिवर्तन हुनेछन् । केहीले चाहिँ आफ्‍ना अपश्‍चात्तापका कारण तिनीहरू प्रति ख्रीष्‍टको प्रार्थनाको सुनुवाइ हुन असम्भव तुल्याउनेछन् । तर पनि परमेश्‍‍वरको उद्देश्‍‍य पूरा हुँदैथियो । येशूले परमेश्‍‍वरको उपस्थितिमा न्यायधीश बन्ने अधिकार हासिल गर्दैहुनुहुन्थ्यो ।PAP 105.1

    ख्रीष्‍टले उहाँका शत्रुहरूका निम्ति गर्नुभएको त्यस प्रार्थनाले संसारलाई नै अँगालेको थियो । यसले संसारको आदि तथा अन्तसम्मका जीवित वा आउँदा पुस्ताका सारा पापीहरूलाई समेटेको थियो । परमेश्‍‍वरको पुत्रलाई क्रूसमा चढाइएको दोष सबैमाथि आइपरेको छ । सारा मानवजातिलाई सितैमा क्षमा प्रदान गरिएको छ । “इच्छा गर्ने सबैले” परमेश्‍‍वरमा शान्ति हासिल गरी अनन्त जीवन प्राप्‍त गर्न सक्‍नेछन् ।PAP 105.2

    येशूलाई क्रूसमा कीला लगाइसक्‍नासाथ त्यस क्रूसलाई बलिया मानिसहरूले उचाली तयार पारिएको स्थानमा अधिक जोरका साथ जमिनमा बजारेका थिए । यसले परमेश्‍‍वरको पुत्रमा सर्वाधिक तीव्र पीडा उत्पन्न गराएको थियो । तब पिलातसले हिब्रू, युनानी, तथा ल्याटिन भाषामा एक लेख लेखी येशूको शीरमाथि क्रूसमा टाँग्यो । यसमा “नासरतको येशू येहूदीहरूका राजा” भनी लेखिएको थियो । यस लेखले यहूदीहरूलाई क्रोधित तुल्यायो । पिलातसको महलमै तिनीहरूले “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्” “कैसर बाहेक हाम्रो अरू राजा छैन” भनी चिच्याएका थिए । यूहन्ना १९:१५ । कैसरबाहेक अरू राजालाई स्‍वीकार्ने व्यक्ति एक देशद्रोही हुनेछ भनी तिनीहरूले घोषणा गरेका थिए । पिलातसले तिनीहरूद्वारा व्यक्त गरिएको भावुकतालाई टिपोट गऱ्यो । येशू यहूदीहरूका राजा हुनुहुन्छ भन्ने अपमानजनक कुराबाहेक अन्य कुनै कुरा व्यक्त गरिएको थिएन । यो लेख रोमी सत्ताप्रति यहूदीहरूका वफादारीको मञ्‍जुरी थियो । इस्राएको राजा हुने दाबी गर्नेजतिलाई मृत्युदण्डयोग्य तुल्याइनेगरी इन्साफ गरिनेछ भनी यस लेखले घोषणा गरेको थियो । पूजाहारीहरूले स्‍वयम् आफैलाई ठगेका थिए । जब तिनीहरूले ख्रीष्‍टलाई मृत्युदण्ड दिने षड्‍यन्‍‍त्र रचिरहेका थिए तब कैयाफाले राज्यलाई बचाउने हेतु एक व्यक्ति मर्नु उचित छ भनी घोषणा गरेको थियो । अब तिनीहरूका पाखण्डीपन प्रकट हुनआयो । ख्रीष्‍टलाई नाश गर्नका निम्ति तिनीहरू आफ्‍ना राष्‍ट्रिय अस्तित्‍वलाई समेत परित्याग गर्न तैयार थिए ।PAP 105.3

    पूजाहारीहरूले आफ्‍ना गतल कार्यलाई देखे र यस लेखलाई परिवर्तन गर्न पिलातसलाई अनुरोध गरे । तिनीहरूले यसो भने, “‘यहूदीहरूका राजा’ भन्ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्यो’ भनी लेख्‍नुहोस् ।” तर पिलातस आफ्‍नो विगतको कमजोरीका कारण स्‍वयम् आफैप्रति क्रोधित थियो, र उसले ईर्ष्यालु अनि धूर्त पूजाहारी तथा शासकहरूलाई पूर्णरूपमा निन्दा गऱ्यो । उसले निर्ममरूपमा यसरी जवाफ दियो, “मैले जे लेखें, लेखें ।”PAP 106.1

    येशूको शिरभन्दा माथि क्रूसमा त्यसरी टाँगिएको लेखले पिलातस वा यहूदीहरूभन्दा अझ उच्‍च शक्तिलाई औंल्याएको थियो । परमेश्‍‍वरको पूर्वदृष्‍टिमा यसले धर्मशास्‍‌त्रको बिचार तथा जाँचबुझलाई जगाउनु पर्नेथियो । ख्रीष्‍टलाई क्रूसमा टाँगिएको स्थान शहर नजिकै थियो । विभिन्न स्थानका हजारौं मानिसहरू यरुशलेममा भेला भएका थिए, र नासरतको येशू मसिह हुनुहुन्छ भन्ने लेख तिनीहरूका ध्यानमा आयो । यो परमेश्‍‍वरद्वारा निर्देशित हातद्वारा लेखिएको एक जीवित सत्यता थियो ।PAP 107.1

    ख्रीष्‍टले क्रूसमा भोग्‍नुभएको पीडामार्फत भविष्यवाणी पूरा हुन आएको थियो । क्रूसमा टाँगिनुभन्दा शताब्दीऔंपूर्व मुक्तिदाताले आफूले भोग्‍नुपर्ने व्यवहारको बारेमा भविष्यवाणी गर्नुभएको थियो । उहाँले भन्नुभयो, “कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन् । मेरा सबै हाडहरू म गन्न सक्छु, मानिसहरू द्धेषसाथ मलाई एकटक लाएर हेर्छन् । तिनीहरू मेरा बस्‍‌त्रहरू आपसमा बाँड्‍छन्, र मेरा पोशाकको निम्ति तिनीहरूले चिठ्ठा हाल्छन् ।” भजन २२:१६-१८ । उहाँको बस्‍‌त्रको बारेमा गरिएको भविष्यवाणी क्रूसमा टाँगिनुभएको ख्रीष्‍टका मित्र वा शत्रुहरूका परामर्श वा हस्तक्षेपबिना नै कार्यान्वयन गरिएको थियो । उहाँलाई क्रूसमा टाँग्‍ने सिपाहीहरूलाई नै उहाँको बस्‍‌त्र दिइएको थियो । ती सिपाहीहरूले एक आपसमा सो बस्‍‌त्र बाँडचुँड गर्ने क्रममा उत्पन्न भएको विवादलाई ख्रीष्‍टले सुन्नुभयो । उहाँको बस्‍‌त्र सिउनी रहित रूपमा बुनिएको हुनाले तिनीहरूले यसो भने, “योचाहिँ नच्यातौं, तर यो कसको हुने हो भनी चिठ्ठा हालौं ।”PAP 107.2

    अर्को भविष्यवाणीमार्फत ख्रीष्‍टले यसरी घोषणा गर्नुभएको थियो, “तिरस्कारले मेरो मन भाँचेको छ, र म निस्सहाय भएको छु । मलाई टिठ्‍याउने कोही छन् कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्त्‍वना दिनेहरू पनि, तर कोही थिएन । तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरा तिर्खामा तिनीहरूले मलाई सिर्का दिए ।” भजन ६९:२०,२१ । क्रूसमा टाँगेर मृत्युदण्ड दिइने व्यक्तिलाई उसको शारीरिक पीडा हटाउनका निम्ति लठ्‍याउने औषधी खुवाइने अनुमति दिइन्थ्यो । येशूलाई यही औषधी दिइएको थियो, तर जब उहाँले यसको स्‍वाद लिनुभयो तब उहाँले यसलाई सेवन गर्न इन्कार गर्नुभयो । उहाँले आफ्‍नो मस्तिष्कलाई धमिल्याउने कुनैपनि कुरा ग्रहण गर्नुहुनेछैन । उहाँको विश्‍‍वास परमेश्‍‍वरमा मजबुत रहनुपर्नेछ । यही नै उहाँको एकमात्र शक्ति हो । उहाँको चेतनालाई धमिल्याउनुको अर्थ शैतानलाई मौका दिनु सावित हुनेछ ।PAP 108.1

    जब येशूलाई क्रूसमा टाँगियो तब उहाँका शत्रुहरूले उहाँमाथि आफ्‍ना क्रोध खन्याए । पूजाहारी, शासक, तथा धर्मगुरुहरू मर्दैगर्नुभएको मुक्तिदातालाई खिल्‍ली उडाउने क्रममा भीडसँगै सामेल भए । ख्रीष्‍टको बप्‍तिस्मा तथा रूप परिवर्तनको समयमा उहाँ परमेश्‍‍वरको पुत्र हुनुहुन्छ भनी घोषणा गरिएको परमेश्‍‍वरको वाणी सुनिएको थियो । ख्रीष्‍टलाई विश्‍‍वासघात गरिनुभन्दा केहि समयअघि परमेश्‍‍वर पिताले उहाँको ईश्‍‍वरत्‍वको बारेमा गवाही दिंदै बोल्‍नुभएको थियो । तर अहिले स्‍वर्गबाट कुनै वाणी सुनिएन । ख्रीष्‍टको पक्षमा कुनै गवाही सुनिएन । उहाँले दुष्‍ट मानिसहरूबाट एक्‍लै दुर्व्यवहार तथा अपमान सहनुभयो ।PAP 108.2

    तिनीहरूले यसो भने, “परमेश्‍‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज ।” “यो परमेश्‍‍वरका ख्रीष्‍ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस् ।” उजाडस्थानको परीक्षामा शैतानले यसरी घोषणा गरेको थियो, “तपाईं परमेश्‍‍वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस् ।” “तपाईं परमेश्‍‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट तल हाम फल्‍नुहोस् ।” मत्ती ४:३, ६ । शैतान तथा उसका दूतहरू मानव रूपमा क्रूस सामु उपस्थित थिए । शैतान तथा उसका दूतहरू पूजाहारी तथा शासकहरूलाई सहयोग गर्दैथिए । धर्मगुरुहरूले अबोध भीडलाई ख्रीष्‍टविरुद्ध इन्साफ गराउनका निम्ति भड्‍काएका थिए जुन ख्रीष्‍टलाई तिनीहरूले उहाँविरुद्ध साक्षी दिन जोर गरिनुअघि कहिल्यै देखेका पनि थिएनन् । पूजाहारी, शासक, फरिसी, तथा कठोर भीड पिशाचीय आवेशमा एकत्रित बन्नपुगेका थिए । धार्मिक अगुवाहरू शैतान तथा उसका दूतहरूका साथ एक बने । तिनीहरू उसका आज्ञाहरूलाई पूरा गर्दैथिए ।PAP 109.1

    पीडा तथा मृत्युको सामना गरिहरनुभएको येशूले पूजाहारीहरूद्वारा यसरी उच्‍चारण गरिएका प्रत्येक शब्दलाई सुने, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन । यो इस्राएलको राजा हो । अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍‍वास गर्नेछौं ।” ख्रीष्‍ट क्रूसदेखि ओर्लन सक्‍नुहुनेथियो । तर उहाँले स्‍वयम् आफैलाई नबचाउनुभएकै कारण पापीले परमेश्‍‍वरदेखि क्षमाको आशा तथा निगाह प्राप्‍त गर्न सक्‍नेछ ।PAP 109.2

    मुक्तिदातालाई खिल्‍ली उडाउने क्रममा भविष्यवाणीको व्याख्या गर्ने व्यक्तिका रूपमा दाबी गर्ने मानिसहरूले धर्मशास्‍‌त्रमा उल्‍लेखित तिनै शब्दहरूलाई उच्‍चारण गर्दैथिए जुन यस अवसरमा तिनीहरूद्वारा उच्‍चारण गरिनेछ भनी भविष्यवाणी गरिएको थियो । तर आफ्‍ना अन्धोपनमा भविष्यवाणीका बचनलाई पूरा गर्दैछन् भन्ने कुरालाई तिनीहरूले देख्‍न सकेनन् । जुन मानिसहरूले “यसले परमेश्‍‍वरमा भरोसा राख्‍छ । परमेश्‍‍वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले यसलाई छुटकारा दिऊन्, किनकि यसले ‘म परमेश्‍‍वरको पुत्र हुँ’ भनी भन्थ्यो” भनी उपहास गरे तिनीहरूले आफ्‍ना गवाही युगौंसम्म गुञ्‍जिहरनेछ भनी बिचार लिएकै थिएनन् । उपहास पूर्ण रूपमा बोलिएता पनि यी शब्दहरूले मानिसहरूलाई यसरी धर्मशास्‍‌त्रमा खोजी गर्न अगुवाइ गऱ्यो जुन यसअघि कहिल्यै पनि गरिएको थिएन । बुद्धिमानीहरूले सुने, खोजी गरे, ध्यान गरे, तथा प्रार्थना गरे । त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले ख्रीष्‍टको जीवनको उद्देश्‍‍यको अर्थ नबुझेसम्मै धर्मशास्‍‌त्रलाई धर्मशास्‍‌त्रसँग दाँजे । ख्रीष्‍ट क्रूसमा टाँगिनु अघि कुनै व्यक्तिसँग पनि उहाँको बारेमा यति व्यापक ज्ञान थिएन । क्रूसमा टाँगिएको दृश्‍‍य देख्‍ने तथा ख्रीष्‍टको वचन सुन्नेहरूमध्ये कैयौंका हृदयमा सत्यताको ज्योति चम्किरहेको थियो ।PAP 109.3

    येशूले आफ्‍नो पीडाको समयमा एक ढाढसको आभास पाउनुभयो । सो आभास पश्‍चात्तापी चोरको प्रार्थना थियो । येशूसँगै क्रूसमा टाँगिएका दुबै चोरहरूले सर्वप्रथमतः उहाँमाथि गालीगलौज गरेका थिए; र ती मध्ये एक चाहिँ पीडाको कारण अझ व्याकुल तथा अटेरी बन्नपुग्यो । तर उसको अर्को मित्रले भने यस्तो व्यवहार गरेन । उक्त व्यक्ति कठोर अपराधी थिएन; ऊ दुष्‍ट सम्पर्कद्वारा बहकिनपुगेको थियो, तर क्रूस वरिपरि मुक्तिदातालाई निन्दा गरिरहेका मानिसहरूभन्दा ऊ कम दोषी थियो । उसले येशूलाई देखेको तथा उहाँको बारेमा सुनेको थियो, र उहाँको शिक्षाद्वारा विश्‍‍वस्त बन्नपुगेको थियो, तर पूजाहारी तथा शासकहरूका कारण ऊ उहाँदेखि तर्किनपुगेको थियो । त्यस विश्‍‍वासलाई दबाउनका निम्ति ऊ पापको दलदलमा अझ गहिरोरूपमा फस्‍नपुगेको थियो, र अन्त्यमा ऊ पक्राउ परेको थियो, र एक अपराधीको रूपमा पुर्पक्ष गरिएको थियो र उसलाई क्रूसमा मृत्युदण्ड दिइनेवाला थियो । महलभित्र तथा कलवरीतर्फको मार्गमा ऊ येशूसँगै थियो । उसले “म यिनमा केही दोष पाउँदिन” भनी पिलातसले घोषणा गरेको सुनेको थियो । यूहन्ना १९:४ । उसले उहाँको ईश्‍‍वरीय स्‍वभाव तथा उहाँलाई यातना दिनेहरूप्रति उहाँको करुणामयी क्षमालाई ध्यानपूर्वक हेरेको थियो । उसले क्रूससामु कैयौं धर्मप्रति आस्था राख्‍ने मानिसहरूले प्रभु येशूलाई तिरस्कार गर्न तथा खिल्‍ली उडाउनका निम्ति मुख खोलेको देख्यो । उसले ठट्टा गर्दै हल्‍लिएका शिरहरू देख्यो । उसले दोषको कारण आफ्‍नो मित्रले भर्त्सनायुक्त रूपमा यसरी बोलेको सुन्दछ: “के तिमी ख्रीष्‍ट हैइनौ ? तिमी आफैलाई र हामीलाई बचाऊ ।” उसले बटुवाहरूमध्ये कैयौंले येशूको पक्षमा बोलेको सुन्यो । ती मानिसहरूले उहाँका वचनहरू दोहोऱ्याएका तथा उहाँका कार्यहरूका बारेमा बोलेको पनि उसले सुन्यो । उसको मनमा उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्ने विश्‍‍वास उत्पन्न भयो । आफ्‍नो अपराधी मित्रतर्फ फर्कंदै उसले भन्यो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्‍‍वरको डर मान्दैनस् ?” मर्नेवाला चोरहरूसँग अब मानिसहरू प्रति कुनै भय थिएन । तर ती दुईमध्ये एकको मनमा परमेश्‍‍वरको भय मान्नुपर्छ भन्ने विश्‍‍वास उत्पन्न भयो तथा भविष्यको चिन्तनले उसमा कम्पन गरायो । र अब उसको जीवन जति नै पापले प्रदुषित भएता पनि उसको जीवन इतिहासको अन्त्य हुनेवाला थियो । र उसले यसरी भन्यो, “हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन् ।”PAP 110.1

    अब त्यहाँ कुनै प्रश्‍न छैन । त्यहाँ कुनै शंका तथा भर्त्सनाहरू छैनन् । आफ्‍नो अपराधद्वारा दोषी ठहरिएपछि उक्त चोर निराश तथा खिन्न बन्नपुगेको थियो; तर अब उसको मनमा अचम्मको कोमल विचारहरू उत्पन्न हुँदछ । येशूले कसरी रोगीहरूलाई निको पार्नुभएको थियो तथा पापलाई क्षमा गर्नुभएको थियो भनी उसले जे जति उहाँको बारेमा सुनेको थियो ती सबैलाई स्मरण गऱ्यो । उसले येशूमा विश्‍‍वास गर्दै रुँदै उहाँलाई पछ्‌याउने मानिसहरूका वचनलाई सुनेको थियो । उसले मुक्तिदाताको शिरमाथि राखिएको लेखको शीर्षकलाई देखेको तथा पढेको थियो । बटुवाहरूमध्ये कसैले सो लेखलाई शोकका साथ काम्दैगरेको ओंठले पढेको वा अन्य कसैले चाहिँ उपहास तथा तिरस्कारका साथ पढेको उसले सुनेको थियो । पवित्र आत्माले उसको मनलाई उज्यालो तुल्याउनुभयो, र विस्तारै प्रमाणको सिक्री जोडिन पुग्यो । चोटैचोटले भरिएको, तिरस्कारको शिकार बन्नुभएको, तथा क्रूसमा टाँगिनु भएको येशूमा उसले परमेश्‍‍वरको एक यस्तो थुमालाई देख्दछ जसले संसारको पाप उठाइ लैजानुुहुनेछ । जब असहाय, मर्दैगरेको उक्त चोरले स्‍वयम्‌लाई मर्दैगरेको मुक्तिदातामा समर्पण गर्दछ तब उसको आशा आफ्‍नो वेदनायुक्त आवाजमा मिसिन पुग्दछ । ऊ यसरी पुकार्दछ, “हे येशू, तपाईं आफ्‍नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् ।”PAP 112.1

    तब शीघ्रताका साथ जवाफ आउँदछ । प्रेम, करुणा, तथा शक्तिले भरिपूर्ण नरम तथा मधुर यो वचन आउँदछ, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ ।”PAP 112.2

    येशूको कानमा लामो समयसम्म पीडा, गालीगलौज, तथा तिरस्कार पर्दछ । जब उहाँलाई क्रूसमा टाँगियो तब उहाँले अझैपनि ठट्टा तथा सरापयुक्त आवाजहरू गुञ्‍जिहरेको सुन्नुभयो । उहाँले तृष्णायुक्त हृदयका साथ आफ्‍ना चेलाहरूबाट विश्‍‍वासका केहि अभिव्यक्तिहरू सुन्ने आशा राख्‍नुभएको थियो । उहाँले शोकले भरिपूर्ण निम्‍न वचनहरू मात्र सुन्नुभयो, “उहाँले नै इस्राएलको उद्धार गर्नुपर्नेछ भनी हामीले विश्‍‍वास गरेका गरेका थियौं ।” मर्दै गरेको चोरको ओंठदेखि विश्‍‍वास तथा प्रेमको अभिव्यक्ति सुन्न पाउनुहुँदा मुक्तिदाता कति कृतज्ञ हुनुभयो होला त ? जबकि अगुवा यहूदीहरूले उहाँलाई इन्कार गर्दैथिए, र स्‍वयम् उहाँकै चेलाहरूले समेत उहाँको ईश्‍‍वरत्‍वमाथि शंका गर्दैथिए, अनन्तताको साँधमा रहेको त्यस चोरले भने येशूलाई प्रभु भनी पुकाऱ्यो । जब उहाँले आश्‍चर्य कामहरू गर्नुभयो, तथा उहाँ चिहानदेखि बौरिउठ्‍नु भएपछि धेरै मानिसहरू उहाँलाई परमप्रभुको रूपमा पुकार्न तैयार थिए; तर उहाँलाई क्रूसमा टाँगिएको अवस्थामा अन्तिम घडीमा बचाइएको पश्‍चातापी चोरले बाहेक अन्य कसैले पनि उहाँलाई स्‍वीकार गरेनन् ।PAP 113.1

    जब त्यस चोरले येशूलाई प्रभु भनी पुकारेको थियो । तब सो कुरा क्रूस वरिपरि भेला भएका मानिसहरूले पनि सुने । पश्‍चात्तापी व्यक्तिको ध्वनिले तिनीहरूका ध्यानलाई आकर्षित पाऱ्यो । क्रूसको फेदमा ख्रीष्‍टको बस्‍‌त्रमाथि विवाद गर्दै चिठ्ठा हाल्दैगरेका मानिसहरू पनि कुरा सुन्ने हेतुले शान्त भए । तिनीहरूका क्रोधले भरिपूर्ण आवाज बन्द हुनपुग्यो । तिनीहरू निःशब्द भई ख्रीष्‍टतर्फ आफ्‍ना नजर लगाए अनि उहाँको ओंठदेखि जवाफको प्रतिक्षा गरे ।PAP 113.2

    जसै उहाँले प्रतिज्ञाको वचन बोल्‍नुभयो, तब क्रूसलाई ढाक्‍ने घना बादललाई नै छेड्‍नेगरी उज्‍ज्‍वल तथा जीवित ज्योति चम्कियो । पश्‍चात्तापी चोरको मनमा परमेश्‍‍वरले उसलाई स्‍वीकार गर्नुभएको छ भन्ने पूर्ण शान्ति छायो । आफ्‍नो नम्रताद्वारा ख्रीष्‍ट महिमित हुनुभयो । उहाँ मानिसहरूका नजरमा पराजित देखापर्नु भएता पनि उहाँ विजयी हुनुहुन्थ्यो । उहाँलाई पाप बोक्‍नुहुनेको रूपमा स्‍वीकार गरिएको थियो । मानिसहरूले उहाँको मानव देहमाथि शक्ति प्रदर्शन गर्न सक्‍लान् । तिनीहरूले पवित्र मन्दिरलाई काँढे मुकुटद्वारा छेड्‍न सक्‍लान् । तिनीहरूले उहाँको बस्‍‌त्र फुकाल्‍न तथा यसको विभाजनमाथि विवाद गर्न सक्‍लान् । तर तिनीहरूले उहाँको पाप क्षमा गर्नेशक्तिलाई उहाँदेखि खोस्‍न सक्‍नेछैनन् । उहाँले मृत्युको सामना गर्नुभई स्‍वयम् आफ्‍नै ईश्‍‍वरत्‍व तथा पिताको महिमाको बारेमा गवाही दिनुभयो । जो जति उहाँमार्फत परमेश्‍‍वरमा आउँदछन् ती सबैलाई पूर्णरूपमा बचाउनु उहाँको राजकीय अधिकार हो ।PAP 114.1

    “म तिमीलाई भन्दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ ।” ख्रीष्‍टले उक्त चोर उहाँसँगै त्यही दिन स्‍वर्गमा हुनेछ भनी प्रतिज्ञा गर्नुभएन । उहाँ स्‍वयम् आफै पनि त्यही दिन स्‍वर्गमा जानुभएन । उहाँ चिहानमा सुत्‍नुभयो, र पुनरुत्थानको बिहान उहाँले भन्नुभयो, “म अहिलेसम्म पिताकहाँ गएको छैन ।” यूहन्ना २०:१७ । तर क्रूसमा चढाइएको दिनमा, देखौवा पराजय तथा अन्धकारमय दिनमा, एक अपराधीको रूपमा क्रूसमा मरिरहेको समयमा ख्रीष्‍टले त्यस पापीलाई ढाढस दिनुहुँदै यो प्रतिज्ञा गर्नुभयो । “तिमी मसित स्‍वर्गमा हुनेछौ ।”PAP 114.2

    येशूसँग क्रूसमा चढाइएका ती दुई चोरहरूलाई उहाँको दुबैतर्फ राखिएको थियो । पूजाहारी तथा शासकहरूका निर्देशन मुताविक सो कार्य गरिएको थियो । ख्रीष्‍टलाई दुई चोरहरूका बीचमा राख्‍नुको अर्थ तिनजनामध्ये उहाँ नै सबैभन्दा महा अपराधी हुनुहुन्छ भनी सूचित गर्ने हेतु थियो । यसप्रकार धर्मशास्‍‌त्रको यो वचन पूरा हुन आयो, “उ, अपराधीहरूको गन्तीमा गनियो ।” यशैया ५३:१२ । तर पूजाहारीहरूले आफ्‍ना व्यवहारको पूूर्ण अर्थ देख्‍न सकेनन् । जब येशूलाई चोरहरूका साथ क्रूसमा चढाइयो, तब उहाँलाई ती दुई क्रूसको बीचमा टाँगिएको थियो, यसप्रकार उहाँको क्रूसलाई पापमा डुब्‍नपुगेको संसारको बीचमा राखिएको थियो । र पश्‍चात्तापी चोरको निम्ति बोलिएको वचनले एक यस्तो ज्योति प्रज्‍ज्‍वलित गऱ्यो जुन ज्योति संसारको पल्‍लो कुनासम्मै चम्किनेछ ।PAP 115.1

    स्‍वर्गदूतहरूले आश्‍चर्य मान्दै मानसिक तथा शारीरिक रूपमा तीव्र पीडा भोग्दै गर्नुभएको येशूको असीमित प्रेमलाई हेरे, र उहाँ त्यस अवस्थामा पनि केवल अरूका बारेमा मात्र चिन्तन गर्दैहुनुहुन्थ्यो, तथा उहाँले पश्‍चात्तापी व्यक्तिलाई विश्‍‍वास गर्न प्रोत्साहित गर्नुभयो । आफ्‍नो नम्रतामा उहाँले एक अगमवक्ताको हैसियतले यरुशलेमका जनहरूलाई सम्बोधन गर्नुभयो; एक पूजाहारी तथा न्यायधीशको हैसियतले उहाँले पितासँग उहाँका हत्याराहरूलाई क्षमा गर्न बिन्ति गर्नुभएको थियो; र एक प्रेमिलो मुक्तिदाताको हैसियतले उहाँले पश्‍चात्तापी चोरलाई माफ गर्नुभएको थियो ।PAP 115.2

    जब येशूको नजर उहाँ वरिपरि भएका मानिसहरू माथि पऱ्यो तब एक व्यक्तिले उहाँको ध्यानलाई आकर्षित गऱ्यो । क्रूसको फेदमा उहाँकी माता खडा थिइन् जसलाई यूहन्नाले सहारा दिइरहेका थिए । उनी आफ्‍नो पुत्रदेखि टाढा रहन सकिनन्; र यूहन्नाले अब अन्त्यको समय आइसकेको चाल पाएका कारण मरियमलाई पुनः क्रूसतर्फ ल्याएका थिए । ख्रीष्‍टले मर्दै गर्नु भएको अन्तिम घडीमा आफ्‍नी मातालाई सम्झनुभयो । शोकले भरिपूर्ण मुहारतर्फ तथा यूहन्नातर्फ हेर्नुहुँदै उहाँले तिनलाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो !” तब यूहन्नालाई यसो भन्नुभयो, “हेर, तिम्री आमा !” यूहन्नाले ख्रीष्‍टका वचनहरूलाई बुझे अनि जिम्मेवारीलाई स्‍वीकार गरे । यूहन्नाले तत्कालै मरियमलाई आफ्‍नो घरमा लगे, र त्यस समयदेखि तिनलाई कोमलतापूर्वक हेरचाहा गरे । उहाँ कति दयालु मुक्तिदाता हुनुहुन्छ जसले आफ्‍नो शारीरिक पीडा तथा मानसिक वेदनाका बाबजुद आफ्‍नी माताप्रति चिन्ता लिनुभयो । मरियमलाई सुखसुबिधा प्रदान गर्नका निम्ति उहाँसित कुनै पैसा थिएन; तर उहाँ यूहन्नाको हृदयमा बिराजमान हुनुहुन्थ्यो, र उहाँले आफ्‍नी मातालाई यूहन्नाको हातमा एक अमूल्य उत्तरदानको रूपमा हस्तान्तरण गर्नुभयो । यसप्रकार उहाँले तिनलाई सर्वाधिक आवश्‍‍यक पर्ने एक यस्तो व्यक्तिको कोमल सहानुभूति प्रदान गर्नुभयो जसले येशूलाई प्रेम गरेकै कारण तिनलाई पनि प्रेम गर्दथे । र मरियमलाई एक पवित्र नासोको रूपमा ग्रहण गर्ने क्रमद्वारा उनले एक महान् आशिष ग्रहण गर्दैथिए । तिनी यूहन्नाको प्रिय गुरुको स्थिर स्मारक थिइन् ।PAP 115.3

    ख्रीष्‍टको पैतृक प्रेमको पूर्ण उदाहरण शताब्दीऔंदेखिको तुवाँलोमाझ पनि चहकिलो रूपमा चम्किँदै आएको छ । करीब तीस वर्षसम्म येशूले आफ्‍नो दैनिक परिश्रमद्वारा घरको बोझ घटाउनमा मद्दत गर्नुभयो । र अहिले आफ्‍नो अन्तिम वेदनामा पनि उहाँले आफ्‍नी शोकाकुल विधवा माताको खाँचोहरूलाई पूरा गर्न याद गर्नुभयो । हाम्रा परमप्रभुका प्रत्येक चेलामा पनि यही स्‍वभाव झल्किनेछ । जुन मानिसहरूले ख्रीष्‍टलाई पछ्‌याउनेछन् तिनीहरूले आफ्‍ना अभिभावकहरूलाई सम्मान गर्नु तथा तिनीहरूका खाँचोहरूलाई पूरा गर्नुलाई आफ्‍नो धर्मको एक अंशका रूपमा महसुस गर्नेछन् । जुन व्यक्तिको हृदयमा ख्रीष्‍टको वास भएको हुन्छ सो व्यक्तिले आफ्‍ना अभिभावकहरूलाई हेरबिचार गर्ने तथा कोमल सहानुभूति प्रकट गर्ने क्रममा कदापि असफल हुने छैनन् ।PAP 116.1

    महिमाको परमप्रभु अब मानवजातिको छुटकाराको मोलको रूपमा मर्दैहुनुहुन्थ्यो । ख्रीष्‍टले आफ्‍नो अमूल्य जीवन सुम्पनुभएता पनि मानिसहरूले उहाँप्रति जय हर्ष गरेनन् । सर्वत्र क्रूर अन्धकार थियो । उहाँ मृत्युको भयद्वारा दबिनुभएको थिएन । उहाँमा अवर्णनीय वेदना उत्पन्न गर्ने वास्तवमा क्रूसको पीडा तथा अपमान थिएन । ख्रीष्‍ट दुःखीहरूका राजकुमार हुनुहुन्थ्यो; तर उहाँको पीडाको वास्तविक कारण पापको उग्ररूपको चेतनाले गर्दा तथा पापमै लिप्‍त हुनपुगेका मानिसहरू यसको घोरता प्रति अन्धो बन्नपुगेका कारण उत्पन्न भएको थियो । मावन हृदयमा पापको पकड कति गहिरो हुनुपुगेको छ तथा कति कम मानिसहरूले मात्र यसको शक्तिदेखि छुटकारा पाउने इच्छा गर्नेछन् भन्ने कुरा ख्रीष्‍टले बुझ्‍नुभयो । परमेश्‍‍वरको सहायताबिना मानवजाति मर्नुपर्नेछ भन्ने कुरा उहाँलाई थाहा थियो, र धेरै मानिसहरू प्रचुर सहायताको पहुँचका बाबजुद मरिरहेका उहाँले देख्‍नुभयो ।PAP 117.1

    ख्रीष्‍ट हाम्रा बदला तथा धितो हुनुभएकोले उहाँमाथि हामी सबैको पाप खन्याइएको थियो । उहाँ एक पापीको रूपमा गनिनुभयो, ताकि उहाँले हामीलाई व्यवस्थाको दोषदेखि उद्धार गर्न सक्‍नुहुनेछ । आदमका सारा पुस्ताहरूका पापको बोझले उहाँको हृदयलाई दबाइरहेको थियो । पापविरुद्ध परमेश्‍‍वरको क्रोध, तथा दुष्‍टताप्रति परमेश्‍‍वरको नाराबाजीले उहाँको पुत्रलाई व्याकुलताको भावनाले भरिपूर्ण तुल्यायो । ख्रीष्‍टले संसारमा बिताउनु भएको समयकाल भरी नै पतित संसारलाई परमेश्‍‍वर पिताको करुणा तथा क्षमाशील प्रेमको सुुसमाचारको बारेमा प्रचार गर्दै आउनुभएको थियो । पापीहरूलाई मुक्ति दिलाउनु नै उहाँको प्रमुख बिषय थियो । तर अहिले दोषको भयानक बोझका कारण उहाँले पिताको मुहारलाई देख्‍नुभएन । यस महा वेदनाको समयमा जब परमेश्‍‍वरको मुहार मुक्तिदातादेखि हट्‍नपुग्यो तब यसले उहाँको हृदयलाई एक यस्तो वेदनाद्वारा छेडिदियो जसलाई मानिसले कदापि पूर्णरूपमा बुझ्‍नेछैनन् । यो वेदना यति असामान्य थियो कि उहाँले आफ्‍नो शारीरिक पीडालाई मुश्‍‍किलले महसुस गर्नुभयो ।PAP 117.2

    शैतानले आफ्‍नो उग्र परीक्षाका साथ येशूको हृदयलाई निचोऱ्यो । मुक्तिदाताले चिहानको द्वारदेखि पर केहि देख्‍नुभएन । उहाँले चिहानदेखि एक विजेताको रूपमा बौरिउठ्‍ने आशा देख्‍नुभएन, न त पिताले उहाँको बलिदानलाई स्‍वीकार गर्नुभएको छ भन्ने आशा नै गर्न सक्‍नुभयो । परमेश्‍‍वरको नजरमा पाप यति घीनलाग्दो छ कि परमेश्‍‍वरसँगको उहाँको बिछोड अनन्तको हुने पो हुने हो कि भन्ने भय उहाँमा छायो । ख्रीष्‍टले एक यस्तो वेदनाको महसुस गर्नुभयो जुन वेदना पापी मानवजातिले त्यतिखेर महसुस गर्नेछन् जब करुणाले तिनीहरूका निम्ति बिन्ति गर्नेछैन । पापप्रति यही चेतना तथा मानवजातिको बदलाको हैसियतले उहाँमाथि पिताको क्रोध खन्याइएको यही भानका कारण उहाँले पिउनुभएको कचौरा अति तीतो सावित भयो, तथा परमेश्‍‍वरको पुत्रको हृदयलाई छियाछिया पाऱ्यो ।PAP 118.1

    स्‍वर्गदूतहरूले मुक्तिदाताको नैराश्‍‍यताले भरिपूर्ण वेदनालाई आश्‍चर्यपूर्वक हेरे । स्‍वर्गीय गणको त्यस भयानक दृश्‍‍यप्रति आफ्‍ना आँखा छोपे । निर्जीव प्रकृतिले समेत आफ्‍नो अपमानित तथा मृत्युको सामना गरिरहनुभएको मालिकप्रति सहानुभूति व्यक्त गरिन् । सूर्यले त्यस भयानक दृश्‍‍यप्रति नजर लगाउन इन्कार गऱ्यो । दिउँसै चम्किरहेको सूर्य पनि अचानक अन्धकार बन्नपुग्यो । कात्रोझैं पूर्ण अन्धकारले क्रूसलाई ढाक्‍यो । “अब मध्यान्हदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो ।” यसरी अन्धकार उत्पन्न गर्नका निम्ति त्यहाँ कुनै ग्रहण वा अन्य कुनै त्यस्तो प्राकृतिक कारण थिएन, र सो अन्धकार वास्तवमा चन्द्रमा वा ताराविहीन मध्यरातजस्तै गहिरो थियो । यो परमेश्‍‍वरद्वारा दिइएको अलौकिक गवाही थियो ताकि यसमार्फत भावी पुस्ताहरूका विश्‍‍वास दृढ बन्न पुग्‍नेछ ।PAP 119.1

    त्यस गहिरो अन्धकारमा परमेश्‍‍वरको उपस्थिति लुकेको थियो । परमेश्‍‍वरले अन्धकारलाई आफ्‍नो पाल बनाउनुभयो, र मानव आँखादेखि आफ्‍नो महिमा लुकाउनुभयो । परमेश्‍‍वर उहाँका पवित्र स्‍वर्गदूतहरूका साथ क्रूसको सामु उपस्थित हुनुहुन्थ्यो । परमेश्‍‍वर पिता उहाँको पुत्रको साथमा हुनुहुन्थ्यो । यदि बादलदेखि उहाँको महिमा चम्किएको भए सो महिमा देख्‍नेजति सबै मानिसहरूका विनाश हुनेथियो । र त्यस भयावह घडीमा समेत ख्रीष्‍टले पिताको उपस्थितिको शान्त्‍वना पाउनुभएन । उहाँले एक्‍लै कोलको भार थाम्‍नुभयो, र उहाँसँग कुनै मानिसहरू थिएनन् ।PAP 119.2

    यस घोर अन्धकारमा परमेश्‍‍वरले आफ्‍नो पुत्रको अन्तिम मानव वेदनालाई ढाक्‍नुभयो । ख्रीष्‍टको पीडा देख्‍नेजति सबैजना उहाँको ईश्‍‍वरत्‍वको बारेमा विश्‍‍वस्त भएका थिए । जबकि एक हत्याराको हैसियतले कयिनको अनुहारले आफ्‍नो दोष प्रकट गरेको थियो भने ख्रीष्‍टको अनुहारले चाहिँ निर्दोषिता, निर्मलता, परोपकारिता, तथा स्‍वयम् परमेश्‍‍वरकै स्‍वरूप प्रकट गरेको थियो । तर उहाँलाई सताउनेहरूले स्‍वर्गको लालमोहर ख्रीष्‍टप्रति ध्यान दिएनन् । ख्रीष्‍टको लामो वेदनाले भरिपूर्ण समयावधिभर नै गिल्‍ला गरिरहेका भीडले उहाँतर्फ हेरेका थिए । अब उहाँलाई करुणापूर्वक परमेश्‍‍वरको आवरणद्वारा ढाकिएको थियो ।PAP 119.3

    कलवरीमा चिहानको सन्नाटा छाएको भान हुन्थ्यो । क्रूस वरिपरि भेला भएका भीडमाझ अज्ञात त्रास छायो । अर्ध उच्‍चारित शब्दहरूका बीचमा सराप्‍ने तथा गालीगलौज गर्ने क्रम बन्द हुनपुग्यो । पुरुष, स्‍‌त्री, तथा बालबालिकाहरू जमीनमा लम्पसार परे । पटक पटक आकाशमा उज्‍ज्‍वल चट्याङ्ग चम्कियो र क्रूस अनि क्रूसमा टाँगिनुभएको मुक्तिदातालाई प्रकट गऱ्यो । पूजाहारी, शासक, धर्मगुरु, उहाँलाई सजाय दिने मानिसहरू, तथा उपस्थित भीडले आफूमाथि प्रतिहिंसाको समय आएको छ भन्ने बिचार लिए । केही समयपछि केही मानिसहरूले अब येशू क्रूसदेखि ओर्लनुहुनेछ भनी कानेखुशी गरे । केही मानिसहरू आफ्‍ना छाती पिट्‍दै तथा भयका साथ चिच्याउँदै पुनः शहरतिर छामछुम गर्दै फर्किने प्रयत्‍न गरे ।PAP 120.1

    दिउँसो तीन बजेतिर मानिसहरूदेखि अन्धकार हट्यो, तर त्यस अन्धकारले मुक्तिदातालाई भने अझै ढाकिरह्‌यो । उहाँको हृदयलाई जुन बिरह तथा त्रासको बोझले दबाएको थियो यो त्यसैको प्रतीक थियो । क्रूसलाई ढाकेको अन्धकारलाई कुनै आँखाले चिन सक्दैनथ्यो, र ख्रीष्‍टको पीडित आत्मालाई ढाकेको अझ गहिरो अन्धकारलाई कसैले पनि छेड्‍न सक्दैनथ्यो । जब उहाँ क्रूसमा टाँगिनुभएको थियो तब उहाँमाथि क्रोधित चट्याङ्ग प्रहार गरिएको जस्तो देखिन्थ्यो । तब “येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, इलोई, इलोई, लामा सबखथनी ?” “हे मेरा परमेश्‍‍वर, हे मेरा परमेश्‍‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ ?” जब मुक्तिदातालाई ढाकेको बाह्‍य अन्धकार हटेर गयो तब कैयौं मानिसहरूले उहाँमाथि परमेश्‍‍वरको बदला आइपरेको छ भन्ने धारणा व्यक्त गरे । उहाँले स्‍वयम्‌लाई परमेश्‍‍वरको पुत्रको रूपमा दाबी गर्नुभएको कारण परमेश्‍‍वरको क्रोधको वज्र उहाँमाथि प्रहार गरिएको हो भनी तिनीहरूले बताए । उहाँमाथि विश्‍‍वास गर्ने धेरैले उहाँको निराशपूर्ण चित्कारलाई सुने । तिनीहरूका आशाजति सबै बिलाएर गए । यदि परमेश्‍‍वरले येशूलाई त्याग्‍नुभयो भने अब उहाँका चेलाहरूले केमाथि विश्‍‍वास गर्ने त ?PAP 120.2

    जब ख्रीष्‍टको टुक्रिएको आत्मादेखि अन्धकार हटेर गयो तब उहाँले शारीरिक पीडाका साथ चेतनालाभ गर्नुभयो र उहाँले “मलाई प्यास लागेको छ” भनी बोल्‍नुभयो । जब एक रोमी सिपाहीले उहाँको सुकेको ओंठ देख्यो तब उसमा करुणाको भावना उत्पन्न भयो र हिस्सपको लठ्ठीमा स्पन्‍ज राखी सो स्पन्‍जलाई सिरकाको भाँडामा डुबाई येशूलाई दियो । तर पूजाहारीहरूले उहाँको वेदनाप्रति खिल्‍ली उडाए । जब पृथ्वी अन्धकारद्वारा ढाकिन पुगेको थियो तब तिनीहरू भयभीत बन्न पुगेका थिए; र जब तिनीहरूमा त्रासको भावना घटेर गयो तब अझ पनि येशू तिनीहरूको हातदेखि उम्कनुहुनेछ भन्ने भय तिनीहरूमा फर्कियो । तिनीहरूले उहाँको “इलोई, इलोई, लामा सबखथनी ?” “हे मेरा परमेश्‍‍वर, हे मेरा परमेश्‍‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ ?” भन्ने कथनको गलत अर्थ लगाएका थिए । तीतो अवहेलना तथा खिसीका साथ तिनीहरूले यसो भने, “यस मानिसले एलियालाई बोलाउँदैछ ।” उहाँको पीडालाई हटाउने अन्तिम सुअवसरलाई समेत तिनीहरूले इन्कार गरे । तिनीहरूले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन् कि ?”PAP 121.1

    परमेश्‍‍वरको निष्खोट पुत्र क्रूसमा टाँगिनुभयो, उहाँको शरीर कोर्राद्वारा छियाछिया बन्नपुगेको थियो; उहाँका जुन हात सदा आशिष बाँड्‍ने कार्यमा सरिक हुने गर्दथे अहिले क्रूसमा कीलाद्वारा बाँधिनपुगेका छन्; जुन गोडा प्रेमिलो सेवाकाइमा अथक रहने गर्थे तिनका क्रूसमा राखी कीला लगाइएको छ; त्यस राजकीय शिरलाई काँढे मुकुटले छेडेको थियो तथा मानिसको वियोगान्त रोदन भगाउने उहाँको ओंठ अहिले काँप्दैथियो । उहाँले भोग्‍नुभएका सबै कुराहरू-उहाँको शिरदेखि बगेका रगतका थोपाहरू, क्रूसमा कीला ठोकिएका उहाँका हात गोडाहरू, उहाँको शरीरलाई सर्वनाश पार्ने विरह, तथा पिताले उहाँदेखि आफ्‍नो मुहार लुकाउनुहुँदाको अवर्णनीय वेदनाले मानवजातिलाई यसरी घोषणा गर्दछ, “परमेश्‍‍वरको पुत्र हाम्रै खातिर पापको भार बहन गर्न राजी हुनुभयो; हाम्रै खातिर उहाँले मृत्युको प्रभुत्‍वलाई जित्‍नुभयो, र स्‍वर्गको ढोकालाई खोल्‍नुभयो ।” जुन येशूले क्रोधित छाललाई शान्त पार्नुभएको थियो । तथा जो फीँजले भरिएको लहरमा हिँड्‍नु भएको थियो, जसले दुष्‍टात्माहरूलाई काम्‍ने तुल्याउनुभएको थियो तथा रोगलाई भगाउनु भएको थियो, जसले अन्धो आँखालाई खोल्‍नुभएको थियो तथा मृतकलाई बिउँताउनुभएको थियो-उहाँले स्‍वयम्‌लाई क्रूसमा एक बलिदानको रूपमा अर्पण गर्नुभयो र हामीप्रति उहाँमा भएको प्रेमकै कारण उहाँले यी सबै कष्‍टहरू भोग्‍नुभयो । उहाँले एक पाप वहन गर्नुहुने अस्तित्‍वको हैसियतले ईश्‍‍वरीय इन्साफको क्रोध सहनुभयो, र हाम्रै खातिर पापी बन्नुभयो ।PAP 122.1

    मानिसहरूले निःशब्दताका साथ भयानक दृश्‍‍यको अन्त्यलाई हेरे । सूर्य चम्कियो; तर क्रूस अझैपनि अन्धकारद्वारा ढाकिनपुगेको थियो । पूजाहारी तथा शासकहरूले यरुशलेमतर्फ हेरे; र शहर तथा यहूूदियाको फाँट घना बादलद्वारा भरिनपुगेको थियो । धार्मिकताको सूर्य, तथा संसारको ज्योतिले आफ्‍नो किरण कुनै समय निगाह प्राप्‍त गरेको शहरदेखि हटाउँदै हुनुहुन्थ्यो । परमेश्‍‍वरको क्रोधको भयानक चट्याङ्ग त्यस दुर्भाग्यपूर्ण शहरमाथि केन्द्रित थियो ।PAP 123.1

    अचानक क्रूसदेखि अन्धकार हट्‍नपुग्यो, र स्पष्‍ट तुरहीको आवाजझैं येशूले “अब सिद्धियो” भनी कराउनुभयो जुन आवाज संसारभरी नै प्रतिध्वनी भएको भान हुन्थ्यो । क्रूसलाई ज्योतिले घेऱ्यो र मुत्तिदाताको मुहार सूर्यको उज्यालोपन झैं महिमाका साथ चम्किनपुग्यो । तब उहाँको छातीमा शिर झुक्‍नपुग्यो र उहाँको मृत्यु भयो ।PAP 123.2

    भयानक अन्धकारमाझ, परमेश्‍‍वरद्वारा त्यागिनु भएपश्‍चात ख्रीष्‍टले मानव कष्‍टको कचौरादेखि अन्तिम थेग्रो पनि पिउनुभएको थियो । त्यस भयानक घडीमा उहाँलाई त्यस समयसम्म प्रदान गरिएको पिताको स्‍वीकारको प्रमाणमाथि उहाँले भरोसा गर्नुभएको थियो । उहाँ आफ्‍नो पिताको चरित्रदेखि परिचित हुनुहुन्थ्यो; उहाँले पिताको इन्साफ, करुणा, तथा उहाँको महान् प्रेमलाई बुझ्‍नुहुन्थ्यो । विश्‍‍वासद्वारा उहाँले परमेश्‍‍वरमा विश्राम लिनुभएको थियो जसको उहाँ आज्ञा पालन गर्नु उहाँको निम्ति सदा आनन्दको विषय थियो । जब उहाँले त्यागका साथ स्‍वयम् आफैलाई परमेश्‍‍वरमा समर्पण गर्नुभयो तब उहाँमाथि परमेश्‍‍वरको निगाह गुम्‍नपुगेको छ भन्ने चेतना उहाँको मनमा पुनः फर्कियो । विश्‍‍वासद्वारा ख्रीष्‍ट विजयी हुनुहुन्थ्यो ।PAP 123.3

    यसअघि संसारले कहिल्यै पनि यसप्रकारको दृश्‍‍य देखेको थिएन । मानिसहरू अचेततुल्य खडा भए, र एकटक मुक्तिदातालाई हेरे । पुनः पृथ्वीमा अन्धकार छायो, र मेघ गर्जेझैं कर्कश गर्जन सुन्न सकिन्थ्यो । त्यहाँ शक्तिशाली भुइँचालो आयो । भुइँचालोले मानिसहरूलाई एकै साथ हल्‍लायो । सर्वत्र भयानक व्याकुलता तथा त्रास छायो । वरिपरिका पहाडहरूदेखि चट्टानहरू फुटे अनि बेसीतर्फ गुड्‍न थाले । चिहानहरू खुले र मृतकहरू आफ्‍ना चिहानदेखि निस्के । प्रकृतिका सारा वस्तुहरूका अणुहरू समेत कम्पन भएको भान हुन्थ्यो । पूजाहारी, शासक, सिपाहीहरू उहाँलाई सजाय दिने मानिसहरू, तथा भीड त्रसित भएर चुप लाग्दै भुइँमा लम्पसार परे ।PAP 124.1

    जब ख्रीष्‍टको ओंठदेखि “अब सिद्धियो” भन्ने चर्को आवाज आयो तब पूजाहारीहरू मन्दिरमा पुरोहित्याइँ गर्दैथिए । यो बेलुकीको बलिदानको समय थियो । ख्रीष्‍टलाई प्रतिनिधित्‍व गर्ने थुमालाई बली चढाउन ल्याइएको थियो । अब्राहाम आफ्‍नो पुत्रमाथि छुरा प्रहार गर्न उभिएझैं पूजाहारी पनि महत्‍वपूर्ण तथा सुन्दर बस्‍‌त्रका साथ हातमा छुरा लिई उभिएको थियो । मानिसहरू तीव्र इच्छाका साथ यस दृश्‍‍यलाई हेरिरहेका थिए । तर पृथ्वी कम्पायमान हुन तथा डगमगाउन थाल्यो; किनकि स्‍वयम् परमप्रभु आफै आउनुभएको थियो । चर्को आवाजका साथ मन्दिरको भित्री पर्दा एक अदृश्‍‍य हातद्वारा माथिदेखि तलसम्मै च्यातिनपुगेको थियो, र मानिसहरूका सामु त्यस स्थानलाई खुला तुल्याइदियो जुन कुनै समय परमेश्‍‍वरको उपस्थितिद्वारा भरिपूर्ण हुने गर्दथ्यो । यहाँ नै शिकैनाको वास हुन्थ्यो । यहाँ नै कृपा आसनको माथि परमेश्‍‍वरले आफ्‍नो महिमा प्रकट गर्नुहुन्थ्यो । प्रधान पूजाहारीले बाहेक कसैले पनि मन्दिरको यस भागलाई अन्य भागसँग छुट्याउले पर्दालाई उठाउँदैनथे । वर्षको एकपटक मात्र प्रधान पूजाहारी मानिसहरूका पाप प्रायश्‍चित गर्न त्यस कोठामा प्रवेश गर्ने गर्दथ्यो । तर यो पर्दा दुई भागमा च्यातियो । पृथ्वीको पवित्रस्थानको महा-पवित्रस्थान यस उप्रान्त पवित्र रहेन ।PAP 124.2

    सर्वत्र त्रास तथा व्याकुलता छायो । पूजाहारी थुमालाई प्रहार गर्नेवाला थियो; तर उसको शक्तिहीन हातदेखि छुरा खस्यो र थुमा फुत्कियो । परमेश्‍‍वरको पुत्रको मृत्युद्वारा रूपले प्रतिरूप भेट्यो । महान् बलिदान गरि सकिएको छ । महा-पवित्रस्थानसम्मको मार्ग खुला हुनपुग्यो । सबैका लागि एक नयाँ तथा जीवित मार्ग तयार पारिएको छ । यस उप्रान्त पापी तथा शोकाकुल मानवजातिले प्रधान पूजाहारीको आगमनको प्रतिक्षा गर्नुपर्ने छैन । यस उप्रान्त मुक्तिदाताले पूजाहारीको रूपमा पुरोहित्याइँ तथा स्‍वर्गमा वकालत गर्नुपर्नेछ । यो त एक जीवित वाणीले सबै उपासकहरूसँग बोले सरह थियो । अब त्यहाँ सबै बलिदान तथा पाप बलिहरूका अन्त्य भयो । उहाँको यस वचनमुताविक परमेश्‍‍वरको पुत्र आउनुभएको छ, “तपाईको इच्छा पूरा गर्न म आएको छु ।” “आफ्‍नै रगतद्वारा अनन्त उद्धार प्राप्‍त गरिदिएर सधैंको निम्ति एकै पटक महा-पवित्रस्थान भित्र उहाँ प्रवेश गर्नुभयो ।” हिब्रू १०:७; ९:१२ ।PAP 125.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents