Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १४. विवादको अन्त

    (अंग्रेजी पुस्तक अध्याय ४२ पृष्‍ठ ६६२)

    हजार वर्षको अन्त्यमा ख्रीष्‍ट फेरि यस पृथ्वीमा फर्कनुहुन्छ । उहाँ मुक्ति पाएका दल लगायत असङ्ख्य सहायक दूतहरूसित आउनुहुन्छ । जब उहाँ आफ्‍ना महामहिम गौरवका साथ ओर्लनुहुन्छ तब दुष्‍टहरूलाई तिनीहरूको कामको प्रतिफल दिन चिहानदेखि बौरी उठाउनुहुन्छ । त्यो शक्तिशाली दल, समुद्रका बालुवा समान असङ्ख्य रूपमा बाहिर निस्केर आउँछन् । तिनीहरू पहिलो पुनरुत्थानमा भाग लिनेहरूभन्दा कस्तो भिन्नता ! धर्मीहरू नओइल्याउने यौवन र सुन्दरताको वस्‍‍त्रले आभूषित भएका थिए । तर दुष्‍टहरूले चाहिँ रोग र मृत्युका लक्षणहरू धारण गरेका हुन्छन् ।MBA 187.1

    परमेश्‍‍वरका पुत्रको महिमातर्फ विशाल भीड़का प्रत्येक आँखा केन्द्रित हुन्छ । दुष्‍टहरूका दलहरू एउटै स्‍वरमा कराउँछन्: “धन्यको हुनुहुन्छ, उहाँ, जो प्रभुको नाउँमा आउनुहुन्छ !” यस वाक्‍य येशूप्रतिको प्रेमको कारण उच्‍चारण भएको होइन । सत्यताको सामर्थ्यले अनिच्छुक ओठहरूबाट यी शब्दहरू उच्‍चारण गर्न उत्प्रेरित गर्दछ । जसरी दुष्‍टहरू ख्रीष्‍टप्रति दुश्‍‍मनी र विद्रोहीको आत्मासाथ चिहानमा सुतेका थिए त्यसरी नै तिनीहरू बाहिर निस्केर आउँछन् । तिनीहरूले कुनै यस्तो नौलो परिक्षणकालको अवसर पाउनेछैनन् जसले तिनीहरूका विगत जीवनहरूका खोटहरू मेटाउन सक्छ । त्यसबाट कुनै लाभ पनि हुँदैन । जीवनभरिको अधर्मले पनि तिनीहरूका हृदयहरू कमलो पारेको छैन । यदि तिनीहरूलाई दोस्रो परिक्षणकाल दिइएको भए पनि तिनीहरूले पूर्व जीवनमा झैँ परमेश्‍‍वरका आज्ञाहरूबाट भाग्दै र उहाँको विरूद्ध विद्रोह जगाउँदै समय बिताउने थिए ।MBA 187.2

    उहाँको पुनरुत्थान पश्‍चात्, जहाँबाट उहाँको स्‍वर्गारोहण भएको थियो र जहाँ स्‍वर्गदूहरूले उहाँको दोस्रो आगमनको प्रतिज्ञा दोहोऱ्याएका थिए त्यही जैतुन पर्वतमा ख्रीष्‍टको अवतरण हुन्छ । अगमवक्ता भन्दछन्: “परमप्रभु मेरा परमेश्‍‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ ।” “त्यस दिन उहाँका खुट्टाले यरूशलेमाको सामु पूर्वतिर भएको जैतुन डाँड़ामा टेक्‍नेछन्, अनि पूर्वदेखि पश्‍चिमसम्म जैतुन डाँड़ाको बीचमा धाँदो फाट्‍नेछ, र त्यहाँ एउटा ठूलो खोल्सा बनिनेछ ।” “परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमप्रभु हुनुहुनेछ र उहाँकै नाउँ मात्र हुनेछ ।” जकरिया १४:५, ४, ९ । जसरी नयाँ यरूशलेम आफ्‍ना ठूलो वैभवकासाथ स्‍वर्गबाट ओर्लेर आउँछ त्यसरी नै त्यो शुद्धिकरण गरिएको र ग्रहणयोग्य स्थानमा अवतरण हुन्छ र ख्रीष्‍ट आफ्‍ना मानिसहरू र स्‍वर्गदूतहरूकासाथ पवित्र नगरमा प्रवेश गर्नुहुन्छ ।MBA 187.3

    अब शैतानचाहिँ सर्वोच्‍चताका लागि अन्तिम भिषण युद्धको तयारी गर्दछ । जब दुष्‍टको राजकुमारको शक्ति हरण भयो र धोकेबाज कार्यबाट बञ्‍चित भयो तब त्यो अति नै दुःखित र उदास भएको थियो; तर जब मरेका दुष्‍टहरू बौरी उठ्‌छन् र उसले ठूला भीड़हरू आफ्‍नो पक्षमा उभिएको देख्‍छ तब त्यसका आशाहरू जागरण हुन्छ, र अबचाहिँ उसले महान् विवाद समर्पण नगर्ने दृढ संकल्प गर्छ । उसले सबै दुष्‍टका सेनाहरूलाई आफ्‍नो झण्डामुनि जम्मा गर्नेछ र तिनीहरूद्वारा नै उसका योजनाहरू पूरा गर्ने प्रयत्‍न गर्दछ । ती दुष्‍टहरू शैतानका कैदीहरू हुन् । तिनीहरूले ख्रीष्‍टलाई अस्‍वीकार गरेर विद्रोही नेताको प्रशासनलाई ग्रहण गरेका छन् । तिनीहरू उसका सुझावहरू स्‍वीकार गर्न र आदेशहरू मान्न तयार छन् । तापनि उसको अघिल्‍लो धूर्ततालाई कायम राख्‍नका खातिर उसले आफैलाई शैतान भनी स्‍वीकार गर्दैन । उसले दाबी गर्दछ कि ऊ आफैचाहिँ राजकुमार तथा यस संसारको उचित मालिक हो तर उसको हक अन्यायपूर्वक खोसिएको छ । ऊ आफैले भ्रामिक मानिसहरूलाई तिनीहरूका उद्धारकर्ताको प्रतिनिधित्‍व गर्दछ र उसले तिनीहरूलाई यो भरोसा दिलाउँदछ कि उसको शक्तिले तिनीहरूलाई चिहानबाट बौरी उठाएको हो र उसले नै तिनीहरूलाई सबभन्दा क्रूर तानाशाही शासकबाट छुटकारा दिन गइरहेको छ । ख्रीष्‍टको अनुपस्थितिमा शैतानले उसका दाबीहरूलाई समर्थन गर्न आश्‍चर्यकर्महरू गर्दछ । उसले कमजोरीलाई बल दिन्छ र सबैलाई उसको आफ्‍नै आत्मा र सामर्थ्यले अभिप्रेरित गर्दछ । उसले सन्तहरूको छाउनी विरूद्ध नेतृत्‍व गर्ने र परमेश्‍‍वरको शहरलाई कब्‍जा गर्ने प्रस्ताव ल्याउँछ । उसले राक्षसी विजयोल्‍लाससाथ नगण्य करोडौं मानिसहरूतर्फ देखाउँछ जोहरू मृत्युबाट बौरी उठेका छन् र उसले घोषणा गर्छ कि ऊ तिनीहरूको नेतृत्‍वकर्ताको हैसियतले शहर पराजित गर्न र उसको सिंहासन र राज्य पुनःप्राप्‍त गर्न सक्षम छ ।MBA 188.1

    जलप्रलय पूर्व बाँचेको तथा लामो आयु भएको मानवजातिका भीड़हरू पनि त्यो विशाल घुँइचोमा समावेश भएका थिए; ती अग्‍ला कद र बृहत् विवेक भएका मानिसहरूले पतित दूतहरूको अधीनमा रहेर तिनीहरूका सम्पूर्ण सीप र ज्ञान आफ्‍नै श्रेष्‍ठताका लागि प्रयोग गरेका थिए; ती मानिसहरूको सीपालु कलाका कार्यहरूले गर्दा संसारले तिनीहरूका प्रतिभालाई उच्‍च आदर प्रदान गरेको थियो, तर जसको क्रूर र दुष्‍ट अविष्कारहरूले पृथ्वीलाई अशुद्ध पार्दै र परमेश्‍‍वरको प्रतिरूपलाई बिगार्दैथिए, त्यसर्थ तिनीहरू आफैले नै उहाँको सृष्‍टिबाट मेटिने कारण सृजना गरेका थिए । त्यहाँ राज्यहरूलाई परास्त गर्ने राजाहरू र सेनापतिहरू छन्, वीर मानिसहरू जो कहिल्यै पनि लड़ाइँमा परास्त भएका थिएनन्, घमण्डी र महत्त्‍वाकाङ्‍क्षी लड़ाकूँहरू छन् जसको आगमनले राज्यहरू काँप्थे । यी अनुभवहरू ता मृत्युमा पनि परिवर्तन भएनन् । जसरी तिनीहरू चिहानबाट निस्केर आउँछन् त्यसरी नै तिनीहरूका विचारहरूको वेग अन्त भएको विन्दुदेखि नै पुनःआरम्भ हुन्छ । तिनीहरूलाई विजयको अभिलाषाले शासन गरेका छन् जसले तिनीहरूलाई चिहानमा पर्नुभन्दा पहिले पनि वशमा राखेको थियो ।MBA 189.1

    शैतानले उसका दूतहरू लगायत यी राजाहरू, विजेताहरू र शक्तिशाली मानिसहरूसँग परामर्श गर्छ । तिनीहरूले आफ्‍नो पक्षमा भएको शक्ति र सङ्ख्यालाई हेर्छन्, तिनीहरूका तुलनामा त शहरभित्रका सेनाहरू थोरै मात्र छन्, र त्यसलाई सजिलै जित्‍न सकिन्छ भनी घोषणा गर्छन् । तिनीहरूले नयाँ यरूशलेमका सम्पत्ति र महिमा हडप्‍ने योजना बनाउँछन् । सबैले तुरून्तै लड़ाइँको तयारी सुरु गर्छन् । कलात्मक मिस्तिरीहरूले लड़ाइँका लागि औजारहरू बनाउँछन् । सैन्यदलका अगुवाहरू, जो तिनीहरूको सफलतामा प्रख्यात् भएका थिए तिनीहरूले लड़ाकूँका भीड़हरूलाई समूहहरू र विभागहरूमा विभाजित गर्दछन् ।MBA 189.2

    अन्तमा अगाड़ि बढ्‍ने आदेश दिन्छ, त्यसपछि अनगिन्ति दल अघि सर्छ—यस्ता सैन्यदल कुनै पनि पृथ्वीका विजेताले कहिले पनि जम्मा गरेका थिएन, पृथ्वीमा लड़ाइँ सुरु भएदेखि यता सम्पूर्ण युगहरूका संयुक्त फौज पनि यसको समान हुनै सक्दैनथ्यो । सबभन्दा शक्तिशाली लड़ाकूँ शैतानले फौजलाई अगाड़ि बढाउँछ, र यो अन्तिम लड़ाइँमा उसका सबै दूतहरूले पनि मिलेर सहयोग दिन्छन् । राजाहरू र लड़ाकूँहरू आ-आफ्‍नै पङ्‍तिमा उभिन्छन्, र भीड़हरू विशाल समूहमा आ-आफ्‍ना नियुक्ति भएका अगुवाहरूका पछि लाग्छन् । सैनिक नियमअनुसार लहरमा बसेका फौज पृथ्वीको भताभुङ्ग र अनियमित मैदानमाथि टेक्दै परमेश्‍‍वरको शहरतर्फ अगाड़ि बढ्‍छन् । येशूको आज्ञाद्वारा नयाँ यरूशलेमका ढोकाहरू बन्द हुन्छन्, र शैतानका सेनाहरूले शहरलाई घेरेर आक्रमण गर्ने तयारी गर्छन् ।MBA 189.3

    अब फेरि उहाँका शत्रुहरूको नजरमा ख्रीष्‍ट देखा पर्नुहुन्छ । शहरभन्दा निकै माथि एक टल्कने सुनको जगमा अग्‍लो र उच्‍च पारिएको एउटा सिंहासन देखिएको हुन्छ । यस सिंहासनमा परमेश्‍‍वरका पुत्र बस्‍नुहुन्छ र उहाँका वरिपरी उहाँको राज्यका प्रजाहरू हुन्छन् । ख्रीष्‍टको शक्ति र ऐश्‍‍वर्य कुनै पनि भाषाले वर्णन गर्न सक्दैन, नता कुनै कलमले नै कोर्न सकिन्छ । अनन्त पिताको महिमाले उहाँका पुत्रलाई घेरिरहेको हुन्छ । उहाँको उपस्थितिको उज्‍ज्‍वलताले परमेश्‍‍वरको शहर भरिदिँदछ, र त्यसको चमक ढोकाहरूद्वारा बाहिर बहेर सारा पृथ्वीलाई ढाक्दछ ।MBA 190.1

    कुनै एक समय शैतानको कार्यका साहसिला कामदारहरू पनि सिंहासन नजिकै बसेका छन्, तर तिनीहरू आगोबाट अगुल्टोझैँ निकालिएका हुन्, र मुक्तिदातालाई प्रगाढ र उत्कट भक्तिसाथ अनुसरण गरेका छन् । त्यसपछि दोस्रो स्थानमा यस्ता मानिसहरू छन् जुनहरूले झूटो र नाष्‍तिकताका माझमा पनि इसाई चरित्र पूर्ण निर्माण गरेका थिए, र जब इसाईजगतले परमेश्‍‍वरका आज्ञालाई अमान्य घोषणा गरे तब तिनीहरूले त्यसलाई आदर गरेका थिए, अनि सम्पूर्ण युगहरूभरि करोडौं मानिसहरू विश्‍‍वासको खातिर शहिद बनेका थिए । त्योभन्दा अलिक पर “कुनै मानिसले गन्न नसकिने एउटा ठूलो भीड़, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्‍नेहरूबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने” उभिरहेका थिए । प्रकाश ७:९ । तिनीहरूको लड़ाइँ अन्त भएको छ र विजय प्राप्‍त भएको छ । तिनीहरूले दौड पूरा गरेका छन् र पुरस्कार प्राप्‍त गरेका छन् । तिनीहरूका हातहरूमा भएका खजूरका पातहरू विजयको सङ्केत हुन्, र सेता वस्‍‍त्रहरूले ख्रीष्‍टको निष्खोट धार्मिकतालाई प्रतिनिधित्‍व गर्दछ जुन अब तिनीहरूका भएका छन् ।MBA 190.2

    मुक्ति पाएकाहरूले एउटा प्रशंसाको गीत गाउँछन् जसले स्‍वर्गका कुना-कुनाभरि बारम्बार प्रतिध्वनि गर्दछ: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍‍वर र थुमामा मुक्ति छ ।” प्रकाश ७:१० । अनि स्‍वर्गदूतहरू र सराफिमहरू एउटै स्‍वरले आराधना गर्छन् । मुक्ति पाएकाहरूले शैतानको यस्तो शक्ति र घृणा देख्‍छन्, जुन तिनीहरूले त्यस्तो कहिले पनि देखेका थिएनन्, र जसबाट ख्रीष्‍टको शक्तिले मात्रै तिनीहरूलाई विजय दिलाउन सक्‍ने थियो । ती चहकिलो भीड़मध्ये कसैले पनि दाबी गर्न सक्दैन कि तिनीहरूकै शक्ति र भलाइले गर्दा विजय हासिल गरी मुक्ति पाएका छन् । तिनीहरूले आफ्‍नो कार्य अर्थात् भोगेको कष्‍टको विषयमा कुनै शब्द उच्‍चारण गरेनन्; प्रत्येक गीतको प्रसङ्ग र स्तुति गानको प्रमुख लयचाहिँ: मुक्ति हाम्रा परमेश्‍‍वर र थुमाकै हो ।MBA 190.3

    पृथ्वी र स्‍वर्गबाट भेला भएका बासिन्दाहरूको उपस्थितिमा परमेश्‍‍वरका पुत्रको अन्तिम सिंहासनारोहण हुन्छ । अब सर्वोच्‍च शक्ति र ऐश्‍‍वर्य धारणपछि राजाहरूका राजाले उहाँको सरकार विरूद्ध विद्रोह गर्नेहरूको सजाय घोषणा गर्नुहुन्छ र जसले उहाँका व्यवस्था भङ्ग गरे र उहाँका जनलाई अत्याचार गरे तिनीहरूमाथि इन्साफ ल्याउनुहुन्छ । परमेश्‍‍वरका अगमवक्ता भन्दछन्: “मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें । उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन । मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, पुस्तकहरू खोलिए । अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो । ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो ।” प्रकाश २०:११, १२ ।MBA 191.1

    अभिलेखका पुस्तकहरू खोलिने बित्तिकै येशूको आँखाले दुष्‍टहरूलाई हेर्छन्, अनि तिनीहरूले हरेक पापको सम्झना गर्छन् । पवित्रता र शुद्धताको मार्गबाट तिनीहरूका गोड़ा अलगिएको निर्धारित ठाउँ तिनीहरूले थाहा पाउँछन्, र तिनीहरूको घमण्ड र विद्रोहले परमेश्‍‍वरका व्यवस्था भङ्ग गरे त्यसकारण तिनीहरू कस्तो अवस्थामा पुगेको रहेछ त सो तिनीहरूले देख्‍छन् । प्रलोभक परीक्षाहरू जसले पापमा लिप्‍त हुने साहस दिए, आशिष्‌हरू भ्रष्‍ट पारे, परमेश्‍‍वरका सन्देशवाहकहरूलाई घृणा गरे, चेतावनीहरू अस्‍वीकार गरे, र कृपाका छालहरू अटेरी र अपश्‍चात्तापी हृदयले प्रतिकार गरे—यी सबै अग्‍निमय अक्षरमा लेखेझैँ देखा पर्छन् ।MBA 191.2

    सिंहासनभन्दा माथि एउटा क्रूस देखिन्छ; र आदमको परीक्षा र पतन र महान् मुक्तिको योजनामा अग्रगामी खुड्‍किलाहरूका पूर्ण देखापर्छ । मुक्तिदाताको हीन जन्म; उहाँको अघिल्‍लो जीवनको साधारणता र आज्ञाकारिता; यर्दनमा भएको उहाँको बप्‍तिस्मा; मरूभूमिमा भएको उपवास र परीक्षा, उहाँको सार्वजनिक कार्य, मानिसको सामु स्‍वर्गीय बहुमूल्य आशिष् प्रकट गर्नुभएको; दिनभरि प्रेम र कृपाका कार्यहरू गरेर व्यस्त हुनुभएको, रातभरि पहाड़का एकान्त ठाउँहरूमा प्रार्थना गर्दै जागा रहनुभएको; उहाँले प्रदान गर्नुभएका फाइदाहरूका सट्टामा डाह, ईर्ष्या र घृणाको षड्‌यन्‍‍त्र मात्र प्राप्‍त गर्नुभएको; सारा संसारका पापहरूको बोझले किचिएर गेतसमनीमा डरलाग्दो रहस्यमय कष्‍ट भोग्‍नुभएको; उहाँ हत्यारा भीड़को हातमा विश्‍‍वासघात् गरिनुभएको; त्यो डरलाग्दो रातका भयङ्कर घटनाहरू—अप्रतिकारक कैदी उहाँका अति प्रिय चेलाहरूद्वारा त्यागिनुभएको, यरूशलेमका सड़कहरूमा निर्दयीसाथ लगिनुभएको; हन्नासको सामु गर्वसाथ परमेश्‍‍वरका पुत्र प्रदर्शिन हुनुभएको, प्रधान पूजाहारीको दरबारमा आरोप लगाइनुभएको, पिलातुसको अदालतमा, कात्तर र क्रूर हेरोद अगि गिल्‍ला र निन्दा गरिनुभएको, यातना भोग्‍नुभएको, र मृत्युदण्डको दोषी ठहरिनुभएको—यी सबै कुराहरू स्पष्‍टसाथ प्रकट भएका छन् ।MBA 191.3

    अब अस्थिर भीड़का सामुन्ने—धैर्य दुःखी व्यक्तिले कलवरीतर्फ पाइला बढाइरहनुभएको; स्‍वर्गका राजकुमार क्रूसमा झुण्डिरहनुभएको; हठी पूजाहारीहरू र निन्दित भीड़ले उहाँको अन्तिम संतापमा गिल्‍ला गरिरहेको; अप्राकृतिक अन्धकार; उथलपुथल भइरहेको पृथ्वी, फाटिएका चट्टानहरू, खुल्‍ला चिहानहरूले संसारका मुक्तिदाताले आफ्‍ना जीवन अर्पण गर्नुहुँदा त्यस क्षणका सङ्केत गरेको—ती अन्तिम दृश्‍‍यहरू प्रकट भएका छन् ।MBA 192.1

    त्यो डरलाग्दो तमाशा जस्तो थियो त्यस्तै प्रदर्शन हुन्छ । शैतान, उसका दूतहरूसाथै उसका जनताहरूले आफ्‍नै कामको तस्‍वीरबाट नजर फर्काउने तिनीहरूका कुनै शक्ति नै हुँदैन । प्रत्येक अभिनयकर्ताको कार्य स्मरण हुन्छ । हेरोदले इस्राएलका राजालाई नष्‍ट पार्ने उद्देश्‍‍यले बेतलेहेमका निर्दोष नानीहरूलाई मारेको थियो; नीच हेरोदियस, जसको दोषी प्राणमाथि बप्‍तिस्मा दिने यूहन्नाको रगत परेको थियो; कमजोरी मौकावादी पिलातुस; खिसी गर्ने सिपाहीहरू; पूजाहारीहरू, शासकहरू र बौलाहा भीड़ यसरी चिच्याएको थिए: “त्यसको रगत हामीमाथि र हाम्रो छोराछोरीमाथि परोस् !”—सबैले तिनीहरूको दोषको महा अपराध देख्‍छन् । तिनीहरू व्यर्थमा सूर्यभन्दा चम्किलो ईश्‍‍वरीय महिमाको अनुहारबाट लुक्‍न खोज्छन्, जबकि मुक्ति पाएकाहरूले यसरी चिच्याउँदै तिनीहरूका मुकुटहरू मुक्तिदाताको चरणमा राख्‍छन्: “उहाँ नै मेरो खातिर मर्नुभयो !”MBA 192.2

    ख्रीष्‍टका प्रेरितहरू छुटकारा पाएकाहरूको भीड़को बीचमा छन्, साहसी पावल, उत्साहपूर्ण पत्रूस, प्रिय र मायालु यूहन्ना, र सत्यनिष्‍ठ भाइहरू, साथै तिनीहरूसँग विशाल शहिदका दल छन्; पर्खाल बाहिर भने तिनीहरूलाई सताउने, कैदी बनाउने र हत्याराहरू प्रत्येक दुष्‍ट र घृणित थोकसँगै उभिरहेका छन् । त्यहाँ क्रूरता र दुष्‍टताको अति निर्दयी निरो पनि छ, जसले एक पल्ट कसैको यातनाको घोर कष्‍टमा पनि शैतानिक आनन्द लिएको थियो, अब ऊ पनि तिनीहरूको आनन्द र उल्‍लास हेरिरहेको छ । त्यहाँ उसकी आमाले उनको आफ्‍नै कार्यको फल हेरेकीछिन्; कसरी उनको छोरोमाथि दुष्‍ट चरित्रको छाप पऱ्यो र उनको प्रभाव र उदाहरणद्वारा उत्साहित र विकसित क्रोधको फलले कसरी संसार त्यसका अपराधहरू देखेर कामेको थियो ।MBA 192.3

    पोपतन्‍‍त्रका पूजाहारीहरू र उच्‍च पदका पुरोहितहरू पनि त्यहाँ छन् जसले ख्रीष्‍टका राजदूत भनी दाबी गरेतापनि उहाँका मानिसहरूको विवेकलाई नियन्‍‍त्रण गर्न यातनाको यन्‍‍त्र, कालकोठरी र दाउराको थुप्रो प्रयोग गरेका थिए । त्यहाँ अन्य घमण्डी पोपहरू पनि छन् जसले आफैलाई परमेश्‍‍वरभन्दा पनि उच्‍च पारेका थिए, र सर्वोच्‍चका व्यवस्थालाई फेर्ने आँट गरेका थिए । ती चर्चका नामधारे पिताहरूले परमेश्‍‍वरलाई एक लेखा दिनुपर्छ जसबाट तिनीहरू कुनै रीतिले पनि उम्कनेछैनन् । सर्वज्ञानी जन उहाँको व्यवस्थामा डाही हुनुहुन्छ, र उहाँले दोषीलाई कुनै रीतिले पनि शुद्ध पार्नुहुन्न भनी तिनीहरूलाई बुझाउन ढिलो भइसकेको छ । अब तिनीहरूले बुझ्छन् कि ख्रीष्‍टले उहाँका निम्ति कष्‍ट भोगेका मानिसहरूप्रति ध्यान केन्द्रित गर्नुहुन्छ; अनि तिनीहरूले उहाँको आफ्‍नै वचनको सामर्थ्य महसुस गर्छन्: “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे-जति गऱ्यो, त्यो तिमीहरूले मलाई नै गऱ्यो ।” मत्ती २५:४० ।MBA 193.1

    सर्म्पूण दुष्‍ट संसार परमेश्‍‍वरको न्यायासनको सामु स्‍वर्गीय सरकार विरूद्ध कुख्यात् विद्रोही स्‍वरूप उभिन्छ । तिनीहरूका पक्षमा विन्ती गर्ने कोही पनि छैन; तिनीहरूसँग कुनै बहाना पनि छैन; र तिनीहरूमाथि अनन्त मृत्युको सजाय घोषणा हुन्छ ।MBA 193.2

    अब सबैको समक्ष यो प्रमाणित भएको छ कि पापको ज्याला उत्कृष्‍ट स्‍वतन्‍‍त्रता र अनन्त जीवन होइन, तर दासत्‍व, विनाश र मृत्यु हो । दुष्‍टहरूले तिनीहरूका विद्रोही जीवनद्वारा गुमाएका अधिकार देख्‍छन् । जब तिनीहरूलाई अतुलनीय तथा अनन्त महान् महिमा प्रदान गरिएको थियो तब तिनीहरूको नजरमा सो घृणित ठहरियो; तर अहिले यो अति नै तिर्सनात्मक देखिन्छ । दुष्‍ट मानिसहरू यसरी चिच्याउँछन्, “यी सबै मैले प्राप्‍त गर्न सक्‍ने थिएँ; तर मैले यी कुरालाई बेवास्ता गरें । हाय, कस्तो अन्धो प्रेम ! मैले शान्ति, खुशीयालीपन र आदरलाई दरिद्रता, बदनाम र नैराश्‍‍यतासँग साटेको छु ।” तिनीहरू स्‍वर्गबाट बहिष्कृत हुनुचाहिँ न्यायसङ्गत छ भन्ने कुरा सबैले देख्‍छन् । तिनीहरूले आफ्‍ना जीवनद्वारा घोषणा गरे: “यस व्यक्तिले [येशू] हामीमाथि राज्य गरेको हामी चाहँदैनौं ।”MBA 193.3

    दुष्‍टहरूले परमेश्‍‍वरका पुत्रको आसन ग्रहणलाई मूर्छा परेर हेर्छन् । तिनीहरूले उहाँको हातमा दैवीय व्यवस्थाका पाटीहरू देख्‍छन्, त्यही विधानहरू जुन तिनीहरूले घृणा गरेर लत्याएका थिए । तिनीहरूले मुक्ति पाएकाहरूको अचम्म, हर्ष र उपासनाको भावावेग हेर्छन्; जब धुनको तरङ्ग शहरभन्दा बाहिरका भीड़माथि वेगसाथ बहन्छ, तब सबै एउटै सोरमा चिच्याउँछन्: “हे परमप्रभु परमेश्‍‍वर सर्वशक्तिमान्, तपाईंका कार्य महान् र आश्‍चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्” (प्रकाश १५:३); तब तिनीहरूले लम्पसार परेर जीवनका राजकुमारलाई दण्डवत गर्छन् ।MBA 194.1

    जब शैतानले ख्रीष्‍टको महिमा र गौरव देख्‍छ तब ऊ अचल भएको जस्तै देखिन्छ । कुनै एक समय आफू छोप्‍ने करूब भएको र त्यस स्थानबाट पतन भएको अब उसले स्मरण गर्छ । उज्‍ज्‍वल सराफिम, “प्रभात‌्को पुत्र;” कस्तो परिवर्तन, कस्तो पतित ! उसलाई एक समय जुन परिषद्‍मा आदर गर्दथ्यो अब ऊ अनन्तका लागि बहिष्कृत भएको छ । उसले अर्कोलाई पिताको छेउमा उभिएर उहाँको महिमा छोपिरहेको देख्‍छ । ख्रीष्‍टको शिरमा विशाल कद र गौरवशाली स्‍वभावका स्‍वर्गदूतले मुकुट पहिराइ दिएको उसले देख्‍छ, र उसलाई यो पनि थाहा हुन्छ कि यस स्‍वर्गदूतको उच्‍च पदको अधिकारी आफै हुन सक्‍नेथियो ।MBA 194.2

    उसले आफ्‍नो निर्दोष र शुद्ध घर, शान्ति र सन्तुष्‍टताको स्मरण गर्छ जुन उसले परमेश्‍‍वरको विरूद्ध शिकायत् र ख्रीष्‍टप्रति डाह नगरेसम्म उपभोग गरेको थियो । स्‍वर्गदूतहरूको समर्थन र सहानुभूति प्राप्‍त गर्न प्रयोग गरेको उसका दोषहरू, विद्रोह र छलहरू, परमेश्‍‍वरले क्षमा प्रदान गर्नुभएको थियो तापनि आफ्‍ना गल्तीहरू अस्‍वीकार गरेका कड़ा अटेरीपन—सम्पूर्ण दृश्‍‍य त्यसको सामु स्पष्‍ट देखिन्छ । उसले आफ्‍नो कार्य र त्यसको परिणाम मानिसहरूको बीचमा पुनर्विचार गर्छ—साथी-साथीमा दुश्‍‍मनी, जीवनको डरलाग्दो विनाश, राज्य प्राप्‍ति र पतन, सिंहासनहरूको नष्‍ट, खैलाबैला, लड़ाइँ र विद्रोहहरूको लामो लहर । त्यसले ख्रीष्‍टका कार्यलाई निरन्तर विरोध गरेको र मानिसलाई अलि-अलि गर्दै डुबाउने प्रयास गरेको स्मरण गर्छ । ज-जसले येशूमा भरोसा राखेका थिए तिनीहरूलाई नष्‍ट पार्न त्यसका दुष्‍ट षड्‌यन्‍‍त्रहरू पनि शक्तिहीन भएको देख्‍छ । जब शैतानले उसको राज्यमा फर्केर हेर्छ, तब उसको परिश्रमको फल स्‍वरूप असफल र विनाश मात्र देख्‍छ । उसले भीड़हरूलाई यो विश्‍‍वास दिलाउँछ कि परमेश्‍‍वरको त्यो शहर जित्‍न सजिलै छ; तर उसलाई थाहा छ कि यो झूटो हो । महान् विवादको उग्रतामा ऊ बारम्बार पराजय भएर समर्पण गर्न बाध्य भएको छ । उसले अनन्तको शक्ति र ऐश्‍‍वर्यलाई राम्ररी जान्दछ ।MBA 194.3

    प्रमुख विद्रोहीको लक्ष्य भनेको नै आफैलाई निर्दोष ठहऱ्याएर ईश्‍‍वरीय प्रशासन नै पहिलेदेखि विद्रोहको जिम्मेवारी रहेको थियो भनी प्रमाणित गर्ने हो । उसले यस अन्तको समयसम्म त्यसको भरमग्दूर बुद्धिको सम्पूर्ण शक्ति त्यस कार्यमा लगानी गरेको छ । उसले धेरै अघिदेखि चल्दैआएको महान् विवादको आफ्‍नै ढाँचा विशाल भीड़हरूलाई स्‍वीकार गराएर चतुरता र विधिपूर्वक, र अचम्मलाग्दो सफलतासाथ काम गरेको छ । यो प्रधान षड्‌यन्‍‍त्रकारीले हजारौँ वर्षसम्म झूटलाई सत्यताको रूपमा प्रकट गरेको छ । तर अब विद्रोही अन्तमा पराजय हुने समय आएको छ; अनि इतिहास र शैतानको चरित्र खुला हुने समय आएको छ । ख्रीष्‍टलाई सिंहासन च्यूत गर्ने, उहाँका जनलाई नष्‍ट गर्ने र परमेश्‍‍वरका शहरको सम्पत्ति हात पार्ने आफ्‍नो अन्तिम ठूलो प्रयासमा प्रभुख ठगाहाको साँचो रूप उसले देखाएको छ । ज-जसले ऊसँग सहकार्य गरेका थिए तिनीहरूले त्यसको कार्यमा पूर्ण असफल मात्र देख्‍छन् । उसले परमेश्‍‍वरको राज्य विरूद्ध जुन कपट गरेको थियो सो ख्रीष्‍टका अनुयायीहरू र बफादारी स्‍वर्गदूतहरूले पूर्णरूपमा देख्‍छन् । विश्‍‍वव्यापी घृणाको केन्द्रविन्दुचाहिँ ऊ नै हुन्छ ।MBA 195.1

    शैतानले यो कुरा देख्‍छ कि उसको स्‍वेच्छाकारी विद्रोहले उसलाई स्‍वर्गको लागि अयोग्य ठहऱ्याएको छ । उसले आफ्‍ना शक्तिहरूलाई परमेश्‍‍वरको विरूद्ध लड़ाइँ गर्न तालिम दिएको छ; उसलाई स्‍वर्गका शुद्धता, शान्ति र मिलाप घोर यातना साबित हुने थियो । उसले परमेश्‍‍वरको कृपा र न्यायको विरूद्धमा लगाएका आरोपहरू अब शान्त भएका छन् । जुन निन्दा उसले यहोवामाथि प्रहार गर्ने प्रयास गरेको थियो सो पूर्णरूपले ऊमाथि नै आइपऱ्यो । अब शैतान घोप्‍टो परी उसको सजाय न्यायसङ्गत भएको स्‍वीकार गर्छ ।MBA 195.2

    “हे प्रभु, कसले तपाइँको डर मान्नेछैन र ? र कसले तपाइँको नामलाई महिमा दिनेछैन र ? किनकि तपाइँ मात्र पवित्र हुनुहुन्छ; किनकि सबै जातिहरू आउनेछन् र तपाइँको सामु दण्डवत् गर्नेछन्, किनकि तपाइँको न्यायका कामहरू प्रकट भएका छन् ।” प्रकाश १५:४ (KJV) । महान् विवादमा लामो समयदेखि चलेको सत्य र झूटोको प्रत्येक प्रश्‍न अब स्पष्‍ट भएको छ । विद्रोहका परिणामहरू, ईश्‍‍वरीय विधिहरूरहितका फलहरू सम्पूर्ण सृजिएका विवेकशील प्राणीहरूको दृष्‍टिमा खुला राखिएका छन् । शैतानले कार्यान्वयन गर्ने योजना गरेको नियम परमेश्‍‍वरका प्रशासन विपरीत भएको तथ्य समस्त ब्रमाण्डको सामु प्रकट गरिएको छ । शैतानका आफ्‍ना कामहरूले नै उसलाई दोषी ठहऱ्याएका छन् । परमेश्‍‍वरको बुद्धि, उहाँको न्याय, र भलाइ पूर्णरूपले निर्दोष ठहरिएका छन् । उहाँका जनहरू र उहाँले रच्‍नुभएका सम्पूर्ण संसारहरूको अनन्त भलाइका खातिर उहाँले गर्नुभएको सम्पूर्ण व्यवहारचाहिँ यस महान् विवादमा प्रकट भएको देखिन्छ । “हे परमप्रभु, तपाईंका सबै कामहरूले तपाईंको प्रशंसा गर्नेछन्, अनि तपाईंका पवित्र जनहरूले तपाईंलाई धन्यको भन्नेछन् ।” भजनसंग्रह १४५:१० (KJV) । पापको इतिहास अनन्त साक्षीका निम्ति रहनेछ, किनकि परमेश्‍‍वरको व्यवस्थाको अस्तित्‍वचाहिँ उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण प्राणीहरूको खुशीसँग सम्बन्धित छ । महान् विवादका सम्पूर्ण तथ्यहरू प्रकट भएको कारण समस्त ब्रमाण्ड, बफादारी र विद्रोहीले एकैसाथ घोषणा गर्नेछन्: “हे पवित्र जनहरूका राजा, तपाईंका बाटाहरू धर्ममय र सत्य छन् ।”MBA 195.3

    पिता र पुत्रले मानिसका खातिर गर्नुभएको महान् बलिदान ब्रमाण्डको सामुन्ने स्पष्‍टरूपमा प्रस्तुत भएको छ । ख्रीष्‍टले आफ्‍नो अधिकारयुक्त पद प्राप्‍त गर्ने समय आएको छ र उहाँ प्रधानताहरू, शक्तिहरू र प्रत्येक नाम भएका नामहरूभन्दा अति नै महिमित हुनुहुन्छ । उहाँको अगाड़ि राखिएको आनन्दको कारण—ताकि उहाँले धेरै सन्तानहरू महिमामा ल्याउन सकोस्—उहाँले क्रूस र लाज पनि सहनुभयो । अवर्णनीय भयङ्कर सन्ताप र लाज सहनु परेतापनि आनन्द र महिमा झन महान् छ । मुक्ति पाएकाहरूलाई उहाँको प्रतिरूपमा परिवर्तन भएको, प्रत्येक हृदयमा दैवीय छाप परेको, प्रत्येक मुहार तिनीहरूका राजाको स्‍वरूपमा प्रतिबिम्बित भएको उहाँ देख्‍नुहुन्छ । उहाँले तिनीहरूभित्र आफ्‍नो प्राणको अति वेदनाका परिणाम देख्‍नुहुन्छ, र उहाँ त्यसमा सन्तुष्‍ट हुनुहुन्छ । धर्मी र पापीहरू जम्मा भएका भीड़हरूले सुन्ने गरी यसरी उहाँ घोषणा गर्नुहुन्छ: “मेरो रगतले किनिएकाहरूलाई हेर ! यिनीहरूका खातिर मैले कष्‍ट भोगें, यिनीहरूका खातिर म मरें, ताकि यिनीहरू मेरो उपस्थितिमा अनन्त युगहरूसम्म वास गर्न सकोस् ।” त्यसपछि सेता वस्‍‍त्र पहिरेर सिंहासन वरिपरी बसेकाहरूबाट प्रशंसाको गीत उचालिन्छ: “मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति, सम्मान, महिमा र स्तुति ग्रहण गर्ने योग्यको हुनुहुन्छ ।” प्रकाश ५:१२ ।MBA 196.1

    शैतानले परमेश्‍‍वरको न्यायलाई स्‍वीकार गर्न तथा ख्रीष्‍टको सर्वोच्‍चतामा झुक्‍न बाध्य भएतापनि उसको चरित्र भने जस्ताको त्यस्तै रहेको छ । विद्रोहको आत्मा प्रचण्ड बाढ़ीझैँ फेरि उर्लेर आउँछ । यसर्थ उसको उग्र रिसको कारणले महान् विवादमा समर्पण नगर्ने निर्णय गर्छ । स्‍वर्गीय राजाको विरूद्ध अन्तिम घोर संग्राम गर्ने समय आएको छ । ऊ हतार-हतार गरी आफ्‍ना जनताको माझमा जान्छ र उसको उन्मत रिसका साथ तिनीहरूलाई तत्कालै लड़ाइँमा उत्प्रेरित गर्ने प्रयत्‍न गर्छ । उसले विद्रोहमा फसाएका असङ्ख्य जनहरूमध्ये कसैले पनि उसको सर्वोच्‍चता अब स्‍वीकार गर्दैन । उसको शक्तिको अन्त भएको छ । दुष्‍टहरूले पनि परमेश्‍‍वरलाई शैतानले झैँ पूर्ण घृणा गरेका छन्; तर तिनीहरूका मुद्दा आशाहीन देख्‍छन्, किनकि तिनीहरूले यहोवाको विरूद्ध विजय हासिल गर्नेछैनन् । तिनीहरू शैतान र झूटका अगुवाहरूप्रति रिसले उन्मत हुन्छन्, र भूतहरूका रिसले तिनीहरूमाथि जाइलाग्छन् ।MBA 196.2

    परमप्रभु भन्नुहुन्छ: “तैंले आफ्‍नो हृदय परमेश्‍‍वरको हृदयझैँ तुल्याएको छस्; यही कारणले गर्दा हेर्, म परदेशीहरूलाई, अँ, जाति-जातिका अत्याचारी मानिसहरूलाई तेरो विरोधमा ल्याउनेछु; अनि तिनीहरूले तेरो बुद्धिको सुन्दरताको विरोधमा आफ्‍ना तरवार थुत्‍नेछन्, र तेरो चमक अशुद्ध पार्नेछन् । तिनीहरूले तँलाई तल खाड़लमा झार्नेछन् ।” “हे ढाकेर राख्‍ने करूब, मैले तँलाई आगोका पत्थरहरूको बीचबाट नाश गरिदिएँ । ... मैले तँलाई जमिनमाथि फ्‍याँकिदिएँ; राजाहरूले तँलाई देखून भनेर मैले तँलाई तिनीहरूको सामु राखिदिएँ । ... अनि तँलाई हेर्ने सबैको दृष्‍टिमा मैले तँलाई पृथ्वीमाथि खरानी तुल्याएँ । ... तँ डरत्रासहरूको कारण हुनेछस्, र तँ सदा-सर्वदाका निम्ति हुनेछैनस् ।” इजकिएल २८:६-८, १६-१९ (KJV) ।MBA 197.1

    “योद्धाको हरेक लड़ाइँ होहल्‍लापूर्ण छ, र रगतमा गुड़िको लुगा—त्यो जलाउनका निम्ति आगोको आहार हुनेछ ।” “परमप्रभुको रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ । उहाँले तिनीहरूलाई बिलकुलै नाश गर्नुहुनेछ, हत्या गर्नेको हातमा उहाँले तिनीहरूलाई सुम्पनुहुनेछ ।” “दुष्‍टहरूमाथि उहाँले आगो र गन्धक वर्षाउनुहुनेछ । पिल्स्याउने तातो हावा तिनीहरूको भाग हुनेछ ।” यशैया ९:५ (KJV); ३४:२; भजनसग्रह ११:६ । आगो परमेश्‍‍वरबाट आकाशदेखि तल आउँछ । पृथ्वीचाहिँ भताभुङ्ग भएको हुन्छ । त्यसको गहिराइमा लुकिएका हतियारहरू बाहिर निस्कन्छन् । भष्म पार्ने ज्‍वालाहरू प्रत्येक फाटिएको गहिराइबाट विस्फोटन हुन्छन् । ती चट्टानहरूमा नै आगो लाग्छन् । भट्टीझैँ दन्कने त्यो दिन आएको छ । पृथ्वी साथै तत्‍वहरू पनि आगोको रापले पग्‍लन्छन्, त्यसमा भएका सम्पूर्ण कृतिहरू जलेर सखाप हुन्छन् । मलाकी ४:१; २ पत्रूस ३:१० । पृथ्वीको सतह एक पग्‍लेको थुप्रो—एउटा विशाल उम्‍लिरहेको आगोको झील—जस्तै देखिन्छ । योचाहिँ भक्तिहीन मानिसहरूका लागि न्याय र विनाशको समय हुन्छ—“यो परमप्रभुको बदला लिने दिन हो, अनि सियोनको मुद्दाका निम्ति क्षतिपूर्तिहरूको वर्ष हो ।” यशैया ३४:८ (KJV) ।MBA 197.2

    दुष्‍टहरूले तिनीहरूको क्षतिपूर्ति पृथ्वीमै प्राप्‍त गर्छन् । हितोपदेश ११:३१ । तिनीहरू “‘ठुटाझैँ हुनेछन्, र त्यो आउने दिनले उनीहरूलाई आगोमा भष्म गर्नेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” मलाकी ४:१ । कति जना केहीछिनमै भष्म हुन्छन् भने अरूचाहिँ धेरै दिनसम्म कष्‍ट भोग्छन् । सबै जनाले “तिनीहरूका कामअनुसार” सजाय भोग्छन् । धर्मीहरूका पापहरू शैतानमाथि सारेको हुनाले उसले आफ्‍नो विद्रोहको लागि मात्र होइन, तर उसले परमेश्‍‍वरका जनहरूलाई फसाएको प्रत्येक पापको लागि पनि कष्‍ट भोग्‍नुपर्छ । उसको भ्रममा परेका मानिसहरू भन्दा उसले अझै धेरै सजाय भोग्‍नुपर्छ । उसका छलहरूमा परेका प्रत्येक व्यक्ति नष्‍ट हुन्छ तर ऊचाहिँ जीवित र कष्‍ट भोगिरहेको हुन्छ । अन्तमा शुद्धिकरण गर्ने आगोले दुष्‍टहरू, जरा र हाँगालाई नाश गर्छ—जराचाहिँ शैतान र त्यसका अनुयायीहरूचाहिँ हाँगाहरू हुन् । त्यसपछि व्यवस्थाको पूर्ण सजाय सम्पन्न भएको हुन्छ; न्यायको अनिवार्यता पूरा भएको हुन्छ; स्‍वर्ग र पृथ्वीले यो देखेर यहोवाको धार्मिकता घोषणा गर्छन् ।MBA 198.1

    शैतानको विनाशको कार्य सदासर्वदाका लागि समाप्‍त भएको छ । उसले छ हजार वर्षदेखि पृथ्वीलाई कष्‍टले भर्दै र ब्रमाण्डभरि शोक ल्याउँदै उसको इच्छाअनुसार गर्दै आएको छ । सम्पूर्ण सृष्‍टिले नै पीड़ामा एकसाथ छट्‍पटाएको छ, र कष्‍ट भोगेको छ । अब परमेश्‍‍वरको सृष्‍टि उसको उपस्थिति र परीक्षाहरूबाट सदाका लागि सुरक्षित भएको छ । “सबै देशहरूले विश्राम र शान्ति पाएका छन् । तिनीहरू गाउन लागेका छन् ।” यशैया १४:७ । अनि प्रशंसा र विजयको चर्को सोर सम्पूर्ण बफादारी ब्रमाण्डबाट उचालिन्छ । “एउटा ठूलो भीड़को सोरजस्तो,” “उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो,” यसो भनिरहेको सुनिन्छ: “‘हल्‍लेलूयाह ! किनकि परमप्रभु हाम्रा परमेश्‍‍वर सर्वशक्तिमान‌्ले राज्य गर्नुहुन्छ !’” प्रकाश १९:६ ।MBA 198.2

    जहाँ पृथ्वी विनाशको आगोले बेहिृएको थियो, त्यहाँ धर्मीहरूचाहिँ पवित्र शहरभित्र सुरक्षासाथ वास गरे । जो-जो पहिलो पुनरुत्थानमा भाग लिएका थिए, तिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति छैन । जहाँ परमेश्‍‍वर दुष्‍टहरूका लागि भष्म पार्ने आगो हुनुहुन्छ त्यहाँ उहाँका मानिसहरूका लागि दुवै सूर्य र ढाल हुनुहुन्छ । प्रकाश २०:६; भजनसंग्रह ८४:११ ।MBA 198.3

    “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए ।” प्रकाश २१:१ । जुन आगोले दुष्‍टहरूलाई भष्म पार्छ त्यसैले पृथ्वीलाई शुद्ध पार्दछ । प्रत्येक श्रापको निशाना मेटिएर जान्छ । मुक्ति पाएकाहरूको सामु पापको डरलाग्दा परिणामहरू स्‍वरूप अनन्तसम्म जलिरहने नरक हुनेछैन ।MBA 198.4

    एउटै मात्र स्मरण बाँकी रहन्छ: हाम्रा मुक्तिदाताले सदासर्वदा आफ्‍नो क्रूसको चिन्ह धारण गर्नुहुनेछ । उहाँको घायल शिर, उहाँको कोखा, उहाँको हात र खुट्टामा मात्र पापको क्रूर कार्यको निशाना रहेको हुन्छ । ख्रीष्‍टलाई उहाँका महिमामा हेर्दै अगमवक्ता भन्छन्: “उहाँको कोखाबाट उहाँका किरणहरू निस्कन्थे; अनि त्यहाँ उहाँको सामर्थ्यको लुक्‍ने ठाउँ थियो ।” हबकूक ३:४ (KJV margin) । घोचिएको कोखाबाट गाढ़ा रातो भल बग्यो, जसले मानिसलाई परमेश्‍‍वरसँग मिलाप गरायो—त्यहीँ नै मुक्तिदाताको महिमा छ, र त्यहीँ “उहाँको सामर्थ्य लुक्‍ने ठाउँ” हो । उहाँ मुक्तिको बलिदानद्वारा “बचाउन शक्तिशाली” हुनुभयो, त्यसकारण उहाँ परमेश्‍‍वरको कृपालाई घृणा गर्नेहरूमाथि न्याय गर्न योग्य हुनुभयो । उहाँको हीनताका चिन्हहरू नै उहाँको सबभन्दा उच्‍च आदर हुन्; कलवरीका घाउहरूले अनन्त युगहरूद्वारा उहाँको प्रशंसा र शक्ति देखाउनेछन् ।MBA 199.1

    “हे बगालको धरहरा, सियोनकी छोरीको किल्‍ला, तँलाई पहिलेको राज्य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ ।” मीका ४:८ । अदनमा पहिलो जोड़ीलाई ज्‍वालामय तरवारले पहरा गरेदेखि पवित्र मानिसहरूले उत्कटसाथ प्रतीक्षा गरेको समय आएको छ, त्यो “किनिएको सम्पत्तिको छुटकाराको” समय आएको छ । एफिसी १:१४ (KJV) । आदिमा मानिसलाई उसको राज्य स्‍वरूप पृथ्वी दिइएको थियो, त्यो शक्तिशाली शत्रु शैतानले विश्‍‍वासघात् गरेर अहिलेसम्म त्यसलाई वशमा पारेको थियो, अब त्यो महान् मुक्तिको योजनाद्वारा फिर्ता ल्याइएको छ । पापद्वारा गुमेका सम्पूर्ण थोक पुनः प्राप्‍त भएको छ । “परमप्रभु ... जसले पृथ्वी रच्‍नुभयो र त्यसलाई बनाउनुभयो; उहाँले नै त्यसलाई स्थापित गर्नुभएको छ; उहाँले त्यसलाई व्यर्थमा सृष्‍टि गर्नुभएन; तर त्यो बसोबास गरिओस् भनेर रच्‍नुभयो ।” यशैया ४५:१८ (KJV) । जब परमेश्‍‍वरले मुक्ति पाएकाहरूको अनन्त निवास निर्माण गर्नुहुन्छ तब उहाँको पृथ्वीको सृष्‍टिको वास्तविक योजना पूरा भएको हुन्छ । “धर्मीहरूले देश अधिकार गर्नेछन्, र त्यहाँ सँधैभरि वास गर्नेछन् ।” भजनसंग्रह ३७:२९ ।MBA 199.2

    भविष्यको उत्तराधिकार अति नै भौतिक देखिने डरले गर्दा जुन सत्यताहरूले हामीलाई आफ्‍नो घरको रूपमा प्रतीक्षा गर्न अग्रसर गर्दछन्, धेरै मानिसहरूले त्यसलाई वास्तविक नभई अध्यात्मिक रूपमा अर्थ लगाएका छन् । ख्रीष्‍टले उहाँका चेलाहरूलाई सान्त्‍वना दिनुभयो कि उहाँले तिनीहरूका निम्ति पिताको घरमा ठाउँ तयार पार्न जानुभएको थियो । ज-जसले परमेश्‍‍वरको वचनका शिक्षाहरू स्‍वीकार गर्दछन् तिनीहरू स्‍वर्गीय निवासको सन्दर्भमा अजान हुनेछैनन् । अनि तापनि, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” १ कोरिन्थी २:९ । धर्मीहरूको इनामलाई मानविक भाषाले वर्णन गर्न पर्याप्‍त छैन । ज-जसले यसलाई देख्‍छन् तिनीहरूले मात्र जान्नेछन् । परमेश्‍‍वरको स्‍वर्गीय महिमालाई कुनै पनि मरणशील मष्‍तिष्कले बुझ्‍न सक्दैन ।MBA 199.3

    बाइबलमा मुक्ति पाएकाहरूको उत्तराधिकार स्‍वरूप “एउटा देश”-को कुरा गरेको छ । हिब्रू ११:१४-१६ । त्यहाँ स्‍वर्गीय गोठालोले उहाँका बगाललाई जिउँदो पानीका मूलहरूतर्फ अगुवाइ गर्नुहुन्छ । जीवनको वृक्षले प्रत्येक महिना फल फलाउँछ, र त्यस वृक्षका पातहरूले जाति-जातिलाई आरोग्यता प्रदान गर्दछन् । त्यहाँ सदासर्वदा बहने स्फटिकजस्तै सफा खोलाहरू छन्, ती बाहेक परमप्रभुका मुक्ति पाएकाहरूका लागि तयार पारेका बाटाहरूमा छाहारी दिने रूखहरू हल्‍लिरहेका छन् । त्यहाँ फराकिलो फैलिएका मैदानहरूबाट सुरु भई सुन्दर गरामय पहाड़हरू खड़ा छन्, र परमेश्‍‍वरका पहाड़हरूले त्यसका अग्‍ला टाकुराहरू ठड्‌याएर राख्‍छन् । त्यहाँ शान्तमय मैदानहरूमा परमेश्‍‍वरका मानिसहरू, दीर्घकालीन तीर्थयात्रीहरू र घुमन्तेहरूले जिउँदो पानीको छेउमा एउटा घर पाउनेछन् ।MBA 200.1

    “मेरो प्रजाचाहिँ शान्तिको वासस्थान, सुरक्षित घरहरू, र हल्‍ला नहुने विश्रामका ठाउँहरूमा बस्‍नेछन् ।” “तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरो सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन । तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा ।” “तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्‍ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन । ... मेरा छानिएकाहरूले आफ्‍ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन् ।” यशैया ३२:१८; ६०:१८; यशैया ६५:२१, २२ ।MBA 200.2

    त्यहाँ “तिनीहरूको कारणले उजाड़स्थान र सुख्‍खा भूमि आनन्दित हुनेछन्; अनि मरुभूमि रमाउनेछ, र गुलाफझैँ फुल्‍नेछ ।” “काँढाको सट्टा सल्‍लो, सिउँढ़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ ।” “ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ । ... र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्याउनेछ ।” “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानी न नोक्सानी गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ । यशैया ३५:१ (KJV); ५५:१३; यशैया ११:६, ९ ।MBA 200.3

    स्‍वर्गीय वातावरणमा दुःखाइ रहनै सक्दैन । त्यहाँ कुनै आँसु, मलामीको लहर, कुनै विलापका चिन्हहरू हुनेछैनन् । “फेरि मृत्यु नै हुनेछैन, र शोक र पीड़ा पनि हुनेछैन । किनकि पहिलेका कुराहरू बितिसकेका छन् ।” “सियोनमा बस्‍ने कसैले पनि ‘म बिरामी छु’ भन्नेछैनन्; अनि त्यहाँ बस्‍ने मानिसहरूका पाप क्षमा गरिनेछ ।” प्रकाश २१:४; यशैया ३३:२४ ।MBA 201.1

    त्यहाँ नयाँ यरूशलेम छ, जुनचाहिँ महिमित नयाँ पृथ्वीको राजधानी हो, त्यो “परमप्रभुको हातमा गौरवमय मुकुट र तेरो परमेश्‍‍वरको हातमा एउटा राजकीय शिरपेच” हुन्छ । “त्यसको चमक बहुमूल्य रत्‍नहरू तथा बिल्‍लोैर स्फटिकजस्तो चहकिलो थियो ।” “त्यहाँकै उज्यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन् । पृथ्वीका राजाहरूले आफ्‍ना वैभव त्यसमा ल्याउनेछन् ।” परमप्रभु भन्नुहुन्छ: “म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु ।” “परमेश्‍‍वरको वास मानिसहरूसँग भएको छ । उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍‍वर आफै तिनीहरूका परमेश्‍‍वर भएर तिनीहरूसँग रहनुहुनेछ ।” यशैया ६२:३; प्रकाश २१:११, २४; यशैया ६५:१९; प्रकाश २१:३ ।MBA 201.2

    परमेश्‍‍वरको शहरमा “रात हुनेछैन ।” कसैलाई पनि विश्रामको आवश्‍‍यक वा चाहना हुँदैन । परमेश्‍‍वरको इच्छा पूरा गरेर र उहाँको नामको प्रशंसा गरेर कोही पनि थकित हुनेछैन । हामी सदासर्वदा बिहानको ताजापन महसुस गर्नेछौं र त्यसको कहिले अन्त हुँदैन । “तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍‍वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ ।” प्रकाश २२:५ । त्यहाँ घामको प्रकाशको चमकभन्दा अधिक हुनेछ जसको उज्‍ज्‍वलताले हानि गर्दैन, तापनि हाम्रो मध्यान्हको उज्‍ज्‍वलताभन्दा असाध्यै उज्यालो हुनेछ । परमेश्‍‍वर र थुमाको महिमाले नै पवित्र शहरमा तेजिलो ज्योतिको रूपमा ढाक्दछ । मुक्ति पाएकाहरू अनन्त दिनको घामबिहीन महिमामा हिँड्‍छन् ।MBA 201.3

    “मैले त्यस शहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्‍वयम् परमेश्‍‍वर सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ ।” प्रकाश २१:२२ । परमेश्‍‍वरका मानिसहरूले पिता र पुत्रसँग खुल्‍लम-खुल्‍ला वार्तालाप गर्ने सुअवसर पाउँछन् । “अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्‍छौं ।” १ कोरिन्थी १३:१२ । हामी परमेश्‍‍वरको स्‍वरूप ऐनामा जस्तै उहाँको प्रकृतिका कामहरू र मानिसप्रति उहाँको व्यवहारमा प्रतिबिम्ब भएका देख्‍छौं; तर हामी त्यो समयमा धमिल्याउने पर्दाविना नै उहाँलाई आमने-सामने हेर्नेछौं । हामी उहाँको उपस्थितिमा उभिनेछौं र उहाँको मुहारको महिमा हेर्नेछौं ।MBA 201.4

    त्यहाँ मुक्ति पाएकाहरूले एक-अर्कालाई चिन्नेछन्, जसरी तिनीहरूले अहिले पनि चिनेका छन् । जुन प्रेम र सहानुभूतिहरू परमेश्‍‍वर आफैले मनमा रोप्‍नुभएको छ त्यहाँ सबभन्दा सत्य र सुमधुर अभ्यास गरिनेछ । पवित्र प्राणीहरूसँग शुद्ध वार्तालाप साथै आशिषित स्‍वर्गदूतहरू र सम्पूर्ण युगहरूमा तिनीहरूका पोशाक धोएकाहरू र थुमाको रगतमा त्यसलाई सेता बनाएकाहरूसँग मिलनसार सामाजिक जीवनको पवित्र सम्बन्धमा एकसाथ बाँधिनेछन्, र “स्‍वर्ग र पृथ्वीमाथि सारा घराना” हुनेछन्, (एफिसी ३:१५ KJV)—यसले नै मुक्ति पाएकाहरूको हर्ष निर्माण गर्न सहायता गर्दछ ।MBA 202.1

    त्यहाँ अमरत्‍व मष्‍तिष्कहरूले सृजनात्मक शक्तिका आश्‍चर्यहरू, मुक्तिप्रदान प्रेमका रहस्यलाई अटल उल्‍लासकासाथ मनन गर्नेछन् । त्यहाँ परमेश्‍‍वरबाट पथभ्रष्‍ट पार्ने परीक्षा दिन क्रूर र छलपूर्ण शत्रु हुनेछैन । प्रत्येक मानसिक र शारीरिक क्षमता र योग्यताको वृद्धि हुनेछ । ज्ञान आर्जन गर्ने दिमाग थकित हुनेछैन, नता बलहरू नै रित्तो हुनेछ । त्यहाँ ठूला साहसी कामहरू पनि अगाड़ि बढ़ाउन सकिनेछ, र सबभन्दा उच्‍च आशाहरू साकार हुन सकिनेछ, सबभन्दा उच्‍च इच्छाहरू पूरा हुनेछ; तापनि त्यहाँ नाघ्‍नुपर्ने नौला उचाइहरू, मन पराउने नौला आश्‍चर्यहरू र बुझ्‍नुपर्ने नौला सत्यताहरू अझै पाइनेछन्, जहाँ दिमाग र प्राण र शरीरका शक्तिहरू प्रयोग गर्ने नयाँ मौकाहरू हुनेछन् ।MBA 202.2

    परमेश्‍‍वरका मुक्ति पाएकाहरूको अध्ययनमा सम्पूर्ण ब्रमाण्डका गाड्‍धनहरू खुला हुनेछन् । तिनीहरू मरणशीलतामुक्त भएर टाढ़ाका संसारहरूमा—संसारहरू जो मानविक अचम्मलाग्दो दृश्‍‍यले तिनीहरूका हृदय दुःखले छेड्‌यो र मुक्ति पाएकाहरूको सुसन्देशमा हर्षमय गीतहरूले थर्काए—थकानविना नै उड्‍नेछन् । पृथ्वीका सन्तान निर्वचन हर्षसाथ अपतित प्राणीहरूका आनन्द र बुद्धिमा प्रवेश गर्छन् । तिनीहरूले ज्ञानका सम्पत्तिहरू र युगौँ-युगसम्म परमेश्‍‍वरको हस्तकलामाथि मनन गर्दा प्राप्‍त गरेका समझहरू बाँड्‍छन् । तिनीहरू सफा दृश्‍‍यले सृष्‍टिका महिमा हेरिरहन्छन्—सूर्यहरू र ताराहरू र मण्डलहरू परमेश्‍‍वरका सिंहासन वरिपरी तिनीहरूका निर्धारित स्थानमा घुहिरहेका छन् । सानादेखि ठूलासम्म सबै थोकहरूमा सृष्‍टिकर्ताको नाम लेखिएको छ, र सबै थोकमा उहाँको शक्तिका सम्पत्तिहरू प्रदर्शन भएका छन् ।MBA 202.3

    जब अनन्तताका वर्षहरू चक्र गर्छन्, तिनीहरूले परमेश्‍‍वर र ख्रीष्‍टको अझै मूल्यवान र झन महिमित प्रदर्शनहरू ल्याउनेछन् । जसरी ज्ञान बढ्‍दै जान्छ, त्यसरी नै प्रेम, श्रद्धा र प्रसन्नता बढ्‍दै जानेछ । मानिसहरूले जति परमेश्‍‍वरको विषयमा सिक्दछन् तिनीहरूले त्यति नै उहाँको चरित्रको श्रद्धा गर्नेछन् । जब येशूले मुक्तिका सम्पत्तिहरू र शैतानसँग भएको महान् विवादमा हासिल गर्नुभएको अचम्मलाग्दो कार्य-सम्पादन तिनीहरूका सामु खुला पारिदिनुहुन्छ, तब छुटकारा पाएकाहरूको हृदय अझै प्रगाढ समर्पणमा हर्षित हुन्छ र तिनीहरूले झन हर्षजनक आनन्दसाथ सुनको वीणा बजाउँछन्; र दस हजार गुणा दस हजार र हजारौँ-हजार सोरहरू मिलेर प्रशंसाको शक्तिशाली कोरसलाई उचाल्छन् ।MBA 202.4

    “अनि स्‍वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, ‘सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस् ।’” प्रकाश ५:१३ ।MBA 203.1

    महान् विवादको अन्त्य भएको छ । पाप र पापीहरू अब छँदैछैनन् । समस्त ब्रमाण्ड शुद्ध भएको छ । विशाल सृष्‍टिभरि मिलन र हर्षपनको धड्‍कन एकसाथ धड्‍कन्छ । जसले यावत् थोक सृष्‍टि गर्नुभयो उहाँद्वारा नै अनन्त अन्तरिक्षको परिमण्डलभरि जीवन र ज्योति र हर्षपन बहन्छ । सूक्ष्म अणुदेखि सबभन्दा ठूलो संसारसम्म, सजीव र निर्जीव सबै थोकहरूले तिनीहरूका उज्‍ज्‍वल सुन्दरता र पूर्ण आनन्दले घोषणा गर्छन् कि परमेश्‍‍वर प्रेम हुनुहुन्छ ।MBA 203.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents