Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ८ — परिषद् सामुन्‍ने लुथर

    (अंग्रेजी पुस्तक अध्याय ८ पृष्‍ठ १४५)

    जर्मनीको सिंहासनमा एक नयाँ सम्राट चारल्स पाँचौँ विराजमान भए, र रोमका प्रतिनिधिहरू तिनलाई बधाई दिन र सुधार-कार्यको विरुद्धमा तिनको शक्ति प्रयोग गरिऊन् भनी राजालाई फकाउन तिनीहरू हतारिदै गए । अर्कोतिर भने स्याक्सनीको मुख्यमन्‍‍त्री थिए जसमा तिनको मुकुट प्राप्‍तिमा चारल्स तिनीप्रति अत्यन्त्यै ऋणी थिए, तिनले अनुरोध गरे कि लुथरलाई बोल्‍ने अवसर प्रदान नगरेसम्म तिनको विरुद्धमा कुनै पाइला अगाडि नचाल्‍नुहोस् । यसरी सम्राट चिन्ता र शर्मको अवस्थामा परे । लुथरलाई प्राणदण्ड दिने साम्राज्यको हुकुम बाहेक अरू कुनै पनि कुरामा पोपका प्रतिनिधिहरू सन्तुष्‍टि हुनेथिएनन् । मुख्यमन्‍‍त्रीले दृढसाथ घोषणा गरे कि “नता तिनका साम्राज्यको महानताले न अहिलेसम्म अरू कसैले सुधारकका लेखहरू गलत छ भनेर प्रमाणित गरेको छ;” त्यसकारण तिनले अनुरोध गरे कि “डाक्टर लुथरलाई सुरक्षा-पत्र प्रदान गरौँ ताकि तिनी आफै अति शिक्षित, भक्ति र पक्षपातरहित न्यायाधीशहरूको न्यायालय सामुन्‍ने हाजिर हुन सकून् ।” —D’Aubigné, b. 6, ch. 11.MBAJ 147.1

    त्यहीँ जर्मनीका प्रान्तहरूको सभामा सबै समूहहरूको ध्यानाकर्षण भयो जुन चारल्सले साम्राज्यको सिंहासन आरोहण गरे लगत्तै वोर्मसमा सभा भएको थियो । त्यो राष्‍ट्रिय परिषद्द्वारा महत्‍वपूर्ण राजनीतिक प्रश्‍नहरू र सुविधाहरू समेट्‍नुपर्ने थियो; किनकि जर्मनीका अधिकारीहरूले पहिलो पटक तिनीहरूको जवान राजासँग आयोजित सभामा भेट्‍नुपर्ने थियो । चर्च र राष्‍ट्रिय उच्‍च पदाधिकारी पैतृक भूमिको सम्पूर्ण क्षेत्रबाट आएका थिए । संसारका शासकहरू, उच्‍च घरानामा जन्मेका, शक्तिशाली र उनीहरूको पैतृक प्रथाहरूमा उत्साहित व्यक्तिहरू; तिनीहरूको शक्ति र अधिकारको श्रेष्‍ठतामा मख्‍ख परेका उत्कृष्‍ट पादरीहरू; दरबारका शुरवीरहरू र तिनीहरूका हतियार बोक्‍नेहरू; विदेश र टाढ़ाको भूमिबाट आएका राजदूतहरू—सबै वोर्मसमा जम्मा भएका थिए । तापनि त्यो विशाल सभामा स्याक्सनको सुधारकको कार्य नै गहन चाखको विषयबस्तु थियो ।MBAJ 147.2

    चारल्सले पहिले नै मुख्यमन्‍‍त्रीलाई सुरक्षाको आश्‍‍वासन दिएर विवादपूर्ण विषयहरूको बारेमा स्‍वतन्‍‍त्ररूपले विपक्षी व्यक्तित्‍वहरूसँग छलफल गर्ने प्रतिज्ञा दिएर लुथरलाई आफूसँगै सभामा ल्याउने आदेश दिएका थिए । लुथर सम्राटको सामुन्‍ने उपस्थित हुन उत्सुक थिए । त्यो समयमा तिनको स्‍वस्थ धेरै निर्बल भएको थियो; तापनि तिनले मुख्यमन्‍‍त्रीलाई लेखे: “यदि म असल स्‍वस्थमा वोर्मसमा यात्रा गर्न सकिनँ भने पनि जस्तो म विरामी छु, त्यस्तै मलाई बोकेर लानेछन् । यदि सम्राटले मलाई बोलाउनुहुन्छ भने, परमेश्‍‍वरले मलाई बोलाउनु भएको हो भन्‍ने कुरामा म शंका गर्न सक्दिनँ । यदि तिनीहरूले मेरो विरुद्धमा हिंसा प्रयोग गर्न चाहन्छन् भने, जसको सम्भावना नजिक छ, (तिनीहरूको शिक्षाका लागि उपस्थित हुने आदेश गरेको होइन), म यो विषय प्रभुको हातमा राख्तछु । जसले ती तीन जवान मानिसहरूलाई जलिरहेको आगोका भट्टीबाट बचाउनुभएको थियो उहाँ अझै जिउँदो हुनुहुन्छ र शासन गर्नुहुन्छ । यदि उहाँले मलाई बचाउनुहुनेछैन तापनि मेरो जीवनको महत्‍व त्यति हुनेछैन । दुष्‍टहरूले सुसमाचारको गिल्‍ला नहोस्, र हामी त्यसका खातिर रगत पनि बगाऔं, ताकि तिनीहरूको विजय हुन नसकोस् । मेरो जीवन वा मेरो मृत्युले सबैको मुक्तिमा योगदान दिन सक्छ कि सक्दैन भनी मैले निर्णय गर्ने कुरा होइन । ... म भाग्दिनँ र मेरो शिक्षा त्याग गर्दिनँ तर अन्य कुराहरू आशा गर्न सकिन्छ । म न भाग्‍न सक्छु, नता आफ्‍ना सबै शिक्षाहरू त्याग्‍न नै सक्छु ।” —D’Aubigné, b. 7, ch. 1.MBAJ 148.1

    जब लुथर सभाको सामुन्‍ने उपस्थित हुनुपर्ने खबर फैलियो, तब एउटा साधारण उत्तेजना सृजना भयो । सो मुद्दाको जिम्मा पाएको पोपतन्‍‍त्रको प्रतिनिधि अलियन्डर झस्के र रिसले चूर भए । पोपतन्‍‍त्रको कार्यको परिणाम विनाशकारी हुन्छ भन्‍ने कुरा तिनले बुझे । जुन मुद्दामा पोपले पहिले नै दोषीको सजाय दिइसकेको थियो त्यसमा अनुसन्धानको सभा राख्‍न पोपको अधिकारमाथि घृणा प्रकट गरेको हुन्थ्यो । त्यति मात्र कहाँ हो र ? यो मानिसको भाषणकला र शक्तिशाली तर्कले गर्दा धेरै पदाधिकारीहरू पोपको कार्यदेखि फर्कन्छन् कि भन्‍ने तिनलाई डर लाग्यो । त्यसकारण तिनले हतार-हतार चारल्ससँग वोर्मसमा हुने लुथरको उपस्थितिको विषयमा घोर आपत्ति जनाए । लगभग त्यही समयतिर लुथरलाई बहिष्कार घोषणा गरेको आदेश-पत्र प्रकाशित भएको थियो; र पोपको प्रतिनिधिका भनाइहरूसँग मेल खाएको हुनाले सम्राटलाई सहमत गराउन राजी गरियो । तिनले मुख्यमन्‍‍त्रीलाई लेखे कि यदि लुथरले आफ्‍नो सबै शिक्षाहरू त्यागदैनन् भने तिनी विटनवर्ग मै रहून् ।MBAJ 148.2

    यो विजयमा सन्तुष्‍टि नभएर अलियन्डरले तिनले आज्ञा गरेको लुथरको दोषलाई निश्‍चित पार्न आफ्‍ना सारा शक्ति र चतुऱ्याइँसाथ परिश्रम गरे । एक असल कार्यको प्रभावकारी अर्थात् योग्यताशाली मानिसहरूको उपस्थितिमा राजकुमारहरू, पदाधिकारीहरू र अरू सभाका सदस्यहरूको ध्यान यस विषयमा आर्कषण गर्न आग्रह गर्दै सुधारकलाई “राजद्रोही, विद्रोही, अधर्मी र ईश्‍‍वर-निन्दक” को रूपमा दोष लगाए । तर त्यो प्रतिनिधिको जोश र आवेगद्वारा तिनको व्यवहारको सत्य आत्मा अति खुलस्तसाथ प्रकट गराए । प्राय यस्तै भनियो, “जोश र भक्तिद्वारा तिनी उत्प्रेरित भएका थिएनन् तर तिनले घृणा र प्रतिशोधले गर्दा त्यसो गरेका थिए ।” —D’Aubigné, b. 7, ch. 1. सभाको बहुसंख्यक मानिसले लुथरको काम पहिलेभन्दा अहिले धेरै मन पराए ।MBAJ 149.1

    अलियन्डरले सम्राटलाई पोपतन्‍‍त्रको हुकुमलाई लागु गर्ने कर्तव्यमा जोशसाथ दबाब दिए । तर जर्मनीको कानूनअनुसार सो काम राजकुमारहरूको सहमतिविना सम्पन्‍न हुन सक्दैनथ्यो, अन्तमा पोपको प्रतिनिधिको निवेदनले विजय हासिल गऱ्यो र चारल्सले तिनको मुद्दा सभामा प्रस्तुत गर्ने मौका दिए । “पोपको दूतको लागि त्यो गर्वको दिन थियो । त्यो सभा अति विशाल थियो; त्यसको कार्य झन विशाल थियो । अलियन्डरले रोम अर्थात् मण्डलीहरूका आमा र मालिकनीको पक्षमा बोल्‍नुपर्ने थियो ।” तिनले इसाई जगतका अधिकारीहरूको सामुन्‍ने पत्रुसदेखि आरम्भ भएको सार्वभौमिकता प्रमाणित गर्नुपर्ने थियो । तिनमा भाषणकलाको वरदान थियो, त्यो सभाको महानतामा तिनी उठे । परमेश्‍‍वरको योजना अनुसार रोमले आफू दोषी ठहरिनु अघि अति प्रतापी न्यायालयको सामुन्‍ने उनका सबभन्दा प्रभावशाली प्रवक्ताद्वारा प्रकट हुनुुपर्ने र बिन्ती गर्नुपर्ने थियो ।” —Wylie, b. 6, ch. 4. ज-जसले सुधारकलाई मन पराउथे तिनीहरूले अलियन्डरको भाषणको प्रभाव शंकास्पदरूपमा प्रतीक्षा गरे । स्याक्सनीको मुख्यमन्‍‍त्री त्यहाँ उपस्थित थिएनन्, तर तिनका अगुवाइद्वारा कति जना तिनका सभासद्‍हरू पोपको राजदूतको भनाइ टिप्‍न उपस्थित थिए ।MBAJ 149.2

    शिक्षा र भाषणकलाको सबै शक्तिसाथ अलियन्डर आफैले सत्यतालाई नष्‍ट गर्ने निर्णय गरे । चर्च र राज्य, जीवित र मृतक, अधिकारी र सर्वसाधारण, परिषद् र व्यक्तिगत इसाईहरूको शत्रु सरह दोषमाथि दोष लुथरमाथि थुपारे । तिनले भने, “लुथरका झूटहरूमा लाखौँ अपधर्मीहरूलाई जलाउने पर्याप्‍त प्रमाण छ ।”MBAJ 150.1

    निष्कर्षमा तिनले सुधार विश्‍‍वासका अनुयायीहरूमाथि निन्दा गर्ने प्रयास गरे: “यी सब लुथरका अनुयायीहरू के हुन् ?—घमन्डी स्कुल शिक्षकको दल, भ्रष्‍ट पूजाहारीहरू, फटाहा भिक्षुहरू, अनविज्ञ वकिलहरू र निच अधिकारीहरू हुन्, तिनीहरू कुमार्गतर्फ डोऱ्याइएका र बरालिएका साधारण मानिसहरू हुन् । क्‍याथोलिकको समूहको सङ्ख्या, योग्यता र शक्तिमा तिनीहरू भन्दा कति महान् छ ! यो प्रसिद्ध भेलाबाट एक सर्वसम्मत आदेशले सर्वसाधारणको आँखा खोल्‍नेछ, अविवेकीलाई चेतावनी दिनेछ, दोधारमा परेकाहरूले निर्णय गर्नेछन् र दुर्बलहरू बलियो हुनेछन् ।” —D’Aubigné, b. 7, ch. 3.MBAJ 150.2

    यस्ता हतियारहरूद्वारा सत्यताका समर्थकहरू प्रत्येक युगहरूमा आक्रमण गरिएका छन् । जसले प्रचलित झूटहरूलाई परमेश्‍‍वरको सीधा र स्पष्‍ट वचनले प्रतिकार गर्ने साहस गर्दछन् तिनीहरू सबैको विरुद्धमा यही विवादहरू अझै पनि चलिरहेका छन् । “यी नयाँ शिक्षाका प्रचारकहरू को-को हुन् ?” प्रचलित धर्म मन पराउनेहरू आश्‍चर्यसाथ कराउँछन् । “तिनीहरू अशिक्षित छन्, सङ्ख्यामा थोरै छन्, झन गरिब समूहका हुन् । तापनि तिनीहरूसँग सत्यता छ र परमेश्‍‍वरको चुनिएका मानिसहरू हौं भनी दाबी गर्दछन् । तिनीहरू अन्‍जान र बहकिएका छन् । त्योभन्दा त हाम्रो चर्चका सदस्यहरू कति धेरै छन् र प्रभावशाली छन् ! हाम्रो माझमा कति धेरै जना महान् र शिक्षित मानिसहरू छन् ! हाम्रो पक्षमा कति धेरै शक्ति छ !” यी विवादहरूले संसारमाथि प्रभावशाली प्रभाव पारेका छन्; तर तिनीहरू सुधारकका दिनहरूमा झैँ अहिले त्यति धेरै निर्णायक भएका छैनन् ।MBAJ 150.3

    धेरैले अनुमान गरेझैँ लुथरमै सुधार-कार्य अन्त्य भएन । यो संसारको इतिहासको अन्त्यसम्मै निरन्तर भइरहनुपर्नेछ । परमेश्‍‍वरले तिनीमाथि चम्काउनुभएको ज्योति अरूमाथि पनि परावर्तित गर्ने महान् कार्य लुथरलाई सुम्पनुभएको थियो, तापनि तिनले संसारलाई दिनुपर्ने सम्पूर्ण ज्योति प्राप्‍त गरेनन् । त्यो समयदेखि यो समयसम्म धर्मशास्‍‍त्रहरूमाथि नयाँ ज्योति चम्कि नै रहेको छ, र नयाँ सत्यताहरू निरन्तररूपमा खोलिरहेका छन् ।MBAJ 151.1

    त्यो प्रतिनिधिको भाषणले सभामाथि गहिरो छाप पाऱ्यो । परमेश्‍‍वरको वचनको स्पष्‍ट र चित्त बुझ्‍ने तरिकाका सत्यताहरूसाथ पोपतन्‍‍त्रको वीरलाई पराजित गर्न लुथर उपस्थित भएका थिएनन् । सुधारकको पक्षमा बोल्‍ने कुनै प्रयास पनि भएन । त्यहाँ एउटा साधारण अवस्था प्रकट भएको थियो जसमा तिनलाई र तिनका सिद्वान्तहरू मात्र दोषी ठहराउने होइन, तर सम्भव भएसम्म यो झूटो शिक्षालाई जरै समेत उखेल्‍ने कुरा थियो । रोमले त्यसको कार्यलाई प्रतिरक्षा गर्ने सबभन्दा उचित अवसरको फाइदा उठाएको थियो । त्यसले आफूलाई निर्दोष ठहऱ्याउने सम्पूर्ण कुराहरू आफ्‍नै पक्षमा बोल्यो । तर स्‍वतः विजयचाहिँ पराजयको चिन्ह थियो । त्यहाँदेखि यता सत्यता र झूट बीचको भिन्‍नता तिनीहरूले खुल्‍ला लडाइँको मैदानमा भाग लिएझैँ अझै स्पष्‍ट देखियो । त्यो दिनदेखि यता रोम कहिल्यै पहिले जस्तै सुरक्षित खडा हुन सक्‍ने थिएन ।MBAJ 151.2

    सभाका धेरै जसो सदस्यहरूले लुथरलाई रोमको सजायमा सुम्पन्‍न हिचकिच्याउँदैनथे तापनि तिनीहरूमध्ये धेरैले चर्चमा भएका दुष्‍टताहरू देखे र विलाप गरे, र उच्‍च पदाधिकारीको भ्रष्‍टता र लोभको परिणाम स्‍वरूप जर्मनीका मानिसहरूद्वारा भोगिएका अत्याचारहरूलाई दमन गर्न चाहन्थे । त्यो प्रतिनिधिले पोपतन्‍‍त्रको शासनलाई सबभन्दा उत्तम ज्योतिमा प्रस्तुत गरेको थियो । अब परमप्रभुले पोपतन्‍‍त्रको तानाशाही प्रभावहरूको सत्य वर्णन गर्न सभाको एक जना सदस्यलाई प्रयोग गर्नुभयो । त्यो राजकीय भेलामा स्याक्सनीको डुक जोर्ज कुलीन उत्कृष्‍ट व्यक्ति दृढतासाथ खडा भए र अत्यन्त्यै घत्‍लाग्दो तरिकाले पोपतन्‍‍त्रका छलहरू र घृणित कार्यहरू डरलाग्दा परिणामहरू हुन् भन्‍ने कुरालाई तिनले स्पष्‍ट बताए । अन्तमा तिनले भने:MBAJ 151.3

    “यी त केही अत्याचारहरू मात्र हुन् जुन रोमको विरोधमा आवाज उठेको छ । अन्य सबै लज्‍जित कुराहरूको त झन कुरै छोडौं, र तिनीहरू एउटै लक्ष्यमा मात्र लागीरहेका छन्: पैसा ! पैसा ! पैसा ! ... यसरी जुन सत्यता प्रचारकहरूले सिकाउनुपर्ने थियो त्यही प्रचारकहरू केही पनि बोल्दैनन् तर झूटो मात्र बोल्छन् र तिनीहरूलाई सहने मात्र होइन तर त्यसमा इनाम पनि दिने गरिन्छ: किनकि तिनीहरूका झूटहरू जति ठूला हुन्छन् त्यति नै बढी तिनीहरूले लाभ प्राप्‍त गर्छन् । यो यस्तो घिनलाग्दो स्रोत हो जसद्वारा दुषित पानीहरू सर्वत्र बहन्छन् । दुराचार र धनतृष्णा हाते-मालो गर्छन् । ... ओहो ! यो क्‍याथोलिकको अधिकारीको अपमानको कारणले यस्तो भयो जसले धेरै अन्‍जान मानिसहरूलाई अनन्त सर्वनाशमा फ्‍याँक्छन् । त्यसैले अब एक सर्वव्यापी सुधार लागु गरिनुपर्दछ ।” —D’Aubigné, b. 7, ch. 4.MBAJ 152.1

    लुथर आफैले पनि त्योभन्दा सक्षम र प्रभावशाली रूपमा पोपतन्‍‍त्रका अत्याचारहरूको खुल्‍लमखुल्‍ला निन्दा गर्न सक्दैनथे; वास्तवमा प्रवक्ता आफै सुधार-कार्यको निर्णायक शत्रु थिए, त्यसरी तिनका शब्दहरू अझै प्रभावशाली बने ।MBAJ 152.2

    यदि सभामा भएका मानिसहरूका आँखाहरू खोलिएको भए तिनीहरूले उनीहरूको बीचमा परमेश्‍‍वरको स्‍वर्गदूतहरूले झूटको अन्धकारलाई फर्काएर ज्योतिको किरण चम्काइरहेका, र सत्यता स्‍वीकार गराउने दिमागहरू र हृदयहरू खोलिरहेका देख्‍ने थिए । सुधार-कार्यका शत्रुहरूलाई पनि सत्यता र बुद्धिका परमेश्‍‍वरको सामर्थ्यले नियन्‍‍त्रण गरेको थियो, यसरी सम्पन्‍न हुनै लागेको महान् कामका लागि बाटो तयार गरियो । मार्टिन लुथरको त्यहाँ उपस्थिति भएन; तर त्यो भेलामा लुथरको आवाज भन्दा महान् एक जनाको आवाज सभामा सुनियो ।MBAJ 152.3

    सभाद्वारा तुरुन्तै पोपतन्‍‍त्रको अत्यचारमा परेकाहरूको सूची तयार पार्ने एक समितिको गठन गरियो जसद्वारा जर्मनीमा गह्रुँगो बोझ लादिएको थियो । यस सूचीमा एक सय एक विशेष विवरणहरू समावेश थिए र ती शोषणहरू तुरुन्तै संशोधन गर्ने अनुरोधसाथ सम्राटकहाँ प्रस्तुत गरियो । निवेदकहरूले भने, “इसाई जगतको आत्मिकी शिरलाई घेरेका अपमानले गर्दा इसाई प्राणहरूलाई कस्तो हानि, कस्तो अन्याय, कस्तो भ्रष्‍टचारहरू भएका छन् ! हाम्रो देशको विनाश र अनादर रोक्‍ने कर्तव्य हाम्रो हो । त्यसकारण हामी दीनतासाथ, तर अति जरूरीसाथ हजूरलाई सर्वव्यापी सुधारको काम गर्न र सो कार्य अगाडि बढाउन हुन हजूर समक्ष विनम्र निवेदन गर्दछौं ।” —D’Aubigné, b. 7, ch. 4.MBAJ 152.4

    अब सुधारक तिनीहरूको सामुन्‍ने उपस्थित हुनुपर्छ भनी परिषद्‍ले माग राख्यो । अलियन्डरले निवेदनहरू प्रतिकार गरे र धम्किीहरू दिए तापनि अन्तमा सम्राटले लुथरलाई सभाको सामुन्‍ने बोलाउने सहमति जनाए । बोलावटका साथ-साथै सुरक्षित ठाउँमा फर्काउने सुरक्षा-पत्र सुनिश्‍चित गरी आदेश जारी गरिदिए । ती पत्र एक जना समाचारवाहकद्वारा विटनवर्गमा लगियो, जसलाई वोर्मससम्म लिएर जाने आदेश प्रदान गरिएको थियो ।MBAJ 153.1

    लुथरका साथीहरू डराए र हतोत्साहित भए । तिनीप्रति भएको मतभेद र दुश्‍‍मनीको कारणले तिनको सुरक्षा-पत्रलाई पनि वास्ता गर्दैनन् कि भनी तिनीहरू डराएका थिए, अनि आफ्‍नो जीवन जोखिममा नपार्नुहोस् भनी तिनलाई आग्रह गरे । तिनले यसरी जवाफ दिए: “म वोर्मसमा पोपका अधिकारीहरूलाई भेट्‍न नआओस् भन्‍ने तिनीहरूको इच्छा हो, तर तिनीहरू मलाई दोषी ठहऱ्याउने र मृत्युदण्ड दिन चाहन्छन् । त्यो त केही छैन । मेरो निम्ति प्रार्थना नगर्नुहोस्, तर परमेश्‍‍वरको वचनको निम्ति प्रार्थना गर्नुहोस् ... ख्रीष्‍टले मलाई यी झूटका सेवकहरूमाथि विजय दिलाउन उहाँको आत्मा दिनुहुन्छ । मेरो जीवनभरि नै म तिनीहरूलाई घृणा गर्छु; म मेरो मृत्युद्वारा पनि तिनीहरूमाथि विजय प्राप्‍त गर्नेछु । वोर्मसमा तिनीहरू मलाई कसरी मेरो शिक्षा त्याग गराउने भन्‍ने कुरामा व्यस्त छन् । मेरो शिक्षाको त्यागचाहिँ यस्तो हुनेछ; मैले पहिले भन्‍ने गर्थें कि पोपचाहिँ ख्रीष्‍टको प्रतिस्थापक हो; तर अब म भन्छु त्यो त हाम्रो प्रभुको शत्रु हो र दियाबलसको प्रेरित हो ।” —D’Aubigné, b. 7, ch. 6.MBAJ 153.2

    लुथरले तिनको जोखिमपूर्ण यात्रा एक्‍लै गर्नु हुँदैन थियो । साम्राज्यको समाचारवाहक साथै तिनको तीन जना बलिया साथीहरू पनि तिनीसँग जाने निर्णय गरे । मल्याङ्कथनले तिनीहरूसँग जाने उत्कट इच्छा राखेका थिए । तिनको मन लुथरसँग गाँसिएको थियो र आवश्‍‍यक परे जेल र मृत्युसम्म तिनलाई पछ्याउने इच्छा भएको बताए । तर तिनका निवेदनहरू अस्‍वीकार भए । यदि लुथरमाथि मृत्यु आएको भए सुधार-कार्यका आशाहरू तिनको युवक सहकर्मीमाथि आइपर्ने थियो । मल्याङ्कथनबाट बिछोड हुँदै गर्दा सुधारकले भने, “यदि म फर्केर आइनँ भने र मेरा शत्रुहरूले मलाई मारे भने, निरन्तररूपमा सिकाउँदै जानू, र सत्यतामा दृढ भई खडा हुनू । यदि तिमी जिवित रह्यौ ... भने तिमीले मेरो सट्टामा काम गर्नू: मेरो मृत्युको मूल्य कमै हुनेछ ।” —D’Aubigné, b. 7, ch. 7. लुथरको प्रस्थान अवलोकन गर्न जम्मा भएका विद्यार्थीहरू र नागरिकहरूको मन अत्यन्त्यै छोयो । सुसमाचारद्वारा हृदयहरू छोएका भीडले तिनलाई रूँदै-रूँदै बिदा गरे । यसरी सुधारक र तिनका संगीहरू विटनवर्गबाट प्रस्थान भए ।MBAJ 153.3

    त्यो यात्रामा तिनीहरूले देखे कि मानिसहरूको दिमागलाई अस्पष्‍ट आशंकाले दबाएको थियो । कुनै-कुनै शहरमा त तिनीहरूलाई आदर गरिदैनथ्यो । तिनीहरू बास बसेको बेलामा एक जना मित्र पूजाहारीले लुथरलाई इटालीको सुधारक शहिद भएको तस्‍वीर देखाउँदै तिनले डर प्रकट गरे । भोलिपल्ट तिनीहरूलाई थाहा भयो कि वोर्मसमा लुथरका लेखहरूलाई दोषी ठहराइसकेको रहेछ । साम्राज्यका समाचारवाहकहरूले सम्राटको आदेश घोषणा गरिरहेका थिए र दोषी ठहरिएका लेखहरूलाई न्यायाधीशहरूकहाँ पुऱ्याउन मानिसहरूलाई आग्रह गरिरहेका थिए । समाचारवाहकले परिषद्‍मा लुथरको सुरक्षाको डरको कारण तिनको संकल्प कत्तै ढलफल भयो कि भन्ठानेर अझै पनि त्यसैमा अघि बढ्‍नुहुन्छ ? भनी तिनले सोधे । तिनले जवाफ दिए, “प्रत्येक शहरबाट मलाई बहिष्कार गरेतापनि म अगाडि जानेछु ।” —D’Aubigné, b. 7, ch. 7.MBAJ 154.1

    एयरफोर्टमा लुथरलाई आदरसाथ स्‍वीकार गरियो । तिनलाई आदर गर्ने भीडले घेरेर तिनी सड़कहरू भएर गए जहाँ प्रायः तिनी भिक्षुको थैली लिएर पार गर्ने गर्थे । तिनी आफू बसेको भिक्षु कोठामा गए र त्यो संघर्षको बारेमा सोचे जसको कारण अहिले जर्मनीभरि चम्किरहेको ज्योति तिनको मनमा त्यहीँ ठाउँमा चम्केको थियो । तिनलाई प्रचार गर्न अनुरोध गरियो । यद्यपि तिनलाई त्यो कार्य गर्न निषेध गरिएको थियो, तर समाचारवाहकले तिनलाई मौका दिए र जुन धर्म सन्यासी जो एक पल्ट आश्रममा नीच कर्म गर्दथे अब पुल्पिटमा प्रवेश गरे ।MBAJ 155.1

    खचाखच भएको सभामा तिनले ख्रीष्‍टका वचनहरूबाट बोले, तिनले भने, “हजूरहरूलाई शान्ति होस् । दार्शनिकहरू, डाक्टरहरू र लेखकहरूले मानिसलाई अनन्त जीवन प्राप्‍त गर्ने मार्ग सिकाउने प्रयत्‍न गरिरहेका छन्, अनि तिनीहरू सफल भएका छैनन् । अब म यहाँहरू समक्ष यो भनाइ राख्दछु । ... परमेश्‍‍वरले एक जना मानिस अर्थात् प्रभु येशू ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउनुभएको छ, ताकि उहाँले मृत्युलाई नष्‍ट गर्न, पापको दण्ड तिर्न र नरकका ढोकाहरू बन्द गर्न सक्‍नुभएको होस् । मुक्तिको काम यही हो । ... ख्रीष्‍ट विजयी हुनुभएको छ ! आनन्दको सन्देश यही नै हो ! अनि उहाँको कामद्वारा हामीले उद्धार पाएका छौं, आफ्‍नै कामद्वारा चाहिँ होइन । ... हाम्रा प्रभु येशू ख्रीष्‍टले भन्‍नुभयो, ‘तिमीहरूलाई शान्ति होस् ! मेरो हातहरू हेर;’—जसको अर्थ हो, हे मानिस, हेर ! तिम्रा पापहरू मेटाउने मबाहेक अरू कोही पनि छैन र मैले तिमीलाई मोल तिरेर छुट्याएको छु; र अब तिमीसँग शान्ति छ, परमप्रभु भन्‍नुहुन्छ ।”MBAJ 155.2

    सत्य विश्‍‍वास एक पवित्र जीवनद्वारा मात्र प्रकट हुनेछ भनी तिनले निरन्तर देखाए । “परमेश्‍‍वरले हामीलाई उद्धार गर्नुभएको कारणले हाम्रो काम व्यवस्थित होस् ताकि उहाँ ती कामहरूमा प्रसन्‍न हुनुभएको होस् । के तपाईं धनी हुनुहुन्छ ?—तपाईंको धन-सम्पत्ति अन्य गरिबहरूका आवश्‍‍यकता पूर्तिका लागि प्रयोग गर्नुहोस् । के तपाईं गरिब हुनुहुन्छ ?—तपाईंको कार्य धनीहरूको सामु ग्रहणयोग्य होस् । यदि तपाईंको काम आफैलाई मात्र लाभदायक हुन्छ भने तपाईंले परमेश्‍‍वरलाई गर्नुभएको सेवा पनि झूट ठहरिन्छ ।” —D’Aubigné, b. 7, ch. 7.MBAJ 155.3

    मोहनीले बाँधेझैँ मानिसहरूले तिनको कुरा सुने । ती भोकाएका प्राणहरूमा जीवनको रोटी भाँचिएको थियो । तिनीहरूको सामु पोपहरू, प्रतिनिधिहरू, सम्राटहरू र राजाहरूभन्दामाथि ख्रीष्‍टलाई उच्‍च पारिएको थियो । लुथरले आफ्‍नै जोखिम अवस्थाको बारेमा केही पनि बताएनन् । तिनले आफैलाई सहानुभूति वा ध्यानार्कषणको केन्द्रविन्दु बनाउने प्रयास गरेनन् । ख्रीष्‍टको विषयमा मनन गर्दा-गर्दै तिनमा कुनै स्‍वार्थ नै बाँकी थिएन । तिनले येशूलाई पापीको मुक्तिदाताको रूपमा प्रकट गराउँदै आफूचाहिँ कलवरीको मानिसको पछाड़ि लुके ।MBAJ 156.1

    जब सुधारक यात्रामा अघि बढे, तब तिनलाई अति उत्सुकताका साथ सर्वत्र आदर गरे । तिनको वरिपरि उत्सुक भीडको घुँइचो लागेको थियो; रोमीहरूको उद्देश्‍‍यको विषयमा मित्रहरूको आवाजले तिनलाई चेतावनी दिएको थियो । कसैले भने, “तपाईंलाई जिउँदै जलाउनेछन्, र जोन हसको जस्तै तपाईंको शरीर पनि खरानी हुनेछ ।” लुथरले जवाफ दिए, “तिनीहरूले वोर्मसदेखि विटनवर्गसम्म आगो जलाए र त्यसको ज्‍वाला स्‍वर्गसम्मै पुगेतापनि प्रभुको नाउँमा म त्यसद्वारा हिड्‍नेछु, र तिनीहरूको सामु म उभिनेछु; म यी डरलागदा जनावरको मुखमा प्रवेश गर्नेछु, प्रभु येशू ख्रीष्‍टको नाउँ स्‍वीकार गरेर त्यसको दाँत भाँच्‍नेछु ।” —D’Aubigné, b. 7, ch. 7.MBAJ 156.2

    तिनी वोर्मसमा आइपुगेको खबरले त्यहाँ ठूलो खलबल सृजना भयो । तिनका साथीहरू तिनको सुरक्षा नहुने पो हो कि भन्‍ने डरले कामे । तिनका शत्रुहरू तिनीहरूको कार्य सफलता नहुने पो हो कि भनी डराए । तिनलाई शहरमा प्रवेश गर्न नदिन तिनीहरूले भरमग्दूर प्रयत्‍न गरे । पोपतन्‍‍त्रका मानिसहरूले तिनलाई एक मित्र सेनाको महलमा बस्‍ने आग्रह गरेका थिए, जसको विषयमा यस्तो भनाइ थियो कि सम्पूर्ण कठिनाईहरू मित्रतापूर्वक मिलाउन सकिन्छ । तिनलाई दिएको धम्किका खतराहरू सम्झाएर तिनका साथीहरूले डर देखाउने प्रयास गरे । तिनीहरूका सबै प्रयासहरू असफल भए । लुथरले अझै दृढ भएर घोषणा गरे: “वोर्मसका छानाहरूमा लगाइएका टाइल्सहहरू जत्तिकै दियाबलसहरू भएतापनि म त्यहाँ प्रवेश गर्नेछु ।” —D’Aubigné, b. 7, ch. 7.MBAJ 156.3

    तिनी वोर्मसमा पुग्दा ठूलो भीड तिनलाई स्‍वागत गर्न ढोकाहरूमा जम्मा भए । यस्तो विशाल भीड सम्राटलाई स्‍वागत गर्न पनि भेला भएका थिएनन् । उत्तेजना एकदमै बढ्‍दो थियो, र लुथरलाई विनाशले प्रतीक्षा गरिरहेको चेतावनी स्‍वरूप भीडको माझबाट तिखो र शोकाकुल आवाजले विलौना गरिरहेको थियो । तिनको वाहनबाट ओर्लदै तिनले भने, “परमेश्‍‍वर मेरा रक्षक हुनुहुनेछ ।”MBAJ 157.1

    लुथरले वोर्मसमा आउने जोखिम लिन्छ भनेर पोपका प्रतिनिधिहरूले विश्‍‍वास पनि गरेका थिएनन्, अनि तिनी त्यहाँ पुग्दा तिनीहरू आतंकित भए । सम्राटले तुरुन्तै तिनका सल्‍लाहकारहरूलाई कुन कार्य अपनाउने भनी योजना बनाउन बोलाए । विशपहरूमध्ये एक जना कट्टर पोपतान्‍‍त्रीले घोषणा गरे: “हामीले यस विषयमा लामो समयसम्म परामर्श गरेका छौं । यस मानिसलाई हजूरकै आफ्‍नै ऐश्‍‍वर्यले तुरुन्तै नष्‍ट पारिदिनुहोस् । सिगस्मण्डले नै जोन हसलाई जलाएको होइन र ? कुनै पनि अपधर्मीलाई सुरक्षा-पत्र दिनैपर्छ वा पालन गर्नैपर्छ भन्‍ने हाम्रो कर्तव्य होइन ।” सम्राटले भने, “यस्तो हुँदैन, हामीले हाम्रो प्रतिज्ञा पूरा गर्नैपर्छ ।” —D’Aubigné, b. 7, ch. 8. त्यसकारण त्यहाँ यस्तो निर्णय भयो कि सुधारकको कुरा पनि सुन्‍नुपर्छ ।MBAJ 157.2

    यो प्रख्यात् मानिसलाई सम्पूर्ण शहर हेर्न उत्सुक थियो र चाँडै नै तिनको निवासस्थानमा भेट्‍न आउने पाहुनाहरूको भीड भयो । लुथर भर्खरै मात्र विरामीबाट मुश्‍‍किलले निको भएका थिए; झन दुई हप्‍ताको यात्राले तिनी थकित भएका थिए, भोलिको महत्‍वपूर्ण विशाल घटनालाई तिनले तयार गर्नुपर्ने थियो र तिनलाई शान्ति र आराम आवश्‍‍यक थियो । तर तिनलाई हेर्ने इच्छा यति उत्कट थियो कि तिनले केही घण्टा मात्र आराम लिने मौका पाए, जब त्यहाँ कुलीन व्यक्तिहरू, शुरवीरहरू, पूजाहारीहरू र नागरिकहरू उत्सुकतासाथ तिनको वरिपरि जम्मा भए । यीमध्ये धेरै ती अधिकारीहरू यस्ता थिए जसले सम्राटसँग पूजाहारीहरूको अत्याचारी कार्यमा सुधार ल्याउनुपर्छ भनी अति साहससाथ माग गरेका थिए, र लुथर भन्छन्, “तिनीहरू सबैले मेरो सुसमाचारद्वारा यी पूरा स्‍वतन्‍‍त्रता पाएका छन् ।” —Martyn, page 393. शत्रुहरू साथ-साथै साथीहरू पनि यो निडर भिक्षु हेर्न आए; तर तिनले तिनीहरू सबै जनासँग अटल शान्तसाथ, उच्‍च सम्मान र बुद्धिसाथ जवाफ दिँदै भेटघाट गरे । तिनको आचरण दृढ र साहसपूर्ण थियो । परिश्रम र रोगले गर्दा तिनी पहेलो, पातलो अनुहार देखिन्थे, तिनको अनुहारमा दयालुपन र हर्षपनको भाव झल्किएको थियो । तिनको वचनको उत्साह र गम्भीरताले तिनलाई शक्ति प्रदान गऱ्यो जसलाई तिनका शत्रुहरूले पनि पूर्णरूपमा सामना गर्न सकेनन् । शत्रुहरू र साथीहरू दुवै छक्‍क परे । तिनीसँग ईश्‍‍वरीय प्रभाव थियो भनी कति जनाले विश्‍‍वास गरे; अरूले चाहिँ ख्रीष्‍टको विषयमा फरिसीहरूले भनेझैँ, “उसलाई भूत लागेको छ” भनी भने ।MBAJ 157.3

    भोलिपल्ट लुथरलाई परिषद्‍मा उपस्थित हुने हुकुम दिइयो । तिनलाई सभाको हलमा लैजान साम्राज्यको एक कार्यकर्तालाई नियुक्त गरिएको थियो, तापनि तिनी बडो मुश्‍‍किलले त्यो ठाउँमा पुगे । पोपको अधिकारलाई प्रतिकार गर्ने साहसीे भिक्षुलाई हेर्न उत्सुक भीडहरू प्रत्येक ढोकाहरूमा भरिएका थिए ।MBAJ 158.1

    जब तिनी आफ्‍ना न्यायाधीश सामु जानै लागेका थिए, एक वृद्ध सेनापति जो धेरै लडाइँको नाइके थिए तिनले कृपासाथ यसो भने, “बिचरा भिक्षु ! बिचरा भिक्षु ! तपाईंले अब यस्तो प्रकारको उत्कृष्‍ट प्रतिकार गर्नुपर्नेछ जुन म लगायत अरू कुनै कप्‍तानले हाम्रो रक्तपातपूर्ण लड़ाइँमा पनि कहिल्यै त्यस्तो गरेका छैनौं । तर यदि तपाईंको काम न्यायसङ्गत छ, र यसमा तपाईं निश्‍चित हुनुहुन्छ भने परमेश्‍‍वरको नाउँमा अगाडि जानुहोस्, कुनै पनि कुरादेखि नडराउनुहोस् ! परमेश्‍‍वरले तपाईंलाई त्याग्‍नुहुनेछैन ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 158.2

    अन्तमा लुथर परिषद्‍को सामु उभिए । सम्राट सिंहासनमा विराजमान भए । साम्राज्यको सबभन्दा उत्कृष्‍ट माननीय व्यक्तिहरू तिनको वरिपरि थिए । मार्टिन लुथर आफ्‍नो विश्‍‍वासको जवाफ दिन खडा भएको सभाचाहिँ यस्तो थियो कि यस्तो प्रतापी सभामा कोही पनि कहिल्यै उभिएका थिएनन् । “यो प्रदर्शन नै पोपतन्‍‍त्रमाथि विजयको एक चिन्ह भयो । पोपले त्यो मानिसलाई दोषी ठहराएको थियो, र अब तिनी यस्तो न्यायालयको सामु उभिरहेका थिए जुन त्यही कार्यद्वारा तिनी पोपभन्दा उच्‍च स्थानमा राखिए । पोपले तिनलाई निषेधित अवस्थामा राखिदिएका थिए र सबै मानवीय समाजबाट बहिष्कृत गरेका थिए, तापनि तिनलाई आदरपूर्ण भाषामा बोलावट गरिएको थियो र संसारको सबभन्दा गरिमामय सभाको भेला अगाडि तिनलाई स्‍वागत गरियो । पोपले तिनलाई सदाका निम्ति शान्त पार्न दोषी ठहराएको थियो, अब तिनले इसाई जगतका सबभन्दा टाढ़ाबाट सभामा आएका हजारौँ ध्यान दिने स्रोता अगि प्रवचन पेश गर्नै लागेका थिए । यसरी लुथरको कारण विशाल क्रान्ति आरम्भ भयो । रोम त्यसको सिंहासनबाट खस्‍न थालिसकेको थियो र एउटा भिक्षुको आवाजले नै त्यसलाई नम्र तुल्याएको थियो ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 158.3

    यस्तो शक्तिशाली र प्रसिद्ध सभाको उपस्थितिमा दरिद्र अवस्थामा जन्मेको सुधारक छक्‍क परेका र लजाएका जस्ता देखिन्थे । तिनको भावलाई अवलोकन गर्दै केही अधिकारीहरू तिनको नजिक आए, अनि एक जनाले तिनलाई कानमा भने, “जसले शरीरलाई मार्छ तर आत्मालाई मार्न सक्दैन तिनीहरूसँग नडराओ ।” अर्काले भने, “तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्‍ने खडा गराइनेछौ, तर तिमीहरूका पिताका आत्माले तिमीहरूद्वारा बोल्‍नुहुनेछ ।” यसरी संसारको महान् मानिसहरूद्वारा ख्रीष्‍टले आफ्‍ना वचनहरू दिनु भएर उहाँको दासलाई सङ्कष्‍टको घडीमा सामर्थ्य प्रदान गर्नुभयो ।MBAJ 159.1

    लुथरलाई सम्राटको सिंहासनमा सिधै अगाडि राखिएको थियो । भीडले घुँइचो भएको सभामा एउटा गहिरो गम्भीरता छायो । त्यसपछि साम्राज्यको कार्यकर्ता उठे र लुथरका लेखहरूको संग्रहतिर औल्याउँदै सुधारकबाट दुई वटा प्रश्‍नहरूको जवाफ माग गरे,—ती लेखहरू तिनले मेरा हुन् भनी स्‍वीकार गर्छन् कि गदैनन् र जुन विचारलाई तिनले अगि सारेका छन् सो त्याग गर्न निर्णय गरेका छन् कि छैनन् । ती पुस्तकहरूका शीर्षकहरू पढ्‍दै पहिलो प्रश्‍नको जवाफमा ती मेरा हुन् भनी लुथरले स्‍वीकार गरे । तिनले भने, “दोस्रोचाहिँ यस्तो प्रकारको प्रश्‍न हो जसले विश्‍‍वास, मानिसहरूको मुक्तिको विषयमा कुरा गर्दछ र त्यसमा पनि परमेश्‍‍वरको वचनचाहिँ स्‍वर्गमा होस् वा पृथ्वीमा होस् सबभन्दा महान् र बहुमूल्य गाडधन हो, यदि मैले सोचविचार नगरी प्रश्‍नको जवाफ दिएँ भने म मुर्ख ठहरिन्छु । परिस्थितिहरूले माग गरेको भन्दा कम र सत्यताका आवश्‍‍यताहरूभन्दा धेरै म बोल्छु होला र यसरी म ख्रीष्‍टको निम्‍नलिखित वचनको विरुद्धमा पाप नगरूँ: ‘हरेक जसले मलाई मानिसहरूको सामुन्‍ने इन्कार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनहुने मेरा पिताको सामुन्‍ने इन्कार गर्नेछु ।’ [मत्ती १०:३३] यसकारणले म तपाईंको साम्राज्यको ऐश्‍‍वर्यप्रति सम्पूर्ण विनम्र स्‍वभावले निवेदन गर्दछु ताकि मलाई समय दिनुहोस् कि मैले परमेश्‍‍वरको वचनलाई भङ्ग नगरीकन यसको जवाफ दिन सकूँ ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 159.2

    यो अनुरोध गरेर लुथरले एकदम बुद्धिमतापूर्ण व्यवहार गरे । तिनको भाषणद्वारा सभाले बुझ्यो कि तिनले रिस वा आवेगसाथ व्यवहार गरेनन् । जुन व्यक्तिले आफैमा साहस र अटलता देखाए त्यस व्यक्तिमा भएको असोचनीय शान्ति र आत्मनिर्भरताले तिनको शक्ति थपियो, र पछिल्‍लो समयमा तिनले समझदार, निर्णय, बुद्धि र आदरसाथ जवाफ दिन सक्षम भए, जसले तिनका शत्रुहरूलाई अचम्मित र निराश तुल्यायो र तिनीहरूको भ्रष्‍टता र घमण्डलाई हप्काए ।MBAJ 160.1

    भोलिपल्ट तिनी अन्तिम जवाफ दिन उपस्थित हुनुपर्ने थियो । जब तिनले सत्यताको विरोधमा एकत्रित भएका शक्तिहरूमाथि विचार गरे तब केही समयसम्म तिनको हृदय निराश भयो । तिनको विश्‍‍वास हतोत्साहित भयो; तिनी भयभीत भए र कामे, त्रासले तिनलाई आश्‍चर्यचकित तुल्यायो । तिनका सामु खतराहरू वृद्धि भए, तिनका दुश्‍‍मनहरू विजय हुनै लागेको जस्तो देखिन्थे, अन्धकारका शक्तिहरूले जित्‍न लागेको जस्तो थियो । तिनका वरिपरि बादलहरू जम्मा भए, परमेश्‍‍वरबाट तिनी विच्छेद् भएजस्तै देखिन्थे । सेनाहरूको परमप्रभु तिनका साथमा हुनुहुनेछ भन्‍ने आश्‍‍वासनको तृष्णा तिनले अति नै गरे । आत्माको व्याकुलतामा तिनले आफै लम्पसार परे र तिनले भाँचिएको र चिरिएको हृदयबाट रूवाइहरू व्यक्त गरे ती सब परमेश्‍‍वरले बाहेक अरू कसैले पनि पूर्णरूपले बुझ्‍न सक्दैन ।MBAJ 160.2

    तिनले प्रार्थना गरे, “हे सर्वशक्तिमान् र अनन्त परमेश्‍‍वर ! यो संसार कति डरलाग्दो छ ! हेर्नुहोस् त कसरी यसले मलाई निल्‍न त्यसको मुख खोल्छ, र तपाईंमाथि मेरो विश्‍‍वास कति थोरै छ ! ... यदि मैले यस संसारको सामर्थ्यमा मात्र भरोसा राख्‍नुपर्ने हो भने सबै कुरा अन्त भएको हुन्छ । ... मेरो अन्तिम घडी आएको छ, मेरो सजाय तोकिसकेको छ । ... हे मेरा परमेश्‍‍वर ! यस संसारको सम्पूर्ण बुद्धिलाई प्रतिकार गर्न मलाई सहायता गर्नुहोस् । तपाईंको आफ्‍नै शक्तिले यो काम ... गर्नुहोस् । ... यो काम मेरो होइन, तर तपाईंको हो । मेरो यहाँ केही काम छैन ... यस संसारको महान् मानिसहरूसँग विवाद गर्न म सक्षम छैनँ । ... तर यो काम तपाईंकै हो, ... र योचाहिँ धर्मी र अनन्त कार्य हो । हे प्रभु मलाई सहायता गर्नुहोस् ! विश्‍‍वासयोग्य र अटल परमेश्‍‍वर म कुनै मानिसमाथि पनि भरोसा राख्दिनँ । ... जुन कुरा मानिसको हो त्यो अनिश्‍चित हुन्छ, मानिसबाट भएको जुनसुकै कुरा पनि पतन हुन्छ । ... तपाईंले मलाई यही कामको लागि चुन्‍नुभएको छ । ... तपाईंका आफ्‍नै प्रिय पुत्र येशूख्रीष्‍टको खातिर तपाईं मेरो छेऊमा उभिनुहोस् जो मेरा रक्षक र ढाल र बलियो किल्‍ला हुनुहुन्छ ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 160.3

    सर्वज्ञानी परमेश्‍‍वरले लुथरलाई तिनको खतरा बुझ्‍ने मौका दिनुभयो, ताकि तिनले आफ्‍नै सामर्थ्यमा भर परेर दुःसाहससाथ खतरामा फस्‍न नपरून् । तापनि यो व्यक्तिगत कष्‍टको डर, यातना वा मृत्युको त्रासले चाहिँ चकित पारेको थिएन, जुन तिनमाथि तुरुन्तै आउन लागेको जस्तै देखिन्थ्यो त्यसैले तिनलाई त्रासले अलमलमा पाऱ्यो । तिनी एक सङ्कष्‍टमा आइ पुगेका थिए र त्यसलाई सामना गर्न असक्षम छु भनी तिनले महसुस गरे । तिनको कमजोरीपनद्वारा सत्यताको काममा हानि हुन सक्छ । सुसमाचारको विजय होस् भनी तिनले परमेश्‍‍वरसँग लडन्त गरे, तर आफ्‍नो सुरक्षाको लागि चाहिँ होइन । जसरी एकान्त खोल्साको छेऊमा एक रातमा इज्राएलले संघर्ष गरे तिनको लड़न्त पछुतो र प्राणको विषयमा थियो । त्यसरी इज्राएलले जस्तै तिनले परमेश्‍‍वरलाई जिते । तिनको पूर्ण असह्यपनको अवस्थामा पनि तिनको विश्‍‍वास ख्रीष्‍ट अर्थात शक्तिशाली उद्धारकमाथि स्थिर राखे । तिनी एक्‍लै परिषद्‍को सामुन्‍ने उभिनुपर्दैन भन्‍ने आश्‍‍वासनले तिनलाई बल प्रदान गरियो । तिनको मनमा शान्ति फर्केर आयो, राष्‍ट्रहरूका शासकहरूको सामुन्‍ने परमेश्‍‍वरको वचन उचाल्‍ने अनुमति प्राप्‍त गरेको कारण तिनी आनन्दित भए ।MBAJ 161.1

    आफ्‍नो दिमाग परमेश्‍‍वरमा केन्द्रित गरेर लुथरले तिनको संघर्षको लागि आफूलाई तयार गरेका थिए । तिनले जवाफको योजना गर्दै यी कुराहरू मनन गरे, तिनका लेखहरूमा भएका हरफहरूलाई जाँच गरे र तिनका सिद्धान्तहरू कायम राख्‍न पवित्रशास्‍‍त्रबाट उपयोगी प्रमाण निकाले । त्यसपछि तिनले आफ्‍ना देब्रे हात पवित्र ग्रन्थमा राखे, जुन तिनको अघि खोलिएको थियो, तिनले दाहिने हात स्‍वर्गतिर उठाए र “निरन्तररूपमा सुसमाचारको अनुयायी बन्‍ने, तिनको विश्‍‍वास नहिचकिचाइकन स्‍वीकार गर्ने र यदि आवश्‍‍यक परे तिनले आफ्‍नो रगतद्वारा” आफ्‍नो गवाहीको मोहरसमेत लगाउने शपथ खाए । —D’Aubigné, b. 7, ch. 8.MBAJ 161.2

    जब तिनलाई सभाको उपस्थितिमा खडा गरियो, तिनको अनुहारमा कुनै किसिमको डर वा लाजको लक्षण देखिएन । स्थिर र शान्तिपूर्ण, तापनि अत्यन्त्यै साहसी र भद्र भई पृथ्वीका महान् व्यक्तिहरूको बीचमा परमेश्‍‍वरको साक्षी स्‍वरूप तिनी उभिए । अब साम्राज्यको कार्यकर्ताले तिनलाई आफ्‍ना शिक्षाहरू त्याग गर्ने कि नगर्ने भन्‍ने निर्णयको माग राखे । लुथरले विना रिस र क्रोध नै नियन्‍त्रित र नम्र स्‍वरमा जवाफ दिए । तिनको आचरण नम्र र आदरपूर्ण थियो, तापनि तिनले भरोसा र आनन्द प्रकट गरे जसद्वारा सभा नै चकित भयो ।MBAJ 161.3

    लुथरले भने, “अति स्‍वच्छ सम्राट, उच्‍च अधिकारीहरू, सर्वदयालु प्रभुहरू, आज म हजूरहरूको सामुन्‍ने हिजो हजूरहरूले माग गर्नुभए अनुसार खडा भएको छु; हजूरहरूको ऐश्‍‍वर्य र प्रतापी महानतालाई परमेश्‍‍वरका अनुग्रहसाथ मेरो कार्यको पक्षमा सुनी दिन हुन हजूरहरू समक्ष म अनुरोध चढाउँदछु जुन कार्य न्यायसङ्गत र सत्य छ भनी म निश्‍चित गर्दछु । मेरो जवाफमा मैले नजानीकन अदालतको विधि-विधान र सभ्यता अनुसार भएन भने मलाई माफ गरिदिनुहोस्; किनकि म राजाहरूका दरबारहरूमा हुर्केको होइनँ तर आश्रमको एकान्त ठाउँमा हुर्केको हुँ ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 161.4

    त्यसपछि प्रश्‍नको जवाफ दिँदा भने कि तिनले प्रकाशित गरेका लेखहरू सबै एउटै किसिमका थिएनन् । कुनैमा तिनले विश्‍‍वास र असल कामहरूको चर्चा गरेका थिए, तिनका शत्रुहरूले पनि ती हानिकारक मात्र नभएर फाइदाजनक पनि छ भनी घोषणा गरे । त्यसलाई त्याग्‍नु भनेको नै ती सत्यताहरूलाई दोषी ठहऱ्याएसरह हुन्थ्यो जुन सबै समूहका मानिसहरूले स्‍वीकार गरेका थिए । दोस्रो श्रेणीको लेखमा पोपतन्‍‍त्रको भ्रष्‍टता र अत्याचारहरू समावेश भएका थिए । यी लेखहरूलाई खारिज गर्नु भनेको रोमको तानाशाहलाई सुदृढ पारेको हुन्थ्यो, अनि धेरै र ठूला अधर्महरूलाई फराकिलो ढोका खोलिएको हुनेथियो । तिनको किताबको तेस्रो श्रेणीमा यस्ता व्यक्तिहरूलाई आक्रमण गरेको थियो जसले प्रचलित झूटोलाई प्रतिरक्षा गरेका थिए । यी विषयहरूमा तिनले खुलेआम स्‍वीकार गरे कि तिनी चाहिएको भन्दा पनि अझै हिंसात्मक भएका थिए । तिनले म गल्ती नै गर्दिनँ भनी तिनले दाबी गरेनन्; तर तिनले ती पुस्तकहरूलाई पनि खारिज गर्न सक्दैनथे, त्यस्ता कार्यले सत्यताको शत्रुहरूलाई प्रोत्साहन दिदथ्यो र त्यसपछि तिनीहरूले अझै क्रूरतासाथ परमेश्‍‍वरको जनलाई नाश गर्ने मौका पाउनेथियो ।MBAJ 162.1

    तिनले थपे, “तापनि म त केवल एक मानिस मात्र हुँ, म परमेश्‍‍वर होइनँ, ख्रीष्‍टले झैँ म पनि आफ्‍नो पक्षमा बोल्छु ‘यदि मैले खराब बोलेको छु भने खराब कुराको गवाही दिनुहोस् ।’ ... अति स्‍वच्छ सम्राट, उच्‍च अधिकारीहरू र सम्पूर्ण दर्जाका महानुभावहरू मैले गल्ती गरेको छु भने अगमवक्ताहरू र प्रेरितहरूका लेखहरूबाट प्रमाणित गरिदिन हुन हजूरहरू समक्ष म अनुरोध गर्दछु । त्यसमा मलाई विश्‍‍वास लाग्‍ने बित्तिकै मेरा सम्पूर्ण झूटहरू तुरुन्तै इन्कार गर्नेछु र सबभन्दा पहिले म नै मेरा पुस्तकहरू समातेर आगोमा फालिदिनेछु ।MBAJ 162.2

    “मैले भर्खरै भनेको कुराले यो स्पष्‍ट देखाउँछ भन्‍ने म आशा गर्दछ कि ती आफूलाई पारेको खतराहरूलाई मैले होशियारीसाथ तौलेको र मनन गरेको छु; तर म भयभीत हुँदिनँ, बरु म अति आनन्दित हुन्छु किनकि प्राचीन समयमा झैँ वर्तमानमा पनि सुसमाचारको कारण सङ्कष्‍ट र वादविवाद उत्पन्‍न भएको छ । परमेश्‍‍वरको वचनको स्‍वभाव र गन्तव्य यही हो । येशु ख्रीष्‍टले भन्‍नुभयो, ‘म पृथ्वीमा ... शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ ।’ [मत्ती १०:३४] परमेश्‍‍वर उहाँका सल्‍लाहहरूमा अचम्मलाग्दो र भयपूर्ण हुनुहुन्छ; होशियार हुनुहोस् नत्रता मतभेदलाई समाधान गर्ने प्रयासमा हजूरहरूले परमेश्‍‍वरको पवित्र वचनलाई सताउनुभएको हुनेछ, र हजूरहरूले आफैमाथि वर्तमान विनाश र अनन्त उजाड़ जस्ता असाधारण खतराहरूको डरलाग्दो बाढी ल्याउनुहुनेछ । ... म परमेश्‍‍वरको वचनहरूबाट धेरै उदाहरणहरू उद्धृत गर्न सक्थें । म फारोहरू, बेबिलोन वा इस्राएलका राजाहरूको विषयमा कुरा गर्न सक्थें, जसले समस्त मानिसहरूको सल्‍लाहद्वारा सबभन्दा बुद्धिमानीसाथ काम गर्न खोज्दा र तिनीहरूले आफ्‍नो अधिकार सुदृढ पार्ने प्रयास गर्दा आफ्‍नो राज्य विनाशमा सबभन्दा प्रभावशाली योगदान पुऱ्याएका थिए । ‘परमेश्‍‍वरले पहाड़हरू हटाउनुहुन्छ र तिनीहरूलाई थाहा हुँदैन ।’” —D’Aubigné, b. 7, ch. 8.MBAJ 162.3

    लुथरले जर्मनी भाषामा बोलेका थिए; अब तिनलाई त्यही वचन ल्याटिन भाषामा दोहोऱ्याउन अनुरोध गरियो । अघिल्‍लो परिश्रमले थकित भएतापनि तिनी राजी भए र तिनले फेरि अघिझैँ बल र स्पष्‍टतासाथ तिनको त्यही वचन ल्याटिन भाषामा दिए । परमेश्‍‍वरको कृपाले यस विषयमा डोऱ्याइएको थियो । धेरै अधिकारीहरूका दिमागहरूलाई झूट र अन्धविश्‍‍वासले अन्धो पारेको थियो जसले गर्दा पहिलो प्रवचनमै लुथरको बुद्धिको शक्ति तिनीहरूले देख्‍न सकेनन्; तर फेरि दोहोरिएको कारण तिनीहरूले प्रस्तुत भएका बुँदाहरूलाई स्पष्‍टसाथ बुझ्‍न सक्षम भए ।MBAJ 163.1

    जसले ज्योतिप्रति अटेरी भएर तिनीहरूको आँखा बन्द गरे र सत्यताले चित्त बुझाउने निर्णय गरे, तिनीहरू लुथरको वचनको शक्तिले गर्दा रिसले चूर भए । जब तिनले आफ्‍नो प्रवचन समाप्‍त गरे, सभाको सञ्‍चालकले रिसाएर भन्यो: “तपाईंलाई सोधिएको प्रश्‍नको उत्तर तपाईंले दिनुभएन । ... तपाईंले एक स्पष्‍ट र निश्‍चित जवाफ दिनुपर्नेछ । ... तपाईं आफ्‍ना शिक्षाहरू त्याग्‍नुहुन्छ कि हुन्‍न ?”MBAJ 163.2

    सुधारकले जवाफ दिए: “हजूरको अति स्‍वच्छ महामहिम र हजूरको महानताबाट स्पष्‍ट, साधारण र निश्‍चित जवाफको आवश्‍‍यकता परेको हुनाले म एउटै जवाफ दिनेछु र त्यो यही हो: म मेरो विश्‍‍वास नता पोपलाई न परिषद्‍लाई नै सुम्पिदिन सक्छु, किनकि यो मध्यदिनको उज्यालो झैँ तिनीहरूले बारम्बार गल्ती गरेका छन् र एक अर्काको कुरा काटेका छन् । मलाई धर्मशास्‍‍त्र वा सबभन्दा स्पष्‍ट तर्कद्वारा स्पष्‍टतासाथ प्रमाणित नगरिएसम्म, मैले उद्धृत गरेका पदहरूद्वारा मलाई विश्‍‍वास नदिलाएसम्म र परमेश्‍‍वरको वचनअनुसार मेरो विवेकमा प्रस्तुत नगरेसम्म म कुनै पनि कुरा त्याग्‍न सक्दिनँ र त्याग्‍ने पनि छैनँ, किनकि एउटा इसाईले आफ्‍नो विवेक विरुद्ध बोल्‍नु उचित हुँदैन । म यहीँ उभिन्छु, म अरू केही पनि गर्न सक्दिनँ; परमेश्‍‍वरले मलाई सहायता गर्नुभएको होस् । आमेन ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 163.3

    यसरी यी धार्मिक मानिस परमेश्‍‍वरको वचनको निश्‍चित जगमाथि खडा भए । स्‍वर्गको ज्योतिले तिनको मुहार उज्‍ज्‍वल भएको थियो । जब तिनले झूटको शक्ति विरुद्ध गवाही दिए र संसारमाथि विजय हुने त्यो महान् विश्‍‍वासको साक्षी दिए तब सम्पूर्ण मानिसहरू समक्ष तिनको चरित्रको महानता र शुद्धता, तिनको शान्ति र हृदयको आनन्द प्रकट भयो ।MBAJ 164.1

    सम्पूर्ण मानिसहरू नै केही समयसम्म त चकित भएर निःशब्द भए । तिनको पहिलो उत्तरमा लुथरले नम्र स्‍वरमा, आदरका साथ र झण्डै समर्पित हुन्छन् कि जस्तो आवाजमा बोलेका थिए । तिनको साहस अब ह्रास हुँदै गएछ भनी रोमीहरूले अर्थ लगाए । तिनले केही समयको लागि अनुरोध गरे जुनचाहिँ तिनले आफ्‍ना शिक्षाहरू त्याग्‍न सुरुवात् गरेका हुन् भन्ठाने । चारल्स आफैले पनि तिनलाई अवहेलना गर्दै, भिक्षुको थकित अवस्था, तिनको साधारण पोशाक र तिनको सम्बोधनको साधारण अवस्थालाई ध्यान दिँदै उसले घोषणा गऱ्यो, “यो भिक्षुले मलाई कहिल्यै पनि अपधर्मी बनाउँदैन ।” तिनले अहिले प्रदर्शन गरेको साहस र दृढता साथ-साथै तिनको बुद्धिको शक्ति र स्पष्‍टताले सबै दलहरूलाई छक्‍क पाऱ्यो । सम्राटले प्रशंसासाथ आश्‍चर्यले कराए, “यो भिक्षु निर्भय हृदय र अटल साहसले बोल्छ ।” धेरै जना जर्मनीका अधिकारीहरूले आफ्‍नो देशको यो प्रतिनिधिलाई गौरव र आनन्दसाथ हेरे ।MBAJ 164.2

    रोमका समर्थकहरू पराजित भएका थिए; तिनीहरूको कार्य सबभन्दा मन नपर्ने ज्योतिमा प्रकट भयो । तिनीहरूले रोमको अटल तर्कहरूको आधारमा त्यसको शक्ति कायम राख्‍न धम्कीद्वारा प्रयास गरे, तर धर्मशास्‍‍त्र अनुसार होइन । सभाको उद्‍घोषकले भने: “यदि तपाईंले आफ्‍ना शिक्षाहरू त्याग्‍नुभएन भने सम्राट र साम्राज्यका प्रान्तहरूले यस्तो अटेरी अपधर्मीप्रति कस्तो उपाय निकाल्‍नुपर्ने हो उहाँहरूले नै सल्‍लाह गरेर निकाल्‍नुहुनेछ । भुल स्‍वीकार गर्दैनौं भने, सम्राट र साम्राज्यको राज्यहरूले एक अटेरी धर्म विरोधीलाई कसरी ठीक पार्नुपर्ने हो भनी उहाँहरूले मुद्दा चलाउनुहुनेछ ।”MBAJ 165.1

    तिनका गौरवशाली प्रतिरक्षा सुनेर अति आनन्दित हुने लुथरका साथीहरू यी शब्दहरूको उच्‍चारण हुँदा कामे; तर डाक्टर आफैले शान्तसाथ भने, “परमेश्‍‍वर नै मेरा सहायक बन्‍नुभएको होस् ! किनकि म कुनै पनि शिक्षाहरू त्याग्‍न सक्दिनँ ।” —D’Aubigné, b. 7, ch. 8.MBAJ 165.2

    जब अधिकारीहरू एकसाथ सल्‍लाह गर्न थाले तब तिनलाई परिषद्‍बाट निस्केर जाने आदेश दिइयो । तिनीहरूले एउटा ठूलो सङ्कट आएको महसुस गरे । लुथरले समर्पणप्रति गरेको निरन्तर इन्कारले चर्चको इतिहासमा युगौँसम्म असर पार्न सक्थ्यो । त्यसैले तिनलाई आफ्‍ना शिक्षाहरू त्याग्‍न अझै एउटा मौका दिने निर्णय गरियो । अन्तिम पटक तिनलाई परिषद्‍मा ल्याइएयो । तिनले आफ्‍ना शिक्षाहरू त्याग्‍ने कि नत्याग्‍ने भनी तिनलाई फेरि प्रश्‍न सोधियो । तिनले भने, “मैले अघि नै जवाफ दिइसके, सोभन्दा उप्रान्त मसँग अरू कुनै जवाफ छैन ।” यो कुरा स्पष्‍ट प्रमाणित भयो कि रोमका लिखित आदेशप्रति समर्पण गराउन कुनै प्रतिज्ञाहरू वा धम्कीहरूद्वारा तिनलाई सकिदैनँ ।MBAJ 165.3

    पोपतन्‍‍त्रका अगुवाहरू लाजले भुतुक्‍क भए किनकि जुन शक्तिले राजाहरू र अधिकारीहरूलाई थर-थर कमाउथ्यो त्यसलाई एक साधारण भिक्षुद्वारा प्रतिकार गरियो; तिनलाई यातना दिँदै मारेर तिनीहरूको क्रोधको परिणाम तिनलाई चखाउने तिनीहरूको इच्छा थियो । तर लुथरले आफ्‍नो खतरालाई मध्यनजर गरेर सम्पूर्ण समक्ष इसाई आदर र स्थिरतासाथ बोलेका थिए । तिनका वचनहरू घमण्ड र रिसमुक्त थियो, र कुव्याख्यारहित थियो । तिनले आफैलाई र तिनको वरिपरि प्रतिष्‍ठित मानिसहरूलाई बिर्से, तिनी पोपहरू, अधिकारीहरू, राजाहरू र सम्राटभन्दा पनि अति उच्‍च व्यक्तिको सामुन्‍ने छु भन्‍ने तिनले महसुस गरेका थिए । ख्रीष्‍टले लुथरको गवाहीद्वारा शक्ति र महानता बोल्‍नुभएको थियो जसले त्यो समयमा शत्रुहरू र साथीहरू दुवैलाई भय र आश्‍चर्यसाथ प्रेरित गरे । साम्राज्यका प्रमुखहरूको हृदयमा प्रभाव पार्दै परिषद्‍मा परमेश्‍‍वरको आत्मा उपस्थित हुनुभएको थियो । केही अधिकारीहरूले लुथरको कामको न्यायलाई साहससाथ स्‍वीकार गरे । धेरै जनालाई त्यो सत्यता चित्त बुझ्दो भयो; कति जनामा चाहिँ त्यहाँ प्राप्‍त भएका प्रभावहरू लामो समयसम्म रहेनन् । त्यहाँ यस्तो समूह पनि थियो जसले त्यो समयमा तिनीहरूको निश्‍चयता व्यक्त गर्न सकेनन्, तर तिनीहरू आफैले धर्म शास्‍‍त्र खोजी गरेर निर्भयतासाथ भविष्यमा सुधार-कार्यका समर्थकहरू बने ।MBAJ 165.4

    मुख्यमन्‍‍त्री फ्रेड्रिकले परिषद्‍मा लुथरको उपस्थिति उत्सुकतासाथ प्रतीक्षा गरेका थिए र तिनले गहिरो भावका साथ तिनको वक्तव्य सुने । तिनले आनन्द र गौरवसाथ डाक्टरको साहस, दृढता र आत्म-अधिकार हेरे, तिनको प्रतिरक्षामा अझै दृढतासाथ खडा हुने निर्णय गरे । तिनले विरोधी दलहरूका भिन्‍नता देखे, पोपहरू, राजाहरू र अधिकारीहरूको बुद्धि सत्यताको शक्तिमा बेकम्मा हुन आएको देखे । पोपतन्‍‍त्रले पराजय भोग्‍नुपऱ्यो जुन सम्पूर्ण राज्यहरू र सारा युगहरूमा महसुस गरिनेथियो ।MBAJ 166.1

    जब पोपको राजदूतले लुथरको भाषणद्वारा उत्पन्‍न गरेको प्रभाव थाहा पाए तिनलाई रोमी शक्तिको सुरक्षामा पहिलेभन्दा धेरै डर लाग्यो, र सुधारकको विनाश अझै प्रभावकारी पार्न जतिसक्दो प्रत्येक उपायहरू प्रयोग गर्ने संकल्प गरे । सम्पूर्ण भाषणकला र कुटनीतिक कलाद्वारा तिनी अति नै प्रतिष्‍ठित थिए र तिनले एक जवान सम्राटलाई अर्थहीन भिक्षुको खातिर रोमको शक्तिशाली अधिकारको मित्रता र समर्थनलाई बलिदान गर्दा आउने मुर्खता र खतरा प्रस्तुत गरिदिए ।MBAJ 166.2

    तिनका शब्दहरू असरहीन भएनन् । लुथरले जवाफ दिएको भोलिपल्ट चारल्सले तिनको क्‍याथोलिक धर्म सुरक्षित गर्ने, बचाउने र पुर्खाहरूको अभिप्रायलाई समर्थन गर्ने निर्णय गर्दै परिषद्‍मा एउटा सन्देश प्रस्तुत गर्ने हुकुम गरे । लुथरले आफ्‍नै गल्ती स्‍वीकार गर्न नमानेको कारणले तिनी र तिनका झूटा शिक्षाप्रति अति नै कडाभन्दा कडा कार्यबाही गर्नुपर्छ । “यो एउटा भिक्षु त्यसको आफ्‍नै पागलपनद्वारा मुर्ख भयो र यो आफै इसाईजगतको विश्‍‍वास विरुद्ध खडा भयो । यस्तो अधर्म रोक्‍न म मेरो राज्य, मेरो भण्डार, मेरा साथीहरू, मेरो शरीर र रगत, मेरो आत्मा र जीवन नै बलिदान गरिदिनेछु । मानिसहरूको बीचमा कुनै गड़बड़ नगरीकन पादरी लुथरलाई म विदा दिन आँटेको छु; त्यसपछि म त्यो र त्यसका अनुयायीहरूलाई हठी र अपधर्मी सरह चर्चबाट बहिष्कार गर्न, देश निकाला गर्न र तिनीहरूको विनाश गर्न आवश्‍‍यक पर्ने प्रत्येक औजार प्रयोग गर्नेछु । म राज्यका सदस्यहरूलाई विश्‍‍वासयोग्य इसाईहरूको हैसियतले त्यस्तै व्यवहार गरिदिन हुन विनम्र अनुरोध गर्दछु ।” —D’Aubigné, b. 7, ch. 9. तापनि सम्राटले घोषणा गरे कि लुथरको सुरक्षा-पत्रलाई मान्यता दिनुपर्छ र तिनप्रति कुनै पनि कार्यबाही जारी हुनुभन्दा अगाडि नै तिनलाई सुरक्षितसाथ घरमा पुग्‍न दिनुपर्छ ।MBAJ 166.3

    परिषद्‍का सदस्यहरूले दुई प्रतिपक्षी अवधारणा पेश गरे । पोपका समाचारवाहकहरू र प्रतिनिधिहरूले फेरि दबाब दिए कि सुधारकको सुरक्षा-पत्रलाई मान्यता दिनु हुँदैन । तिनीहरूले भने, “जसरी एक शताब्दी अघि जन हसको खरानी राइन नदीमा खन्याइएको थियो, त्यसरी नै त्यसको खरानी पनि राइनमा खन्याइनुपर्छ ।” —D’Aubigné, b. 7, ch. 9. तर जर्मनीका अधिकारीहरू पोपतन्‍‍त्रलाई स्‍वीकार गर्ने लुथरको शत्रु भएतापनि राष्‍ट्रको इज्‍जतमाथि कलङ्करूपी यस्तो सार्वजनिक विश्‍‍वास भङ्गताको विरोध गरे । हसको मृत्युपछि कस्ता विपत्तिहरू आए तिनीहरूले ती घटनाहरूका स्मरण गरे, र जर्मनी र तिनीहरूको युवक सम्राटमाथि पुनः त्यस्तै भयानक दुष्‍टताहरू ननिम्त्याउने आग्रह गरे ।MBAJ 167.1

    चारल्स आफैले यो नीच प्रस्तावनाको जवाफमा भने: “यो आदर र विश्‍‍वास सारा पृथ्वीबाट विलिएर गएतापनि अधिकारीहरूका हृदयमा चाहिँ गाडिएको हुनुपर्छ ।” —D’Aubigné, b. 7, ch. 9. लुथरका सबभन्दा कठोर पोपतान्‍त्रिक शत्रुहरूले तिनलाई दबाब दिए कि जसरी सिगस्मन्डले हसलाई चर्चका कृपाहरूमा छोडिदिएका थिए सुधारकलाई पनि त्यसै गरी बक्सिओस्; तर जब हसले सार्वजनिक भेलामा आफ्‍ना सिक्रीहरू देखाएर तिनले आफ्‍नो विश्‍‍वास भङ्ग गरेको राजालाई सम्झाएको कुरा चारल्स पाँचौँले स्मरण गरे तब तिनले भने, “म सिगस्मन्डजस्तै लज्‍जित हुन चाहँदिनँ ।” —Lenfant, vol. 1, p. 422.MBAJ 167.2

    तापनि लुथरद्वारा प्रस्तुत गरिएका सत्यताहरू चारल्सले जानी-जानी इन्कार गरेका थिए । राजाले यसरी लेखे, “मैले मेरा पूर्खाहरूको उदाहरण अनुसारमा गर्ने दृढ निर्णय गरेको छु ।” —D’Aubigné, b. 7, ch. 9. तिनले सत्यता र धार्मिकताको मार्गमा हिँड्‍नका लागि भएपनि परम्पराको मार्गबाट नहट्‍ने निर्णय गरेका थिए । तिनका पूर्खाहरूले पोपतन्‍‍त्रलाई त्यसका सम्पूर्ण भ्रष्‍टता र क्रूरतासहित अपनाएका कारण तिनले पनि त्यसै गर्ने थिए । यसरी तिनका पूर्खाहरूले प्राप्‍त गरेको ज्योतिभन्दा उप्रान्त विकसित ज्योति स्‍वीकार नगर्ने र तिनीहरूले नगरेको कुनै कार्य नगर्ने तिनले निर्णय लिए ।MBAJ 167.3

    वर्तमान समयमा पनि धेरै जना यस्ता मानिसहरू छन् जो तिनीहरूका पिता-पूर्खाहरूका परम्पराहरू र संस्कृतिहरूमा नै अल्झिरहेका छन् । जब प्रभुले तिनीहरूलाई थप ज्योति दिनुहुन्छ तब तिनीहरू त्यसलाई अस्‍वीकार गर्छन्, किनकि त्यो तिनीहरूका पिता-पूर्खाहरूलाई प्रदान गरिएको पनि थिएन र तिनीहरूले स्‍वीकार गरेका थिएनन् । हाम्रा पिता-पूर्खाका समयमा हामी छैनौं, जसको परिणाम स्‍वरूप हाम्रा कर्तव्यहरू र जिम्मेवारीहरू तिनीहरूको जस्तै छैनन् । हाम्रो कर्तव्य निश्‍चित गर्न हामी आफैले सत्यताको वचन खोजी नगरेर पिता-पूर्खाहरूको उदाहरणलाई अनुसरण गर्छौं भने परमेश्‍‍वरले त्यसमा समर्थन गर्नुहुनेछैन । हाम्रा पिता-पूर्खाहरूको भन्दा हाम्रो जिम्मेवारी ठूलो छ । जुन सत्यता तिनीहरूले प्राप्‍त गरे र सो हामीलाई अंश स्‍वरूप प्रदान गरेका छन् हामी त्यसको जिम्मेवारी छौं साथै वर्तमानमा परमेश्‍‍वरको वचनबाट चम्किरहेको थप ज्योतिको पनि हामी जिम्मेवारी छौं ।MBAJ 168.1

    ख्रीष्‍टले विश्‍‍वास नगर्ने यहूदीहरूको बारेमा भन्‍नुभयो, “म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्‍ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन ।” यहून्‍ना १५:२२ । त्यही दैवीय शक्तिले लुथरद्वारा जर्मनीको सम्राट र अधिकारीहरूसँग बोल्‍नुभएको थियो । जब परमेश्‍‍वरको वचनबाट ज्योति चम्क्‍यो, तब सभामा भेला भएका धेरै मानिसहरूसँग उहाँको आत्माले अन्तिम पटक बिन्ती गर्नुभयो । जसरी शताब्दीऔँ अघि पिलातसले आफ्‍नो घमण्ड र प्रसिद्धताको कारणले गर्दा संसारको मुक्तिदाताको विरुद्ध हृदय बन्द गरे; जसरी फेलिक्सले सत्यताको समाचारवाहकलाई कम्पनसाथ भने, “अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउँला;” (प्रेरित २४:२५) जसरी घमण्डी अग्रिपाले स्‍वीकार गरे, झन्डै तिमीले मलाई ख्रीष्‍टियन बनायौ (प्रेरित २६:२८), तापनि तिनीहरू स्‍वर्गबाट पठाइएको समाचारबाट तर्के,—त्यसरी चारल्स पाँचौँले संसारको घमण्ड र विधि-विधानको अधीनमा परेर सत्यताको ज्योतिलाई इन्कार गर्ने निर्णय गरे ।MBAJ 169.1

    लुथरको विरुद्धमा गरेका योजनाहरूको हल्‍ला व्यापकरूपमा शहरभरि फैलियो र ठूलो हूलदङ्गा मच्‍चियो । सुधारकले धेरै साथीहरू बनाएका थिए, ज-जसले रोमका भ्रष्‍टताहरूलाई प्रकट गर्न साहस गर्दछन् तिनीहरू सबैप्रति रोमको विश्‍‍वासघाती क्रूरतालाई जानेर तिनी त्यत्तिकै मारिनु [बलिदान हुनु] हुँदैन भनी साथीहरूले निर्णय गरे । सयौँ अधिकारीहरू आफैले तिनलाई सुरक्षा दिने प्रतिज्ञा गरे । रोमको नियन्‍त्रित शक्तिमाथि कमजोर समर्पण गर्न इन्कार गर्दै धेरै जनाले राजकीय सन्देशलाई खुल्‍लमखुल्‍ला इन्कार गरे । घरहरूका ढोकाहरू र सार्वजनिक स्थानहरूमा विज्ञापन-पत्रहरू टाँसिए, कति जनाले लुथरलाई दोष दिएका थिए भने अरूले चाहिँ समर्थन जनाएका थिए । तीमध्ये एउटामा चाहिँ बुद्धिमान् मानिसको अर्थपूर्ण शब्दहरू मात्र लेखिएका थिए, जुन देशमा बालक राजा हुन्छ त्यो देश धिक्‍कार होस् । उपदेशक १०:१६ । जर्मनीभरि लुथरको पक्षमा भएको व्यापक जागृतिले सम्राट र परिषद् दुवैले यो प्रमाणित गऱ्यो कि यदि तिनीप्रति कुनै अन्याय गरिएको खण्डमा साम्राज्यको शान्ति र सिंहासनको स्थिरता खतरामा पर्ने थियो ।MBAJ 169.2

    स्याक्सनीको फ्रेड्रिकले लुथरप्रति भएको तिनका धारणा होशियारीसाथ गुपचूप राखे, त्यसका साथ-साथै तिनले तिनलाई तिनको सम्पूर्ण रहनसहनहरू र तिनका शत्रुहरूका सम्पूर्ण चालचलन अथक सतर्कतासाथ हेरे र तिनलाई रक्षा गरे । तर त्यहाँ धेरै जना यस्ता मानिसहरू पनि थिए जसले लुथरप्रति भएको सहानुभूति लुकाउने प्रयत्‍न गरेनन् । तिनीसँग अधिकारीहरू, बेलायतका अमिरहरू, बेलायतका राजाको अधिकारमा हुने जमिनदारहरू, साधारण र पूजाहारीहरू जस्ता मानिसहरू तिनलाई भेट्‍न आउथे । स्पालाटिनले लेखे, “आफै आउने पाहुनाहरू पनि डाक्टरको सानो कोठामा अट्‍न सक्दैनथे ।” —Martyn, vol. 1, p. 404. मानिसहरूले तिनलाई मानवभन्दा उच्‍च प्राणीझैँ गरी आदर गरे । जसरी तिनका शिक्षाहरूमा विश्‍‍वासै नगर्नेहरूले पनि तिनको उत्कृष्‍ट इमान्दारितालाई तारिफ गरे जसले गर्दा तिनलाई विवेक विरुद्धमा जानुभन्दा बरु मृत्यु नै भोग्‍न तयार गरायो ।MBAJ 169.3

    लुथरलाई रोमसँगको सम्झौतामा ल्याउन जति सक्दो प्रयास गरियो । कुलीन घरनाका मानिसहरू र राजकुमारहरूले तिनलाई बताए कि यदि तिनी परिषद्‍हरू र चर्चको विरोधमा लगाताररूपमा आफ्‍नै बुद्धिमा खडा भए भने तिनी चाँडै नै साम्राज्यबाट बहिष्कार हुनेछन्, त्यसपछि कुनै सुरक्षा हुँदैन । त्यो सल्‍लाहमा लुथरले जवाफ दिए: “दोषविना ख्रीष्‍टको सुसमाचार प्रचार गर्न असम्भव छ । ... प्रभु र ईश्‍‍वरीय वचन एउटै मात्र सत्य हो जसबाट जोखिमको डर वा चिन्ताले किन मलाई छुट्याउने ? अहँ, बरु म मेरो शरीर, मेरो रगत र मेरो जीवन नै अर्पण गर्नेछु ।” —D’Aubigné, b. 7, ch. 10.MBAJ 170.1

    फेरि तिनलाई सम्राटको निर्णय स्‍वीकार गर्न दबाब दिइयो, त्यसपछि तिनी कुनै पनि कुरादेखि डराउनुपर्दैनथ्यो । तिनले जवाफ दिँदै भने, “सम्राट, राजकुमारहरू र अति नम्र इसाईहरूले पनि मेरा लेखहरूको जाँच गरून् र परमेश्‍‍वरको वचनको स्तरअनुसार गरियो भने यही एउटा शर्तमा मात्र पनि म मेरो पूर्ण मनले सहमत जनाउँछु । मानिसले त्यसलाई केही पनि गर्न सक्दैन तर त्यसप्रति आज्ञाकारी मात्र बन्‍नुपर्छ । मेरो विवेकको विरोधमा काम गर्न नलगाउनुहोस् किनकि यो पवित्र धर्मशास्‍‍त्रसँग बाँधिएको र गाँसिएको छ । मेरो विवेक पवित्र धर्मशास्‍‍त्रसंँग बाँधेर साङ्‍लो लगाइएको छ त्यसलाई नबिगार्नुहोस् ।” —D’Aubigné, b. 7, ch. 10.MBAJ 170.2

    तिनले अर्को अनुरोधको विषयमा भने: “म मेरो सुरक्षा-पत्र त्याग्‍न तयार छु । म मेरो शरीर र जीवन सम्राटको हातमा अर्पण गर्न सहमत छु, तर परमेश्‍‍वरको वचनचाहिँ त्यस्तो कहिल्यै पनि हुन सक्दैन !” —D’Aubigné, b. 7, ch. 10. साधारण परिषद्‍को निर्णयमा सहमत हुन तयार भएको कुरा तिनले बताए, तर परिषद्‍ले धर्मशास्‍‍त्रअनुसार निर्णय गरेको हुनुपर्छ । तिनी यसरी थप्छन्, “त्यसको पक्षमा हजारौँ परिषद्‍हरूले समर्थन गरेता पनि परमेश्‍‍वरको वचन र विश्‍‍वासको सम्बन्धमा प्रत्येक इसाई पनि पोप जत्तिकै असल न्याय गर्न सक्षम छ ।” —Martyn, vol. 1, p. 410. अन्तमा साथीहरू र शत्रुहरू दुवैले थाहा पाए कि अब मिलाप गराउने प्रयत्‍नचाहिँ अर्थहीन हुन्छ ।MBAJ 170.3

    यदि सुधारकले एउटै बुँदामा समर्पण गरेको भए शैतान र उसका सेनाहरूले विजय प्राप्‍त गर्ने थिए । तर तिनको अटल दृढताचाहिँ चर्चलाई स्‍वतन्‍‍त्रता दिलाउने एक माध्यम भयो, र एउटा नयाँ र अझै असल युगको सुरुवात थियो । एउटा मान्छे जो आफैले धार्मिक विषयहरूमा सोच्‍न र व्यवहारमा लागू गर्न आँट गरेतापनि तिनको प्रभावले चर्च र संसारलाई प्रभावित पार्नुपर्ने थियो, तिनको आफ्‍नै समयमा मात्र होइन, तर भविष्यका सबै पुस्ताहरूमा प्रभाव पाऱ्यो । तिनको दृढता र भक्तिले अन्तको समयमा सबैलाई बलियो पार्नेछ, र पनि त्यस्तै अनुभवद्वारा जानेछन् । परमेश्‍‍वरको शक्ति र महानताचाहिँ मानिसको सल्‍लाह र शैतानको सबभन्दा ठूलो शक्तिभन्दा उच्‍च स्थानमा खडा थियो ।MBAJ 171.1

    सम्राटको अधिकारद्वारा लुथरलाई घर फर्कने आज्ञा भयो र तिनलाई थाहा थियो कि यो चेतावनीपछि तुरुन्तै तिनलाई दोषी ठहऱ्याउनेथियो । डरलाग्दा बादलहरू तिनको मार्गमा फैलिएका थिए; तर जब तिनी वोर्मसबाट गए तिनको हृदय आनन्द र प्रशंसाले भरिएको थियो । तिनले भने, “पोपको किल्‍ला दियाबलस आफैले रक्षा गऱ्यो; तर ख्रीष्‍टले त्यसको पर्खालको एक भागलाई भत्काउनुभएको छ र परमप्रभु नै ऊभन्दा शक्तिशाली हुनुहुन्छ भनी स्‍वीकार गर्न शैतान बाध्य भयो ।” —D’Aubigné, b. 7, ch. 11.MBAJ 171.2

    तिनी त्यहाँबाट गइसकेपछि पनि तिनको दृढतालाई विद्रोही भनी गलत अर्थ नलगाऊन् भन्‍ने इच्छासाथ लुथरले सम्राटलाई लेखे । “परमेश्‍‍वर मेरो साक्षी हुनुहुन्छ जसले मेरो विचार जाँच्‍नुहुन्छ,” तिले भने, “मानिसहरूलाई जीवन दिने परमेश्‍‍वरको वचनअनुसार म तपाईंको ऐश्‍‍वर्यलाई आदर र अनादरमा, जीवन वा मृत्युमा मेरो सम्पूर्ण हृदय कुनै बहानाविना नै मान्‍न तयार छु । यस वर्तमान जीवनको सबै परिस्थितिमा मेरो भक्ति अटल रहनेछ, यस्ता कुरामा हानि वा लाभले मुक्तिको सम्बन्धमा केही प्रभाव पार्दैन । तर अनन्त कुराको सम्बन्धमा कुनै पनि मानिसले मानिसमा समर्पण नगरोस् भन्‍ने परमेश्‍‍वरको इच्छा हो । किनकि यस्तो आत्मिकी समर्पण नै वास्तविक आराधना हो र यस्तो आराधनाचाहिँ सृष्‍टिकर्तालाई मात्र दिनुपर्दछ ।” —D’Aubigné, b. 7, ch. 11.MBAJ 171.3

    वोर्मसमा जाँदाभन्दा त्यहाँबाट फर्कँदा लुथरको स्‍वागत अझै सन्तोषजनक भयो । प्रमुख पूजाहारीहरूले चर्चबाट बहिष्कृत भिक्षुलाई स्‍वागत गरे, जसलाई सम्राटले पनि अपमान गरे त्यही मान्छेलाई सरकारी अधिकारीहरूले आदर दिए । साम्राज्यले तिनलाई बहिष्कार गरेतापनि तिनलाई प्रचार गर्न आग्रह गरियो र तिनी पुनः पुल्पिटमा प्रवेश गरे । तिनले भने, “मैले कहिल्यै पनि परमेश्‍‍वरको वचनलाई साङ्‍ला लगाएर राख्‍ने प्रतिज्ञा गरेको छैनँ, नता म त्यसो गर्ने नै छु ।” —Martyn, vol. 1, p. 420.MBAJ 171.4

    तिनले वोर्मसबाट यात्रा गरेको केही समय नहुँदै पोपतन्‍‍त्रका मानिसहरूले सम्राटलाई तिनको विरुद्धमा एउटा लिखित आदेश जारी गर्न प्रभावित पारे । “शैतान आफैले मान्छेको रूपमा भिक्षुको भेष धारण गरेको छ” भनी यो आदेशमा लुथरलाई घृणा गरिएको थियो । —D’Aubigné, b. 7, ch. 11. तिनको सुरक्षा-पत्रको म्याद सकिने बित्तिकै तिनको कार्य रोक्‍न प्रभावकारी उपाय अपनाउनुपर्छ भन्‍ने आदेश जारी भयो । तिनलाई आश्रय दिनु, खाना वा पानी दिनु, बोली वा व्यवहारद्वारा योगदान गर्नु, सार्वजनिक वा व्यक्तिगतरूपमा सहायता गर्न वा मद्दत गर्न सम्पूर्ण मानिसहरूलाई निषेध गरिएको थियो । तिनी जहाँ भए पनि तिनलाई गिरपतार गर्न र अधिकारीहरूको हातमा पारिदिनुपर्ने थियो । तिनका अनुयायीहरू पनि झ्यालखानामा हालिनुपर्ने थियो, र तिनीहरूको जग्गा जमिन हडप्‍नुपर्ने थियो । तिनका लेखहरू नष्‍ट पार्नुपर्ने थियो, अन्तमा कसैले त्यस आदेश विपरीत जाने साहस गरेको भए तिनीहरू सबैले त्यसको सजायमा सहभागी हुनुपर्ने थियो । तिनी वोर्मसबाट जाने बित्तिकै स्याक्सनीको मुख्यमन्‍‍त्री र लुथरको असल मित्र अधिकारीहरू पनि वार्मसबाट निस्केर गए, सम्राटको आदेशले परिषद्‍को अनुमोदन प्राप्‍त गऱ्यो । अब रोमीहरू हर्षले प्रफुल्‍लित भए । तिनीहरूले सोचे कि सुधार-कार्य अब बन्द भयो ।MBAJ 172.1

    त्यस जोखिमको घडीमा परमेश्‍‍वरले उहाँको दासलाई उम्कने बाटो जुटाई दिनुभयो । लुथरको कार्यलाई एक सचेत नजरले हेरिएको थियो, एक सत्य र भद्र हृदयले तिनलाई बचाउने निर्णय गरेको थियो । तिनको मृत्युबाहेक अरू कुनै कुराबाट रोम सन्तुष्‍ट हुन सक्दैनथ्यो भन्‍ने कुरा छर्लङ्ग थियो; केवल लुकेर मात्र तिनी सिंहको बङ्गाराबाट बाँच्‍न सक्‍ने थिए । सुधारकलाई सुरक्षा दिलाउन परमेश्‍‍वरले स्याक्सनीको फेड्रिकलाई एउटा योजना बनाउने बुद्धि दिनुभयो । सत्य मित्रहरूको सहायताले गर्दा मुख्यमन्‍‍त्रीको योजना पूरा भयो र लुथरचाहिँ मित्र र शत्रुहरूबाट प्रभावशालीरूपमा गुप्‍त रहे । तिनी घरतर्फ यात्रा गर्ने क्रममा तिनलाई पक्राउ गरियो र तिनीसँग भएकाहरूदेखि अलग पारियो र हतार-हतार जङ्गल भएर वर्टवर्गको एउटा एकान्त पहाड़को किल्‍लामा लगियो । तिनको पक्राउ र तिनको गोपनीयता यस्तो गुप्‍त थियो कि फ्रेड्रिक आफैलाई पनि कति समयसम्म तिनलाई कहाँ लगेर राखिएको छ भनी थाहा भएन । यस्तो अन्‍जानपना पनि योजनाविना थिएन; लुथर कहाँ छ भनी मुख्यमन्‍‍त्रीलाई केही थाहा नभएसम्म तिनले केही भन्‍न सक्दैनथे । सुधारकको सुरक्षामा तिनी आफै पनि सन्तुष्‍टि भए र यो कुरा जान्‍न पाएकोमा तिनी ढुक्‍क भए ।MBAJ 172.2

    बसन्त ऋतु, ग्रीष्म ऋतु हुँदै शरद् ऋतु गयो र हिउँद पनि आयो, तर लुथरचाहिँ अझै कैदी नै थिए । जब सुसमाचारको ज्योति निभ्‍नै लागेको देखे तब अलिन्डर र तिनका साथीहरू हर्षित भए । तर त्यसको सट्टामा सुधारकले सत्यताको भण्डारबाट तिनको बत्ती भरिरहेका थिए; यसको ज्योति अझै प्रचण्ड उज्‍ज्‍वलतासाथ चम्कनुपर्ने थियो ।MBAJ 173.1

    वर्टवर्गमा भएको न्यानो सुरक्षाले केही समयसम्म लड़ाइँको चर्काइ र खैलाबैलाबाट आराम पाउँदा लुथर खुशी भए । तर अब अझै लमो समयसम्म तिनी आराम र शान्तिको अवस्थामा बसेर सन्तुष्‍टि प्राप्‍त गर्न सकेनन् । क्रियाशील र जीवनको कडा संघर्षको आदत्‍ले गर्दा निस्क्रिय जीवन तिनका लागि असह्य भयो । ती एकलोपनका दिनहरूमा चर्चको अवस्था तिनको सामुन्‍ने आयो, तिनी हताश भएर कराए, “ओहो ! उहाँको क्रोधको यो अन्तिम दिनमा परमप्रभुको सामुन्‍ने पर्खालझैँ खडा हुने र इस्राएललाई बचाउने कोही छैन !” —D’Aubigné, b. 9, ch. 2. फेरि तिनले आफ्‍नै विषयमा सोचे, संघर्षबाट पछाड़ि हट्‍दा अरूले तिनलाई कायर भनी दोष लगाउँछन् कि भन्‍ने डर भयो । त्यसपछि तिनले आफ्‍नो अल्छिपना र आत्म-स्‍वार्थप्रति पछुतो गरे । यद्यपि तिनले एक जनाले सम्पन्‍न गर्न नसक्‍ने काम दैनिक पूरा गर्ने गर्थे । तिनको कलम कहिल्यै पनि शान्त रहेन । जब तिनका शत्रुहरू अब तिनी शान्त भए भनी खुशी थिए तब तिनी अझै क्रियाशील रहेको स्पर्शनीय प्रमाणले गर्दा यो अचम्म र अलमल्‍लमा पर्थे । तिनको कलमद्वारा प्रकाशित अनगिन्ती पर्चाहरू जर्मनीभरि फैल्याए । तिनले जर्मनी भाषामा नयाँ नियम अनुवाद गरेर आफ्‍नो देशका जनताहरूको लागि एक महत्‍वपूर्ण सेवा पनि प्रदान गरे । तिनले ढुङ्गेनी पटमसबाट झण्डै पूरा एक वर्षसम्म निरन्तररूपमा सुसमाचार घोषण गरे र त्यस समयका भ्रष्‍टताहरू र पापहरूलाई हप्काए ।MBAJ 173.2

    तर लुथरलाई केवल तिनका शत्रुहरूका क्रोधबाट जोगाउनु मात्र थिएन, नता यस महत्‍वपूर्ण परिश्रमहरूको लागि शान्त घडी प्रदान गर्नु नै थियो जबकि परमेश्‍‍वरले उहाँको दासलाई सार्वजनिक जीवनको अवस्थाबाट हटाउनु भएको थियो । यीभन्दा पनि बहुमूल्य परिणामहरू त्यहाँ हासिल गर्नुपर्ने थिए । तिनका पहाड़को शरणस्थानको एकान्त र गुप्‍तमा लुथरलाई सांसारिक सहयोगहरू र मानवीय प्रशंसाबाट बञ्‍चित गराइएको थियो । यसरी प्राय सफलताद्वारा हासिल हुने घमण्ड र आत्मनिर्भरताबाट तिनी जोगिए । कष्‍ट र अपमानद्वारा चरमसीमामा पनि सुरक्षितसाथ हिँड्‍न तिनी फेरि तयार भए जहाँ तिनी अचानक उचालिएका थिए ।MBAJ 173.3

    जब मानिसहरू सत्यताले ल्याएको स्‍वतन्‍‍त्रतामा आनन्दित हुन्छन्, तब परमेश्‍‍वरले तिनीहरूलाई भ्रष्‍टता र अन्धविश्‍‍वासका सिक्रीहरू तोड्‍न प्रयोग गरिएका मानिसरूप्रति तिनीहरू गौरव गर्न चाहन्छन् । शैतानले मानिसहरूका सोच-विचारहरू र स्‍नेहहरू परमेश्‍‍वरबाट हटाउने प्रयास गर्दछ र तिनीहरूलाई मानवीय माध्यमतिर केन्द्रित गराउने प्रयत्‍न गर्दछ; त्यसले तिनीहरूलाई केवल माध्यमलाई आदर गर्न लगाउँछ र सम्पूर्ण कृपाका घटनाहरू अगुवाइ गर्ने हातलाई चाहिँ बेवास्ता गर्न लगाउँछ । प्रायः जसो यसरी प्रशंसा र श्रद्धा पाउने धार्मिक अगुवाहरू परमेश्‍‍वरमा भरोसा राख्‍न छोड्‍छन् र तिनीहरू आफैमा भरोसा गर्न थाल्छन् । जसको परिणाम स्‍वरूप तिनीहरू मानिसहरूको दिमाग र विवेक नियन्‍‍त्रण गर्ने प्रयास गर्छन्, जुन मानिसहरूमा परमेश्‍‍वरको वचनलाई हेर्नुका सट्टामा अगुवा स्‍वरूप तिनीहरूलाई नै हेर्ने बानी परेको छ । सुधारको कार्य प्रायः ढीलो बनाइएको छ किनभने त्यसका समर्थकहरूले यस्तै विचार र धारणा व्यक्त गरेका छन् । यस्तो जोखिमबाट पनि परमेश्‍‍वरले सुधार-कार्यलाई बचाउनुहुनेथियो । त्यस कार्यले मानिसको छाप होइन तर परमेश्‍‍वरको छाप धारण गरेको होस् भन्‍ने उहाँले इच्छा गर्नुभयो । मानिसका आँखाहरू लुथरप्रति सत्यताको प्रवक्ताको रूपमा केन्द्रित भए; सम्पूर्ण नजर सत्यताको अनन्त लेखकतर्फ केन्द्रित होऊन् भनी तिनी हटाइएका थिए ।MBAJ 174.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents