यूहन्ना २१:१-२२ मा आधारित ।
येशूले उहाँका चेलाहरूलाई गालीलमा भेट्ने प्रतिज्ञा गर्नुभएको थियो; र निस्तार चाडको हप्ता सकिनासाथ तिनीहरू गालीलतर्फ लागे । निस्तार-चाडको समयमा यरुशलेममा अनुपस्थित हुनुको अर्थ असन्तोष तथा अधर्मको रूपमा व्याख्या गर्न सकिने थियो, तसर्थ तिनीहरू चाड नसकिएसम्म यरुशलेममै रहे; तर चाड सकिना साथ तिनीहरू मुक्तिदाताको आदेशमुताविक सहर्ष उहाँलाई भेट्न घर फर्के । PAP 201.1
त्यस झुण्डमा सातजना चेलाहरू थिए । तिनीहरूले साधारण माझी बस्त्र धारण गरेका थिए; तिनीहरू संसारिक धनसम्पत्तिको मामलामा गरीब थिए, तर सत्यताको ज्ञान तथा व्यवहारमा तिनीहरू सम्पन्न थिए, जुन स्वर्गको दृष्टिमा गुरुहरूका हैसियतले सर्वोच्च स्थान थियो । तिनीहरू अगमवक्ताहरूका विद्यालयमा विद्यार्थी बनेका थिएनन्, तर तिनीहरूले तीन वर्षसम्म संसारको सर्वोच्च गुरुद्वारा शिक्षा पाएका थिए । उहाँको शिक्षाद्वारा तिनीहरू उच्च, बुद्धिमान्, तथा सभ्य कार्यकर्ता बन्नपुगेका थिए जसमार्फत मानिसहरूलाई सत्यताको ज्ञानतर्फ डोऱ्याउन सकियोस् । PAP 201.2
ख्रीष्टले आफ्ना सेवाकाइको अधिकांश भाग गालील-समुद्र वरिपरिका इलाकाहरूमा बिताउनुभएको थियो । जब चेलाहरू कसैले बिथोल्न नसक्ने स्थानमा भेला भए तब तिनीहरूलाई येशू तथा उहाँका महान् कार्यहरूका बारेमा याद दिलाउने मानिसहरूले घेरे । यही तालमा जब तिनीहरूका मन त्रासले भरिपूर्ण बन्नपुगेको थियो, तथा जब भीषण आँधीले तिनीहरूलाई विनाश पार्न लागिरहेको थियो तब येशू तिनीहरूका रक्षार्थ तुफानी तालमा हिंड्नुभएको थियो । यही तालमा उहाँको वचनद्वारा तुफान शान्त हुनपुगेको थियो । नजिकै त्यो किनार पनि देखिन्थ्यो जहाँ करिब दश हजार मानिसहरूलाई रोटी तथा माछाद्वारा भोक तृप्त पारिएको थियो । नजिकै कपर्नहूम देखिन्थ्यो जुन कैयौं आश्चर्य कामहरूका थलो थियो । जब चेलाहरूले ती दृश्यहरू देखे तब तिनीहरूका मन आफ्ना मुक्तिदाताको वचन तथा कार्यहरूद्वारा भरिनपुगे । PAP 201.3
त्यो साँझ रमाइलो प्रकारको थियो, र पत्रुसमा अझपनि डुङ्गाप्रति तथा माछा मार्ने कार्यप्रति पुरानै सोख भएको कारण तालमा गई माछा मार्न जाल फ्याँक्ने प्रस्ताव राख्यो । सबैले यस योजनाप्रति सहमति जनाए; तिनीहरूलाई भोजन तथा बस्त्रको खाँचो थियो र यदि रातभरि माछा मार्ने कार्य सफल भएको खण्डमा तिनीहरूले ती खाँचोहरू जुटाउनु सक्नेथिए । तसर्थ तिनीहरू आ-आफ्ना डुङ्गामा माछा मार्न गए तर तिनीहरूले केही माछा पक्रन सकेनन् । तिनीहरूले व्यर्थै पूरा रातभर परिश्रम गरे । थकानले ग्रस्त रातभर तिनीहरूले आफ्ना अनुपस्थित परमप्रभुको बारेमा बातचीत गरे र त्यस गालील-समुद्र वरिपरि उहाँले आफ्नो सेवाकाइको समयमा गर्नुभएका अद्भुत घटनाहरूका बारेमा स्मरण गरे । तिनीहरूले स्वयम् आफ्नै भविष्यको बारेमा प्रश्न गरे र आ-आफ्ना आशाप्रति खिन्न बन्नपुगे । PAP 202.1
यस अवधिभर येशूले तिनीहरूतर्फ नजर लगाइरहनुभयो जबकि उहाँ तिनीहरूका अदृश्य हुनुहुन्थ्यो । लामो समय पश्चात बिहानीपखको समय आयो । डुङ्गा समुद्रको किनारमै थियो, र एक अपरिचित व्यक्ति समुद्रको किनारमा खडा थियो जसले तिनीहरूलाई यसरी प्रश्न गऱ्यो, “बालक हो, तिमीहरूसँग केही माछा छ ?” जब तिनीहरूले “छैन” भनी जवाफ दिए तब “उहाँले तिनीहरूलाई भन्नुभयो, जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ । तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्न सकेनन् ।” PAP 202.2
यूहन्नाले अपरिचित व्यक्तिलाई चिने, अनि पत्रुसलाई यसरी बताए, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ ।” पत्रुस यति दङ्गदास तथा प्रसन्न बने कि आफ्नो उत्सुकतामा उनी पानीमा लम्पसार परे अनि केही समयपछि उनी आफ्नो गुरुको सामु खडा थिए । अन्य चेलाहरू माछाले भरिएको जालका साथ आ-आफ्ना डुङ्गामा आए । “तब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुंग्रोमा माछा राखिएका र रोटी देखे ।” PAP 203.1
तिनीहरू आगो तथा भोजन कहाँदेखि आयो भनी अति आश्चर्यचकित भए । “येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ ।” पत्रुस जालतर्फ हतारिंदै गयो र आफ्ना मित्रहरूलाई सो जाल किनारसम्म तान्न मद्दत गऱ्यो । सबै काम सकिएपछि तथा सारा भोजन तयार हुनासाथ येशूले चेलाहरूलाई भोजनका निम्ति बोलाउनुभयो । उहाँले रोटी भाँच्नुभयो, तिनीहरूलाई सो रोटी बाँड्नुभयो र ती सात चेलाहरूले सो भोजन स्वीकार गरे । डाँडामा पाँच हजार मानिसहरूलाई खुवाइएको आश्चर्य कामको दृश्य तिनीहरूका मनमा उत्पन्न भए; तर तिनीहरूमा एक रहस्यमयी भय छाएको थियो, र तिनीहरूले निःशब्दताका साथ बौरिउठ्नु भएको मुक्तिदातातर्फ हेरे । PAP 203.2
जब समुद्रको छेउमा येशूले उहाँलाई पछ्याउनका निम्ति चेलाहरूलाई आज्ञा दिनुभएको थियो त्यस दृश्यलाई पनि तिनीहरूले प्रष्टसाथ याद गरे । जब उहाँको आज्ञामुताविक तिनीहरूले गहिरो पानीमा जाल फालेका थिए तब तिनीहरूले जालै च्यातिने गरी प्रचुरमात्रामा माछा पक्रेको घटनालाई पनि तिनीहरूले याद गरे । तब येशूले तिनीहरूलाई आफ्ना डुङ्गा त्याग्ने आव्हान गर्नुभयो र तिनीहरूलाई मानिसहरूका माझी बनाउने प्रतिज्ञा गर्नुभयो । तिनीहरूका मनमा यही दृश्य जगाउन, तथा यसको छापलाई गहिरो तुल्याउनका निम्ति उहाँले पुनः आश्चर्य काम गर्नुभएको थियो । उहाँको सो कार्यले चेलाहरूलाई दिइएको अधिकारलाई नवीकरण गरेको थियो । यसले तिनीहरूलाई यो कुरा प्रकट गऱ्यो कि तिनीहरूका गुरुको मृत्युले उहाँद्वारा तिनीहरूलाई सुम्पिएको उत्तरदायित्वलाई घटाएको थिएन । यद्यपि तिनीहरू उहाँको व्यक्तिगत संगतदेखि तथा आफ्ना आयमूलक पेशादेखि बञ्चित हुनेछन् तर बौरिउठ्नु भएको मुक्तिदाताले अझै पनि तिनीहरूलाई हेरचाह गर्नुहुनेछ । जब तिनीहरू उहाँको कार्यमा संलग्न भइरहनेछन् तब उहाँले तिनीहरूका खाँचोहरूलाई पूरा गरिरहनुहुनेछ । येशूले तिनीहरूलाई डुङ्गाको दायाँतर्फ जाल हान्न आदेश दिनुमा पनि उहाँको एक उद्देश्य थियो । उहाँ त्यही दायाँतर्फ किनारमा खडा हुनुहुन्थ्यो । त्यो विश्वासको स्थान थियो । यदि तिनीहरूले उहाँको साथमा परिश्रम गरेको खण्डमा मानव प्रयास ईश्वरीय शक्तिसित सम्मिलित भई तिनीहरू सफलतादेखि चुक्ने छैनन् । PAP 204.1
ख्रीष्टले विशेषगरी पत्रुसलाई पाठ सिकाउन चाहनुभएको थियो । पत्रुसले लाजमर्दो तवरले आफ्नो परमप्रभु प्रतिको आफ्नो भक्तिलाई इन्कार गरेको थियो । उसले ख्रीष्टको अनादर गरी आफ्ना सह-चेलाहरूका बीचमा अविश्वासको वातावरण उत्पन्न गरेको थियो । पत्रुसले चेलाहरूका बीचमा आफ्नो साबिकको स्थान हासिल गर्न सक्नैछैन भनी तिनीहरूले बिचार लिएका थिए, र स्वयम् पत्रुस आफैले आफ्नो भरोसालाई गुमाएको रूपमा महसुस गऱ्यो । आफ्नो चेलापनको कार्य सम्हाल्न बोलाइनु अघि उसले ती सबै चेलाहरूका सामु पश्चात्तापको प्रमाण दिनुपर्नेछ । यसो नगरिएको खण्डमा पापस्वीकार गरिएता पनि यसले ख्रीष्टको चेलाको रूपमा उसको प्रभावलाई नष्ट पार्न सक्नेथियो । मुक्तिदाताले पत्रुसलाई आफ्ना मित्रहरूका विश्वासलाई पुनः जित्नका निम्ति अवसर प्रदान गर्नुभयो, ताकि उसले सु-समाचारमाथि जुन कलङ्क ल्याएको थियो त्यसलाई यथाशक्य हटाउन सकिनेछ । PAP 205.1
ख्रीष्टका सबै चेलाहरूका निम्ति यहाँ एक पाठ दिइएको छ । सु-समाचारले पापसित कुनै सम्झौता गर्दैन । यसले पापलाई कुनै छुट दिंदैन । गोप्य पापलाई परमेश्वको सामु गोप्य रूपमै स्वीकार गरिनु गरिनुपर्नेछ; तर खुला पापलाई चाहिँ खुलारूपमै स्वीकार गरिनु आवश्यक छ । चेलाहरूका पापको दोष ख्रीष्टमाथि खन्याइयो । यसले शैतानलाई विजय हासिल गराउँदछ तथा डगमगाउने मानिसहरूलाई ठेस पुऱ्याउने गर्दछ । पत्रुसको पश्चात्तापको प्रमाण दिँदै आफ्नो सामर्थ्यले भ्याएसम्म यस दोषलाई हटाउनुपर्ने थियो । PAP 205.2
जब ख्रीष्ट उहाँका चेलाहरूका साथ समद्रको किनारमा भोजन सेवन गर्दैहुनुहुन्थ्यो तब आफ्ना सहकर्मीहरूलाई औंल्याउँदै मुक्तिदाताले पत्रुसलाई यसो भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ ?” पत्रुसले एकपटक यसरी घोषणा गरेको थियो, “तपाईको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैन ।” मत्ती २६:३३ । तर उसले स्वयम् आफ्नै बारेमा अझ साँचो रूपमा मुल्याङ्कन गऱ्यो । उसले भन्यो, “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई माया गर्छु ।” उसको प्रेम अन्य सहकर्मीहरूका प्रेमभन्दा महान् छ भन्ने त्यहाँ कुनै प्रचण्ड आश्वासन थिएन । उसले आफ्नो अवस्थाको बारेमा कुनै राय व्यक्त गरेन । ख्रीष्ट, जसले मनका सबै आशयहरूलाई पढ्न सक्नुहुन्छ, उहाँको सामु पत्रुस आफ्नो ईमानदारीतालाई यसरी जाँच्न आव्हान गर्दछन्, “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई माया गर्छु ।” येशू पत्रुसलाई यसरी आज्ञा गर्नुहुन्छ, “मेरा पाठाहरूलाई खुवाऊ ।” PAP 206.1
येशूले उहाँको पहिलो प्रश्नलाई दोहोऱ्याउँदै पत्रुुसको यसरी जाँच लिनुभयो: “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ ?” यसपटक उहाँले पत्रुसलाई यो कुरा सोध्नुभएन कि उसले उहाँलाई आफ्ना सहकर्मीहरूलाई भन्दा बढी प्रेम गर्छ वा गर्दैन । दोश्रो जवाफ पनि पहिलो जवाफझैं फजूल आश्वासनरहित थियो: “ज्यू प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई माया गर्छु ।” येशूले पत्रुसलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाहा गर ।” मुत्तिदाताले पुनः परीक्षायुक्त प्रश्न गर्नुभयो: “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ ?” पत्रुस दुःखित भए; किनकि येशूले उसको प्रेममाथि शंका गर्दैहुनुहुन्छ भनी पत्रुसले बिचार लिएको थियो । उसको परमप्रभुले आफूमाथि यसरी विश्वास नगर्नुमा त्यहाँ कारण छ भनी उसलाई थाहा थियो, र भरी हृदयका साथ उसले जवाफ दियो, “प्रभु, तपाईं सब कुरा जान्नुहुन्छ । म तपाईंलाई माया गर्दछु भनी तपाईंलाई थाहा छ ।” येशूले पुनः जवाफ दिनुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।” PAP 206.2
पत्रुसले तीनपटक खुलारूपमा आफ्नो परमप्रभुलाई इन्कार गरेका थिए, र ख्रीष्टले उसको घाइते हृदयमा घोंच्नेगरी सो धारिलो प्रश्न गर्नुभयो र यसप्रकार तीनपटक पत्रुसदेखि उसको प्रेम तथा भक्तिको आश्वासन प्राप्त गर्नुभयो । येशूले पत्रुसको पश्चात्तापको गहिराई प्रकट गर्नुभयो, र कुनै समयको एक घमण्डी चेला कति पूर्णरूपमा नम्र बन्नपुगेको छ भनी देखाउनुभयो । PAP 207.1
पत्रुस स्वाभवैले निर्धक तथा आवेगशील थियो, र शैतानले पत्रुसलाई पराजित गर्नका निम्ति उसका यिनै चरित्रहरूदेखि लाभ उठाएका थियो । पत्रुसको पतन हुनुभन्दा केही समय अघि येशूले उसलाई यसो भन्नुभयो, “शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडग्मगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ ।” लूका २२:३१, ३२ । त्यो समय अब आइपुगेको थियो, र पत्रुसमा आएको परिवर्तन प्रत्यक्ष झल्किन्थ्यो । परमप्रभुको गुप्त तथा कडारूपमा जाँच्ने प्रश्नहरूले निर्धक तथा आत्मनिर्भर तवरको जवाफको माग गरेको थिएन; र आफ्नो नम्रता तथा पश्चात्तापका कारण पत्रुस पहिलेभन्दा अझ असल रूपमा भेडा गोठालो बन्न तयार भइसकेका थिए । PAP 207.2
पत्रुसलाई सेवाकाइको कार्यमा पुनः फर्काउनुअघि उसलाई ख्रीष्टले दिनुभएको प्रथम कार्य नै भेडाहरूलाई खुवाउनु थियो । यही नै एक यस्तो कार्य थियो जसको पत्रुससँग अति कम अनुभव थियो । यसका लागि अधिक हेरचाह, कोमलता, धैर्यता, तथा परिश्रमको आवश्यकता पर्दछ । यसका लागि उसले विश्वासमा कमजोर मानिसहरूलाई सहायता गर्नुपर्ने, अज्ञानीहरूलाई सिकाउनुपर्ने, तिनीहरूका निम्ति पवित्रशास्त्रबाट पढ्नुपर्ने तथा तिनीहरूलाई ख्रीष्टको सेवाकाइमा उपयोगी तुल्याउनका निम्ति सिकाउनुपर्ने थियो । पत्रुस अहिलेसम्म यो कार्य पूरा गर्न तथा यसको महत्वको बारेमा बुझ्न समेत योग्य थिएन । तर येशूले यही कार्य पूरा गर्नका निम्ति पत्रुसलाई बोलाउनु भएको थियो । स्वयम् पत्रुसकै पीडा तथा पश्चात्तापयुक्त जीवनले आफूलाई यसका कार्यका निम्ति तयार पारेको थियो । PAP 208.1
आफ्नो पतन हुनुअघि पत्रुस सदा आवेगको भरमा बिचारै नपुऱ्याई बोल्ने गर्दथे । स्वयम् आफ्नै बारेमा स्पष्ट बोध हुनुअघि वा आफूले के बोल्नुपर्छ भनी थाहा पाउनुअघि उनी सदा अन्य मानिसहरूलाई सच्याउन तथा आफ्नो बिचार व्यक्त गर्न तत्पर रहने गर्दथे । तर परिवर्तित पत्रुस पूर्ण रूपमा बेग्लै थियो । उसले साबिककै जोशलाई कायम । राख्यो तर ख्रीष्टको अनुग्रहले उसको उत्साहलाई नियन्त्रित गरेको थियो । यस उप्रान्त पत्रुस उग्र, आत्मविश्वासले भरिपूर्ण, तथा अात्मविभोर थिएन, तर यसको सट्टा शान्त, अव्यग्र तथा शिक्षणीय बन्नपुग्यो । यस उप्रान्त उसले पाठाहरूलाई (अर्थात् नयाँ विश्वासीहरूलाई) मात्र नभई ख्रीष्टको बगालको भेडालाई (अर्थात मण्डलीका पुराना विश्वासीहरूलाई) सिकाउन सक्नेथियो । PAP 208.2
मुक्तिदाताले पत्रुससँग जुन रूपमा व्यवहार गर्नुभयो त्यसमा उसका साथसाथै उसका सहकर्मीहरूका निम्ति पनि सिक्नुपर्ने एक पाठ थियो । यसले तिनीहरूलाई पापीहरूसँग धैर्यता, करुणा, तथा क्षमाशील प्रेमका साथ व्यवहार गर्न सिकायो । पत्रुसले आफ्नो परमप्रभुलाई इन्कार गरेता पनि उसको निम्ति जुन प्रेम येशूमा थियो सो प्रेममा कदापि कमी आएन । जुन गोठालालाई भेडा सुम्पिएको छ उसले आफ्ना भेडाहरू प्रति यस्तै प्रकारको प्रेमको महसुस गर्नुपर्नेछ । आफ्नो बथान प्रति त्यही कोमलता दर्शाउनु पर्ने थियो जसरी ख्रीष्टले पनि उनीप्रति यस्तै कोमलता दर्शाउनुभएको थियो । PAP 209.1
ख्रीष्टले पत्रुसलाई जुन प्रश्न सोध्नुभएको सो अति महत्वपूर्ण प्रश्न थियो । उहाँले चेलापन तथा सेवाकाइको केवल एकमात्र शर्तको बारेमा वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, “के तिमी मलाई प्रेम गर्दछौ ?” यो एक महत्वपूर्ण योग्यता हो । पत्रुससँग अन्य सबै योग्यता भएता पनि ख्रीष्टप्रति प्रेम नभएको खण्डमा ऊ परमप्रभुको बथानका लागि एक विश्वासयोग्य गोठाला बन्न सक्नेथिएन । ज्ञान, परोपकारिता, वाक्पटुका कृतज्ञता, तथा जोश जस्ता सबै कुराहरू असल कार्यका निम्ति सहायक हुन्; तर यदि हृदयमा येशूको प्रेम छैन भने इसाई प्रचारकको कार्य एक असफलता सावित हुनेछ । PAP 209.2
येशू पत्रुसको साथ एक्लै हिंड्नुभयो, किनकि उहाँसँग एक यस्तो कुरा थियो जुन कुरा उहाँ केवल पत्रुसलाई मात्र बताउन चाहनुहुन्थ्यो । उहाँको मृत्युअघि येशूले पत्रुसलाई यसो भन्नुभयो, “म जहाँ गइरहेछु, तिमी अहिले मलाई पछ्याउन सक्दैनौ, तर पछि त तिमीले मलाई पछ्याउनेछौ ।” यस प्रति पत्रुसको जवाफ यसप्रकार थियो, “प्रभु, म किन अहिले नै तपाईंलाई पछ्याउन सक्दिन ? तपाईंको निम्ति म आफ्नो प्राण दिनेछु ।” यूहन्ना १३:३६, ३७ । जब उनले यसरी बोले तब ख्रीष्टको कदम कुन उँचाइ तथा गहिराइसम्म पुग्नेछ भनी उनले कल्पना समेत गरेका थिएनन् । जब परीक्षा आइपऱ्यो तब पत्रुस असफल भयो, तर उसले ख्रीष्टप्रतिको आफ्नो प्रेमलाई सुधार्ने अवसर पाउनुपर्ने थियो । पत्रुस आफ्नो विश्वासको अन्तिम परीक्षाको निम्ति मजबुत बन्नपुगोस् भनी मुक्तिदाताले उसको भविष्य खोल्नुभयो । उहाँले पत्रुसलाई बताउनुभयो कि जब उसले एक उपयोगी जीवन बिताइसकेको हुनेछ र जब वृद्धापनका कारण उसको शक्ति घटेर जानेछ तब पनि उसले आफ्नो परमप्रभुलाई साँचो रूपमा पछ्याउनेछ । येशूले भन्नुभयो, “जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका कस्थ्यौ, र जहाँ इच्छा हुन्थ्यो जान्थ्यौ । तर जब तिमी बुढा हुनेछौ, तब तिमीले आफ्ना हात पसार्नेर्छौ, र अरूले तिम्रो पटुका बाँधिदिनेछ, र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ । कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको संकेत गर्दै उहाँले यो भन्नुभएको थियो ।” PAP 209.3
यसप्रकार येशूले पत्रुसलाई उनको मृत्युको प्रकारको बारेमा समेत जानकारी दिलाउनुभयो; उहाँले उसलाई क्रूसमा टाँगिने कुराको बारेमा समेत भविष्यवाणी गर्नुभयो । उहाँले पुनः पत्रुुसलाई “मेरो पछि लाग” भनी आज्ञा दिनुभयो । पत्रुस यस प्रकाशनद्वारा निरुत्साहित बन्नपुगेका थिएनन् । उनी आफ्नो परमप्रभुको खातिर जुन प्रकारको मृत्यु पनि सहन तयार थिए । PAP 210.1
यस बिन्दुसम्म पत्रुसले ख्रीष्टलाई भौतिक तवरमा मात्र चिनेका थिए जसरी अहिले पनि कैयौं मानिसहरूले उहाँलाई यही रूपमा चिन्ने गर्दछन्; तर यस उप्रान्त पत्रुुस यसैमा सीमित रहनुपर्ने थिएन । पत्रुसले ख्रीष्टको मानव स्वभावमा उहाँको बारेमा त्यति धेरै कुरा सिक्नसकेको थिएन जति बढी मात्रमा अहिले उसले सिक्न सक्यो । विगतमा उसले ख्रीष्टलाई एक व्यक्तिको रूपमा, स्वर्गबाट पठाइएको गुरुको रूपमा प्रेम गरेको थियो; तर यस उप्रान्त उसले उहाँलाई परमेश्वरको रूपमा प्रेम गऱ्यो । ख्रीष्ट नै सबै थोक हुनुहुन्छ भन्ने कुरा उसले क्रमशः सिक्दै आइरहेको थियो । अब ऊ आफ्नो परमप्रभुको बलिदानको जीवनको उद्देश्य बाँड्न तयार थियो । जब अन्त्यमा पत्रुुुसलाई क्रूसमा टाँगिनका निम्ति ल्याइयो तब स्वयम् उनकै अनुरोध मुताविक उनलाई उल्टो गरी क्रूसमा टाँगिएको थियो । पत्रुसले स्वयम् आफैलाई आफ्नो गुरुले भोग्नुभएकै कष्ट भोग्न योग्यको ठानेन । PAP 211.1
पत्रुसका लागि “मेरो पछि लाग” भन्ने शब्दहरू पूर्णरूपमा शिक्षाप्रद थिए । केवल पत्रुसको मृत्युको बारेमा मात्र नभई उनको जीवनको हरेक पाइलाको निम्ति पाठ दिइएको थियो । यस बिन्दुसम्म पत्रुसले स्वतन्त्र रूपमा कार्य गर्ने गर्दथ्यो । उसले परमेश्वरको योजनालाई पछ्याउने प्रतिक्षा गर्नुको सट्टा परमेश्वरको कार्यको लागि स्वयम् आफै योजना बनाउने कोशिस गर्दथ्यो । तर परमप्रभुभन्दा अघि जाने हतार गर्ने क्रममा उसले केही पनि सफलता हासिल गर्न सकेन । येशू भन्नुहुन्छ, “मेरो पछि लाग,” “मेरो अघि नजाउ” । “तब तिमीले एक्लै शैतानको सामना गर्नुपर्ने छैन । मलाई तिम्रो अघि जान देऊ, तब तिमी शैतानद्वारा पराजित हुनेछैनौ ।” PAP 211.2
जब पत्रुस येशूको पछि लागे तब यूहन्नाले पनि येशूलाई पछ्याइरहेको उनले देखे । पत्रुसमा यूहन्नाको भविष्यको बारेमा जान्ने इच्छा जाग्यो र उसले येशूलाई यसो भन्यो, “प्रभु, यिनको चाहिँ के हुने ? येशूले पत्रुसलाई भन्नुभयो, म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के ? तिमी मेरो पछि लाग ।” जुन कुरा उसले जान्नु सर्वोत्तम छ सो कुरा परमप्रभुले उसलाई प्रकट गर्नुहुने थियो भनी पत्रुुसले बिचार गर्नु पर्ने थियो । अरूहरूलाई सुम्पिएको कार्यप्रति अनावश्य रूपमा फिक्री नलिई ख्रीष्टलाई पछ्याउनु नै हामी सबैको कर्तव्य हो । यूहन्नालाई “म नआएसम्म तिनी पर्खिरहुन् भन्ने मेरो इच्छा भएपनि तिमीलाई के ?” भनी जब येशूले बताउनुभयो तब उहाँले यूहन्ना परमप्रभुको दोश्रो आगमनसम्म जीवित रहनेछन् भनी आश्वासन दिनुभएन । उहाँले आफ्नो सर्वोच्च शक्तिको बारेमा किटानसाथ भन्नुभयो, र यदि उहाँले यस्तै हुनजाओस् भनी चाहनु भएको भएता पनि यसले पत्रसुको कार्यलाई कुनै रूपमा पनि प्रभावित तुल्याउने थिएन । यूहन्ना तथा पत्रुस दुबैको भविष्य आफ्ना परमप्रभुको हातमा थियो । उहाँलाई पछ्याउँदै उहाँको आज्ञा पालन गर्नु नै तिनीहरू दुबैले गर्नु पर्ने कार्य थियो । PAP 211.3
आज कैयौं मानिसहरू पत्रुसजस्तै छन् ! तिनीहरू अन्य मानिसहरूका मामलाप्रति चाख लिने गर्दछन्, तथा तिनीहरूका कर्तव्यहरूका बारेमा जान्न व्याकुल रहने गर्दछन्, जबकि तिनीहरू स्वयम् आफ्नै कर्तव्यहरूलाई बेवास्ता गर्ने खतरामा परेका हुन सक्छन् । ख्रीष्टतर्फ हेर्दै उहाँलाई पछ्याउनु नै हाम्रो कर्तव्य हो । हामीले अन्य मानिसहरूका जीवनमा भूल तथा तिनीहरूका चरित्रमा खोटहरू देख्नेछौं । मानवजाति कमजोरीद्वारा घेरिएको छ । तर ख्रीष्टमा हामीले पूर्णता पाउँदछौं । “उहाँलाई हेर्नाले हामी परिवर्तित हुनेछौं ।” PAP 212.1
यूहन्ना बुढेसकालसम्मै बाँचे । उनले यरुशलेमको विनाश देखे साथै भव्य मन्दिरलाई ध्वस्त पारिएको दृश्य पनि देखे,-जुन संसारको अन्तिम विनाशको चिन्ह थियो । यूहन्नाले आफ्नो जीवनको अन्तिम दिनसम्मै आफ्नो परमप्रभुलाई घनिष्ट रूपमा पछ्याए । मण्डलीका निम्ति उनको गवाहीको बोझ यसप्रकार थियो, “प्रिय हो, हामी एउटाले अर्कालाई प्रेम गरौं;” “जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।” १ यूहन्ना ४:७, १६ । PAP 212.2
पत्रुसलाई आफ्नो चेलापनको कार्य पुनः सुम्पिएको थियो, तर उनले जुन सम्मान तथा अधिकार ख्रीष्टदेखि प्राप्त गरेका थिए यसले उनलाई आफ्ना सहकर्मीहरू माथि श्रेष्ठता प्रदान गरेका थिएन । यस कुरालाई ख्रीष्टले पत्रुसको “प्रभु, यिनको चाहिँ के हुने ? भन्ने प्रश्नलाई “तिमीलाई के ? तिमी मेरो पछि लाग” भन्ने जवाफमार्फत स्पष्ट पार्नुभयो । पत्रुसलाई मण्डलीको प्रमुखको रूपमा सम्मान गरिएको थिएन । ख्रीष्टले पत्रुसको विधर्मलाई क्षमा गर्नुभई तथा उसलाई भेडाहरूलाई खुवाउने जिम्मेवारी दिनुभई उसलाई जुन निगाह गर्नुभएको थियो त्यस क्रमले, तथा ख्रीष्टलाई पछ्याउने स्वयम् पत्रुसकै ईमानदारीताले पत्रुसका सहकर्मीहरूका विश्वास जितेको थियो । उनले मण्डलीमा अधिक प्रभाव जित्न सकेका थिए । तर ख्रीष्टले उनलाई गालील-समुद्रको किनारमा जुन पाठ सिकाउनुभएको थियो सो पाठलाई उनले आफ्नो जीवनमा कहिल्यै भुलेनन् । पवित्र आत्माको प्रभावद्वारा मण्डलीका निम्ति उनले यसरी लेखे: “ख्रीष्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म आग्रह गर्दछु । तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाहा गर । करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर । र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ ।” १ पत्रुस ५:१-४ । PAP 213.1