लूका २४:५०-५३; प्रेरित १:९-१२ मा आधारित ।
ख्रीष्ट आफ्नो पिताको सिंहासनको सामु उठाइ लगिनुहुने समय आएको थियो । एक ईश्वरीय विजेताको हैसियतले उहाँ जय चिन्हका साथ स्वर्गमा फर्कने तयारीमा हुनुहुन्थ्यो । येशूले आफ्नो पिताको सामु यसरी घोषणा गर्नुभएको थियो, “जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु ।” यूहन्ना १७:४ । पुनरुत्थान पश्चात उहाँले पृथ्वीमा केही समय बिताउनुभयो ताकि उहाँका चेलाहरू उहाँको बौरिउठेको तथा महिमित शरीरप्रति परिचित हुन सकून । अब उहाँ स्वर्ग जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ नै एक जीवित मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई उहाँले प्रमाणित गर्नुभएको थियो । उहाँका चेलाहरूले यस उप्रान्त उहाँलाई चिहानसित संबद्ध गर्नु आवश्यक पर्ने छैन । तिनीहरूले उहाँलाई स्वर्गीय जगतको महिमित हुनुभएको अस्तित्वको रूपमा लिन सक्नेथिए । PAP 214.1
स्वर्गमा उठाइलगिनका निम्ति येशूले त्यही स्थान रोज्नुभयो जहाँ बारम्बार जाने गर्नुहुन्थ्यो । सियोन पर्वत, दाऊदको शहर, मोरीयाह डाँडा तथा मन्दिरको परिसरले समेत यसरी सम्मान प्राप्त गर्नेवाला थिएनन् । त्यहाँ ख्रीष्टलाई उपहास तथा बहिष्कार गरिएको थियो । त्यहाँ करुणा तथा प्रेमका लहरहरू मानिसको चट्टान तुल्य कठोर हृदयमा ठोक्किएर पुनः फर्किएका थिए । त्यहाँ येशू थकित तथा भग्नहृदयका साथ जैतूनको डाँडामा विश्राम पाउन जानुभएको थियो । प्रथम मन्दिरदेखि स्थानान्तरण भएपश्चात पवित्र शिकैना पूर्वको डाँडामा खडा हुनुपुगेको थियो, मानौं चुनिएको शहर त्याग्न अनिच्छुक हुनभएझैं ख्रीष्ट यरुशलेमको दृश्य देखिने जैतून डाँडामाथि तृष्णाको भावनाका साथ उभिनुभयो । त्यहाँ वरिपरिका डाँडामा भएका बगैंचा तथा कन्दराहरू उहाँको प्रार्थना तथा आँसुद्वारा पवित्र बन्नपुगेका थिए । यसका भीडहरूले उहाँलाई राजाको रूपमा घोषणा गर्ने विजयोत्सवको आवाजलाई प्रतिध्वनी गरेका थिए । यसको ओरालोमा उहाँले बेथानीमा लाजरसको घर भेट्टाउनुभएको थियो । गेतसमनीको बगैंचामा उहाँले एक्लै प्रार्थना गर्नुभएको तथा कष्ट भोग्नुभएको थियो । यही डाँडाबाट उहाँ स्वर्गमा उठाइलगिनु पर्ने थियो । उहाँ जैतुनको डाँडामा एक वेदनाले भरिएको मानिसको रूपमा होइन तर एक महिहित तथा विजयी राजाको रूपमा उभिनुहुनेछ, र जब हिब्रूहरूका हल्लेलुयाह अन्यजातिका होसन्नासित मिसिनेछ तब उद्धार पाएका अथाह जनहरूले “उहाँलाई सारा जगतको परमप्रभुको रूपमा मुकुट पहिराऔं” भनी घोषणा गर्नेछन् । PAP 214.2
येशू सात चेलाहरूका साथमा डाँडातर्फ लाग्नुभयो । जब तिनीहरू यरुशलेमको मूल ढोका हुँदै अगाडी बढे तब कैयौं उदेक मान्दै गरेका मानिसहरूले चेलाहरूका त्यस सानो समूहतर्फ जनर लगाए जुन समूहलाई येशूले नै अगुवाइ गर्नुभएको थियो जसलाई केही हप्ताअघि मात्र शासकहरूले दोषी ठहराएका तथा क्रूसमा टाँगेका थिए । चेलाहरूले यही नै आफ्ना गुरुसँगको अन्तिम अन्तर्वाता हुनेछ भनी थाहा थिएन । येशूले उहाँका साबिकका शिक्षाहरूलाई दोहोऱ्याउँदै तिनीहरूसित वार्तालाप गर्दै समय बिताउनुभयो । जब तिनीहरू गेतसमनीमा पुगे जब उहाँ अडिनुभयो, ताकि तिनीहरूले उहाँको महा वेदनाको रातमा उहाँले तिनीहरूलाई दिनुभएका पाठहरूलाई स्मरण गर्न सकून् । उहाँले पुनः दाखको बोटतर्फ हेर्नुभयो जसमार्फत उहाँले उहाँको मण्डलीलाई स्वयम् उहाँ आफै तथा उहाँको पितासँग एक हुनपुगेको रूपमा उदाहरण दिनुभएको थियो; उहाँले त्यतिखेर खोल्नुभएको पाठलाई अहिले पुनः दोहोऱ्याउनुभयो । उहाँ वरिपरि सर्वत्र उहाँको अप्रतिफलित प्रेमको बारेमा याद दिलाउने कुराहरू मौजूद थिए । उहाँका प्रिय चेलाहरूले समेत उहाँको अपमानको घडीमा उहाँलाई तिरस्कार गरेका तथा त्यागेका थिए । PAP 215.1
ख्रीष्टले यस संसारमा तेत्तीस वर्षको समय बिताउनुभएको थियो; उहाँले यस संसारको गाली, अपमान, तथा गिल्ला सहनुभएको थियो; उहाँलाई इन्कार गरिएको थियो र अन्त्यमा क्रूसमा टाँगिएको थियो । जब उहाँ आफ्नो महिमाको सिंहासनमा जाने तयारीमा हुनुहुन्थ्यो-जुन मानिसहरूलाई बचाउन उहाँ आउनुभयो तिनीहरूका अकृतज्ञताको बारेमा जब उहाँ पुनरावलोकन गर्नुहुन्छ,-के उहाँले तिनीहरूदेखि उहाँको करुणा तथा प्रेमलाई हटाउनुहुनेछैन त ? जहाँ परमेश्वरको प्रशंसा गरिन्छ, जहाँ पापरहित स्वर्गदूतहरूले उहाँको आज्ञा पालन गर्ने प्रतिक्षा गर्दछन् के उहाँको प्रेम त्यस जगतमा केन्द्रित हुनेछैन त ? अहँ, यसो हुनेछैन; यस संसारमा भएका जुन मानिसहरूलाई उहाँ अत्यधिक प्रेम गर्नुहुन्छ तिनीहरूका निम्ति उहाँको प्रतिज्ञा यसप्रकार छ, “म युगको अन्त्यसम्म सधैं तिमीहरूका साथमा छु ।” मत्ती २८:२० । PAP 216.1
जैतूनको डाँडामा पुग्नुभए पछि येशूले बेथानीको आसपास, डाँडाको शिखरसम्म चेलाहरूलाई अगुवाइ गर्नुभयो । त्यस स्थानमा उहाँ अडिनुभयो, र चेलाहरू उहाँको सामु भेला भए । जब उहाँले तिनीहरूतर्फ प्रेमिलो रूपमा हेर्नुभयो तब उहाँको मुहारदेखि ज्योति चम्किएको भान हुन्थ्यो । उहाँले तिनीहरूका भूल तथा असफलताका निम्ति तिनीहरूलाई हप्काउनुभएन; परमप्रभुको ओंठदेखि अन्तिम पटक अति कोमल वचनहरू तिनीहरूका कानमा परे । आशिषका साथ फैलिएका हात तथा उहाँको रक्षा गर्ने आश्वासनका साथ उहाँ तिनीहरूदेखि स्वर्गतर्फ माथि एक यस्तो शक्तिका साथ उचालिनुभयो जुन यस संसारको शक्तिभन्दा मजबुत थियो । जब उहाँ माथि उचालिनु भयो तब भयत्रस्त चेलाहरूले माथि उचालिँदै गर्नुएको आफ्ना परमप्रभुलाई अन्तिम पटक आँखा तन्काउँदै हेरे । उहाँलाई महिमाको बादलले तिनीहरूका दृष्टिदेखि लुकायो; र जब स्वर्गदूतहरूका गणले बादलमा उहाँलाई स्वागत गरे तब चेलाहरूका निम्ति यो वाणी आयो, “हेर, म युगको अन्त्यसम्म सधैं तिमीहरूका साथमा छु ।” त्यसैबेला ती चेलाहरूले मीठास तथा आनन्दले भरिपूर्ण स्वर्गदूत गणहरूका संगित सुने । PAP 216.2
जब चेलाहरू अझै माथितिर हेर्दैथिए तब तिनीहरूले मीठो संगिततुल्य आवाजद्वारा तिनीहरूलाई सम्बोधन गरिएको सुने । जब तिनीहरूले फर्किएर हेरे तब तिनीहरूले मानव रूपमा उपस्थित दुई स्वर्गदूतहरूलाई देखे जसले तिनीहरूलाई यसो भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यही येशू, जो तिमीहरूबाट स्वर्गका लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।” PAP 217.1
ती स्वर्गदूतहरू येशूलाई स्वर्गसम्मै साथ दिने स्वर्गदूत गणहरूमै सामेल थिए । स्वर्गदूत गणका सबैभन्दा उच्च पदस्थ ती स्वर्गदूहरू नै ख्रीष्टको पुनरुत्थानको समयमा चिहानमा आएका थिए, र तिनीहरू उहाँ यस संसारमा रहनुहुँदा उहाँकै साथमा रहेका थिए । पापको सरापद्वारा नष्ट हुनपुगेको यस संसारमा उहाँको प्रतिक्षा गर्ने क्रमको चाँडै नै अन्त्य होस् भनी सारा स्वर्गले उत्सुक इच्छाका साथ प्रतिक्षा गरिरहेको थियो । अब स्वर्गीय जगतले आफ्नो राजा ग्रहण गर्ने समय आइपुगेको थियो । के ती दुई स्वर्गदूतहरूले येशूलाई स्वागत गर्ने अन्य स्वर्गदूतहरूका साथ सामेल हुने इच्छा गरेनन् होला त ? तर येशूले उहाँका चेलाहरूलाई जुन करुणा तथा प्रेमका साथ छोड्नुभएको थियो ती दुई स्वर्गदूतहरूले तिनीहरूलाई सोही शान्त्वना दिने प्रतिक्षा गरे । “के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन् ?” हिब्रू १:१४ । PAP 217.2
ख्रीष्ट मानव रूपमा स्वर्गमा उठाइलगिनु भएको थियो । चेलाहरूले उहाँलाई बादलले घेरेको दृश्य देखेका थिए । जुन येशू तिनीहरूसित हिंड्नुभएको, बोल्नुभएको, तथा प्रार्थना गर्नुभएको थियो; जसले तिनीहरूसित रोटी भाँच्नुभएको थियो; जो गालील-समुद्रमा तिनीहरूकै साथ डुङ्गामा हुनुहुन्थ्यो; र जो त्यही दिन तिनीहरूकै साथ जैतून डाँडामा उकालो लाग्नुभएको थियो, त्यही येशू अब आफ्नो पिताको सिंहासन ओगट्न जानुभएको थियो । जुन येशूलाई चेलाहरूले स्वर्गमा जानुभएका देखेका थिए त्यही येशू पुनः फर्किएर आउनुहुनेछ भनी स्वर्गदूतहरूले तिनीहरूलाई आश्वासन दिलाएका थिए । उहाँ “बादलहरूका साथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ ।” “प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुहरीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरू चाहिँ पहिले बौरिउठ्नेछन् ।” “जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ ।” प्रकाश १:७; १ थेसलोनिकी ४:१६; मत्ती २५:३१ । चेलाहरूका निम्ति परमप्रभुको प्रतिज्ञा यसप्रकार पूरा हुनेछ “अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ ।” यूहन्ना १४:३ । चेलाहरूले आफ्ना परमप्रभुको आगमनप्रति आनन्द मनाउन सक्नेछन् । PAP 218.1
जब चेलाहरू यरुशलेमतर्फ फर्किए तब मानिसहरूले तिनीहरूलाई आश्चर्यपूर्वक हेरे । ख्रीष्टको पुर्पक्षपश्चात तथा उहाँलाई क्रूसमा टाँगिए पछि चेलाहरू निदाउरो तथा लज्जित हुनेछन् भनी मानिसहरूले बिचार लिएका थिए । चेलाहरूका ती शत्रुहरूले उनीहरूका अनुहारमा शोक तथा हारको अभिव्यक्ति देख्ने आशा राखेका थिए । तर यसको सट्टा तिनीहरूका अनुहारमा प्रसन्नता तथा विजय झल्किन्थ्यो । तिनीहरूका अनुहार एक यस्तो आनन्दका साथ चम्किरहेको थियो जुन चमक यस संसारबाट उत्पन्न भएको थिएन । तिनीहरूले निराश बन्दै शोक व्यक्त गरेनन्, तर तिनीहरू परमेश्वरप्रति प्रशंसा तथा धन्यवाद व्यक्त गर्दै थिए । प्रशंसाका साथ तिनीहरूले ख्रीष्टको पुनरुत्थानको बारेमा तथा उहाँ स्वर्गमा उठाइलगिनु भएको बारेमा अद्भुत कथा बताए, र धेरैले तिनीहरूका गवाहीलाई ग्रहण गरे । PAP 219.1
चेलाहरूले भविष्यको बारेमा कुनै प्रकारको शंका व्यक्त गरेनन् । येशू स्वर्गमा हुनुहुन्छ तथा उहाँको सहानुभूति अझ पनि तिनीहरूका साथमा छ भन्ने तिनीहरूलाई थाहा थियो । परमेश्वरको सिंहासनमा तिनीहरूका एक मित्र हुनुहुन्छ, र तिनीहरू येशूको नाउँमा पिता कहाँ आ-आफ्ना बिन्ति प्रस्तुत गर्न उत्सुक थिए भन्ने कुरा तिनीहरूलाई थाहा थियो । गम्भीर भयका साथ तिनीहरूले शिर झुकाउँदै यस आश्वासनलाई दोहोऱ्याउँदै प्रार्थना गरे, “तिनीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ । अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग, अनि तिमीहरूले पाउनेछौ । यसरी तिमीहरूको आनन्द पूर्ण होओस् ।” यूहन्ना १६:२३, २४ । तिनीहरूले यस तर्कका साथ आफ्ना विश्वासको हातलाई झन्-झन् माथि उचाले, “मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ ।” रोमी ८:३४ । ख्रीष्टले प्रतिज्ञा गर्नुभएअनुसार पेन्तिकोसले पवित्र आत्माको उपस्थितिमा तिनीहरूमा पूर्ण आनन्द ल्यायो । PAP 219.2
सारा स्वर्ग नै मुक्तिदातालाई स्वर्गको आँगनमा स्वागत गर्न प्रतिक्षारत थियो । तब येशू स्वर्गमा उठाइलगिनु भयो तब उहाँले उहाँको पुनरुत्थानको समयमा बौरिउठाइएका जनहरूका नेतृत्व गर्नुभयो । तब स्वर्गदूतहरूले प्रशंसाको जयध्वनि तथा स्वर्गीय भजनका साथ अानन्दले पूर्ण त्यस भीडलाई साथ दिए । PAP 220.1
जब तिनीहरू परमेश्वरको शहरको सामु पुगे तब साथ दिइरहेका स्वर्गदूतहरूले यसरी चुनौती दिए,- PAP 220.2
“हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरुन् ।” PAP 221.1
प्रशन्नताका साथ प्रतिक्षारत स्वर्गदूतहरूले यसरी भने, “महिमाका राजा को हुनुहुन्छ ?” PAP 221.2
तिनीहरूले यसरी भन्नुको कारण उहाँ को हुनुहुन्छ भनी तिनीहरूले नचिनेका कारण होइन, तर तिनीहरूबाट उँचा प्रशंसा सुन्ने हेतु यसरी स्तुतिगान गरेका थिए,- PAP 221.3
“परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लडाइँमा पराक्रमी हुनुहुन्छ । हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, र प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराज तीबाट प्रवेश गरुन् ।” PAP 221.4
पुनः यो चुनौती सुनियो, “महिमाका यी महाराजचाहिँ को हुनुहुन्छ ?” किनकि स्वर्गदूतहरू उहाँको नाउँलाई उँचारूपमा प्रशंसा गरिएको प्रशंसा गरिएको देख्नमा कदापी थाक्दैनन् । उहाँलाई साथ दिइरहेका स्वर्गदूतहरूले यसरी जवाफ दिए,- PAP 221.5
“सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाका माहाराजा हुनुहुन्छ ।” भजन २४:७-१० । PAP 221.6
तब परमेश्वरको शहरको ढोकाहरू खुल्नपुगे, र स्वर्गदूतहरूका गणले मधुर संगितका साथ वातावरणलाई गुञ्जायमान तुल्याए । PAP 221.7
त्यहाँ सिंहासन देखिने र सो सिंहासन वरिपरि प्रतिज्ञाको इन्द्रेणी थियो । त्यहाँ करुब तथा सराफहरू उपस्थित थिए । स्वर्गदूत गणका अगुवाहरू, तथा अपतित जगतका जनहरू त्यहाँ भेला भएका थिए । जुन स्वर्गीय महासभाको सामु लुसिफरले परमेश्वर तथा उहाँको पुत्रमाथि आरोप लगाएको थियो, र त्यस पापविहीन जगतका जनहरूमाथि शैतानले आफ्नो प्रभुत्व जमाउने बिचार गरेको थियो त्यहाँका सबै जनहरू मुक्तिलदातालाई स्वागत गर्न उपस्थित थिए । तिनीहरू उहाँको विजयप्रति उत्सव मनाउन तथा आफ्ना राजालाई महिमा गर्न उत्सुक थिए । PAP 222.1
तर ख्रीष्ट ती स्वर्गदूतहरू तर्फ हातले इसारा गर्नुहुन्छ । उहाँले अहिले नै महिमाको मुकुट तथा राजकीय बस्त्रलाई ग्रहण गर्न सक्नुहुनेछैन । उहाँ आफ्नो पिताको उपस्थितिमा प्रवेश गर्नुहुन्छ । उहाँ आफ्नो हात, कोखा, तथा गोडा देखाउनुहुन्छ; उहाँ आफ्नो हातमा भएको कीलाको छाप देखाउँदै हात उठाउनुहुन्छ । उहाँ आफ्नो विजयको चिन्हहरूतर्फ औंल्याउनुहुन्छ; उहाँ परमेश्वरको सामु डोलाउने विटा चढाउनुहुन्छ, जो उहाँसँगै बौरिउठाइएका थिए जुन जनहरू त्यस महान् जमातहरूका प्रतिनिधि हुन्, जो उहाँको दोश्रो आगमनमा चिहानदेखि बौरिउठ्नेछन् । उहाँ पिताको सामु जानुहुन्छ जसले पश्चात्ताप गर्ने केवल एक पापीको लागि पनि आनन्द मान्नुहुन्छ । संसारको जग बसालिनु अघि नै यदि मावनजाति शैतानद्वारा पराजित हुनपुगेको खण्डमा मानिसलाई उद्धार गर्ने करारमा परमेश्वर पिता तथा पुत्र एक हुनुभएको थियो । ख्रीष्ट मानवजातिका खातिर धितो बन्नुपर्नेछ भनी परमेश्वर पिता तथा पुत्रले गम्भीर प्रतिज्ञाका साथ हात मिलाउनुभएको थियो । ख्रीष्टले यस प्रतिज्ञालाई पूरा गर्नुभएको थियो । जब उहाँ क्रूसमा “अब सिद्धियो” भनी कराउनुभयो तब उहाँले पितालाई सम्बोधन गर्नुभएको थियो । समझौतालाई पूर्णरूपमा कार्यान्वयन गरिएको थियो । अब उहाँ यसरी घोषणा गर्नुहुन्छ, पिता अब सिद्धियो । हे मेरा परमेश्वर पिता, मैले तपाईंको इच्छा पूरा गरेको छु । मैले उद्धारको कार्य पूरा गरेको छु । यदि तपाईंको इन्साफ तृप्त भएको छ भने “म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून् ।” यूहन्ना १९:३०; १७:२४ । PAP 222.2
इन्साफ तृप्त हुनपुगेको छ भनी घोषणा गरिएको परमेश्वरको वाणी सुनियो । शैतान पराजित हुनपुगेको छ । पृथ्वीमा रहेका ख्रीष्टका परिश्रमी तथा दुःखी जनहरूलाई “प्रिय पुत्रमा” स्वीकार गरिन्छ ।” एफिसी १:६ । स्वर्गदूत तथा अपतित जगतका प्रतिनिधिहरूका सामु तिनीहरूलाई धर्मी ठहराइन्छ । उहाँ जहाँ हुनुहुनेछ त्यहाँ उहाँको मण्डली पनि हुनेछ । “प्रेम र विश्वस्तता आपसमा मिल्छन्, धार्मिकता र शान्तिले एक-अर्कोलाई चुम्बन गर्दछन् ।” भजन ८५:१० । परमेश्वरले पिताले आफ्नो पुत्रलाई उहाँका पवित्र बाहुलीद्वारा अँगाल्नुभयो र यस्तो वाणी दिइएको थियो, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून् ।” हिब्रू १:६ । PAP 223.1
अवर्णनीय आनन्दका साथ शासक, प्रधानता, तथा शक्तिहरू जीवनको राजकुमारको सर्वोच्चतालाई स्वीकार गर्दछन् । स्वर्गदूत गण उहाँको सामु लम्पसार पर्दछन् जबकि स्तुति प्रशंसा सारा स्वर्गमा गुञ्जायमान हुनपुग्दछ, “मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति, सम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ ।” प्रकाश ५:१२ । PAP 223.2
विजयोल्लासका गीतहरू स्वर्गदूतहरूका वीणाको धुनसित मिसिनपुग्दछ, र स्वर्ग आनन्द तथा प्रशंसाद्वारा गुञ्जायमान हुनपुगेको भान हुन्छ । प्रेमले विजय हासिल गरेको छ । हराएका मानवजातिलाई पुनः फेला पारिएको छ । सारा स्वर्ग नै यो उँचा आवाजका साथ गुञ्जायमान हुनपुग्दछ, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा, र सामर्थ्य सदासर्वदा होस् ।” प्रकाश ५:१३ । PAP 224.1
स्वर्गको त्यस आनन्दमयी दृश्यदेखि यस पृथ्वीमा निवास गर्ने मानवजातिका निम्ति स्वयम् ख्रीष्टकै यस्तो अद्भुत वचन आउँदछ, “मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेछु ।” यूहन्ना २०:१७ । स्वर्ग तथा पृथ्वीको परिवार एक बन्नपुगेको छ । हाम्रो परमप्रभु स्वर्गमा उठाइलगिनु भयो, र उहाँ हाम्रै निम्ति जिउनुहुन्छ । “फलस्वरूप उहाँद्वारा परमेश्वरको नजीक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ । किनभने तिनीहरूका मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ ।” हिब्रू ७:२५ । PAP 224.2