Go to full page →

६. के हाम्रा मरेकाहरू हामीसँग बोल्‍न सक्छन् त ? MBA 71

(अंग्रेजी पुस्तक अध्याय ३४ पृष्‍ठ ५५१)

धर्मशास्‍‍त्रमा प्रकट गरेअनुसार पवित्र स्‍वर्गदूतहरूको सेवाकार्यचाहिँ प्रत्येक ख्रीष्‍टका चेलाहरूका लागि एक अति नै सान्त्‍वनादायिक र बहुमूल्य सत्यता हो । तर यस विषयको बाइबलीय शिक्षालाई प्रचलित धर्म शास्‍‍त्रीय झूटहरूद्वारा अस्पष्‍ट र भ्रष्‍ट बनाएका छन् । स्‍वभाविक अमरत्‍वको सिद्धान्त सर्वप्रथम त मूर्तिपूजक दर्शनशास्‍‍त्रबाट ल्याएको थियो, र महान् पतनको अन्धकारमा इसाई विश्‍‍वासमा पनि त्यो प्रवेश गरायो, जसले “मृतकहरूले केही पनि जान्दैनन्” भनी धर्मशास्‍‍त्रमा स्पष्‍ट सिकाएको सत्यताको स्थान लिएको छ । भीडौँ मानिसहरूले यसरी विश्‍‍वास गर्दछन् कि ती मरेका आत्माहरू “मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू” हुन् । अनि जेभएपनि धर्मशास्‍‍त्रमा यही नै स्‍वर्गीय दूतहरूको अस्तित्‍व र मानवजातिको मरणभन्दा पूर्व मानिसको इतिहाससँग तिनीहरूको सम्बन्धको विषयमा गवाही छ । MBA 71.1

मृत्युमा मानिसको चेतना हुन्छ भन्ने शिद्धान्त, विशेष गरी मरेका आत्माहरू जीवितहरूलाई सेवा गर्न आउँछन् भन्ने विश्‍‍वासले आधुनिक भूत आत्मामा विश्‍‍वासका लागि मार्ग तयार गरिरहेछ । यदि मरेकाहरू परमेश्‍‍वर र पवित्र स्‍वर्गदूतहरूका उपस्थितिमा जाने अनुमति पाएको भए, र तिनीहरूसँग पहिलेभन्दा अत्याधिक मात्रामा ज्ञान प्राप्‍त गर्ने सौभाग्य भएको भए, के तिनीहरू पृथ्वीमा जीवितहरूकहाँ ज्योति र शिक्षा दिन फर्कन पर्दैनन् र ? प्रख्यात् धर्मशास्‍‍त्रीहरूको शिक्षाअनुसार, यदि मृतकहरूका आत्माहरू पृथ्वीमा तिनीहरूका साथीहरूमाथि उड़िरहेका छन् भने तिनीहरूको दुष्‍टताको विरूद्ध चेतावनी दिन, अथवा तिनीहरूका कष्‍टमा सान्त्‍वना दिनका लागि वार्तालाप गर्ने अनुमति किन हुँदैन त ? जसले मृतकहरूको चेतनामा विश्‍‍वास गर्दछन् तिनीहरूले महिमित आत्माहरूद्वारा दैवीय ज्योति झैँ प्रदान गरिएको कुरालाई कसरी इन्कार गर्न सक्छ र ? यहाँ एक माध्यम छ जसलाई पवित्र ठान्दछ, जसद्वारा शैतानले उसका उद्देश्‍‍यहरू पूरा गर्ने काम गर्दछ । पतित दूतहरू जसले उसको आदेश पालन गर्दछन् तिनीहरू आत्मा संसारबाट आएका सन्देशवाहकहरूझैँ देखा पर्छन् । जबकि मरेकाहरूलाई जीवितहरूसँग कुराकानी गराउने दाबी गर्दै दुष्‍टको राजकुमारले तिनीहरूको दिमागमा उसको मोहक प्रभाव प्रयोग गर्दछ । MBA 71.2

मानिसहरूका सामु तिनीहरूका बितिगएका साथीहरूको आकृति देखाउने शक्ति ऊसँग छ । नकल पूर्ण हुन्छ; उस्तै रूप, शब्दहरू, स्‍वर अचम्मलाग्दो स्पष्‍टतासाथ प्रतिरूप निकाल्छ । धेरैजनाले यसरी सान्त्‍वना पाएका छन् कि तिनीहरूका प्रियजनहरू स्‍वर्गको आनन्द उपभोग गर्दैछन्, र तिनीहरूले खतराको शंकाविना नै “बहकाउने आत्माहरू र दियाबलसका सिद्धान्तहरूप्रति” कान थाप्छन् । MBA 72.1

जब तिनीहरू यस्तो विश्‍‍वासमा डोऱ्याइएका हुन्छन् कि मृतकहरू वास्तवमा तिनीहरूसँग वार्तालाप गर्न फर्केर आउँछन्, तब शैतानले तयारीविना नै चिहानमा मरेकाहरूका रूपमा देखा पार्दछ । तिनीहरू स्‍वर्गमा खुशी छन् र त्यहाँ उच्‍चस्थान प्राप्‍त गरेका छन् भनी दाबी गर्दछन्, र यसरी झूटो जताततै सिकाएको छ कि धर्मी र दुष्‍टको बीच केही भिन्नता देखाएको छैन । आत्माहरूको संसारबाट आएका पाखण्डी पाहुनाहरूले सावधानी र चेतावनीको उच्‍चारण गर्छन् जुन कहिलकाही सही प्रमाणित हुने गर्दछ । त्यसपछि, जब पूर्ण भरोसा जितिसकेपछि, तिनीहरूले यस्ता सिद्धान्तहरू प्रस्तुत गर्दछन् जसले प्रतक्ष्यरूपमा धर्मशास्‍‍त्रको विश्‍‍वासलाई खोतलिदिन्छ । तिनीहरूका पृथ्वीका साथीहरूको भलाइप्रति गहिरो चाख देखाउँदै सबभन्दा खतराजनक झूटोहरू बिस्तारै प्रवेश गराउँछन् । वास्तवमा तिनीहरूले केही सत्यताहरू पनि व्यक्त गर्दछन्, कुनै समयमा भविष्यका घटनाहरू पूर्ववाणी गर्न सक्षम हुन्छन् र त्यसले गर्दा तिनीहरूका वक्तव्यहरूलाई भरोसायोग्य ठहराउँछ; र तिनीहरूका झूटा शिक्षाहरूलाई भीडौँ मानिसहरूले सजिलै र पूर्णरूपमा विश्‍‍वास गर्छन्, जस्तो कि बाइबलको सबभन्दा पवित्र सत्यताहरू ती नै हुन् । परमेश्‍‍वरको व्यवस्थालाई हटाएका छन्, अनुग्रहको आत्मालाई घृणा गरेका छन्, करारको रगत अपवित्र थोक सरह ठानेका छन् । आत्माहरूले ख्रीष्‍टको दैवीयतालाई इन्कार गर्छन् र सृष्‍टिकर्तालाई पनि तिनीहरूकै स्तरमा राख्‍छन् । जुन लड़ाइँ स्‍वर्गमा सुरु भयो त्यही नै त्यसले लगभग छ हजार वर्षभरि पृथ्वीमा लगातार गरिरहेको थियो, त्यसरी नै महान् विद्रोहकारीले नयाँ भेष धारण गरेर परमेश्‍‍वरको विरूद्ध लड़ाइँ गरिरहन्छ । MBA 72.2

धेरैजनाले आत्मिकी प्रदर्शनहरूलाई पूर्णरूपले जादूगरको छल र हातको खेल हो भन्ने प्रयास गर्दछन् । तर यो कुरा सत्य हो, जबकि चलाकी परिणामहरू वास्तविक प्रदर्शनहरूको रूपमा प्रायः छलद्वारा देखाएको हुन्छ, त्यहाँ दैवीय शक्तिको प्रतक्ष्य प्रदर्शनहरू पनि भएको हुन्छ । आधुनिक भूत आत्माको विश्‍‍वासले सुरु गरेको रहस्यमय ठकठक आवाजचाहिँ मानविक चतुऱ्याइँ वा छलको परिणाम होइन, तर त्यो त दुष्‍ट आत्माहरूको प्रतक्ष्य काम हो, जसले यसरी आत्मा नष्‍टकारीको एक सबभन्दा सफलताजनक झूट प्रवेश गरायो । भूत आत्माको विश्‍‍वासचाहिँ केवल मानविक कपट हो भन्ने विश्‍‍वासद्वारा धेरैजना पासोमा पर्नेछन्; तिनीहरूले अलौकिक नै ठान्नुपर्ने प्रदर्शनहरू आमनेसामने देखिनेछन्, यसरी तिनीहरू भ्रममा पर्नेछन्, र परमेश्‍‍वरको महान् शक्तिको रूपमा स्‍वीकार गराइनेछ । MBA 73.1

यी मानिसहरूले शैतान र उसका सहायकहरूले गरेका अचम्मलाग्दा कामहरूको विषयमा धर्मशास्‍‍त्रको वचनमा ध्यान दिँदैनन् । शैतानको शक्तिद्वारा नै फारोका जादूगरीहरूले परमेश्‍‍वरको कामको नकल गर्न सक्षम भएका थिए । पावल यसरी गवाही दिन्छन् कि ख्रीष्‍टको दोस्रो आगमनअघि शैतानिक शक्तिका उस्तै प्रदर्शनहरू हुनेछन् । परमप्रभुको आगमन अगाड़ि “शैतानको कार्यअनुसार सबै सामर्थ्य, चिन्हहरू र झूटा चमत्कारहरू ... हुन्छ र नष्‍ट हुनेहरूको मध्यमा अधर्मका सबै प्रकारका धोकेबाजी ... हुन्छ ।” २ थेसलोनिकी २:९, १० (KJV) । अनि प्रेरित यूहन्नाले अन्तका दिनहरूमा प्रदर्शन हुने अचम्मलाग्दो काम गर्ने शक्तिको विषयमा वर्णन गर्दै घोषणा गर्दछ: “मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गऱ्यो । ... जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा उसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो ।” प्रकाश १३:१३, १४ । यहाँ केवल छलहरू मात्र पूर्ववाणी गरिएको छैन । मानिसहरू अचम्मलाग्दा कामहरूद्वारा बहकिएका छन् जसमा शैतानका समर्थकहरूको त्यसो गर्ने शक्ति छ, र तिनीहरूले अभिनय गरेका होइनन् । MBA 73.2

अन्धकारको राजकुमार, जसले धेरै लामो समयदेखि उसको श्रेष्‍ठ बुद्धिको शक्तिलाई छलको काममा लागानी गरेको छ, त्यसले सम्पूर्ण दर्जा र अवस्थाका मानिसहरूलाई उसका परीक्षाहरू सीपपूर्ण साथ अनुकूल बनाउँछ । उसले शिक्षित र सदाचारी मानिसहरूप्रति भूत आत्माको विश्‍‍वासलाई त्यसको अझै स्‍वच्छता र विवेकशील पक्षहरू प्रकट गर्दछ, र यसरी धेरै जनालाई उसको पासोमा पार्न सफल हुन्छ । भूत आत्माको विश्‍‍वासले दिने बुद्धिलाई प्रेरित याकूबले यसरी वर्णन गरेको छ, जुन “स्‍वर्गबाट आएको होइन । तर यो त संसारिक, अनात्मिक र शैतानिक हो ।” याकूब ३:१५ । जे भएपनि, यदि मुख्य ठगाहाको उद्देश्‍‍य पूरा गर्न ऊ गुप्‍त रहन नै उपयुक्त हुनेछ भने ऊ त्यस्तै हुन्छ । जो ख्रीष्‍टको सामु स्‍वर्गीय सराफको उज्‍ज्‍वलताको भेष धारण गरेर उजाड़स्थानको परीक्षामा देखा पर्न सक्थ्यो, त्यही व्यक्ति मानिसहरूकहाँ सबभन्दा आकर्षित तरिकाले ज्योतिमय स्‍वर्गदूतको भेष धारण गरेर आउँछ । उसले बुद्धिलाई उच्‍च पार्ने विषयवस्तुद्वारा अव्हान गर्दछ; उसले लालायित दृश्‍‍यहरूका साथ कल्पनाशक्तिलाई खुशी पार्दछ; र उसले प्रेम र ममताको भाषणकलाका सम्बोधनद्वारा मनोभावहरूलाई हर्षित पार्दछ । उसले कल्पनालाई अति उच्‍च स्थानमा उड्‍न उत्तेजित पार्दछ, त्यसरी मानिसहरू तिनीहरूको आफ्‍नै बुद्धिमा अति घमण्डी हुन्छन् जसद्वारा तिनीहरूका हृदयहरूले अनन्त जनलाई घृणा गर्दछन् । त्यो शक्तिशाली प्राणी जसले संसारको मुक्तिदातालाई एक अत्याधिक अग्‍लो पहाड़मा लगेर उहाँको सामु सम्पूर्ण पृथ्वीका राज्यहरू र त्यसका महिमा ल्याउन सक्थ्यो भने, त्यसरी नै जो दैवीय शक्तिद्वारा सुरक्षित छैनन् ती सब मानिसहरूका ज्ञानेन्द्रियहरूलाई बिगार्न त्यसले परीक्षाहरू ल्याउनेछ । MBA 73.3

जसरी शैतानले हव्‍वालाई अदनमा झूटो प्रशंसा, निषेधिक ज्ञान प्राप्‍त गर्ने इच्छा जगाउने, र आत्म-उच्‍चताको चाहना जागृत पार्नेद्वारा बहकाएको थियो अहिले पनि त्यसले मानिसहरूलाई त्यसरी नै बहकाउँछ । यी दुष्‍टताहरूका माया नै उसको पतनको कारण बनेको थियो, र तीद्वारा नै त्यसले मानिसहरूको विनाशको लक्षित गरेको छ । उसले घोषणा गऱ्यो, “असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍‍वरजस्तै हुनेछौ ।” उत्पत्ति ३:५ । भूत आत्माको विश्‍‍वासले सिकाउँछ “कि मानिसचाहिँ विकसित प्राणी हो; उसको जन्मदेखि अनन्ततासम्म परमेश्‍‍वरतर्फ बढ्‍दै जाने त्यसको भाग्य हो ।” अनि फेरि: “प्रत्येक दिमागले आफैलाई न्याय गर्नेछ तर अरूलाई चाहिँ होइन ।” “न्याय सही नै हुनेछ किनकि यो आफ्‍नै न्याय हो । ... सिंहासन तिमीभित्रै छ ।” एक भूत आत्मामा विश्‍‍वासको शिक्षकले भन्यो, जब उसभित्र “आत्मिक चेतना” आयो: “हे मेरा संगी मानिसहरू हो, त्यहाँ सबै अपतित नरदेवहरू थिए ।” अनि अर्कोले घोषणा गर्छ: “कोही प्राणी न्यायी र पूर्ण छ भने ऊ नै ख्रीष्‍ट हो ।” MBA 74.1

यसरी आराधनाको वास्तविक उद्देश्‍‍य अनन्त परमेश्‍‍वरको धार्मिकता र पूर्णताको स्थानमा; उहाँको व्यवस्थाको पूर्ण धार्मिकता जुन मानव प्राप्‍ति सत्य स्तर हो, त्यसको स्थानमा शैतानले पापपूर्ण र मानिसको गलतपूर्ण स्‍वभावलाई नै आराधनाको एक वस्तु, न्यायको एक मात्र नियम वा चरित्रको स्तर स्‍वरूप फेरिदियो । यो विकास त उकालो होइन तर ओरालो मात्र हो । MBA 74.2

यो एउटा यस्तो व्यवस्था हो, विवेकशील र आत्मिक दुवै स्‍वभावलाई हेर्नेद्वारा हामी परिवर्तन हुन्छौं । जुन विषयहरूमा दिमागले सोचिरहन्छ, बिस्तारै त्यसको रूपमा आफै परिवर्तन हुन्छ । त्यसले जुन वस्तुलाई प्रेम र श्रद्धा गर्ने आदत् गरेको छ त्यो पनि उस्तै हुन्छ । मानिस उसको शुद्धता वा भक्ति अर्थात् सत्यताको स्तरभन्दा उच्‍च कहिले पनि उठ्‌न सक्दैन । यदि आफै नै उसको सबभन्दा उच्‍च स्तर हो भने ऊ त्योभन्दा माथि कहिले पनि पुग्‍नेछैन । बरु ऊ लगातार तल-तल खस्दैजानेछ । परमेश्‍‍वरको अनुग्रहमा मात्र मानिसलाई उच्‍च पार्ने शक्ति छ । आफै छोड़ियो भने उसको मार्ग निरन्तररूपमा ओरालो जान्छ । MBA 75.1

भूत आत्माको विश्‍‍वासले भद्र र विवेकशीललाई भन्दा स्‍वार्थ-भोगी, सुख-प्रेमी र भोगविलासीलाई कम धूर्ततायुक्त छल प्रस्तुत गर्दछ; तिनीहरूले त्यसका सबभन्दा असभ्य प्रकारहरू नै आफ्‍ना चाहनानुकुल पाउँछन् । शैतानले मानविक स्‍वभावको प्रत्येक सम्भावनात्मक कमजोरीपन अध्ययन गर्दछ, उसले ती पापहरू टिप्पणी गर्दछ जहाँ प्रत्येक व्यक्ति सजिलो फस्‍न सक्छ, र त्यसपछि त्यसले ध्यान दिन्छ कि दुष्‍टताको चाहना सन्तुष्‍ट पार्ने अवसरहरूको अभाव हुनेछैन । उसले मानिसहरूलाई उचित थोकको अधिकतामा परीक्षा ल्याउँछ, र असंयमताद्वारा तिनीहरूको शारीरिक, मानसिक र नैतिक शक्तिलाई कमजोर पार्दछ । उसले हजारौँलाई भोगविलासको अभिलाषाद्वारा नष्‍ट पाऱ्यो र नष्‍ट पारिरहेछ, यसरी मानिसको समस्त स्‍वभावलाई निर्दयी तुल्याएको छ । अनि उसले आफ्‍नो काम पूरा गर्नका लागि आत्माद्वारा घोषणा गर्दछ कि “सत्य ज्ञानले मानिसलाई सम्पूर्ण व्यवस्थाभन्दा पनि उच्‍च तुल्याउँदछ;” कि “जति पनि थोक छ, सबै ठीक छ;” जसमा “परमेश्‍‍वरले दोष दिनुहुन्न;” र जुन “पापहरू गरिएका छन् सो सबै निर्दोषमा गरिएका छन् ।” जब मानिसहरूलाई इच्छा नै सबभन्दा उच्‍च व्यवस्था हो जसमा स्‍वाधीनता अनुमति प्राप्‍त हुन्छ, र मानिसको जिम्मेवारी आफ्‍नै मात्र हो भनी विश्‍‍वास दिलाउँछ, तब चारैतर्फ फैलिएको भ्रष्‍टता र दुष्‍टता कसले सोच्‍न सक्छ ? भीडौँले उत्सुकतासाथ यी शिक्षाहरू स्‍वीकार गर्छन् जसले तिनीहरूका शारीरिक हृदयको प्रोत्साहन पालन गर्न स्‍वतन्‍‍त्रता दिन्छ । आत्म-नियन्‍‍त्रणका लगामहरू अभिलाषाका घाँटीमा राखिएका छन्, दिमाग र प्राणका शक्तिहरू शारीरिक इच्छाहरूको अधीनमा राखेका छन्, र जसले ख्रीष्‍टको चेला हुँ भनी दाबी गर्दछ त्यस्ता हजारौँ मानिसहरूलाई शैतानले उसको जालमा हर्षसाथ थुपार्दछ । MBA 75.2

तर भूत आत्माको विश्‍‍वासको झूटो दाबीद्वारा कोही पनि भ्रममा पर्नु आवश्‍‍यक छैन । परमेश्‍‍वरले संसारलाई पर्याप्‍त ज्योति प्रदान गर्नुभएको छ ताकि तिनीहरूले पासो पत्ता लगाउन सकोस् । अगाड़िको प्रस्तुति अनुसार, भूत आत्माको विश्‍‍वासको त्यही जग स्थापना गर्ने सिद्धान्तले नै धर्मशास्‍‍त्रको स्पष्‍ट भनाइहरूसँग लड़ाइँ गरेको छ । बाइबल घोषणा गर्दछ कि मृतकहरूले केही पनि जान्दैनन्, तिनीहरूका विचारहरू नष्‍ट भएका हुन्छन्; सूर्यमुनि गरिएको कुनै पनि काममा तिनीहरूको केही भाग हुँदैन; तिनीहरूले पृथ्वीमा रहेका प्रिय जनहरूको कष्‍ट र आनन्द थाहा पाउँदैनन् । MBA 75.3

अझै भन्ने हो भने, परमेश्‍‍वरले मरेकाहरूका आत्माहरूसँग देखावटी कुराकानीलाई बिलकुलै निषेध गर्नुभएको छ । हिब्रूहरूको समयमा पनि वर्तमानका भूत आत्मामा विश्‍‍वास गर्नेहरूजस्तै एक वर्गका मानिसहरू थिए जसले मरेकाहरूसँग कुराकानी गर्ने दाबी गर्दथे । तर ती अरू संसारहरूबाट आएका पाहुनाहरूको रूपमा आउने “मिलनसार आत्माहरू,” भनिने आत्माहरूलाई बाइबलले “दियाबलसका आत्माहरू” हुन् भनी घोषणा गरेको छ । (गन्ती २५:१-३; भजनसंग्रह १०६:२८; १ कोरिन्थी १०:२०; प्रकाश १६:१४ तुलना गर्नुहोस्) मिलनसार आत्माहरूसँग गरिने कार्य-व्यवहारचाहिँ परमप्रभुको दृष्‍टिमा घृणित थोक हो भनी घोषणा गरेको छ, र त्यो मृत्युको सजायमा गम्भीरतासाथ निषेध गरिएको थियो । लेवी १९:३१; २०:२७ । त्यही मन्‍‍त्रतन्‍‍त्र भनिने नाम अहिले घृणित ठानिएको छ । मानिसहरूले दुष्‍ट आत्माहरूसँग सम्बन्ध राख्‍न सकिन्छ भन्ने दाबीलाई अन्धकारका युगहरूका एक दन्त्यकथा स्‍वरूप मानिन्छ । तर भूत आत्माको विश्‍‍वासमा त्यसका समर्थकहरूका गन्ती लाखौँ-लाख र साँच्‍चै अरबौं सङ्ख्यामा हुन्छ जुन वैज्ञानिक चक्रमा प्रवेश भएको छ, चर्चहरूमा प्रवेश भएको छ, र जसलाई व्यवस्थापक दलहरूले स्‍वीकार गरेका छन्, र त्यति मात्र नभएर, राजाहरूका दरबारहरूमा पनि स्‍वीकार्य भएको छ-यो ठूलो छलचाहिँ नयाँ आकारको एक जागृति मात्र हो जुन मन्‍‍त्रतन्‍‍त्र प्राचीन समयमा निषेध भएको थियो । MBA 76.1

यदि भूत आत्माको विश्‍‍वासको अन्य कुनै वास्तविक चरित्रको प्रमाण नभएको भए पनि इसाईहरूलाई यति नै पर्याप्‍त हुनुपर्छ कि आत्माहरूको दृष्‍टिमा धार्मिकता र पाप, र ख्रीष्‍टका सबभन्दा भद्र र शुद्ध प्रेरितहरू र शैतानका सबभन्दा भ्रष्‍ट सेवकहरू बीचमा कुनै भिन्नता हुँदैन । सबभन्दा नीच चरित्र भएका मानिसहरू स्‍वर्गमा अझै उच्‍च स्थान हासिल गर्दछ भनी वर्णन गर्दै शैतानले संसारलाई भन्छ: “तिमीहरू जति नै दुष्‍ट भए पनि केही छैन; तिमीहरूले परमेश्‍‍वर र बाइबलमाथि विश्‍‍वास गर्छौ कि गर्दैनौ भन्ने कुरामा केही अर्थ छैन । तिम्रो इच्छाअनुसार जीवन बिताओ; स्‍वर्ग तिम्रै घर त हो नि ।” वास्तवमा भूत आत्मामा विश्‍‍वास गर्ने शिक्षकहरू घोषणा गर्छन्: “‘दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असलै छन्, र उहाँ उनीहरूदेखि खुशी नै हुनुहुन्छ,’ अथवा ‘न्याय गर्ने परमेश्‍‍वर कहाँ हुनुहुन्छ ?’” मलाकी २:१७ । परमेश्‍‍वरको वचनले भन्छ: “धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन् ।” यशैया ५:२० । MBA 76.2

यी झूटा आत्माहरू प्रेरितहरूका स्‍वरूपमा आएका छन् र तिनीहरू पृथ्वीमा हुँदाखेरि पवित्र आत्माको प्रेरणाद्वारा लेखेका कुराहरूका खण्डन गरेका छन् । तिनीहरूले बाइबलको दैवीय स्रोतलाई इन्कार गर्छन्, र यसरी तिनीहरूले इसाईको जगको आशा भत्काइदिन्छन् र स्‍वर्गको मार्ग प्रकट गर्ने ज्योति निभाइदिन्छन् । शैतानले संसारलाई यस्तो विश्‍‍वास दिलाइरहेको छ कि बाइबल एक उपन्यास मात्र हो, वा यो त जातिहरूको सुरुवातमा मात्र उपयुक्त थियो, तर अहिले त यसलाई वास्ता नगरे पनि हुन्छ वा अप्रचलित स्‍वरूप हटाएपनि हुन्छ । अनि परमेश्‍‍वरको वचनको सट्टामा उसले आत्मिकी प्रदर्शनहरू प्रस्तुत गर्दछ । यहाँ एउटा माध्यम छ जुन पूर्णरूपमा उसकै नियन्‍‍त्रणमा छ; यस माध्यमद्वारा संसारलाई उसको इच्छाअनुसार विश्‍‍वास गराउन सक्छ । जुन पुस्तकले ऊ साथै उसका चेलाहरूको न्याय गर्दछ त्यसलाई उसले राख्‍न चाहने छायाँमा पार्दछ; उसले संसारको मुक्तिदातालाई साधारण मानिस झैँ प्रकट गर्दछ । अनि जब रोमी सिपाहीहरूले येशूको चिहानलाई पहरा गरेका थिए त्यति बेला पनि झूटो खबर फैलियो जुन पूजाहारीहरू र अगुवाहरूले उहाँको पुनरुत्थान निरर्थक ठहराउन तिनीहरूलाई सिकाएका थिए, त्यसरी नै आत्मिक प्रदर्शनहरूका विश्‍‍वासीहरूले देखाउने प्रयास गर्छन् कि हाम्रा मुक्तिदाताको जीवनका अवस्थाहरूमा त्यति आश्‍चर्यचकित कार्य भएको थिएन । यसरी येशूलाई पछाड़ि पार्ने प्रयासपछि तिनीहरूले आफ्‍ना ती अचम्मलाग्दा कामहरूतर्फ ध्यानाकर्षण गर्छन्, तिनीहरूले ख्रीष्‍टको काम पनि योभन्दा अधिक उदेकको थिएन भनी घोषणा गर्छन् । MBA 77.1

यो सत्य हो कि अहिले भूत आत्माको विश्‍‍वासले त्यसको आकार परिवर्तन गर्दैछ र त्यसका केही शंकाजनक विशेषताहरूलाई पर्दाले ढाकेर इसाई भेष धारण गरेको छ । तर त्यसका मञ्‍च र छापाखानाका वक्तव्यहरू धेरै वर्षसम्म जनताहरूका सामुन्ने छन्, र यसमा नै त्यसको वास्तविक चरित्र स्पष्‍ट प्रकट भएको छ । यी शिक्षाहरू इन्कार गरिन वा लुकाइन सक्दैन । MBA 77.2

त्यसको वर्तमान ढाँचामा पहिलेभन्दा अझै सहनशीलताको योग्य हुनुभन्दा पनि झन त्यो वास्तव मै खतरनाक भएको छ किनकि त्यो त झन चतुर र छली हुँदै गएको छ । त्यसले पहिले ख्रीष्‍ट र बाइबललाई इन्कार गरेतापनि अहिलेचाहिँ दुवैलाई स्‍वीकार गर्ने बहाना गर्दछ । तर बाइबलचाहिँ अपरिवर्तित हृदयलाई खुशी पार्ने तरीकाले वर्णन गरेको छ, जबकि त्यसका गम्भीर र अत्यावश्‍‍यकीय सत्यताहरूलाई निरर्थक ठहराउँछ । परमेश्‍‍वरको प्रमुख चरित्रको रूपमा प्रेमको विषयमा बहस गर्दछ, तर यसलाई असल र खराबको बीचमा थोरै भिन्नतासाथ एक बेकामको भावुकतामा भ्रष्‍ट पारेको छ । परमेश्‍‍वरको न्याय, उहाँको पापका घृणाहरू, उहाँको पवित्र व्यवस्थाका आवश्‍‍यकताहरू सबै नजरदेखि बाहिर राखेको छ । मानिसहरूलाई दश आज्ञा एक मृत चिट्ठी सरह मान्यता दिन सिकाएको छ । रमणीय र मोहकउपन्यासले ज्ञानेन्द्रियहरूलाई आकर्षित पार्दछ र मानिसहरूलाई तिनीहरूका विश्‍‍वासको जगको रूपमा बाइबल अस्‍वीकार गराउँदछ । ख्रीष्‍टलाई वास्तवमा पहिला झैँ इन्कार गरिएको छ; तर शैतानले मानिसहरूका आँखा यति अन्धो पारेको छ कि यो छल चिन्नै सक्दैनन् । MBA 77.3

त्यहाँ थोरै मात्र छन् जसले भूत आत्माको विश्‍‍वासको छलपूर्ण शक्ति र त्यसको प्रभावमा आउने खतराका समझ पाएका छन् । धेरैजनाले तिनीहरूका जिज्ञासा सन्तुष्‍ट पार्नका लागि मात्र हात हाल्छन् । तिनीहरूले त्यसमा वास्तविक विश्‍‍वास गर्दैनन् र आत्माहरूले तिनीहरूलाई नियन्‍‍त्रण गर्ने विचारमा भयभीत हुनेथिए । तर तिनीहरू निषेधिक क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दछन्, र शक्तिशाली विनाशकारीले तिनीहरूका इच्छा विरूद्ध उसको शक्ति प्रयोग गर्दछ । तिनीहरू एकपल्ट उसको निर्देशनतर्फ तिनीहरूका दिमागहरू सुम्पन लालायित भएपछि उसले तिनीहरूलाई कैदी बनाउँदछ । तिनीहरूको आफ्‍नै शक्तिद्वारा मोहक मन्‍‍त्र तोड्‍न असम्भव छ । तर परमेश्‍‍वरको शक्ति शिवाय कुनै पनि थोकले यी कैदीहरूलाई मुक्त पार्न सक्दैन, जुन विश्‍‍वासको लगातार प्रार्थनाको उत्तर स्‍वरूप प्रदान गरिएको हुन्छ । MBA 78.1

जोजो पापपूर्ण चरित्रगुणका भोगी छन् अथवा ज्ञात पापलाई स्‍वेच्छासाथ लुकाउँछन् तिनीहरू सबैले शैतानको परीक्षा आमन्‍त्रित गरेका हुन्छन् । तिनीहरू आफैले परमेश्‍‍वर र उहाँका स्‍वर्गदूतहरूका हेरचाहबाट छुट्‌याउँछन्; जब दुष्‍टले उसको छलहरू प्रकट गर्दछ तब तिनीहरू सुरक्षाहीन हुन्छन् र सजिलै उसको शिकार बन्छन् । जसले यसरी आफैलाई उसको शक्तिमा राख्दछन् तिनीहरूले आफ्‍नो मार्गको गन्तव्य त्यति जानेका हुँदैनन् । परीक्षाकर्ताले तिनीहरूलाई पराजय गरेर पनि तिनीहरूलाई अरूको विनाशका निम्ति बहकाउने साधनको रूपमा प्रयोग गर्नेछ । MBA 78.2

यशैया अगमवक्ता भन्दछन्: “जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍‍त्रमन्‍‍त्र गर्ने धामीझाक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍‍वरकहाँ गएर सोध्‍नुपर्दैन र ? जीवितहरूको विषयमा मरेकाहरूलाई किन सोध्‍ने ? व्यवस्था र गवाहीकहाँ जाओ ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन ।” यशैया ८:१९, २० । यदि मानिसहरूले मानिसको स्‍वभाव र मृतकहरूको अवस्थाको विषयमा धर्मशास्‍‍त्रका स्पष्‍ट लिखित सत्यता स्‍वीकार गर्न तयार भएको भए तिनीहरूले भूत आत्माका प्रदर्शनहरू र दाबीहरूमा शैतानको काम गर्ने शक्तिसाथै चिन्हहरू र झूटा अचम्मलाग्दा कामहरू देख्‍ने थिए । तर शारीरिक हृदयानुकुल स्‍वाधीनतालाई छोड्‍नु र तिनीहरूका मायालु पापहरूलाई इन्कार गर्नुभन्दा त बरु भीडौँले ज्योतिप्रति तिनीहरूका आँखा बन्द गर्छन् र चेतावनीहरूका बेवास्ता गरी सीधा अघि बढ्‍छन्, जबकि शैतानले तिनीहरूको वरिपरी जाल बुन्दछ, र तिनीहरू उसका आहारा बन्छन् । “किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्‍न इन्कार गरे । यसैकारण तिनीहरूले झूटा कुरामा विश्‍‍वास गरून् भनेर परमेश्‍‍वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ ।” २ थेसलोनिकी २:१०, ११ । MBA 78.3

जसले भूत आत्माको विश्‍‍वासका शिक्षाहरूलाई विरोध गर्दछन् तिनीहरूले मानिसहरूलाई मात्र होइनन्, तर शैतान र त्यसका दूतहरूलाई पनि आक्रमण गरिरहेका छन् । तिनीहरूको प्रभुत्‍वहरू, शक्तिहरू र उच्‍च स्थानमा भएका दुष्‍ट आत्माहरूको विरूद्ध लड़ाइँमा प्रवेश गरेका छन् । स्‍वर्गीय दूतहरूको शक्तिद्वारा धपाएन भने शैतान एक औँला पनि डेग छोड्‍नेछैन । जसरी मुक्तिदाताले गर्नुभयो त्यसरी नै परमेश्‍‍वरका जनहरूले पनि वचनद्वारा उसको सामना गर्नुपर्छ: “यस्तो लेखिएको छ ।” शैतानले ख्रीष्‍टको दिनमा झैँ अहिले पनि धर्मशास्‍‍त्र उद्धृत गर्न सक्छ, र उसले आफ्‍ना छलहरू कायम राख्‍नका लागि त्यसका शिक्षाहरू उल्टो पार्नेछ । जो यस जोखिमका समयमा खड़ा रहनुपर्नेछ तिनीहरूले आफ्‍नै निम्ति धर्मशास्‍‍त्रको गवाही बुझ्‍नुपर्छ । MBA 79.1

दियाबलसका आत्माहरू तिनीहरूका प्रिय नातेदारहरू वा साथीहरूको स्‍वरूपमा सबभन्दा खतरा झूटा शिक्षाहरू सिकाउँदै धेरैजनाकहाँ आउनेछन् । यी आगन्तुकहरूले हाम्रा सबभन्दा कोमल हृदय स्पर्शी कुराहरू गर्नेछन् र तिनीहरूका पाखण्डीपनहरू समर्थन गर्न अचम्मलाग्दा कामहरू गर्नेछन् । हामी तिनीहरूको विरोधमा उभिन बाइबलका सत्यताहरूसहित तयारी हुनुपर्दछ कि मृतकहरूले केही पनि जान्दैनन् र जो यसरी आउँछन् तिनीहरूचाहिँ दुष्‍ट आत्माहरूका आत्माहरू हुन् । MBA 79.2

“परीक्षाको घड़ी” हाम्रो सामुन्ने छ “जुनचाहिँ पृथ्वीमा बस्‍नेहरूलाई जाँच्‍नाका निम्ति सारा संसारमाथि आउनेछ ।” प्रकाश ३:१० । जसको विश्‍‍वास परमेश्‍‍वरको वचनमा दृढतासाथ बसालिएको छैन तिनीहरू भ्रममा पर्नेछन् र पराजय हुनेछन् । शैतानले मानिसहरूका सन्तानलाई नियन्‍‍त्रण गर्न “अधर्मका सबै प्रकारका धोकाबाजीका साथमा” काम गर्दछ, र त्यसका छलहरू लगातार वृद्धि हुनेछन् । तर जब मानिसहरू आफ्‍नै स्‍वेच्छाले परीक्षाहरूमा पर्छन् त्यसपछि मात्र शैतानको लक्ष्य पूरा हुन सक्छ । जो ईमान्दारसाथ सत्यताको ज्ञान खोजिरहेका छन् र आज्ञाकारिताद्वारा तिनीहरूका आत्मा शुद्ध पार्न संघर्ष गरिरहेका छन्, यसरी तिनीहरूको सामर्थ्यअनुसार संघर्षका लागि तयार गरे भने तिनीहरूले सत्यताको परमेश्‍‍वरमा निश्‍चय नै सुरक्षा पाउनेछन् । “तिमीले धैर्यको मेरो वचन पालन गरेको हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु,” (प्रकाश ३:१०) भनी मुक्तिदाताले प्रतिज्ञा गर्नुभएको छ । उहाँमाथि भरोसा राख्‍ने एउटा मात्र आत्मालाई शैतानको हातमा छोड्‍नुभन्दा बरु उहाँले आफ्‍ना मानिसहरूलाई बचाउन प्रत्येक स्‍वर्गदूत स्‍वर्गबाट पठाउनुहुनेथियो । MBA 79.3

यशैया अगमवक्ताले डरलाग्दो छलको वर्णन गर्दछ जुन दुष्‍टहरूमाथि आउनेछ, जसले तिनीहरूलाई परमेश्‍‍वरका न्यायहरूबाट सुरक्षित महसुस गराउँदछ: “हामीले मृत्युसित करार बाँधेका छौं, र पातालसित हामीले सम्झौता गरेका छौं । अत्यन्त्तै ठूलो विपत्ति हामीमाथि परे तापनि, त्यसले हामीलाई छुनेछैन । किनकि हामीले झूटको शरण लिएका छौं, र असत्यतालाई हाम्रो लुक्‍ने ठाउँ बनाएका छौं ।” यशैया २८:१५ । यहाँ वर्णन गरिएको वर्ग यही हो जसले तिनीहरूका एकोहोरो अपश्‍चात्तापीपनमा आफैले पापीहरूका लागि कुनै सजाय छैन भन्ने भरोसासाथ सान्त्‍वना पाउँछन्; कि सम्पूर्ण मानवजाति जति नै भ्रष्‍ट भए पनि स्‍वर्गसम्मै उचालिन्छन् र परमेश्‍‍वरका स्‍वर्गदूतहरूजस्तै हुन्छन् । तर विशेष गरी जसले मृत्युसित करार बाँध्छन् र पातालसँग सम्झौता गर्छन्, तिनीहरूले जुन धर्मीहरूका सङ्‌कष्‍टको समयका निम्ति स्‍वर्गबाट सत्यताहरूको शरणस्थान प्रबन्ध गर्नुभएको छ त्यसलाई अझै पनि इन्कार गर्छन्, र तिनीहरूले बरु शैतानका झूटहरूका शरणस्थान स्‍वीकार गर्छन्—भूत आत्माको विश्‍‍वासका छलपूर्ण भ्रमताहरू हुन् । MBA 80.1

यो पुस्ताका मानिसहरूको अन्धोपन अवर्णनीय र अद्‍भुत छ । हजारौँले परमेश्‍‍वरको वचन विश्‍‍वासयोग्य नभएझैँ अस्‍वीकार गर्छन् र उत्सुक भरोसासाथ शैतानका छलहरू स्‍वीकार गर्छन् । जोजो अगमवक्ताहरू र प्रेरितहरूका विश्‍‍वासमा बहस गर्छन् शंकालुहरू र खिसी गर्नेहरूले तिनीहरूका दृढताप्रति घृणा गर्छन्, र धर्मशास्‍‍त्रमा ख्रीष्‍ट, मुक्तिको योजना र सत्यताका निन्दकहरूमाथि दण्डको विषयका गम्भीर घोषणाहरूलाई ठट्टा गरेर तिनीहरूले आफैलाई पथभ्रष्‍ट पार्छन् । तिनीहरूले परमेश्‍‍वरका दाबीहरूलाई स्‍वीकार गर्ने र उहाँको व्यवस्थाका आवश्‍‍यकताहरू पालन गर्नेहरूका दिमागहरू अति साँघुरो, कमजोरी र अन्धविश्‍‍वासी भएको कारण गहिरो दया प्रकट गर्ने बहाना गर्छन् । तिनीहरूले निश्‍चय नै मृत्युसित करार बाँधेझैँ र नरकसँग सम्झौता गरेझैँ त्यस्तै भरोसा प्रकट गर्दछन्—जस्तो कि तिनीहरूले आफू र परमेश्‍‍वरको सजायको बीच अप्रवेशनीय, अछेद्य पर्खाल स्थापना गरेका छन् । तिनीहरूका डरहरू केहीले पनि उक्साउन सक्दैन । तिनीहरू सम्पूर्णरूपले परीक्षाकर्ताको हातमा समर्पित भएका छन्, तिनीहरूले ऊसँग घनिष्‍ठ सम्बन्ध गाँसेका छन्, र उसको आत्मामा अति राम्ररी भिजिसकेका छन्, कि तिनीहरूसँग त्यसको पासोलाई तोड्‍ने कुनै शक्ति र अभिरूचि छैन । MBA 80.2

शैतानले संसारलाई बहकाउने अन्तिम कठिन प्रयास लामो समयदेखि तयार गरिरहेको छ । उसको कामको जगचाहिँ हव्‍वालाई अदनको बगैंचामा यस्तो आश्‍‍वासन दिनेद्वारा बसालिएको थियो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ ।” “जुन दिन तिमीहरू यसबाट खान्छौ, त्यही दिन तिमीहरूका आँखा खोलिनेछन् र तिमीहरू परमेश्‍‍वरजस्तै असल र खराब जान्ने हुनेछौ ।” उत्पत्ति ३:४, ५ (KJV) । भूत आत्माको विश्‍‍वासको वृद्धिमा उसले आफ्‍नो मुख्य छलको मार्ग बिस्तारै तयार गरेको छ । अहिलेसम्म त्यसका योजनाहरू पूर्ण सम्पन्न भइसकेका छैनन्; तर अन्तिम बाँकी रहेको समयमा त्यसको योजना सम्पन्न हुनेछ । अगमवक्ता भन्छन्: “मैले भ्यागुताहरूजस्ता तीनओटा घृणित आत्माहरू निस्किरहेको देखें । तिनीहरू चमत्कार देखाउने दुष्‍तात्माहरू हुन् । तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्‍‍वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन् ।” प्रकाश १६:१३, १४ । जो उहाँको वचनको विश्‍‍वासद्वारा परमेश्‍‍वरको शक्तिबाट बचाइनेछन् तिनीहरूबाहेक सारा संसार नै यस छलको दर्जामा थुपारिनेछन् । मानिसहरू सजिलै घातक सुरक्षामा मोहित भइसकेका छन्, र तिनीहरू परमेश्‍‍वरको क्रोधको खन्याइबाट मात्र व्यूँझेनेछन् । MBA 81.1

परमप्रभु परमेश्‍‍वर भन्नुहुन्छ: “म इन्साफलाई नाप्‍ने डोरी, र धार्मिकतालाई चाहिँ साहुल बनाउनेछु । असिनाले झूटको तिमीहरूको शरणस्थान बगाएर लैजानेछ, र पानीले तिनीहरूको लुक्‍ने ठाउँ डुबाइदिनेछ । मृत्युसितको तिमीहरूको करार रद्द गरिनेछ, र पातालसित गरेको तिमीहरूको सम्झौता स्थिर रहनेछैन । जब विपत्तिको बाड़ यताबाट जानेछ, तिमीहरूलाई त्यसले डुबाउनेछ ।” यशैया २८:१७, १८ । MBA 81.2