Go to full page →

भन्नु पर्ने भनाइहरू MBA 3

यो पुस्तकले छ हजार वर्षभन्दा अधिक समयसम्म ख्रीष्‍ट र शैतानको बीचमा भइरहेको महान् विवादलाई सविस्तार चित्रण गर्दछ । आत्मिकी विकासप्रति अति नै योगदान दिने यो पुस्तकले शैतानका युक्तिहरूलाई सफलतासाथ पत्ता लगाउन र प्रतिकार गर्न साह्रै नै सहायता गर्दछ । यसले अन्तिम दिनहरूमा हुन आउने महामारीहरू, शैतानका छलहरू र त्यसका पासोहरूको पूर्वज्ञान प्रदान गर्दछ । MBA 3.1

बाइबल धर्मशास्‍‍त्रले प्रस्तुत गरेअनुसार संसारको अन्त नजीक आएको छ । महान् घटनाहरूले पनि आफ्‍ना मार्गहरू अन्ततर्फ तयार पारिरहेका छन् । झूटो अचम्मलाग्दा कामहरू भइरहेका छन् । झूटो ख्रीष्‍टले उसको शक्ति प्रदर्शन गर्नेछ । प्रकृतिले पनि त्यसको संकेत दिइरहेको छ । यी सब घटनाहरूको रहस्य खोतल्‍न यहाँहरू यस पुस्तकको गहिराइमा डुबुल्की मार्नुहोस् भनी हार्दिक अनुरोध गर्दछु । यहाँहरूको प्रयास अवश्‍‍य नै निष्फल हुनेछैन भन्ने पनि म आशा गर्दछु । MBA 3.2

यस पुस्तकको लेखिका एलेन जी व्हाइट हुन् । उनले धेरै पुस्तकहरू लेखेकी छिन्, त्यसमध्ये महान् विवाद पनि एक हो । उनी पवित्र आत्माद्वारा प्रेरित भएर अन्तिम दिनका बाँकी रहेका परमेश्‍‍वरका जनहरूलाई आत्मिक, शारीरिक र मानसिक तवरले स्‍वर्गीय निवासका लागि तयार गराउन यो लेखेकी हुन् । मानवजाति पापको कारणले यस्तो प्राणी भएका छन् कि आफैले स्‍वर्गीय, अदृश्‍‍य र गहिरा समझहरू पाउन सक्दैनन् । त्यसकारण हाम्रा स्‍वर्गीय पिताले विभिन्न युगहरूमा विविध व्यक्तित्‍वहरूलाई माध्यम बनाइ उहाँको ज्योति प्रकाशमान् गर्नुभयो । यही ज्योतिलाई असाध्यै बहुमूल्य ठानेर मैले यहाँहरूको माझ नेपाली भाषामा प्रस्तुत गर्ने जमर्को गरेको छु । यस पुस्तकलाई हामीले तीन अंशमा विभाजित गरी तयार पारेका छौं । यस तेस्रो अंशले हाम्रो समयदेखि लिएर भविष्यमा हुन आउने महत्‍वपूर्ण घटनाहरूलाई समेटेको छ । यी तीनै अंशहरूमा परमेश्‍‍वरको अति नै बहुमूल्य सन्देशहरू लुकेका छन्, त्यसकारण यहाँहरूले ती सबै अंशहरूलाई समयको प्रर्वाह नगरीकन पढ्‍नुहुन्छ भन्ने आशा गर्दछु । MBA 3.3

यस कार्यमा विभिन्न योग्यताद्वारा योगदान गर्नुहुने सहकर्मीहरूले उहाँहरूको आ-आफ्‍नै दक्षताअनुसार सहयोग गर्नुभएको छ । म उहाँहरूका लगनशीलता, ईमान्दार र बलिदानका लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । MBA 4.1

म पाठक वर्गलाई यो जानकारी गराउँदछु कि हामी सानो समूह तथा अल्प प्रतिभा भएका मानिसहरूले परमेश्‍‍वरको आवाजलाई सुनेर हाम्रा नेपाली दाजु-भाइहरूलाई बहुमूल्य गाड्‍धन प्रदान गर्ने प्रयास गरेका छौं । म जान्दछु कि यो पुस्तकका पानाहरूमा नगण्य भुलहरू हुन पुगेका छन् । यसर्थ यहाँहरूले सुझाव र सल्‍लाहद्वारा सहयोग गर्नु भई यस कार्यलाई अझै प्रभावशाली पार्नुहुनेछ भन्ने म ठूलो अपेक्षा गर्दछु । MBA 4.2

अनुवादक
जोसेफ