Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ४ — वाल्डेन्सीहरू

    (अंग्रेजी पुस्तक अध्याय ४ पृष्‍ठ ६१)

    पोपतन्‍‍त्रको सर्वोच्‍चताको लामो अवधिमा पनि पृथ्वीलाई ढाकेको अन्धकारले सत्यताको ज्योतिलाई पूर्णरूपले निभाउन सकेन । परमेश्‍‍वरका साक्षीहरू प्रत्येक युगहरूमा थिए—जसले परमेश्‍‍वर र मानवको बीचमा मध्यस्थचाहिँ ख्रीष्‍ट मात्र हुनुहुन्छ भनी दृढ विश्‍‍वास गरे, जसले बाइबललाई मात्र जीवनको एक सिद्धान्तकाे रूपमा अपनाए, र सत्य शबाथलाई पवित्र राखे । यी मानिसहरूप्रति संसार कति ऋणी छ भनी भावी सन्ततिहरूले कहिल्यै पनि जान्‍नेछैनन् । तिनीहरूमाथि धर्म विरोधीको दोष लगाइए, तिनीहरूका उद्देश्‍‍यहरूदोषी ठहराइए, तिनीहरूका चरित्रहरू घृणित ठहरिए, तिनीहरूका लेखहरू दबाइए, र कुप्रतिनिधि गरिए वा अंगभङ्ग पारिए । तापनि तिनीहरू दृढसाथ उभिए, तिनीहरूले युगदेखि युगसम्म आफ्‍ना विश्‍‍वास आगामी पूस्ताहरूका निम्ति पवित्र अंश स्‍वरूप शुद्धतासाथ जोगाइराखे ।MBAJ 51.1

    रोमी सर्वोच्‍चता आरम्भ भएपछि तुरुन्तै अन्धकारका युगहरू आएका थिए, त्यस अवधिका परमेश्‍‍वरका जनहरूको इतिहास स्‍वर्गमा लेखिएको छ, तर मानवीय अभिलेखमा तिनीहरूको स्थान थोरै नै छ । तिनीहरूका अत्याचारीहरूका अभियोगहरूमा बाहेक तिनीहरूको अस्तित्‍वको निशाना बिरलै छ । रोमले त्यसका सिद्धान्तहरू र आदेशहरूलाई अस्‍वीकार गर्ने प्रत्येक निशानाहरू उन्मुलन गर्ने षड्यन्‍‍त्र गरेको थियो । त्यसले आफ्‍नो धर्म-विरोधी प्रत्येक मानिस होस् वा लेखहरू सबै नष्‍ट पार्न खोज्यो । पोपतन्‍‍त्रका धार्मिक सिद्धान्तहरूको अधिकारप्रति कुनै शंका वा प्रश्‍नको वाक्‍यले धनी वा गरिब, उच्‍च वा नीच जो कोही पनि प्राणदण्डको योग्य ठहरिन्थ्यो । रोमले भिन्‍न धर्मावलम्बीहरूप्रति गरेको क्रूरताको प्रत्येक अभिलेख नाश गर्ने प्रयत्‍न गऱ्यो । पोपतन्‍‍त्रका परिषद्‍हरूले आदेश जाहेर गरे कि यस्ता अभिलेखहरू समाविष्‍ट पुस्तकहरू र लेखनहरू आगोमा जलाउनुपर्छ । छापाखाना आविष्कार हुनुभन्दा पहिला पुस्तकहरूको सङ्ख्या कम्ती नै थियो, र त्यो त्यस्तो प्रकारको थियो कि जोगाउन प्रायः असम्भव नै पर्दथ्यो; त्यसकारण रोमीहरूको योजनालाई रोक्‍ने उपाय थोरै मात्र थियो ।MBAJ 51.2

    रोमी शासनको सीमाभित्र रहेका कुनै पनि चर्चहरूले विवेकको स्‍वतन्‍‍त्रता शान्तिसाथ उपभोग गर्न पाएनन् । पोपतन्‍‍त्रले शक्ति प्राप्‍त गर्ने बित्तिकै त्यसको शासन अस्‍वीकार गर्ने सबैलाई नष्‍ट पार्न त्यसले हात उठायो, अनि त्यसको अधिकारमा चर्चहरू एकपछि अर्को गर्दै समर्पित भए ।MBAJ 52.1

    महान् अङ्ग्रेजमा मौलिक इसाई धर्मले पहिले नै जरा गाडेको थियो । प्रथम शताब्दीहरूमा बेलायत निवासीहरूले प्राप्‍त गरेको सुसमाचार पतित रोमद्वारा भ्रष्‍ट भएको थिएन । यी टाढ़ा किनारहरूसम्म पुग्‍ने मूर्तिपूजक सम्राटहरूको सतावट नै रोमले अङ्ग्रेजका प्रथम चर्चहरूलाई उपहार स्‍वरूप दियो । धेरैजना इसाईहरूले बेलायतको सतावटबाट भागेर स्कोटल्याण्डमा शरण लिए; र त्यहीँदेखि सत्यता आइरल्याण्डमा पनि लिएर गए र ती सबै देशहरूले सत्यता खुशीसाथ ग्रहण गरे ।MBAJ 52.2

    जब स्याक्सनहरूले बेलायतलाई आक्रमण गरे तब त्यसलाई मूर्तिपूजक धर्मले नियन्‍‍त्रण गऱ्यो । विजेताहरूले तिनीहरूका दासहरूद्वारा शिक्षा हासिल गर्न उपेक्षा गरे, र इसाईहरू पहाड़हरू र जङ्गलका सीमसारहरूतिर शरण लिन बाध्य भए । तापनि केही समयसम्म गुप्‍त रहेको ज्योति निरन्तररूपमा बलिरह्यो । एक शताब्दीपछि स्कोटल्याण्डबाट उज्‍ज्‍वल ज्योति चम्कियो, र त्यो टाढ़ाका देशहरूसम्म पनि पुग्यो । आइरल्याण्डबाट भक्ति कोलुम्बा र तिनका सहकर्मीहरू आए, जसले आयोनाका एकान्त टापुमा छरिएका विश्‍‍वासीहरूलाई तिनीहरूका वरिपरि जम्मा गरे, अनि त्यहाँ तिनीहरूले सुसमाचार प्रचारको कार्यालय बनाए । यी प्रचारकहरूमध्ये एकजनाले बाइबलको शबाथ पालन गर्दथे, र यसरी यो सत्यता मानिसहरूकहाँ परिचित भयो । आयोनामा एउटा स्कुल स्थापना भयो, त्यहाँबाट सुसमाचार प्रचारकहरू स्कोटल्याण्ड र बेलायतमा मात्र होइन, तर जर्मनी, स्‍वीजरल्याण्ड र इटालीमा पनि गए ।MBAJ 52.3

    तर रोमको नजर बेलायततर्फ केन्द्रित थियो, र त्यसको सर्वोच्‍चताको अधीनमा ल्याउने संकल्प गऱ्यो । छैठौँ शताब्दीमा त्यसका प्रचारकहरूले मूर्तिपूजक स्याक्सनहरूलाई परिवर्तन गरे । तिनीहरूलाई घमण्डी असभ्यहरूले हर्षसाथ ग्रहण गरे, र तिनीहरूले हजारौँलाई रोमी विश्‍‍वासमा प्रलोभन देखाए । त्यो काम विकास हुँदै गएपछि पोपतन्‍‍त्रका अगुवाहरू र तिनीहरूका विश्‍‍वासीहरूले मौलिक इसाईहरूको सामना गरे । त्यहाँ एउटा अचम्मलाग्दो भिन्‍नता देखा पऱ्यो । अघिल्‍लोमा चाहिँ पोपतन्‍‍त्रको अन्धविश्‍‍वास, अहङ्कार र देखावटी पनि प्रकट हुन्थ्यो भने पछिल्‍लो स्‍वरूपचाहिँ साधारण, नम्र, धर्मशास्‍‍त्रअनुसारको चरित्र, सिद्धान्त, र ढाँचाहरू प्रकट हुन्थ्यो । रोमकाे गुप्‍तचरले माग राखे कि यी इसाई चर्चहरूले उच्‍च पोपको सर्वोच्‍चता स्‍वीकार गर्नुपर्छ । बेलायतका मानिसहरूले नम्रसाथ जवाफ दिए कि तिनीहरू सबै मानिसहरूलाई माया गर्न चाहन्छन्, तर पोपलाई चर्चमा सर्वोच्‍च नाउँ दिइएको छैन, तिनीहरूले उसलाई अन्य सम्पूर्ण ख्रीष्‍टका चेलाहरूलाई झैँ मात्र मान्यता दिन सक्छन् । रोमीप्रति बफादारिता प्राप्‍तिका लागि बारम्बार प्रयासहरू गरिए; तर यी नम्र इसाईहरू ती गुप्‍तचरहरूको घमण्ड देखेर अचम्मित भए, तिनीहरूले दृढताकासाथ जवाफ दिए कि तिनीहरूले ख्रीष्‍ट बाहेक अरू कुनै पनि मालिक चिनेका छैनन् । अब पोपतन्‍‍त्रको सत्य आत्मा त्यहाँ प्रकट भयो । रोमी अगुवाले भने: “यदि तिमीहरूकहाँ शान्ति ल्याउने भाइहरूलाई स्‍वीकार गर्नेछैनौ भने तिमीहरूले लड़ाइँका शत्रुहरू प्राप्‍त गर्नेछौ । यदि तिमीहरू स्याक्सनहरूलाई जीवनको मार्ग देखाउन हामीसँग एकतामा आउँदैनौ भने तिमीहरूले तिनीहरूबाट मृत्युको प्रहार प्राप्‍त गर्नेछौ ।” —J. H. Merle D’Aubigné, History of the Reformation of the Sixteenth century, b. 17, ch. 2. यी धम्कीहरू व्यर्थ थिएनन् । बेलायतका चर्चहरू नष्‍ट नभएसम्म बाइबल विश्‍‍वासका साक्षीहरूको विरुद्धमा लड़ाइँ, षड्यन्‍‍त्र र छलहरू प्रयोग गरिए, र अरू पोपको अधिकारमा समर्पण गर्न बाध्य भए ।MBAJ 53.1

    रोमी शासन बाहिरका देशहरूमा धेरै युगहरूसम्म इसाईहरूका समूहहरू बाँकी नै थिए जुनहरू पोपतन्‍‍त्रको भ्रष्‍टताबाट झण्डै पूर्णरूपमा मुक्त थिए । मूर्तिपूजकहरू तिनीहरूका वरिपरि थिए र युगहरू बित्दै जाँदा तिनीहरूका झूटहरूद्वारा असर पाऱ्यो; तर तिनीहरूले बाइबललाई एउटै मात्र विश्‍‍वासको नियमको रूपमा निरन्तर मान्यता दिए र त्यसका धेरै सत्यताहरूलाई आत्मासात् गरे । यी इसाईहरूले परमेश्‍‍वरको व्यवस्थाको चिरस्थायीत्‍वमा विश्‍‍वास गरे र चौथो आज्ञाको शबाथ पालन गरे । यो विश्‍‍वास र व्यवहारलाई थामिराख्‍ने चर्चहरू मध्य अफ्रिका र एसियाका आर्मेनियानी मानिसहरूको माझमा पाइन्थ्यो ।MBAJ 54.1

    तर पोपतन्‍‍त्रको शक्तिको आक्रमणका प्रतिकारकहरूमध्ये सर्वप्रथम त वाल्डेन्सीहरू नै अगाडि थिए । जुन भूमिमा पोपले आफ्‍नो सिंहासन बसालेको थियो, त्यहीँ ठाउँमा त्यसको झूट र भ्रष्‍टताको ठाड़ै प्रतिकार भयो । पिडमण्डका चर्चहरूले शताब्दीऔँसम्म तिनीहरूको स्‍वतन्‍‍त्रता कायम राखे; तर अन्तिममा रोमले तिनीहरूको आत्म समर्पणमा जिद्दी गर्ने समय आयो । त्यसको तानाशाहको विरुद्धमा जतिसक्दो संघर्षहरू गरेर पनि प्रभावकारी नभएपछि ती चर्चका अगुवाहरूले असन्तुष्‍टिकासाथ सारा संसारले नै आदर गरेझैँ देखा पर्ने शक्तिको शासनलाई स्‍वीकार गरे । जे भएपनि, त्यहाँ त्यस्ता मानिसहरू पनि थिए जसले पोप वा पदाधिकारीको अधिकारलाई अस्‍वीकार गरे । तिनीहरूले परमेश्‍‍वरप्रति बफादारी हुने, र आफ्‍नो विश्‍‍वासको सरलता र शुद्धतालाई कायम राख्‍ने निर्णय गरेका थिए । त्यहाँ एउटा विभाजन आयो । जसले प्राचीन विश्‍‍वासलाई आत्मसात् गर्थे अब तिनीहरू भागे; कति जनाले तिनीहरूका जन्मस्थल हिमालयहरू [आल्पहरू] त्यागेर विदेशी देशहरूमा सत्यताका झण्डा उठाए; अरू एकान्त उपत्यकाहरू र पहाड़हरूको चट्टानका किल्‍लाहरूतिर शरण लिए, र त्यहाँ तिनीहरूले परमेश्‍‍वरको सेवा गर्ने स्‍वतन्‍‍त्रता पाए ।MBAJ 54.2

    रोमीहरूले सिकाएका झूटा सिद्धान्तहरू र वाल्डेन्सी विश्‍‍वासीहरूले शताब्दीऔँसम्म पक्रिराखेका र सिकाइएका विश्‍‍वासमा एकदमै फरक देखियो । तिनीहरूको धार्मिक विश्‍‍वास परमेश्‍‍वरको लिखित वचनमा आधारित थियो, जुनचाहिँ इसाईको सत्य प्रणाली थियो । तर ती नम्र किसानीहरू तिनीहरूका एकान्त शरणस्थानहरूमा संसारबाट बञ्‍चित थिए, र तिनीहरू आफ्‍ना बगाल र दाखबारीमा दैनिक परिश्रम गर्न बाध्य थिए, त्यसरी तिनीहरू आफैले सत्यता फेला पारेर पतित मण्डलीका धर्म नीति र अपधर्महरूलाई प्रतिकार गर्न असमर्थ भए । तिनीहरूको विश्‍‍वास नौलो प्राप्‍ति थिएन । तिनीहरूको धार्मिक विश्‍‍वास पुर्खौली अंश थियो । “पवित्र जनहरूलाई एकचोटि सदाका निम्ति सुम्पिएको विश्‍‍वासका निम्ति ... यत्‍नपूर्वक संघर्ष” गरेर तिनीहरूले प्रेरित चर्चको विश्‍‍वासको पक्षमा वाद-विवाद गरे । यहूदा ३ (KJV) । घमण्डी पुरोहितको शासन संसारको महान् राजधानीको सिंहासनमा थिएन, तर “उजाड़स्थानको मण्डली” चाहिँ ख्रीष्‍टको सत्य मण्डली थियो, परमेश्‍‍वरले सत्यताका गाडधनहरूको व्यवस्थापकको रूपमा उहाँका मानिसहरूलाई संसारमा प्रदान गरी सुम्पिनु भएको थियो ।MBAJ 54.3

    रोमबाट सत्य मण्डलीको विच्छेदनका विभिन्‍न कारणहरूमध्ये एउटा मुख्य कारणचाहिँ त्यसले बाइबल-शबाथलाई घृणा गरेको थियो । अगमवाणीमा पूर्ववाणी गरिझैँ पोपतन्‍‍त्रको शक्तिले सत्यतालाई भुइँमा फालिदियो । परमेश्‍‍वरको व्यवस्था धुलोमा कुल्‍चीमिल्‍ची पाऱ्यो, जहाँ मानिसहरूका चालचलनहरू र परम्पराहरू उच्‍च भए । पोपतन्‍‍त्रको शासनमा भएका चर्चहरू पहिले नै आइतबार एक पवित्र दिनको रूपमा मान्‍न बाध्य भए । प्रचलित अन्धविश्‍‍वास र झूटको बीचमा धेरै परमेश्‍‍वरका सत्य जनहरू पनि अति नै अलमल्‍लमा परे, तिनीहरूले शबाथ पालन गर्दै आइतबार पनि कामबाट आराम लिए । तर यसले पोपतन्‍‍त्रका अगुवाहरूलाई सन्तुष्‍ट पारेन । तिनीहरूले यसरी जोड़ दिए कि आइतबारलाई पवित्र राख्‍ने मात्रै होइन तर शबाथलाई अपवित्र पनि पार्नुपर्छ; जसले त्यसलाई आदर गर्ने साहस गरे तिनीहरूलाई कुवाक्‍यहरूले निन्दा गरे । रोमको शक्तिबाट भागेर मात्र परमेश्‍‍वरको नियम शान्तिसँग पालन गर्न सकिन्थ्यो । (एपेण्डिक्समा हेर्नुहोस्) ।MBAJ 55.1

    अनुवाद गरिएको धर्मशास्‍‍त्र प्राप्‍त गर्ने युरोपका पहिलो मानिसहरूमध्ये वाल्डेन्सीहरू थिए । (एपेण्डिक्समा हेर्नुहोस्) । सुधार हुनुभन्दा सयौँ वर्ष अगाडि हस्तलिखित बाइबल तिनीहरूको मातृ भाषामा थियो । तिनीहरूको सत्यता शुद्ध थियो, र त्यसले गर्दा तिनीहरू घृणा र सतावटको विशेष केन्द्रविन्दु बने । तिनीहरूले रोमको चर्चलाई प्रकाशमा बताइएको पतित बेबिलोन भनी घोषणा गरे, र तिनीहरूका जीवनको जोखिममा पनि त्यसका भ्रष्‍टताहरूलाई प्रतिकार गर्न उठे । सतावट दीर्घकालीन रूपमा चलेको कारण कति जनाले तिनीहरूको विश्‍‍वासलाई सम्झौता गरे, अलि-अलि गर्दै तिनीहरूको विशेष सिद्धान्तलाई छाड़िदिए, अरूले चाहिँ त्यो सत्यतालाई दृढतासाथ पक्रिराखे । अन्धकारका युगहरू र पतनभरि नै वाल्डेन्सीहरूले रोमको सर्वोच्‍च शासनलाई इन्कार गरे, जसले प्रतिमा पूजालाई मूर्तिपूजाको रूपमा अस्‍वीकार गरी सत्य शबाथलाई पालन गरे । तिनीहरूले प्रतिरोधका उर्लदा आँधीहरूमा पनि आफ्‍नो विश्‍‍वास कायम राखे । तिनीहरू सेभयार्डको [फ्रान्सको दक्षिण-पूर्वमा पर्ने प्रदेश] भालाको अघोर चोटमा, रोमीको दाउराको थुप्रोमा पनि परमेश्‍‍वरको वचन र उहाँको आदरका निम्ति अटल रहे ।MBAJ 55.2

    अग्‍ला पहाड़हरूका किल्‍लाहरू पछाड़ि—सबै युगहरूमा सतावट र अत्याचारमा परेकाहरूका लागि शरणस्थान—वाल्डेन्सीहरूले शरण पाए । यही नै मध्य युगहरूको अन्धकार बीच पनि सत्यताको ज्योति चम्किरह्यो । यही नै हजार वर्षसम्म सत्यताका गवाहीहरूले प्राचीन विश्‍‍वासलाई कायम राखे ।MBAJ 56.1

    परमेश्‍‍वरले आफ्‍ना जनहरूलाई महान् सत्यताहरूको योग्य ठान्‍नु भई प्रभावशाली महिमित पवित्रस्थान जुटाउनुभयो । ती पहाड़हरू विश्‍‍वासयोग्य बहिष्कृतहरूका लागि एउटा यहोवाको अपरिवर्तनीय धार्मिकताको चिन्ह थियो । तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई आफूभन्दा उच्‍च हिमालका टाकुराहरूमा अपरिवर्तनीय महिमा देखाए, र तिनीहरूलाई उहाँको विषयमा भन्थे बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन, जसको वचन अनन्त पहाड़झैँ अटल रहन्छ । परमेश्‍‍वरले पहाड़हरू बसाल्‍नुभएको थियो र तिनीहरूलाई बलियो पार्नुभएको थियो; तिनीहरूलाई असीमित शक्तिले बाहेक कुनै पनि पाखुराले हटाउन सक्दैन । त्यसरी नै उहाँले स्‍वर्ग र पृथ्वीमा उहाँको शासनको जग स्‍वरूप आफ्‍नो व्यवस्था स्थापना गर्नुभएको थियो । मानिसहरूको हातले उसका संगीहरूका जीवनहरू नष्‍ट पार्नसक्छ; तर पहाड़लाई त्यसको जगदेखि नै उखालेर समुद्रमा फ्‍याँक्‍न जति कठिन हुन्छ, यहोवाको व्यवस्थाबाट एउटा सिद्धान्त परिवर्तन गर्न वा उहाँका इच्छा पालन गर्नेहरूलाई प्रदान गरेका प्रतिज्ञाहरूमध्ये एउटै प्रतिज्ञा पनि मेटाउन त्यति नै कठिन हुन्छ । उहाँको व्यवस्थाप्रति भक्ति भएर परमेश्‍‍वरका जनहरू अपरिवर्तनीय पहाड़हरूझैँ दृढ रहनुपर्दछ ।MBAJ 56.2

    तुच्छ उपत्यकाहरूले भरिएका पहाड़हरू परमेश्‍‍वरको सृजनात्मक शक्ति, र उहाँको सुरक्षित वास्ताको अटल भरोसाको निरन्तर गवाही थिए । ती तिर्थयात्रीहरूले यहोवाको उपस्थितिका शान्त चिन्हहरू मन पराउन सिके । तिनीहरूले कडा परिश्रमको अंशप्रति कहिल्यै गनगन गरेनन्; तिनीहरू पहाड़को एकान्त स्थलमा कहिल्यै पनि एक्‍लो भएनन् । तिनीहरूले परमेश्‍‍वरलाई धन्यवाद दिए किनकि उहाँले मानिसहरूको क्रूरता र क्रोधबाट शरणस्थल जुटाइदिनु भयो । तिनीहरू आफ्‍नो स्‍वतन्‍‍त्रतामा उहाँको सामु सेवा गर्दा आनन्दित भए । प्रायः जब तिनीहरूलाई शत्रुहरूले खेदाउथे, तब पहाड़हरूको शक्तिले तिनीहरूको निश्‍चित सुरक्षा प्रदान गऱ्यो । धेरै अग्‍लो भीरबाट तिनीहरूले परमेश्‍‍वरको प्रशंसा गाए, र रोमीका सिपाहीहरूले तिनीहरूको धन्यवादी गीतलाई चुप पार्न सकेनन् ।MBAJ 56.3

    यी ख्रीष्‍टका चेलाहरूको धार्मिकता शुद्ध, साधारण, र उत्सुक थियो । तिनीहरूले सत्यताका सिद्धान्तहरूलाई घरहरू र जग्गाहरू, साथीहरू, आफन्तहरू साथै आफ्‍नै जीवनभन्दा पनि धेरै मूल्यवान ठाने । तिनीहरूले यी सिद्धान्तहरूलाई युवाहरूको हृदयमा उत्सुकतासाथ प्रभाव पार्ने प्रयास गरे । युवाहरू वाल्यावस्थादेखि नै धर्मशास्‍‍त्रमा प्रशिक्षित भएका हुन्थे र परमेश्‍‍वरको व्यवस्थाका दाबीहरूलाई पवित्रतासाथ व्यवहार गर्न सिकाएका थिए । बाइबल कम्ती मात्र उपलब्ध थिए; त्यसकारण त्यसका बहुमूल्य वचनहरू याद गरेका थिए । धेरैजनाले नयाँ र पुरानो नियमका धेरै जसो भागहरू भन्‍न सक्थे । परमेश्‍‍वरका विचारहरू दैनिक जीवनका नम्र आशिषहरू र प्राकृतिक उत्कृष्‍ट दृश्‍‍यहरूसँग तुलना गरिएका थिए । परमेश्‍‍वर नै प्रत्येक अनुग्रह र सान्त्‍वनादाता हुनुहुन्छ भनी साना बालकहरूलाई धन्यवादसाथ हेर्न सिकाएका थिए ।MBAJ 57.1

    बाबा-आमाहरूले तिनीहरूका शक्त कोमलता र ममतासाथ छोराछोरीहरूलाई स्‍वार्थभोगबाट उकास्‍न अति बुद्धिमानीसाथ प्रेम गरे । तिनीहरूको अगाडि कडा परिश्रम र जीवनको कठिनाइ, साथै शायद शहिदको मृत्यु पनि हुन सक्थ्यो । तिनीहरूलाई वाल्यावस्थादेखि नै कष्‍ट सहन गर्न, अनुशासनमा बस्‍न सिकाएतापनि तिनीहरू आफैले सोच्‍न र काम गर्न पनि सिकाएका थिए । प्रथम त तिनीहरूले जिम्मेवारीहरू, बोलीको होसीयारीपन र शान्त रहने बुद्धि सिकाएका हुन्थे । यदि एक बुद्धिहीन शब्द शत्रुहरूले सुने भने बोल्‍नेको मात्र होइन, तर सयौँ भाइहरूको जीवन पनि जोखिममा पर्ने सम्भावना थियो; ब्‍वाँसोले त्यसको आहारालाई शिकार गरेझैँ सत्यताका शत्रुहरू धर्म विश्‍‍वासमा स्‍वतन्‍‍त्रता दाबी गर्न साहस गर्नेहरूका पछि लाग्‍ने गर्थे ।MBAJ 57.2

    वाल्डेन्सीहरूले तिनीहरूको सांसारिक उन्‍नतिलाई सत्यताका खातिर बलिदान गरे, तिनीहरूले निरन्तर धैर्यसाथ आफ्‍नो खानाको लागि परिश्रम गरे । पहाड़को खन्‍न सकिने प्रत्येक जग्गाहरूलाई होसियारीसाथ खेतबारीबनाउथे; प्रत्येक उपत्यकाहरू र उब्‍जनी कम हुने पखेराहरू उत्पादित बनाउथे । आर्थिक व्यवस्थापन र आत्मत्याग नै शिक्षाको एक भाग भयो जुन छोराछोरीहरूले पैतृक भौतिक सम्पतिको रूपमा प्राप्‍त गरे । परमेश्‍‍वरले जीवन अनुशासित ढंगले सृजना गर्नुभयो, र तिनीहरूका आवश्‍‍यकताहरू व्यक्तिगत परिश्रम, पूर्वविचार, वास्ता, र विश्‍‍वासद्वारा मात्र पूरा हुन सक्छ भनी तिनीहरूलाई सिकाएका थिए । यो प्रक्रियाचाहिँ परिश्रमयुक्त र थकानपूर्ण थियो, तर मानिसहरूको पतित स्थितिमा आवश्‍‍यक पर्ने फाइदाजनक कुरा थियो, त्यो स्कुल परमेश्‍‍वरले तिनीहरूको विकास र तालिमको लागि जुटाउनु भएको थियो । जब युवाहरूले कडा परिश्रम गर्न अभ्यास गरे, तब विवेकको तालिम बेवास्ता भएन । तिनीहरूको सम्पूर्ण क्षमता परमेश्‍‍वरको थियो र सबैले उहाँको सेवाका लागि उन्‍नतिशील र विकसित हुनुपर्छ भनी तिनीहरूलाई सिकाइएको थियो ।MBAJ 57.3

    भाउडय चर्चहरूमा प्रेरित समयको चर्च अनुरूप शुद्धता र साधारणता थियो । तिनीहरूले पोप र पुरोहितको सर्वोच्‍चता इन्कार गरेर बाइबललाई मात्र एउटा सर्वोच्‍च र अटल अधिकारको रूपमा माने । तिनीहरूका पास्टरहरू रोमका घमण्डी पूजाहारीहरू जस्ता थिएनन्, तर तिनीहरूले आफ्‍ना मालिकको अनुसरण गर्थे, जो “सेवा पाउन होइन, तर सेवा गर्न आउनुभयो ।” तिनीहरूले परमेश्‍‍वरको बगाललाई खुवाए, तिनीहरूलाई उहाँको पवित्र वचनका जिउँदा मूलहरू र हरियो खर्कहरूतर्फ डोऱ्याए । मानविक देखावटी र घमण्डको स्मरणविहीन, भव्य चर्चहरूमा वा विशाल भवनहरूमा होइन, तर तिनीहरू पहाड़हरूमुनि छायामा, आल्प्हरूका पर्वतीय उपत्यकाहरूमा, अथवा खतराको घडीमा पनि मानिसहरू ख्रीष्‍टका दासहरूबाट सत्यता सुन्‍न चट्टानका किल्‍लाहरूनिर जम्मा हुन्थे । पास्टरहरूले सुसमाचार प्रचार मात्र गरेनन्, तर तिनीहरूले बिरामीहरूसँग पनि भेट गरे, बालकहरूलाई धार्मिक शिक्षाहरू दिए, गल्ती गरेकाहरूलाई अर्ती दिए, वाद-विवादको समाधान गरी मिलाप र भातृ प्रेमको विकास गरे । तिनीहरू शान्तिको समयमा मानिसहरूको स्‍वेच्छिक भेटीले जीविका चलाउथे; तर पावलले पाल बनाए जस्तै प्रत्येकले आवश्‍‍यकताअनुसार आफ्‍नै जीवन-निर्वाहका लागि कुनै न कुनै कला वा पेशा सिकेका थिए ।MBAJ 58.1

    तिनीहरूका पास्टरहरूले युवाहरूलाई प्रशिक्षण दिए । जहाँ साधारण शिक्षण शाखातर्फ ध्यान दिदै पनि बाइबललाई प्रमुख अध्ययन बनाए । तिनीहरूले मत्ती र यूहन्‍नाका सुसमाचारहरू साथै अन्य धेरै पत्रहरू याद गर्थे । तिनीहरू धर्मशास्‍‍त्रको प्रतिलिपि गर्ने व्यक्ति भई लागी परेका थिए । कति प्रतिलिपिहरूमा पूर्ण बाइबल नै समावेश हुन्थ्यो भने अरू कति वटाचाहिँ छोटकरीमा छानिएका पुस्तकहरू मात्र हुन्थे, जबकि धर्मशास्‍‍त्रहरू योग्य अनुवादकहरूले वर्णन गरेर थपिएका हुन्थे । यसरी ज-जसले आफैलाई परमेश्‍‍वरभन्दा उच्‍च ठाने, तिनीहरूले यति लामो समयसम्म लुकाएर राखिएको सत्यताका गाडधनहरू यसरी बाहिर निकाले ।MBAJ 58.2

    धैर्यसाथ, अथक परिश्रममा, कहिलेकाही पृथ्वीको गहिराइ र अन्धकार ओड़ारहरूमा, बत्तीहरूको सहाराले पवित्रशास्‍‍त्र पदपछि पद, अध्यायपछि अध्यायहरू लेखिएका थिए । यसरी यो काम बढ्‍दै गयो, शुद्ध सुनझैँ प्रकट भएको परमेश्‍‍वरको इच्छा चम्किरह्यो; ज-जसले यस काममा भाग लिए र तिनीहरूले मात्र त्यसका खातिर सामना गरेका परीक्षाको कारण अझै कति उज्‍ज्‍वल, स्पष्‍ट, र शक्तिशाली थियो भनी जान्दथे । स्‍वर्गदूतहरूले यी विश्‍‍वासयोग्य कामदारहरूलाई घेरेका थिए ।MBAJ 59.1

    शैतानले पोपतन्‍‍त्रका पूजाहारीहरू र पुरोहितहरूलाई सत्यताको वचन झूटो, अपधर्म र अन्धविश्‍‍वासको कसिङ्गरमुनि दबाउने चेष्‍टा गरेको थियो; तर यो अति नै अचम्मलाग्दो तरिकाले सम्पूर्ण अन्धकारका युगहरूभरि पनि भ्रष्‍ट भएको थिएन । यसमा मानिसको छाप होइन तर परमेश्‍‍वरको मोहर थियो । मानिसहरूले धर्मशास्‍‍त्रको साधारण र स्पष्‍ट अर्थ लुकाउन र तिनीहरूका गवाहीको खण्डन गर्न अथक परिश्रम गरेका थिए; तर आँधीमा सबभन्दा गहिराइको [नोआको] पानी जहाजझैँ परमेवश्रको वचन विनाशको तर्साइमा पनि माथि तैरन्छ । जसरी सुनचाँदीको खानीमा असल तत्‍वचाहिँ गहिराइमा लुकेको हुन्छ, त्यसरी नै यसको बहुमूल्य भण्डार पत्ता लगाउने सबैले खन्‍नुपर्छ, त्यसरी नै पवित्र धर्मशास्‍‍त्रमा सत्यताहरूका गाडधनहरू छन्, जसले उत्सुकता, नम्रता र प्रार्थनासाथ खोजी गर्दछन् तिनीहरूले मात्र प्राप्‍त गर्छन् । परमेश्‍‍वरले बाइबल सम्पूर्ण मानवजातिका लागि एक पाठ्य पुस्तकको रूपमा सृजना गर्नुभयो, यो वाल्यकालमा, युवास्थामा, पूर्ण वयस्कमा र प्रत्येक समयमा अध्ययन गर्नुपर्ने थियो । उहाँले मानिसहरूलाई आफ्‍नो वचनद्वारा उहाँको आफ्‍नै विषयमा प्रकाश गर्नुभयो । हरेक नौलो सत्यताको ज्ञान नै त्यसको लेखकको चरित्रको ताजा प्रदर्शन हो । शास्‍‍त्रको अध्ययनचाहिँ मानिसहरूलाई तिनीहरूका सृष्‍टिकर्ताको नजिक ल्याउने र तिनीहरूलाई उहाँको इच्छाको स्पष्‍ट ज्ञान दिने ईश्‍‍वरले सृजना गर्नुभएको एक माध्यम हो । मानिस र परमेश्‍‍वर बीचमा यो एउटा वार्तालाप गर्ने माध्यम पनि हो ।MBAJ 59.2

    वाल्डेन्सीहरूले प्रभुको भय नै बुद्धिको सुरुवात हो भनी अपनाउँदै पनि तिनीहरूका दिमाग विकसित गर्न र ज्ञान जागरण गर्न संसारसँग सम्बन्धको महत्‍व, मानिसहरूका ज्ञानहरू र क्रियाशील जीवनप्रति अन्धा थिएनन् । तिनीहरूको पहाड़मा भएको स्कुलबाट शिक्षाका लागि कति जना युवाहरूलाई इटाली वा फ्रान्सको शहरका विद्यालयहरूमा पठाए, जुन तिनीहरूका आफ्‍नै आल्प्हरूमा भन्दा अध्ययन, सोचाइ, र अनुसन्धानमा अझैँ विकसित क्षेत्रहरू थिए । यसरी पठाइएका युवाहरूले परीक्षाको सामना गरे, तिनीहरूले अधर्म देखे, तिनीहरूले शैतानका चत्तुर माध्यमहरूको सामना गरे, जसले तिनीहरूमाथि सबभन्दा चत्तुर अपधर्म र खतरा छलहरूतर्फ दबाब दियो । तर तिनीहरूले बाल्यकालदेखि प्राप्‍त गरेको शिक्षा यस्तो प्रकारको थियो कि तिनीहरूलाई यी सबै परिस्थितिको सामना गर्न तयार पारेको थियो ।MBAJ 59.3

    तिनीहरूले आफ्‍ना स्कुलहरूमा कसैलाई पनि घनिष्‍ट मित्र बनाउन पाउँदैन थिए । तिनीहरूका कपड़ाहरू यस्तो तरिकाले तयार पारिएका थिए कि सबभन्दा महान् गाडधन—बहुमूल्य हस्तलिखित धर्मशास्‍‍त्र—लुकाउन सकिन्थ्यो । तिनीहरूले यी महिनौका फल र वर्षौका परिश्रम लिएर गए, र तिनीहरूले सम्भव भएअनुसार, जसको हृदय सत्यताप्रति खुला थियो तिनीहरूको मार्गमा अथाहरूपमा होसियारीसाथ केही भाग राखिदिन्थे । तिनीहरूको आमाको काखबाट नै वाल्डेन्सीहरूका युवाहरूलाई यस्तै लक्ष्यका साथ तालिम दिइन्थ्यो; तिनीहरूले आफ्‍नो जिम्मेवारी थाहा पाए र विश्‍‍वासयोग्यताका साथ वहन गरे । यो सत्य विश्‍‍वासले यी शिक्षाका केन्द्रहरूमा विश्‍‍वासीहरू बनायो, यसका सिद्धान्तहरू प्रायः सम्पूर्ण स्कुलमा प्रवेश भइरहेको थियो; तापनि पोपका अगुवाहरूका शक्त अनुसन्धानले पनि भ्रष्‍ट पार्ने अपधर्म भनिने स्रोत पत्ता लाउन सकेन ।MBAJ 60.1

    ख्रीष्‍टको आत्मा नै एउटा सुसमाचार प्रचारको आत्मा हो । परिवर्तित हृदयको उत्कट चाहना नै अरूलाई पनि मुक्तिदाताकहाँ डोऱ्याउने हो । यी भाउडय इसाईहरूको हृदय पनि यस्तै थियो । तिनीहरूले महसुस गरे कि सत्यतालाई आफ्‍नै मण्डलीहरूभित्र त्यसको शुद्धतामा पालन मात्र नगरेर परमेश्‍‍वरले हामीलाई अझै केही अनुरोध गर्नुभयो; तिनीहरूको ज्योति अन्धकारमा भएकाहरूलाई चम्काउने गम्भीर जिम्मेवारी तिनीहरूमाथि आएको थियो; तिनीहरूले परमेश्‍‍वरको शक्तिशाली वचनद्वारा रोमीको बन्धन तोड्‍ने प्रयास गरे । भाउडय प्रचारकहरू सुसमाचार प्रचारकको रूपमा प्रशिक्षित थिए, प्रचारक हुन चाहने जो कोहीले पनि प्रथमतः सुसमाचार प्रचारकको रूपमा अनुभव बटुल्‍नु अनिवार्य थियो । प्रत्येकले घरमा चर्चको अभिभारा पाउनुभन्दा पहिले कुनै पनि सुसमाचार प्रचारको क्षेत्रमा तीन वर्षसम्म समय बिताएको हुनुपर्दथ्यो । यो सेवाको सुरुमा आत्मा-त्याग र बलिदान पास्टरको जीवन सुहाउँदो परिचय थियो जसले त्यो समयमा मानिसहरूको आत्मालाई जाँच्दथ्यो । युवाहरू जो यो पवित्र कार्यमा अभिषेक भए, तिनीहरूले सांसारिक धन र महिमा देखेनन्, तर परिश्रम र खतराको जीवन र शहिदको मृत्युको सम्भावना देखे । प्रचारकहरू दुई-दुई जना गरी गए, जसरी येशूले पनि उहाँका चेलाहरूलाई पठाउनुभयो । प्रायजसो प्रत्येक युवालाई अर्को वयस्क र अनुभवी मानिसले साथमा लान्थ्यो, त्यो युवक उसको सहकर्मी भएकोले उसलाई प्रशिक्षण गर्ने जिम्मेवारी पनि हुन्थ्यो, र जसबाट उसले शिक्षा हासिल गर्नु अनिवार्य थियो । यी सहकर्मीहरू सँधै एकै साथ हुँदैनथे, तर प्रायः प्रार्थना र सल्‍लाहका लागि भेला हुन्थे, यसरी तिनीहरूले एक-अर्कालाई विश्‍‍वासमा बलियो पारिरहन्थे ।MBAJ 60.2

    तिनीहरूको कामको उद्देश्‍‍य खुलस्त पारेको भए निश्‍चय नै असफल हुन्थ्यो; त्यसकारण तिनीहरूले होसियारीसाथ आफ्‍नो वास्तविक चरित्र लुकाए । प्रत्येक प्रचारकहरूले कुनै न कुनै सीप वा पेशाको ज्ञान हासिल गरेका हुन्थे, र प्रचारकहरूले साधारण पेशागत कार्य गर्दै तिनीहरूको उद्देश्‍‍य पूरा गरे । प्रायः तिनीहरूले व्यापारी वा घुमन्ते व्यापारी हुने रोजाइ गरे । “तिनीहरूले रेशमी लुगा, गहनाहरू, र अरू वस्तुहरू पनि लिएर जान्थे, त्यतिबेला ती सामानहरू टाढ़ाका बजारहरूमा बाहेक किन्‍न गाह्रो हुन्थ्यो; र जहाँ तिनीहरूलाई प्रचारकको रूपमा निन्दा गरिन्थ्यो त्यहाँ तिनीहरूलाई व्यापारीको रूपमा स्‍वागत गरिए ।” —Wylie, b. 1, ch. 7. सुन वा हिराहरूभन्दा पनि अझै बहुमूल्य गाडधन प्रकट गर्न तिनीहरूका हृदयहरूले सदावहार परमेश्‍‍वरसँग बुद्धि मागिरहेका हुन्थे । तिनीहरूले पूर्ण बाइबलहरू वा त्यसका अंशहरू गुप्‍तमा लिएर जान्थे, कुनै पनि अवसरमा तिनीहरूले गाहकीहरूका ध्यानहरू ती हस्तलिखित पुस्तकहरूमा आकर्षित गर्दथे । प्रायः यसरी नै परमेश्‍‍वरको वचन अध्ययन गर्ने चाहना जागरण हुन्थ्यो, जसले इच्छा गरे पनि तिनीहरूका निम्ति केही अंश खुशीसाथ छोडेर जान्थे ।MBAJ 61.1

    तिनीहरूका पहाड़हरूको सामुन्‍ने भएका मैदानहरू र उपत्यकाहरूमा यी प्रचारकहरूको काम आरम्भ भयो, तर त्यो सीमाभन्दा पनि धेरै टाढ़ा फैलिएर गयो । खाली खुट्टा र यात्राले गर्दा फोहोर भएको र असभ्य कपड़ा तिनीहरूको मालिकको जस्तै थियो, तिनीहरू विशाल शहरहरू भएर टाढ़ाका भूमिहरूमा पनि प्रवेश गरे । तिनीहरूले बहुमूल्य बीउ सर्वत्र छरे । तिनीहरूको मार्गमा चर्चहरू उम्रे, र शहिदहरूको रगतले सत्यताको साक्षी दियो । यी विश्‍‍वासयोग्य मानिसहरूको परिश्रमद्वारा भकारीमा राखिएका प्रशस्त मानिसहरू परमेश्‍‍वरको दिनले प्रकट गर्नेछ । परमेश्‍‍वरको वचन इसाईजगतभरि गुप्‍त र शान्त रूपले फैलिँदैथियो, र मानिसहरूका घरहरू र हृदयहरूमा हर्षसाथ स्‍वीकार हुँदैथियो ।MBAJ 61.2

    वाल्डेन्सीहरूका लागि धर्मशास्‍‍त्रचाहिँ परमेश्‍‍वरले मानिसहरूसँग गर्नुभएको विगतको व्यवहारको एक इतिहास र जिम्मेवारीको प्रकाश र वर्तमानको कर्तव्यहरू मात्र थिएनन्, तर त्यसले भविष्यका जोखिमहरू र महिमाहरूलाई पनि खुलस्त पाऱ्यो । तिनीहरूले विश्‍‍वास गरे कि यावत् थोकको अन्त्य अब टाढ़ा छैन, जब तिनीहरूले प्रार्थनासाथ र आँसु बगाएर बाइबल अध्ययन गरे तब तिनीहरू त्यसका बहुमूल्य वाक्‍यहरू र मुक्तिका सत्यताहरू अरूलाई सुनाउने कर्तव्यमा अझै गहिरो रूपले प्रभावित भए । तिनीहरूले पवित्र पृष्‍ठहरूमा मुक्तिको योजना स्पष्‍ट प्रकट भएका देखे, र तिनीहरूले येशूप्रति विश्‍‍वासमा सान्त्‍वना, आशा र शान्ति प्राप्‍त गरे । जसरी तिनीहरूको समझ ज्योतिले उज्‍ज्‍वल भयो र तिनीहरूको हृदय हर्षित भयो, त्यसरी तिनीहरू पोपतन्‍‍त्रको झूटको अन्धकारमा रहेकाहरूलाई ती किरणहरू चम्काउन इच्छुक भए ।MBAJ 61.3

    तिनीहरूले देखे कि पोप र पूजाहारीको अधीनमा रहेर भीडहरूले तिनीहरूका प्राणहरूको पाप-क्षमा प्राप्‍तिका लागि आफ्‍ना शरीरहरूलाई शास्ती दिनेद्वारा प्रयत्‍न गरिरहेका थिए । मुक्तिको लागि तिनीहरूकै असल कामहरूमा भरोसा राख्‍न सिकाए, तिनीहरू सँधै आफैलाई हेर्दथे, तिनीहरूका दिमागहरू आफ्‍नै पापपूर्ण अवस्थामा आधारित थिए, तिनीहरू आफैले परमेश्‍‍वरको क्रोधमा परेको देखेर शरीर र आत्मालाई शास्ती दिए, तापनि तिनीहरूले केही आरामचाहिँ पाएनन् । यसरी रोमका सिद्धान्तहरूले विवेकशील प्राणीहरूलाई बाँधिराखेका थिए । हजारौँले आफन्तहरू र साथीहरूलाई त्यागे, र तिनीहरूले आफ्‍ना जीवनहरू आश्रमका कोठाहरूमा बिताए । प्रायः बारम्बार उपवासहरू र क्रूर कोर्राहरू लगाउने, मध्यरातसम्म जागा रहने, थकित घडीहरूमा तिनीहरूको उराठलाग्दो वासस्थानमा भिजेका ढुङ्गाहरूमा पस्रने, लामो तीर्थयात्रा गर्नेद्वारा, अपमानित पाप क्षमाका लागि गरिने कार्य र डरलाग्दो यातनाद्वारा हजारौँले व्यर्थमा विवेकको शान्ति प्राप्‍त गर्ने प्रयास गरे । पापको अनुभूतिले दबिए, परमेश्‍‍वरको बदला लिने क्रोधको डरले सधैँ तलाश गर्दैथिए, धेरै जना थकित प्रकृतिले नछोडेसम्म कष्‍ट भोगी नै रहे, र तिनीहरू एउटै ज्योतिको किरण वा आशाविना नै चिहानमा परे ।MBAJ 62.1

    यी भोकाएका प्राणीहरूलाई जीवनको रोटी भाँच्‍न, तिनीहरूको माझमा परमेश्‍‍वरका प्रतिज्ञाहरूमा भएका शान्तिका सन्देशहरू खोल्‍न, र मुक्तिको एउटै मात्र आशाको रूपमा तिनीहरूलाई ख्रीष्‍टतर्फ देखाउन वाल्डेन्सीहरू अति नै उत्सुक थिए । भङ्ग भएको परमेश्‍‍वरको व्यवस्थाको प्रायश्‍चित असल कामद्वारा हुन्छ भन्‍ने विश्‍‍वास झूटो सिद्धान्तमा आधारित छ भनी तिनीहरूले प्रकट गरे । मानवीय योग्यतामा भर परेर ख्रीष्‍टको असीम प्रेमको दृश्‍‍यलाई हस्तक्षेप गर्दछ । येशू मानिसको लागि बलिदान स्‍वरूप मर्नुभयो किनकि पतित जातिले आफ्‍नै खातिर परमेश्‍‍वरमा सिफारिस गर्न सक्दैन । मुक्तिदाताको क्रूसको मृत्यु र पुनरुत्थानका मूल्यहरू नै इसाई विश्‍‍वासको आधार हुन् । जसरी हात-खुट्टाको शरीरसँग, वा हाँगाको बोटसँग घनिष्‍ट सम्बन्ध हुन्छ, ख्रीष्‍टप्रति मानिसको निर्भरता त्यस्तै वास्तविक, र उहाँसँग त्यतिकै घनिष्‍ट सम्बन्ध हुनुपर्दछ ।MBAJ 62.2

    पोपहरू र पूजाहारीहरूको शिक्षाले मानिसहरूलाई परमेश्‍‍वर र ख्रीष्‍टको चरित्र कडा, अँध्यारो र कठोर स्‍वरूपमा वर्णन गऱ्यो । मानिसहरूको पतित स्थितिमा मुक्तिदातालाई अति नै सहानुभूतिरहित व्यक्तिको रूपमा प्रकट गरेर सन्तहरू र पूजाहारीहरूलाई नै मध्यस्थताको प्रार्थना गर्नुपर्ने कुरामा जोड़ दिए । ज-जसका दिमागहरू परमेश्‍‍वरको वचनद्वारा उज्‍ज्‍वल पारिएका थिए तिनीहरूले यी प्राणीहरूलाई दयालु र मायालु मुक्तिदाताको रूपमा येशूतर्फ केन्द्रित गराउन उत्सुक भए, उहाँ हात पसारेर उभिरहनुभएको थियो, तिनीहरूको पापको बोझ र चिन्ता र थकानसाथ सबैलाई उहाँकहाँ आउने निमन्‍‍त्रणा गरिरहनुभएको थियो भनी प्रकट गर्न र तिनीहरू उत्सुक भए । मानिसहरूले प्रतिज्ञाहरू नदेखून् र पाप स्‍वीकार गर्न, क्षमा र शान्ति प्राप्‍त गर्न सीधा परमेश्‍‍वरकहाँ नआऊन् भनी शैतानले थुपारेका सबै बाधाहरू हटाउन तिनीहरू इच्छुक थिए ।MBAJ 63.1

    भाउडयका प्रचारकहरूले तलाशी दिमागमा खुशीसाथ सुसमाचारका बहुमूल्य सत्यताहरू प्रकट गरिदिए । तिनले होसीयारीसाथ हस्तलिखित पवित्र धर्मशास्‍‍त्रका अंशहरूको प्रकाश पारे । विवेकशील, पापले दबिएका प्राणी, जो सजाय दिन पर्खिरहनुभएका जसले बदला लिने परमेश्‍‍वर मात्र देख्‍न सक्थे, तिनीहरूलाई आशा दिलाउन नै तिनीहरूको सबभन्दा महान् आनन्द थियो । कामेको ओठ, आँखाभरि आँसुका साथ, र प्रायः घुँड़ा टेकेर तिनले आफ्‍ना दाजु-भाइहरूलाई बहुमूल्य प्रतिज्ञाहरू पापीहरूका एउटै आशालाई तिनीहरूले प्रकट गर्दथे । यसरी धार्मिकताको सूर्यले उहाँको किरणमा आरोग्यता लिएर नचम्किएसम्म सत्यताको ज्योति धेरै अँध्यारो दिमागहरूमा कालो बादलहरू हटाएर प्रवेश गरिनै रह्यो । प्रायजसो धर्मशास्‍‍त्रको एउटै खण्ड बारम्बार पढ्‍दथे, स्रोताहरूले त्यसैलाई दोहोऱ्याएर सुन्‍ने इच्छा प्रकट गर्दथे, आफैले ठीक सुनेको हो कि होइन भनी निश्‍चित गर्दथे । यी शब्दहरूको पुनर्कथनमा विशेष गरी उत्सुकता जनाए: “उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।” १ यूहन्‍ना १:७ । “जसरी मोशाले उजाड़-स्थानमा साँपलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनुपर्छ; यसैले कि उहाँमाथि विश्‍‍वास गर्ने कोही पनि नष्‍ट नहोस्, तर उसले अनन्त जीवन पाओस् ।” यूहन्‍ना ३:१४-१५ (KJV) ।MBAJ 63.2

    कति जना रोमका दाबीहरूको छलबाट उम्के । तिनीहरूले पापीहरूका लागि मानिसहरू वा स्‍वर्गदूतहरूको मध्यस्थता कति व्यर्थ छ भनी बुझे । जब सत्य ज्योति तिनीहरूको दिमागमा उदय भयो तब तिनीहरू आनन्दले चिच्याए: “ख्रीष्‍ट नै मेरो पूजाहारी हुनुहुन्छ; उहाँको रगत मेरो बलिदान हो; उहाँको वेदी मेरो स्‍वीकार गर्ने स्थल हो ।” तिनीहरूले आफैलाई पूर्ण रूपमा येशूको योग्यतामा त्यही शब्द दोहोऱ्याउँदै सुम्पिदिए, “विश्‍‍वासविना परमेश्‍‍वरलाई प्रसन्‍न पार्नु असम्भव छ ।” हिब्रू ११:६ । “किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।” प्रेरित ४:१२ ।MBAJ 63.3

    आँधीले पछारेका कति जना यी दरिद्र हृदयहरूलाई मुक्तिदाताको प्रेमप्रति भरोसाको महसुस गर्न अति कठिन जस्तो देखियो । तिनीहरूमाथि यस्तो ज्योतिको भल बग्यो जसले अति ठूलो शान्ति ल्यायो, कि तिनीहरूलाई स्‍वर्गमै पुगेझैँ लाग्यो । तिनीहरूका हातहरू दृढ भरोसासाथ ख्रीष्‍टका हातहरूमाथि राखे; तिनीहरूका गोड़ाहरू युगहरूको चट्टानमाथि बसाले । मृत्युका सबै डरहरू हराएर गयो । यदि तिनीहरूले झ्यालखाना र आगोबाट मुक्तिदाताको नामको आदर गर्न सक्थे भने तिनीहरूले त्यसको चाहना गर्थे ।MBAJ 64.1

    यसरी गुप्‍त स्थानहरूमा परमेश्‍‍वरको वचन ल्याएर पढ्‍थे, कहिलेकाही एक जनासँग, र कहिलेकाही ज्योति र सत्यताको एउटा एउटा सानो समूहसँग पढ्‍दथे । प्रायः यसरी नै रातभरि बिताउथे । स्रोताहरूका अचम्म र आदर यति महान् हुन्थ्यो कि तिनीहरूले मुक्तिका सुसन्देशहरू समझमा प्रवेश नगरेसम्म कृपाको समाचारवाहकले बारम्बार वाचन कार्य रोक्‍न बाध्य हुन्थे । कहिल्यै पनि वाचनलाई समाप्‍त गर्न कर लगाउँदैन थिए । प्रायः यस्ता शब्दहरू उच्‍चारण हुन्थे: “के परमेश्‍‍वरले निश्‍चय नै मेरो बलिदान स्‍वीकार गर्नुहुन्छ त ? के उहाँ मसँग मुस्कुराउनुहुनेछ ? उहाँले मलाई क्षमा दिनुहुनेछ र ?” उत्तर पठन: “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।” मत्ती ११:२८ (KJV) ।MBAJ 65.1

    विश्‍‍वासले प्रतिज्ञालाई पक्र्यो, अनि खुशीको प्रतिक्रिया सुनियो: “अब लामो तीर्थयात्राहरू गर्नुपर्दैन; पवित्रस्थलहरूतिर दुःखदायी यात्रा आवश्‍‍यक छैन । म जस्तो छु त्यस्तै येशूकहाँ आउन सक्छु, पापपूर्ण र अपवित्र भएपनि उहाँले पश्‍चात्तापी प्रार्थनालाई घृणा गर्नुहुन्‍न । ‘तिम्रो पापहरू क्षमा भएका छन् ।’ मेरो ! मेरो पनि क्षमा हुनसक्छ र !”MBAJ 65.2

    हृदयमा पवित्र आनन्दको तरङ्ग भरिन्थ्यो, र येशूको नामलाई प्रशंसा र धन्यावादसहित उच्‍च पारिन्थ्यो । ती हर्षित मानिसहरू ज्योति छर्न, तिनीहरूको नौलो अनुभव यथाशक्‍य अरूलाई बताउन आ-आफ्‍ना घर फर्के, किनकि तिनीहरूले सत्य र जीवित मार्ग प्राप्‍त गरेका थिए । धर्मशास्‍‍त्रका वचनहरूमा एउटा अनौठो र गम्भीर शक्ति थियो, जसले सत्यता खोजिरहेका थिए तिनीहरूका हृदयहरूमा प्रत्यक्ष कुरा गरे । त्यो परममेश्‍‍वरको आवाज थियो, र त्यसले स्रोताको हृदय छोयो ।MBAJ 65.3

    सत्यताको सन्देशवाहक आफ्‍ना बाटो जान्थे; तर तिनको नम्र प्रस्तुति, स्‍वच्छता, उत्सुकता र जोशहरूका विषयहरूमा बारम्बार विशेष कथन हुन्थ्यो । प्रायजसो स्रोताले तिनी कहाँबाट आए र कहाँ गए भनी सोध्दैनथे । सुरुमा तिनीहरू यति अचम्मले व्याकुल हुन्थे, त्यसपछि तिनीहरू कृतज्ञता र आनन्दले गदगद भएको कारणले तिनीहरूले तिनीप्रति प्रश्‍न गर्ने विचार पनि राख्दैन थिए । जब तिनीहरूले तिनलाई अ-आफ्‍ना घरहरूमा सँगै जाने आग्रह गर्थे, तब तिनले यसरी जवाफ दिन्थे कि तिनी अन्य हराएका बगालका भेड़ाहरूलाई पनि भेट्‍न जानु जरूरी छ । के तिनी शायद एक स्‍वर्गका स्‍वर्गदूत थिए ? तिनीहरूले प्रश्‍न गरे ।MBAJ 65.4

    प्रायजसो सत्यताको सन्देशवाहक फेरि देखिँदैनथे । तिनी अरू देशहरूतिर जान्थे, वा तिनले कुनै अज्ञात् कालकोठरीमा आफ्‍नो जीवन बिताइरहेका हुन्थे, वा सायद जहाँ तिनले सत्यताको लागि साक्षी दिएका थिए त्यहाँ तिनका हड्डीहरू सेतो हुँदै गएका हुन्थे । तर तिनले छोडेका वचनहरू कहिल्यै पनि नष्‍ट हुनै सक्दैनथ्यो । तिनीहरूले आफ्‍ना कामहरू मानिसहरूका हृदयहरूमा गरिरहेका थिए; यसको आशिषित परिमाणहरू न्यायमा मात्र पूर्णरूप प्रकट हुनेछन् ।MBAJ 65.5

    वाल्डेन्सी प्रचारकहरूले शैतानको राज्यलाई आक्रमण गरिरहेका थिए, अनि अन्धकारका शक्तिहरू अधिक मात्रमा सचेत भए । सत्यतालाई फैल्याउने हरेक प्रयासलाई दुष्‍टको राजकुमारले हेरिरहेको थियो, अनि उसले आफ्‍नो प्रतिनिधिहरूप्रति डर उक्सायो । पोपतन्‍‍त्रका अगुवाहरूले यी दीन फिरन्तेहरूका परिश्रमहरूमा तिनीहरूका कार्यप्रति खतराको कुलक्षण देखे । यदि सत्यताको ज्योतिलाई बाधाविना चम्कन दिएको भए त्यसले मानिसहरूलाई छोप्‍ने झूटको बाक्‍लो बादल उड़ाएर लानेथियो । यसले मानिसहरूका दिमागहरू केवल परमेश्‍‍वरतर्फ केन्द्रित गर्ने थियो र अन्तमा रोमको सर्वोच्‍चता नष्‍ट हुनेथियो ।MBAJ 66.1

    जसले प्राचीन चर्चको विश्‍‍वास थामिराखेका थिए ती मानिसहरूको अस्तित्‍वले रोमको पतनको निरन्तर साक्षी थियो, र त्यसकारण सबभन्दा तीतो घृणा र सतावट जागृत पाऱ्यो । तिनीहरूले धर्मशास्‍‍त्र त्याग नगर्दा एक यस्तो अपराध भयो जुन रोमले सहनै सकेन । त्यसले तिनीहरूलाई पृथ्वीबाट मेटाइदिने निर्णय गऱ्यो । अब तिनीहरूका पहाड़ी घरहरूमा परमेश्‍‍वरका जनको विरुद्धमा सबभन्दा डरलाग्दा धर्मयुद्धहरू सुरु भए । सुराकीहरूले तिनीहरूलाई पहिल्याए, हत्यारा कयिनको सामु निर्दोष हाबिल ढलेको दृश्‍‍य बारम्बार दोहोरियो ।MBAJ 66.2

    पटक-पटक तिनीहरूको उब्‍जाउ भएका भूमिहरू उजाड़ पारिए, तिनीहरूका वासस्थानहरू र साना चर्चहरू नष्‍ट पारिए, यसरी जहाँ एक समय तिनीहरूका उन्‍नतिशील खेतहरू थिए र निर्दोष र उद्योगी मानिसहरूका घरहरू थिए त्यहाँ अब उजाड़स्थान भयो । जसरी साह्रै भोको जनावर रगतको स्‍वादले अझैँ रिसाहा हुन्छ, त्यसरी नै तिनीहरूको शिकारका दुःखहरू देखेर पोपतन्‍‍त्रको रिस पनि झन तीब्र रूपले जल्यो । शुद्ध विश्‍‍वासका कैयौँ साक्षीहरूलाई पहाड़हुँदि खेदाउँदै गए र तिनीहरू लुकेका उपत्यकाहरूमा तिनीहरू खोजिए, जहाँ तिनीहरूलाई शक्तिशाली वनहरू र चट्टानका शिखरहरूले ढाकेर राखेका थिए ।MBAJ 66.3

    तिनीहरूले यी निन्दित दर्जाका नैतिक चरित्रको विरुद्धमा कुनै पनि दोष लगाउन सक्दैनथे । तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई शान्ति, निश्‍चिन्त, भक्ति मानिसहरू भनी घोषणा गरे । तिनीहरूको महान् अपराध नै तिनीहरूले पोपको इच्छाअनुसार परमेश्‍‍वरलाई सेवा गर्दैनथे । यही अपराधको कारण मानिसहरू र भूतहरूले आविष्कार गर्न सक्‍ने जति प्रत्येक अपमान, तिरस्कार, यातनाहरू तिनीहरूमाथि थुपारे ।MBAJ 66.4

    एक समय जब रोमले यो घृणित धार्मिक दललाई सर्वनाश पार्ने निर्णय गऱ्यो, तब पोपले तिनीहरूलाई अपधर्मीको दोष लगाउँदै र तिनीहरूलाई मारकाट गरिन सुम्पिदिँदै एउटा आदेश पत्र प्रकाशित गऱ्यो । (एपेण्डिक्समा हेर्नुहोस्) । तिनीहरू अल्छे, अथवा बदमाश, अर्थात् गोलमोल मच्‍चाउने मानिसहरूको रूपमा दोषी ठहरिनन्; तर यसरी घोषणा गरियो कि तिनीहरूले भक्ति र पवित्रता देखाएर “सत्य खोरका भेड़ाहरूलाई बहकाए ।” यसकारण पोपले यसरी हुकुम दियो कि “ती द्रोहीहरूको हिंस्रक र घिनलाग्दो झूटो पन्थले” यदि “तिनीहरूको विश्‍‍वास त्याग्‍न अस्‍वीकार गर्दछन् भने विषालु सर्पलाई झैँ कुच्याउनुपर्छ ।” —Wylie, b. 16, ch. 1. के यो हठी शासकले फेरि ती शब्दहरूको सामना गर्ने अपेक्षा गरेको थियो होला ? के ती कुराहरू न्यायको दिनमा दोष दिन स्‍वर्गीय पुस्तकहरूमा लेखिएका थिए भनी उसलाई थाहा थियो ? येशूले भन्‍नुभयो, “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एक जनालाई जे-जति गऱ्यौ, त्यो तिनीहरूले मलाई नै गऱ्यौ ।” मत्ती २५:४० ।MBAJ 67.1

    यो पोपको आदेशले चर्चका सम्पूर्ण सदस्यहरूलाई अपधर्मीहरूको विरुद्ध धर्मयुद्धमा निमन्‍‍त्रणा गरेको थियो । यो क्रूर कामको इनाम स्‍वरूप, “साधारण र विशेष धार्मिक गल्तीका सजायहरूबाट छुटकारा हुने; धर्मयुद्धमा भाग लिनेहरूको सबै कसमबाट छुटकारा हुने; तिनीहरूले कुनै जग्गा गैरकानुनी रूपमा लिएको छन् भने कानुनी हुने, र कुनै पनि अपधर्मीलाई मारेको जस्ता सबै पाप क्षमा हुने प्रतिज्ञा गरियो । यसले भाउडयको पक्षमा बनाएको सम्पूर्ण प्रतिज्ञा-पत्रहरू रद्द गऱ्यो, नोकरहरूले तिनीहरूलाई त्याग्‍ने हुकुम गरे, कुनै पनि मानिसहरूले तिनीहरूलाई सहयोग गर्न निषेध गरियो, र सबै मानिसहरूलाई तिनीहरूको घर-जग्गा जफत गर्ने शक्ति दिइयो ।” —Wylie, b. 16, ch. 1. यो पत्रिकाले दृश्‍‍यहरूपछि रहेको प्रमुख आत्मालाई प्रकट गर्दछ । त्यहाँ सुनिएको आवाज ख्रीष्‍टको होइन, तर अजिङ्गरको गर्जन सुनिएको छ ।MBAJ 67.2

    पोपतन्‍‍त्रका अगुवाहरूले परमेश्‍‍वरको व्यवस्थाको महान् स्तर अनुरूप आ-आफ्‍ना चरित्रहरू परिवर्तन गर्दैनथे, तर तिनीहरूको इच्छाअनुसारको स्तर स्थापना गरे, र रोमको चाहनाअुनसार सबैलाई परिवर्तन गर्न विवश गराउने निर्णय गरे । सबभन्दा डरलाग्दो र दुःखजनक घटनाहरू गरिएकाे थियो । भ्रष्‍ट र ईश्‍‍वर निन्दक पूजाहारीहरू र पोपहरूले शैतानले तिनीहरूका निम्ति नियुक्त गरेको काम गरिरहेका थिए । तिनीहरूका स्‍वभावहरूमा कृपाको कुनै पनि ठाउँ थिएन । त्यहीँ एउटै आत्माले ख्रीष्‍टलाई क्रूसमा टाँग्यो र प्रेरितहरूलाई माऱ्यो, रक्त प्यासी निरोलाई पनि उसकाे समयमा विश्‍‍वासीहरूको विरुद्धमा उठाउने त्यहीँ आत्मा थियो त्यसले नै परमेश्‍‍वरका प्रिय जनहरूलाई संसारबाट उन्मुलन गर्न लागी परेको थियो ।MBAJ 68.1

    धेरै शताब्दीहरूसम्म तिनीहरूमाथि आएका सतावटहरू यी परमेश्‍‍वरका भक्तहरूले धैर्य र अथक सहनशीलतासाथ सहे, त्यसले तिनीहरूका मुक्तिदातालाई आदर दियो । तिनीहरूको विरुद्धमा तिनीहरू नै केन्द्रविन्दु हुनेगरी धर्मयुद्ध र अमानवीय निर्दयी हत्या भएतापनि तिनीहरूले बहुमूल्य सत्यता छर्न निरन्तररूपमा प्रचारकहरू पठाइरहे । तिनीहरू हत्या गरिनलाई खोजिन्थे; तापनि तिनीहरूको रगतले छरिएको बीउलाई पानी हाल्दथ्यो, र यस कार्यले निश्‍चय नै फल उत्पादन गऱ्यो । यसरी लुथरको जन्म हुनुभन्दा शताब्दीऔँ पहिले नै वाल्डेसीहरूले परमेश्‍‍वरका निम्ति गवाही दिए । तिनीहरूले धेरै देशहरूभरि छरिएर सुधारका बीउहरू रोपे जुन विक्‍लिफको समयमा सुरु भयो, र लुथरको समयमा टाढ़ा र प्रगाढरूपमा फैलिँदै गयो, जो “परमेश्‍‍वरको वचनका निम्ति र येशू ख्रीष्‍टको गवाहीका निम्ति” सबै थोकहरूमा कष्‍ट भोग्‍न तयार हुन्छन् तिनीहरूले नै यसलाई अन्तको समयसम्म नै अगाडि बढ़ाउनुपर्नेछ । प्रकाश १:९ ।MBAJ 68.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents