Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    २ — प्रथम शताब्दीहरूको सतावट

    (अंग्रेजी पुस्तक अध्याय २ पृष्‍ठ ३९)

    जब येशूले आफ्‍ना चेलाहरूलाई यरूशलेमको दशा र दोस्रो आगमनका दृश्‍‍यहरू देखाउनुभयो, तब तिनीहरूबाट उहाँको बिदाइको समय, शक्ति र महिमामा तिनीहरूका छुटकाराको निम्ति उहाँको पुनरागमनको अन्तरालमा हुने उहाँका मानिसहरूको अनुभवलाई उहाँले भविष्यवाणी गर्नुभएको थियो । प्रेरित मण्डलीमाथि आउनै लागेको आँधीं-बेहरीहरू मुक्तिदाताले जैतुनको पहाडदेखि देख्‍नुभयो; उहाँ भविष्यको गहिराइमा डुब्‍नुभयो, र उहाँको आँखाले प्रचण्ड र विनाशकारी आँधीं-बेहरीहरू देख्यो जुन उहाँका चेलाहरूमाथि आगामी अन्धकार र सतावटका युगहरूमा बज्रनै आँटेको थियो । केही संक्षिप्‍त भयपूर्ण सार्थक वक्तव्यहरूमा नै यस संसारका शासकहरूद्वारा परमेश्‍‍वरका मण्डलीमाथि आउने सङ्कष्‍टको विषयमा उहाँले भविष्यवाणी गर्नुभयो । मत्ती २४:९, २१, २२ । तिनीहरूका मालिकले अपमान, निन्दा र कष्‍टको मार्गमा टेक्‍नुभयो र ख्रीष्‍टका चेलाहरूले पनि त्यही मार्गमा हिँड्‍नुपर्छ । संसारको मुक्तिदातामाथि थुप्रिएको दुश्‍‍मनीचाहिँ उहाँको नाममाथि विश्‍‍वास गर्ने सबै जनाको विरुद्ध प्रकट हुनेथियो । MBAJ 25.1

    अघिल्‍लो मण्डलीको इतिहासले मुक्तिदाताका वचनहरूको पूर्णतामा गवाही दिएको थियो । पृथ्वी र नरकका शक्तिहरू ख्रीष्‍टका चेलाहरूको रूप धारण गरेर उहाँको विरुद्ध उठे । मूर्तिपूजक धर्ममा पूर्वज्ञान भयो कि सुसमाचार विजय भयो भने तिनीहरूका मन्दिरहरू र वेदीहरू नष्‍ट हुनेछन्; त्यसकारण त्यसले इसाई धर्म विनाश गर्न त्यसका सेनाहरू बोलायो । सतावटका आगोहरू बल्‍न थाले । इसाईहरूका सम्पत्तिहरू लुटिए र तिनीहरू घरहरूबाट धपाइए । तिनीहरूले “कष्‍टहरूसहित कठोर संघर्ष” सहे । हिब्रू १०:३२ । तिनीहरूले “गिल्‍ला र कोर्राबाजी, बन्धन र कैद पनि भोग्‍नुपऱ्यो ।” हिब्रू ११:३६ । कैयौँ मानिसहरूले आफ्‍नै रगतले आफ्‍नो गवाही सदर गरे । प्रतिष्‍ठित र दास, धनी र गरिब, शिक्षित र अशिक्षित सबै कृपाविना मारिए ।MBAJ 25.2

    निरोको शासनकालमा पावल शहिद भएको समयतिर सुरु भएका यी सतावटहरू शताब्दीऔँसम्म कम वा धेरै उग्रतामा भइरह्यो । इसाईहरूमाथि अति नै भयानक अपराधहरूको झूटो आरोप लगाइयो, र अनिकाल, महामारी र भुइँचालो जस्ता भयंकर विपत्तिहरूका कारण नै तिनीहरू हुन् भनी घोषणा गरे । जब तिनीहरू साधारण घृणा र शंकाको केन्द्रबिन्दु भए तब फाइदाका लागि सुराकीहरू निर्दोषलाई विश्‍‍वासघात् गर्न तत्पर हुन्थे । तिनीहरूलाई साम्राज्यका विद्रोहीहरू, धर्मका शत्रुहरू र समाजका परजिवीहरू भनी दोष लगाए । भीडौँ मानिसहरू जङ्गली जनावरहरूका सामु फालिए वा रङ्गशालामा जिउँदै जलाइए । कति जना क्रूसमा टाँगिए; अरूचाहिँ जङ्गली जनावरहरूका छाला लगाइदिएर कुकुरहरूबाट च्यातचुत पारिन रङ्गशालामा फालिए । आर्थिक लाभ उठाउने सार्वजनिक कार्यक्रमहरूमा तिनीहरूकाे सजायलाई प्रमुख मनोरञ्‍जन बनाउँदथे । ठूलो भीडहरू त्यो दृश्‍‍यमा रम्‍न जम्मा हुन्थे र तिनीहरूले गिल्‍ला र ठट्टासाथ तिनीहरूको मरिरहेकाहरूको संतापमा सलाम गर्थे ।MBAJ 26.1

    जहाँ ख्रीष्‍टका चेलाहरूले शरणस्थान खोजे त्यही जङ्गली जनावरले आफ्‍नो आहाराको शिकार गरेझैँ तिनीहरूको शिकार गरिन्थ्यो । तिनीहरू उजाड़स्थान र एकान्त ठाउँहरूमा लुक्‍ने ठाउँ खोज्‍न बाध्य भए । “कङ्गाल भई क्‍लेश र दुःख पाएर यताउता डुलिहिँडे । संसार तिनीहरूका निम्ति योग्यको थिएन । मरुभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओडारहरू हुँदो तिनीहरूले घुमिहिँड्‍नुपऱ्यो ।” हिब्रू ११:३७-३८ । सुरुङहरूले हजारौँंलाई सुरक्षास्थान प्रदान गरे । रोम शहरभन्दा बाहिर पहाडहरूमुनि पृथ्वी र चट्टान छेड्‍दै लामा सुरुङहरू बनाइएको थियो; ती अँध्यारा र जटिल मार्गहरू जोडिदै शहरका पर्खालहरूभन्दा धेरै माइल टाढासम्म पुगेका थिए । ख्रीष्‍टका चेलाहरूले यी भूमिगत एकान्तवासहरूमा तिनीहरूका लाश गाड्‍थे; र जब तिनीहरूलाई आशंका र कानुनी सुरक्षाबाट बञ्‍चित गरिन्थ्यो तब त्यहाँ तिनीहरूले एउटा घर भेटाउथे । ज-जसले असल लडाइँ लडेका छन्, जब जीवनदाताले तिनीहरूलाई बौरी उठाउनुहुनेछ, तब धेरै जना ख्रीष्‍टका निम्ति शहिद हुनेहरू ती अँध्यारो गहिरा गुफाहरूदेखि निस्किआउनेछन् ।MBAJ 26.2

    यी येशूका साक्षीहरूले प्रचण्ड सतावटमा पनि तिनीहरूका निष्खोट विश्‍‍वास कायम राखे । तिनीहरू प्रत्येक सुख-सुविधाबाट बञ्‍चित थिए, घामको प्रकाशरहित थिए, तिनीहरूले अँध्यारो भएपनि पृथ्वीको न्यानो काखमा आफ्‍नो घर बनाए, यद्यपि तिनीहरूले गनगनचाहिँ गरेनन् । तिनीहरूले एक-अर्कालाई विश्‍‍वास, धैर्य र आशाका शब्दहरूले अभाव र नैराश्‍‍यमा साहस दिन्थे । हरेक सांसारिक आशिष् गुमाउनु परेतापनि तिनीहरूलाई ख्रीष्‍टको विश्‍‍वास इन्कार गर्न कर लगाउन सक्दैनथे । सङ्कष्‍टहरू र सतावटले त तिनीहरूलाई झन विश्राम र इनामतर्फ नजिक लगिरहेको थियो ।MBAJ 26.3

    प्राचीन समयको परमेश्‍‍वरका दासहरूले झैँ धेरै जनाले “अझ उत्तम जीवन प्राप्‍त गर्नलाई छुटकारा इन्कार गरेर बरु सास्ती भोगे ।” हिब्रू ११:३५ । यिनीहरूले आफ्‍ना प्रभुका वचनहरू स्मरण गरे, जब तिनीहरू ख्रीष्‍टको नाउँका खातिर सतावट भोग्दा तिनीहरू अत्यन्तै खुशी हुनुपर्ने थिए, किनकि तिनीहरूको इनाम स्‍वर्गमा महान् हुनेथियो । यसरी नै तिनीहरूभन्दा पहिलाका अगमवक्ताहरूले पनि सतावट भोगेका थिए । तिनीहरू सत्यताको खातिर कष्‍ट भोग्‍ने योग्य ठहरिएकोले आनन्दित भए, र दन्किरहेको ज्यालाहरू बीचबाट पनि तिनीहरूले विजयका गीतहरू गाए । तिनीहरूले विश्‍‍वासद्वारा मास्तिर हेर्दा ख्रीष्‍ट र स्‍वर्गदूतहरू स्‍वर्गीय किल्‍लाहरूका पर्खालहरूमा अडेसो लगाएर तिनीहरूमाथि सबभन्दा गहिरो चाखका साथ तिनीहरूको दृढतामा सहमत जनाइरहनुभएको देखे । परमेश्‍‍वरको सिंहासनबाट तिनीहरूकहाँ एउटा आवाज निस्केर आयो, “तिमी मृत्युसम्मै विश्‍‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु ।” प्रकाश २:१० ।MBAJ 27.1

    ख्रीष्‍टको मण्डलीलाई आतंकद्वारा नष्‍ट गर्ने शैतानका प्रयासहरू व्यर्थ भए । जब यी विश्‍‍वासयोग्य झण्डा वाहकहरू तिनीहरूका निर्दिष्‍ट स्थानमा लडे, तब येशूका चेलाहरूले आफ्‍ना प्राण त्यागेका महान् विवाद त्यतिकै अन्त भएन । पराजय भएर नै तिनीहरूले विजय हासिल गरे । परमेश्‍‍वरका कार्यकर्ताहरूको हत्या भयो, तर उहाँको कार्य सुदृढ भएर अगाडि बढ्यो । सुसमाचार निरन्तर फैलिरह्यो र विश्‍‍वासीहरूका सङ्ख्या पनि बढ्‍दै गयो । रोमी सेनाहरूका लागि असम्भव क्षेत्रहरूमा पनि त्यो सुसमाचार प्रवेश गऱ्यो । सतावट अगाडि बढाउन दबाब दिने मूर्तिपूजक शासकहरूसँग तर्क गर्दै एकजना इसाईले भने: तपाईंहरूले “हामीलाई मार्न, दोषी ठहऱ्याउन, शास्ति दिन” त सक्‍नुहुन्छ, “हामी निर्दोष छौं भनी तपाईंहरूको अन्यायले नै प्रमाण दिन्छ, ... नता तपाईंहरूको क्रूरताले ... तपाईंहरूलाई केही लाभ नै हुन्छ ।” त्यो त तिनीहरूका विश्‍‍वासमा अरूलाई ल्याउने अझै शक्तिशाली निमन्‍‍त्रणा पो भयो । “जति नै हामी तपाईंहरूद्वारा काटिएका छौं, हामी सङ्ख्यामा त्यति नै बढ्‍छौं; इसाईहरूको रगत नै बीउ हो ।” —Tertullian, Apology, paragraph 50.MBAJ 27.2

    हजारौँ-हजारलाई बन्दी र हत्या गरियो, तर तिनीहरूका स्थानमा अरू खडा भए । अनि जो-जो आफ्‍ना विश्‍‍वासका खातिर शहिद भएका थिए, तिनीहरू ख्रीष्‍टमा सुरक्षित भए र उहाँद्वारा विजेता घोषित भए । तिनीहरूले असल लडाइँ लडेका थिए, र जब ख्रीष्‍ट आउनुहुन्छ तिनीहरूले महिमाको मुकुट प्राप्‍त गर्नुपर्ने थिए । तिनीहरूले भोगेका दुःखहरूले एक-अर्काप्रति साथै मुक्तिदाताप्रति अझै घनिष्‍ट सम्बन्ध निर्माण गरे । तिनीहरूको जिउँदो उदाहरण र मरिरहेको साक्षी सत्यताका खातिर निरन्तर गवाही भइरह्यो; जहाँ अल्प आशा गरिएको थियो, त्यहीबाट शैतानका जनताहरूले उसको सेवा छोडेर ख्रीष्‍टको झण्डामुनि दर्ता गरे ।MBAJ 27.3

    त्यसकारण शैतानले इसाई चर्चमा नै उसको झण्डा खडा गरेर परमेश्‍‍वरको सरकार विरुद्ध अझै सफलतापूूर्वक लडाइँ गर्ने योजनाहरू बनायो । यदि ख्रीष्‍टका चेलाहरू बहकिन सकेको भए र परमेश्‍‍वरलाई दुःखी पार्न सकेको भए, तिनीहरूको बल, धैर्यता र दृढता हराएर जानेथियो, अनि तिनीहरू सहजै त्यसको आहारा बनी पतन हुनेथिए ।MBAJ 28.1

    ठूलो दुश्‍‍मनले अब कौशलताद्वारा प्राप्‍त गर्ने प्रयास गरे जुन उसले शक्तिद्वारा प्राप्‍त गर्न असफल भएको थियो । सतावट समाप्‍त भयो, त्यसको सट्टामा अस्थायी उन्‍नति र सांसारिक प्रतिष्‍ठाका खतराजनक प्रलोभनहरू देखाए । मूर्तिपूजकहरूले इसाई विश्‍‍वासको केही भाग स्‍वीकार गर्ने दाबी गरेता पनि तिनीहरूले अन्य अत्यावश्‍‍यक सत्यताहरू अस्‍वीकार गरे । तिनीहरूले येशूलाई परमेश्‍‍वरको पुत्र स्‍वरूप स्‍वीकार गर्ने र उहाँको मृत्यु र पुनरुत्थानमा विश्‍‍वास गर्ने दाबी गरे, तर तिनीहरूले पापको दोष-प्रमाण र पश्‍चात्ताप वा हृदय परिवर्तनको आवश्‍‍यकता महसुस गरेनन् । तिनीहरूले आफ्‍नो पक्षबाट केही कुराहरू त्याग गर्दै इसाईहरूलाई पनि तिनीहरूका केही अंश त्याग गर्नुपर्ने प्रस्ताव राखे, ताकि सबै ख्रीष्‍टको विश्‍‍वासको चौतारामा एकता हुन सकून् ।MBAJ 28.2

    अब चर्च भयानक जोखिममा थियो । यसको तुलनामा त कैद, यातना, आगो र तरवार नै आशिष् थिए । कतिजना इसाईहरूले दृढतासाथ उभिदै घोषणा गरे कि कुनै पनि सम्झौता हुनै सक्दैन । अरूहरू आफ्‍नाे विश्‍‍वासका केही विशेषताहरूलाई त्याग गर्ने र संशोधन गर्ने पक्षमा थिए र तिनीहरूको पूर्ण परिवर्तनको माध्यम हुन सक्छ भन्‍ने जोड दिँदै केही अंश स्‍वीकार गर्ने इसाईहरूसँग एक हुन मन्‍जुर भए । योचाहिँ ख्रीष्‍टका विश्‍‍वासयोग्य चेलाहरूका निम्ति गहिरो संतापको समय थियो । शैतान आफै इसाईको भेष धारण गरेर तिनीहरूका विश्‍‍वास भ्रष्‍ट पार्न र सत्यताको वचनहरूबाट दिमाग फर्काउन चर्चभित्र बिस्तारै प्रवेश गरिरहेको थियो ।MBAJ 28.3

    अन्तमा धेरै जना इसाईहरू आफ्‍नाे स्तर तल झार्न सहमत भए, इसाई धर्म र मूतिपूजाक धर्मको बीचमा एकता कायम भयो । मूर्तिपूजकहरू परिवर्तन भएको बहाना गरिकन चर्चमा संमावेश भएतापनि तिनीहरूका पूज्य वस्तुहरू जस्तै येशू, मरियम र सन्तहरूका प्रतिमामा परिवर्तन गरेर पूजा गर्दै तिनीहरूकाे मूर्तिपूजक विचारमा अडिरहे । मूर्तिपूजाको दुर्गन्धित खमिर यसरी चर्चमा भित्रिएपछि त्यसको घृणित काम निरन्तर भई नै रह्यो । त्यसकाे सेवा र विश्‍‍वासमा अनुचित सिद्धान्तहरू, अन्धविश्‍‍वासी विधिहरू, मूर्तिपूजक चाडपर्वहरू समावेश भएका थिए । जब ख्रीष्‍टका चेलाहरू मूर्तिपूजकहरूसँग संयुक्त भए, तब इसाई धर्म भ्रष्‍ट भयो, चर्चले त्यसको शुद्धता र शक्ति गुमायो । त्यहाँ कुनै यस्ता मानिसहरू पनि थिए जोचाहिँ जेभएपनि ती छलहरूद्वारा बहकिएनन् । तिनीहरूले सत्यताका रचनाकारको भक्तिलाई कायम राखे र परमेश्‍‍वरलाई मात्र सेवा गरे ।MBAJ 29.1

    पहिलेदेखि नै ख्रीष्‍टका चेला हौं भनी दाबी गर्नेहरू दुई वर्गमा विभाजित हुँदै आएका छन् । जहाँ एक वर्गले मुक्तिदाताको जीवनी पढ्‍छन् र उत्साहसाथ चरित्रका खोटहरूलाई सुधार्न तत्पर हुन्छन् र देखाइएका नमुनामुताबिक प्रयास गर्छन् भने अर्को वर्गले चाहिँ तिनीहरूको गल्ती प्रकट गर्ने प्रत्यक्ष र व्यवहारिक सत्यतालाई ठाडै अस्‍वीकार गर्दछन् । चर्चमा त्यसको उत्कृष्‍ट अवस्थामा पनि पूर्णरूपले सत्य, शुद्ध र निष्कपटताद्वारा स्थापित भएको थिएन । हाम्रा मुक्तिदाताले सिकाउनुभयो कि जसले जानीजानी पाप गरिरहन्छ त्यसलाई चर्चमा स्‍वीकार नगर्नू; तापनि उहाँले चरित्रखोटीहरूलाई आफैकहाँ तान्‍नुभयो, तिनीहरूलाई उहाँकाे उदाहरण र शिक्षाका लाभहरू प्रदान गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना गल्तीहरू आफैले देख्‍ने र सुधार्ने मौका पाऊन् । बाह्र जना पेरितहरूमध्ये एउटाचाहिँ धोकेवाज थियो । यहूदाको चरित्रमा खोट हुँदाहुँदै पनि उहाँले उसलाई स्‍वीकार गर्नुभयो, तर उसको खोटको कारणले चाहिँ होइन । ऊ चेलाहरूसँग सम्बन्धित थियो, ताकि ख्रीष्‍टका उदाहरण र शिक्षाद्वारा इसाई चरित्रका गुणहरू सिक्‍न सकोस्, यसरी आफ्‍ना गल्तीहरू देखोस् र पश्‍चात्ताप गर्न सकोस् र दैवीय अनुग्रहको सहायताद्वारा “सत्यता पालन गरेर” उसको आत्मा शुद्ध पार्न सकोस् । तर यति धेरै अनुग्रहका साथ चम्काएको ज्योतिअनुसार यहूदा हिँड़ेन । पापको अतिभोगद्वारा उसले शैतानको परीक्षा निम्त्यायो । उसका खराब चरित्रगुणहरू प्रबल बने । उसले आफ्‍नो दिमाग अन्धकारका शक्तिको नियन्‍‍त्रणमा सुम्पिदिएको थियो, उसका गल्तीहरू देखाउँदा ऊ रिसायो, यसरी उसले आफ्‍नो मालिकलाई धोका दिने जस्ता भयानक अपराध गर्न पुग्यो । ज-जसले भक्तिको भेष लिएर दुष्‍टतालाई मनमा आश्रय दिन्छन् र पापकर्मलाई दोष देखाउँदा मन बेचैन पारेर घृणा गर्छन् तिनीहरू सब त्यसै गर्छन् । जब उपयोगी मौका प्रकट हुन्छ यहूदाले झैँ तिनीहरूले पनि उनीहरूकै भलाइका निम्ति सच्याउने व्यक्तिहरूलाई धोका दिनेछन् ।MBAJ 29.2

    चर्चमा भक्तिको भेष धारण गरेर पनि गुप्‍तरूपमा अधर्मलाई आश्रय दिनेहरूसँग प्रेरितहरूले सामना गरेका थिए । हननिया र सफिराले पनि परमेश्‍‍वरलाई सम्पूर्ण बलिदान गर्ने बहाना गरी धोकेवाजी व्यवहार गरे र तिनीहरूले लोभ गरेर केही भाग आफ्‍नो लागि बचाएर लालचसाथ लिए । सत्यको आत्माले प्रेरितहरूलाई कपटीहरूको वास्तविक चरित्र प्रकट गर्नुभयो, अनि परमेश्‍‍वरको इन्साफले चर्चका मैलाहरू हटाएर त्यसलाई शुद्ध पार्नुभयो । चर्चमा ख्रीष्‍टको सर्वज्ञानी आत्माको स्पष्‍ट प्रमाण देखेर पाखण्डीहरू र दुष्‍टकारकहरू भयभीत भए । ज-जसले बानी र स्‍वभावद्वारा हरपल ख्रीष्‍टको प्रतिनिधित्‍व गरेका थिए तिनीहरूसँग अब उप्रान्त सम्बन्ध कायम राख्‍न सकेनन्; जब चेलाहरूमाथि कष्‍ट र परीक्षा आइपऱ्यो, तब जसले सत्यताको खातिर सबथोक त्याग्‍न तयारी भए, तिनीहरूले मात्र उहाँका चेलाहरू बन्‍ने इच्छा गरे । त्यसरी जबसम्म सतावट भइरह्यो तबसम्म तुलनात्मक रूपमा चर्च शुद्ध नै थियो । तर जब सतावट अन्त भयो, तब इमान्दारी र समर्पित नभएका अरू विश्‍‍वासीहरू थपिए, यसद्वारा शैतानले खुट्टा हाल्‍ने मौका पायो ।MBAJ 30.1

    तर ज्योतिको राजकुमार र अन्धकारको राजकुमारको बीच कुनै सम्बन्ध छैन, र तिनीहरूका अनुयायीहरूको बीचमा पनि कुनै सम्बन्ध हुनै सक्दैन । जब इसाईहरूले अल्प परिवर्तित मूर्तिपूजकसँग एकत्रित हुने सहमति जनाए, तब तिनीहरू यस्तो मार्गमा प्रवेश गर्न पुगेको थिए जसले तिनीहरूलाई सत्यताबाट टाढ़ा-टाढ़ा पुऱ्याउँदथ्यो । शैतानले ख्रीष्‍टका चेलाहरूमध्ये विशाल सङ्ख्यालाई बहकाउन सफल भएको कारण ऊ अति हर्षित भयो । त्यसपछि उसले तिनीहरूलाई उसको पूर्ण शक्ति प्रदान गरी परमेश्‍‍वरमा बफादारी रहेका सत्य विश्‍‍वासीहरूलाई सतावट गर्न प्रोत्साहन दियो । विगतमा सत्य विश्‍‍वासलाई प्रतिरक्षा गर्नेहरूले बाहेक अरू कसैसँग पनि त्यसलाई प्रतिकार गर्ने ज्ञान थिएन; त्यसपछि यी पतित इसाईहरूले अर्ध-मूर्तिपूजक साथीहरूसँग मिलेर ख्रीष्‍टका सिद्धान्तको उत्कृष्‍ट विशेषताहरू विरुद्ध गरिएको लड़ाइँमा अगुवाइ गरे ।MBAJ 31.1

    तिनीहरूले पवित्रताको भेष धारण गराएर छलहरू र घिनलाग्दा कामहरू चर्चमा प्रवेश गराए, विश्‍‍वासयोग्य जनहरूले त्यसको विरुद्धमा कठोर संघर्ष गर्नुपऱ्यो । विश्‍‍वासको स्तर स्‍वरूप बाइबल स्‍वीकार्य भएन । धार्मिक स्‍वतन्‍‍त्रताको सिद्धान्तलाई झूटो शिक्षाको उपनाम दिइयो, यसका समर्थकहरूलाई घृणा गरियो र बहिष्कार गरियोMBAJ 31.2

    लामो समयको कडा संघर्षपछि केही विश्‍‍वासयोग्य मानिसहरूले निर्णय गरे कि यदि पतित मण्डलीले आफूलाई झूटो र मूर्तिपूजाबाट अझै अलग हुन अस्‍वीकार गरे भने तिनीहरूसँग भएको सम्बन्ध पूर्ण विच्छेद् गर्नुपर्दछ । यदि तिनीहरूले परमेश्‍‍वरको वचन पालन गर्नुपर्छ भने पूर्ण विभाजनको आवश्‍‍यकता छ भन्‍ने कुरा तिनीहरूले महसुस गरे । तिनीहरूले आत्मघाती झूटहरूलाई सहन गरेर आफ्‍ना छोराछोरी र नाति-नातिनीहरूकाे विश्‍‍वासमा जोखिमपूर्ण उदाहरण छोड्‍ने साहस गरेनन् । तिनीहरू परमेश्‍‍वरको भक्ति अनुरूप कुनै उपयुक्त कुरा त्याग गरेर शान्ति र एकता प्राप्‍त गर्न तत्पर थिए; तर शान्ति पनि यति धेरै मूल्यवान् थिएन जसमा तिनीहरूले सिद्धान्त नै बलिदान गर्नु परून् । यदि धार्मिकता र सत्यताको सम्झौताद्वारा मात्र एकता सम्पन्‍न हुन्छ भने, बरु विभाजन र लड़ाइँ नै होस् ।MBAJ 31.3

    यदि ती दृढ मानिसहरूमा परिचालन भएका सिद्धान्तहरू परमेश्‍‍वरकाे नाम धारण गर्ने जनको हृदयमा जागृत भएको भए चर्च र संसारलाई असल हुनेथियो । सिद्धान्तहरूको सन्दर्भमा एउटा डरलाग्दो हेलचेक्राइँ भएको छ जुनचाहिँ इसाई विश्‍‍वासका स्तम्भहरू हुन् । यी कुराहरूको केही महत्‍व छैन भन्‍ने विचारधाराले सोको ठाउँ ओगटेको छ । यो नीचकर्मले शैतानका औजारहरूका हातहरू बलियो पारिरहेको छ, ताकि झूटो शिक्षा र घातक छलहरू जुन विगतका युगहरूका विश्‍‍वासयोग्य मानिसहरूले आफ्‍नो जीवन जोखिममा पारेर अस्‍वीकार गरेका थिए, अहिले हजारौँ ख्रीष्‍टको चेला दाबी गर्नेहरूले त्यसलाई खुशीसाथ अपनाएका छन् ।MBAJ 32.1

    अघिल्‍ला इसाईहरू साँच्‍चै नै निजी जाति थिए । तिनीहरूको निष्खोट कार्य र दृढ विश्‍‍वासले पापीहरूलाई निरन्तर हप्की दिएको थियो जसले तिनीहरूलाई अशान्त पार्दथ्यो । तिनीहरू सङ्ख्यामा थोरै, गरिब, सम्मानयुक्त र पदविना भएपनि जहाँ तिनीहरूका चरित्र र सिद्धान्तहरूका विषयमा जानेका थिए त्यहाँ दुष्‍ट मानिसहरू तिनीहरूदेखि आतंकित हुन्थे । जसरी भक्तिहीन कयिनले हाबिललाई घृणा गर्थ्यो त्यसरी नै तिनीहरू दुष्‍टहरूबाट घृणित भएका थिए । जसले पवित्र आत्माको नियन्‍‍त्रणलाई लत्याउन चाहन्छन् तिनीहरूले परमेश्‍‍वरका जनहरूलाई मृत्युदण्ड दिए, त्यसरी नै कयिनले पनि हाबिललाई माऱ्यो । यहूदीहरूले मुक्तिदातालाई अस्‍वीकार गर्ने र क्रूसमा टाँग्‍ने कारण पनि यही नै थियो—किनभने उहाँको पवित्र र शुद्ध चरित्रले तिनीहरूको स्‍वर्थीपन र भ्रष्‍टतालाई सँधै औंल्याइरहेको थियो । ख्रीष्‍टको समयदेखि लिएर वर्तमानसम्म नै उहाँका योग्य चेलाहरूले पापको मार्ग मन पराउनेहरूलाई घृणा र विरोध उत्तेजित पारेका छन् ।MBAJ 32.2

    त्यसो भए कसरी सुसमाचार शान्तिको सन्देश भन्‍न सकिन्छ त ? जब यशैयाले मसीह जन्मने अगमवाणी गर्दा, यसरी सम्बोधन गरेका थिए, “शान्तिको राजकुमार ।” जब स्‍वर्गदूतहरूले गोठालाहरूलाई येशू जन्मेको सन्देश सुनाए, तब बेतलेहेमको मैदान माथि “परमधाममा परमेश्‍‍वरलाई महिमा र पृथ्वीमा शान्ति, मानिसप्रति शुभेच्छा” भनेर गाए । लूका २:१४ (KJV) । यी अगमवाणी र ख्रीष्‍टका भनाइहरूले सहमति जनाउँदैन जस्तो देखिन्छ: “म मिलाप ल्याउन होइन, तर तरवार चलाउन आएँ ।” मत्ती १०:३४ (KJV) । तर सही ढंगले सोचेमा दुवैले एकदमै पूर्णरूपमा सहमति जनाएको छ । सुसमाचार एउटा शान्तिको सन्देश हो । इसाई धर्म भनेको एउटा प्रणाली हो, यसलाई प्राप्‍त गरे पश्‍चात् व्यवहारमा लागू गरे मात्र संसारभरि शान्ति, मिलन, हर्षपन फैल्याउन सक्छ । ख्रीष्‍टको धर्मले उहाँका शिक्षाहरू स्‍वीकार गर्ने सबैलाई भातृ प्रेमको बन्धनमा बाँधिदिन्छ । यसरी येशूको कार्यले नै मानिसहरूलाई परमेश्‍‍वरप्रति र एक-अर्कासँग पुनः सम्बन्ध सृजना गर्नुपर्ने थियो । तर संसारका धेरै जसो मानिसहरू नै ख्रीष्‍टको निर्दयी शत्रु शैतानको नियन्‍‍त्रणमा छन् । सुसमचारले जीवनका सिद्धान्तहरू दर्शाइ दिन्छ जुनचाहिँ तिनीहरूको बानी र इच्छाभन्दा निकै फरक छन्, जसको कारण तिनीहरू त्यसको विरुद्धमा विद्रोही भई उठ्‍दछन् । तिनीहरूको पापलाई दोषी ठहऱ्याउने र प्रकट गर्ने शुद्धतालाई घृणा गर्दछन्, जसले तिनीहरूलाई त्यसको न्यायसङ्गत र पवित्र दाबीहरूमा अनुरोध गर्छन् तिनीहरूलाई सताउँछन् र नष्‍ट पार्दछन् । बेला बखतमा उच्‍च सत्यताको कारण घृणा र झगड़ा उत्पन्‍न हुन्छ, यस्तो अवस्थामा सुसमाचारलाई तरवार भनिएको हो ।MBAJ 32.3

    रहस्यमय ईश्‍‍वरीय कृपाले धर्मीहरूलाई दुष्‍टहरूको हातबाट सतावटमा पर्ने अनुमति दिइएको कारणले विश्‍‍वासमा कमजोर हुनेहरू ठूलो चिन्तामा परेका छन् । यस्ता अधर्मी मानिसहरूको विजय भई सबभन्दा असल र शुद्ध मानिसहरूले चाहिँ क्रूर शक्तिबाट यातना र पीड़ा भोग्‍नुपर्दा कति जनाले परमेश्‍‍वरप्रति भएको भरोसालाई त्यागिदिन पनि तयार छन् । यस्तो प्रश्‍न आयो, तब एक व्यक्ति जो न्यायसङ्गत र अनुग्रहकारी, जसको असीमित शक्ति छ, उहाँले यस्तो अत्याचार र अन्याय कसरी सहन सक्‍नुहुन्छ र ? यस्तो प्रश्‍नमा हाम्रो केही सरोकार छैन । परमेश्‍‍वरले हामीलाई पर्याप्‍त प्रेमको प्रमाण दिनुभएको छ, उहाँको अगुवाइमा सम्पन्‍न भएको काम बुझ्‍न नसकेता पनि उहाँको भलाइमाथि शंङ्का गर्नु हुँदैन । मुक्तिदाताले उहाँका चेलाहरूलाई अन्धकार र कष्‍टका दिनहरूमा तिनीहरूको आत्मालाई शङ्काले दबाउनेछ भनी जानेर भन्‍नुभयो: “दास आफ्‍नो मालिकभन्दा ठूलो हुँदैन भनी मैले तिमीहरूलाई भनेको वचन याद गर । तिनीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् ।” यूहन्‍ना १५:२० (KJV) । येशूले दुष्‍ट मानिसहरूबाट कुनै पनि उहाँका चेलाहरूले सहन सक्‍ने क्रूरताभन्दा अधिक मात्रामा उहाँले हाम्रो खातिर सहनुभयो । जो शहिद हुन र यातना सहन बोलाइएका छन् तिनीहरूले परमेश्‍‍वरको प्रिय पुत्रले छोडेका खुड्‍किल्‍लाहरूमा नै टेकेका छन् ।MBAJ 33.1

    आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍न । २ पत्रुस ३:९ । उहाँले आफ्‍ना छोराछारीहरूलाई कहिल्यै भुल्‍नुहुन्‍न वा हेलचेक्राइँ गर्नुहुन्‍न; तर उहाँले दुष्‍टहरूलाई उनीहरूको सत्य चरित्र प्रकट गर्ने मौका दिनुहुन्छ, ताकि उहाँको इच्छा पूरा गर्न चाहनेहरू कोही पनि तिनीहरूलाई देखेर भ्रममा नपरोस् । अनि धर्मीहरू कष्‍टको भट्टीमा जकड़िएका छन्, ताकि तिनीहरू आफै शुद्ध होऊन्, र तिनीहरूको साँचो भक्ति र विश्‍‍वासले अरूका निम्ति उदाहरण बन्‍न सकोस्; र तिनीहरूको निरन्तर कार्यले अधर्मी र अविश्‍‍वासीहरूलाई दोषी ठहऱ्याउन सकोस् ।MBAJ 33.2

    परमेश्‍‍वरले दुष्‍टहरूको उन्‍नति हुने र उहाँप्रति भएको तिनीहरूको दुश्‍‍मनी प्रकट गर्ने मौका दिनुहुन्छ, ताकि तिनीहरूको अपराधको कचौरा भरिएपछि सबैले उहाँका न्याय र कृपा तिनीहरूको पूर्ण विनाशमा देख्‍नेछन् । उहाँको बद्‍ला लिने दिन चाँडै आउँदैछ, जसले उहाँको आज्ञा भङ्ग गरे र उहाँका मानिसहरूलाई दबाए, तिनीहरूले आफ्‍नो कार्यको प्रतिफल पाउनेछन्; परमेश्‍‍वरका विश्‍‍वासीहरूलाई गरिएको हरेक अन्याय र क्रूर कार्यको सजाय ख्रीष्‍टलाई गरेझैँ हुनेछ ।MBAJ 34.1

    वर्तमान् चर्चहरूले ध्यान दिनुपर्ने अझै महत्‍वपूर्ण एउटा अर्को प्रश्‍न छ । प्रेरित पावलले भन्छन्, “ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन् ।” २ तिमोथी ३:१२ । त्यसो भए किन सतावट सेलाएको जस्तै देखिन्छ त ? किनभने वर्तमान् चर्च सांसारिक स्तरमा परिवर्तन भएको कारण कसैले विरोध गर्दैन । हाम्रो समयमा भएको धर्ममा ख्रीष्‍ट र प्रेरितहरूको दिनमा भएको इसाई विश्‍‍वासको पवित्र र शुद्ध चरित्र छैन । पापसँग सम्झौता गर्ने सोचबिचारको कारण, परमेश्‍‍वरको वचनको महान् सत्यतालाई महत्‍व नदिएको कारण र चर्चमा भक्ति जीवन नभएको कारणले नै इसाईजगत देखावटीरूपले प्रचलित भएको छ । अघिल्‍लो चर्चमा भएको विश्‍‍वास र शक्तिको जागृति भए सतावटको आत्मा पुर्नजिवित हुनेछ, र सतावटको आगो फेरि जल्‍नेछ ।MBAJ 34.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents