६ — हस र जेरोम
- परिचय
- १ — येरूशलेमको विनाश
- २ — प्रथम शताब्दीहरूको सतावट
- ३ — आत्मिकी अन्धकारको युग
- ४ — वाल्डेन्सीहरू
- ५ — जोन विक्लिफ
- ६ — हस र जेरोम
- ७ — रोमबाट लुथरको विच्छेदन
- ८ — परिषद् सामुन्ने लुथर
- ९ — स्वीजरल्याण्डका सुधारक
- १० — जर्मनीमा सुधारको विकास
- ११ — राजकुमारहरूको प्रतिरोध
- १२ — फ्रान्सको सुधार-कार्य
- १३ — नेदरल्याण्ड र स्कान्डिनेभिया
- १४ — अङ्ग्रेजको पछिल्ला सुधारकहरू
- १५ — बाइबल र फ्रान्सको क्रान्ति
- एपेण्डिक्स
Search Results
- Results
- Related
- Featured
- Weighted Relevancy
- Content Sequence
- Relevancy
- Earliest First
- Latest First
- Exact Match First, Root Words Second
- Exact word match
- Root word match
- EGW Collections
- All collections
- Lifetime Works (1845-1917)
- Compilations (1918-present)
- Adventist Pioneer Library
- My Bible
- Dictionary
- Reference
- Short
- Long
- Paragraph
No results.
EGW Extras
Directory
६ — हस र जेरोम
(अंग्रेजी पुस्तक अध्याय ६ पृष्ठ ९७)
नवौँ शताब्दीतिर बोहिमियामा सुसमाचार सुरु भएको थियो । त्यही समयमा मानिसहरूको भाषामा बाइबल अनुवाद भयो र सार्वजनिक सेवाहरू भए । तर जब पोपको शक्ति प्रबल हुँदै गयो तब परमेश्वरको वचन लोप हुँदै गयो । ग्रेगोरी सातौँले राजाहरूको घमण्डलाई झार्ने स्वाधिकार लिएको थियो, तिनले मानिसहरूलाई दासत्वमा पार्ने उद्देश्य पनि त्यत्ति नै राखेका थिए, र त्यसअनुसार तिनले बोहिमियाको भाषामा सार्वजनिक सेवालाई निषेध गर्दै एउटा घोषणा पत्र जाहेर गरे । पोपले भने, “सर्वशक्तिमान् यसमा नै खुशी थियो कि उहाँको सेवा अज्ञात् भाषामा गरिऊन्, र यो कानुनलाई पालन नगरेको कारणले धेरै दुष्टताहरू र अपधर्महरूको सुरुवात भएको थियो ।” —Wylie, b. 3, ch. 1. यसरी रोमले परमेश्वरको वचनको ज्योति निभाउनुपर्छ र मानिसहरूलाई अन्धकारमा बन्द गर्नुपर्छ भन्ने आदेश जारी गऱ्यो । तर स्वर्गले चर्चलाई सुरक्षा गर्न अन्य माध्यमहरूको प्रबन्ध गरेको थियो । फ्रान्स र इटालीका वाल्डेन्सी र अल्बजेन्सीहरूमध्ये धेरै जना सतावटद्वारा उनीहरूका घरहरूबाट खेदिए र तिनीहरू बोहिमियामा आए । तिनीहरूले खुल्लम खुल्ला सिकाउने आँट नगरेतापनि गुप्तरूपमा जोशसाथ परिश्रम गरे । यसरी युगदेखि युगसम्म सत्य विश्वासको संरक्षण भयो ।MBAJ 91.1
हसको समयभन्दा पहिले बोहिमियामा यस्ता मानिसहरू थिए जुन मानिसहरू चर्चको भ्रष्टता र मानिसहरूको दुश्चरित्रतालाई प्रत्यक्ष दोष दिन उठे । तिनीहरूका कामहरूले व्यापकरूपमा चाहना जागृत पाऱ्यो । पुरोहित शासनको त्रास जागृत भयो र सुसमाचारका अनुयायीहरूको विरुद्धमा सतावट हुन थाल्यो । विश्वासीहरू जङ्गल र पहाड़हरूतिर सेवा गर्न बाध्य भए, तिनीहरूलाई सिपाहीहरूले शिकार गरे, र धेरै जना मारिए । केही समयपछि यस्तो आदेश गरियो कि रोमी धर्मको सेवा त्याग्ने सबैलाई जलाउनुपर्छ । तर इसाईहरूले तिनीहरूको प्राण त्याग्दै गर्दा तिनीहरूले आफ्नो कामको विजयमा आशा राखे । “क्रूसमा मर्नुभएको मुक्तिदातामाथि विश्वास गर्नेहरूले मात्र मुक्ति प्राप्त गर्न सक्ने शिक्षा सिकाउनेहरू” मध्ये एक जनाले प्राण त्याग्दै यसो भने: “अहिले सत्यताका दुश्मनहरूको रिसले हामीलाई जित्छ; तर सदाका लागि यस्तै हुनेछैन; त्यहाँ एक जना साधारण मानिसहरूबाट तरवार वा अधिकारविना नै निस्केर आउनेछन्, र तिनीहरूले तिनीमाथि विजय प्राप्त गर्न सक्ने छैनन् ।” —Wylie, b. 3, ch. 1. लुथरको समय आउन धेरै समय बाँकी थियो; तर एक जनाचाहिँ आइसकेको थियो, जसले रोमको विरुद्धमा यस्तो गवाही दिनेवाला थियो कि राज्यहरूलाई नै हल्लाउनेवाला थियो ।MBAJ 91.2
जोन हसको जन्म एक साधारण परिवारमा भएको थियो, कलिलै उमेरमा तिनको बुबाको मृत्युले गर्दा टुहुरा हुनुपऱ्यो । तिनकी विश्वासी आमाले शिक्षा र परमेश्वरको भय नै सबभन्दा मूल्यवान सम्पत्ति ठानेर आफ्नो छोरालाई त्यहीँ अंश प्रदान गर्ने प्रयास गरिन् । हसले प्रान्तीय स्कुलमा अध्ययन गरे, अनि त्यसपछि प्रागको विश्वविद्यालयमा भिक्षादान छात्रवृति पाएर भर्ना भए । तिनकी आमाले तिनलाई प्रागको यात्रामा लिएर गइन, विधुवा र गरिब, उनले छोरालाई दिन सक्ने सांसारिक सम्पत्तिको उपहार केही पनि थिएन, तर जब तिनीहरू विशाल शहरको नजिक पुगे, तब उनले पिताहीन युवाको छेउमा घुँड़ा टेकिन् र तिनका लागि तिनीहरूका स्वर्गीय पितासँग आशिष्को आवेदन चढाइन् । उनको प्रार्थनाको उत्तर कसरी पाउनुपर्ने थियो सो कुरा आमाले थोरै मात्र बुझेकी थिइन् ।MBAJ 92.1
विश्वविद्यालयमा तिनको अथक लगनशीलता र गतिशील विकासद्वारा चाँडै नै हस आफै प्रसिद्ध बन्न पुगे, जहाँ तिनको निष्खोट जीवन र नम्रता र आकर्षक कार्यले विश्वविद्यालयमा तिनले सम्मान हासिल गरे । तिनी रोमन चर्चको विश्वासयोग्य चेला थिए र आत्मिकी आशिष्को उत्सुक अनुसन्धाता थिए जुन त्यसले प्रदान गर्ने दाबी गर्दछ । तिनी पचास वर्षको महोत्सवमा पाप स्वीकार गर्न गए, तिनले अभावको अवस्थामा अन्तिम केही सिक्का पैसाहरू दिए, र समारोहमा प्रवेश गरे ताकि प्रतिज्ञा गरिएको क्षमामा सहभागी हुन सकून् । तिनले कलेजको तालिम समाप्त गरेपछि तिनी पूजाहारी बने, र तिनको चाँडै पदोन्नति भइरहेको थियो, तिनी त्यसको लगत्तै राजाको दरबारसँग सम्बन्धित भए । तिनले जहाँ शिक्षा हासिल गरेका थिए त्यहीँ विश्वविद्यालयमा तिनी अध्यापक भए, त्यसपछि प्रधानाध्यापक नियुक्ति भए । केही वर्षमै त्यो नम्र भिक्षादान छात्रवृतिको विद्यार्थी अब तिनको देशको गौरव बने, र तिनको नाम युरोपभरि प्रसिद्ध भयो ।MBAJ 92.2
तर हसले अर्को क्षेत्रमा सुधार-कार्य आरम्भ गरे । पूजाहारीको श्रेणीमा काम गरेको केही वर्षमै तिनी बेतलेहेम मण्डलीमा प्रचारक नियुक्त गरिए । यो मण्डलीको संस्थापकले पनि धर्मशास्त्रचाहिँ मानिसहरूको भाषामा प्रचार हुनुपर्ने कुरालाई अत्यन्त्यै महत्व दिएका थिए । रोमीहरूले यो अभ्यासलाई प्रतिरोध गरेतापनि बोहिमियामा पूर्ण रूपमा रोक्न सकेको थिएन । तर त्यहाँ बाइबलको विषयमा चाहिँ अति नै अनविज्ञ थियो, र सबभन्दा खराब भ्रष्टता प्रत्येक स्तरका मानिसहरूमाझ प्रचलित थियो । सत्यता र शुद्धताका सिद्धान्तहरूलाई बलियो पार्न परमेश्वरको वचनको प्रमाण देखाउँदै हसले यी दुष्टताहरूलाई स्पष्टसाथ इन्कार गरे जुन सिद्धान्तहरू आफूले पनि अवलम्वन गरेका थिए ।MBAJ 93.1
प्रागको एक नागरिक जेरोम, जो पछि हसको आत्मीय साथी बने, तिनी बेलायतबाट फर्कदा तिनले विक्लिफका लेखहरू पनि लिएर आएका थिए । बेलायतकी रानी विक्लिफको शिक्षामा प्रभावित भएकी थिइन्, र उनी बोहिमियाकी राजकुमारी थिइन्, र उनको प्रभावद्वारा पनि उनका देशमा सुधारकका लेखहरू व्यापकरूपले फैलिएका थिए । हसले यी लेखहरू उत्सुकतासाथ पढे; तिनले विश्वास गरे कि ती लेखहरूको लेखक विश्वासयोग्य इसाई थियो र तिनले सुधार-कार्यहरूलाई मन पराउन थाले जुन तिनले अवलम्वन पनि गरे । हसलाई थाहा नभएतापनि तिनी यस्तो मार्गमा प्रवेश गरिसकेका थिए जसले तिनलाई रोमदेखि टाड़ा लैजानुपर्ने थियो ।MBAJ 93.2
लगभग त्यही समयतिर बेलायतबाट दुई परदेशीहरू प्रागमा आइपुगे, यी शिक्षित मानिसहरूले ज्योति प्राप्त गरे र यो टाढ़ाका देशमा चम्काउन आएका थिए । आरम्भमा तिनीहरूले रोमको सर्वोच्चतालाई प्रत्यक्ष आक्रमण गरे, तिनीहरूलाई चाँडै नै अधिकारीहरूद्वारा शान्त गराइयो; तर तिनीहरूको उद्देश्य त्याग गर्न इन्कार गरेको कारण तिनीहरूले अरू माध्यमहरू रोजे । तिनीहरू प्रचारक साथ-साथै चित्रकार पनि थिए, त्यसकारणले तिनीहरूले आफनो सीप प्रयोग गर्न थाले । एउटा सार्वजनिक ठाउँमा तिनीहरूले दुई ओटा तस्वीरहरू कोरे । एउटा तस्वीरले ख्रीष्ट यरूशलेममा प्रवेश गर्नुभएको प्रतिनिधित्व गरेको थियो, “विनम्र भई गधामाथि” बस्नु भएको थियो, (मत्ती २१:५) र उहाँका चेलाहरूले यात्राले गर्दा पुरानो भएको कपड़ा लगाएका र खाली खुट्टाले नै पछ्याएका थिए । अर्को तस्वीरले एक पोपको जुलुसको चित्रण गरेको थियो—पोपले महँगो पोशाक र तीन तल्ले मुकुट पहिरेका थिए, सुन्दर पहिरनले सजिसजाउ भएको घोड़ामा सवार गरिरहेका थिए, तुरही फुक्नेहरू अगाडि थिए र पछि आउने कार्डिनलहरू र उच्च अधिकारीहरूले उनीहरूको झिलीमिली वस्त्रहरू पहिरेका थिए ।MBAJ 93.3
त्यहाँ एउटा वचन थियो जसले सब स्तरका मानिसहरूको ध्यानाकर्षण गऱ्यो । ती चित्रहरूलाई भीडका भीड मानिसहरूले दृष्टि लगाए । कोही पनि त्यसको नैतिकता बुझ्न असफल भएनन् र मालिक, ख्रीष्टको नम्रता र विनयता अनि पोपको अहङ्कार र घमण्ड, उहाँको नामधारी दासको बीचमा रहेको भिन्नतामा धेरै जना एकदमै प्रभावित भए । प्रागमा ठूलो खैलाबैला मच्चियो, केही समयपछि यी परदेशीहरूले तिनीहरूकै सुरक्षाको लागि प्रस्थान हुनुपर्ने आवश्यकता महसुस गरे । तर तिनीहरूले सिकाएको शिक्षाचाहिँ भुलेनन् । तस्वीरहरूले हसको दिमागलाई पनि अति नै प्रभावित तुल्यायो त्यसकारण बाइबल र विक्लिफका लेखहरूले गहिरो अध्ययन गर्न अग्रसर गरायो । विक्लिफको सबै सुधारका शिक्षाहरू स्वीकार गर्न तयार नभएतापनि तिनले अझै स्पष्टसाथ पोपतन्त्रको सत्य चरित्र देखे, तिनले पुरोहित शासनको घमण्ड, अभिलाषा, र भ्रष्टताहरूलाई दोषी ठहऱ्याए ।MBAJ 94.1
बोहिमियाबाट जर्मनीमा ज्योति चम्क्यो, प्रागको विश्वविद्यालयमा खैलाबैला भएको कारणले त्यहाँबाट सयौँ जर्मनीका विद्यार्थीहरू निस्केर गए । धेरै जनाले पहिलो पल्ट हसबाट बाइबलको शिक्षा प्राप्त गरेका थिए र तिनीहरूले फर्केपछि आफ्नो पुर्खौली देशमा सुसमाचार फैल्याए ।MBAJ 94.2
प्रागका कामहरूका खबरहरू रोममा पुगे, चाँडै नै हसलाई पोपको सामु बोलावट भयो । त्यो आदेश पालन गर्नु नै निश्चित मृत्यु निम्त्याउनु थियो । बोहिमियाका राजा, रानी, विश्वविद्यालय, कुलीनवर्गका सदस्यहरू र सरकारी कार्यकर्ताहरू मिलेर पोपलाई निवेदन गरे कि हसले प्रागमै बसेर रोममा प्रतिनिधिद्वारा उत्तर दिन सकून् । यो निवेदनलाई पोपले स्वीकार गरेनन्, बरु पोपले हसको छानबिन गरेर दोषी ठहराए अनि प्रागको शहरमा बहिष्कृतको [परमेश्वरको सेवा निषेध गर्ने] आदेश निकाले ।MBAJ 94.3
त्यो समयमा जब यस्तो आदेश जारी हुन्थ्यो तब सर्वत्र सतर्कता सर्वत्र सृजना हुन्थ्यो । त्यससँग गरिने ती विधिहरू मानिसहरूलाई भयभीत पार्न प्रयोग गरिन्थ्यो जसले पोपलाई परमेश्वरको प्रतिनिधि र स्वर्ग र नरकको साँचो हातमा लिने र सांसारिक साथ-साथै आत्मिकी सजायहरू ल्याउन सक्ने शक्ति छ भनी ठानिन्थ्यो । बहिष्कृत क्षेत्रको विरुद्धमा स्वर्गका ढोकाहरू बन्द हुन्छन्, र पोपको इच्छाअनुसार प्रतिबन्धता नहटाउञ्जेल मृतकहरू स्वर्गीय सुखको निवासबाट वञ्चित हुन्छन् भन्ने विश्वास गरिन्थ्यो । यो डरलाग्दो विपत्तिको चिन्ह स्वरूप सबै धार्मिक सेवाहरू प्रतिबन्धित हुन्थे । चर्चहरू बन्द हुन्थे । विवाहहरू चर्चको आँगनमा विधिपूर्वक सम्पन्न गरिन्थे । मृतकहरूलाई समर्पित भूमिमा दफन गर्न अस्वीकार गरिन्थ्यो, मराउको विधिविना तिनीहरू नालीहरूमा वा बारीहरूमा गाडिन्थे । यसरी रोमले कल्पनालाई आकर्षित गर्ने उपायहरूद्वारा मानिसहरूको विवेकलाई नियन्त्रण गर्ने प्रयत्न गऱ्यो ।MBAJ 94.4
प्राग शहरभरि धेरै खैलाबैला मच्चियो । बहुसङ्ख्या मानिसहरूले हसलाई सबै विपत्तिहरूको कारण स्वरूप निन्दा गरे र तिनलाई रोमको प्रतिशोधमा सुम्पिदिन माग राखे । त्यो आँधी शान्त पार्नको लागि सुधारक हस केही समयका लागि आफ्नै गाउँतिर गए । प्रागमा छोडेका साथीहरूलाई लेख्दै तिनले भने: “म तिमीहरूको बीचबाट गइसकेको छु ताकि तिमीहरूले येशू ख्रीष्टको आज्ञा र उदाहरणको अनुसरण गरून्, कमजोर समझशक्ति हुनेहरूले आफैमाथि अनन्त दोष ननिम्त्याऊन्, र धर्मीहरूको सतावट र कष्टको कारण नबनून् । दुष्ट पूजाहारीहरूले लामो समयसम्म परमेश्वरको वचन तिमीहरूको बीचमा प्रचार गर्न निषेध गर्ने डरले म यहाँबाट गइसकेको छु; तर म तिमीहरूबाट ईश्वरीय सत्यता इन्कार गर्न गएको होइनँ, जसको खातिर परमेश्वरको सहयोगद्वारा म मर्न पनि तयार छु ।” —Bonnechose, The Reformers Before the Reformation, vol. 1, p. 87. हसले काम गर्न छोडेनन्, तर उत्सुक भीडहरूलाई सुसमाचार प्रचार गर्दै वरिपिरका गाउँमा यात्रा गरे । जुन माध्यमहरूद्वारा पोपले सुसमाचार दबाउन चाहेको थियो त्यसैद्वारा झन अझै टाढ़ासम्म फैलिरहेको थियो । “सत्यको विरोधमा हामी केही गर्न सक्दैनौं, तर सत्यको पक्षमा सक्छौं ।” २ कोरिन्थी १३:८ (KJV) ।MBAJ 95.1
“हसको जीवनकार्यको यो अवस्था तिनको दिमागमा एक दर्दनाक संघर्षको दृश्य जस्तै देखिन्छ । चर्चले तिनलाई धम्किहरूद्वारा आतंकित पार्ने प्रयास गरेतापनि तिनले त्यसको अधिकारलाई त्यागेका थिएनन् । रोमी मण्डलीचाहिँ तिनका लागि अझै पनि ख्रीष्टको दुलही, अनि पोपचाहिँ परमेश्वरको प्रतिनिधि थिए । हसले त्यसका सिद्धान्तहरूसँग नै होइन तर त्यसको अधिकारको अत्याचारको विरोधमा लड़ाइँ गरिरहेका थिए । यसले तिनको समझका प्रमाणहरू र विवेकका दाबीहरूको बीचमा भयानक झगड़ा ल्यायो । यदि तिनले विश्वास गरेझैँ त्यो अधिकार न्यायी र अटल भएको भए, कसरी तिनले यसप्रति अनाज्ञाकारीको बाध्यताको महसुस गरे त ? तिनले देखे कि यसलाई मान्नु नै पाप हो; तर यस्तो अटल चर्चप्रति आज्ञाकारी हुँदा किन यस्तो समस्या आयो त ? तिनले यो समस्याचाहिँ समाधान गर्न सकेनन्; यहीँ शंकाले तिनलाई घण्टौँसम्म यातना दिइरह्यो । तिनले समाधानको सबभन्दा नजिक अन्दाज यसरी गर्न सके कि चर्चका पूजाहारीहरू दुष्ट भए र तिनीहरूले आफ्ना कानुनी अधिकारलाई गैरकानुनी उद्देश्यहरूका लागि प्रयोग गरिरहेका थिए जुन कुरा मुक्तिदाताको दिनमा भएको थियो, फेरि पनि त्यहीँ भयो । यसले गर्दा तिनलाई आफ्नै निर्णयतर्फ डोऱ्यायो, र तिनले त्यो अरूसँग पनि प्रचार गरे कि जुन धर्मशास्त्रका विधानहरूले समझशक्तिमा प्रभाव पारेर विवेकलाई शासन गर्नुपर्दछ; जसको तात्पर्य यो हो कि चर्च पूजाहारीहरूद्वारा बोल्ने होइन, तर बाइबलमा परमेश्वर बोल्नु भएर मात्र यो अटल अगुवा हुन्छ ।” —Wylie. b. 3, ch. 2.MBAJ 95.2
जब प्रागमा हुलदुङ्गाको समय सकियो, तब परमेश्वरको वचनको प्रचार-कार्यमा अझै उत्सुक र साहससाथ निरन्तरता दिन हस आफ्नो चर्च बेतलेहेममा फर्केर आए । तिनका शत्रुहरू क्रियाशील र शक्तिशाली भएका थिए, तर रानी र धेरै अधिकारीहरू तिनका साथीहरू थिए, धेरै सङ्ख्यामा मानिसहरू तिनको पक्षमा आए । तिनका शुद्ध र उच्च पार्ने शिक्षाहरू र पवित्र जीवनसँग रोमीहरूले प्रचार गरेका अपमानित नीतिहरू र तिनीहरूले गर्दै आएको अर्थलोभ र लम्पट्यपन अभ्यासलाई तुलना गर्दा धेरै जनाले तिनको पक्षमा हुनुलाई आदरर्णीय ठाने ।MBAJ 96.1
यहाँसम्म हस तिनका परिश्रमहरूमा एक्लै उभिएका थिए; तर अब जेरोमले पनि बेलायतमै हुँदा विक्लिफका शिक्षाहरू स्वीकार गरेका थिए, तिनी पनि सुधारको काममा समावेश भए । त्यसपछि ती दुई जना तिनीहरूको जीवनमा एक भए, यहाँसम्म कि तिनीहरू मृत्युमा छुटिने वाला थिएनन् । जेरोमले असाधारण बुद्धिमानी प्रतिभा, भाषणकला र शिक्षा जस्तो सर्वोत्कृष्ट उपाधि हासिल गरेका थिए जुन वरदानहरूले गर्दा व्यापकरूपमा मानिसहरूको मन जिते; तर ती गुणहरूमा पनि जसले चरित्रको वास्तविक शक्ति रचना गर्दा हसको गुण नै ठूलो थियो । तिनको शान्त विचारले जेरोमको हड़बड़िने आत्मालाई नियन्त्रण गऱ्यो, जसले सत्य नम्रतासाथ तिनको मूल्य थाहा पाए, र तिनका सल्लाहहरूलाई कदर गरे । तिनीहरूको संयुक्त परिश्रमहरूले सुधार-कार्य वेगसाथ अगाडि बढ्दै गयो ।MBAJ 96.2
परमेश्वरले ती चुनिएका मानिसहरूका दिमागहरूमा महान् ज्योति चम्काउनुभयो जसले तिनीहरूलाई रोमका धेरै झूटहरू प्रकट गर्नुभयो; तर तिनीहरूले संसारलाई दिनुपर्ने सम्पूर्ण ज्योति प्राप्त गरेनन् । परमेश्वरले उहाँका यी दासहरूद्वारा मानिसहरूलाई रोमी धर्मको अन्धकारबाट निकाल्दै हुनुहुन्थ्यो; तर तिनीहरूले सामना गर्नुपर्ने धेरै र ठूला बाधाहरू थिए, त्यसमा उहाँले तिनीहरूलाई पाइला-पाइलामा तिनीहरूले सहन सक्ने गरी अगुवाइ गर्नुभयो । तिनीहरू एकै चोटि सबै ज्योति स्वीकार गर्न तयार थिएनन् । जसरी लामो समयसम्म अन्धकारमा वास गरेकाहरूमध्ये दिनको घामको पूर्ण चमकमा पर्दा भागेझैँ यदि ज्योति प्राप्त गरेको भए तिनीहरू पनि भाग्ने थिए । त्यसकारण उहाँले मानिसहरूले सहन सक्ने गरी बिस्तारै अगुवाहरूलाई प्रकट गर्नुभयो । प्रत्येक युगमा अरू विश्वासयोग्य कामदारहरू आउनेथिए जसले मानिसहरूलाई सुधारको बाटोमा अझै अगाडि डोऱ्याउँदै लैजानुपर्ने थियो ।MBAJ 96.3
चर्चमा फूट चलिनै रह्यो । अब तीन जना पोपहरू सर्वोच्चताका लागि विवाद गरिरहेका थिए, र तिनीहरूको लड़ाइँले गर्दा इसाईजगतभरि अपराध र अशान्ति भरियो । त्यस्तो डरलाग्दा अभिशापहरू एक-अर्कालाई प्रहार गरेर असन्तुष्ट भई तिनीहरूले सांसारिक हातहतियारहरू प्रयोग गरे । प्रत्येकले आ-आफ्ना हातहतियारहरू किन्ने र सिपाहीहरू जम्मा गर्ने प्रयत्न गरे । तिनीहरूलाई निश्चय नै पैसाको आवश्यकता परेको थियो; त्यो प्राप्त गर्ने उपाय स्वरूप चर्चका उपहारहरू, कार्यालयहरू र आशिष्हरू बिक्रीमा राखिएका थिए । (एपेण्डिक्स पृष्ठ ५९ हेर्नुहोस्) । पूजाहारीहरूले पनि तिनीहरूको उच्च पदाधिकारीहरूको देखाशेखी गरेर धार्मिक पदहरू किनबेच गरे र तिनीहरूका प्रतियोगीहरूलाई नम्र पार्न र तिनीहरूको आफ्नै शक्ति बलियो पार्न लड़ाइँ गरे । हसले धर्मको नाममा सहन गरेको घृणित थोकहरूको विरुद्ध दैनिकरूपमा बडो साहसकासाथ थर्काए; त्यसपछि मानिसहरूले खुलमखुल्ला रोमी अगुवाहरूलाई दोष दिए कि तिनीहरू नै इसाईजगतलाई व्याकुल पार्ने दुःखहरूको कारक हुन् ।MBAJ 97.1
फेरि प्राग शहर रक्ताम्य संग्रामको छेउमा पुगेको जस्तै देखिन्थ्यो । प्राचीन समयमा झैँ परमेश्वरको जन “इस्राएललाई कष्ट दिने तिमी नै हौ ?” भनी दोष लगाइयो । १ राजा १८:१७ । त्यो शहरलाई फेरि सेवाहरूबाट रोक लगाइयो अनि हसचाहिँ आफू जन्मेको गाउँतर्फ फर्के । तिनको प्रिय चर्च बेतलेहेमबाट प्रदान गरेको यति विश्वासयोग्य गवाही अब अन्त्य भयो । तिनको जीवन सत्यताका साक्षी स्वरूप सुम्पनु भन्दा पहिले सारा इसाईजगतसँग अझै फराकिलो मञ्चबाट बोल्नुपर्ने थियो ।MBAJ 97.2
युरोपलाई खल्बल्याउने दुष्टतालाई रोकथाम गर्नका लागि सार्वजनिक परिषद् कन्सटेन्समा आयोजना गरियो । सम्राट सिगस्मण्डको इच्छामा तीन प्रतियोगी पोपहरूमध्ये एक जना जोन तेइसौँको आदेशअनुसार यो परिषद् आयोजना भएको थियो । पोप जोनले परिषद्को आवश्यकता स्वीकार गरेको थिएन, किनकि त्यहीँ समयका पादरीहरूझैँ उच्च पदाधिकारीहरूको पनि नैतिकता भ्रष्ट भएको थियो, यदि तिनीहरूद्वारा नै उसको चरित्र र अभिप्रायको अनुशन्धान गरिएको भए पनि तिनी खडा हुन सक्दैनथे । जेभएपनि तिनले सिगस्मण्डको इच्छा विपरीत जाने हिम्मत गरेनन् । (एपेण्डिक्समा हेर्नुहोस्) ।MBAJ 97.3
चर्चको फूट समाधान गर्ने र अपधर्मलाई उन्मुलन गर्ने जस्ता मुख्य उद्देश्यहरू राखेर त्यो परिषद् आयोजना गरिएको थियो । त्यसैले परिषद्मा दुई विरोधी पोपहरू र नौलो शिक्षाको मुख्य प्रचारक जोन हसलाई पनि बोलावट भयो । दुई विरोधी पोपहरू आफ्नै सुरक्षाका लागि व्यक्तिगतरूपमा उपस्थित भएनन्, तर तिनीहरूले प्रतिनिधिहरू पठाए । पोप जोन, परिषद्को देखावटी आयोजक बनेर पनि धेरै शंका र सन्देहसाथ आयो कि राजाले उसलाई गुप्तरूपमा ठेगान लाउने पो हो कि ! त्रिमुकुटको अपमान गरेको इतिहास साथै त्यो प्राप्त गर्न गरिएका अपराधहरू प्रकट गरिने पो हो कि ? भनी डराइरहेका थिए । तापनि तिनी कन्सटेन्स शहरभित्र ठूलो आडम्वरका साथ प्रवेश गरे, तिनीलाई चर्चका उच्च पदका पदाधिकारीहरू र प्रशिक्षित राजदरबारका चाकरीहरूले पछ्याएका थिए । शहरका सबै गिर्जाघरका पादरीहरू र पदाधिकारीहरू, र नागरिकका विशाल भीडहरू तिनलाई स्वागत गर्न आए । तिनको शिरमाथि सुनौलो राज-छत्र थियो, त्यो चार जना प्रधान न्यायाध्यक्षहरूले बोकेका थिए । तिनको अगाडि प्रभुभोजको रोटी बोकिएको थियो, धार्मिक उच्च अधिकारीहरू र उच्च पदका मानिसहरूले तेजवस्वी पोशाकको तेजस्वी प्रदर्शन गरिरहेका थिए ।MBAJ 98.1
त्यही बेला अर्का यात्री कन्सटेन्स नजिकै आइपुगेका थिए । आफूमाथि आउनै लागेको खतराको विषयमा हस सचेत नै थिए । तिनी आफ्ना साथीहरूसँग फेरि कहिल्यै भेट नहोला जस्तो गरी विदा भए, त्यो यात्राले तिनलाई आगोको तख्तामा डोऱ्याइरहेको जस्तै अनुभव भएको थियो । तिनले बोहिमियाको राजाबाट सुरक्षा-पत्र लिए, र तिनले यात्रामै हुँदा सम्राट सिगस्मण्डबाट पनि एउटा सुरक्षा-पत्र प्राप्त गरेतापनि तिनले आफ्ना सम्भवात्मक मृत्युको दृश्यमा यथाशक्य प्रबन्धहरू मिलाए ।MBAJ 98.2
तिनले प्रागमा भएका साथीहरूलाई चिट्ठीमा यसरी सम्बोधन गरेर भने: “मेरा भाइहरू हो ... म अनगिन्ती र विनाशी शत्रुहरूको सामना गर्न राजाको सुरक्षा-पत्र लिएर प्रस्थान गर्दैछु । ... म मेरो मुक्तिदाता, सर्वशक्तिमान् परमेश्वरमा सम्पूर्ण कुरा पोख्दछु; म भरोसा गर्दछ कि उहाँले तिमीहरूका उत्साहपूर्ण प्रार्थनाहरू सुन्नुहुन्छ; र उहाँको आफ्नो सावधानी र बुद्धि मेरो मुखमा हालिदिनुभएको होस् ताकि मैले तिनीहरूलाई प्रतिकार गर्न सकूँ; र मलाई सत्यतामा बलियो पार्न उहाँको पवित्र आत्मा प्रदान गर्नुभएको होस्, ताकि परीक्षा, जेल र यदि आवश्यक परे क्रूरतापूर्ण मृत्यूको पनि मैले साहससाथ सामना गर्न सकूँ । येशू ख्रीष्टले आफ्ना अति प्रियका खातिर कष्ट भोग्नुभयो, त्यसकारण हामीले सबै कुरामा आफ्नो मुक्तिको लागि धैर्यसाथ सहनुपर्छ भनी उहाँले छोड्नुभएको उदाहरणमा के हामीले अचम्म मान्नुपर्छ र ? उहाँ परमेश्वर हुनुहुन्छ, हामी उहाँका सृष्टिका प्राणीहरू हौं; उहाँ प्रभु हुनुहुन्छ, हामी उहाँका दासहरू हौं; उहाँ संसारको मालिक हुनुहुन्छ, हामी तुच्छ विनाशी छौं—तापनि उहाँले कष्ट भोग्नुभयो ! त्यसो भए त हामी पनि किन कष्ट नभोग्ने, जबकि त्यस कष्टले हामीलाई शुद्ध पार्दछ ? त्यसकारण प्रिय हो, मेरो मृत्युले उहाँको महिमा हुन्छ भने, प्रार्थना गर कि यो छिटै हुन सकोस्, कि उहाँले मेरो सबै सङ्कष्टमा लगाताररूपमा सामर्थ्य प्रदान गर्न सक्नु भएको होस् । तर यदि तिमीहरूको माझमा फर्केर आउनु नै भलाइ हुन्छ भने, हामी परमेश्वरसँग प्रार्थना गरौं कि म दागविना फर्कन सकूँ—जसमा मैले आफ्ना संगीहरूलाई एक असल उदाहरणको लागि सुसमाचारको एउटा सानो सत्यतालाई पनि तुच्छ नठानूँ । यसकारण शायद तिमीहरूले मेरो मुहार प्रागमा कहिल्यै पनि देख्ने छैनौ होला; तर सर्वशक्तिमान् परमेश्वरको इच्छाले तिमीहरूकहाँ फर्कन योग्य ठान्यो भने, अनि हामी उहाँको व्यवस्थाको ज्ञान र प्रेममा अझै बलियो हृदयका साथ अघि बढ़ौं ।” —Bonnechose, vol. 1, pp. 147-148.MBAJ 98.3
सुसमाचारको अनुयायी अर्का पूजाहारीलाई लेखेको पत्रमा “दामी कपड़ा लगाउन र अनावश्यक कुराहरूमा घण्टौँ बिताउन रमाईलो महसुस गरेको” कारण हसले आफैलाई दोष दिँदै आफ्ना गल्तीहरूको विषयमा गहिरो नम्रतासाथ बताए । त्यसपछि तिनले यो मन छुने चेतावनी थपे: “तपाईंको दिमाग परमेश्वरको महिमा र आत्माहरूको मुक्तिले भरिभराउ भएको होस्, र चर्चका जग्गाहरू र सम्पत्तिहरूचाहिँ होइन । होसियारी हुनुहोस्, तपाईंको प्राणको सट्टामा घरहरू नसिँगार्नुहोस्; सर्वप्रथम तपाईंको आत्मिकी भवनलाई हेरचाह गर्नुहोस् । गरिबहरूसँग धर्मनिष्ठ र नम्र हुनुहोस्, तपाईंका सम्पत्ति भोज गरेर खर्च नगर्नुहोस् । तपाईंको जीवनमा भएको यी अनावश्यक कुराहरू छोड्नुभएन र तपाईंले जीवनलाई सुधार्नु भएन भने तपाईंले पनि मैले जस्तै कडा सजाय पाउनुहुनेछ होला भनी मलाई डर लागेको छ ... तपाईंलाई मेरो सिद्धान्तहरू थाहै छ किनकि तपाईंले मेरा शिक्षाहरू बाल्यास्थादेखि नै प्राप्त गर्दै आउनुभएको छ; त्यसकारण अब अझै अरू कुरा लेख्न मेरो लागि लाभदायिक हुँदैन । तर म तपाईंलाई प्रभुको कृपामा उत्सुकतापूर्वक अनुरोध गर्दछु, जुन कुरामा म पतन भएँ त्यस्ता व्यर्थताहरूमा मेरो अनुसरण नगर्नुहोस् ।” तिनले चिट्ठीको खाममा यसरी थपे: “मेरा मित्र, म तपाईंलाई उत्सुकपूर्वक बिन्ती गर्दछु, तपाईंले म मरेको थाहा नपाएसम्म यो मोहोर नखोल्नु होला ।” —Bonnechose, vol. 1, pp. 148, 149.MBAJ 99.1
हसले यात्रामा आफ्ना सिद्धान्तहरू व्यापकरूपमा फैलिएको र तिनले अपनाएको कामलाई मान्यता दिएको देखे । मानिसहरू तिनलाई भेट्न झुम्मिए, अनि कुनै शहरहरूमा न्यायाधीशहरूले त्यहाँका गल्लीहरूमा साथ दिए ।MBAJ 100.1
कन्सटेन्समा पुगेपछि हसलाई पूर्ण स्वतन्त्रता प्रदान गरियो । सम्राटको सुरक्षा-पत्रमाथि पोपले पनि व्यक्तिगत सुरक्षाको भरोसा प्रदान गरेको थियो । तर यी गम्भीर र बारम्बारता आदेशहरूलाई भङ्ग गरे, र सुधारकलाई छोटो समयमै पोप र चर्चका उच्च अधिकारीहरूको आदेशमा गिरफ्तार गरियो, र घिनलाग्दो कालकोठरीमा फ्याँकियो । तिनलाई पछि राइन पारिपट्टि भएको बलियो किल्लामा सरूवा गरियो र त्यहाँ एक कैदीलाई झैँ राखियो । त्यसको छलको धेरै लाभ उठाउन नपाउँदै त्यो पोप पनि छोटो समयमा त्यहीं झ्यालखानामा लगियो । —Bonnechose, vol. 1, p. 247. ऊ परिषद्को सामु सबभन्दा नीच अपराधहरू, साथै हत्या, धार्मिक पद किनबेच र व्यभिचार बाहेक “नाम लिन नालायक पापहरू” गरेको प्रमाणित भयो । त्यसकारण परिषद्ले नै यो घोषणा गऱ्यो र अन्तमा उसको त्रिमुकुट खोसियो र कैदमा हालियो । विरोधी पोपहरू पनि पद्च्युत भए र एउटा नयाँ पोप नियुक्त भए ।MBAJ 100.2
हसले पूजाहारीहरूलाई लगाएका दोषहरू र त्यसको सुधारको माग राखेका अपराधहरूभन्दा पनि ठूलो अपराधमा पोप आफै दोषी ठहरिएको थियो,तापनि जुन परिषद्ले पोपलाई पद्च्युत गऱ्यो त्यसैले सुधारकलाई नष्ट गर्ने आदेश पारित गऱ्यो । हसको कैदले गर्दा बोहिमियामा बडो उत्तेजना मच्चियो । शक्तिशाली उच्च घरानाका मानिसरूले परिषद्लाई यो अत्याचारको विरुद्धमा उत्सुकतासाथ बिन्ती गरे । सम्राटको सुरक्षा-पत्र भङ्ग गराउन अनिच्छुक थिए र तिनको विरुद्धमा भएको कारबाहीप्रति तिनले असहमत जनाए । तर सुधारकका शत्रुहरू अनिष्टकारी र शंकल्पित भएका थिए । तिनीहरूले सम्राटको पहिलेका सोचविचारहरू, तिनका डरहरू, र तिनका चर्चप्रति भएको जोशलाई सम्झाए । तिनीहरूले यो प्रमाणित गर्न धेरै लामो वाद-विवादहरू उठाए कि “सम्राट र राजाहरूले सुरक्षा-पत्रहरू प्रदान गरेतापनि अपधर्मीहरू र शंकास्पद अपधर्मीसँग गरिएको प्रतिज्ञा पालन गर्नु हुँदैन ।” —Jacques Lenfant, History of the Council of Constance, vol. 1, p. 516. यसरी तिनीहरूले विजय प्राप्त गरे ।MBAJ 100.3
तिनी रोग र कैदको कारणले कमजोर भएका थिए,—तिनलाई कालकोठरीको चिसो र फोहोर हावाको कारणले ज्वरो आयो जसले गर्दा झण्डै तिनले जीवन नै गुमाए,—अन्तिममा हसलाई परिषद्को अगाडि ल्याइयो । तिनी साङलाको भारीले लादिएको अवस्थामा सम्राटको अगाडि उभिए, जसको आदर र असल विश्वासले सुरक्षाको प्रतिज्ञा गरेको थियो । तिनले त्यो लामो अनुसन्धानमा सत्यतालाई दृढतासाथ कायम राखे, र तिनले चर्च र राज्यका अधिकारीहरूको उपस्थितिमा पुरोहित शासनका भ्रष्टताहरूको विरुद्ध गम्भीर र विश्वासयोग्य प्रतिवादको वक्तव्य दिए । तिनले आफ्ना सिद्धान्तहरू इन्कार गर्ने कि मृत्यु भोग्ने भन्ने अनिवार्य विकल्पबाट शहिदको कष्ट नै स्वीकार गरे ।MBAJ 101.1
परमेश्वरको अनुग्रहले तिनलाई शक्ति प्रदान गरेको थियो । तिनको अन्तिम सजायको घोषणा हुनुभन्दा अघिल्लो दुःखदायी हप्ताहरूमा स्वर्गीय शान्तिले तिनको आत्मा भरिएको थियो । तिनले एक जना साथीलाई भने, “मैले यो पत्र मेरो जेलमा हातकढ़ी लगाएको हातले लेखेको हो, म भोलिको मेरो मृत्युदण्डको आशा गरिरहेको छु । ... जब हामी येशू ख्रीष्टको सहायताद्वारा फेरि भविष्यको जीवनको सुमधुर शान्तिमा भेट्नेछौं, त्यहाँ परमेश्वरले मप्रति कति कृपापूर्ण व्यवहार गर्नुहुनेछ र उहाँले मलाई कति प्रभावशालीसाथ मेरो परीक्षा र कष्टहरूमा सहायता गर्नुहुनेछ भनी तपाईंले थाहा पाउनुहुनेछ ।” —Bonnechose, vol. 2, p. 67.MBAJ 101.2
तिनले त्यो कालकोठरीको उदासीपनमा पनि सत्य विश्वासको विजय देखिसकेका थिए । तिनी सपनामा प्राग चर्चमा फर्कदैथिए जहाँ तिनले सुसमाचार प्रचार गरेका थिए, तिनले भित्ताहरूमा बनाएका ख्रीष्टका तस्वीरहरू पोप र उसका विशपहरूले मेटाइरहेका देखे । “यो दर्शनले तिनलाई विचलित बनायो; तर अर्को दिन तिनले देखे कि धेरै जना चित्रकारहरू आएर त्यही चित्रहरू अझै अधिक सङ्ख्यामा र अझै चम्किलो रङ्गमा पुनः बनाइरहेका देखे । तिनीहरूको काम सक्ने बित्तिकै विशाल भीडले घेरिएका चित्रकारहरूले चिच्याएर भने, ‘अब पोपहरू र विशपहरू आऊन्; अब तिनीहरूले यो फेरि मेटाउन सक्ने छैनन् !’” सुधारकले तिनको सपना बताउँदै भने: “म निश्चय नै यसलाई समर्थन गर्छु ताकि ख्रीष्टको तस्वीर कहिल्यै पनि नमेटिऊन् । तिनीहरूले नष्ट गर्ने चाहना गरेका छन्, तर मभन्दा असल प्रचारकहरूद्वारा सबैको हृदयमा नयाँ गरी चित्र कोरिनेछ ।” —D’Aubigné, b. 1, ch. 6.MBAJ 102.1
हसलाई अन्तिमचोटि त्यो परिषद्को सामुन्ने ल्याइयो । त्यो विशाल र वैभवशाली सभा थियो—सम्राट, साम्राज्यका राजकुमारहरू, राजकीय प्रतिनिधिहरू, धार्मिक अधिकारीहरू, विशपहरू र पूजाहारीहरू साथै त्यो दिनका घटनाहरूका दर्शकहरूको विशाल भीड जम्मा भएका थिए । लामो संघर्षद्वारा प्राप्त गर्नुपर्ने विवेकको स्वतन्त्रताको प्रथम र महान् बलिदान हेर्न इसाईजगतका सम्पूर्ण खण्डबाट मानिसहरू जम्मा भएका थिए । जब हसलाई अन्तिम निर्णय गर्ने मौका दिइयो तब तिनले आफ्नो विश्वासलाई परित्याग गर्न इन्कार गरे, जुन राजाको प्रतिज्ञाको वचन निर्लज्जताका साथ भङ्ग भएको थियो, तिनले त्यसैमाथि नजर लगाएर घोषणा गरे: “मैले यहाँ उपस्थित सम्राटको सार्वजनिक सुरक्षा र विश्वासको आधारमा आफ्नै स्वेच्छाले यस परिषद्मा उपस्थित हुने निर्णय गरे ।” —Bonnechose, vol. 2, p. 84. जब उपस्थित सबैले उसमाथि नजर केन्द्रित गरे तब सिगस्मण्डको अनुहार लज्जित भएर गाढा रातो भयो ।MBAJ 102.2
दण्डाज्ञा घोषणा भइसकेको कारणले अपमानित कार्य आरम्भ भयो । विशपहरूले तिनीहरूको कैदीलाई पूजाहारीको पोशाक पहिराए, र हसले पूजाहारीको पोशाक लिँदै भने, “हाम्रा प्रभु येशू ख्रीष्ट पनि जब हेरोदले पिलातुसकहाँ पठाउँदा अपमानितरूपले सेतो पोशाकले ढाकिनु भएको थियो ।” —Bonnechose, vol. 2, p. 86. फेरि तिनलाई आफ्नो शिक्षा परित्याग गर्ने आग्रह गर्दा तिनले मानिसहरूतिर फर्कदै जवाफ दिए: “कुन अनुहारले मैले स्वर्गलाई हेरूँ ? मैले शुद्ध सुसमाचार प्रचार गरेका भीडहरूको अनुहार कसरी हेर्नु र ? हुन्न; म यो तुच्छ मृत्युको लागि निर्धारण गरिएको शरीरभन्दा तिनीहरूको मुक्तिलाई इज्जत गर्छु ।” धार्मिक कपड़ाहरू एक-एक गरी हटाउँदै विधिअनुसार प्रत्येक विशपले आ-आफ्नो भाग पूरा गर्दा सराप दिँदै गए । अन्तमा “तिनीहरूले तिनको शिरमा पिरामिड आकारको कागजको टोपी लगाइदिए जसमा भूतप्रेतको विभिन्न प्रकारको डरलाग्दा आकारहरू कोरिएका थिए र कागजको अगाडि स्पष्टरूपमा ‘अपधर्मको प्रधान’ भन्ने शब्द लेखिएको थियो । हसले भने, ‘हे येशू, म यो लाजको मुकुट तपाईंको खातिर अति आनन्दसाथ लगाउँदैछु, जसले मेरो निम्ति काँढाको मुकुट लगाउनुभयो ।’”MBAJ 102.3
यसरी तिनलाई पहिराएपछि “उच्चपदका पुरोहितहरूले भने, ‘अब हामी तिम्रो आत्मा दियाबलसलाई अर्पण गरिदिन्छौं ।’ जोन हसले आफ्नो आँखा आकाशतिर उठाएर भने, ‘हे प्रभु येशू, अब म मेरो आत्मा तपाईंको हातमा अर्पण गर्छु, किनकि तपाईंले मलाई मुक्ति दिनुभयो ।’” —Wylie, b. 3, ch. 7.MBAJ 103.1
अब तिनलाई सरकारी अधिकारीको हातमा सुम्पिदिइयो र प्राणदण्डको स्थानतर्फ लगियो । एक विशाल जुलुस थियो, जहाँ सयौँ हतियारधारी सैनिकहरू थिए, पूजाहारीहरू र विशपहरूले आफ्नो महँगो कपड़ा लगाएका थिए, र कन्सटेन्सका बासिन्दाहरू पनि सम्मिलित थिए । जब तिनलाई जलाउने खम्बामा बाँधियो, र आगो जलाउनको लागि सबै कुरा तयारी थियो, तब शहिदलाई पुनः तिनका अपधर्महरूलाई घृणा गरेर आफैलाई बचाउने उत्साह गरियो । हसले भने, “कुन अपधर्म मैले इन्कार गर्नुपर्ने ? मलाई थाहा छ कि म केहीको दोषी छैनँ । म परमेश्वरलाई साक्षीका लागि पुकारा गर्दछु कि मैले लेखेको र प्रचार गरेको सबै शिक्षाले मानिसहरूलाई पाप र विनाशबाट बचाउने उद्देश्य लिएको छ; त्यसकारण मैले लेखेको र प्रचार गरेको सत्यलाई मेरो रगतद्वारा अत्याधिक हर्षसाथ सदर गर्नेछु ।” —Wylie, b. 3, ch. 7. जब आगो तिनको वरिपरि बल्न थालेको थियो, तब तिनी गीत गाउन थाले, “येशू, तपाईं दाउदको पुत्र हुनुहुन्छ, ममाथि दया गर्नुहोस्,” तिनको आवाज सदाका निम्ति शान्त नभएसम्म यसरी निरन्तर गाइरहे ।MBAJ 103.2
तिनको साहसी आकृतिप्रति शत्रुहरू पनि अति नै छक्क परे । एक जोशिलो पोपको मान्छेले हस र जेरोम, जो छोटो समयपछि मरे, तिनीहरूको धर्मको निम्ति प्राण-त्यागको वर्णन गर्दै भने, “दुवै जनाले तिनीहरूको अम्तिम घडी आइपुग्दा आफ्नो मन स्थिर राखे । तिनीहरूले आगोका लागि पनि विवाहको भोजको लागि तयारी भएझैँ गरे । तिनीहरूबाट कष्टको चित्कार सुनिएन । जब आगोका ज्वालाहरू बढ्दै गए तिनीहरूले भजन गाउन थाले; आगोको प्रतापले तिनीहरूको गीत बन्द गर्न मुश्किल भयो ।” —Wylie, b. 3, ch. 7.MBAJ 103.3
जब हसको शरीर पूर्णरूपले भष्म भएको थियो, तब तिनका खरानीहरू र खरानी झरेको माटोसमेत बटुलेर राइन खोलामा खन्याइदिए र यसरी महासागरतर्फ बगाएर लगे । तिनका अत्याचारीहरूले व्यर्थमा कल्पना गरे कि तिनले प्रचार गरेका सत्यताहरूका जरा उखेलिए । त्यो दिन तिनीहरूले महासागरमा बगाएका खरानीहरू पृथ्वीका सबै देशहरूमा बीउ झैँ छरिए भन्ने कुरा तिनीहरूले त्यति बुझेनन्; कि अझै अज्ञात् देशहरूमा सत्यताका साक्षीहरू स्वरूप प्रशस्त फल फलाउनुपर्ने नै थियो । कन्सटेन्सको परिषद् भवनको वक्तव्य सम्पूर्ण आगामी पुस्ताहरूभरि प्रतिध्वनि भई सुनिनुपर्ने थियो । हस अब थिएन, तर तिनले जुन सत्यताहरूका खातिर ज्यान गुमाएका थिए त्यो कहिल्यै पनि नष्ट हुनै सक्दैनथ्यो । तिनको विश्वास र लगनशीलताको उदाहरणले कैयौँलाई यातना र मुत्युको सामुन्ने पनि सत्यताका निम्ति अटल रहन उत्साहित पारिरहेको थियो । तिनको मृत्युदण्डले सारा संसारलाई रोमको विश्वासघाती क्रूरता प्रदर्शन गरेको थियो । सत्यताका दुश्मनीहरूले तिनीहरूको अज्ञानतामा पनि कार्यलाई अगाडि बढ़ाइरहेका थिए जसलाई तिनीहरूले व्यर्थमा नष्ट पार्ने प्रयास गरेका थिए ।MBAJ 104.1
कन्सटेन्समा अझै अर्को दाउराको तख्ता पनि खडा हुनुपर्ने थियो । अर्का गवाहीको रगतले पनि सत्यताको गवाही दिनुपर्ने थियो । हस परिषद्तर्फ प्रस्थान गर्दा जरोमले विदाई गर्दै साहस र दृढतामा सल्लाह दिएका थिए कि यदि तिनी कुनै जोखिममा परे भने तिनी आफै तिनको सहयोगका निम्ति आउनेथिए । विश्वासयोग्य शिष्यले सुधारक जेलमा परेको खबर सुनेर तिनले आफ्नो प्रतिज्ञा पूरा गर्न तुरुन्तै तयारी गरे । तिनी सुरक्षा-पत्रविना नै एउटा साथी लिएर कन्सटेन्सतिर लागे । तिनले त्यहाँ पुग्दा महसुस गरे कि हसलाई छुटकारा दिलाउने कुनै सम्भावना नै थिएन, तर आफैलाई मात्र जोखिममा पारेका थिए । तिनी त्यो शहरदेखि भागे, तर घरतर्फ यात्राको क्रममा गिरफ्तार भए र हातकड़ीहरू लादेर सिपाहीहरूको घेराउमा हालेर फर्काएर ल्याए । तिनी प्रथम पटक परिषद्मा उपस्थित हुँदा आफ्नो विरुद्धमा भएका दोषहरूलाई जवाफ दिने प्रयासमा चित्कारको मात्र सामना गर्नुपरेको थियो, “त्यसलाई ज्वालामा हाल्नु ! ज्वालामा !” —Bonnechose, vol. 1, p. 234. तिनी कालकोठरीमा फ्याँकिए, साङ्गलाले यस्तो तरिकाले बाँधिए जसले गर्दा तिनलाई अति नै कष्ट भयो, अनि तिनलाई रोटी र पानी दिइन्थ्यो । केही महिनाहरू पश्चात् तिनको कैदपनाको क्रूरताले जरोम बिरामी भए जसले तिनको जीवनलाई तर्सायो, तिनका दुश्मनहरूले, तिनीहरूलाई छोडेर जान्छन् भन्ने डरले गर्दा अलिक सहनीय व्यवहार गरे, तापनि तिनी एक वर्षसम्म जेलमा नै बसे ।MBAJ 104.2
हसको मृत्युद्वारा पोपतन्त्रका अधिकृतहरूले अपेक्षा गरेमुताबिक भएन । तिनको सुरक्षा-पत्रलाई अनादर गरेवापत् एक क्रोधको बेहरी उत्पन्न भएको थियो, र परिषद्ले सुरक्षित कार्यको रूपमा निर्णय गऱ्यो, जरोमलाई नजलाएर बरु सम्भवत: आफ्नो शिक्षाको परित्यागमा बाध्य तुल्याउनुपर्छ । तिनलाई समुदायको सामुन्ने ल्याइयो र आफ्नो शिक्षालाई परित्याग गर्ने कि आगोमा जल्ने भन्ने कुरामा निर्णय गर्ने विकल्प प्रस्तुत गरियो । तिनको कैदको आरम्भमा भयानक कष्टहरूको तुलनामा, जुन तिनले सहेका थिए, मृत्यु नै कृपामय हुनेथियो; तर अब बिरामीद्वारा दुर्बल भएका थिए, कैदको निर्दयिता, चिन्ता र सन्देहको यातना र आफ्नो संगीविच्छेद्, हसको मृत्युद्वारा जरोम निरूत्साहित भए, तिनको दृढता पतन भयो र परिषद्मा समर्पण गर्न सहमत भए । तिनले क्याथोलिक विश्वासलाई मान्ने शपथ लिए र हस र विक्लिफका सिद्धान्तहरूलाई दोषी ठहराउने परिषद्को निर्णयसँग सहमत भए, जेभएपनि तिनीहरूले सिकाएका “पवित्र सत्यताहरू” बाहेक अरू अस्वीकार गरे । —Bonnechose, vol. 2, p. 141.MBAJ 105.1
जरोमले यस सुविधाजनक माध्यमद्वारा विवेकको आवाजलाई शान्त पार्ने र तिनको सजायबाट उम्कने प्रयास गरेका थिए । तर तिनले एकान्त कालकोठरीमा आफ्नो कार्य अझै स्पष्ट देखे । तिनले हसको भक्ति र साहसको मनन गरे त्यसको विपरीत तिनले सत्यताप्रति आफैले इन्कार गरेको चिन्तन गरे । तिनले ईश्वरीय मालिकको विषयमा सोचे जसलाई आफैले सेवा गर्ने प्रतिज्ञा गरेका थिए, जसले तिनको खातिर क्रूसको मृत्यु सहनुभएको थियो । तिनले आफ्नो शिक्षालाई परित्याग गर्नुभन्दा अगाडि तिनका सबै कष्टहरूको माझमा पनि परमेश्वरको निगाहको भरोसामा सान्त्वना पाएका थिए; तर अहिले पछुतो र शंकाले तिनको प्राण यातना ग्रस्त भयो । तिनलाई थाहा थियो कि रोमसँग मिलाप गर्नुभन्दा अगाडि अन्य कुराहरू पनि इन्कार गर्नुपर्नेछ । तिनी प्रवेश गरेको मार्गले पूर्ण पतन मात्र गराउनेथियो । तिनले निर्णय गरिसकेका थिए: अब छोटो अवधिको कष्टबाट उम्कन तिनले आफ्नो प्रभुलाई इन्कार गर्नेछैनन् ।MBAJ 105.2
तिनलाई चाँडै नै फेरि परिषद्को सामु ल्याइयो । तिनको समर्पणले तिनका न्यायाधीशहरूलाई सन्तुष्ट पारेको थिएन । हसको मृत्युद्वारा तिनीहरूको रगतको तृष्णा जगाएको थियो र नयाँ शिकारको लागि चिच्यायो । जरोमले सत्यताप्रति पूर्ण समर्पणद्वारा मात्र आफ्नो जीवन बचाउन सक्ने थिए । तर तिनले आफ्नो विश्वास स्वीकार गर्ने र आगोसम्मै आफ्नो शहिद मित्रकै अनुसरण गर्ने निर्णय गरे ।MBAJ 105.3
तिनले विगतको परित्यागलाई अस्वीकार गरे, तिनले एउटा मर्न लागेको मानिसझैँ गम्भीरतासाथ आफ्नो पक्षमा बोल्ने अवसरको माग राखे । तिनका शब्दहरूका प्रभावप्रति डराएर अधिकृतहरूले जोड़ दिए कि तिनीमाथि लगाइएका दोषहरू तिनले स्वीकार गर्नु वा इन्कार गर्नुपर्ने थियो । जरोमले यस्तो क्रूरता र अन्यायको विरोध गरे । तिनले भने, “तपाईंहरूले मलाई यस्तो डरलाग्दो जेलमा तीन सय चालीस दिनसम्म थुनेर राख्नुभयो, फोहर, अरुचिकर, दुर्गन्ध, अस्वस्थकर र प्रत्येक चिजको अधिक अभावको माझमा तपाईंहरू मलाई यहाँ अगाडि ल्याउनुहुन्छ, मेरो विनाशी शत्रुहरूतिर कान थाप्नुहुन्छ र तपाईंहरू मेरो कुरा सुन्न इन्कार गर्नुहुन्छ । ... यदि तपाईंहरू साँच्चै नै बुद्धिमान् व्यक्तिहरू र संसारको ज्याेति हुनुहुन्छ भने न्यायको विरोधमा पापको समाधान गर्नुहोस् । मेरो विषयमा भन्नुपर्दा म त एउटा कमजोर मरणशील मानिस मात्र हुँ; मेरो जीवनको महत्व त कमै छ; अनि जब मैले तपाईंहरूलाई अन्याय सजाय नदिनुहोस् भनी अनुरोध गर्दा मैले आफ्नै लागि भन्दा पनि बरु तपाईंहरूकै निम्ति भन्छु ।” —Bonnechose, vol. 2, pp. 146, 147.MBAJ 106.1
अन्तमा तिनको अनुरोध प्रदान गरियो । जरोमले न्यायाधीशहरूका सामु घुँड़ा टेकेर प्रार्थना गरे कि ईश्वरीय आत्माले तिनका विचारहरू र शब्दहरूलाई अगुवाइ गरून्, ताकि तिनले सत्यता विपरीत वा तिनको मालिकको अयोग्य कुनै पनि शब्द नबोलून् । त्यो दिनमा अघिल्ला चेलाहरूलाई परमेश्वरले गर्नुभएको प्रतिज्ञा तिनमा पूरा भयो: “तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खडा गराइनेछौ, ... तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर । किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही घडी तिमीहरूलाई बताइनेछ । किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ ।” मत्ती १०:१८-२० ।MBAJ 106.2
जरोमका शब्दहरूमा तिनका शत्रुहरूले पनि अचम्म माने र तिनको श्रद्धा गरे । त्यो वर्षभरि तिनलाई कालकोठरीमा कैदी बनाएर राखियो, डरलाग्दो शारीरिक कष्ट र मानसिक चिन्ताले तिनी पढ्न वा हेर्न पनि असक्षम भएका थिए । तापनि तिनले बहसहरू यस्तो स्पष्टता र शक्तिसाथ प्रकट गरे जस्तो कि तिनले अध्ययन गर्ने अनुकूल मौका पाएका थिए । तिनले आफ्ना स्रोतालाई पवित्र जनहरूका लामो लहरतर्फ केन्द्रित गरे जसलाई भ्रष्ट न्यायाधीशहरूले दोषी ठहराएका थिए । झण्डै प्रत्येक पुस्तामा नै तिनीहरूको समयका मानिसहरूलाई उत्थान गर्न प्रयत्न गर्ने मानिसहरू आएका छन्, र तिनीहरूलाई घृणा र बहिष्कार गरेका छन्, तर तिनीहरू अन्तिम समयमा आदर-योग्य ठहरिएका हुन्छन् । ख्रीष्ट आफै पनि विधर्मी न्यायालयद्वारा एक अपराधीको रूपमा दोषी ठहरिनुभयो ।MBAJ 106.3
जरोमले आफ्नो विश्वास इन्कार गर्दा हसलाई दोषी ठहराइएको सजाय न्यायसङ्गत नै थियो भनी सहमति जनाएका थिए; अब तिनले पश्चात्ताप गरे र शहिदको निर्दोषिता र पवित्रताको गवाही दिए । तिनले भने, “मेरो बाल्यावस्थादेखि नै मैले उहाँलाई चिनेको थिएँ; उहाँ एक अति नै असल, न्यायी, पवित्र व्यक्ति हुनुहुन्थ्यो; उहाँ निर्दोष हुनुभएतापनि दोषी ठहरिनुभयो । ... अब म पनि मर्न तयार छु: मेरा शत्रुहरू र झूटा साक्षीहरूले मेरो निम्ति तयार पारेका यातनाहरूको सामुन्ने म डराउनेछैनँ, जसले एक दिन महान् परमेश्वरलाई तिनीहरूको कपटपनको लेखा दिनुपर्नेछ जसलाई कसैले बहकाउन सक्दैन ।” —Bonnechose, vol. 2, p. 151.MBAJ 107.1
जरोमले सत्यतालाई इन्कार गरेको कारण आफैलाई घृणा गर्दै भन्छन्: “मैले मेरो युवास्थादेखि गरेका सबै पापहरूमध्ये कुनैले पनि मेरो दिमाग यति साह्रो दबाएको थिएन, र यस्तो हृदयस्पर्शी पछुतो भएको थिएन, तर मैले यस घातक स्थानमा पाप गरें, जब मैले विक्लिफ र मेरा मालिक र साथी पवित्र शहिद, जोन हसको विरुद्ध अपराधी सजायमा सहमत जनाए । हजूर ! म मेरो हृदयदेखि नै यो स्वीकार गर्दछु र घृणासाथ भन्दछु कि मृत्युको डरले गर्दा साहसहीन भई मैलै उहाँहरूका शिक्षाहरूलाई दोष दिएँ । यसकारण म निवेदन गर्छु, ... सर्वशक्तिमान् परमेश्वरले मेरो पापहरूमा क्षमाको कृपा गरून्, विशेष गरी योचाहिँ सबभन्दा घृणित भएको छ ।” न्यायाधीशहरूतर्फ औल्याउँदै तिनले साहससाथ भने: “तपाईंहरूले विक्लिफ र जन हसलाई तिनीहरूले चर्चका शिक्षाहरूलाई हल्लाएको कारणले दोषी ठहऱ्याउनु भएको होइन, तर तिनीहरूले केवल रोमन अधिकृतहरूका अपराधहरू जस्तै आडम्वर, तिनीहरूका घमण्ड, र धर्म पुरोहितहरू र पूजाहारीहरूको सम्पूर्ण दुराचारहरूलाई निन्दासाथ कलङ्कित तुल्याएका थिए । तिनीहरूले निश्चित गरेका कुराहरू अकाट्य छन्, म पनि त्यसलाई स्वीकार गर्छु र तिनीहरूले झैँ घोषणा गर्छु ।”MBAJ 107.2
तिनका वचनहरू बीचैमा काटिए । पोपका अधिकृतहरू रिसले काम्दै कराए: “योभन्दा बढ़ी के प्रमाणको आवश्यकता पऱ्यो र ? हामीले हाम्रै आँखाले सबभन्दा अटेरी अपधर्मीलाई देख्यौं !”MBAJ 107.3
आँधीद्वारा निडर भई जरोमले ठूलो सोरमा भने: “के रे ! के तपाईंहरू सोच्नुहुन्छ म मर्न डराउँछु ? तपाईंहरूले मलाई वर्षभरि मृत्युभन्दा पनि भयंकर कालकोठरीमा राख्नुभयो । तपाईंहरूले मलाई टर्की, यहूदी वा मूर्तिपूजकलाई भन्दा अधिक क्रूरता व्यवहार गर्नुभयो, मेरा मासुहरू वास्तवमै जिउँदै हड्डीहरूबाट कुहेर झरेका छन्; तापनि मैले कुनै गनगन गरेको छैनँ, किनकि एउटा साहसी र जोशिलो मानिसले विलाप गर्न सुहाउँदैन; तर एक इसाईप्रति यस्तो कडा असभ्यता प्रकट गर्दा आश्चर्य म व्यक्त नगरी बस्न सक्दिनँ ।” —Bonnechose, vol. 2, pp. 151-153.MBAJ 108.1
फेरि रिसको आँधी बेहरी उर्लेर आयो, अनि जरोम हतार-हतार जेलतर्फ लगियो । यद्यपि सभामा यस्ता व्यक्तिहरू पनि थिए जसलाई तिनका शब्दहरूले गहन प्रभाव पारेका थिए र तिनीहरूले तिनको जीवन बचाउन चाहन्थे । चर्चका मान्यजनहरूले तिनलाई भेट्न आए र परिषद्को निर्णयलाई स्वीकार गर्नुहोस् भनी आग्रह गरे । रोमको विरोधलाई परित्याग गरेको खण्डमा तिनलाई सबभन्दा वैभवशाली इनामहरूको आश्वासन देखाइएको थियो । तर तिनका मालिकले [येशू] झैँ जब संसारको सबै महिमा प्रदान गरियो तब जरोम पनि अटल रहे ।MBAJ 108.2
तिनले भने, “मेरो झूट मलाई पवित्र लेखहरूबाट प्रमाणित गर्नुहोस्, अनि म यसलाई त्याग्नेछु ।”MBAJ 108.3
तिनका परीक्षाकर्ताहरूमध्ये एक जना यसरी आश्चर्यसाथ करायो, “पवित्र लेखहरू ! के त्यसो भए सम्पूर्ण कुरा त्यसद्वारा नै न्याय हुन्छ ? चर्चले यसलाई अनुवाद नगरेसम्म कसले बुझ्न सक्छ र ?”MBAJ 109.1
जरोमले जवाफ दिए, “के हाम्रा मुक्तिदाताको सुसमाचारभन्दा पनि मानिसहरूका परम्पराहरू अझै विश्वासयोग्य छन् त ? पावलले जसलाई लेखेका थिए तिनीहरूलाई मानिसहरूका परम्पराहरूमाथि ध्यान दिनु भनी अनुरोध गरेनन्, तर तिनले भने, ‘धर्मशास्त्रमा खोजी गर ।’”MBAJ 109.2
प्रतिक्रिया यसरी आयो, “धर्मविरोधी ! यति लामो समयसम्म तिमीलाई सम्झाएर बसेको कारण म अफसोस गर्छु । मैले बुझे कि तिमीलाई चाहिँ दियाबलसले नै चलाएको छ ।” —Wylie, b. 3, ch. 10.MBAJ 109.3
चाँडै नै तिनी दोषी भएको सजाय फैसला गरियो । जुन ठाउँमा हसले आफ्नो जीवन सुम्पिदिएका थिए त्यही स्थलमा तिनलाई लिएर गयो । तिनको यात्रामा तिनी गीत गाउँदै गए, तिनको अनुहार शान्ति र आनन्दले उज्ज्वल भएको थियो । तिनले ख्रीष्टप्रति ध्यान केन्द्रित गर्दा मृत्युको त्रासहरू पनि हराएर गए । जब हत्याराले [प्राणदन्ड पूरा गर्नै व्यक्ति] दाउराको राशमा आगो लगाउने बेला भयो, ऊ तिनको पछाड़ि गयो, त्यसपछि शहिदले कराएर भने: “साहससाथ अगाडि आऊ; मेरो सामुन्ने आगो लगाओ । यदि म डराएको भए त म यहाँ हुने नै थिइनँ ।”MBAJ 109.4
जब तिनको वरिपरि आगो जल्दैथियो तिनका अन्तिम शब्दहरू प्रार्थनामा उच्चारण भए । तिनी कराए, “प्रभु, सर्वशक्तिमान् पिता, ममाथि दया गर्नुहोस्, मेरा पापहरू क्षमा गर्नुहोस्; किनकि तपाईंलाई थाहाँ छ कि मैले सँधै नै तपाईंको सत्यतालाई माया गरेको छु ।” —Bonnechose, vol. 2, p. 168. तिनको आवाज रोकियो, तर तिनका ओठहरू प्रार्थनामा नै चलिरहेका थिए । जब आगोले त्यसको काम समाप्त गऱ्यो तब शहिदको खरानी साथै खरानी झरेको माटोसमेत तिनीहरूले भेला पारे, अनि हसको झैँ राइनमा फालिदिए ।MBAJ 109.5
परमेश्वरका विश्वासयोग्य ज्योतिवाहकहरू यसरी नष्ट भए । तर सत्यताहरूको ज्योति जुन तिनीहरूले घोषणा गरेका थिए—तिनीहरूको साहसी उदाहरणको ज्योति—सो कहिल्यै पनि निभ्न सक्दैनथ्यो । जुन प्रभात् संसारमा उदाइरहेको थियो त्यसलाई रोक्नुचाहिँ मानिसहरूले सूर्यलाई त्यसको बाटोबाट हटाउने प्रयास गर्नुजस्तै हुनेथियो ।MBAJ 109.6
हसको मृत्युदण्डले बोहिमियामा रिस र घृणाको ज्वाला उत्पन्न भएको थियो । सम्पूर्ण देशमा नै यस्तो भान हुन्थ्यो कि तिनीचाहिँ पूजाहारीहरूको ईर्ष्या र सम्राटको विश्वासघात्को शिकार बनेका थिए । तिनी विश्वासयोग्य सत्यताका शिक्षक थिए भनी घोषणा गरे, जुन परिषद्ले मृत्युको आदेश घोषण गऱ्यो त्यसलाई बोहिमियाका मानिसहरूले हत्याराको आरोप लगाए । तिनका शिक्षाहरूले पहिलेभन्दा पनि अधिक मात्रामा अहिले ध्यान केन्द्रित गरेका थिए । पोपतन्त्रको हुकुम मुताबिक विक्लिफका लेखहरूलाई आगोमा जलाउने दोष आदेश दिइएको थियो । तर अब जुन विनाशबाट बचेकाहरू थिए तिनीहरूले गुप्त स्थलहरूबाट निकालेर ल्याए र बाइबल वा मानिसहरूले प्राप्त गर्न सक्ने अंशहरूसँग दाँजेर अध्ययन गरे, यसरी धेरै जनाले सुधारवादी विश्वासलाई स्वीकार गरे ।MBAJ 110.1
हसका हत्याराहरू शान्त भएर तिनको कामको विजय हेरेर बसेनन् । पोप र सम्राट हलचल मेटाउन एक भए, सिगस्मन्डका सिपाहीहरू बोहिमियामा ओइरिए ।MBAJ 110.2
तर त्यहाँ एक उद्धारक खडा थिए । जिस्का नामक एक व्यक्ति जो लड़ाइँको आरम्भ हुने बित्तिकै पूरै अन्धा भए, तापनि तिनको युगमा तिनीअति सक्षम सेनापति थिए, जुनचाहिँ बोहिमिया निवासीहरूका अगुवा थिए । तिनीहरूले परमेश्वरको सहायता र तिनीहरूको कामको धार्मिकतामा भरोसा राखे कि मानिसहरूले तिनीहरूको विरुद्धमा ल्यउन सक्ने सबभन्दा शक्तिशाली फौजहरूको विरोधमा खडा भए । सम्राटले बारम्बार नयाँ-नयाँ सेनाहरूलाई लिएर बोहिमिया भित्र गएर आक्रमण गऱ्यो, तर तिनीहरू लज्जास्पद तरिकाले धपाइए । हसका अनुयायीहरू मृत्युको डरबाट उक्लिसकेका थिए, तिनीहरूको विरुद्धमा केही पनि खडा हुन सक्दैनथ्यो । लड़ाइँको आरम्भपश्चात् केही वर्षपछि हिम्मतदार जिस्काको निदन भयो; तर तिनको पदमा प्रोकोपियस आए, तिनी पनि त्यस्तै सिपालु र साहसी सेनापति थिए, तिनी कुनै पनि दृष्टिकोणमा अझै दक्ष अगुवा भए ।MBAJ 110.3
बोहिमियाका बासिन्दाहरूका शत्रुहरूले थाहा पाए कि अन्धो लड़ाकूँ बित्यो, तिनीहरूले गुमाएको सबै कुरा फिर्ता गर्ने यो अनुकूल मौकाको रूपमा लिए । अब पोपले हसका अनुयायीहरूको विरुद्धमा धर्मयुद्ध घोषणा गऱ्यो, पुनः विशाल फौज बोहिमियामा ओइरिए, तर तिनीहरूले डरलाग्दो पराजय भोग्नु मात्र भयो । अर्को धर्मयुद्ध घोषणा गरियो । युरोपका सबै पोपतान्त्रिक देशहरूबाट लड़ाइँका निम्ति जन, पैसा र हतियारहरू जम्मा गरियो । हसका अनुयायी अर्तात् अपधर्मीहरूलाई अन्त्य गर्ने निश्चित गर्दै भीडका भीड मानिसहरू पोपतान्त्रिक झण्डामुनि थुप्रिए । विजयको निश्चयताको साथ विशाल फौज बोहिमियामा प्रवेश गरे । तिनीहरूलाई धपाउन मानिसहरू जम्मा भए । दुई पक्षका सिपाहीहरू यति नजिक आइपुगे कि तिनीहरूको बीचमा एउटा खोला मात्र थियो । “ती धर्मलड़ाकूहरू अत्यन्त्यै शक्तिशाली थिए, तर खोलावारि झम्टेर आएर हसका अनुयायीहरूसँग लड़ाइँ आरम्भ गर्नुको सट्टा तिनीहरू ती लड़ाकूँहरूतर्फ चूपचाप हेरिरहे जसको सामना गर्न तिनीहरूसँग यति टाढ़ादेखि आएका थिए ।” —Wylie, b. 3, ch. 17. एक्कासी रहस्यमय त्रास फौजमाथि पऱ्यो । कुनै पनि प्रहारविना नै त्यो शक्तिशाली फौज अदृश्य शक्तिद्वारा धपाइएझैँ छरपष्ट भई भागे । हसका अनुयायीहरूले ती भगुवाहरूलाई खेदाउँदै असामान्य सङ्ख्यालाई संहार गरे, विजेताहरूले विशाल मात्रामा लुटको माल हात पारे, त्यसरी त्यो लड़ाइँले बोहिमियाका मानिसहरूलाई दरिद्र पार्नुको सट्टामा अझै धनी बनायो ।MBAJ 110.4
केही वर्ष बितेपछि नयाँ एउटा पोप नियुक्त भयो, र त्यसको निर्देशनमा अझै अर्को धर्मयुद्धको घोषणा भयो । विगतमा झैँ युरोपका सबै पोपतान्त्रिक देशहरूबाट जन-धन जम्मा गरियो । यो जोखिमपूर्ण कार्य गर्नेहरूलाई महान् लोभ देखाइयो । प्रत्येक धर्म लड़ाकूँहरूले जस्तोसुकै घृणित अधर्म गरे पनि पूर्ण क्षमाको आश्वासन तिनीहरूलाई दिइएको थियो । लड़ाइँमा ज्यान गुमाउने जति सबैलाई स्वर्गमा प्रशस्त इनामको प्रतिज्ञा गरिएको थियो, जोजो जीवित रहन्छन्, तिनीहरूले रणभूमिमा सम्पत्ति र सम्मान कटनी गर्नेवाला थियो । पुनः विशाल सिपाहीहरू जम्मा भए, र तिनीहरू सिमाना पार गर्दै बोहिमियामा प्रवेश गरे । हसका अनुयायी फौजहरू तिनीहरूको सामु पछि हटे, यसरी आक्रमणकारीहरू देशभित्र टाढ़ा-टाढ़ा ठाउँसम्म प्रवेश गर्दै जाँदा तिनीहरूलाई विजय भएको महसुस भइरहेको थियो । अन्तमा प्रोकोपियसका सेनाहरू तिनीहरूका विरुद्ध खडा भए, तिनीहरूका दुश्मनहरूतर्फ फर्केर लड़ाइँ गर्न गए । धर्म लड़ाकूँहरूले तिनीहरूका आफ्नो गल्ती पत्ता लगाए, तिनीहरू आफ्नो छाउनीमा आक्रमणको प्रतीक्षामा रहेका थिए । जब नजिक आइरहेका सेनाहरूको आवाज सुनियो, तब हसका अनुयायीहरूका फौजहरू देखिनुभन्दा अगाडि नै धर्म लड़ाकूँहरूमाथि एक आकस्मिक त्रास छायो । राजकुमारहरू, सेनापतिहरू र साधारण सिपाहीहरू आ-आफ्नो अस्त्र-शस्त्र मिल्काएर चारै दिशातर्फ भागे । पोपतान्त्रिक प्रतिनिधि, जो त्यो आक्रमणको अगुवा थियो, व्यर्थमा उसको अव्यवस्थित र त्रसित फौजहरूलाई बटुल्ने प्रयास गऱ्यो । उसले सक्दो प्रयास गरेतापनि आफै भगुवाहरूको वेगसँगै सोहोरिएर गयो । तिनीहरूको पूरै पराजय भयो र पुनः विजयीहरूको हातमा विशाल मात्रामा लुटको माल फेला पऱ्यो ।MBAJ 111.1
यसरी दोस्रो पल्ट पनि युरोपका सबभन्दा शक्तिशाली राज्यहरूले एक साहसी फौज, लड़ाकूँहरू, लड़ाइँमा तालिम प्राप्त र अस्त्र-शस्त्रयुक्त एउटा विशाल सेनाका दल पठाइयो, सानो र त्यतिबेलासम्म कमजोर देशका प्रतिरक्षकहरूका सामुन्ने तिनीहरू कुनै पनि प्रहारविना नै भागे । यहाँ ईश्वरीय शक्तिको एक प्रदर्शन भयो । आक्रमणकारीहरूलाई ईश्वरीय त्रासले प्रहार गऱ्यो । जसले फारोका सेनाहरूलाई लाल समुद्रमा फालिदिनुभयो, जसले गिदोन र तिनका तीन सय मानिसहरूको अगाडि मिद्यानका सेनाहरूलाई खेद्नुभयो, जसले एक रातमै घमण्डी अश्शूरका फौजहरूलाई हीन तुल्याउनुभयो, पुनः उहाँले आफ्ना हात अत्याचारीहरूको शक्तिलाई मन्द पार्नका निम्ति तन्काउनुभयो । “जहाँ डरको केही कारण थिएन त्यहीँ नै तिनीहरू भयले व्याकुल भए । परमेश्वरले तिमीहरूलाई आक्रमण गर्नेहरूका हड्डीहरू तितरबितर पार्नुभयो, तिनीहरूलाई तिमीले शर्ममा पाऱ्यौ, किनभने परमेश्वरले तिनीहरूलाई घृणा गर्नुभएको थियो ।” भजनसंग्रह ५३:५ ।MBAJ 112.1
पोपतान्त्रिक अगुवाहरूले शक्तिद्वारा सफलता हासिल नगर्दा हतोत्साहित भएर अन्तमा कुटनीति अपनाए । बोहिमियाका मानिसहरूलाई विवेकको स्वाधीनता प्रदान गर्ने दाबी गर्दै एक सम्झौता भयो, त्यसले तिनीहरूलाई वास्तवमा रोमको शक्तिमा मात्र विश्वासघात् गराइयो । बोहिमियाका मानिसहरूले रोमसँग शान्ति स्थापना गर्न चार ओटा बुँदाहरूमा शर्त राखेका थिए: बाइबलको प्रचारको सर्वत्रता; प्रभुभोजको रोटी र दाखरसमा सम्पूर्ण मण्डलीको अधिकार, र ईश्वरीय सेवाहरूमा मातृ भाषाको प्रयोग; सरकारी अधिकार र कार्यालयबाट पुरोहितहरू निषेध; अनि अपराधका मुद्दाहरूमा सरकारी अदालतको कानूनमा पुरोहित र सर्वसाधारणलाई उस्तै हुनुपर्ने बुँदाहरूमा उल्लेख गरिएका थिए । अन्तमा पोपतन्त्रका अधिकारीहरूले “हसका अनुयायीहरूको चारवटा बुँदाहरू स्वीकार गर्नुपर्छ भनीकन सहमति गरे, तर तिनीहरूलाई वर्णन गर्ने अधिकार जुनचाहिँ त्यसको ठीक अर्थको निर्णय गर्ने काम परिषद्ले मात्र गर्छ—भन्नुको तात्पर्य, पोप र सम्राटले अर्थ लगाउँछन् ।” —Wylie, b. 3, ch. 18. यस आधारमा सम्झौता गरियो, रोम जुन कुरामा लड़ाइँद्वारा असफल भएको थियो अब कपट र जालद्वारा सफल भयो; हसका अनुयायीहरूका अनुच्छेदहरूमा पनि बाइबललाई झैँ आफ्ना अभिप्रायहरूअनुसार त्यसको अर्थलाई तिनीहरूले बटार्न सक्थ्यो ।MBAJ 112.2
बोहिमियाका बहुसङ्ख्यक मानिसहरूले तिनीहरूको स्वाधीनताप्रति विश्वासघात भएको देखेर त्यस सन्धिमा सहमत हुन सकेनन् । मत्भेदहरू र विभाजनहरू उठ्न थाले, र तिनीहरूको बीचमै लड़ाइँ र रक्तपातसम्म पनि हुन लाग्यो । यो सङ्ग्राममा कुलीन प्रोकोपियस ढले र बोहिमियाको स्वाधीनता नष्ट भयो ।MBAJ 113.1
हस र जरोमको विश्वासघाती सिगस्मन्ड अब बोहिमियाको राजा भयो, उसले बोहिमियाका मानिसहरूको अधिकारप्रति गरेको प्रतिज्ञाको बेवास्ता गर्दै त्यहाँ रोमन क्याथोलिक धर्म स्थापना गऱ्यो । तर उसले रोमको अधीनमा थोरै मात्र लाभ हासिल गऱ्यो । उसको जीवन बीस वर्षसम्म परिश्रमहरू र जोखिमहरूले भरिएको थियो । उसका सेनाहरू खेर गएका थिए र उसका अर्थ भन्डारहरू लामो फलरहित संघर्षले गर्दा सुकिसकेका थिए; र अब एक वर्ष शासन गरेपछि उसको राज्य गृहयुद्धको धारमा लगेर मृत्यु भयो, र सन्तानहरूलाई बदनामको कलंकको अंश दिएर गयो ।MBAJ 113.2
खैलाबैला, लड़ाइँ र रक्तपात लामो समयसम्म भयो । पुनः विदेशी सेनाहरूले बोहिमियालाई हमला गरे, आन्तरिक मतभेदले राज्यलाई निरन्तर हैरान पारेको थियो । जो-जो सुसमाचारप्रति विश्वासयोग्य रहेका थिए तिनीहरू नै रक्ताम्य सतावटको केन्द्रविन्दु हुनुपऱ्यो ।MBAJ 113.3
तिनीहरूका अघिल्ला भाइहरूझैँ तिनीहरूले पनि रोमसँग सन्धि गाँसे, त्यसका झूटहरूलाई ग्रहण गरे, जसले प्राचीन विश्वासलाई अनुसरण गरे तिनीहरू आफैले “ऐक्यबद्ध भाइहरू” [युनाईटेड ब्रेद्रेन] नामक एक विशेष चर्च स्थापना गरे । यो कार्यले गर्दा तिनीहरू सबै स्तरका मानिसहरूबाट श्रापित भए । यद्यपि तिनीहरूको दृढता डग्मगाएन । जङ्गलहरू र ओड़ारहरूमा आश्रय खोज्न बाध्य भएर पनि तिनीहरू परमेश्वरको वचन पढ्न र उहाँको सेवा गर्न एकै स्थलमा भेला हुन्थे ।MBAJ 114.1
गुप्तरूपमा समाचारवाहकहरूलाई विभिन्न देशहरूमा पठाउथे, तिनीहरूद्वारा थाहा पाउँदथे कि यहाँ र त्यहाँ “सत्यता स्वीकार गर्नेहरू अलिकति यो शहरमा, अलिकति त्यो शरहरमा तिनीहरूझैँ सतावटको केन्द्र भएका थिए; र आल्पहरूका हिमालहरूको बीचमा एउटा प्राचीन चर्च थियो, जुन रोमको मूर्तिपूजक भ्रष्टताहरूका विरोधमा प्रतिवाद गर्दै पवित्र धर्मशास्त्रको जगमा आधारित भएको थियो ।” —Wylie, b. 3, ch. 19. यो खबर महान् आनन्दकासाथ ग्रहण गरियो, अनि वाल्डेन्सी इसाईहरूसँंग पारस्पारिक सम्बन्ध स्थापित हुन थाल्यो ।MBAJ 114.2
बोहिमियाका मानिसहरूले सुसमाचारमा दृढ भएर तिनीहरूको अत्याचारको रातभरि प्रतीक्षा गरे, जसरी मानिसहरूले प्रभात्को बाटो हेर्दछन् त्यसरी नै तिनीहरूका आँखाहरू घोर अन्धकारको घडीमा पनि क्षितिजतर्फ केन्द्रित भएका थिए । “तिनीहरूको चिट्ठा खराब दिनहरूमा परेको थियो, तर ... तिनीहरूले हसले उच्चारण गरेको पहिलो वचनलाई स्मरण गरे, र जरोमले पनि त्यसलाई नै दोहोऱ्याए, कि बिहानको उषा आउनुभन्दा पहिले एक शताब्दीले परिक्रमा गर्नुपर्छ । जुन वक्तव्यहरू योसेफले दासत्वको घरका कुलहरूलाई व्यक्त गरेका थिए त्यही नै ताबरीहरूका [हसका अनुयायीहरू] लागि थिए: ‘म मर्छु, परमेश्वर निश्चय नै तिमीहरूकहाँ आउनुहुनेछ र त्यहाँबाट बाहिर ल्याउनुहुनेछ ।’” —Wylie, b. 3, ch. 19. “पन्ध्रऔँ शताब्दीको अन्तिमतिर भाइहरूका मण्डलीहरू विस्तारै तर निश्चयनै वृद्धि हुँदै गएको देखिन्थ्यो । तिनीहरू सतावटबाट मुक्त नभएतापनि तुलनात्मकरूपले तिनीहरूले विश्रामको उपभोग गर्न पाएका थिए । सोह्रौँ शताब्दीको आरम्भमा बोहिमिया र मोराबियामा तिनीहरूका मण्डलीहरूको सङ्ख्या दुई सय पुगेको थियो ।” —Ezra Hall Gillett, Life and Times of John Huss, vol. 2, p. 570. “बाँकी रहेकाहरू अति असल थिए जुन विनाशकारी रिसको आगो र तरवारद्वारा उम्केर तिनीहरूले हसले पूर्ववाणी गरेको दिनको प्रभात हेर्ने अवसर पाए ।” —Wylie, b. 3, ch. 19.MBAJ 114.3