Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १०. परमेश्‍‍वरको विषयमा ज्ञान

    परमेश्‍‍वरले कैयौं उपायमार्फत हामीलाई उहाँको बारेमा अवगत गराउने तथा हामीलाई उहाँको सम्बन्धमा ल्याउने प्रयत्‍न गर्नुहुन्छ । प्रकृतिले निरन्तररूपमा हाम्रा चेतनाहरूसित वार्तालाप गरिरहेको हुन्छ । परमेश्‍‍वरको हातका कार्यमार्फत प्रकट हुने उहाँको प्रेम तथा महिमाद्वारा एक खुल्‍ला हृदय प्रभावित हुनेछ । ध्यानपुर्वक सुन्‍ने कानले प्रकृतिका वस्तुहरूमार्फत परमेश्‍‍वरको संवादलाई सुन्‍न र बुझ्‍न सक्‍नेछ । हरिया मैदान, अग्‍ला रूखहरू, फूल र कोपिलाहरू, उडिरहने बादल, बर्सिरहने पानी, कलकल गर्दै बग्‍ने खहरे खोला तथा आकाशमण्डल यी सबैले हाम्रो हृदयसित बोल्‍ने गर्दछन् र हामीलाई उहाँसँग परिचित हुनका निम्ति आमन्‍‍त्रण गर्दछन् जसले यी सबै कुराहरूका सृष्‍टि गर्नुभयो ।SB 98.1

    हाम्रा मुक्तिदाताले आफ्‍ना अमूल्य पाठकहरूलाई प्रकृतिका वस्तुहरूसित समेट्‍नुभएको छ । रूख, चराचुरुङ्गी, भंज्याङ्गका फूलहरू, डाँडाकाँडाहरू, दैनिक जीवनका घटनाक्रम तथा परिवेशहरू, यी सबैलाई सत्य वचनसित जोडिएका थिए ताकि मानिसको परिश्रमी जीवनको व्यस्तताहरूका बीचमा पनि उहाँका पाठहरू यसरी बारम्बार स्मरण भइरहोस् ।SB 98.2

    जुन सरल र शान्तमय सौन्दर्यद्वारा परमेश्‍‍वरले हाम्रो यस पृथ्वीलाई सजाउनुभएको छ तिनै कामहरूलाई हामीद्वारा प्रशंसा गरिएको उहाँ देख्‍न चाहनुहुन्छ । उहाँ सौन्दर्य-प्रेमी हुनुहुन्छ, र बाहिरी सौन्दर्यलाई भन्दा बढी उहाँ चरित्रको सौन्दर्यलाई प्रेम गर्नुहुन्छ, र हामीद्वारा फूलको झैँ शुद्ध, सरल तथा शान्त शोभालाई उन्‍नति गरिएको देख्‍न चाहनुहुन्छ ।SB 98.3

    यदि हामीले केवल ध्यानपूर्वक सुन्यौं भने मात्र पनि परमेश्‍‍वरद्वारा सृष्‍टिएका वस्तुहरूले हामीलाई आज्ञाकारिता तथा भरोसाका अमूल्य पाठहरू सिकाउने गर्दछन् । अन्तरिक्षमा युगौं-युगदेखि आफ्‍ना अथाह पथमा निर्धारित मार्ग अपनाउँदै आएका ताराहरूदेखि लिएर सानो भन्दा सानो अणु तथा प्रकृतिका सबै थोकहरूले सृष्‍टिकर्ताको नियम पालन गर्दछन् । परमेश्‍‍वरले सबै थोकलाई वास्ता गर्नुहुन्छ र आफूले सृष्‍टि गर्नुभएका थोकहरूलाई संवर्द्धन गर्नुहुन्छ । उहाँ, जसले असंख्य विशाल जगतहरूलाई थाम्‍नुहुन्छ, साथ-साथै एउटा सानो भंगेराको खाँचोहरूप्रति पनि वास्ता गर्नुहुन्छ जसले निडरताका साथ गीत गाउने गर्दछ । जब मानिसहरू आ-आफ्‍ना दैनिक परिश्रमका निम्ति अघि बढ्‍दछन्, जब तिनीहरू प्रार्थनामा तल्‍लीन रहन्छन्, जब तिनीहरू राती सुत्दछन् र बिहान बिउँझन्छन्, जब कुनै धनी व्यक्ति आफ्‍नो महलमा भोज लगाउँदछ, वा जब कुनै गरीब व्यक्ति अपुग भोजन वरिपरि आफ्‍ना बालबच्‍चाहरूलाई भेला गर्दछ, यी सबै परिस्थितिहरूमा प्रत्येकलाई हाम्रा स्‍वर्गीय पिता कोमलतापूर्वक हेर्नुहुन्छ । बहने प्रत्येक आँसुका थोपाका बारेमा परमेश्‍‍वर अनभिज्ञ हुनुहुन्‍न । त्यहाँ कुनै यस्ता मुस्कान छैनन् जसप्रति उहाँको ध्यान नगएको होस् ।SB 99.1

    यदि हामीले यसप्रति पूर्णरूपमा विश्‍‍वास गरेको खण्डमा सारा अनुचित व्याकुलताहरू हट्‍नेछन् । अहिले जस्तो हाम्रो जीवन निराशाले भरिपूर्ण हुनेछैन किनकि साना वा ठूला सबै कुराहरू परमेश्‍‍वरको हातमा सुम्पिएका छन् जो फिक्रीहरूका प्रचुरतादेखि व्याकुल बन्‍नु हुनेछैन, न त तिनका भारदेखि हैरान नै बन्‍नुहुनेछ । तब हामीले आत्मादेखि नै विश्राम पाउनेछौं जसप्रति धेरै व्यक्तिहरू लामो सयमदेखि अपरिचित बन्दै आएका छन् ।SB 99.2

    जब तपाईंका इन्द्रियहरू पृथ्वीको आर्कषक सौन्दर्यप्रति आनन्दित बन्‍न पुग्दछन् तब आउनेवाला संसारको बारेमा कल्पना गर्नुहोस् जहाँ पाप र मृत्युको अनिष्‍ट कदापि हुनेछैन; जहाँ प्रकृतिको मुहारले सरापको छाया धारण गर्नेछैन । तपाईंको कल्पनाले उद्धार पाएका व्यक्तिहरूका घरका बारेमा चित्रांकन गरोस्, र स्मरण रहोस् कि यो तपाईंको सबैभन्दा चहकिलो कल्पनाले चित्रण गरेकोभन्दा पनि अधिक उज्‍ज्‍वल हुनेछ । प्रकृतिमा भएका परमेश्‍‍वरका विविध उपहारहरूमा हामीले उहाँको महिमाको सबैभन्दा फिका चमक मात्र देख्दछौं । धर्मशास्‍‍त्रमा यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” १ कोरिन्थी २:९ ।SB 100.1

    कवि तथा प्रकृतिविद्‍हरूसँग प्रकृतिको बारेमा बोल्‍ने धेरै कुराहरू हुन्छन् तर केवल इसाईले मात्र पृथ्वीको सौन्दर्यलाई सर्वाधिक प्रशंसाका साथ भोग गर्न सक्दछ, किनकि उसले आफ्‍नो पिताको हातका सीपहरूलाई चिन्दछ, र फूल, झाडी तथा रूखहरूमा उहाँको प्रेमलाई देख्दछ । जुन व्यक्तिले डाँडाकाँडा, भंज्याङ्ग तथा समुद्रलाई मानिसप्रति परमेश्‍‍वरको प्रेमको अभिव्यक्तिको रूपमा हेर्दैन त्यस व्यक्तिले पूर्णरूपमा तिनका महत्‍वको बारेमा प्रशंसा गर्न सक्‍नेछैन ।SB 100.2

    परमेश्‍‍वर हामीसँग उहाँको ईश्‍‍वरीय कार्य तथा हृदयमा उहाँको आत्माको प्रभावद्वारा बोल्‍नुहुन्छ । हामी वरिपरिका परिस्थिति र सेरोफेरोहरूमा, तथा हाम्रा वरिपरि दैनिकरूपमा आइरहेका परिवर्तनहरूलाई बुझ्‍नका निम्ति यदि हामीले आफ्‍नो हृदय खुला राखेको खण्डमा हामीले तिनमा अमूल्य पाठहरू भेट्टाउनेछौं । भजनसंग्रहका लेखकले ईश्‍‍वरीय कार्यलाई चित्रित गर्दै यसो भनेका छन्, “उहाँको अचूक कृपाले पृथ्वी भरिपूर्ण भएको छ ।” “जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र परमप्रभुको महान् करुणामाथि विचार गरोस् ।” भजनसंग्रह ३३:५; १०७:४३ ।SB 101.1

    परमेश्‍‍वर आफ्‍नो वचनमार्फत हामीसँग बोल्‍नुहुन्छ । यहाँ हामीसँग उहाँको चरित्र, मानिसप्रति उहाँको व्यवहार र उद्धारको महान् कार्यको बारेमा अझ प्रष्‍ट प्रकाशन छन् । हाम्रो सामु पुर्खाहरूका, अगमवक्ताहरूका तथा विगतका पवित्र जनहरूका इतिहास खुलस्त छन् । तिनीहरू पनि “हामीहरूको जस्तै स्‍वभाव भएका मानिस थिए ।” याकूब ५:१७ । हामी यो देख्दछौं कि हामीले जस्तै तिनीहरूले पनि कसरी निरुत्साहजनक परिस्थितिहरूका सामना गरे, जसरी हामी परीक्षामा पऱ्यौं त्यसको तिनीहरूले पनि कसरी सामना गरे, र तैपनि हृदय पुनः मजबुत तुल्याई परमेश्‍‍वरको अनुग्रहद्वारा विजय प्राप्‍त गरे; र यी सबै घटनाक्रममाथि दृष्‍टि लगाई हामीले धार्मिकताको निम्ति गरिने प्रयासमा उत्साह प्राप्‍त गर्दछौं । जब हामी तिनीहरूलाई प्रदान गरिएको मूल्यवान् अनुभव, तिनीहरूले प्राप्‍त गरेका ज्योति, प्रेम र आशिष् तथा तिनीहरूलाई प्रदान गरिएको अनुग्रहद्वारा पूरा गरेका कामहरूका बारेमा पढ्‍दछौं तब जुन आत्माले तिनीहरूलाई प्रेरित तुल्याइएको थियो त्यही आत्माले हाम्रो हृदयमा पवित्र अनुकरणका ज्‍वाला बाल्‍नेछ तथा चरित्रमा उनीहरूजस्तै बन्‍ने तथा तिनीहरूजस्तै परमेश्‍‍वरसँग हिँड्‍ने इच्छा प्रकट गर्नेछ ।SB 101.2

    येशूले पुरानो नियमको धर्मशास्‍‍त्रको बारेमा यसो भन्‍नुभयो जुन कुरा नयाँ नियममा पनि समानरूपले लागू हुन्छ, “मेरो विषयमा गवाही दिने ती नै धर्मशास्‍‍त्र हुन् ।” यूहन्‍ना ५:३९ । उहाँ हाम्रो एक यस्तो उद्धारकर्ता हुनुहुन्छ जसमा हाम्रो अनन्त जीवनको आशा केन्द्रित छन् । यो कुरा सत्य हो कि बाइबलले ख्रीष्‍टको बारेमा बताउँछ । “बनिएको कुनै थोक पनि उहाँविना बनिएन” भन्‍ने सृष्‍टिको पहिलो विवरणदेखि “हेर, म चाँड़ै आउँदैछु” भन्‍ने अन्तिम प्रतिज्ञासम्मै हामी उहाँका कामहरूका बारेमा पढ्‍दैछौं र उहाँको वाणीलाई सुन्दैछौं । यूहन्‍ना १:३; प्रकाश २२:१२ । यदि तपाईं मुक्तिदातासँग परिचित हुने इच्छा गर्नुहुन्छ भने पवित्र धर्मशास्‍‍त्र अध्ययन गर्नुहोस् ।SB 102.1

    आफ्‍नो सारा हृदयलाई परमेश्‍‍वरको वचनद्वारा भरिपूर्ण तुल्याउनुहोस् । ती वचन तपाईंको तीव्र प्यास मेटाउने जीवित पानी हुन् । ती वचनहरू स्‍वर्गको जीवित रोटी हुन् । येशूले घोषणा गर्नुहुन्छ, “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।” उहाँ आफ्‍नो वचनलाई यसरी स्पष्‍ट पार्नुहुन्छ, “जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन् ।” यूहन्‍ना ६:५३, ६३ । हामी जे कुरा खाँदछौं र पिउँदछौं तिनै कुराहरूद्वारा हाम्रो शरीर बनेको हुन्छ; र प्राकृतिक मामलामा झैँ आत्मिक मामलामा पनि जुन कुरामाथि हामी चिन्तन गर्ने गर्दछौं त्यसैले आत्मिक स्‍वभावलाई स्‍वस्थता तथा शक्ति प्रदान गर्दछ ।SB 102.2

    स्‍वर्गदूतहरू उद्धारको प्रसंगको बारेमा जाँच गर्ने अभिलाषा राख्दछन् र यही नै उद्धार पाएका जनहरूका लागि अनन्त कालसम्मकै निम्ति विज्ञान तथा स्तुति गान हुनेछ । के अहिले नै यो सावधान चिन्तन तथा अध्ययनको निम्ति एक योग्य समय छैन त ? येशूको असीम करुणा र प्रेम, तथा हाम्रो निम्ति गरिएको बलिदानले सर्वाधिक गम्भीर र पवित्र मननको माग गर्दछ । हामीले हाम्रा मुक्तिदाता र मध्यस्थकर्ताको चरित्रमाथि आफ्‍नोे ध्यान जमाई राख्‍नुपर्छ । हामीले उहाँको जीवनोद्देश्‍‍यको बारेमा मनन गर्नुपर्छ जो आफ्‍ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्न आउनुभयो । जब हामी यसरी ईश्‍‍वरीय विषयहरूमाथि चिन्तन गर्ने गर्दछौं, तब हाम्रो विश्‍‍वास र प्रेम अझ बढी मजबुत बन्दै जानेछन्, र हाम्रा प्रार्थनाहरू परमेश्‍‍वरको दृष्‍टिमा बढ्‍दो मात्रामा ग्रहणयोग्य बन्दै जानेछन् किनकि ती विश्‍‍वास तथा प्रेमसित अझ बढ्‍तारूपमा एकत्रित बन्‍नेछन् । हाम्रा प्रार्थनाहरू निपुण तथा ज्‍वलन्त बन्‍नेछन् । येशूप्रति हाम्रो भरोसा अझ बढी स्थिर हुनेछ र जो-जति उहाँद्वारा परमेश्‍‍वरको नजीक आउँछन् ती सबैलाई सदैव उद्धार गर्न सक्‍ने उहाँको शक्तिमाथि दैनिक तथा जीवित अनुभव हुनेछ ।SB 103.1

    जब हामी मुक्तिदाताको पूर्णताहरूको बारेमा चिन्तन गर्ने गर्दछौं तब हामी उहाँको शुद्धताको स्‍वरूपमा पूर्णरूपले परिवर्तित हुने तथा पुनः नयाँ बन्‍ने इच्छा राख्‍नेछौं । जुन परमेश्‍‍वरको हामी आराधना गर्ने गर्दछौं स्‍वयं उहाँजस्तै बन्‍नलाई हाम्रो आत्मा भोकाउने तथा तिर्खाउनेछ । जति बढ्‍तारूपमा हाम्रा विचारहरू ख्रीष्‍टमाथि केन्द्रित रहन्छन्, त्यति नै बढ्‍तारूपमा हामीले उहाँको बारेमा अरूलाई बताउनेछौं र संसारमा उहाँको प्रतिनिधित्‍व गर्नेछौं ।SB 104.1

    बाइबल केवल विद्वानहरूका निम्ति मात्र लेखिएको थिएन; यसको विपरीत यो त साधारण मानिसहरूका निम्ति रचिएको थियो । मुक्तिको निम्ति आवश्‍‍यक सत्यताहरू मध्यदिनजस्तै स्पष्‍ट तुल्याइएका छन्; र ज-जसले परमेश्‍‍वरको सरलरूपमा प्रकट गरिएको इच्छाको स्थानमा स्‍वयं आफ्‍नै निर्णय शक्तिलाई अनुसरण गर्दछन् तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्तिहरू भ्रममा पर्ने तथा आफ्‍नो बाटो बिराउने छैनन् ।SB 104.2

    हामीले कुनै व्यक्तिको गवाहीलाई धर्मशास्‍‍त्रले सिकाएको कुराको रूपमा ग्रहण गर्नुहुँदैन, तर परमेश्‍‍वरको वचनलाई स्‍वयं आफैंले अध्ययन गर्नुपर्दछ । यदि हामीले अरूलाई आफ्‍नो निम्ति विचार गर्ने अनुमति दियौं भने हाम्रा शक्तिहरू दुर्बल बन्‍नेछन् र सामर्थ्य खुम्‍चिनेछन् । मनका उच्‍च शक्तिहरू ती विषयहरूमाथि चिन्तन गरिने अभ्यासको कमीले गर्दा यति क्षीण हुन सक्‍नेछन् कि तिनले परमेश्‍‍वरको वचनको गहिरो अर्थ ग्रहण गर्ने सामर्थ्य गुमाउन सक्‍नेछन् । यदि मनलाई बाइबलको विषय वस्तुहरूका सम्बन्धमा पत्ता लगाउने, पवित्रशास्‍‍त्रलाई पवित्रशास्‍‍त्रसँग, र आत्मिक कुरालाई आत्मिक कुराहरूसँग तुलना गर्ने क्रममा प्रयोग गरिएको खण्डमा यसको वृद्धि हुनेछ ।SB 104.3

    बुद्धि मजबुत तुल्याउनका निम्ति पवित्रशास्‍‍त्रको अध्ययनभन्दा बढ्‍ता त्यहाँ कुनै त्यस्ता ठोस कुरा छैनन् । विचारलाई उच्‍च तुल्याउने तथा आन्तरिक शक्तिलाई सजिवता प्रदान गर्ने बाइबलका विस्तृत, प्रतिष्‍ठित सत्यताहरू बाहेक त्यहाँ कुनै शक्तिशाली पुस्तकहरू छैनन् । यदि परमेश्‍‍वरको वचनलाई जुनरूपले अध्ययन गरिनुपर्ने हो त्यही रूपमा अध्ययन गरिएको खण्डमा मानिसहरूसित आजकाल विरलै देख्‍न सकिने विस्तृत मन, उच्‍च चरित्र तथा स्थिर उद्देश्‍‍य हुनेथिए ।SB 105.1

    पवित्रशास्‍‍त्रलाई हतारपूर्वक पढिएको खण्डमा यसबाट अति नै कम लाभ हासिल हुनेछ । कुनै व्यक्तिले पूरै बाइबललाई पढ्‍न सक्‍ला, तैपनि यसको सौन्दर्य देख्‍न वा यसको गहिराइ र रहस्यमय अर्थ बुझ्‍नमा ऊ असफल बन्‍न पनि सक्छ । निश्‍चित उद्देश्‍‍य देख्‍न नसक्‍नेगरी तथा कुनै सकारात्मक शिक्षा प्राप्‍त गर्न नसकिनेगरी धेरै अध्ययनहरू पढ्‍नुको सट्टा कुनै एक अंशलाई यसको महत्‍व मनमा स्पष्‍ट नभएसम्म तथा मुक्तिको योजनामा यसको सम्बन्ध प्रत्यक्ष नभएसम्म अध्ययन गर्नु बढी उपयोगी सिद्ध हुनेछ । तपाईंले आफ्‍नो बाइबल सदा साथमा राख्‍ने गर्नुहोस् । जब-जब तपाईं मौका पाउनुहुन्छ तब यसलाई पढ्‍ने गर्नुहोस्; यसका पदहरूलाई कण्ठस्थ गर्नुहोस् । बाटोमा हिँड्‍दैगर्दा समेत तपाईंले यसका पदहरूलाई कुनै एक पदलाई पढेर त्यसमाथि मनन गर्न सक्‍नुहुनेछ, र यसरी बाइबलका पदलाई मनमा स्थापित गर्न सक्‍नुहुनेछ ।SB 105.2

    एकाग्रचित्त, ध्यान तथा प्रार्थनायुक्त अध्ययनविना हामीले ज्ञान हासिल गर्न सक्दैनौं । पवित्रशास्‍‍त्रका कुनै अंश यति सरल छन् कि कसैले पनि यसको गलत अर्थ लाउनेछैनन्, तर त्यहाँ कुनै यस्ता अंशहरू छन् जसको अर्थ एकै झलकमा देखिनेगरी सतहमाथि हुँदैनन् । पवित्रशास्‍‍त्रलाई पवित्रशास्‍‍त्रसितै तुलना गरिनुपर्छ । पवित्रशास्‍‍त्रलाई सावधानपूर्वक अनुसन्धान गरिनुपर्छ तथा प्रार्थनाका साथ मनन गरिनुपर्छ र यसप्रकारको अध्ययनले प्रचुर प्रतिफल ल्याउनेछ । जसरी खानीमा काम गर्ने व्यक्तिले पृथ्वीको सतहमुनी लुकेको बहुमूल्य धातु फेला पार्दछ, त्यसरी नै जुन व्यक्तिले दृढतापूर्वक पमेश्‍‍वरको वचनलाई गाडधनलाई झैँ खोजी गर्ने गर्दछ उसले सबैभन्दा बहुमूल्य सत्यता प्राप्‍त गर्दछ, जुन एक असवधान तवरले खोजी गर्ने व्यक्तिको दृष्‍टिदेखि गुप्‍त छन् । प्रेरणाका वचनहरूलाई हृदयमा मनन गरिएको खण्डमा ती जीवनको मूलबाट बहने खोलाहरूजस्तै हुनेछन् ।SB 106.1

    विना प्रार्थना कहिल्यै पनि बाइबल अध्ययन गर्नुहुन्‍न । यसका पृष्‍ठहरू खोल्‍नु अघि हामीले पवित्र आत्माको प्रकाशको माग गर्नुपर्छ, र हामीलाई सो दिइनेछ । जब नथानेल येशूकहाँ आए, तब मुक्तिदाताले यसो भन्‍नुभयो, “एक जना पक्‍का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन ।” नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्‍नुभयो ?” येशूले जवाफ दिनुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि अञ्‍जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ ।” यूहन्‍ना १:४७, ४८ । यदि हामीले सत्यता के हो भनी जान्‍ने उद्देश्‍‍यका साथ ज्योतिको निम्ति उहाँको खोजी गरेको खण्डमा येशूले हामीलाई पनि प्रार्थनाको गुप्‍त स्थानहरूमा देख्‍नुहुनेछ । ज्योतिको संसारका स्‍वर्गदूतहरू ती व्यक्तिहरूका साथ हुनेछन् जो नम्र हृदयका साथ ईश्‍‍वरीय मार्गदर्शनको खोजी गर्ने गर्दछन् ।SB 106.2

    पवित्र आत्माले मुक्तिदाताको प्रशंसा तथा महिमा गर्नुहुन्छ । ख्रीष्‍टको धार्मिकताको शुद्धता तथा हामीले उहाँबाट प्राप्‍त गर्ने मुक्ति प्रस्तुत गर्नु नै पवित्र आत्माको कर्तव्य हो । येशू भन्‍नुहुन्छ, “जे मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ ।” यूहन्‍ना १६:१४ । सत्यताको आत्मा नै ईश्‍‍वरीय सत्यताको एकमात्र प्रभावकारी गुरु हुनुहुन्छ । परमेश्‍‍वरले मानवजातिलाई कति मात्रामा सम्मान गर्नुभयो होला त जब उहाँले तिनीहरूका मुक्तिको निम्ति मर्नलाई आफ्‍नो पुत्र नै दिनुभयो र मानिसका गुरु तथा निरन्तरको मार्गदर्शक बन्‍नका निम्ति आफ्‍नो आत्मालाई नियुक्त गर्नुहुन्छ ।SB 107.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents