१३. परमप्रभुमा आनन्द मनाउनु
Search Results
- Results
- Related
- Featured
- Weighted Relevancy
- Content Sequence
- Relevancy
- Earliest First
- Latest First
- Exact Match First, Root Words Second
- Exact word match
- Root word match
- EGW Collections
- All collections
- Lifetime Works (1845-1917)
- Compilations (1918-present)
- Adventist Pioneer Library
- My Bible
- Dictionary
- Reference
- Short
- Long
- Paragraph
No results.
EGW Extras
Directory
१३. परमप्रभुमा आनन्द मनाउनु
परमेश्वरका जनहरूलाई परमप्रभुको भलाइ र कृपा प्रकट गर्दै ख्रीष्टको प्रतिनिधि बन्नका निम्ति आव्हान गरिएको छ । जसरी ख्रीष्टले हाम्रो सामु पिताको साँचो चरित्र प्रकट गर्नुभएको छ, त्यसरी नै हामीले पनि संसारलाई ख्रीष्ट प्रकट गर्नुपर्नेछ जसले उहाँको कोमल करुणामय प्रेमको बारेमा केही पनि जान्दैनन् । येशूले भन्नुभयो, “जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु ।” “म तिनीहरूमा, अनि तपाईं ममा,...तपाईंले मलाई पठाउनुभएको हो,...भनी संसारले जानोस् ।” यूहन्ना १७:१८, २३ । प्रेरित पावल येशूका चेलाहरूलाई यसो भन्दछन्, “यो प्रकट भएको छ: तिमीहरू ख्रीष्टको पत्र हौ ।” “सबै मानिसहरूद्वारा चिनिन्छ र पढ़िन्छ ।” २ कोरिन्थी ३:३, २ (KJV)। येशूले उहाँका हरेक सन्तानमार्फत संसारको निम्ति एक पत्र पठाउनुहुन्छ । यदि तपाईं ख्रीष्टको चेला हुनुहुन्छ भने उहाँले तपाईंमार्फत तपाईंको परिवार, गाउँ, गल्ली तथा तपाईं बस्नुहुने ठाउँका निम्ति एक पत्र पठाउनुहुन्छ । तपाईंको हृदयमा बास गर्नुहुने येशू उहाँसित परिचित नहुने सबैसँग बोल्ने इच्छा राख्नुहुन्छ । सायद तिनीहरू बाइबल पढ्दैनन् होला, वा यसको पृष्ठहरूमार्फत तिनीहरूसित बोल्दै गरेको आवाजलाई सुन्दैनन् होला; तिनीहरू परमेश्वरका कार्यहरूमार्फत उहाँको प्रेमलाई देख्दैनन् होला । तर यदि तपाईं येशूको साँचो प्रतिनिधि हुनुहुन्छ भने तपाईंमार्फत तिनीहरूले उहाँको भलाइको बारेमा केही बुझ्न सम्भव छ, र यसप्रकार उहाँलाई प्रेम गर्न तथा उहाँको सेवा गर्नका निम्ति तिनीहरूका आत्मालाई जित्न सकिनेछ ।SB 137.1
इसाईहरू स्वर्गतर्फ डोऱ्याउने बाटोमा बत्ती बोक्ने मानिसहरू जस्तै हुन् । तिनीहरूले ख्रीष्टमार्फत आफूमाथि चम्किरहेको ज्योतिलाई संसार तर्फ प्रतिबिम्बित गर्नुपर्नेछ । तिनीहरूका जीवन र चरित्र यस्तो हुनुपर्नेछ कि तिनीहरूमार्फत अरू मानिसहरूले ख्रीष्ट र उहाँको सेवाको बारेमा सही धारणा पाउन सक्नेछन् ।SB 138.1
यदि हामी ख्रीष्टका प्रतिनिधित्व गर्दछौं भने हामीले उहाँको सेवा जुन वास्तविक मात्रामा आकर्षक छ सोही मात्रामा आकर्षक तुल्याउनेछौं । जुन इसाईहरूले आफ्नो आत्माभित्र नैराश्यपन र खिन्नता संगाल्ने गर्दछन्, तथा गनगनाउने र गुनासो पोख्ने गर्ने गर्दछन् तिनीहरूले अरूका सामु परमेश्वर र इसाई जीवनको बारेमा झूटो प्रतिनधित्व गरिरहेको हुन्छ । तिनीहरू एक यस्तो भान दिने गर्दछन् कि परमेश्वर आफ्नो सन्तानहरूलाई खुशी रहेका देख्न प्रसन्न हुनुहुन्न, र यसै कुराद्वारा हाम्रा स्वर्गीय पिताको विरुद्धमा झूटो गवाही दिइरहेका हुन्छन् ।SB 138.2
शैतान जब परमेश्वरका जनहरूलाई अविश्वास तथा नैराश्यतर्फ डोऱ्याउनमा सफल बन्न पुग्दछ तब ऊ अत्यन्त आनन्दित हुने गर्दछ । हामीले परमेश्वरप्रति विश्वासलाई प्रकट गरेको तथा हामीलाई बचाउने उहाँको इच्छा तथा शक्तिमाथि शंका गरेको देख्नमा ऊ प्रसन्न रहन्छ । परमप्रभुले उहाँका विधिहरूमार्फत हामीमाथि हानि ल्याउनुहुनेछ भनी हामीले महसूस गरेको देख्नमा शैतान खुशी रहन्छ । परमप्रभु कृपा र दयारहित हुनुहुन्छ भनी प्रर्दशन गर्नु नै शैतानको कार्य हो । परमप्रभुको सत्यताको बारेमा उसले झूटो वर्णन गर्दछ । उसले परमेश्वरको बारेमा हाम्रो विचारलाई गलत विचारद्वारा भरिदिने गर्दछ; र हाम्रो स्वर्गीय पितामा रहेको सत्यतामा अटल रहनुको सट्टा कैयौं पटक हामीले पनि आफ्नो मनलाई शैतानको असत्य कथनहरूमा केन्द्रित पार्ने गर्दैछौं र यसरी परमेश्वरप्रति अविश्वासको भावना प्रकट गर्ने तथा उहाँको विरुद्धमा गनगनाउने क्रमद्वारा उहाँको अनादर गर्ने गर्दछौं । शैतानले सदा हाम्रो अध्यात्मिक जीवानलाई खिन्न तुल्याउने प्रयत्न गर्दछ । अध्यात्मिक जीवन परिश्रमपूर्ण र कठिन तवरको देखियोस् भनी शैतान इच्छा राख्दछ; र जब कुनै इसाईले आफ्नो जीवनमा धर्मको बारेमा यही दृष्टिकोण प्रकट गर्ने गर्दछ, तब उसले आफ्नो अविश्वासद्वारा शैतानको झूटोकुरालाई समर्थन गरिरहेको हुन्छ ।SB 138.3
जीवनको मार्गमा हिँड्दैगरेका धेरै मानिसहरू आफ्ना भुल, असफलता तथा नैराश्यताहरूप्रति आफ्ना ध्यान जमाई राख्ने गर्दछन् र तिनीहरूका हृदय शोक तथा निराशाद्वारा भरिएका छन् । जब म युरोपमा थिएँ त्यहाँ यही अवस्था भएकी तथा गहिरो विपत्तिमा परेकी एक बहिनीले प्रोत्साहनका केही वचनहरूका निम्ति अनुरोध गर्दै मलाई पत्र लेखेकी थिइन् । उनको पत्र पढिसकेपछिको रातमा मैले यो सपना देखें कि म एक बगैंचामा थिएँ, र बगैंचाको मालिकजस्तो देखिने एक व्यक्तिले मलाई बगैंचाको बाटोहरूमा डोऱ्याउँदै थिए । म चाहिँ फूलहरू टिप्दै थिएँ तथा सुगन्धको आनन्द लिँदै थिएँ, जबकि यो बहिनी जो मेरो साथमा हिँडिरहेकी थिइन् तिनले मेरो ध्यानलाई त्यस काँडे झाडीतर्फ केन्द्रित गरिन् जसले उनको बाटोमा अवरोध उत्पन्न गरिरहेको थियो । त्यहाँ उनी दुःख तथा शोक व्यक्त गर्दैथिइन् । उनी पथ-प्रदर्शकलाई पछ्याउँदै बाटोमा हिँडिरहेकी थिइनन्, तर काँडे झाडी तथा काँडाहरूको बीचमा हिँडिरहेकी थिइन् । “यो सुन्दर बगैंचालाई काँडाहरूले नाश पारेको देख्नु कति दुःखलाग्दो कुरा होइन त ?” भन्दै उनले आफ्नो दुःख पोखिन् । तब पथ-प्रदर्शकले यसो भने, “काँडाहरूलाई छाडिदिनुस्, किनकि यिनले तपाईंलाई चोट मात्रै पुऱ्याउनेछन् । गुलाफ, लिली फूलहरू तथा विभिन्न रङ्गका सुगन्धित फूलहरू टिप्नुहोस् ।”SB 139.1
के तपाईंको अनुभवमा केही उज्यालो भागहरू आएनन् त ? के तपाईंको जीवनमा केही यस्ता अमूल्य समयहरू आएनन् त जब तपाईंको हृदय परमेश्वरको आत्माको प्रत्युउत्तरमा आनन्दका साथ धड्किन पुगेको थियो ? जब तपाईं आफ्नो जीवनको अनुभवको अध्यायहरूतर्फ फर्किएर हेर्नुहुन्छ, के तपाईं केही सुखकर पृष्ठहरू भेट्टाउनु हुन्न त ? के परमेश्वरका प्रतिज्ञाहरू तपाईंको बाटोको किनारमा हुर्कंदै गरेका सुगन्धित फूलहरूजस्तै छैनन् र ? के तपाईं परमेश्वरको प्रतिज्ञाका सौन्दर्य र मिठासद्वारा आफ्नो हृदय भरिपूर्ण भएको देख्न चाहनुहुन्न त ?SB 140.1
काँडे झाडी तथा काँडाहरूले तपाईंलाई केवल चोट पुऱ्याउने तथा विरक्त पार्नेछन्; र यदि तपाईंले केवल यिनै कुराहरू बटुल्ने तथा अरूलाई पनि दिने गर्नुहुन्छ भने के तपाईं आफैंले परमेश्वरको भलाइलाई अपेक्षा गर्नुको साथै आफ्ना छिमेकीहरूलाई पनि जीवनको मार्गमा हिँड्नुदेखि वञ्चित पार्दैहुनुहुन्न त ?SB 140.2
विगतका सबै अप्रिय स्मृतिहरू—यसका दुष्टता तथा निराशाहरूका बारेमा सम्झना गर्नु तथा निरुत्साहद्वारा डुब्नेगरी तिनका बारेमा बोल्नु तथा विलाप गर्नु विवेकशील कार्य होइन । एक निरुत्साहित व्यक्ति अन्धकारद्वारा भरिपूर्ण हुन्छ, जसले परमेश्वरबाट आउने ज्योतिलाई आफ्नो आत्माभित्र प्रवेश हुन दिनुबाट रोक लगाउँदछ र अरूका मार्गमा पनि छाया पारिदिन्छ ।SB 140.3
परमेश्वरले हाम्रो सामु जुन उज्ज्वल चित्रहरू प्रस्तुत गर्नुभएको छ त्यसका लागि उहाँमा धन्यवाद चढाउनुहोस् । उहाँको प्रेमका धन्यका निश्चयताको निम्ति हामी एककृत बनौं ताकि हामी तिनलाई निरन्तर रूपमा हेरिरहनेछौं । परमेश्वरको पुत्रले आफ्नो ईश्वरत्वलाई मानवताद्वारा धारण गर्नुभई पिताको सिंहासन त्याग्नुभएको छ ताकि उहाँले मानवजातिलाई शैतानको शक्तिदेखि छुटकारा दिलाउन सक्नुहुनेछ । हाम्रो पक्षमा उहाँको विजय, मानिसका निम्ति स्वर्गको ढोका उघारिएको, मानव दृष्टिको निम्ति कृपा आसनमा अवस्थित पवित्र महिमा प्रकट गरिएको, पापको खाडलबाट उद्धार गरिएको पतित मानव जातिलाई असीमित परमेश्वरको सम्बन्धमा पुनः ल्याइएको, र हाम्रो उद्धारकर्तामाथिको विश्वासद्वारा ईश्वरीय जाँचलाई वहन गर्दै ख्रीष्टको धार्मिकता धारण गरी उहाँको सिहांसनसम्मै उचालिनु—यी नै यस्ता दृष्यहरू हुन् जसमाथि हामीद्वारा मनन गरिएको परमेश्वर देख्न चाहनुहुन्छ ।SB 141.1
जब हामी परमेश्वरको प्रेमप्रति शंका गर्दछौं र हामीले उहाँको प्रतिज्ञाहरूमाथि अविश्वास प्रकट गर्दछौं तब हामीले उहाँको अनादर गरिरहेका हुन्छौं तथा पवित्र आत्मालाई दुःखी तुल्याउँदछौं । यदि कुनै एक आमालाई उनकै सन्तानहरूले तिनीहरूलाई उचित रूपमा हेरचाह नगरेकी रूपमा तिनका बारेमा निरन्तररूपमा गुनासो गरिरहेका खण्डमा उनले कस्तो महसूस गर्नेछिन् होला, जबकि उनको जीवनको सारा परिश्रम तिनीहरूकै चाहनाहरूलाई पूरा गर्न तथा तिनीहरूकै सुविधाका निम्ति समर्पित गरिएका थिए ? यदि तिनीहरूले आफ्नै आमाको प्रेमप्रति शंका व्यक्त गरेका खण्डमा यसले उनको मनलाई छिया-छिया पार्नेछ । आफ्नै सन्तानहरूद्वारा यसरी व्यवहार गरिएको खण्डमा कुनै अभिभावकहरूले कस्तो महसूस गर्नेछन् होला त ? जुन प्रेमले हाम्रा परमेश्वर पितालाई हामीले जीवन पाऔं भनी उहाँका एकमात्र पुत्र दिन अगुवाई गऱ्यो त्यही प्रेमप्रति हामी आशंंका गर्दछौं भने उहाँले कसरी हाम्रो बारेमा ध्यान दिनुहुनेछ त ? प्रेरित पावल यसरी लेख्दछन्, “जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र ?” रोमी ८:३२ । तैपनि कैयौंले वचनद्वारा नभएतापनि आफ्ना व्यवहारहरूद्वारा यसो भन्दैछन्, “परमप्रभुले यो कुरा मलाई भन्नुभएको होइन । सायद उहाँ अन्य व्यक्तिहरूलाई प्रेम गर्नुहुन्छ होला, तर उहाँ मलाई प्रेम गर्नुहुन्न ।”SB 141.2
यस प्रकारका विचारहरूले तपाईंकै आत्मालाई हानि पुऱ्याइरहेको छ; किनकि तपाईंले उच्चारण गर्नुुहुने शंकाको प्रत्येक शब्दले शैतानका परीक्षालाई निम्त्याइरहेको हुन्छ; यसले तपाईंलाई शंका गर्ने प्रवृत्तिलाई मजबुत तुल्याइरहेको छ र यसले तपाईंमार्फत सेवा गर्ने स्वर्गदूतहरूलाई दुःखी तुल्याइरहेको छ । जब शैतानले तपाईंलाई परीक्षामा पार्दछ तब शंका वा अन्धकारका एक शब्द पनि उच्चारण नगर्नुहोस् । यदि तपाईंले शैतानको सुझावहरूका निम्ति ढोका उघार्ने रोजाइ गर्नुभएको खण्डमा तपाईंको मस्तिष्क सन्देह तथा विद्रोही प्रश्नहरूद्वारा भरिनेछ । यदि तपाईं आफ्ना भावनाहरूलाई व्यक्त गर्दै बोल्नुहुन्छ भने तपाईंले व्यक्त गर्नुहुने प्रत्येक शंकाले केवल तपाईंमाथि मात्र प्रतिक्रिया गर्नेछैन, तर यो एक यस्तो बीउ हो जुन अन्य व्यक्तिहरूका जीवनमा पनि उम्रने छ तथा फल फलाउनेछ, र तपाईंका वचनका प्रभावहरूलाई प्रतिकार्य गर्न असम्भव पनि ठहरिन सकिनेछ । स्वयं तपाईं आफैं त परीक्षणकाल तथा शैतानको पासोदेखि छुटकारा पाउन सक्षम बन्नुहुनेछ होला, तपाईंको प्रभावद्वारा बहकिएका मानिसहरू तपाईंले सुझाव दिनुभएको अविश्वासदेखि छुटकारा पाउनुमा असफल पनि हुन सक्नेछन् । तसर्थ जुन कुराहरूले आत्मिक शक्ति तथा जीवन प्रदान गर्दछ सो मात्र बोल्नु हाम्रो लागि अति आवश्यक छ ।SB 142.1
संसारलाई तपाईंले आफ्नो स्वर्गीय परमेश्वरको बारेमा कस्तो प्रकारको विवरण दिँदैहुनुहुन्छ भनी स्वर्गदूतहरूले ध्यानपूर्वक सुनिरहेका छन् । तपाईंको वार्तालापको प्रसंग ख्रीष्टकै विषयमा केन्द्रित रहोस् जो तपाईंको निम्ति पिताको सामु मध्यस्थताको प्रार्थना चढाउन सदैव जीवित रहनुहुन्छ । जब तपाईं कुनै एक मित्रसित हात मिलाउनुहुन्छ तब तपाईंको ओठ तथा हृदय परमेश्वरप्रतिको प्रशंसायुक्त शब्दहरूद्वारा भरिपूर्ण भएको होस् । यसले त्यस मित्रको विचारलाई येशूतर्फ आर्कषित पार्नेछ ।SB 143.1
हरेक व्यक्तिको जीवनमा परीक्षा, सहन मुस्किल ठहरिने शोकहरू, तथा प्रतिकार गर्न कठिन सावित हुने प्रलोभनहरू आइपर्छन् । तपाईंले आफ्नो दुःख कष्टहरू मरणशील मानवजातिलाई नबताउनुहोस्, तर सबैथोक प्रार्थनाका साथ परमेश्वरकहाँ लैजानुहोस् । शंका तथा निरुत्साहको एक शब्द पनि उच्चारण नगर्ने एक नियम नै बनाउनुहोस् । आशा तथा पवित्र प्रसन्नताका वचनहरूद्वारा अन्य मानिसहरूका जीवनलाई उज्यालो पार्न तथा तिनीहरूका प्रयत्नहरूलाई मजबुत तुल्याउन तपाईंले ठूलो योगदान पुऱ्याउन सक्नुहुनेछ ।SB 143.2
धेरै मानिसहरू परीक्षाको बोझद्वारा दबिएका तथा स्वयं आफ्नै दुष्टताको शक्ति विरुद्धको संघर्षद्वारा शिथिल बन्न पुगेका छन् । यस्तो व्यक्तिलाई उसको कठिन संघर्षमा निरुत्साहित नतुल्याउनुहोस् । उसलाई पराक्रमी तथा आशाजनक वचनहरूद्वारा प्रसन्न तुल्याउनुहोस् जसले उसको जीवन यात्रामा प्रेरित गर्नेछ । यसरी तपाईंमार्फत ख्रीष्टको ज्योति चम्किनेछ । “हामी कोही पनि आफ्नै निम्ति बाँच्दैनौं ।” रोमी १४:७ । हाम्रो अज्ञात प्रभावद्वारा अन्य मानिसहरू प्रोत्साहित तथा मजबुत बन्न सक्नेछन् वा तिनीहरू निरुत्साहित भई ख्रीष्ट तथा सत्यतादेखि पछि हट्न पनि सक्नेछन् ।SB 143.3
कैयौं मानिसहरूले ख्रीष्टको जीवन र चरित्रको बारेमा गलत विचार लिने गरेका छन् । तिनीहरू यो विचार लिने गर्दछन् कि उहाँ न्यानोपन तथा उज्यालोपन रहित हुनुहुन्थ्यो, कि उहाँ कठोर, उग्र तथा हर्षरहित हुनुहुन्थ्यो । कैयौं अवस्थाहरूमा सारा धार्मिक अनुभवलाई नै यस प्रकारका खिन्न विचारधाराहरूद्वारा पोतिएको हुन्छ ।SB 144.1
कैयौं पटक यसो भनिएको छ कि येशू रुनुभयो, र उहाँ कदापि मुस्कुराउनुभएन । हाम्रो मुक्तिदाता वास्तवमै दुःखी हुनुहन्थ्यो, र दुःखसित परिचित हुनुहुन्थ्यो किनकि उहाँले आफ्नो हृदयलाई मानिसहरूको दुःख, कष्टहरूप्रति खोल्नुभएको थियो । तर यद्यपि उहाँको जीवन आत्म-त्यागले पूर्ण तथा पीडा र फिक्रीद्वारा ढाकिएको थियो तैपनि उहाँको आत्मा चूर्ण बन्न पुगेको चाहिँ थिएन । उहाँको चेहराले शोक असन्तुष्टिको अभिव्यक्ति धारण गरेको थिएन तर सदा शान्तमय निर्मलताले भरिपूर्ण हुने गर्दथ्यो । उहाँको हृदय जीवनको मुहान थियो, र उहाँ जता-जता जाने गर्नुहुन्थ्यो त्यहाँ विश्राम र शान्ति, आनन्द र प्रसन्नता पुऱ्याउनुहुन्थ्यो ।SB 144.2
हाम्रो मुक्तिदाता अत्यन्तै गम्भीर तथा उत्सुक हुनुहुन्थ्यो तर कहिल्यै पनि खिन्न वा उदासचाहिँ रहनुभएन । ज-जसले उहाँका अनुकरण गर्दछन् तिनीहरूका जीवन उत्सुक उद्देश्यद्वारा भरिपूर्ण हुनेछन्; तिनीहरूसँग व्यक्तिगत उत्तरदायित्वका एक गहिरो चेतना हुनेछ । अस्थिरतालाई दमन गरिनेछ; त्यहाँ कुनै उत्ताउलो मोजमज्जा तथा अशिष्ट खेलाँची हुनेछैन; तर ख्रीष्टले दिनुहुने धर्मले एक नदीले झैँ शान्ति प्रदान गर्दछ । यसले आनन्दको ज्योतिलाई निभाउँदैन । यसले प्रसन्नतालाई बन्देज गर्दैन न त उज्यालो, हँसिलो मुहारलाई अँध्यारो नै पार्ने गर्दछ । ख्रीष्ट सेवा पाउनलाई होइन तर सेवा गर्न आउनुभयो र जब उहाँको प्रेमले हृदयमा शासन गर्दछ तब उहाँको उदाहरणलाई पछ्याउनेछौं ।SB 145.1
यदि हामीले अन्य मानिसका कठोर तथा अन्यायी व्यवहारलाई सर्वोच्च प्राथमिकता दियौं भने जसरी ख्रीष्टले हामीलाई प्रेम गर्नुभएको छ त्यसरी नै हामीले तिनीहरूलाई प्रेम गर्न असम्भव पाउनेछौं; तर यदि हाम्रा विचारहरू हामीप्रति ख्रीष्टको अचम्मको प्रेम तथा करुणाप्रति केन्द्रित रहेको खण्डमा यही आत्मा अन्य मानिसहरूसम्म पनि बहेर जानेछन् । हामीले अन्य मानिसहरूका भुल तथा अपूर्णताहरूका परवाह नगर्दै तिनीहरूलाई प्रेम तथा आदर गर्नुपर्नेछ, जुन भुल तथा अपूर्णताहरूका निम्ति हामी केही पनि गर्न सक्नेछैनौं । नम्रता तथा आत्म-आविश्वासको भावनालाई विस्तार गरिनुपर्छ, र अन्य मानिसका भुलहरूप्रति धैर्य कोमलताको भावना व्यक्त गरिनुपर्छ । यसले सारा संकुचित स्वार्थीपनलाई नष्ट पार्नेछ, र हामीलाई उद्धार बनाउनेछ ।SB 145.2
भजनसंग्रहका लेखक भन्दछन् “परमप्रभुमा भरोसा राख र भलाइ गर, यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ ।” भजनसंग्रह ३७:३ । “परमप्रभुमा भरोसा राख्नुहोस् ।” प्रत्येक दिनको आफ्नै बोझ, फिक्री तथा संकष्टहरू छन्; र जब हामी यी सबैको सामना गर्दछौं तब हामी आफ्ना कठिनाइ तथा परीक्षाहरूका बारेमा बोल्न अति तत्पर रहन्छौं । अनुकरण गरिएको असंख्या कष्टहरूले हामीलाई दखल पुऱ्याउँदछन्, हामी असंख्य त्रासहरूमा अल्झिने गर्दछौं, हामी यति फिक्री गर्ने गर्दछौं कुनै एक व्यक्तिले यसरी अनुमान लगाउन पनि सक्नेछ कि हामीसित हाम्रा सारा बिन्तीहरू सुन्नका निम्ति तथा खाँचोको प्रत्येक पलहरूमा हामीलाई तुरुन्तै मद्दत गर्नका निम्ति तथा संकष्टमा सधैं हाजिर रहने करुणामय तथा प्रेमिलो मुक्तिदाता हुनुहुन्न ।SB 146.1
कुनै मानिसहरू सदा डराउने तथा अरूबाट कष्ट सापट लिने गर्दछन् । प्रत्येक दिन तिनीहरू परमेश्वरको प्रेमका संकेतहरूद्वारा घेरिन पुगेका छन्; प्रत्येक दिन तिनीहरू उहाँको उपहारको भोग गर्ने गर्दछन् तर पनि तिनीहरू यी वर्तमान आशिष्हरूलाई वेवास्ता गर्ने गर्दछन् । तिनीहरूका मन निरन्तर रूपमा कुनै अप्रिय कुरामाथि केन्द्रित रहेको हुन्छ जुन तिनीहरूमाथि आइपर्नेछ भनी तिनीहरू डराउँदछ; अथवा कुनै सङ्कट वास्तवमै विद्यमान रहेको हुनसक्छ जुन यद्यपि सानो भएतापनि यसले तिनीहरूका आँखालाई धेरै यस्ता कुराहरूप्रति अन्धो तुल्याउन सक्दछ । जसले कृतज्ञताको माग गर्दछ । तिनीहरू जुन सङ्कटहरूका सामना गर्दछन् तिनले तिनीहरूलाई आफ्ना सहायताको एकमात्र मुहान परमेश्वरतर्फ बढाउनुको सट्टा उहाँबाटै अलग पर्दछन् किनकि ती कुराहरूले अशान्ति तथा असन्तुष्टिको भावना जगाइदिने गर्दछ ।SB 146.2
के यसरी नै अविश्वासी बनिरहनु हाम्रो निम्ति उचित छ त ? हामी किन अकृतज्ञ तथा अविश्वासी बन्ने ? येशू हाम्रा मित्र हुनुहुन्छ, सारा स्वर्ग नै हाम्रो कल्याणप्रति इच्छुक रहेको छ । दैनिक जीवनका अन्योल तथा चिन्ताहरूद्वारा हाम्रो मनलाई पिरोल्ने तथा चेहरालाई अँध्यारो बनाउने अनुमति दिनुहुन्न । यदि हामी यसो गर्दछौं भने हामीसँग चिढाउने तथा कष्ट दिने केही न केही कुराहरू सदा रहिरहनेछन् । जुन चिन्ताले हामीलाई केवल आजित पार्ने तथा थकाउने मात्र गर्दछ, तर परीक्षाहरूका सामना गर्नमा हामीलाई सहायता गर्दैनन् त्यसमा हामी अल्झिनुहुँदैन ।SB 147.1
सायद तपाईं आफ्नो व्यापारमा जेलिनुभएको छ होला; तपाईंका आशाहरू झन्-झन् अन्धकार बन्दै गएका छन् होला तथा तपाईंले हानि पनि व्यहोर्नुपर्नेछ होला; तर निरुत्साहित नबन्नुहोस्, आफ्ना फिक्रीहरू परमेश्वरमा सुम्पनुहोस्, र शान्त तथा प्रसन्न हुनुहोस् । आफ्ना व्यवसायहरूलाई विवेकशील तरिकाले व्यवस्थापन गर्नका निम्ति ज्ञानको माग गर्दै प्रार्थना गर्नुहोस् र यसरी नोक्सान तथा विपत्ति रोक्नुहोस् । अनुकुल परिणामका निम्ति आफ्नो सामर्थ्यले भ्याएसम्म सक्दो प्रयास गर्नुहोस् । येशूले सहायताको निम्ति प्रतिज्ञा गर्नुभएको छ, तर हाम्रो प्रयासविना उहाँले सहायता गर्न सक्नुहुनेछैन । हाम्रा मद्दतकर्ता परमप्रभुमाथि भरोसा राख्ने क्रममा तपाईंले आफ्ना तर्फबाट गर्न सकिने जति सबै कुरा सम्पादन गर्नुभएको छ, अब प्रसन्नताका साथ प्रतिफल ग्रहण गर्नुहोस् ।SB 147.2
परमेश्वरका जनहरू फिक्रीको बोझद्वारा लादिएर बसून् भन्ने उहाँको इच्छा होइन । हाम्रा परमप्रभुले हामीलाई धोका दिनुहुन्न उहाँ हामीलाई “नडराऊ, त्यहाँ तिम्रो पथमा कुनै खतराहरू छैनन्” भनी बताउनुहुन्न । उहाँलाई थाहा छ कि त्यहाँ परीक्षा तथा खतराहरू छन्, र उहाँ हाम्रो साथ स्पष्ट रूपमा व्यवहार गर्नुहुन्छ । उहाँ आफ्ना जनहरूलाई यस पाप र दुष्टताको संसारदेखि बहिर लैजाने प्रतिज्ञा गर्नुहुन्न, तर उहाँ तिनीहरूलाई एक अचूक आश्रय देखाउनुहुन्छ । आफ्ना चेलाहरूका निम्ति उहाँले गर्नुभएको प्रार्थना यसप्रकारको थियो, “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस् ।” उहाँ भन्नुहुन्छ, “संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु ।” यूहन्ना १७:१५; १६:३३ ।SB 148.1
डाँडाको उपदेशमा ख्रीष्टले आफ्ना चेलाहरूलाई पमेश्वरमाथि भरोसा गर्नुपर्ने आवश्यकताको बारेमा अमूल्य पाठहरू सिकाउनुभयो । ती पाठहरू परमेश्वरको जनहरूलाई सबै युगमा प्रोत्साहित गर्ने हेतुले रचिएका थिए र निर्देशन तथा सान्त्वनाले भरपुर ती पाठहरू यस वर्तमान कालसम्मै आइपुगेका छन् । मुक्तिदाता आफ्नो चेलाहरूलाई चिन्ताको वशमा नपरी आफ्ना प्रशंसाका स्तुतिगान गाउँदै गरेका आकाशका चराचुरुङ्गीहरूतर्फ औल्याउँदै यसो भन्नुहुन्छ, “ती न ता बीउ छर्दछन्, न कटनी गर्दछन् ।” तर पनि महान् पिताले तिनीहरूका खाँचोहरूलाई पूरा गर्नुहुन्छ । मुक्तिदाता प्रश्न गर्नुहुन्छ, “के तिमीहरू तीभन्दा धेरै मूल्यवान् होइनौ र ?” मत्ती ६:२६ । मानिस तथा पशुपंक्षीहरूका महान् प्रबन्धक आफ्नो मुट्ठी खोल्नुहुन्छ र आफ्ना सारा सृष्टिका खाँचोहरूलाई पूर्ति गर्नुहुन्छ । आकाशका चराचरुङ्गीहरू उहाँको ध्यानदेखि पर छैनन् । उहाँले ती चराचुरुङ्गीहरूका मुखमै आहारा त खसाल्नुहुन्न तर तिनीहरूका खाँचोहरूका निम्ति बन्दोवस्त गर्नुहुन्छ । तिनीहरूका निम्ति उहाँले जुन दाना छर्नुभएको छ त्यसलाई तिनीहरूले बटुल्नुपर्नेछ । आफ्ना स-साना गुँडहरूका निम्ति तिनीहरूले सामाग्री बटुल्नुपर्नेछ । तिनीहरूले आफ्ना बचेराहरूलाई खुवाउनुपर्नेछ । तिनीहरू गीत गाउँदै आफ्ना दिनचर्याका निम्ति निस्कने गर्दछन् किनकि “तिनीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ” र “तिमीहरू तीभन्दा धेरै मूल्यवान होइनौ र ?” के तपाईं बुद्धिमान् तथा आत्मिक उपासकका हैसियतले आकाशका चराचुरुङ्गीहरूभन्दा मुल्यवान् हुनुहुन्न त ? उहाँ जो हाम्रो अस्तित्वको रचनाकार तथा हाम्रो जीवनको रक्षक हुनुहुन्छ, जसले हामीलाई उहाँकै ईश्वरीय स्वरूपमा रच्नुभयो, के हामीले उहाँमाथि भरोसा राख्यौं भने उहाँले हाम्रो आवश्यकताहरू पूरा गर्नुहुनेछैन त ?SB 148.2
ख्रीष्टले उहाँका चेलाहरूलाई मैदानमा सर्वत्र फुलिरहेका फूलहरू देखाउनुभयो जुन सरल सौन्दर्यका साथ चम्किरहेका थिए । जुन हाम्रा स्वर्गीय पिताले मानवजातिप्रति उहाँको प्रेमको अभिव्यक्तिको रूपमा तिनीहरूलाई दिनुभएको थियो । उहाँले भन्नुभयो, “मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन् ।” यी प्राकृतिक फूलहरूका सौन्दर्य तथा सरलताले सोलोेमनको वैभवलाई कैयौं गुणाले जित्दछन् । मानिसको कलाद्वारा रचिएको सबैभन्दा रवाफिलो वस्त्रले परमेश्वरको सृष्टिका फूलहरूका प्राकृतिक शोभा तथा उज्वल सुन्दरतासित समानता पाउन सक्दैनन् । येशू प्रश्न गर्नुहुन्छ, “आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र ?” मत्ती ६:२८, ३० । परमेश्वरले एक दिव्य कालिगढको हैसियतले एक दिनमै नाश भएर जाने सरल फूलहरूलाई आकर्षक तथा विविध रङ्गहरूले सजाउनुहुन्छ भने स्वयं उहाँकै स्वरूपमा सृजनुभएको मानवजातिका निम्ति कति बढ्ता मात्रामा फिक्री गर्नुहुनेछ होला त ? ख्रीष्टको यो पाठ व्याकुल चिन्तन, र विश्वासहीन हृदयको अन्योल तथा शंका विरुद्ध हप्की हुन् ।SB 149.1
परमप्रभु उहाँका सारा जनहरू खुशी, शान्त तथा आज्ञाकारी रहेको चाहनुहुन्छ । येशू भन्नुहुन्छ, “शान्ति म तिमीहरूसँग छोडिराख्छु । म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु । संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ । तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस् ।” “मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस् ।” यूहन्ना १४:२७; १५:११ ।SB 150.1
स्वार्थी उद्देश्यका साथ कर्तव्य पथदेखि बाहिर खोजी गरिने सुख असन्तुलित, अशान्त तथा स्थायी हुन्छन्; यस प्रकारको सुख वितेर जान्छ, र आत्मा एक्लोपन तथा शोकद्वारा भरिपूर्ण हुन पुग्दछ; तर परमेश्वरको सेवामा आनन्द तथा सन्तुष्टि छ; कुनै एक इसाईलाई कुनै एक अनिश्चित मार्गहरूमा हिँड्नका निम्ति एक्लो छाडिनेछैन; उसलाई व्यर्थको पछुतो तथा नैराश्यताहरूमा एक्लो त्यागिने छैन । यदि हामी यस जीवनमा आनन्द हासिल गर्न असफल भएतापनि हामी भविष्यको जीवनतर्फ दृष्टि लगाउँदै आनन्दित बन्न सक्नेछौं ।SB 150.2
तर यस संसारमै पनि इसाईहरूले ख्रीष्टमा आनन्दमय सम्पर्क प्राप्त गर्न सक्नेछन्; तिनीहरूले उहाँको प्रेमको ज्योति तथा उहाँको उपस्थितिको अटुट सान्त्वना प्राप्त गर्न सक्नेछन् । जीवनको प्रत्येक कदमले हामीलाई येशूको अझ नजिक ल्याउन सक्नेछ, हामीलाई उहाँको प्रेमको अझ गहिरो अनुभव प्रदान गर्नेछ, र हामीलाई शान्तिको स्वर्गीय घरतर्फ एक कदम नजिक पुऱ्याउनेछ । तसर्थ हामीले आफ्नो दृढतालाई नत्यागौं, तर विगतका आत्म-विश्वासभन्दा मजबुत आत्म-विश्वास धारण गरौं । “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो,” र उहाँले हामीलाई अन्तसम्म नै सहायता गर्नुहुनेछ । १ शमूएल ७:१२ । परमप्रभुले हामीलाई सान्त्वना दिनका निम्ति तथा हामीलाई विध्वंसकहरूका हातदेखि बचाउनका निम्ति जे-जति गर्नुभयो यसको स्मरण स्वरूप खडा स्मारक स्तम्भहरूतर्फ हेरौं । परमेश्वरले हामीप्रति प्रकट गर्नुभएका सबै महान् करुणाहरू—उहाँले पुछ्नुभएको आँशु, उहाँले शान्त पार्नुभएको पीडा, हटाइएका अन्योलहरू, धपाइएका भयहरू, पूर्ति गरिएका खाँचोहरू, प्रदान गरिएका आशिष्हरू—यी सबै कुराहरूलाई स्मरणमा ताजा राखौं । यसरी हामीले आफ्नो सामु रहेको शेष तीर्थयात्राको निम्ति स्वयं आफैंलाई मजबुत तुल्याऔं ।SB 151.1
आउँदो संघर्षमा हामी नयाँ संकष्टहरूका प्रतीक्षा गर्नु सिवाय अरू केही गर्न सक्नेछैनौं, तर हामीले अतितमा के भयो र भविष्यमा के हुनेछ भनी हेर्न सक्नेछौं; र यसरी भन्न सक्नेछौ, “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो ।” १ शमूएल ७:१२ । “जस्तो तिम्रा दिन त्यस्तै तिम्रो शक्ति हुनेछ ।” व्यवस्था ३३:२५ । जे-जस्तो परीक्षा हामीमाथि आइपरेतापनि तिनले वास्तवमा परीक्षाविरुद्ध सामना गर्ने हाम्रो शक्तिलाई नाघ्न सक्नेछैनन् । त्यसकारण हामीले जहाँ आफ्नो काम फेला पार्दछौं त्यहीँ यो विश्वास गर्दै यसलाई वहन गरौं कि चाहे जस्तोसुकै अवस्था किन आई नपरोस् हामीलाई परीक्षाको अनुपातमै शक्ति पनि दिइनेछ ।SB 151.2
शीघ्र नै परमेश्वरका जनहरूलाई ग्रहण गरिनका निम्ति स्वर्गका प्रवेशद्वारहरू खोलिनेछन्, र महिमाको राजाको ओठबाट आउने आशिष्का पुकारहरू तिनीहरूका कानमा सर्वोत्कृष्ट संगीतको रूपमा पर्नेछन् जब उहाँले यसो भन्नुहुनेछ, “आओ, मेरा पिताका धन्यका हो ! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर ।” मत्ती २५:३४ ।SB 152.1
तब उद्धार प्राप्त गरेका जनहरूलाई त्यस घरमा स्वागत गरिनेछ जुन घर येशू तिनीहरूका निम्ति तयार पार्दैहुनुहुन्छ । त्यहाँ तिनीहरूका मित्रहरू पृथ्वीका दुष्ट व्यक्तिहरू, झूट बोल्नेहरू, व्यभिचारीहरू, अपवित्र तथा अविश्वासी हुनेछैनन्; तर तिनीहरू ती व्यक्तिहरूका साथ सम्मिलित हुनेछन् जसले शैतानमाथि विजय प्राप्त गरेका छन् र ईश्वरीय अनुग्रहमार्फत पुनः चरित्र निर्माण गरेका छन् । जुन हरेक पापपूर्ण प्रवृत्ति तथा हरेक अपूर्णताहरूले तिनीहरूलाई यस पृथ्वीमा सताउने गर्दछन् ती सबैलाई ख्रीष्टको रगतद्वारा हटाइनेछ र सूर्यको चमकभन्दा कैयौं गुणा चहकिला उहाँको श्रेष्ठता तथा उहाँको चरित्रको पूर्णता तिनीहरूमार्फत चम्कनेछन् जुन बाहिरी गौरवभन्दा कैयौं गुणा उच्च हुनेछन् । तिनीहरू महान् उज्ज्वल सिंहासनको सामु निर्दोष ठहरिनेछन् र स्वर्गदूतहरूका प्रतिष्ठा तथा विशेषाधिकारका भागीदार बन्नेछन् ।SB 152.2
जुन महिमित उत्तराधिकार मानिसले हासिल गर्न सक्नेछ त्यसलाई दृष्टिगत गर्दै “मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ ?” मत्ती १६:२६ । ऊ गरीब होला, तर उसले स्वयं आफैंमा एक यस्तो धन-सम्पत्ति तथा प्रतिष्ठाको प्रभुत्व जमाएको छ जुन संसारले कदापि दिन सकेको थिएन । पापदेखि उद्धार गरिएको तथा पवित्र व्यक्ति आफ्नो सारा कुलीन शक्तिहरूका साथ परमेश्वरको सेवामा समर्पित रहन्छ, यस्तो व्यक्ति उत्कृष्ट महत्वको हुन्छ; र परमेश्वर र पवित्र स्वर्गदूतहरूका उपस्थितिमा एक उद्धार पाएको व्यक्तिमाथि आनन्द व्यक्त गरिन्छ, एक यस्तो प्रकारको आनन्द जुन पवित्र विजय गीतहरूमार्फत प्रकट गरिन्छ ।SB 153.1