Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ३. पश्‍चात्ताप

    मानिस कसरी परमेश्‍‍वरको सामु धर्मी ठहरिने ? पापी कसरी धर्मी बन्‍न सक्‍नेछ ? केवल ख्रीष्‍टद्वारा मात्र हामी परमेश्‍‍वरसित, र पवित्रताको साथमा मधुरो सम्बन्धमा ल्याइनेछौं; तर हामी कसरी ख्रीष्‍टमा आउनुपर्नेछ त ? जसरी पेन्तिकोसको दिनमा भीडले सोधेका थिए त्यसरी नै आज पनि कैयौंले यही प्रश्‍न गर्दैछन् । जब पापको कारण दोषी ठहरिएर तिनीहरूले यसरी पुकारे, “हामी के गरौं ?” तब पत्रुसको जवाफ यसप्रकार थियो, “पश्‍चात्ताप गर्नुहोस् ।” प्रेरित २:३७, ३८ (KJV) । केही समय पश्‍चात् अर्कै समयमा उनले भने, “पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन् ।” प्रेरित ३:१९ ।SB 19.1

    पश्‍चात्तापले पापप्रति शोक व्यक्त गर्नु र यसबाट तर्किनु भन्‍ने दुई पक्षलाई समावेश गर्दछ । जबसम्म हामीले पापले ल्याउने विनाशलाई देख्‍नेछैनौं तबसम्म हामीले यसलाई त्याग्‍नेछैनौं; र जबसम्म हामी हृदयदेखि नै पापबाट तर्कने छैनौं तबसम्म जीवनमा साँचो परिवर्तन आउनेछैन ।SB 19.2

    कैयौं मानिसहरू पश्‍चात्तापको साँचो स्‍वभावबारे बुझ्‍न सक्दैनन् । असंख्य मानिसहरू आफ्‍नो पापको निम्ति शोक व्यक्त गर्दछन् र यसको साथै आफ्‍नो जीवनमा एक बाह्य सुधार पनि ल्याउँदछन् किनकि तिनीहरू यो कुरामाथि डर मान्दछन् कि तिनीहरूका गलत कार्यहरूले स्‍वयं तिनीहरूमाथि नै कष्‍ट ल्याउनेछ । तर बाइबलमुताबिक यो पश्‍चात्ताप होइन । तिनीहरू पापको सट्टा कष्‍टप्रति शोक मान्‍ने गर्दछन् । जब एसावले सदाको निम्ति आफ्‍नो जेष्‍ठ-अधिकार गुमाइसकेका तथ्यताबारे चाल पाए त्यतिखेर उनले यस्तै प्रकारको शोक व्यक्त गरे । हातमा तलवार लिई आफ्‍नो बाटोमा उभिरहेका स्‍वर्गदूतदेखि त्रसित भई बालामले आफ्‍नो दोष स्‍वीकार गरे, अन्यथा उसले आफ्‍नो जीवन गुमाउनु पनि पर्नेथियो; तर त्यहाँ पापप्रति कुनै वास्तविक पश्‍चात्तापको भावना थिएन, उद्देश्‍‍यमा कुनै परिवर्तन थिएन न त अधर्मप्रति कुनै घृणा नै थियो । यहूदा इस्करियोतले आफ्‍नो परमप्रभुलाई धोका दिइसकेपछि यसो भने, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु ।” मत्ती २७:४ ।SB 19.3

    दण्डको एक भयानक चेतना र इन्साफको एक डरलाग्दो दृष्‍टिद्वारा उसको दोषी आत्मादेखि यो पाप स्‍वीकार उत्पन्‍न भएको थियो । जुन परिणामहरू ऊ माथि आइलाग्‍नुपर्नेथियो तिनले उसलाई त्रासको भावनाद्वारा भरिदियो, तर परमेश्‍‍वरको निष्खोट पुत्रलाई धोका दिएको बारेमा तथा इस्राएलको पवित्र जनलाई तिरस्कार गरेको बारेमा उसको आत्माभित्र कुनै गहिरो तथा भग्‍न-हृदय शोक थिएन । फारोले परमेश्‍‍वरको इन्साफद्वारा कष्‍ट भोगिरहेका अवस्थामा थप सजायबाट बच्‍नका निम्ति आफ्‍नो पापलाई स्‍वीकार गऱ्यो, तर विपत्तिहरू हट्‍नासाथ स्‍वर्गको विरुद्धमा आफ्‍नो अटेरिपनतर्फ नै फर्कियो । यी सबै व्यक्तिहरूले पापका परिणामहरूप्रति विलाप गरे, तर पापकै लागि चाहिँ शोक प्रकट गरेनन् ।SB 20.1

    तर जब हृदय परमेश्‍‍वरको आत्माको प्रभावप्रति समर्पित रहन्छ, तब विवेक सचेत बन्‍नेछ, र पापीले परमेश्‍‍वरको व्यवस्थाको गहिराइ तथा पवित्रताको बारेमा केही बुझ्‍न सक्‍नेछ जुन स्‍वर्ग र पृथ्वीमाथि उहाँको शासनको जग हो । “हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो” यही ज्योतिले आत्माको गोप्य कोठाहरूलाई उज्यालो पार्दछ, र अन्धकारका गुप्‍त कुराहरू प्रकट हुन्छन् । यूहन्‍ना १:९ । विश्‍‍वासले मन र हृदयलाई अधिकारमा राख्दछ । पापीले यहोवेको धार्मिकताको बारेमा चेतना पाउँदछ, र आफ्‍नो अपराध तथा अशुद्धताका साथ हृदय जाँच्‍नुहुने परमेश्‍‍वरको सामु जान डराउँदछ । उसले परमेश्‍‍वरको प्रेम, पवित्रताको सौन्दर्य, र शुद्धताको आनन्दलाई देख्दछ; अनि शुद्ध बन्‍ने तथा स्‍वर्गीय सम्बन्धमा पुनःस्थापित हुने अभिलाषा राख्दछ ।SB 21.1

    दाऊदले आफ्‍नो पतन पश्‍चात् गरेका प्रार्थनाले पापप्रति व्यक्त गरिने साँचो शोकको स्‍वभावको बारेमा चित्रण गर्दछ । उनको पश्‍चात्ताप साँचो तथा गहिरो तवरको थियो । उनले आफ्‍नो अपराधलाई ढाकछोप गर्ने कुनै प्रयत्‍न गरेनन्, न त आउनेवाला दण्डदेखि बच्‍ने इच्छाले नै उनलाई प्रार्थना गर्नका निम्ति प्रेरित गरेको थियो । दाऊदले आफ्‍नो अपराधको भीषण रूप देखे; उनले आफ्‍नो आत्माको कलङ्क देखे अनि आफ्‍नो पापलाई घृणा गरे । उनले केवल माफीको निम्ति प्रार्थना गरेका थिएनन् तर हृदयको शुद्धताको निम्ति पनि प्रार्थना गरेका थिए । उनले पवित्रताको आनन्द प्राप्‍त गर्न तथा परमेश्‍‍वरसित मधुर सम्बन्ध र सम्पर्क पुनःस्थापना गर्ने अभिलाषा राखे । उनको आत्माको बोली यसप्रकार थियो:SB 21.2

    “धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन् । त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जसको मनमा छलकपट छैन ।” भजनसंग्रह ३२:१, २ ।SB 22.1

    “हे परमेश्‍‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि दया गर्नुहोस्; तपाईंका असंख्य कोमल कृपाहरूअनुसार मेरा अपराधहरू मेटाइदिनुहोस् !...किनकि म मेरा अपराधहरू स्‍वीकार गर्छु; अनि मेरो पाप निरन्तर मेरै सामुन्‍ने छ ।...हिसपले मलाई चोख्याउनुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु ।...हे परमेश्‍‍वर, मभित्र शुद्ध हृदय सृजनुहोस्, र मभित्र स्थिर आत्मालाई नयाँ तुल्याउनुहोस् ! तपाईंको उपस्थितिबाट मलाई ननिकाल्‍नुहोस् र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस् ! तपाईंको उद्धारको आनन्द मलाई फेरि दिनुहोस् र तपाईंको इच्छुक आत्माले मलाई सम्हाल्‍नुहोस् !...हे परमेश्‍‍वर, मेरा उद्धारका परमेश्‍‍वर, मलाई रक्तपातको दोषदेखि छुटकारा दिनुहोस्; र मेरो जिब्रोले तपाईंको धार्मिकताको गीत उच्‍च सोरले गाउनेछ ।” भजनसंग्रह ५१:१-१४ (KJV) ।SB 22.2

    यस प्रकारको पश्‍चात्ताप गर्नु हाम्रो पहुँचदेखि धेरै पर छ; यो त केवल ख्रीष्‍टबाट मात्र प्राप्‍त हुने गर्दछ जो स्‍वर्गमा जानुभयो र जसले मानिसहरूलाई वरदानहरू दिनुभएको छ ।SB 22.3

    धेरै मानिसहरू यही भुलमा पर्दै ख्रीष्‍टले तिनीहरूलाई दिन चाहनुभएको सहायता प्राप्‍त गर्नमा असफल बन्‍न पुग्दछन् । तिनीहरू यो सोचाई राख्दछन् कि सर्वप्रथम पश्‍चात्ताप नगरेसम्म तिनीहरू ख्रीष्‍टकहाँ आउन सक्‍ने छैनन्, र पश्‍चात्तापले नै आफ्‍ना पापहरूका क्षमा प्राप्‍तिका निम्ति तयार पार्दछ । यो कुरा साँचो हो कि पापदेखि क्षमा प्राप्‍त हुनु अघि पश्‍चात्तापको स्थान आउँदछ; किनकि भग्‍न र चूर्ण हृदयले एकमात्र मुक्तिदाताको आवश्‍‍यकताको बारेमा महसूस गर्नेछ । तर के पापीले येशूकहाँ आउनु अघि पश्‍चात्ताप नगरुञ्‍जेलसम्मै प्रतीक्षा गर्नुपर्नेछ त ? के पश्‍चात्तापलाई पापी र मुक्तिदाता बीचको एक अवरोध बनाइनुपर्छ त ?SB 22.4

    बाइबलले यो कुरा सिकाउँदैन कि पापीले ख्रीष्‍टको निमन्‍‍त्रणाप्रति ध्यान दिनु अघि उसले पश्‍चात्ताप गर्नुपर्नेछ । “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु ।” मत्ती ११:२८ । ख्रीष्‍टबाट प्राप्‍त हुने शक्तिले मात्र साँचो पश्‍चात्तापतर्फ डोऱ्याउँदछ । इस्राएलीहरूलाई दिएका आफ्‍नो वक्तव्यमा पत्रुसले यस प्रसंगलाई यसरी स्पष्‍ट पारेका थिए, “परमेश्‍‍वरले इस्राएलको पश्‍चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्‍नो दाहिने बाहुलीले उच्‍च पार्नुभयो ।” प्रेरित ५:३१ । जसरी हामीले ख्रीष्‍टविना माफी पाउन सक्दैनौं त्यसरी नै ख्रीष्‍टको आत्माविना विवेकलाई सचेत पार्नका निम्ति पश्‍चात्ताप गर्न सक्‍नेछैनौं ।SB 23.1

    ख्रीष्‍ट नै हरेक उचित प्रेरणाको मुहान हुनुहुन्छ । केवल उहाँले मात्र हृदयमा पापको विरुद्धमा दुश्‍‍मनी भावना उब्‍जाउन सक्‍नुहुनेछ । सत्यता र पवित्रताप्रति हरेक आकांक्षा तथा स्‍वयं आफ्‍नै पापप्रति प्रकट गरिने हरेक दोष सिद्धिको भावना नै उहाँको आत्माले हाम्रो हृदयमा प्रभाव पार्दैछ भन्‍ने एक प्रमाण हो ।SB 23.2

    येशूले भन्‍नुभयो, “अनि जब म पृथ्वीमा उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्‍नेछु ।” यूहन्‍ना १२:३२ । ख्रीष्‍टलाई संसारको पापको खातिर मर्नुभएको एक मुक्तिदाताको रूपमा पापीहरूका सामु प्रकट गरिएको हुनुपर्छ; र जसै हामी कलवरीको क्रूसमा परमेश्‍‍वरको थुमातर्फ हेर्दछौं, तब हाम्रो मनमा उद्धारको रहस्य खुल्‍न थाल्‍नेछन् र परमेश्‍‍वरको भलाइले हामीलाई पश्‍चात्तापतर्फ डोऱ्याउनेछ । पापीहरूका निम्ति मर्नुभएर ख्रीष्‍टले बुझ्‍नै नसकिने तवरको प्रेम प्रकट गर्नुभएको छ; र जसै पापीले यस प्रेमतर्फ नजर लगाउँदछ तब यसले हृदयलाई कोमल तुल्याउँदछ, मनलाई प्रभावित तुल्याउँदछ, र आत्माभित्र चूर्णपन उत्पन्‍न गर्दछ ।SB 24.1

    यो कुरा साँचो हो कि कहिलेकाहीँ मानिसहरू आफ्‍ना पापमय चालहरूदेखि लज्‍जित बन्‍न पुग्दछन्, र तिनीहरूले ख्रीष्‍टतर्फ आकर्षित हुँदैछौं भन्‍ने कुराको चाल पाउनु अघि आफ्‍ना केही दुष्‍ट बानीहरूलाई त्याग्दछन् । ख्रीष्‍टको शक्तिद्वारा आकर्षित भएकै कारण तिनीहरूले साँचो इच्छाका साथ आफ्‍नो जीवनमा सुधार ल्याउने प्रयत्‍न गर्दछन् । जुन प्रभावप्रति तिनीहरू अचेत छन् त्यसैले आत्माभित्र काम गर्दछ, र विवेक सचेत बन्‍न पुग्दछ, र यसरी बाह्य जीवनमा सुधार आउँदछ । र जब ख्रीष्‍टले तिनीहरूलाई उहाँको क्रूसतर्फ तथा उहाँलाई हेर्नका निम्ति खिँच्‍नुहुन्छ जसलाई तिनीहरूका पापले घोचेको छ, तब अन्तरात्माले व्यवस्था स्पष्‍टसाथ बुझ्‍न सक्छ । तिनीहरूका जीवनका दुष्‍टता तथा आत्माभित्र गडेको पाप तिनीहरूलाई प्रकट गरिन्छ । तिनीहरूले ख्रीष्‍टको धार्मिकताको बारेमा केही बुझ्‍न थाल्दछन् र यसो भन्‍नेछन्, “वास्तवमा पाप के हो जसद्वारा पीडित व्यक्तिलाई उद्धार गर्नका निम्ति यति ठूलो बलिदानको आवश्‍‍यकता पर्दछ ?” “के हाम्रो नाश नहोस् तर अनन्त जीवन पाओस् भन्‍ने हेतुले यी सबै कष्‍ट तथा सबै अपमानका माग गरिएको थियो त ?”SB 24.2

    पापीले यस प्रेमको विरोध गर्न वा ख्रीष्‍टतर्फ आकर्षित हुन अस्‍वीकार गर्ला; तर यदि उसले विरोध नगरेको खण्डमा ऊ येशूतर्फ आकर्षित हुनेछ; र मुक्तिको योजनाको ज्ञानले आफ्‍नो पापको पश्‍चात्तापको भावनाका साथ उसलाई क्रूसको फेदसम्म डोऱ्याउनेछ, जुन पापले परमेश्‍‍वरको प्रिय पुत्रलाई कष्‍ट पुऱ्याएको थियो ।SB 25.1

    जुन ईश्‍‍वरीय मनले प्रकृतिका वस्तुहरूमाथि काम गरिरहेको छ त्यही मनले मानिसहरूका हृदयसित बोलिरहेको छ र जुन कुरा तिनीहरूसँग छैन त्यसको निम्ति एक अकथ्य तवरको तिर्सना पैदा गरिरहेको छ । सांसारिक कुराहरूले तिनीहरूको अभिलाषालाई तृप्‍त पार्न सक्दैनन् । परमेश्‍‍वरको आत्माले तिनीहरूलाई ती कुराहरूका खोजी गर्नका निम्ति बिन्ती गरिरहेको छ केवल जसले मात्र शान्ति तथा विश्राम प्रदान गर्न सक्‍नेछ—जुन ख्रीष्‍टको अनुग्रह तथा पवित्रताको आनन्द हो । प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरूमार्फत हाम्रा मुक्तिदाता मानिसहरूका मनलाई पापका तृप्‍त पार्न नसकिने सुख-विलासिताहरूदेखि असीमित आशिष्‌हरूतर्फ आकर्षित तुल्याउने हेतुले निरन्तररूपमा काम गर्दैहुनुहुन्छ, जुन आशिष्‌हरू उहाँमार्फत तिनीहरूले पनि प्राप्‍त गर्न सक्‍नेछन् । यी मानिसहरू जो व्यर्थैमा यस संसारको भत्किएकोे जलाशयबाट पिउने प्रयत्‍न गर्दैछन् तिनीहरूका निम्ति यसप्रकारको ईश्‍‍वरीय आज्ञा दिइएको छ, “जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।” प्रकाश २२:१७ ।SB 25.2

    यदि तपाईं हृदयदेखि नै यस संसारले दिन सक्‍ने भन्दा अझ असल कुराको अभिलाषा राख्‍नुहुन्छ भने यो तिर्सना तपाईंको आत्माप्रति परमेश्‍‍वरको वाणी हो भनी चिन्‍नुहोस् । उहाँसित पश्‍चात्तापको भावना माग्‍नुहोस्, तथा ख्रीष्‍टलाई उहाँको असीमित प्रेम तथा उहाँको पूर्ण शुद्धताका साथ तपाईंको जीवनमा प्रकट गरियोस् भनी परमेश्‍‍वरसँग माग गर्नुहोेस् । मुक्तिदाताको जीवनमा परमेश्‍‍वरको व्यवस्थाका सिद्धान्तहरू (परमेश्‍‍वर र मानिसप्रति प्रेम) पूर्णरूपमा स्पष्‍ट गरिएका थिए । उदारता र निःस्‍वार्थ प्रेम नै उहाँको जीवनको प्रमुख अंश थियो । जब हामी उहाँतर्फ हेर्दछौं, र हामीमाथि हाम्रो मुक्तिदाताको ज्योति पर्दछ, तब हामीले आफ्‍नो हृदयका पापहरूलाई देख्‍नेछौं ।SB 26.1

    हामीले पनि आफ्‍नो जीवन निर्दोष छ तथा हाम्रो नैतिक चरित्र शुद्ध छ भनी निकोदेमसले झैँ स्‍वयं आफ्‍नै बारेमा बडाइ गरेका छौं होला, र हामीले परमेश्‍‍वरको सामु कुनै तुच्छ पापीले झैँ हृदय नम्र तुल्याउनु आवश्‍‍यक छैन भन्‍ने विचार लिएका छौं होला । तर जब ख्रीष्‍टको ज्योति हाम्रो आत्माभित्र चम्किनेछ, तब हामी कति अशुद्ध रहेछौं भनी देख्‍नेछौं; हामीले आफ्‍नो उद्देश्‍‍यको स्‍वार्थीपनका बारेमा तथा परमेश्‍‍वर विरुद्धको दुश्‍‍मनीको बारेमा बुझ्‍नेछौं, जसले जीवनको हरेक क्रियाकलापलाई अशुद्ध तुल्याइदिएको छ । तब हामीले यो थाहा पाउनेछौं कि वास्तवमा हाम्रो धार्मिकता फोहोर झुत्राझैँ छन्, र केवल ख्रीष्‍टको रगतले मात्र हामीलाई पापको कलङ्कबाट धुन तथा हाम्रो हृदयलाई स्‍वयं उहाँकै हृदयको स्‍वरूपमा नयाँ तुल्याउन सक्‍नेछ ।SB 26.2

    परमेश्‍‍वरको महिमाको ज्योतिले, आत्माभित्र प्रवेश गर्नसक्‍ने ख्रीष्‍टको पवित्रताको एकमात्र झलकले कलङ्कको प्रत्येक दागलाई पीडादायक रूपमा स्पष्‍ट पार्दछ, र मानव चरित्रको कुरूपता तथा त्रुटिहरूलाई नङ्गयाइदिन्छ । यसले अपवित्र आकांक्षाहरूलाई, हृदयको नास्तिकतालाई तथा ओठको अशुद्धताहरूलाई छर्लङ्ग पार्दछ । परमेश्‍‍वरको व्यवस्थालाई शून्य तुल्याउने पापीको विश्‍‍वासघाती क्रियाकलापहरूलाई स्‍वयं उसकै अगाडि खोलिनेछन् र उसको आत्मा परमेश्‍‍वरको आत्माको जाँच गर्ने प्रभावद्वारा प्रहार गरिनेछ तथा पीडित बन्‍न पुग्‍नेछ । जब उसले ख्रीष्‍टको शुद्ध, निष्कलङ्क चरित्रलाई देख्‍नेछ तब उसले स्‍वयं आफैंलाई घृणा गर्नेछ ।SB 27.1

    जब भविष्यवक्ता दानिएलले आफूकहाँ पठाएको स्‍वर्गदूतको महिमालाई देखे, तब उनी स्‍वयं आफ्‍नै दुर्बलता र त्रुटिको भावनामा डुब्‍न पुगेका थिए । यस आश्‍चर्यजनक दृष्यको प्रभावको बारेमा वर्णन गर्दै उनले यसो भने, “ममा कुनै बल बाँकी रहेन, मेरो अनुहार मरेतुल्य पहेंलो भयो र म असहाय भएँ ।” दानिएल १०:८ । यसरी प्रभावित हुन पुगेको आत्माले आफ्‍नो स्‍वार्थीपनलाई घृणा गर्नेछ; यसको आत्म-प्रेमको भावनालाई तिरस्कार गर्नेछ, र ख्रीष्‍टको धार्मिकतामार्फत त्यसप्रकारको शुद्ध हृदयको खोजी गर्नेछ जुन परमेश्‍‍वरको व्यवस्था तथा ख्रीष्‍टको चरित्रसित मधुर सम्बन्धमा रहेको छ ।SB 27.2

    प्रेरित पावल भन्दछन्, “व्यवस्थामा भएको धार्मिकताको विषयमा भन्‍नु हो भने”—जहाँसम्म बाहिरी क्रियाकलापले सरोकार राख्दछ—उनी “दोषरहित” थिए (फिलिप्पी ३:६ KJV); तर जब उनले व्यवस्थाको आत्मिक स्‍वभावबारे बुझे तब उनले स्‍वयं आफैंलाई एक पापीको रूपमा फेला पारे । जसरी मानिसहरूले व्यवस्थालाई केवल बाह्य जीवनमा मात्र लागू गर्दछन् र त्यही व्यवस्थाद्वारा जाँचिएको कारण उनी पापदेखि तर्किएका थिए; तर जब उनले व्यवस्थाको पवित्रताको गहिराईतर्फ हेरे तब उनले आफूलाई त्यही रूपमा देखे जुन रूपमा परमेश्‍‍वरले उनलाई देख्‍नुहुन्छ, र उनले नम्रताका साथ आफ्‍नो शिर झुकाए र आफ्‍नो अपराधलाई स्‍वीकार गरे । उनी यसो भन्दछन्, “व्यवस्थाविना रहँदा एक पल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें ।” रोमी ७:९ । जब उनले व्यवस्थाको आत्मिक स्‍वभावलाई देखे तब पाप यसको वास्तविक भयानक रूपमा देखा पऱ्यो, र उनको आत्म-सम्मान हटेर गयो ।SB 28.1

    परमेश्‍‍वरले सबै पापलाई समान परिमाणको रूपमा ठान्‍नुहुन्‍न; उहाँको रायमा, साथै मानिसको रायमा पनि अपराधका दर्जाहरू छन्; तर मानिसको दृष्‍टिमा कुनैपनि गलत क्रियाकलाप जति नै सानो किन नदेखियोस् परमेश्‍‍वरको दृष्‍टिमा कुनै पनि पाप सानो छैन । मानिसको न्याय पक्षपाती तथा अपूर्ण हुन्छ, तर परमेश्‍‍वरले सबै थोक जे-जस्तो वास्तविक अवस्थामा छन् त्यही अवस्थामा मूल्याङ्कन गर्नुहुन्छ । जँड्‌याहालाई तिरस्कार गरिन्छ र उसलाई यो बताइन्छ कि उसको पापले उसलाई स्‍वर्गबाट अलग पार्नेछ; जबकि कैयौं पटक घमण्ड, स्‍वार्थीपन र लालचीपन भर्त्सनाविना नै गुज्रने गर्दछन् । तर यी पापहरू परमेश्‍‍वरको निम्ति मुख्यतः घृणित छन्; किनकि ती उहाँको चरित्रको उदारता विपरीत छन्, साथै त्यस निःस्‍वार्थ प्रेमको विपरीत छ जुन पापविहीन जगतकै अभिन्‍न वातावरण हो । जुन व्यक्ति अलि ठूला पापहरूमा डुब्‍न पुग्दछ त्यस व्यक्तिले सायद आफ्‍नो लाज र दरिद्रता तथा ख्रीष्‍टको अनुग्रहको आवश्‍‍यकताको बारेमा महसूस गर्नेछ; तर घमण्डीपनले कुनै आवश्‍‍यकताको महसूस गर्दैन, र यसले हृदयलाई ख्रीष्‍टबाट तथा जुन आशिष्‌हरू प्रदान गर्नका निम्ति उहाँ आउनुभयो त्यसबाट बन्द गर्दछ ।SB 28.2

    जुन गरीब कर उठाउनेले “हे परमेश्‍‍वर, म पापीमाथि दया गर्नुहोस्” (लूका १८:१३), भनी प्रार्थना गऱ्यो, उसले स्‍वयं आफैंलाई एक अति दुष्‍ट व्यक्तिको रूपमा ठान्यो, र अन्य व्यक्तिहरूले पनि त्यस व्यक्तिमाथि सोही दृष्‍टिले हेरे; तर उसले स्‍वयं आफ्‍नै आवश्‍‍यकताको बारेमा महसूस गऱ्यो, र परमेश्‍‍वरको दयाको भीख माग्दै आफ्‍नो अपराध र लाजको बोझका साथ ऊ परमेश्‍‍वरको सामु गयो । उसको हृदय परमेश्‍‍वरको आत्माद्वारा अनुग्रहपूर्ण कार्य गरिनका निम्ति तथा उसलाई पापको शक्तिदेखि छुटकारा दिलाइनका निम्ति खुल्‍ला थियो । फरिसीको घमण्डीपूर्ण तथा आत्म-धर्मी प्रार्थनाले उसको हृदय पवित्र आत्माको प्रभावप्रति बन्द थियो भन्‍ने कुरालाई प्रकट गऱ्यो । परमेश्‍‍वरदेखि टाढा भएको कारणले गर्दा ऊसँग ईश्‍‍वरीय पवित्रताको तुलनामा स्‍वयं आफ्‍नै कलङ्कको बारेमा कुनै चेतना नै थिएन । उसले कुनै कुराको आवश्‍‍यकताको बारेमा महसूस गरेन, र केही पाएन पनि ।SB 29.1

    यदि तपाईं आफ्‍नो पापपूर्ण अवस्थालाई देख्‍नुहुन्छ भने स्‍वयं आफैंले यसलाई सुधार्नका निम्ति प्रतिक्षा नगर्नुहोस् । कैयौं मानिसहरूले आफू ख्रीष्‍टकहाँ आउनका निम्ति यथेष्‍टरूपमा असल छैनन् भन्‍ने विचार लिने गर्दछन् । के तपाईं स्‍वयं आफ्‍नै प्रयासद्वारा असल बन्‍ने आशा राख्‍नुहुन्छ ? “के कुशीले आफ्‍नो छालाको रङ्ग बद्‍लन सक्छ र ? अथवा के चितुवाले आफ्‍नो छालाका थोप्‍ला बद्‍लन सक्छ र ? न त तँ दुष्‍ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्‍नेछ ।” यर्मिया १३:२३ । केवल परमेश्‍‍वरमा मात्र हाम्रो निम्ति सहायता छ । हामीले अझ मजबुत तर्कहरूका, अझ असल मौकाहरूका, वा अझ पवित्र स्‍वभावहरूका प्रतीक्षा गर्नुहुँदैन । हामीले स्‍वयं आफैंद्वारा केही गर्न सक्दैनौं । हामी जुन अवस्थामा छौं सोही अवस्थामा ख्रीष्‍टकहाँ आउनुपर्दछ ।SB 30.1

    परमेश्‍‍वरले आफ्‍नो महान् प्रेम र कृपाद्वारा उहाँको अनुग्रह अस्‍वीकार गर्नेहरूलाई पनि बचाउनुहुनेछ भन्‍ने भ्रम कसैमा उत्पन्‍न नहोस् । पापको भयानक रूपलाई केवल क्रूसको प्रकाशमा मात्र मुल्यांकन गर्न सकिन्छ । परमेश्‍‍वरले पापीहरूलाई त्याग्‍नुहुन्छ भनी जब मानिसहरू जिद्दी गर्दछन् तब तिनीहरूले कलवरीतर्फ नजर लगाऊन् । मानिसहरूलाई बचाउनका निम्ति त्यहाँ अरू केही उपाय नभएकोले यो बलिदानविना मानवजातिलाई पापको भ्रष्‍ट गर्ने शक्तिबाट छुटकारा पाउन तथा पवित्रजनहरूसित सम्बन्ध पुनःस्थापना गर्न असम्भव थियो—तिनीहरूलाई पुनः आत्मिक जीवनको भागीदार बन्‍नु पनि असम्भव थियो,—यी सबै कारणहरूले गर्दा ख्रीष्‍टले स्‍वयं आफैंमाथि अनाज्ञाकारीको दोष लिनुभयो र पापीको बदलीमा कष्‍ट भोग्‍नुभयो । परमेश्‍‍वरको पुत्रको प्रेम, कष्‍ट भोगाई र मृत्यु यी सबैले पापको भयानक घोरताको बारेमा साक्षी दिँदछ र यो घोषणा गर्दछ कि आत्मालाई ख्रीष्‍टमा समर्पित नगरेसम्म पापको शक्तिबाट कुनै छुटकारा मिल्‍ने छैन, तथा कुनै उच्‍च जीवनको आशा गर्नु पनि व्यर्थै सावित हुनेछ ।SB 30.2

    अपश्‍चात्तापी मानिसहरूले कहिलेकाहीँ अन्य इसाईहरूका यस कथनद्वारा स्‍वयं आफ्‍नै निम्ति यस्तो बहाना बनाउने गर्दछन्, “म पनि तिनीहरू जति नै असल छु । जति मात्रामा म आत्म-त्यागी, गम्भीर वा सावधान छु, तिनीहरू सो भन्दा पनि न्यून छन् । जुनरूपमा म सुख-चैन र आत्म-अतिभोग मन पराउँदछु सोहीरूपमा तिनीहरू पनि यिनलाई मन पराउँदछन् ।” यसरी तिनीहरूले अरूका गल्तीहरूलाई स्‍वयं आफ्‍नै कर्तव्यलाई उपेक्षा गर्नुको एक बहानाको रूपले लिने गर्दछन् । तर अरूका पाप तथा दोषहरूले कसैलाई पनि छुट दिँदैन, किनकि परमप्रभुले हामीलाई एक भुल गर्ने मानव आदर्श दिनुभएको छैन । परमेश्‍‍वरको निष्कलङ्क पुत्रलाई हाम्रो एक उदारणको रूपमा दिइएको छ, र ज-जसले अन्य पेशेवर इसाईहरूका गलत कार्य-शैलीको बारेमा आरोप लगाउने गर्दछन् तिनीहरूले नै वास्तवमा असल जीवनयापन गरी उदाहरणमय जीवन प्रदर्शन गर्नुपर्दछ । यदि तिनीहरूसित एक इसाई कस्तो हुनुपर्छ भनी उच्‍च धारणा छ भने के स्‍वयं तिनीहरूकै पाप अझ उच्‍च छैन त ? तिनीहरूलाई असल कुरा के हो भनी थाहा छ, तैपनि तिनीहरू सो गर्न इन्कार गर्दछन ।SB 31.1

    विलम्ब गर्नुदेखि सावधान रहनुहोस् । तपाईंले आफ्‍ना पापहरू त्याग्‍ने र येशूद्वारा हृदयको शुद्धता खोजी गर्ने कार्यमा ढिलाई नगर्नुहोस् । हजारौं मानिसहरूले आफ्‍नो अनन्त नोक्सान बेहोर्नेगरी यही कुरामा भुल गरेका छन् । म यहाँ जीवनको छोटोपन र अनिश्‍चितताको बारेमा चिन्तन गर्नेछैन; तर परमेश्‍‍वरको पवित्र आत्माको याचनापूर्ण स्‍वरप्रति समर्पण गर्न ढिलाई अर्थात् पापमा जिउने निर्णय जस्ता वास्तविक ढिलाई चाहिँ एक यस्तो डरलाग्दो खतरा हो, जुन खतराको विषयमा पर्याप्‍त समझ छैन । पाप जति नै सानो भनी किन नठानियोस्, केवल असीमित नोक्सानको खतरामा मात्र यसमा सहभागी हुन सकिन्छ । जुन कुरालाई हामी जित्दैनौं त्यसैले हामीलाई एक दिन जित्‍नेछ र हाम्रो विनाशको काम गर्नेछ ।SB 32.1

    निषेधित फल खानु जस्तो एक अति सानो मामलाले वास्तवमा परमेश्‍‍वरले घोषणा गर्नुभएमुताबिकका भयानक परिणामहरू ल्याउनेछैन भनी आदम र हव्‍वाले स्‍वयं आफैंलाई मनाएका थिए । तर यो सानो मामला भनेको वास्तवमा परमेश्‍‍वरको अपरिवर्तनीय तथा पवित्र व्यवस्थाको उल्‍लंघन थियो, र यसले मानिसलाई परमेश्‍‍वरदेखि अलग तुल्याएको थियो र यसले हाम्रो यस संसारमा मृत्यु र अनगिन्ती दुःखका मूलहरू खोलिदियो । युगौं-युगदेखि हाम्रो पृथ्वीबाट विलापको पुकार निरन्तररूपमा स्‍वर्गसम्मै पुगिरहेको छ, र मानिसको अनाज्ञाकारिताको परिणाम स्‍वरूप सारा सृष्‍टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेको छ । परमेश्‍‍वरविरुद्धको उसको विद्रोहका असरहरूलाई स्‍वर्गले पनि महसूस गरेको छ । पवित्र व्यवस्था विरुद्ध गरिएको पापबाट प्रायश्‍चित्त प्राप्‍त गर्नका निम्ति आवश्‍‍यक अद्‌भुत बलिदानको स्मारकको रूपमा कलवरी खडा छ । पापलाई एक सामान्य कुराको रूपमा नठानौं ।SB 32.2

    हरेक अपराधपूर्ण कार्यले, ख्रीष्‍टको अनुग्रहको हरेक उपेक्षा वा अस्‍वीकारले स्‍वयं तपाईं आफैंमाथि नै प्रतिक्रिया गरिरहेको छ; यसले हृदयलाई कठोर तुल्याउँदैछ, इच्छाशक्तिलाई खराब बनाउँदैछ, विवेकलाई अचेत तुल्याउँदैछ, र पवित्र आत्माको कोमल बिन्तीप्रति स्‍वयंलाई सुम्पन असमर्थ तुल्याउँदैछ ।SB 33.1

    धेरैले आफ्‍नो व्याकुल विवेकलाई यो विचारद्वारा शान्त पार्दैछन् कि जब तिनीहरूले रोजाइ गर्नुपर्नेछ त्यतिखेर नै तिनीहरूले दुष्‍ट सिलसिलालाई परिवर्तन गर्न सक्‍नेछन्; र तिनीहरूले करुणाको निम्तोहरूलाई बेवास्ता गर्न सक्‍नेछन्, र तैपनि बारम्बार प्रभावित बन्‍न सक्‍नेछन् । तिनीहरू यो सोच्दछन् कि अनुग्रहको आत्मालाई विरोध गरेर, आफ्‍ना प्रभावलाई शैतानको पक्षमा झुकाएपश्‍चात्, एक भयानक अन्तिम पलमा तिनीहरूले आफ्‍ना सिलसिलालाई परिवर्तन गर्न सक्‍नेछन् । तर यो काम त्यति सजिलो रूपमा सम्पन्‍न हुन सक्दैन । एक जीवनकालको अनुभव तथा शिक्षाले चरित्रलाई यति पूर्णरूपमा आकार दिइसकेको हुनेछ कि तब त्यसबखत कमैले मात्र येशूको स्‍वरूपलाई ग्रहण गर्न चाहनेछन् ।SB 33.2

    केवल एक मात्र गलत चरित्रको लक्षणले वा निरन्तररूपमा कुनै एक अभिलाषामा तल्‍लीन रहने क्रमले अन्तमा गएर सुसमाचारको शक्तिलाई बेकम्मा तुल्याईदिन्छ । हरेक पापपूर्ण कार्यले मानिसमा परमेश्‍‍वरप्रतिको घृणालाई मजबुत तुल्याउने गर्दछ । जुन व्यक्तिले नास्तिक हठी स्‍वभाव, वा पवित्र सत्यताप्रति भावनारहित उपेक्षाको भावना प्रकट गर्दछ, उसले त्यही फल कटनी गर्नेछ जुन कुरा स्‍वयं आफैंले रोपेको थियो । पुरै बाइबलमा पापसित खेलवाड गर्नुको योभन्दा डरलाग्दो चेतावनी अन्य कहीँ दिइएको छैन जहाँ पापी “आफ्‍नै पापको बन्धनमा त्यो जेलिन्छ” भनी बताइएको छ । हितोपदेश ५:२२ ।SB 34.1

    ख्रीष्‍ट हामीलाई पापदेखि मुक्त गर्न तयार हुनुहुन्छ, तर उहाँले इच्छाशक्तिमाथि जबर्जस्ती गर्नुहुन्‍न; र यदि अटुट अपराधद्वारा इच्छाशक्ति नै दुष्‍टताप्रति झुक्‍न पुगेको छ भने, र यदि हामी स्‍वतन्‍‍त्र बन्‍ने इच्छा प्रकट गर्दैनौं भने, र यदि हामी उहाँको अनुग्रहलाई स्‍वीकार गर्दैनौं भने उहाँले हाम्रो निम्ति केही पनि गर्न सक्‍नुहुनेछैन । हामीले उहाँको प्रेमलाई दृढ अठोटका साथ इन्कार गर्ने क्रमद्वारा स्‍वयं आफैंलाई नष्‍ट पारेका छौं । “ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो ।” “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,...आफ्‍ना हृदयलाई कठोर नपार ।” २ कोरिन्थी ६:२; हिब्रू ३:७, ८ ।SB 34.2

    “मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ”—मानव हृदय यसको आनन्द र शोक जस्ता परस्पर विरोधी भावनाहरूका साथ भौतारिने तथा हठी स्‍वाभवको छ, जुन यति धेरै अशुद्ध तथा छल-कपटको निवास हो । १ शमूएल १६:७ । उहाँलाई यसको अभिप्राय तथा यसको अभिलाषा र उद्देश्‍‍यहरूका बारेमा थाहा छ । जुन रूपमा तपाईंको आत्मामा पूर्णरूपले दाग लागेको छ सोहीरूपमा परमेश्‍‍वरकहाँ जानुहोस् । भजनसंग्रहका लेखकले झैँ तपाईंले पनि आफ्‍नो हृदयलाई सर्व-दृष्‍टिमान् आँखाको सामु यसो भन्दै खोल्‍नुहोस्, “मेरो जाँचपड़ताल गर्नुहोस् र मेरो हृदयलाई जान्‍नुहोस्; मलाई जाँच्‍नुहोस् र मेरा विचारहरूलाई बुझ्‍नुहोस्; अनि हेर्नुहोस्, कहीं ममा दुष्‍ट चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोऱ्याउनुहोस् !” भजनसंग्रह १३९:२३, २४ (KJV)।SB 35.1

    धेरैले बौद्धिक धर्म, र धार्मिकताको एक रूपलाई स्‍वीकार गर्ने गर्दछन्, जबकि उनीहरूका हृदयचाहिँ शुद्ध नै छैन । तपाईंले यसरी प्रार्थना गर्नुहोस्, “हे परमेश्‍‍वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस् ।” भजनसंग्रह ५१:१० । स्‍वयं आफ्‍नै आत्मासित साँचो रूपमा व्यवहार गर्ने गनुहोस् । तपाईं त्यही परिमाणमा नै गम्भीर तथा दृढ बन्‍नुहोस् कि मानौं तपाईंको जीवन नै जोखिममा परेको छ । यो तपाईं र परमेश्‍‍वरको बीचमा अनन्तकालसम्मै निश्‍चय गरिनुपर्ने एक प्रसंग हो । कल्पित आशा तपाईंको विनाश सावित हुनेछ ।SB 35.2

    परमेश्‍‍वरको वचनलाई प्रार्थनाका साथ अध्ययन गर्नुहोस् । त्यस वचनले तपाईंको सामु परमेश्‍‍वरको व्यवस्था र ख्रीष्‍टको जीवनमार्फत पवित्रताका महान् सिद्धान्तहरू प्रस्तुत गर्दछ जुनविना “कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्दैन ।” हिब्रू १२:१४ । यसले पापको बारेमा विश्‍‍वास दिलाउँदछ र यसले मुक्तिको मार्ग स्पष्‍टरूपमा प्रकट गर्दछ । यस कुरालाई तपाईंले परमेश्‍‍वरको आवाज तपाईंको आत्मासित बोल्दै गर्नुभएको रूपमा ध्यान दिनुहोस ।SB 36.1

    जब तपाईंले पापको घोरतालाई देख्‍नुहुन्छ, जब तपाईं स्‍वयं आफैंलाई वास्तविक रूपमा देख्‍नुहुन्छ, तब निराश बन्दै हरेश नखानुहोस् । पापीहरूलाई बचाउनकै निम्ति ख्रीष्‍ट यस संसारमा आउनुभयो । हामीले परमेश्‍‍वरलाई हामीसित मिलाप गराउनुपर्नेछैन, तर यो कस्तो अद्‌भुत प्रेम !—“स्‍वयं ख्रीष्‍टमा हुनुभएर परमेश्‍‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो ।” २ कोरिन्थी ५:१९ । उहाँ आफ्‍नो कोमल प्रेमका साथ आफ्‍ना बरालिएका सन्तानहरूसित बोल्दैहुनुहुन्छ । कुनै पनि सांसारिक अभिभावक आफ्‍नो सन्तानको गल्ती तथा भुलहरूप्रति त्यति धैर्य बन्‍न सक्दैन जति परमेश्‍‍वर ती व्यक्तिहरूप्रति धैर्य बन्‍नुहुन्छ जसलाई उहाँ बचाउने प्रयत्‍न गर्नुहुन्छ । पापीको निम्ति कसैले पनि योभन्दा बढी करुणामय बिन्ती गर्न सक्‍नेथिएन । भौतारिएको व्यक्तिप्रति उहाँको ओठबाट बाहेक कुनै मानव ओठहरूबाट त्यति धेरै कोमल बिन्तीहरू पोखिएनन् । उहाँका सबै प्रतिज्ञा तथा चेतावनीहरू उहाँका अवर्णनीय प्रेमका श्‍‍वास हुन् ।SB 36.2

    जब तपाईं एक महा पापी हुनुहुन्छ भन्‍ने तर्कका साथ तपाईंकहाँ शैतान आउँदछ तब आफ्‍नो उद्धारकर्तातर्फ हेर्नुहोस् र उहाँका योग्यताहरूका बारेमा बताउनुहोस् । उहाँको ज्योतितर्फ हेर्नाले नै तपाईंलाई मद्दत मिल्‍नेछ । आफ्‍नो पापलाई स्‍वीकार गर्नुहोस्, तर शत्रुलाई यो बताउनुहोस् कि “पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनुभयो,” र उहाँको अनुपम प्रेमद्वारा तपाईंलाई बचाइनेछ । १ तिमोथी १:१५ । येशूले सिमोनसँग दुई ऋणीहरूका बारेमा एक प्रश्‍न सोध्‍नुभयो । दुई ऋणीहरूमध्ये कुनचाहिँले आफ्‍नो महाजनलाई बढी प्रेम गर्ला भनी प्रश्‍न गर्नुभयो तब सिमोनले यसरी जवाफ दिए “जसले बढ़ी क्षमा पायो ।” लूका ७:४३ । हामी महा पापीहरूका रूपमा ठहरिंदै आएका छौं, तर ख्रीष्‍ट मर्नुभयो ताकि हामीले माफी पाउन सक्‍नेछौं । उहाँको बलिदानका गुणहरू हाम्रो पक्षमा पिताको सामु प्रस्तुत गर्नका निम्ति येथेष्‍ट छन् । जुन व्यक्तिलाई उहाँले बढी माफ गर्नुभएको छ, त्यसले प्रभुलाई बढी प्रेम गर्नेछ, र उहाँको महान् प्रेम र असीमित बलिदानका निम्ति उहाँको प्रशंसा गर्नलाई उहाँको सिंहासनको छेउमै खडा रहनेछ । जब हामी पूर्णरुले परमेश्‍‍वरको प्रेमको बारेमा बुझ्दछौं तब मात्र हामीले पापको भयानक रूपको बारेमा बुझ्‍न सक्‍नेछौं । जब हामी आफ्‍नो उद्धारका निम्ति खसालिएको सिक्रीको लम्बाई देख्दछौं जब हामीले आफ्‍नो पक्षमा गरिएको असीमित बलिदानको बारेमा केही बुझ्दछौं तब हाम्रो हृदय कोमलता र चूर्णतामा पग्‍लिनेछ ।SB 37.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents