Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    ११ — एउटा सुधार-कार्य

    अन्तका दिनहरूमा पूरा हुनुपर्ने शबाथको सुधार-कार्यको बिषयमा यशैयाले अगमवाणी गरेका छन्: “परमप्रभु यसो भन्‍नुहुन्छ, ‘न्याय कायम राख। जे ठीक छ, त्यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ। त्यो मानिस धन्यको हो जसले यो गर्दछ, त्यो मानिस, जो यस कुरामा स्थिर रहन्छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्छ, र आफ्‍नो हात कुनै पनि खराब गर्नबाट अलग राख्‍छ।’” “‘परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्‍न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरा पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु।’” यशैया ५६:१, २, ६, ७।MBND 197.1

    सम्बन्धित पदहरूमा देखाएअनुसार यी शब्दहरू इसाई युगमा उपयुक्त छ: “इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने—परमप्रभु परमेश्‍‍वर यो घोषणा गर्नुहुन्छ, ‘भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।’” यशैया ५६:८। यहाँ अन्यजातिहरू सुसमाचारद्वारा भेला हुने कुरालाई छायाङ्कन गरिएको छ। जसले यो समयमा शबाथ पालन गर्दछ तिनीहरूमाथि एक आशिष्‌को घोषणा भएको छ। यसरी चौथो आज्ञाको कर्तव्यचाहिँ ख्रीष्‍टको क्रूसमा मृत्यु, बौरिउठाइ र स्‍वर्गारोहणदेखि उहाँका दासहरूले सबै जातिहरूलाई शुभ समाचार प्रचार गर्ने समयसम्म विस्तृत हुनेछ।MBND 197.2

    त्यही अगमवक्ताद्वारा परमप्रभु आज्ञा गर्नुहुन्छ: “यो गवाही-पत्र बाँधिदेऊ र यो व्यवस्था मेरा चेलाहरूका बीचमा बन्द गरेर त्यसमा मोहोर लगाइदेऊ।” यशैया ८:१६। परमेश्‍‍वरको व्यवस्थाको मोहोर चौथो आज्ञामा पाइन्छ। सम्पूर्ण दशमध्ये यसले मात्र व्यवस्थादाताको शीर्षक र नाम दुवैको चित्रण गर्दछ। यसले उहाँलाई स्‍वर्ग र पृथ्वीको सृष्‍टिकर्ता भनी घोषणा गर्दछ, र यसरी अरू सबैभन्दा उच्‍च तरिकाले श्रद्धा र आराधना पाउनुपर्ने उहाँको दाबीलाई प्रकट गर्दछ। कसको अधिकारले व्यवस्था दिइयो भन्‍ने कुरामा यो नियमबाहेक दश आज्ञामा अर्को कुनैले पनि दर्शाएको छैन। जब पोपतन्‍त्रको शक्तिद्वारा शबाथ परिवर्तन भयो, तब व्यवस्थाबाट मोहोर हटाइएको थियो। चौथो आज्ञामा भएको शबाथ उच्‍च पार्न र सृष्‍टिकर्ताको स्मरण र उहाँको अधिकारको चिन्ह स्‍वरूप त्यसलाई सठीक स्थानमा पुनर्निर्माण गर्न येशूका चेलाहरू बोलाइएका छन्।MBND 197.3

    “व्यवस्था र गवाहीकहाँ जाओ!” जब सिद्धान्तहरू र शिक्षाहरूको प्रशस्त मतभेद हुन्छ, तब परमेश्‍‍वरको व्यवस्थाचाहिँ सबै विचारहरू, सिद्धान्तहरू र शिक्षाहरू जाँचिने एक सत्य नियम हुन्छ। अगमवक्ता भन्दछन्: “यदि तिनीहरू यस वचनअनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन।” यशैया ८:२०।MBND 198.1

    फेरि यस्तो आदेश दिइयो: “चर्को गरी करा, नथाम्। तुरहीको आवाजजस्तै उच्‍च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।” दुष्‍ट संसारलाई नभई परमप्रभुले “मेरो मानिसहरू” भनी प्रकट गर्नुभएका मानिसहरूलाई तिनीहरूको अधर्मको कारणले चेतावनी दिनुपर्नेथियो। उहाँले अझै भन्‍नुहुन्छ: “किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्। जे ठीक छ त्यही गर्ने र आफ्‍ना परमेश्‍‍वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्‍न इच्छा गर्ने जातिजस्तै तिनीहरू देखिन्छन्।” यशैया ५८:१, २। यहाँ यस्तो प्रकारका मानिसहरूलाई देखाएको छ जसले आफैलाई धर्मी सम्झन्छन् र परमेश्‍‍वरको सेवामा अति चाख प्रकट गरेका जस्तो देखा पर्छन्; तर हृदय अनुसन्धाताको कडा र गम्भीर हप्कीले तिनीहरूलाई दैवीय विधानहरूमाथि कुल्‍चेका प्रमाण दिन्छ।MBND 198.2

    अगमवक्ताले यसरी त्यागिएको नियमलाई देखाउँदछ: “‘तिमीहरूका मानिसहरूले पुराना भग्‍नावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू “भत्केका पर्खालहरू निर्माण गर्ने” र “बस्‍ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू” भनिनेछौ। तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्यौ, र आफ्‍नो इच्छाअनुसार नगरी यस दिनलाई मान्यता दियौ र यसमा आफ्‍नो खुशी नगरी व्यर्थका कुरा गरेनौ भने, तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्‍च स्थानहरूमा सवार गर्ने तुल्याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्याउनेछु।’ परमप्रभुको मुखैले यसो भन्‍नुभएको छ।” यशैया ५८:१२-१४। यो अगमवाणी पनि हाम्रा समयमा उपयुक्त छ। जब रोमी शक्तिद्वारा शबाथ परिवर्तन भयो, तब परमेश्‍‍वरको व्यवस्था भङ्ग भएको थियो। तर त्यो दैवी विधान पुनर्निर्माण गर्ने समय आएको छ। भत्केको आज्ञालाई मर्मत गर्नुपर्छ र धेरै पुस्ताहरूको जग स्थापना हुनुपर्छ।MBND 198.3

    सृष्‍टिकर्ताको विश्राम र आशिष्‌द्वारा पवित्र पारिएको शबाथ पवित्र अदनमा आदमले निष्पाप अवस्थामा पालन गर्दथे; जब तिनी आफ्‍ना आनन्दको क्षेत्रबाट निकालिए तब आदम पतन भईकन पनि पश्‍चात्ताप गरी त्यसलाई पालन गरे। यी सब अग्रगामीहरूले त्यसलाई पालन गरे, हाबिलदेखि धार्मिक नोआ, अब्राहाम, याकूबले समेत त्यो पालन गरे। जब चुनिएका मानिसहरू मिश्रमा बन्दी भए, प्रचलित मूर्तिपूजाको माझमा धेरैले परमेश्‍‍वरको व्यवस्थामा तिनीहरूको ज्ञान गुमाए; तर जब परमेश्‍‍वरले इस्राएललाई बचाउनुभयो, तब उहाँले आफ्‍नो व्यवस्था भेला भएको भीडलाई भयङ‌्कर गौरवका साथ घोषणा गरिदिनुभयो, ताकि तिनीहरूले उहाँको इच्छा जान्‍न सकून् र सदासर्वदाको लागि उहाँको भय मानून् र आज्ञा पालन गरून्।MBND 199.1

    त्यो दिनदेखि वर्तमान समयसम्म परमेश्‍‍वरको व्यवस्थाको ज्ञान पृथ्वीमा बचाइएका छन्, र चौथो आज्ञाको शबाथलाई पालन गरिएका छन्। “पापको मानिसले” परमेश्‍‍वरको पवित्र दिनलाई खुट्टाले कुल्‍चीमिल्‍ची गर्न सफल भए तापनि उसको सर्वोच्‍चताको समयावधिमा पनि गुप्‍त ठाउँहरूमा विश्‍‍वासयोग्य मानिसहरूले यसलाई आदर गरेका थिए। सुधार-कार्यदेखि यता प्रत्येक पुस्तामा कसै न कसैले यसको पालनलाई कायम राखेकै थिए। धेरैजसो घृणा र सतावटको माझमा पनि परमेश्‍‍वरको व्यवस्थाको अनन्तता र सृष्‍टिको शबाथको पवित्र कर्तव्यको निरन्तर साक्षी दिएका छन्।MBND 199.2

    यी सत्यताहरूले प्रकाश १४मा प्रकट गरेअनुसार, “अनन्त सुसमाचार”-सँग सम्बन्धित भई ख्रीष्‍टको चर्चलाई उहाँको आगमनको समयमा छुट्याउनेछन्। किनकि तीन गुणा सन्देशको परिणाम स्‍वरूप यसरी घोषणा गरेको छ: “पवित्र जनहरूको धीरज यहाँ छ; परमेश्‍‍वरका आज्ञाहरू र येशूको विश्‍‍वास पालन गर्नेहरू यहाँ छन्।” यो सन्देश अन्तिममा प्रभुको आगमनभन्दा अलि अगाड़ि दिनुपर्नेछ। यो घोषणा हुने बित्तिकै मानिसको पुत्रलाई पृथ्वीको कटनी गर्न महिमामा आइरहनुभएको अगमवक्ताले देखे।MBND 200.1

    जसले पवित्रस्थान र परमेश्‍‍वरको अपरिवर्तनीय व्यवस्थाको विषयमा ज्योति प्राप्‍त गरेका थिए तिनीहरूले आफ्‍नो समझमा खुल्‍ला भएको सत्यताको नीतिको सुन्दरता र मिलाप देख्दा तिनीहरू आनन्द र अचम्मले भरिए। तिनीहरूको दृष्‍टिमा बहुमूल्य देखा परेको ज्योति सबै इसाईहरूलाई प्रदान गरिओस् भन्‍ने तिनीहरूको इच्छा थियो; यो ज्योति तिनीहरूले आनन्दसाथ स्‍वीकार गर्नेछन् भनी तिनीहरूले विश्‍‍वास गरेका थिए। तर ख्रीष्‍टको चेला हुने दाबी गर्ने धेरै जनाले संसारसँग अमिल्दो सत्यतालाई अस्‍वीकार गरे। चौथो आज्ञामा आज्ञाकारी हुँदा बलिदानको आवश्‍‍यक पर्छ भनी बहुसङ्ख्या त्यसबाट पछि हटे।MBND 200.2

    जब शबाथका दाबीहरू प्रस्तुत गरिए, धेरैले सांसारिक तरिकाले विचार गरे। तिनीहरूले भने: “हामीले सधैँ आइतबार पालन गरेका छौं, हाम्रा पिताहरूले पनि यसैलाई पालन गरे, र धेरै असल र भक्ति मानिसहरूले यसैलाई पालन गरेर खुशीसाथ मरे। यदि तिनीहरू सत्य थिए भने हामी पनि सत्य नै छौं। नयाँ शबाथलाई पालन गर्नाले हामीलाई संसारको मिलनबाट बाहिर फालिदिन्छ, र तिनीहरूमाथि हाम्रो केही प्रभाव पर्दैन। आइतबार पालन गर्ने सारा संसारको विरुद्धमा सानो समूह सातौँ दिन पालन गरेर के पूरा गर्ने आशा गर्न सक्छ र?” यहूदीहरूले ख्रीष्‍टलाई अस्‍वीकार गरेर आफैलाई निर्दोष ठहऱ्याउने प्रयासमा यस्तै विवाद गरेका थिए। बलिदान र भेटीहरू चढ़ाउँदा पनि परमेश्‍‍वरले तिनीहरूका पिताहरूलाई स्‍वीकार गर्नुभयो, र किन तिनीहरूका सन्तानले उस्तै काम गरेर मुक्ति पाइदैनथ्यो त? लुथरको समयमा पनि यस्तै थियो, पोपतान्‍त्रीहरूले विचार गरे कि सत्य इसाईहरू क्‍याथोलिक विश्‍‍वासमा मरे, र त्यसकारण त्यो धर्म मुक्तिको लागि पर्याप्‍त छ। यस्तो विचार धार्मिक विश्‍‍वास वा व्यवहारको सबै विकासमा एक प्रभावशाली पर्खाल मात्र हुन्छ।MBND 200.3

    धेरैले जोड दिए कि आइतबार पालन भनेको स्थापित भएको सिद्धान्त थियो र त्यो धेरै शताब्दीहरूदेखि चर्चहरूको विश्‍‍वव्यापी प्रचलन पनि थियो। त्यो विश्‍‍वासको विरुद्धमा यो देखाइएको थियो कि संसार जति पुरानो थियो, त्यति नै शबाथ र यसका पालनहरू पनि पुरानो र विश्‍‍वव्यापी थिए, र यसले परमेश्‍‍वर र स्‍वर्गदूतहरू दुवैको स्‍वीकृति प्राप्‍त गरेको छ। जब पृथ्वीका जगहरू बसालिए, जब बिहानका ताराहरूसँगै गाए, अनि सबै परमेश्‍‍वरका छोराहरू आनन्दले कराए, त्यसबेला शबाथको जग बसालियो। अय्यूब ३८:६, ७; उत्पत्ति २:१-३। यो विधान हाम्रो श्रद्धा माग गर्ने योग्य छ; यो कुनै मानवीय अधिकारले नियुक्त गरेको थिएन र यो कुनै मानवीय नीतिमा आधारित थिएन; यो अति प्राचीनद्वारा स्थापना भएको थियो र उहाँको अनन्त वचनद्वारा आज्ञा भएको थियो।MBND 201.1

    जब मानिसहरूको ध्यान शबाथ सुधारको विषयमा आकर्षित भए, प्रचलित प्रचारकहरूले परमेश्‍‍वरको वचनलाई बङ्ग्याए, अनुसन्धान गर्ने प्रकारको दिमागलाई सबभन्दा सफलतापूर्वक शान्त पार्ने हिसाबले त्यसको गवाहीलाई व्याख्या गरे। अनि जुन व्यक्तिहरू आफैले धर्मशास्‍‍त्रहरू अनुसन्धान गर्दैनथे, तिनीहरूको इच्छाअनुसारमा आएको निष्कर्ष स्‍वीकार गर्नु नै तिनीहरू सन्तुष्‍टि भए। पुर्खाहरूको विवादपूर्ण चालचलन र चर्चको अधिकारद्वारा धेरैले सत्यतालाई नाश गर्ने प्रयास गरे। चौथो आज्ञाका समर्थकहरूले त्यसको औचित्यको रक्षा गर्न तिनीहरूको बाइबलतर्फ केन्द्रित भए। सत्यताको वचन मात्र धारण गरेर पनि यी नम्र मानिसहरूले शिक्षित मानिसहरूको आक्रमणलाई प्रतिकार गरे, जसले आर्श्‍चय र रिसका साथ तिनीहरूको परिभाषी कुतर्कचाहिँ मानिसहरूको साधारण र सिद्ध बुद्धिको विरुद्ध शक्तिहीन भएको थाहा पाए, जुन नम्र व्यक्तिहरू स्कुलहरूको चतुऱ्याइँमा त होइन बरु धर्मशास्‍‍त्रहरूमा निपुन थिए।MBND 201.2

    ख्रीष्‍ट र प्रेरितहरूको विरुद्धमा उस्तै विचार प्रकट गरेको कुरा बिर्सेर धेरै जनाले आफ्‍नो पक्षमा बाइबलका गवाहीहरूविनै अथक नियमिततासाथ यसरी दबाब दिए: “हाम्रा महान् मानिसहरूले यो शबाथको विषयमा किन बुझेनन्? तिमीहरूले जस्तै थोरैले मात्र विश्‍‍वास गर्छन्। तिमीहरू सत्य भएर संसारमा भएका सबै शिक्षित मानिसहरू झूटो हुनै सक्दैन।”MBND 201.3

    यस्तो विश्‍‍वासलाई झूटो साबित गर्न धर्मशास्‍‍त्रहरूको शिक्षा र सबै युगहरूमा उहाँका मानिसहरूसँग परमप्रभुले गर्नुभएको व्यवहारको इतिहास प्रस्तुत गर्न मात्र आवश्‍‍यक थियो। जसले उहाँको आवाज सुन्छ र पालन गर्छ, जसले आवश्‍‍यक परेमा अरुचिकर सत्यताहरू बोल्छ, जसले प्रचलित पापहरूलाई हप्की दिन डराउँदैन त्यसद्वारा परमेश्‍‍वर काम गर्नुहुन्छ। उहाँले प्राय: शिक्षित र उच्‍च पदका मानिसहरूलाई सुधार कार्यहरूमा अगुवाइ गर्न चुन्‍नुहुन्‍न किनकि तिनीहरूले आफ्‍ना विश्‍‍वासहरू, सिद्धान्तहरू र धर्मशास्‍‍त्रीय नीतिमा भरोसा राख्‍छन्, र परमेश्‍‍वरद्वारा सिकाइनुपर्ने आवश्‍‍यकताको महसुस गर्दैनन्। बुद्धिको स्रोतसँग व्यक्तिगत सम्बन्ध राख्‍नेहरू मात्र धर्मशास्‍‍त्र बुझ्‍न वा वर्णन गर्न सक्षम हुन्छन्। कहिलेकाहीँ स्कुलको उच्‍च शिक्षा हासिल नगरेका मानिसहरूलाई सत्यता घोषणा गर्न बोलावट हुन्छ, तिनीहरू अशिक्षित भएको कारणले त्यसो भएको होइन, तर तिनीहरू आत्म-पर्याप्‍त नभई परमेश्‍‍वरबाट सिक्‍न सक्‍ने भएको कारण उहाँले तिनीहरूलाई बोलाउनुहुन्छ। तिनीहरू ख्रीष्‍टको स्कुलमा सिक्छन्, र तिनीहरूको नम्रता र आज्ञाकारिताले तिनीहरूलाई महान् बनाउँछ। तिनीहरूलाई उहाँको सत्यताको ज्ञान दिँदा परमेश्‍‍वरले तिनीहरूलाई एक सम्मान प्रदान गर्नुहुन्छ, जससँग तुलना गर्दा पृथ्वीको आदर र मानवीय महानताको महत्‍व हराउँछ।MBND 201.4

    बहुसङ्ख्यकमा एड्‍भेन्टिष्‍टहरूले पवित्रस्थान र परमेश्‍‍वरको व्यवस्थाको विषयमा भएको सत्यतालाई अस्‍वीकार गरे, र धेरै जनाले दोस्रो आगमनको आफ्‍नो विश्‍‍वास इन्कार गरे र त्यस कामसँग सम्बन्धित अगमवाणीहरूको विषयमा अनुचित र परस्पर विरोधी विचारहरू लिए। कति जना बारम्बार ख्रीष्‍टको आगमनको निर्धारित समय तोकेर गलत गरिरहे। पवित्रस्थानको विषयमा अहिले चम्किरहेको ज्योतिले तिनीहरूलाई यो कुरा देखाउनुपर्नेथियो कि दोस्रो आगमनसम्म कुनै पनि अगमवाणीक समयावधि पुग्दैन; किनकि यो घटनाको ठीक समय तोकिएको छैन। तर ज्योतिदेखि फर्केर तिनीहरूले परमप्रभु आउनुहुने समयपछि समय तोकी नै रहे, र सधैँ तिनीहरू निराश भए।MBND 202.1

    जब थेसलोनिकी चर्चले ख्रीष्‍टको आगमनको विषयमा भ्रमपूर्ण विचारहरू प्राप्‍त गरे, तब प्रेरित पावलले परमेश्‍‍वरको वचनद्वारा तिनीहरूका आशाहरू र आकाङ‌्क्षाहरू होसियारसाथ जाँच्‍ने सल्‍लाह दिए। तिनले ख्रीष्‍ट आउनुभन्दा पहिले हुने घटनाहरू प्रकट गर्दै अगमवाणीहरूमा देखाए, र तिनले यो पनि देखाए कि तिनीहरूले उहाँलाई तिनीहरूकै समयमा आशा गर्ने कुनै आधार थिएन। “कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्।” (२ थेसलोनिकी २:३)। तिनको चेतावनीका शब्दहरू यी नै थिए। यदि तिनीहरू धर्मशास्‍‍त्रहरूले स्‍वीकृति नगरेको आशामा डुबेका भए, तिनीहरू गलत कार्यतर्फ जानेथिए; निराशको कारणले तिनीहरूलाई अविश्‍‍वासीहरूले उपहास गर्नेथिए, र तिनीहरू निराशमा पर्ने खतरामा हुनेथिए र तिनीहरूको मुक्तिका लागि अति नै आवश्‍‍यकीय सत्यताहरूमाथि शङ्का गर्ने परीक्षामा तिनीहरू पर्नेथिए। प्रेरितले थेसलोनिकीहरूलाई दिएको चेतावनीमा अन्तिम दिनमा बाँच्‍नेहरूको निम्ति महत्‍वपूर्ण पाठ रहेको छ। धेरै एड्‍भेन्टिष्‍टहरूले सोचेका छन् कि तिनीहरूले परमप्रभुको आगमनको निश्‍चित समयमाथि आफ्‍नो विश्‍‍वास निर्धारण नगरेसम्म तिनीहरू तयार हुने काममा उत्साही र मेहनती हुन सक्दैनन्। तर जब तिनीहरूका आशाहरू बारम्बार उत्साहित हुन्थे, फेरि नष्‍ट हुन्थे, तब तिनीहरूको विश्‍‍वास यति हल्‍लियो कि यो अगमवणीको महान् सत्यताहरूद्वारा प्रभावित पारिन झण्डै असम्भव भयो।MBND 203.1

    पहिलो सन्देश दिँदा प्रचार गरिएको न्यायको निर्धारित समयचाहिँ परमेश्‍‍वरद्वारा नै आदेश भएको थियो। २३०० दिनहरूको अन्त १८४४ शरद् ऋतुमा राख्‍ने अगमवाणीय अवधिको हिसाबचाहिँ अखण्डनीय छ जसमा त्यो सन्देश आधारित छ। यो अगमवाणीय अवधिहरूको आरम्भ र समाप्‍तिका नयाँ मितिहरू खोज्‍ने बारम्बार प्रयत्‍न र विश्‍‍वासहरू यथास्थितिमा नै कायम राख्‍ने अनुचित विचारहरूले दिमागहरू वर्तमान सत्यताबाट टाढा पुऱ्याउने मात्र होइन, तर अगमवाणीहरू व्याख्या गर्ने प्रयासहरूलाई पनि अपमान गरे। दोस्रो आगमनको विषयमा जति बारम्बार समय निर्धारण गर्छन्, र अझै व्यापक रूपमा सिकाउँछन् त्यति नै त्यो शैतानको योजना अनुरूप हुन्छ। समय बितेपछि यसका अनुयायीहरूलाई गिल्‍ला र घृणा उसले जगाउँछ, र यसरी १८४३ र १८४४को महान् अभियानलाई घृणा गरिएको हुन्छ। यो गलतमा लागी पर्नेहरूले ख्रीष्‍टको आगमनको समय धेरै पछिल्‍लो भविष्यतिर निर्धारण गर्नेछन्। त्यसरी तिनीहरूले झूटो सुरक्षामा भरोसा राखेका हुनेछन्, र धेरै जना आफ्‍नो भ्रममा सचेत हुन ढिला भइसकेका हुनेछन्।MBND 203.2

    प्राचीन इस्राएलको इतिहासचाहिँ एड्‍भेन्टिष्‍ट समाजको विगत अनुभवको एक अचम्मलाग्दो उदाहरण हो। जसरी परमेश्‍‍वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो त्यसरी नै उहाँले आफ्‍ना मानिसहरूलाई दोस्रो आगमनको अभियानमा अगुवाइ गर्नुभयो। जसरी हिब्रूहरूको विश्‍‍वास लाल समुद्रमा जाँचिएको थियो त्यसरी तिनीहरूको विश्‍‍वास महानिराशको समयमा जाँचिएको थियो। यदि तिनीहरूले विगत अनुभवमा अगुवाइ गरिरहेको हातमाथि अझै भरोसा गरी नै राखेको भए, तिनीहरूले परमेश्‍‍वरको मुक्ति देख्‍नेथिए। यदि १८४४को काममा एकत्रित भएका सम्पूर्ण मानिसहरूले तेस्रो स्‍वर्गदूतको सन्देश स्‍वीकार गरेको भए र पवित्र आत्माको शक्तिमा त्यसलाई घोषणा गरेको भए, परमप्रभुले तिनीहरूका प्रयासहरूमा शक्तिशालीसाथ काम गर्नुहुनेथियो। संसारमा ज्योतिको बाढ़ी बहनेथियो। धेरै वर्षहरू अघि पृथ्वीका बासिन्दाहरूले चेतावनी पाएका हुनेथिए, कामको अन्त पूरा हुनेथियो, र ख्रीष्‍ट उहाँका मानिसहरूको मुक्तिको लागि आउनुहुनेथियो।MBND 204.1

    इस्राएलीहरू चालिस वर्षसम्म उजाड़-स्थानमा घुम्‍ने परमेश्‍‍वरको इच्छा थिएन; उहाँले तिनीहरूलाई सीधा कनान देशमा लैजाने र त्यहाँ एक पवित्र र हर्षित जाति स्थापना गर्ने इच्छा गर्नुभएको थियो। तर “अविश्‍‍वासको कारणले नै तिनीहरू पस्‍न सकेनन्।” हिब्रू ३:१९। तिनीहरू पापको मार्गतिर गएको र पतनको कारणले तिनीहरू मरुभूमिमा मरे, र अरूहरू प्रतिज्ञाको देशमा प्रवेश गर्न हुर्के। त्यसरी नै ख्रीष्‍टको आगमनमा यति ढिलाइ हुनु र उहाँका मानिसहरू यति धेरै वर्षहरू यो पाप र शोकपूर्ण संसारमा राख्‍नु परमेश्‍‍वरको इच्छा थिएन। तर अविश्‍‍वासले तिनीहरूलाई परमेश्‍‍वरबाट छुट्यायो। परमेश्‍‍वरले तिनीहरूका निम्ति नियुक्त गर्नुभएको काम जब तिनीहरूले इन्कार गरे, तब अरूहरू सन्देश घोषणा गर्न उठे। संसारप्रति कृपा प्रकट गरीकन येशूले उहाँको आगमन ढिलो पार्नुहुन्छ, ताकि पापीहरूले चेतावनी सुन्‍ने मौका पाऊन् र परमेश्‍‍वरको क्रोध खन्याइनुभन्दा अघि नै उहाँमा शरण पाऊन्।MBND 204.2

    अघिका समयहरूमा जस्तै अहिले पनि वर्तमान समयहरूका पापहरू र झूटहरूलाई देखाउने सत्यताको वक्तव्यले विरोध जगाउनेछ। “दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्।” यूहन्‍ना ३:२०। जब मानिसहरूले आफ्‍नो विश्‍‍वास धर्मशास्‍‍त्रहरूद्वारा कायम राख्‍न असम्भव देख्‍छन्, तब सम्पूर्ण खतराहरू आए तापनि यसलाई कायम नै राख्‍ने धेरै जनाले निर्णय गर्छन्, र तिनीहरूले अप्रचलित सत्यताको पक्षमा खडा रहनेहरूको चरित्र र अभिप्रायलाई घृणित आत्माका साथ आक्रमण गर्छन्। यो एउटै अभिप्राय सबै युगहरूमा प्रयोग गरिएको थियो। एलियालाई इस्राएलमा कष्‍ट ल्याउने, यर्मियालाई विश्‍‍वासघाती र पावललाई मन्दिर दुषित पार्ने भनी घोषण गरेको थियो। त्यो दिनदेखि आजसम्म सत्यतामा बफादारी भएकाहरूलाई विश्‍‍वासघाती, झूटो शिक्षक वा विच्छेदकारीको रूपमा निन्दा गरेका छन्। अगमवाणीको निश्‍चित वचनलाई स्‍वीकार गर्नुपर्छ भनी विश्‍‍वासै नगर्ने भीडौँ मानिसहरूले प्रचलित पापहरूलाई देखाउन साहस गर्नेहरूको विरोधमा लगाएको आरोप निःसन्देह स्‍वीकार गर्नेछन्। यो आत्मा झन्-झन् बढ्‍दैजानेछ। बाइबलले स्पष्‍टरूपमा सिकाउँछ कि यस्तो समय आउँदैछ जब देशका व्यवस्थाहरू परमेश्‍‍वरका व्यवस्थाहरूको विरोध हुन्छ कि जसले सबै दैवीय व्यवस्था पालन गर्छन्, तिनीहरूले दुष्‍ट काम गर्नेहरूले जस्तै घृणा र सजाय साहससाथ भोग्‍नैपर्छ।MBND 204.3

    यो कुरालाई विचार गरी हेर्दा सत्यताको सन्देशवाहकको कार्यचाहिँ के हो त? सत्यताको प्रभावले प्राय: मानिसहरूलाई त्यसका दाबीहरूबाट भाग्‍न र त्यसलाई प्रतिकार गर्न उक्सायो भन्दैमा कुनै व्यक्तिले त्यो प्रस्तुत नगर्ने निर्णय गर्नेछ र? होइन; यसले विरोध उक्साउँछ भन्दैमा परमेश्‍‍वरको वचनको गवाही रोकेर राख्‍ने अब कुनै कारण नै छैन, जसरी अघिल्‍ला सुधारकहरूसँग पनि त्यो रोकेर राख्‍ने कुनै कारण थिएन। सन्तहरू र सहिदहरूले स्‍वीकार गरेको विश्‍‍वास आगामी युगहरूको फाइदाको लागि लेखिएको थियो। ती पवित्रता र दृढ निष्कपटताका जिउँदा उदाहरणहरू वर्तमान परमेश्‍‍वरका साक्षीहरू स्‍वरूप खडा हुन बोलाइएकाहरूलाई साहससाथ अभिप्रेरित गर्न आएका छन्। तिनीहरूले अनुग्रह र सत्यता प्राप्‍त गरे जो तिनीहरूका लागि मात्र होइन, तर तिनीहरूद्वारा परमेश्‍‍वरको ज्ञान पृथ्वीमा चम्कन सकोस् भनेर त्यो प्राप्‍त गरे। के परमेश्‍‍वरले यस युगमा उहाँका दासहरूलाई ज्योति प्रदान गर्नुभएको छ त? त्यसो भए तिनीहरूले त्यो संसारमा चम्काउनुपर्छ।MBND 205.1

    प्राचीन समयमा परमप्रभुले उहाँको नाउँमा बोल्‍ने एक जनासँग यसरी घोषणा गर्नुभयो: “इस्राएलका घरनाले त तेरो कुरा सुन्‍न चाहँदैनन्, किनभने मेरो कुरा सुन्‍न तिनीहरू इच्छा गर्दैनन्।” तापनि उहाँले भन्‍नुभयो: “तैंले तिनीहरूसित मेरो वचन बोल्, चाहे तिनीहरूले सुनून् चाहे नसुनून्।” इजकिएल ३:७; २:७। परमेश्‍‍वरको दासलाई यो समयमा यस्तो आदेश आयो: “तुरहीको आवाजजस्तै उच्‍च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे”MBND 205.2

    ज-जसले सत्यताको ज्योति प्राप्‍त गरेका छन्, सबै जनाले मौका पाएअनुसार इस्राएलको अगमवक्ताजस्तै तिनीहरूको गम्भीर र भयपूर्ण जिम्मेवारी हुन्छ, जसकहाँ परमप्रभुको वचन यसो भनेर आएको थियो: “हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन्, र तिनीहरूलाई मबाट चेताउनी दे। जब म दुष्‍ट मानिसलाई भन्छु, ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस्,’ र यदि तैंले त्यसलाई आफ्‍नो चाल त्यागोस् भनेर चेताउनी दिएनस् भने, त्यो दुष्‍ट मानिस आफ्‍नो पापको कारण मर्नेछ, र म तँलाई त्यसका रगतको जवाफदेही तुल्याउनेछु। तर यदि त्यसले आफ्‍नो चाल त्यागोस् भनेर तैंले त्यस दुष्‍ट मानिसलाई चेताउनी दिइस् र त्यसले आफ्‍नो चाल त्यागेन भने, त्यो आफ्‍नो पापको कारण मर्नेछ, तर तैंले आफूलाई बचाउनेछस्।” इजकिएल ३३:७-९।MBND 206.1

    सत्यताको स्‍वीकार र प्रचार दुवै कुरामा ठूलो बाधाचाहिँ असुविधा र घृणा जस्ता कुराहरू हुन्। सत्यताको विरुद्धमा यही विवादमा मात्र त्यसका चेलाहरूले कहिल्यै पनि झूटो साबित गर्न सक्षम भएका छैनन्। तर यसले सत्य ख्रीष्‍टका चेलाहरूलाई निरूत्साहित पार्दैन। यिनीहरू सत्यता प्रचलित हुन पर्खिरहँदैनन्। तिनीहरूका कर्तव्य बोध गरी तिनीहरूले खुलेआम क्रूस स्‍वीकार गर्छन्, र प्रेरित पावलसितै “हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ” भन्ठान्छन्, प्राचीन जनसँग “मिश्रदेशको धन-दौलतभन्दा ख्रीष्‍टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति” ठान्छन्। २ कोरिन्थ ४:१७; हिब्रू ११:२६।MBND 206.2

    तिनीहरूको पेशा जे भए पनि मनमा संसारका नोकरहरूले मात्र धार्मिक मामिलाहरूमा सिद्धान्तद्वारा नभई षड्‌यन्‍त्रद्वारा काम गर्छन्। हामीले सत्यलाई चुन्‍नुपर्छ किनभने यो सत्य हो, र यसको परिणाम परमेश्‍‍वरको हातमा समर्पण गर्नुपर्दछ। आफ्‍ना महान् सुधारहरूको लागि संसारचाहिँ सिद्धान्त, विश्‍‍वास र साहस भएका मानिसहरूप्रति ऋणी छ। यस्तै मानिसहरूद्वारा यो समयमा सुधारको काम अगि बढ्‍नुपर्छ।MBND 206.3

    परमप्रभु यसो भन्‍नुहुन्छ: “जे असल छ त्यो जान्‍नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूको निन्दादेखि नडराओ, न त तिनीहरूको गिल्‍लादेखि भयभीत होओ। किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्। तर मेरो धार्मिकता सदाको निम्ति रहनेछ, मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै।” यशैया ५१:७, ८।MBND 206.4