Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १२ — आधुनिक जागृतिहरू

    जहाँ परमेश्‍‍वरको वचन विश्‍‍वासयोग्यताका साथ प्रचार गरिएको छ, त्यहाँ यस्ता परिणामहरू देखिएका छन् जसले ईश्‍‍वरीय मौलिकताको प्रमाणित गरेको छ। उहाँका सन्देशवाहकहरूको सन्देशसँग परमेश्‍‍वरको आत्मा हुनुहुन्थ्यो, र वचन शक्तिशाली थियो। पापीहरूले तिनीहरूको विवेक जागेको महसुस गरे। “हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति” तिनीहरूका प्राणका गुप्‍त स्थानहरू पनि उज्यालो पारिदियो, र अँध्यारोमा लुकिएका कुराहरू प्रकट गरिए। तिनीहरूका दिमागहरू र हृदयहरूमा गहिरो दोष-प्रमाण भयो। पाप, धार्मिकता र आउनेवाला न्यायको विषयमा तिनीहरूलाई चित्त बुझ्यो। तिनीहरूमा यहोवाको धार्मिकताका एक ज्ञान थियो र हृदयहरूका अनुसन्धानकर्ताको सामु तिनीहरूको दोष र अशुद्धतामा आउने आतङ‌्क तिनीहरूले महसुस गरे। संतापमा तिनीहरू कराए: “यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला?” जब कलवरीको क्रूसचाहिँ मानिसहरूका पापको निम्ति असीम बलिदानसाथ प्रकट भयो, तब तिनीहरूले देखे कि ख्रीष्‍टको योग्यताबाहेक अरू कुनै पनि कुरा तिनीहरूका अधर्म प्रायश्‍चित्त गर्न पर्याप्‍त छैन; यसले मात्र मानिसलाई परमेश्‍‍वरसँग मिलाप गर्न सक्दछ। तिनीहरूले संसारको पाप उठाइलैजानुहुने परमेश्‍‍वरको थुमालाई विश्‍‍वास र नम्रतासाथ स्‍वीकार गरे। येशूको रगतद्वारा मात्र तिनीहरूका “विगत पापहरूको क्षमा” हुन्थ्यो।MBND 209.1

    ती मानिसहरूले पश्‍चात्ताप सुहाउँदो फल फलाए। तिनीहरूले विश्‍‍वास गरे र बप्‍तिस्मा लिए, र जीवनको नयाँ मार्गमा हिँड्‍न उठे—ख्रीष्‍ट येशूमा नयाँ प्राणीहरू भए; तिनीहरू आफूलाई विगतका अभिलाषाअनुसार चलाउने होइन; तर तिनीहरू परमेश्‍‍वरको पुत्रको विश्‍‍वासद्वारा उहाँका पाइलाहरूमा हिँड्‍नुपर्नेथिए, र तिनीहरूले उहाँको चरित्र प्रतिबिम्ब गर्नुपर्नेथिए र जसरी उहाँ पवित्र हुनुहुन्छ त्यसरी नै तिनीहरूले आफैलाई पवित्र पार्नुपर्नेथिए। तिनीहरूले घृणा गरेका कुराहरू अब तिनीहरूले प्रेम गरे, र तिनीहरूले माया गरेका कुराहरू अब तिनीहरूले घृणा गर्न थाले। घमण्डी र आत्म-विश्‍‍वासीहरू अब कोमल र नम्र हृदयका भए। मूर्ख र घमण्डीहरू गम्भीर र विनम्र भए। अधर्मी श्रद्धालु भए, जँड्‌याहा सचेत भए र भोगविलासी शुद्ध भए। संसारको व्यर्थका ढाँचाहरू हटाइए। इसाईहरूले “केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍‍त्र”-को बाहिरी सिङ्गारपटार खोजेनन्, तर तिनीहरूले “भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्‍न” खोजे, “जो परमेश्‍‍वरको दृष्‍टिमा साह्रै मूल्यवान् छ।” १ पत्रुस ३:३, ४।MBND 209.2

    जागृतिहरूले गहिरो हृदय तलाश र नम्रता ल्यायो। ती जागृतिहरूमा पापीहरूप्रति उत्सुक र गम्भीर आह्वानहरू र ख्रीष्‍टको रगतद्वारा किनिनेहरूको लागि तृष्णापूर्ण मायाको गुणहरू थियो। पुरुष र स्‍‍त्रीहरू मानिसहरूका मुक्तिको निम्ति परमेश्‍‍वरसँग लडन्त र प्रार्थना गरे। यस्ता जागृतिको फल मानिसहरूमा देखा परे जो आफैलाई इन्कार गर्न र बलिदान गर्न हिचकिचाएनन्, तर ख्रीष्‍टको खातिर तिनीहरूले घृणा र कष्‍ट भोग्‍ने योग्य गनिएको कारण तिनीहरू आनन्दित भए। जसले येशूको नाम दाबी गरे तिनीहरूको जीवनमा भएका परिवर्तन मानिसहरूले देखे। तिनीहरूको प्रभावबाट समाजले लाभ हासिल गरेको थियो। तिनीहरू ख्रीष्‍टसँग भेला भए, र अनन्त जीवन कटनी गर्नको लागि आत्माको निम्ति बीउ छरे।MBND 210.1

    तिनीहरूको विषयमा यसरी भन्‍न सकिन्थ्यो: “तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापी बनायो।” “किनभने ईश्‍‍वरीय शोकले मुक्तिको निम्ति पश्‍चात्ताप उत्पन्‍न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्‍न गर्छ। किनकि हेर, यस ईश्‍‍वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्‍न गराएको छ—आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्‍ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ।” २ कोरिन्थी ७:९-११।MBND 210.2

    यही नै परमेश्‍‍वरको आत्माको कामको परिणाम हो। यसमा सुधार कार्य नभएसम्म वास्तविक पश्‍चात्तापको प्रमाण हुँदैन। यदि उसले कर्जा राखेको धितो फर्काइदिन्छ, उसले लुटेको माल फिर्ता गरिदिन्छ, र उसको पाप स्‍वीकार गर्छ, र परमेश्‍‍वर र उसको सँगीलाई माया गर्छ, तब पापी परमेश्‍‍वरसँग मिलाप भएको निश्‍चित हुन सक्छ। विगत वर्षहरूमा भएको धार्मिक जागृतिका समयहरूका असरहरू यस्ता थिए। तिनीहरूका फलहरूद्वारा जाँच गर्दा तिनीहरू मानिसहरूको मुक्ति र मानवजातिको उत्थानमा परमेश्‍‍वरका धन्यहरू कहलाएका थिए।MBND 210.3

    तर आधुनिक समयहरूमा प्रकट गरेका धेरै जागृतिहरू त्यो ईश्‍‍वरीय अनुग्रहको प्रदर्शनभन्दा धेरै फरक देखिएका छन् जुन अघिल्‍ला दिनहरूमा परमेश्‍‍वरका दासहरूका परिश्रमहरूसँग देखिन्थे। यो सत्य हो कि विश्‍‍वव्यापी चाहना आरम्भ भएको छ, धेरै जना परिवर्तन भएको दाबी गर्दछन्, चर्चहरूमा ठूलो सङ्ख्यामा थपिन्छ; तापनि परिणामहरू यस्ता छन् कि जसले वास्तवमा आत्मिकी जीवन त्यसरी नै वृद्धि भएको छ भन्‍ने विश्‍‍वासमा निश्‍चयता दिँदैन। केही समय बल्‍ने ज्योति निभेर जान्छ र पहिलेको भन्दा कालो अँध्यारो हुन्छ।MBND 211.1

    प्रचलित जागृतिहरूले धेरैजसो कल्पना र भावनालाई उत्तेजित पार्दछन्, जुन कुरा नयाँ छ र भयप्रद छ त्यसको चाहनालाई सन्तुष्‍टि पार्दछन्। यसरी परिवर्तन भएकाहरू बाइबलको सत्यता, अगमवक्ताहरू र प्रेरितहरूको गवाही सुन्‍नेप्रति त्यति चाहना गर्दैनन्। धार्मिक सेवाहरूमा केही उत्तेजनात्मक चरित्र भएन भने तिनीहरूलाई आर्कषण गर्ने थोक केही पनि हुँदैन। अनुत्तेजित विवेकलाई प्रभाव पार्ने कुनै सन्देशले कुनै प्रतिकृया ल्याउँदैन। तिनीहरूका अनन्त लाभलाई मध्यनजर राख्‍ने परमेश्‍‍वरको वचनको स्पष्‍ट चेतावनीहरू तिनीहरूले बेवास्ता गर्छन्।MBND 211.2

    वास्तविक परिवर्तन भएको प्रत्येक मानिसको जीवनमा परमेश्‍‍वरप्रति भएको सम्बन्ध र अनन्त कुराहरू नै महान् प्रसङ्‌ग हुनेछन्। तर वर्तमान प्रचलित चर्चहरूमा परमेश्‍‍वरमा समर्पित आत्मा कहाँ छ? यी परिवर्तन भएकाहरूले तिनीहरूका घमण्ड र संसारप्रतिको प्रेमलाई इन्कार नै गर्दैनन्। तिनीहरू परिवर्तन हुनुभन्दा अगाड़ि जस्ता थिए त्यस्तै अहिले पनि क्रूस उठाउन र दीन र नम्र येशूलाई अनुसरण गर्नका लागि आ-आफ्‍ना स्‍वार्थलाई इन्कार गर्न तयार छैनन्। धर्मचाहिँ नास्तिकहरू र शङ्काशीलहरूको खेल भएको छ, किनकि धेरै जसले यसको नाम धारण गर्दछन्, तिनीहरू नै त्यस सिद्धान्तमा अनजान छन्। धेरै चर्चहरूबाट भक्तिको शक्ति झण्डै हटिसकेको छ। पिकनिकहरू, चर्चका नाटकहरू, चर्चका बजारहरू, सुन्दर घरहरू र व्यक्तिगत प्रदर्शनले परमेश्‍‍वरप्रति भएका विचारहरूलाई हटाइदिएका छन्। जग्गाहरू र सम्पत्तिहरू र सांसारिक पेशाहरूले मस्तिष्कलाई व्यस्त पार्छन्, र अनन्त चाहनाका कुराहरूप्रति झण्डै अचेत भइसकेका छन्।MBND 211.3

    विश्‍‍वास र भक्तिको पतन गतिशीलरूपमा भए तापनि यी चर्चहरूमा ख्रीष्‍टका सत्य विश्‍‍वासीहरू छन्। पृथ्वीमा परमेश्‍‍वरको अन्तिम न्याय आउनुभन्दा अगावै परमप्रभुका मानिसहरूमा प्रेरितहरूको समयदेखि नदेखेका मौलिक भक्तिको जागृति हुनेछ। उहाँका सन्तानहरूमाथि परमेश्‍‍वरको आत्मा र शक्ति खन्याइनेछ। त्यो समयमा धेरै जना आफै ती चर्चहरूबाट निस्केर आउनेछन् त्यसमा संसारको प्रेमले परमेश्‍‍वरको प्रेम र उहाँको वचनको स्थान ओगटेको हुन्छ। जुन महान् सत्यताहरू परमेश्‍‍वरले उहाँका मानिसहरूलाई उहाँको आगमनको लागि तयार गराउन घोषणा गर्नुभएको छ ती सत्यताहरूलाई धेरै पास्टरहरू र मानिसहरूले हर्षसाथ स्‍वीकार गर्नेछन्। आत्माको शत्रुले यो कामलाई बाधा ल्याउने इच्छा गर्छ; र यस्तो अभियान आउनुभन्दा पहिले नै उसले यसको नकल निकालेर त्यसलाई रोक्‍ने प्रयास गर्नेछ। जुन चर्चहरूलाई उसले आफ्‍नो भ्रमपूर्ण शक्तिको अधीनमा ल्याउन सक्दछ, तिनीहरूमा परमेश्‍‍वरको विशेष आशिष् परेको जस्तै देखाउनेछ; त्यहाँ यस्तो कुरा प्रकट हुनेछ जुन विशाल धार्मिक चाहना ठहरिनेछ। तिनीहरूका लागि परमेश्‍‍वरले अचम्म तरिकाले काम गर्दैहुनुहुन्छ भनी भीडौँ मानिसहरू अति नै खुशी हुनेछन्, जबकि कामचाहिँ अर्कै आत्माबाट भएको हुन्छ। धार्मिक भेष लिएर शैतानले उसको प्रभाव इसाई संसारभरि फैल्याउने प्रयास गर्नेछ।MBND 211.4

    विगत आधा शताब्दिभरि भएका जागृतिहरूमध्ये धेरै वा थोरै मात्रामा यस्ता प्रभावहरू क्रियाशील थिए, जुन भविष्यको अझै विशाल हलचलहरूमा त्यही नै प्रदर्शन हुनेछ। त्यहाँ सत्य र झूट मिश्रित एक भावनात्मक उत्तेजना छ, जुन कुमार्गतर्फ लैजाने ढाँचाको हो। तापनि कोही पनि भ्रममा पर्नु आवश्‍‍यक छैन। परमेश्‍‍वरको वचनको ज्योतिमा यी हलचलहरूको स्‍वभाव छुट्याउन कठिन छैन। जहाँ-जहाँ मानिसहरूले बाइबलका गवाहीहरूलाई लत्त्याउँछन्, जहाँ स्‍वार्थ-त्याग र संसार-त्यागको माग राख्‍ने स्पष्‍ट र आत्मा जाँच्‍ने सत्यताहरूबाट फर्कन्छ, हामी निश्‍चित हुन सक्छौं कि त्यहाँ परमेश्‍‍वरको आशिष् प्रदान गरिएको छैन। ख्रीष्‍ट आफैले दिनुभएको नियमद्वारा यो कुरा प्रमाणित छ, “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ” कि यी हलचलहरू परमेश्‍‍वरको पवित्र आत्माबाट होइनन्। (मत्ती ७:१६)।MBND 212.1

    उहाँको वचनका सत्यताहरूमा परमेश्‍‍वरले मानिसलाई आफ्‍नै प्रकाश िदनुभएको छ, र जसले यी सत्यताहरू स्‍वीकार गर्छन् ती सत्यताहरू नै तिनीहरूका पक्षमा शैतानका भ्रमहरू विरुद्ध ढाल ठहरिन्छन्। यी सत्यताहरू बेवास्ता गरेकै कारण दुष्‍टताहरूतिर ढोका खोलिएको छ, त्यसैले गर्दा अहिले धार्मिक जगत्‌मा यी दुष्‍टताहरू अति नै फैलिएका छन्। परमेश्‍‍वरको व्यवस्थाको स्‍वभाव र महत्‍वको विषयमा धेरै जसो बिर्सिसकेको छ। त्यसको चरित्र, अनन्तता र दैवीय कानूनको कर्तव्यप्रति गलत समझले गर्दा परिवर्तन र पवित्रताको विषयमा झूटो आशय लगाएको छ, जसको कारण चर्चमा भक्तिको स्तरलाई नीच पारेको छ। हाम्रो समयमा भएका जागृतिहरूमा परमेश्‍‍वरको आत्मा र शक्तिको अभावको रहस्य यही नै हो भनी थाहा पाउनुपर्नेछ।MBND 212.2

    विभिन्‍न मण्डलीका संस्थाहरूमा तिनीहरूका भक्तिले गर्दा परिचित मानिसहरू छन् जसले यो तथ्यलाई स्‍वीकार गर्छन् र शोक गर्छन्। अध्यापक एडवार्डस ए. पार्क वर्तमानको धार्मिक जोखिमलाई प्रकट गर्दै निर्धक्‍क भन्दछन्: “दैवीय व्यवस्था पुल्पिटबाट लागू नगर्नु नै खतराको एउटा स्रोत हो। अघिल्‍ला समयहरूमा पुल्पिटचाहिँ विवेकको आवाजको एक प्रतिध्वनि भएको थियो। ... मालिकको उदाहरण अपनाउँदै, व्यवस्था वा त्यसका विधानहरू र चेतावनीहरूको अटलता घोषणा गर्दै हाम्रा सबभन्दा प्रख्यात प्रचारकहरूले तिनीहरूका प्रवचनमा अचम्मलाग्दो ऐश्‍‍वर्य प्रकट गरे। तिनीहरूले दुई महान् सिद्धान्त दोहोऱ्याए कि व्यवस्थाचाहिँ दैवीय पूर्णताहरूको प्रतिलिपि हो, र जसले व्यवस्थालाई प्रेम गर्दैन त्यसले सुसमाचारलाई पनि प्रेम गर्दैन; किनकि व्यवस्था साथै सुसमाचार पनि परमेश्‍‍वरको सत्य चरित्र प्रतिबिम्ब गर्ने ऐना हुन्। यो जोखिमले अर्कोतिर लैजाँदछ, पापको दुष्‍टता, त्यसको व्यापकता र अवगुणलाई कम मूल्यको ठान्दछ। आज्ञा जति सत्य छ त्यसप्रति अनाज्ञाकारी हुनु भनेको त्यति नै दुष्‍ट हुन्छ। ...MBND 213.1

    “उल्‍लेखित जोखिमहरूसँग सहकार्य गर्नु भनेको चाहिँ परमेश्‍‍वरको न्यायलाई अवहेलना गर्ने खतरा हो। आधुनिक पुल्पिटको लक्ष्यचाहिँ दैवीय न्यायलाई दैवीय परोपकारिताबाट अलग गर्नु र सिद्धान्तमा उच्‍च पार्नुभन्दा बरु परोपकारिता बङग्याएर भावुकतामा डुबाउनु रहेको छ। नयाँ बाइबलशास्‍‍त्रीय कुव्याख्याले परमेश्‍‍वरले जोड्‍नुभएको कुराहरूलाई भाग-भाग गरी छुट्याएको छ। के यो दैवीय व्यवस्था असल छ कि खराब छ त? यो असल छ। त्यसो भए न्याय पनि असल छ; किनकि त्योचाहिँ एउटा व्यवस्था लागू गर्ने स्‍वभाव नै हो। दैवीय व्यवस्था र न्याय, मानविक अनाज्ञाकारीताको मात्रा र अवगुणलाई हल्कारूपमा लिने बानीले गर्दा मानिसहरूले अनुग्रहलाई सहजै हेला गर्नेछन् जुन पाप-प्रायश्‍चित्तका लागि प्रबन्ध गरिएको छ।” यसरी मानिसहरूको मस्तिष्कमा सुसमाचारले यसको महत्‍व र मूल्य गुमाउँदछ, र अब चाँड़ै नै तिनीहरू व्यवहारिक रूपमा बाइबल नै हटाउन पनि तत्पर हुन्छन्।MBND 213.2

    धेरै धार्मिक शिक्षकहरूको भनाइ छ कि ख्रीष्‍टले उहाँको मृत्युद्वारा व्यवस्थालाई हटाउनुभयो, र त्यसकारण मानिसहरू यसका आदेशहरूबाट मुक्त छन्। कति जनाले यसलाई दुःखजनक जुवाको रूपमा प्रकट गर्दछन्, र व्यवस्थाको दास हुनुको सट्टामा सुसमाचारको अधीनमा रहेर स्‍वाधीनतालाई भोग गर्नुपर्छ भनी प्रस्तुत गर्दछन्।MBND 214.1

    तर अगमवक्ताहरू र प्रेरितहरूले परमेश्‍‍वरको पवित्र व्यवस्थाको विषयमा यसो गरेनन्। दाऊदले भने: “म स्‍वतन्‍त्र भएर हिँड्‍नेछु, किनकि मैले तपाईंका आदेशहरू खोजी निकालेको छु।” भजनसंग्रह ११९:४५। प्रेरित याकूबले ख्रीष्‍टको मृत्युपछि लेखेका थिए, तिनी दश आज्ञालाई “राजकीय व्यवस्था” र “स्‍वतन्‍त्र दिने शुद्ध व्यवस्था”-को रूपमा दर्शाउँदछन्। याकूब २:८; १:२५। ख्रीष्‍ट क्रूसमा मृत्यु भएको आधा शताब्दी पश्‍चात् प्रकाशकले तिनीहरूका निम्ति जोहरू “जीवनको रूखमाथि अधिकार पाउनाका निम्ति र ढोकाहरूद्वारा शहरभित्र पस्‍न सक्‍नाका निम्ति ... उहाँका आज्ञाहरू पालन गर्छन्,” तिनीहरूका निम्ति आशिष् घोषणा गर्दछन्। प्रकाश २२:१४ (KJV)।MBND 214.2

    ख्रीष्‍टको मृत्युद्वारा उहाँले पिताको व्यवस्थालाई रद्द गर्नुभयो भन्‍ने दाबीचाहिँ आधारहीन छ। यदि व्यवस्था परिवर्तन गर्न वा हटाउन सम्भव भएको भए त मानिसहरूलाई पापको सजायबाट बचाउनको निम्ति ख्रीष्‍ट मर्नु आवश्‍‍यक नै थिएन। ख्रीष्‍टको मृत्युले व्यवस्थालाई रद्द गर्ने होइन तर झन् बरु त्यो अटल छ भन्‍ने प्रमाण दिँदछ। परमेश्‍‍वरको पुत्र “व्यवस्थालाई महान् र महिमित पार्न” आउनुभयो। यशैया ४२:२१। उहाँले भन्‍नुभयो: “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्‍चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्‍वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्‍नेछैन।” मत्ती ५:१७, १८। उहाँ आफ्‍नै विषयमा घोषणा गर्नुहुन्छ: “हे मेरा परमेश्‍‍वर, तपाईंको इच्छाबमोजिम गर्न चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।” भजनसंग्रह ४०:८।MBND 214.3

    परमेश्‍‍वरको व्यवस्था यसको मौलिक स्‍वभावबाट नै अटल छ। योचाहिँ त्यसको लेखक वा सृजकको इच्छा र चरित्रको प्रकाश हो। परमेश्‍‍वर प्रेम हुनुहुन्छ, र उहाँको व्यवस्था पनि प्रेम हो। परमेश्‍‍वरलाई प्रेम गर्नु र मानिसलाई प्रेम गर्नु नै यसको महान् दुई सिद्धान्तहरू हुन्। “प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।” रोमी १३:१०। परमेश्‍‍वरको चरित्रचाहिँ धार्मिकता र सत्यता हुन्; उहाँको व्यवस्थाको स्‍वभाव यस्तै छ। भजनसंग्रहको लेखक भन्दछन्: “तपाईंको व्यवस्था सत्य हो।” “किनकि तपाईंका सबै आज्ञाहरू धार्मिकता हुन्।” भजनसंग्रह ११९:१४२; १७२ (KJV)। अनि प्रेरित पावल घोषणा गर्दछन्: “व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्‌गत र असल छ।” रोमी ७:१२। यस्तो व्यवस्था परमेश्‍‍वरको दिमाग र इच्छाको वक्तव्य भएको कारणले यो पनि यसको लेखक झैँ सदा-सर्वदा रहने हुनुपर्दछ।MBND 215.1

    परिवर्तन र पवित्रकरणको कामले नै तिनीहरूलाई उहाँको व्यवस्थाका सिद्धान्तहरूसँग एकत्र गर्नेद्वारा मानिसहरूलाई परमेश्‍‍वरकहाँ पुनर्मिलन गराउँदछ। आदिमा मानिस परमेश्‍‍वरको स्‍वरूपमा सृष्‍टि भएका थिए। तिनी परमेश्‍‍वरको स्‍वभाव र व्यवस्थासँग पूर्ण मिलेका थिए; धार्मिकताका सिद्धान्तहरू तिनको हृदयमा लेखिएका थिए। तर पापले तिनलाई आफ्‍नो सृजकबाट छुट्यायो। अब तिनले दैवीय स्‍वरूपलाई प्रतिबिम्ब गरेनन्। तिनको हृदयले अब परमेश्‍‍वरको सिद्धान्तसँग लड़न्त गर्न थाल्यो। “किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍‍वरप्रति शत्रुता हो। परमेश्‍‍वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ।” रोमी ८:७। तर “परमेश्‍‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो,” ताकि मानिस परमेश्‍‍वरसँग मिलापमा आउन सकोस्। ख्रीष्‍टका योग्यताहरूद्वारा तिनी आफ्‍ना सृजकसँग पुनर्मिलन हुन सक्छ। तिनको हृदय दैवीय अनुग्रहले फेरि नयाँ हुनुपर्छ; तिनले माथिबाट नयाँ जीवन पाउनुपर्छ। यो परिवर्तनचाहिँ नयाँ जन्म हो, येशू भन्‍नुहुन्छ, योविना तिनले “परमेश्‍‍वरको राज्य देख्‍न” सक्दैनन्।MBND 215.2

    परमेश्‍‍वरसँग मिलाप हुने क्रममा पहिलो खुड्‍किला भनेको नै पापको दोष-प्रमाण हुनुपर्छ। “पाप नै व्यवस्था भङ्ग हो।” “किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ।” १ यूहन्‍ना ३:४; रोमी ३:२०। पापीले आफ्‍नो दोष देख्‍न उसले आफ्‍नो चरित्रलाई परमेश्‍‍वरको महान् धार्मिकताको स्तरद्वारा जाँच्‍नुपर्छ। यो एउटा ऐना हो जसले एक धार्मिक चरित्रको पूर्णतालाई देखाउँदछ र आफैलाई आफ्‍ना चरित्रका खोटहरू छुट्याउन सक्षम बनाउँदछ।MBND 215.3

    व्यवस्थाले मानिसलाई आफ्‍ना पापहरू प्रकट गराउँदछ, तर यसले उपचारचाहिँ गर्दैन। यसले आज्ञाकारीलाई जीवनको प्रतिज्ञा गर्छ भने यसले अधर्मीको अंश नै मृत्यु हो भनी घोषणा गर्दछ। ख्रीष्‍टको सुसमाचारले मात्र उसलाई पापको दोष वा अशुद्धताबाट मुक्त गर्न सक्छ। उसले परमेश्‍‍वरसँग पश्‍चात्ताप गर्नैपर्छ, जसको व्यवस्था भङ्ग भएको छ; र ख्रीष्‍टमा अर्थात् उहाँको प्रायश्‍चित्त गर्ने बलिदानमा विश्‍‍वास गर्नुपर्छ। यसरी उसले “पहिले गरिएका पापहरूको क्षमा” प्राप्‍त गर्दछ र दैवीय स्‍वभावमा सहभागी बन्दछ। ऊ एक परमेश्‍‍वरको छोरा हुन्छ, धर्मपुत्र भईकन उसले “अब्‍बा, पिता!” भनी पुकार्दछ।MBND 215.4

    के अब ऊ परमेश्‍‍वरको व्यवस्था भङ्ग गर्न स्‍वतन्‍त्र छ त? पावल भन्छन्, “तब के हामी यही विश्‍‍वासद्वारा व्यवस्थालाई रद्द गर्ने? कदाचित् होइन! बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्‍छौं।” “हामी जो पापको लेखि मऱ्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?” अनि यूहन्‍ना घोषणा गर्दछन्: “परमेश्‍‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।” रोमी ३:३१; ६:२; १ यूहन्‍ना ५:३। जब यसले उहाँको व्यवस्थासँग मिलाप गराउँछ तब नयाँ जन्ममा परमेश्‍‍वरसँग हृदय मिलाप हुन्छ। जब यो प्रभावशाली परिवर्तन पापीमा आउँछ, तब उसले मृत्युदेखि जीवन, पापदेखि पवित्रता, व्यवस्था भङ्ग र विद्रोहदेखि आज्ञाकारिता र बफादारितामा पार गरेको हुन्छ। परमेश्‍‍वरबाट अलग्गिएको उसको पुरानो जीवन बितिगयो; विश्‍‍वास र प्रेमको पुनर्मिलापको नयाँ जीवन आरम्भ भएको छ। त्यसपछि “व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्‍दछौं, पूरा होस्।” रोमी ८:४ (KJV)। अनि मानिसको भनाइ यस्तो हुन्छ: “आहा! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु।” भजनसंग्रह ११९:९७।MBND 216.1

    “परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई परिवर्तन गर्ने।” भजनसंग्रह १९:७ (KJV)। व्यवस्थाविना परमेश्‍‍वरको शुद्धता र पवित्रता वा आफ्‍नै दोष र अशुद्धताको न्यायसङ्‌गत समझ मानिसहरूमा छैन। तिनीहरूसँग कुनै पनि पापको सत्य प्रमाण छैन र तिनीहरूले पश्‍चात्तापको कुनै आवश्‍‍यकता ठान्दैनन्। परमेश्‍‍वरको व्यवस्था भङ्ग गर्नेहरू स्‍वरूप आफू हराएको अवस्था नबुझ्दा तिनीहरूले ख्रीष्‍टको प्रायश्‍चित्त गर्ने रगतको आवश्‍‍यकता नै अनुभव गर्दैनन्। मुक्तिको आशा हृदयको पूर्ण परिवर्तन वा जीवनको सुधारविना नै स्‍वीकार गरिएको हुन्छ। यसरी कृतिम परिवर्तनहरू प्रशस्त हुन्छन्, र कहिल्यै पनि ख्रीष्‍टसँग सहकार्य नगरेका भीडहरू चर्चमा समावेश हुन्छन्।MBND 216.2

    दैवीय व्यवस्थालाई हेलचेक्रयाइँ वा इन्कार गरेको परिणाम स्‍वरूप उठेका पवित्रकरणको भ्रमपूर्ण सिद्धान्तहरू नै आधुनिक धार्मिक कार्यमा मुख्य स्थान रहेको हुन्छ। यी शिक्षाहरू त्यसका सिद्धान्तमा नै झूटो छन् र व्यवहारिक परिणामहरूमा खतरनाक छन्; अनि यी शिक्षाहरू व्यापक रूपमा स्‍वीकार्य भएका छन् त्यसकारण यस विषयहरूमा धर्मशास्‍‍त्रीय शिक्षा सबैमा स्पष्‍ट समझ हुनुपर्छ भन्‍ने दोब्‍बर आवश्‍‍यकता देखाउँदछ।MBND 217.1

    सत्य पवित्रकरणचाहिँ बाइबलीय सिद्धान्त हो। पावल प्रेरितले थेसलोनिकी चर्चलाई लेखेको पत्रमा घोषणा गर्दछन्: “किनकि परमेश्‍‍वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो।” अनि तिनले प्रार्थना गर्दछन्: “शान्तिका परमेश्‍‍वर आफैले सम्पूर्णरूपले तिमीहरूलाई चोखा तुल्याऊन्।” १ थेसलोनिकी ४:३; ५:२३। पवित्रकरण के हो र यो कसरी प्राप्‍त गर्ने भनी बाइबलले स्पष्‍ट सिकाउँदछ। मुक्तिदाताले उहाँका चेलाहरूका लागि प्रार्थना गर्नुभयो: “तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।” यूहन्‍ना १७:१७। अनि पावल पनि सिकाउँदछन् कि विश्‍‍वासीहरू “पवित्र आत्माद्वारा शुद्ध” हुनुपर्छ। रोमी १५:१६। पवित्र आत्माको काम के हो? येशूले उहाँका चेलाहरूसँग घोषणा गर्नुभयो: “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोऱ्याउनुहुनेछ।” यूहन्‍ना १६:१३। अनि भजनसंग्रहको लेखक भन्दछन्: “तपाईंको व्यवस्था सत्य हो।” परमेश्‍‍वरको वचन र आत्माद्वारा उहाँको व्यवस्थामा एकत्रित भएका धार्मिकताको महान् सिद्धान्तहरू मानिसहरू माझ प्रकाश भएको छ। परमेश्‍‍वरको व्यवस्था “पवित्र, न्यायसङ्‌गत र असल” साथै दैवीय पूर्णताको प्रतिलिपि भएको कारणले सोही व्यवस्थाको आज्ञाकारितामा सृजना भएको चरित्र पनि पवित्र नै हुनेछ। ख्रीष्‍ट नै यस्तो चरित्रको एक पूर्ण उदाहरण हुनुहुन्छ। उहाँले भन्‍नुभयो: “मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु।” “किनभने म सधैँ उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।” यूहन्‍ना १५:१०; ८:२९। परमेश्‍‍वरको अनुग्रहद्वारा उहाँको पवित्र व्यवस्थासँग मिलेर चरित्रहरू सृजना गरीकन ख्रीष्‍टका चेलाहरू उहाँजस्तै हुनुपर्नेछ। बाइबलमा भएको पवित्रकरणचाहिँ यही हो।MBND 217.2

    यो काम ख्रीष्‍टमा विश्‍‍वास र हामीभित्र वास गर्नुभएको परमेश्‍‍वरको आत्माको शक्तिद्वारा मात्र पूरा हुन सक्छ। पावल विश्‍‍वासीहरूलाई चेतावनी दिँदछन्: “डर र कम्पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्‍‍वर तिमीहरूमा काम गर्नुहुन्छ।” फिलिप्पी २:१२, १३। इसाईले पापको प्रभाव महसुस गर्नेछ, र उसले त्यसको विरुद्धमा निरन्तर लड़ाइँ कायम राख्‍नेछ। यति बेला नै ख्रीष्‍टको सहायताको आवश्‍‍यकता पर्दछ। मानवीय कमजोरीहरू दैवीय शक्तिसँग एकता हुन्छ, र विश्‍‍वास यसरी आश्‍चर्य भई कराउँछ: “परमेश्‍‍वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्छ।” १ कोरिन्थी १५:५७।MBND 218.1

    धर्मशास्‍‍त्रले स्पष्‍टसाथ देखाउँछ कि पवित्रकणको कार्यचाहिँ विकासोन्मुख हुन्छ। जब प्रायश्‍चित्तको रगतद्वारा पापीले परिवर्तनमा परमेश्‍‍वरसँग शान्ति प्राप्‍त गर्दछ तब इसाई जीवनको सुरुवात मात्र भएको हुन्छ। अब ऊ “परिपक्‍वतातर्फ” बढ्‍नुपर्छ; र “ख्रीष्‍टको परिपूर्णतारूपी कदको नापसम्म” बढ्‍दैजानुपर्छ। प्रेरित पावल भन्छन्: “म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाड़िका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्‍ट येशूमा परमेश्‍‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्‍दछु।” फिलिप्पी ३:१३, १४। पत्रुसले हाम्रो अगाड़ि यस्ता कदमहरू बनाउँछन् जसद्वारा बाइबलमा भएको पवित्रकरण प्राप्‍त गर्नुपर्दछ: “यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ स्‍नेहमा प्रेम थप। ... यी कुरा गर्नाले तिमीहरू कहिल्यै लोट्‍नेछैनौ।” २ पत्रुस १:५-१०।MBND 218.2

    ज-जसले बाइबलको पवित्रकरण अनभूति गर्छन् तिनीहरूले नम्रताको आत्मा प्रकट गर्छन्। मोशाले जस्तै तिनीहरूले पनि पवित्रताको श्रद्धापूर्ण ऐश्‍‍वर्यको दृश्‍‍य देखेका छन्, र अनन्त जनको शुद्धता र उच्‍च पूर्णतासँग तुलना गर्दा तिनीहरूले आफ्‍नै अयोग्यता देख्‍छन्।MBND 218.3

    दानिएल अगमवक्ताचाहिँ साँचो पवित्रकरणको एक उदाहरण थियो। तिनको लामो जीवनचाहिँ आफ्‍नो मालिकको लागि उत्कृष्‍ट सेवाले भरिएको थियो। तिनी यस्ता मानिस थिए जसलाई स्‍वर्गले “अति नै सम्मान गरिएका” थिए (दानिएल १०:११)। शुद्धता र पवित्रताको दाबी नगरीकन यो सम्मानित अगमवक्ताले तिनका मानिसहरूको पक्षमा परमेश्‍‍वरको सामु बिन्ती गर्दा आफैलाई पनि इस्राएलको अति नै पापी भएको भनी चिनाए: “हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले।” “हामीले पाप गरेका छौं, हामीले गल्ती गरेका छौं।” तिनी घोषणा गर्छन्: “म बोल्दै र प्रार्थना गर्दै, मेरा आफ्‍नै पाप र मेरा इस्राएली जातिको पाप स्‍वीकार” गर्दै थिएँ। जब पछिल्‍लो समयमा परमेश्‍‍वरको पुत्र तिनलाई सल्‍लाह दिन आउनुभयो तब दानिएल भन्छन्: “ममा मेरो सुन्दरता विकृतिमा बदली भयो, र मसँग कुनै बल थिएन।” दानिएल ९:१८, १५, २०; १०:८।MBND 218.4

    जब अय्यूबले बतासबाट परमप्रभुको सोर सुने तब तिनले आश्‍चर्यसाथ भने: “म आफूलाई तुच्छ ठान्छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु।” अय्यूब ४२:६। जब यशैयाले परमप्रभुको महिमा देखे र करूबहरूले “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ” भनिरहेको सुने तब तिनी चिच्याए, “धिक्‍कार! म नष्‍ट भएँ।” यशैया ६:३, ५। पावल तेस्रो स्‍वर्गमा लगिएपछि र मानिसले उच्‍चारण गर्न नसकिने कुराहरू सुनेपछि आफ्‍नै विषयमा मचाहिँ “सबै सन्तहरूमा म अत्यन्त तुच्छ” हुँ भनी सम्बोधन गर्छन्। २ कोरिन्थी १२:२-४; एफिसी ३:८। उही प्रिय यूहन्‍नाले येशूको छातिमा ढल्केर उहाँको महिमा देखे, जो स्‍वर्गदूतको पाउमा मरेको मान्छेजस्तै लम्पसार परे। प्रकाश १:१७।MBND 219.1

    जो कलवरी क्रूसको छायामा हिँड्‍छन् तिनीहरूमा आत्म-उच्‍चता, पापदेखि स्‍वतन्‍त्र भएको अभिमानपूर्ण दाबी जस्ता कुरा हुन सक्दैन। तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको पापले यस्तो सन्ताप ल्याएको थियो जसले परमेश्‍‍वरको पुत्रको हृदय चकनाचूर पाऱ्यो र यो विचारले तिनीहरूलाई आफै तुच्छ बन्‍न अगुवाइ गर्नेछ। जो येशूको सबभन्दा नजिक भएर जिउँछन् तिनीहरूले मानवको कमजोरीपन र पापपूर्णता अत्यन्तै छर्लङ्ग देख्‍छन् र तिनीहरूको एउटै मात्र आशाचाहिँ क्रूसमा टाँगिनुभएको र बौरिउठ्‍नुभएको मुक्तिदाताको योग्यतामा निहित हुन्छ।MBND 219.2

    वर्तमान समयमा धार्मिक जगत्‌मा प्रमुख भूमिका खेलिरहेको पवित्रकरणले आत्म-उच्‍चताको आत्मा र परमेश्‍‍वरको व्यवस्थाप्रति बेवास्ता गर्ने कार्यलाई अगाड़ि लैजान्छ, जुन बाइबलको धर्मसँग अपरिचित ठहरिन्छ। यसका अनुयायीहरूले सिकाउँछन् कि पवित्रकरणचाहिँ एक्‍कासी हुने काम हो, जसमा विश्‍‍वासद्वारा मात्रै तिनीहरूले पूर्ण पवित्रता हासिल गर्न सक्छन्। तिनीहरू भन्छन् “विश्‍‍वास मात्रै गर्नुस् र आशिष् तपाईंकै हो।” सोभन्दा उप्रान्त प्रापकले कुनै पनि प्रयत्‍न गर्नुपर्दैन भन्‍ने विचार छ। त्यति मात्रै नभएर तिनीहरू आज्ञाहरू पालन गर्ने कर्तव्यहरूबाट मुक्त भएका छन् भन्‍ने कुरालाई जोड दिएर तिनीहरूले परमेश्‍‍वरको व्यवस्थाको अधिकारलाई इन्कार गर्छन्। तर के उहाँको स्‍वभाव र इच्छा व्यक्त गर्ने र उहाँलाई राम्ररी खुशी पार्ने कुराहरूको सूचकरूपी सिद्धान्तहरू अनुरूप नचलेर मानिसहरू परमेश्‍‍वरको इच्छा र चरित्रमुताबिक पवित्र हुन सम्भव छ र?MBND 220.1

    प्रयत्‍न गर्न नपर्ने, आत्म-इन्कार गर्न नपर्ने, संसारको मूर्खताबाट छुट्टिन नपर्ने जस्ता सजिलो धर्मको चाहनाले विश्‍‍वास र विश्‍‍वास मात्रको सिद्धान्तलाई प्रचलित बनाएको छ; तर परमेश्‍‍वरको वचन के भन्छ? प्रेरित याकूब भन्छन्: “यदि कोही मानिसले ‘मसित विश्‍‍वास छ’ भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्‍‍वासले त्यसलाई बचाउन सक्छ र? ... मूर्ख हो, कामविनाको विश्‍‍वास व्यर्थ हुन्छ भन्‍ने कुराको प्रमाण चाहन्छौ? जब हाम्रा पुर्खा अब्राहामले आफ्‍नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र? तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्‍‍वास क्रियाशील थियो, र कामद्वारा नै विश्‍‍वास पूर्ण भएको थियो। ... तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्‍‍वासद्वारा मात्र होइन।” याकूब २:१४-२४।MBND 220.2

    परमेश्‍‍वरको वचनको गवाहीचाहिँ कामविनाको विश्‍‍वासको यो पासोमा पार्ने सिद्धान्तको विरुद्ध हो। कृपा दिइनुपर्ने सर्तहरूसँग सहमति नगरीकन स्‍वर्गको अनुग्रह दाबी गर्नु भन्‍ने कुरा विश्‍‍वास होइन, योचाहिँ दुःसाहस हो; किनकि साँचो विश्‍‍वासको जग धर्मशास्‍‍त्रका प्रतिज्ञाहरू र प्रबन्धहरूमा हुन्छ।MBND 220.3

    कसैले आफैलाई यस्तो विश्‍‍वासले भ्रममा नपारोस् कि तिनीहरूले परमेश्‍‍वरको एउटा आज्ञा जानीबुझी भङ्ग गरेर पवित्र हुन सक्छन्। जानेको पाप गर्दाखेरी आत्माको गवाही दिने आवाजलाई शान्त पार्दछ र परमेश्‍‍वरबाट प्राणलाई अलग पार्दछ। “पाप नै व्यवस्था भङ्ग हो” र “पाप गरिरहने [व्यवस्था भङ्ग गरिरहने] कसैले उहाँलाई न त देखेको छ न चिनेको नै छ।” १ यूहन्‍ना ३:६। यूहन्‍नाले तिनका पत्रहरूमा यति पूर्णताकासाथ प्रेमको वर्णन गर्दछन् तैपनि तिनले त्यो समूहको सत्य चरित्र देखाउन हिचकिचाउँदैनन् जसले परमेश्‍‍वरको व्यवस्था भङ्ग गर्दै जीवन बिताएर पनि पवित्र भएको दाबी गर्दछ। “जसले ‘म उहाँलाई चिन्छु’ भन्छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्‍‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्छ।” १ यूहन्‍ना २:४, ५। प्रत्येक मानिसको दाबीको जाँच यहीँ छ। हामीले स्‍वर्ग र पृथ्वीमा रहेको परमेश्‍‍वरको एकमात्र पवित्रताको स्तरसँग कुनै मानिसलाई नल्याएसम्म त्यसलाई पवित्र ठान्‍न सक्दैनौं। यदि मानिसहरूले नैतिक व्यवस्थाको महत्‍व महसुस गर्दैनन्, यदि तिनीहरूले परमेश्‍‍वरका विधानहरूलाई होच्याउने गर्छन् र हल्का ठान्छन् भने, यदि तिनीहरूले यी आज्ञाहरूमध्ये सानालाई तोड्‍छन् र मानिसहरूला‌ई त्यसै गर्न सिकाउँछन् भने तिनीहरू स्‍वर्गको दृष्‍टिमा कुनै मूल्यको हुनेछैनन् र हामी यो कुरा जान्‍न सक्छौं कि तिनीहरूका दाबीहरू जगहीन छन्।MBND 220.4

    जसले पापरहित छु भनी दाबी गर्छ त्यही नै एउटा प्रमाण हो कि ऊ पवित्रतादेखि टाढा छ। परमेश्‍‍वरको असीम शुद्धता र पवित्रताको साँचो अवधारणा नबुझेको कारणले वा जोहरू उहाँको चरित्रअनुसारको हुन चाहन्छन् तिनीहरू कस्तो हुनुपर्ने भन्‍ने नबुझेको कारणले; येशूको शुद्धता र उच्‍च सुन्दरता, पापको घातकपन र दुष्‍टताको साँचो अवधारणाको ज्ञान नभएको कारणले मानिसले आफैलाई पवित्र ठान्‍न सक्छ। ख्रीष्‍ट र आफूबीच दूरी जति टाढा छ र उहाँको ईश्‍‍वरीय चरित्र र आज्ञाहरूको विषयमा उसको समझ जति अपर्याप्‍त हुन्छ त्यति नै आफ्‍नो नजरमा आफैलाई धर्मी देखिन्छ।MBND 221.1

    धर्मशास्‍‍त्रमा उल्‍लेख गरिएको पवित्रकरणले आत्मा, प्राण र शरीर जस्ता सम्पूर्ण प्राणलाई समेट्‍दछ। पावलले थेसलोनिकेमा भएकाहरूको निम्ति प्रार्थना गरे कि तिनीहरूको “समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्कलङ्क रहून्।” १ थेसलोनिकी ५:२३। फेरि तिनी विस्‍वासीहरूलाई लेख्‍छन्, “यसकारण भाइ हो, परमेश्‍‍वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍‍वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।” रोमी १२:१। प्राचीन इस्राएलको समयमा परमेश्‍‍वरलाई बलि चढाउन ल्याइएको प्रत्येक बलिदान होसियारीपूर्वक जाँच गरिन्थ्यो। प्रकट गरिएको जनावरमा कुनै खोट भेटिएको खण्डमा त्यो इन्कार गरिन्थ्यो किनकि परमेश्‍‍वरले आज्ञा गर्नुभएको थियो कि बलिचाहिँ “निष्खोट” हुनुपर्नेथियो। त्यसरी इसाईहरूलाई तिनीहरूका शरीरहरू “पवित्र र परमेश्‍‍वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा” प्रस्तुत गर्ने आदेश दिइएको छ। यसो गर्नको लागि तिनीहरूका शक्तिहरू जतिसक्दो उत्तम अवस्थामा कायम राख्‍नुपर्छ। शारीरिक वा मानसिक शक्तिलाई कमजोरी पार्ने प्रत्येक कार्यले मानिसलाई उसका सृष्‍टिकर्ताको सेवामा अयोग्य ठहऱ्याउँछ। के परमेश्‍‍वर हामीले दिन सक्‍ने उत्तम कुरामा भन्दा अरू कुनै कुरामा खुशी हुनुहुनेछ र? ख्रीष्‍टले भन्‍नुभयो: “तैंले परमप्रभु आफ्‍ना परमेश्‍‍वरलाई आफ्‍नो सारा हृदयले ... प्रेम गर्नू।” जसले परमेश्‍‍वरलाई सारा हृदयले प्रेम गर्दछन् तिनीहरूले आफ्‍नो जीवनको उत्तम सेवा उहाँलाई दिने इच्छा गर्दछन्, र तिनीहरूले आफ्‍नो शरीरको प्रत्येक शक्ति व्यवस्थाअनुसार मिलाउने निरन्तर प्रयास गर्नेछन् जसले तिनीहरूमा उहाँको इच्छा पूरा गर्ने क्षमता वृद्धि गर्नेछ। तिनीहरूले भोक वा आवेग पूरा गर्नेद्वारा बलिलाई कमजोर वा दुषित पार्नेछैनन् जुन तिनीहरूले आफ्‍ना स्‍वर्गीय पितालाई प्रस्तुत गर्छन्।MBND 221.2

    पत्रुस भन्छन्, “तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।” १ पत्रुस २:११। प्रत्येक पापमय विलासले क्षमताहरूलाई मन्द पार्ने र मानसिक र आत्मिक बुझाइलाई निस्क्रिय पार्ने गर्दछ र परमेश्‍‍वरको वचन वा आत्माले हृदयमा त्यति धेरै प्रभाव पार्न सक्दैन। पावलले कोरिन्थमा भएकाहरूलाई लेख्‍छन्: “शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।” २ कोरिन्थी ७:१। आत्माका फलहरू जस्तै: “प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍‍वस्तता, नम्रता”-सँगै तिनले “संयम” पनि राख्‍छन्। गलाती ५:२२, २३।MBND 222.1

    यी प्रेरणादायिक घोषणाहरू भए तापनि कति जना इसाई हुने दाबी गर्नेहरूले लाभप्राप्‍ति वा फेसनको आराधनाले गर्दा तिनीहरूले आफ्‍ना शक्ति कमजोर पारिरहेका छन्; कति जनाले खन्‍चुवापन, मद्यपान र निषेधित सुख-विलासद्वारा तिनीहरूको परमेश्‍‍वरको स्‍वरूपमा भएको पुरुषत्‍व नष्‍ट पारिरहेका छन्। मण्डलीले त्यसलाई हप्काउन छोडेर भोक, धनको इच्छा वा सुख-विलासको मोह, त्यसको भण्डार भर्नको लागि प्रयोग गर्नेद्वारा प्रायः ती दुष्‍ट कुराहरूमा उत्साहित गर्दछ जसलाई भर्नको निम्ति ख्रीष्‍टप्रतिको प्रेम पर्याप्‍त छैन। यदि येशू वर्तमानका चर्चहरूमा प्रवेश गर्नुहुन्थ्यो र धर्मको नाममा त्यहाँ गरिएका भोज र अपवित्र कार्य हेर्नुभएको भए के उहाँले मन्दिरबाट पैसा साट्‍नेहरूलाई लखेट्‍नुभएजस्तै ती अपवित्र पार्नेहरूलाई पनि खेद्‍नुहुनेथिएन र?MBND 222.2

    प्रेरित याकूब घोषणा गर्छन् कि माथिबाट आएको बुद्धि “पहिले शुद्ध हुन्छ।” जसले सूर्तीद्वारा अशुद्ध पारिएका ओठहरूले येशूको बहुमूल्य नाम लिन्छन्, जसको सास र शरीर त्यसको दूर्गन्धले दुषित पारिएको हुन्छ, जसले ब्रमाण्डका हावालाई दुषित पार्छन् र तिनीहरू वरिपरि भएकाहरूलाई विषालु सास फेर्न बाध्य बनाउँछन्, यदि सो प्रेरितले यस्तो सुसमाचारको शुद्धताको अति विरोधी कार्य भेटेको भए के तिनले त्यसलाई “सांसारिक, अनात्मिक र शैतानिक” कुरा स्‍वरूप हप्काउनेथिएनन् र? सम्पूर्ण पवित्रकरणको आशिष् दाबी गर्दै सूर्तीका दासहरूले स्‍वर्गको तिनीहरूका आशाको विषयमा कुरा गर्दछ; तर परमेश्‍‍वरको वचनले स्पष्‍टसाथ घोषणा गर्छन कि “त्यसभित्र अपवित्र पार्ने ... कुनै पनि कुरा कुनै रीतिले पस्‍नेछैन।” प्रकाश २१:२७ (KJV)।MBND 223.1

    “तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्‍‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम् आफ्‍नै होइनौ। तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍‍वरको महिमा गर।” १ कोरिन्थी ६:१९, २०। जसको शरीर पवित्र आत्माको मन्दिर हो ऊ हानिकारक बानीद्वारा दास बन्‍नेछैन। उसका शक्तिहरू ख्रीष्‍टका हुन् जसले उसलाई रगतको मूल्य तिरेर किन्‍नुभएको छ। उसको सम्पत्ति प्रभु कै हो। उसलाई सुम्पिइएको सम्पत्ति फुर्मास गरेर कसरी ऊ निर्दोष हुनसक्थ्यो र? इसाई हुने दाबी गर्नेहरूले वार्षिक रूपमा निरर्थक हानिकारक भोक विलासमा विशाल रकम खर्च गर्छन् जबकि मानिसहरू जीवनका वचन नपाएर मरिरहेका छन्। परमेश्‍‍वर दशांश र भेटीमा लुटिनुभएको छ जबकि तिनीहरूले गरिबहरूलाई राहत दिएको वा सुसमचार विस्तार गर्नका लागि दिइएको भन्दा धेरै विनासकारी अभिलाषाको वेदीमा खर्च गर्छन्। जसले ख्रीष्‍टका चेलाहरू हुने दाबी गर्छन्, तिनीहरू सबै साँच्‍चै पवित्र पारिएको भए तिनीहरूको सम्पत्ति अनावश्‍‍यक र झन् हानिकारक भोग विलासितामा खर्च गर्नुको सट्टामा तिनीहरूले परमप्रभुको भण्डारमा ल्याउनेथिए र इसाईहरूले आत्म-संयम, आत्म-इन्कार र आत्म-बलिदानको उदाहरण दिनेथिए। त्यसपछि तिनीहरू संसारको ज्योति हुनेथिए।MBND 223.2

    संसार आत्म-सुखविलासमा छोडिएको छ। “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी”-ले मानिसको समूहलाई नियन्‍त्रण गर्छ। तर ख्रीष्‍टका चेलाहरूको अझै पवित्र बोलावट छ। “तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।” परमेश्‍‍वरको वचनको ज्योतिमा हामी यसरी घोषणा गर्दा ठीक छौं भनी साबित भएको छ, कि संसारको पापमय कार्यहरू र आनन्दहरू पूर्णरूपले नत्याग्‍ने पवित्रकरणचाहिँ वास्तविक हुनै सक्दैन।MBND 223.3

    “तिनीहरूको बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, ... अशुद्ध कुरा केही नछोओ,” भन्‍ने यी सर्तहरूअनुसार ज-जसले गर्छन्, तिनीहरूका लागि परमेश्‍‍वरको प्रतिज्ञा यस्तो छ, “म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ।” २ कोरिन्थी ६:१७, १८। परमेश्‍‍वरका कुराहरूमा असल र प्रशस्त अनुभव प्राप्‍त गर्नु भनेको प्रत्येक इसाईको सुअवसर र कर्तव्य हो। येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” यूहन्‍ना ८:१२। “धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्यदिन नहोउञ्‍जेल झन्-झन् चहकिलो हुँदैजान्छ।” हितोपदेश ४:१८। विश्‍‍वास र आज्ञाकारिताको प्रत्येक कदमले मानिसलाई संसारको ज्योतिसँग भएको सम्बन्धमा अझै निकट बनाउँदछ, जसमा “कत्ति पनि अँध्यारो छैन।” धार्मिकताको सूर्यको उज्यालो किरणहरू परमेश्‍‍वरका दासहरूमाथि चम्कन्छ, र तिनीहरूले उहाँका किरणहरूलाई प्रतिबिम्ब गर्नुपर्नेछ। जसरी ताराहरूले हामीलाई बताउँछन् कि आकाशमा एउटा ठूलो ज्योति छ जसको उज्‍ज्‍वलताले तिनीहरू उज्यालो भएका छन्, त्यसै गरी इसाईहरूले पनि यस्तो कुरा प्रकट गर्नुपर्नेछन् कि ब्रमाण्डको सिंहासनमा एउटा परमेश्‍‍वर हुनुहुन्छ जसको चरित्र प्रशंसा र अनुकरण योग्य छ। उहाँका आत्माको अनुग्रह अर्थात् उहाँका चरित्रको शुद्धता र पवित्रता उहाँका साक्षीहरूमा प्रकट हुनेछ।MBND 224.1

    परमेश्‍‍वरका छोराछोरीहरूलाई प्रदान गरिएको प्रशस्त आशिष्‌हरू पावलले कलस्सीका मानिसहरूलाई लेखेको पत्रमा प्रस्तुत गर्दछन्। तिनी भन्छन्: हामी “उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेका छैनौं, र उहाँलाई पूर्णरूपले प्रसन्‍न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्‍‍वरको ज्ञानमा बढ्‍दैजान सक। उहाँको महिमित शक्तिअनुसार आनन्दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।” कलस्सी १:९-११।MBND 224.2

    तिनले फेरि आफ्‍नो इच्छाको कुरा लेख्‍छन् कि एफिससमा भएका दाजुभाइहरूले इसाईको सौभाग्यको उचाइलाई बुझ्‍न सकेका होऊन्। तिनले तिनीहरूको सामु अत्यन्तै विस्तारित भाषामा अचम्मलाग्दो शक्ति र ज्ञान प्रकट गर्छन् जुन तिनीहरूले सर्वोच्‍चका छोराछोरीहरू भएका हैसियतले प्राप्‍त गर्न सक्छन्। “शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्‍वमा तिमीहरूलाई शक्तिशाली” पार्न, “प्रेममा जरा गाडिएका र दह्रिला” पार्न, “सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न ... , र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन” तिनीहरूलाई दिइएको थियो। तर जब तिनी प्रार्थना गर्छन् कि “परमेश्‍‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ” तब प्रेरितको प्रार्थना सौभाग्यको चरम विन्दुमा पुग्दछ। एफिसी ३:१६-१९।MBND 224.3

    जब हामीले उहाँका आज्ञाहरू पालना गर्छौं तब यहाँ सफलताको शिखर प्रकट भएको हुन्छ कि हामी हाम्रा स्‍वर्गीय पिताका प्रतिज्ञाहरूमा विश्‍‍वास गर्नेद्वारा पुग्‍न सक्छौं। ख्रीष्‍टका योग्यताहरूद्वारा हामी असीमित शक्तिको सिंहासन पुग्‍न सक्छौं। “जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?” रोमी ८:३२। पिताले पुत्रलाई उहाँको आत्मा नापविना नै दिनुभयो र हामी पनि त्यही पूर्णतामा सहभागि हुन सक्छौं। येशू भन्‍नुहुन्छ, “तिमीहरू दुष्‍ट भईकन आफ्‍ना छोराछोरीहरूलाई असल थोकहरू दिन जान्दछौ भने, तिमीहरूका स्‍वर्गीय पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ़ी गरेर पवित्र आत्मा दिनुहुन्छ।” लूका ११:१३। “तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।” “माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्।” यूहन्‍ना १४:१४; १६:२४।MBND 225.1

    इसाई जीवन नम्रताले चिनिएको हुन्छ तैपनि त्यो दुःखपूर्ण र आफ्‍नो कारणले गर्दा अभावले भरिएको हुनुहुँदैन। यसरी जिउने प्रत्येकको सौभाग्य हो कि परमेश्‍‍वरले अनुमोदन गर्नुहुनेछ र आशिष् दिनुहुनेछ। हामी सधैँभरि दोष बोकेर बस्‍ने र अन्धकारमा रहने हाम्रा स्‍वर्गीय पिताको इच्छा होइन। शिर झुकाउँदै आफ्‍नो विषयमा सोचिरहेको हृदयमा सत्य नम्रताको कुनै प्रमाण छैन। हामी येशूकहाँ जान सक्छौं र शुद्ध हुन सक्छौं र लाज र पछुतोविना नै व्यवस्थाको अगाड़ि उभिन सक्छौं। “यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्‍दछन्।” रोमी ८:१ (KJV)।MBND 225.2

    येशूद्वारा आदमका पतन भएका सन्तानहरू “परमेश्‍‍वरका सन्तान” हुन्छन्। “पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्‍नमा येशू शर्माउनुहुन्‍न।” हिब्रू २:११। इसाईको जीवनचाहिँ विश्‍‍वास, विजय र परमेश्‍‍वरमा आनन्दको जीवन हुनुपर्दछ। “परमेश्‍‍वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, संसारलाई जित्‍ने विजय हाम्रो विश्‍‍वास हो।” १ यूहन्‍ना ५:४। परमेश्‍‍वरको दास नहेम्याहले साँचो कुरा बोलेका छन्ः “परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।” नहेम्याह ८:१०। अनि पावल भन्छन्ः “प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।” “सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍‍वरको इच्छा यही हो।” फिलिप्पी ४:४; १ थेसलोनिकी ५:१६-१८।MBND 225.3

    बाइबलमा भएको परिवर्तन र पवित्रकरणका फलहरू यस्ता हुन्छन्; र परमेश्‍‍वरको व्यवस्थामा स्थापित भएको धार्मिकताका महान् सिद्धान्तहरूलाई इसाई जगत्‌द्वारा यति बेवास्ता गरेको छ कि यी फलहरू विरलै देखिएका छन्। त्यसैकारणले परमेश्‍‍वरको आत्माको यति थोरै गहिरो अर्थात् रहिरहने काम प्रकट हुन्छ जो अघिल्‍ला वर्षहरूको जागृतिहरूमा देखिन्थे।MBND 226.1

    हेर्नेद्वारा हामी परिवर्तन हुन्छौं। जब ती पवित्र विधानहरू बेवास्ता गरिएका हुन्छन् जसमा परमेश्‍‍वरले मानिसहरूलाई उहाँको चरित्रको पूर्णता र पवित्रता प्रकट गर्नुभएको छ र मानिसहरूका दिमागहरू मानवीय शिक्षाहरू र सिद्धान्तहरूप्रति आकर्षित हुन्छन् तब चर्चमा जिउँदो भक्तिमा ह्रास आएको कुरा कुनै आश्‍चर्यको कुरा होइन। परमप्रभु भन्‍नुहुन्छ: “तिनीहरूले म जिउँदो पानीको मुहानलाई त्यागेका छन्, र आफ्‍ना निम्ति ट्याङ्कीहरू, फुटेका ट्याङ्कीहरू खोपेर बनाएका छन्, जसमा पानी अड़िँदैन।” यर्मिया २:१३ (KJV)।MBND 226.2

    “धन्य हो त्यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‍दैन, ... तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्‍नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।” भनजसंग्रह १:१-३। परमेश्‍‍वरको व्यवस्थालाई त्यसको उपयुक्त स्थानमा पुनः राखिएको खण्डमा मात्र उहाँको जन हुने दाबी गर्नेहरूको बीचमा मौलिक विश्‍‍वास र भक्तिको जागृति हुन सक्छ। “परमप्रभु यसो भन्‍नुहुन्छ: ‘दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्यो सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्ति विश्राम पाउनेछौ।’” यर्मिया ६:१६।MBND 226.3

    Larger font
    Smaller font
    Copy
    Print
    Contents