Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १३ — जीवनको अभिलेख सामु

    अगमवक्ता दानिएल भन्छन्, “जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्‍नो सिंहासनमा बस्‍नुभयो। उहाँका लुगा हिउँजस्तै सेता थिए, उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्‍वाला थियो, र त्यसका चक्‍काहरूमा दन्केको आगो थियो। उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए।” दानिएल ७:९, १०।MBND 229.1

    यसरी अगमवक्ताको दर्शनमा मानिसहरूको चरित्र र जीवन समस्त पृथ्वीका न्यायाधीशको सामु पुनर्विचार हुनुपर्ने र प्रत्येक मानिसलाई “त्यसको कामअनुसार” हिसाब दिइनुपर्ने महान् र गम्भीर दिन प्रकट गरिएको थियो। अति प्राचीनचाहिँ पिता परमेश्‍‍वर हुनुहुन्छ। भजनसंग्रहको लेखक भन्दछन्, “पहाड़हरू उत्पन्‍न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्‍‍वर हुनुहुन्छ।” भजनसंग्रह ९०:२। उहाँ नै सबै अस्तित्‍वको स्रोत हुनुहुन्छ, र सबै व्यवस्थाको मुहान उहाँ नै हुनुहुन्छ, जसले न्यायमा अध्यक्षता गर्नुहुन्छ। अनि पवित्र स्‍वर्गदूतहरूचाहिँ सेवक र साक्षीको रूपमा “दश हजार गुणा दश हजार र हजारौँ हजार” यो न्यायालयमा उपस्थित हुनेछन्।MBND 229.2

    “र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्‍व अनन्तसम्म रहने प्रभुत्‍व छ, जुनचाहिँ कहिल्यै टल्‍नेछैन, र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्‍ट हुनेछैन।” दानिएल ७:१३, १४। यहाँ वर्णन गरिएको ख्रीष्‍टको आगमनचाहिँ पृथ्वीमा हुने दोस्रो आगमन होइन। उहाँ स्‍वर्गमा अति प्राचीनकहाँ अधिकार, महिमा र सार्वभौमिकता प्राप्‍त गर्न आउनुहुन्छ, जुन उहाँलाई उहाँको मध्यस्थतारूपी कामको अन्तमा दिइनेछ। यो पृथ्वीमा हुने दोस्रो आगमनचाहिँ होइन, यो त यो आगमन हो जुन अगमवाणीअनुसार २३०० दिनहरूको अन्त १८४४मा हुनेथियो। स्‍वर्गीय दूतहरूसाथ हाम्रा प्रधान पूजाहारी पवित्रहरूको पवित्रमा प्रवेश गर्नुहुन्छ र त्यहाँ परमेश्‍‍वरको उपस्थितिमा मानिसहरूका लागि उहाँको अन्तिम सेवा गर्न देखा पर्नुहुन्छ—न्यायको छानबिनको काम गर्न र त्यसको लाभ उठाउने योग्यका उत्तराधिकारीहरू सबैको पक्षमा प्रायश्‍चित्त गर्न आउनुहुन्छ।MBND 229.3

    साङ्केतिक सेवामा पाप स्‍वीकार र पश्‍चात्तापसाथ परमेश्‍‍वरको सामु आउनेहरू र पाप बलिको रगतद्वारा पवित्रस्थानमा तिनीहरूका पाप सार्ने जतिचाहिँ प्रायश्‍चित्तको दिनको सेवामा सहभागी भएका थिए। त्यसरी नै महान् अन्तिम प्रायश्‍चित्तको दिन र न्यायको छानबिनमा परमेश्‍‍वरको नाम लिने मानिसहरूका मुद्दाहरू मात्र विचार गरेका हुन्छन्। दुष्‍टको न्यायचाहिँ छुट्टै र फरक काम हो, र यो काम पछिल्‍लो अवधिमा हुन्छ। “किनभने न्याय परमेश्‍‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि हामीबाट सुरु हुन्छ भनेता परमेश्‍‍वरको सुसमाचार नमान्‍नेहरूको अन्त्य कस्तो होला?” १ पत्रुस ४:१७।MBND 230.1

    मानिसहरूका नामहरू र कार्यहरू लेखित अभिलेखका किताबहरू स्‍वर्गमा छन् ती पुस्तकहरूले नै न्यायका निर्णयहरूलाई निर्धारण गर्नुपर्नेछ। दानिएल अगमवक्ता भन्दछन्: “न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए।” प्रकाशको लेखकले त्यही दृश्‍‍यलाई वर्णन गर्दै यसरी थप्छन्: “अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।” प्रकाश २०:१२।MBND 230.2

    जीवनको पुस्तकले अघिदेखि नै परमेश्‍‍वरको सेवामा प्रवेश भएकाहरू सबैका नामहरू समावेश गरेको हुन्छ। येशूले चेलाहरूलाई भन्‍नुभयो: “तिमीहरूका नाउँ स्‍वर्गमा लेखिएका छन् भनेर नै रमाओ।” लूका १०:२०। पावल तिनका विश्‍‍वासयोग्य सहकर्मीहरूको बारेमा भन्छन्: “जसका नाउँ जीवनको पुस्तकमा छन्।” फिलिप्पी ४:३। कहिल्यै पनि नभएको “यस्तो सङ्कष्‍टको समय आउने” कुरालाई हेरेर दानिएल घोषणा गर्छन् कि “जीवनको पुस्तकमा नाम लेखिएका” परमेश्‍‍वरका सबै मानिसहरू बचाइनेछन्। प्रकाशको लेखक भन्दछन् कि जसको नाउँ “थुमाको जीवनको पुस्तकमा” लेखिएका छन् तिनीहरू मात्र परमेश्‍‍वरको सहरमा प्रवेश गर्नेछन्। दानिएल १२:१; प्रकाश २१:२७।MBND 230.3

    “सम्झनाको पत्र मुट्ठा” परमप्रभुको उपस्थितिमा लेखिएको हुन्छ, त्यहाँ “परमप्रभुको डर मान्‍नेहरू र उहाँको नाउँको मान गर्नेहरूका” असल कार्य लेखिएको हुन्छ। मलाकी ३:१६। तिनीहरूको विश्‍‍वासका शब्दहरू, तिनीहरूको प्रेमका कार्यहरू स्‍वर्गमा लेखिएका छन्। “हे परमेश्‍‍वर, यसको निम्ति मेरो सम्झना राख्‍नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्‍‍वरका भवनको र त्यसको सेवाको निम्ति गरेको काम नमेटाइदिनुहोस्,” भन्दा नहेम्याहले त्यसलाई नै केन्द्रित गरेका थिए। नहेम्याह १३:१४। धार्मिकताको प्रत्येक कार्य परमेश्‍‍वरको सम्झनाको किताबमा अनन्तसम्म रहन्छ। प्रत्येक प्रतिकार गरिएको परीक्षा, पराजित भएको प्रत्येक दुष्‍टता, व्यक्त गरिएका प्रत्येक दयालु शब्द त्यहाँ विश्‍‍वासयोग्यसाथ लेखिएको हुन्छ। अनि प्रत्येक बलिदानका कार्य, ख्रीष्‍टका निम्ति भोगेका प्रत्येक कष्‍ट र शोक त्यहाँ लेखिएको हुन्छ। भजनसंग्रहको लेखक भन्दछन्: “मेरो विलापको लेखा राख्‍नुहोस्। मेरो आँसु तपाईंको फिरिस्तमा राखिदिनुहोस्। के ती तपाईंको पुस्तकमा लेखिएका छैनन् र?” भजनसंग्रह ५६:८।MBND 231.1

    त्यहाँ मानिसहरूको पाप लेखिने एउटा अभिलेख पनि छ। “किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्‍त कुरासमेत सबैको न्याय परमेश्‍‍वरले गर्नुहुन्छ।” “हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।” मुक्तिदाता भन्‍नुहुन्छ, “किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।” उपदेशक १२:१४; मत्ती १२:३६, ३७। गुप्‍तका उद्देश्‍‍यहरू र अभिप्रायहरू सही खातामा देखिन्छ; किनकि परमेश्‍‍वरले “अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ।” “‘हेर, मेरो सामुन्‍ने यस्तो लेखिएको छ, ... तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु’ परमप्रभु भन्‍नुहुन्छ।” १ कोरिन्थी ४:५; यशैया ६५:६, ७।MBND 231.2

    प्रत्येक मानिसको काम परमेश्‍‍वरको अगि जाँचिन्छ र विश्‍‍वासयोग्य वा अविश्‍‍वासयोग्य कुराको अभिलेख राखिएको हुन्छ। प्रत्येक नामको छेउमा स्‍वर्गका किताबहरूमा प्रत्येक गलत शब्द, प्रत्येक स्‍वार्थी कार्य, पूरा नभएको प्रत्येक कर्तव्य, र प्रत्येक गुप्‍तको पाप, प्रत्येक सीपपूर्वक छल ठ्याक्‍कै त्यस्तै लेखिएको हुन्छ। स्‍वर्गबाट आएका चेतावनीहरू र हप्कीहरू इन्कार गरिएका, खेर फालिएका क्षणहरू, दुरुपयोग गरिएका मौकाहरू, असल वा खराबका लागि पारेको प्रभाव, त्यसका टाढासम्म फिँजिएका परिणामहरूसमेत सबै कुरा लेखनदास स्‍वर्गदूतले इतिहास बनाएका छन्।MBND 231.3

    परमेश्‍‍वरको व्यवस्था नै एक स्तर हो जसद्वारा न्यायमा मानिसहरूका जीवनहरू र चरित्रहरू जाँचिनेछन्। बुद्धिमानी मान्छे यसो भन्छन्: “परमेश्‍‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्‍त कुरासमेत सबैको न्याय परमेश्‍‍वरले गर्नुहुनेछ।” उपदेशक १२:१३, १४। प्रेरित याकूब तिनका भाइहरूलाई चेतावनी दिन्छन्: “यसकारण तिमीहरूको बोली र व्यवहार स्‍वतन्‍त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्।” याकूब २:१२।MBND 232.1

    न्यायमा “योग्य ठहरिनेहरूले” धर्मीहरूको पुनरुत्थानमा भाग लिनेछन्। येशूले भन्‍नुभयो: “तर त्यस युगसम्म पुग्‍न योग्य ठहरिनेहरू ... , र मृतकबाट जीवित भई उठ्‍न योग्य हुनेहरू ... स्‍वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्‍‍वरका सन्तान हुन्।” लूका २०:३५, ३६। अनि फेरि उहाँले घोषणा गर्नुहुन्छ कि “सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति” निस्कीआउनेछन्। यूहन्‍ना ५:२९। धर्मी मृतकहरू न्यायपछि मात्र जीवित पारिनेछन् जसमा तिनीहरू “जीवनको पुनरुत्थानको” योग्य ठहरिन्छन्। त्यसकारणले जब तिनीहरूको अभिलेखको जाँच हुन्छ र तिनीहरूको मुद्दाको निर्णय हुन्छ तब तिनीहरू आफैचाहिँ न्यायालयमा उपस्थित हुनेछैनन्।MBND 232.2

    येशूले पितासँग बिन्ती गर्न तिनीहरूका वकिलको रूपमा देखा पर्नुहुनेछ। “तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्‍ट।” १ यूहन्‍ना २:१। “ख्रीष्‍ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍‍वरको सामु उपस्थित हुनुभएको छ।” “फलस्‍वरूप उहाँद्वारा परमेश्‍‍वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्‍नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।” हिब्रू ९:२४; ७:२५।MBND 232.3

    जब न्यायमा अभिलेखका किताबहरू खुल्छन्, येशूमाथि विश्‍‍वास गर्नेहरू सबैका जीवनहरू परमेश्‍‍वरका सामु पुनर्विचार गरिएको हुन्छ। हाम्रा वकिलले पृथ्वीमाथि जिउनेहरू पहिलोदेखि आरम्भ गरी पछि आउने प्रत्येक युगका मुद्दाहरू प्रस्तुत गर्नुहुनेछ, र जीवितहरूको चाहिँ अन्तमा न्याय हुन्छ। प्रत्येक नाम लेखिएको हुन्छ, प्रत्येक मुद्दा होसियारीसाथ छानबिन गरिएको हुन्छ। नामहरू स्‍वीकार र इन्कार भएका हुन्छन्। जब कुनै मानिसको अभिलेखका किताबहरूमा पश्‍चात्ताप नगरेका र क्षमा प्राप्‍त नगरेका पापहरू छोडिएका हुन्छन्, तब तिनीहरूका नामहरू जीवनको पुस्तकबाट मेटिनेछन्, अनि तिनीहरूका असल कार्यहरूको अभिलेखचाहिँ परमेश्‍‍वरको सम्झनाको पुस्तकबाट मेटिनेछन्। परमप्रभुले मोशासँग घोषणा गर्नुभयो: “जसले मेरो विरुद्धमा पाप गरेको छ, त्यसलाई नै म आफ्‍नो पुस्तकबाट मेटिदिनेछु।” प्रस्थान ३२:३३। अनि अगमवक्ता इजकिएल भन्छन्: “तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, ... त्यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्झना हुनेछैन।” इजकिएल १८:२४।MBND 232.4

    जसले पापको वास्तविक पश्‍चात्ताप गरेका छन्, र विश्‍‍वासद्वारा ख्रीष्‍टको रगतलाई तिनीहरूको प्रायश्‍चित्तको बलिदानको रूपमा दाबी गरेका छन्, तिनीहरू सबैलाई स्‍वर्गको किताबमा भएको तिनीहरूको नामको छेउमा क्षमा लेखिएको हुन्छ; जसरी तिनीहरू ख्रीष्‍टको धार्मिकताको सहभागी भएका हुन्छन्, र तिनीहरूका चरित्रहरू परमेश्‍‍वरको व्यवस्थामुताबिक पाइन्छन्, त्यसरी तिनीहरूका पापहरू मेटाइनेछन्, र तिनीहरू आफै पनि अनन्त जीवनको योग्य हुनेछन्। यशैया अगमवक्ताद्वारा परमप्रभु घोषणा गर्नुहुन्छ: “म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्‍नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन।” यशैया ४३:२५। येशूले भन्‍नुभयो: “जसले जित्छ, त्यसलाई यसरी सेता वस्‍‍त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु।” “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्‍वीकार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने स्‍वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामुन्‍ने इन्कार गर्छ, म पनि उसलाई स्‍वर्गमा हुनुहुने मेरा पिताको सामुन्‍ने इन्कार गर्नेछु।” प्रकाश ३:५; मत्ती १०:३२, ३३।MBND 233.1

    पृथ्वीका न्यायालयहरूका निर्णयहरूमा मानिसहरूले राखेका गहिरो चासोले त्यो चासोलाई प्रतिनिधित्‍व गर्दछ जो स्‍वर्गको अदालतमा जीवनको पुस्तकमा दर्ता भएका नामहरूलाई पुनर्विचार गर्नको लागि सारा पृथ्वीका न्यायाधीशको सामु आउँदाखेरि प्रकट भएको हुन्छ। जो उहाँको रगतमाथि विश्‍‍वास गर्नेद्वारा विजय भएको छ त्यसको खातिर ईश्‍‍वरीय मध्यस्थकर्ताले बिन्ती गर्नुहुन्छ कि ऊ आफ्‍नो अधर्मबाट क्षमा होस्, ताकि उसले अदनको घर पुनः आर्जन गर्न सकोस्, र एउटै उत्तराधिकारीको रूपमा उहाँसितै “पहिलेको राज्य”-मा मुकुट लगाउन सकोस्। मीका ४:८। शैतानले हाम्रो जातिलाई बहकाउने र परीक्षामा पार्ने उसका प्रयासहरूद्वारा मानिसको सृष्‍टिमा भएको ईश्‍‍वरीय योजनालाई निष्फल बनाउने विचार गरेको थियो; तर अब मानिसले कहिले पनि पाप नगरेझैँ यो योजना कार्यान्वयन होस् भनी ख्रीष्‍टले अनुरोध गर्नुहुन्छ। उहाँले आफ्‍ना मानिसहरूका लागि परिपूर्ण र समस्त क्षमा र धार्मिकता मात्र होइन, तर उहाँको सिंहासनमाथि भएको एक महिमा र स्थानमा सहभागी गराउनुपर्ने अनुरोध उहाँले गर्नुहुन्छ।MBND 234.1

    जब ख्रीष्‍टले उहाँको अनुग्रहका जनताहरूका खातिर बिन्ती गर्नुहुन्छ जो उहाँको रगतमाथि विश्‍‍वास गर्नेद्वारा विजय भएका हुन्छन् तब शैतानले चाहिँ तिनीहरूलाई परमेश्‍‍वरको सामुन्‍ने पापी स्‍वरूप दोष लगाउँछ। महान् ठगाहाले तिनीहरूलाई शङ‌्कामा पार्ने, परमेश्‍‍वरमाथि भएको भरोसाबाट छुटाउने, तिनीहरू आफैलाई उहाँको प्रेमबाट अलग पार्ने, र उहाँको आज्ञा भङ्ग गराउने प्रयास गरेको थियो। अब उसले तिनीहरूका जीवनहरूको अभिलेख, तिनीहरूको चरित्रका खोटहरू, ख्रीष्‍टसँग असमानता, जुनचाहिँ तिनीहरूका मुक्तिदातालाई अनादर भएको थियो, उसले दिएको परीक्षाले गर्दा तिनीहरूले गरेका सम्पूर्ण पापहरू, यी सबै कुरातर्फ देखाउँछ र त्यसकारण उसले दाबी गर्छ कि तिनीहरू उसका जनताहरू हुन्।MBND 235.1

    येशूले तिनीहरूका पापहरूको लागि बहाना निकाल्‍नुहुन्‍न, तर तिनीहरूको पश्‍चात्ताप र विश्‍‍वास देखाउनुहुन्छ, र तिनीहरूका निम्ति क्षमादान दाबी गर्दै उहाँले आफ्‍नो चोट परेको हात पिता र पवित्र स्‍वर्गदूतहरूको सामु उठाउनुहुन्छ र भन्‍नुहुन्छ: म तिनीहरूलाई नामद्वारा नै चिन्छु। मैले तिनीहरूलाई मेरो हत्केलामा खोपेर राखेको छु। “तोडिएको आत्मा नै परमेश्‍‍वरको निम्ति बलिदान हो। हे परमेश्‍‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्‍न।” भजनसंग्रह ५१:१७। उहाँका मानिसहरूलाई दोष दिनेलाई उहाँ घोषणा गर्नुहुन्छ: “ए शैतान, परमप्रभुले तँलाई हकारून्। यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हकारून्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” जकरिया ३:२। ख्रीष्‍टले उहाँका विश्‍‍वासयोग्य जनहरूलाई आफ्‍नै धार्मिकता पहिराउनुहुनेछ ताकि उहाँले आफ्‍ना पिताकहाँ तिनीहरूलाई “दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्‍वी मण्डली” स्‍वरूप प्रकट गर्न सकोस्। एफिसी ५:२७। तिनीहरूका नामहरू जीवनको किताबमा सुची बद्धरूपमा रहेका हुन्छन्, र तिनीहरूको विषयमा यसरी लेखिएको हुन्छ: “तिनीहरू मसँग सेता वस्‍‍त्र लाएर हिँड्‍नेछन्, किनकि तिनीहरू योग्यका छन्।” प्रकाश ३:४।MBND 235.2

    यसरी नयाँ करारको प्रतिज्ञाको पूर्ण परिपूर्णता महसुस हुनेछ: “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” “परमप्रभु भन्‍नुहुन्छ, ‘ती दिनहरूमा, त्यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन।” यर्मिया ३१:३४; ५०:२०। “त्यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्ति जमिनको फल गर्व र गौरवको हुनेछ। सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात यरूशलेममा बस्‍नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्।” यशैया ४:२, ३।MBND 236.1

    छानबिन गर्ने न्याय र पापहरू मेटाउने कामचाहिँ परमप्रभुको दोस्रो आगमनभन्दा अगाड़ि नै पूरा भएको हुनुपर्नेछ। मृतकहरूको न्याय किताबहरूमा लेखिएअनुसार हुनुपर्ने भएको कारणले तिनीहरूका मुद्दाहरू छानबिन गर्ने न्याय नभएसम्म मानिसहरूका पापहरू मेटाउन असम्भव छ। तर प्रेरित पत्रुस स्पष्‍टसाथ भन्दछन् कि “तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्‍ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ।” प्रेरित ३:१९, २०। जब छानबिन गर्ने न्यायको काम अन्त्य हुन्छ, तब ख्रीष्‍ट आउनुहुनेछ, र मानिसलाई उसको कामअनुसार दिने उहाँको प्रतिफल उहाँसँगै हुनेछ।MBND 236.2

    साङ्केतिक सेवामा प्रधान पूजाहारीले इस्राएलका निम्ति प्रायश्‍चित्त गरिसकेपछि बाहिर निस्केर समूदायलाई आशिष् दिन्थ्यो। त्यसरी नै ख्रीष्‍ट उहाँको मध्यस्थतारूपी कामको अन्त्यमा “मुक्तिका निम्ति उहाँ दोस्रो पटक विनापाप” उहाँको प्रतीक्षा गर्नेहरूलाई अनन्त जीवनको आशिष् दिनलाई देखा पर्नुहुनेछ। (हिब्रू ९:२८ KJV)। पूजाहारीले पवित्रस्थानबाट पाप हटाएर छाड़ा बोकाको टाउकोमा स्‍वीकार गरेझैँ ख्रीष्‍टले पनि यी सबै पापहरू शैतान, अर्थात् पापको सृजक र त्यसको आरम्भकर्तामाथि राखिदिनुहुनेछ। छाड़ा बोकालाई इस्राएलको पाप बोकाएर “निर्जन स्थानमा” पठाइन्थ्यो (लेवी १६:२२ KJV); त्यसरी शैतान पनि परमेश्‍‍वरका जनहरूलाई उसले फसाएका सब पापहरूको दोष बोकेर हजार वर्षका निम्ति उजाड़ र बासिन्दाहीन पृथ्वीमा कैदी हुनेछ, र अन्तमा सबै दुष्‍टतालाई विनाश पार्ने आगोमा उसले पापको पूर्ण सजाय भोग्‍नुपर्नेछ। पाप पूर्ण उन्मूलन हुन्छ र स्‍वेच्छिक रूपमा पाप इन्कार गर्न तयारी हुनेहरूको छुटकारा हुन्छ, त्यसमा नै मुक्तिको महान् योजना पूरा हुनेछ।MBND 236.3

    न्यायका लागि निर्धारित गरिएको समय—२३०० दिनहरूको अन्त्य, १८४४मा—छानबिनको काम र पाप मेटाउने काम सुरु भयो। कुनै समय ख्रीष्‍टको नाम आफैले लिनेहरू जति सबै सुक्ष्म जाँच भएर जानैपर्छ। मृतक र जीवित दुवैको न्याय “पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामहरूअनुसार” हुनुपर्नेछ।MBND 237.1

    पश्‍चात्ताप नगरेका र नत्यागेका पापहरू क्षमा हुनेछैनन् र अभिलेखका किताबहरूबाट ती मेटिनेछैनन्, तर परमेश्‍‍वरको दिनमा पापीहरूको विरुद्धमा गवाही स्‍वरूप ती उभिनेछन्। शायद उसले आफ्‍ना दुष्‍ट कार्यहरू दिनको उज्यालोमा वा रातको अन्धकारमा गरेको हुन सक्छ; तर जसको सामु हामीले उभिनुपर्ने हो ती कुराहरू उहाँको सामु खुल्‍ला र प्रष्‍ट देखिन्छ। स्‍वर्गदूतहरूले प्रत्येक पाप देखे र त्यो सही खाताहरूमा दर्ता गरे। शायद त्यो पाप बाबा, आमा, पत्‍नी, नानीहरू र साथीहरूबाट लुकिएको, इन्कार गरिएको र छोपिएको होला; दोषी अभिनेताहरूभन्दा अरू कसैलाई पनि गलतको थोरै आशङ‌्का गर्दैन होला; तर यो त स्‍वर्गीय प्राणीहरूका सामु स्पष्‍ट रहनेछ। रातको सबभन्दा अन्धकार, सबै छलपूर्वक गुप्‍तका सीपहरूजस्ता कुनै पनि विचार अनन्तको ज्ञानबाट लुकाउन सकिँदैन। परमेश्‍‍वरसँग प्रत्येक अन्याय हिसाब र अनुचित व्यापारको ठीक अभिलेख हुन्छ। उहाँ देखावटी भक्तिद्वारा बहकिनुहुन्‍न। उहाँले चरित्रको अनुमान गर्दा कुनै गल्ती गर्नुहुन्‍न। मानिसहरू भ्रष्‍ट हृदय भएकाहरूबाट बहकिन सक्छन्, तर परमेश्‍‍वरले सबै छलहरूभित्र छेड्‍नुहुन्छ र अन्तर्जीवन पढ्‍नुहुन्छ।MBND 237.2

    कस्तो गम्भीर विचार छ! दिनप्रति दिनले अनन्तको यात्रामा स्‍वर्गका पुस्तकहरूका निम्ति त्यसका अभिलेखहरूको जिम्मेवारी बोकेको हुन्छ। एक पल्ट बोलेका वचनहरू, एक पल्ट गरेका कार्यहरू कहिल्यै पनि फिर्ता लिन सकिँदैन। स्‍वर्गदूतहरूले असल र खराब दुवैलाई दर्ता गरेका छन्। हाम्रा कार्यहरू, हाम्रा शब्दहरू, हाम्रा सबभन्दा गुप्‍त विचारहरू सबैले हाम्रो भविष्यको कल्याण वा दुःखको निर्णयप्रति भूमिका खेलेका हुन्छन्। शायद हामीले ती कुराहरूलाई बिर्सेका हुन्छौं तापनि ती कुराहरूले हामीलाई धर्मी वा दोषी ठहराउने साक्षी दिनेछन्।MBND 238.1

    फोटोग्राफरको फोटोमा सही ढङ‌्गले अनुहारका आकृतिहरू प्रतिबिम्ब भएझैँ माथि भएका पुस्तकहरूमा पनि विश्‍‍वासयोग्यसाथ चरित्र वर्णन गरिएको छ। तापनि स्‍वर्गीय प्राणीहरूको दृष्‍टिमा सामना गर्नुपर्ने त्यो अभिलेखको विषयमा कति थोरै मात्र चिन्तित भएका हुन्छन्। यदि दृश्‍‍य र अदृश्‍‍य विभाजित पर्दा हट्‍न सक्थ्यो भने मानवको सन्तानले न्यायमा फेरि सामना गर्नुपर्ने प्रत्येक शब्द र कार्य स्‍वर्गदूतले लेखिरहेका देख्‍नेथिए, तब कतिपय दैनिक उच्‍चारित शब्दहरू शान्त हुनेथिए, कति वटा कार्यहरू गरिनेथिएनन्।MBND 238.2

    प्रयोग भएको प्रत्येक प्रतिभा पूर्णरूपले न्यायमा जाँचिनेछ। स्‍वर्गबाट प्रदान गरिएको धन हामीले कसरी प्रयोग गरेका छौं? परमप्रभुले उहाँको आगमनमा उहाँको निजी ब्याजसहित पाउनुहुनेछ त? उहाँले हामीलाई हात, हृदय र दिमागका शक्तिहरू प्रदान गर्नुभएको छ; के यी हामीले परमेश्‍‍वरको महिमा गर्न र संसारलाई आशिष् पुऱ्याउनका लागि विकास गरेका छौं? हामीले हाम्रा समय, कलम, सोर, पैसा र प्रभाव कसरी प्रयोग गरेका छौं? हामीले ख्रीष्‍टका लागि गरिब, कष्‍टित, टुहुरा वा विधवाहरूलाई व्यक्तिगतरूपमा के गरेका छौं? परमेश्‍‍वरले हामीलाई उहाँको पवित्र वचनका भण्डारेहरू तुल्याउनुभएको छ; मानिसहरूलाई मुक्तिको विषयमा बुद्धिमानी तुल्याउन दिइएको ज्योति र सत्यताप्रति हामीले के गरेका छौं त? ख्रीष्‍टमा विश्‍‍वास गर्ने केवल बहानाको केही मूल्य छैन; कामद्वारा देखाइएको प्रेमलाई मात्र वास्तविक ठानिन्छ। तापनि स्‍वर्गको दृष्‍टिमा कुनै पनि कार्यलाई प्रेमले मात्र मूल्यवान् ठहराउँछ। मानिसहरूको कल्पनामा जतिसुकै सानो देखिए तापनि प्रेमसाथ जे पनि गरिएको हुन्छ, सो परमेश्‍‍वरकहाँ स्‍वीकार योग्य हुन्छ र इनाम प्राप्‍त हुन्छ।MBND 239.1

    स्‍वर्गका पुस्तकहरूमा मानिसहरूको लुकिएको स्‍वार्थीपन खुल्‍ला छ। त्यहाँ तिनीहरूका साथीहरूप्रति अपूरो कर्तव्यहरू र मुक्तिदाताका दाबीहरूलाई भुल्‍ने स्‍वभाव अभिलेखमा दर्ता भएको छ। तिनीहरूले ख्रीष्‍टलाई दिनुपर्ने समय, विचार-शक्ति र बल प्रायः शैतानलाई दिएका थिए भनी त्यहाँ तिनीहरूले देख्‍नेछन्। स्‍वर्गदूतहरूले स्‍वर्गमा लैजाने अभिलेखचाहिँ दुःखमय छ। विवेकशील प्राणीहरू, अर्थात् ख्रीष्‍टका नामधारे अनुयायीहरू सांसारिक सम्पत्ति आर्जन गर्ने कार्यमा अथवा सांसारिक सुख-विलासको आनन्दमा लिप्‍त भएका छन्। पैसा, समय र बलचाहिँ प्रदर्शन र स्‍वार्थ-भोगका लागि बलिदान भएका छन्; तर प्रार्थना, धर्मशास्‍‍त्रमा अनुसन्धान, प्राणको नम्रता र पाप स्‍वीकारको कार्यमा चाहिँ थोरै क्षणहरू मात्र बिताएका छन्।MBND 239.2

    शैतानले हाम्रा दिमागहरूलाई व्यस्त पार्न अगण्य षड्‌यन्‍त्रकारी योजनाहरू आविष्कार गरेको छ, ताकि जुन कार्यसँग हामी सबभन्दा परिचित हुनुपर्छ त्यसको बारेमा विचार नगरोस्। प्रायश्‍चित्तको बलिदान र सर्वशक्तिमान् मध्यस्थकर्ताको दृश्‍‍य प्रकट गर्ने महान् सत्यताहरूलाई नै त्यो प्रधान ठगाहाले घृणा गर्दछ। त्यसलाई थाहा छ कि त्यसको सबै कुरा येशू र उहाँको सत्यताबाट दिमागहरू बहकाउनमा नै निर्भर हुन्छ।MBND 239.3

    मुक्तिदाताको मध्यस्थताबाट लाभ हासिल गर्नेहरूले परमेश्‍‍वरको भय राखेर पवित्रता परिपूर्ण पार्ने तिनीहरूको कर्तव्यमा कुनै पनि बाधा आउने मौका दिनुहुँदैन। ती बहुमूल्य घड़ीहरू सुख-विलास, देखावटीपन वा लाभ-अभिलाषामा नभई बरु सत्यताको वचनको अध्ययनमा उत्सुक र प्रार्थनापूर्ण समय बिताउनुपर्छ। पवित्रस्थान र छानबिन गर्ने न्यायको विषयमा परमेश्‍‍वरका मानिसहरूले स्पष्‍ट बुझेका हुनुपर्छ। तिनीहरूका महान् प्रधान पूजाहारीको पद र कार्यको विषयमा सबै जनाले व्यक्तिगतरूपमा ज्ञान प्राप्‍त गर्न अति आवश्‍‍यक छ। त्यसो नभए तिनीहरूले यो समयको आवश्‍‍यकीय विश्‍‍वास प्रयोग गर्न वा परमेश्‍‍वरले तिनीहरूलाई पूरा गर्न भनी दिनुभएको पदको जिम्मेवारी सम्हाल्‍न तिनीहरू असम्भव हुनेछन्। प्रत्येक व्यक्तिको प्राण हुन्छ जसलाई बचाउनु वा गुमाउनुपर्ने हुन्छ। परमेश्‍‍वरको न्याय आसनको सामुन्‍ने प्रत्येकको अनिर्णीत एउटा मुद्दा छ। प्रत्येकले महान् न्यायाधीशलाई आमने-सामुन्‍ने भेट्‍नुपर्नेछ। त्यसो भए, प्रत्येक दिमागले त्यो गम्भीर दृश्‍‍यलाई बारम्बार मनन गर्न कति महत्‍वपूर्ण छ, जब न्याय बसालिनेछ र पुस्तकहरू खोलिनेछन्, जब दिनहरूको अन्तमा, दानिएलसितै प्रत्येक व्यक्ति आफ्‍नो पालोमा उभिनैपर्छ।MBND 240.1

    यी विषयहरूमा ज्योति प्राप्‍त गर्नेहरू सबैले महान् सत्यताहरूको गवाही दिनुपर्छ जुन परमेश्‍‍वरले तिनीहरूलाई सुम्पनुभएको थियो। स्‍वर्गमा भएको पवित्रस्थानचाहिँ मानिसहरूका खातिर ख्रीष्‍टको कामको केन्द्र बिन्दु हो। यसले पृथ्वीमा रहने प्रत्येक प्राणीलाई समेटेको हुन्छ। यसले हामीलाई समयको अन्तसम्मका कुरा वर्णन गर्दै र धार्मिकता तथा पापको बीचमा भएको लड़ाइँको विजयोल्‍लासित विषयलाई प्रकाशित पार्दै मुक्तिको योजनाको दृश्‍‍य प्रस्तुत गर्दछ। यो कुरा नै सबभन्दा महत्‍वपूर्ण छ कि सबैले यी विषयहरू पूर्णरूपले अनुसन्धान गर्नुपर्छ र तिनीहरूमा भएको आशाको कारण सोध्‍नेहरूलाई जवाफ दिन सक्षम हुनुपर्छ।MBND 241.1

    ख्रीष्‍टको क्रूसमा भएको मृत्यु जति महत्‍वपूर्ण छ, मुक्तिको योजनामा माथि रहेको पवित्रस्थानमा मानिसको खातिर भएको उहाँको मध्यस्थताको कार्य पनि त्यत्तिकै महत्‍वपूर्ण छ। उहाँले आफ्‍नै मृत्युद्वारा त्यो काम सुरु गर्नुभयो जुन उहाँको पुनरुत्थानपछि सो कार्य पूरा गर्नका लागि उहाँ स्‍वर्गारोहण हुनुभयो। “जहाँ हाम्रा पक्षमा अग्रदूत भएर” पर्दाभित्र “प्रवेश गर्नुभएको छ,” त्यहाँ हामी विश्‍‍वासद्वारा प्रवेश गर्नुपर्छ। हिब्रू ६:२०। त्यहाँ कलवरीको क्रूसबाट ज्योति प्रतिबिम्बित भएको छ। त्यहाँ हामीले मुक्तिको योजनाका रहस्यहरूभित्र अझै स्पष्‍ट अन्तर्दृष्‍टि प्राप्‍त गर्न सक्छौं। मानिसको मुक्तिमा स्‍वर्गले अपरिमित मूल्य चुकाउनुपरेको छ; जुन बलिदान भएको थियो सो तोड़िएको परमेश्‍‍वरको व्यवस्थाको सबभन्दा ठूला मागहरू बराबर छ। येशूले पिताको सिंहासनतर्फ जाने मार्ग खोल्‍नुभएको छ, र उहाँको मध्यस्थताद्वारा विश्‍‍वासमा उहाँकहाँ आउनेहरू सबै निष्कपट चाहनाको साथ परमेश्‍‍वरको सामु उपस्थित भएका होस्।MBND 241.2

    “आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।” हितोपदेश २८:१३। जसले तिनीहरूका दोषहरू लुकाउँछन् र बहाना बनाउँछन्, शैतान तिनीहरूदेखि कति हर्षित छ, ख्रीष्‍ट र पवित्र स्‍वर्गदूतहरूलाई तिनीहरूको कार्यद्वारा कति ठट्टा गर्छ भनी यदि तिनीहरूले देख्‍न सकेका भए, तिनीहरू आफ्‍ना पापहरू स्‍वीकार गर्न र त्यसलाई त्याग्‍न हतारिनेथिए। शैतानले चरित्रका खोटहरूद्वारा सम्पूर्ण दिमागलाई अधीनमा राख्‍ने काम गर्छ, र उसलाई यो कुरा पनि थाहा छ कि यदि तिनीहरूले यी खोटहरू माया गरेर राखे भने उसको सफलता हुनेछ। त्यसकारण उसले ख्रीष्‍टका चेलाहरूलाई तिनीहरू विजय प्राप्‍त गर्न असम्भव छ भनी उसको घातक कुतर्कहरूद्वारा निरन्तर बहकाउने प्रयास गरिरहेछ। तर येशूले तिनीहरूका पक्षमा उहाँका चोट लागेका हातहरू, उहाँको चोट लागेको शरीरका साथ बिन्ती गर्नुहुन्छ; उहाँका पछि लाग्‍नेहरू सबैलाई उहाँले घोषणा गर्नुहुन्छ: “मेरो अनुग्रह तेरो निम्ति पर्याप्‍त छ।” २ कोरिन्थी १२:९। “मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” मत्ती ११:२९, ३०। त्यसो भए कसैले पनि तिनीहरूका खोटहरू निरुपाय छन् भनी नठानोस्। परमेश्‍‍वरले तिनीहरूलाई विजय हुनका लागि विश्‍‍वास र अनुग्रह प्रदान गर्नुहुनेछ।MBND 241.3

    अहिले हामी महान् प्रायश्‍चित्तको दिनमा बाँचिरहेछौं। साङ्केतिक सेवामा जब प्रधान पूजाहारीले इस्राएलका लागि प्रायश्‍चित्त गरिरहेको हुन्थ्यो तब सबैले पापको पश्‍चात्ताप र परमप्रभुको सामुन्‍ने नम्र हुनेद्वारा तिनीहरूका प्राणहरूलाई इन्कार गर्न अनिवार्य थियो, नत्रता तिनीहरू आफ्‍ना जातिमध्येबाट बहिष्कार हुनुपर्नेथिए। त्यसरी नै जसका नामहरू जीवनको पुस्तकमा बाँकी राख्‍ने इच्छा गर्छन् तिनीहरू सबैले अहिले नै तिनीहरूका केही पश्‍चात्तापका दिनहरू बाँकी छँदै पापका लागि दुःख मान्‍ने र सत्य पश्‍चात्तापद्वारा परमेश्‍‍वरको सामु तिनीहरूले आ-आफ्‍ना प्राणलाई इन्कार गर्नुपर्छ। त्यहाँ गहिरो र विश्‍‍वासयोग्य हृदयको अनुसन्धान हुनुपर्छ। धेरै जना नामधारे विश्‍‍वासीहरूद्वारा अपनाएका हल्का र खेलाँची आत्माहरूलाई निकाल्‍नुपर्छ। श्रेष्‍ठताका लागि सङ‌्घर्ष गर्ने दुष्‍ट धारणाहरू वशमा राख्‍ने इच्छुक व्यक्तिहरू सबैका सामु त्यहाँ जोशिलो लड़ाइँ हुन्छ। तयारीको कामचाहिँ व्यक्तिगत कार्य हो। हामीले समूहहरूमा उद्धार पाउँदैनौं। कुनै व्यक्तिको शुद्धता र समर्पणले यी गुणहरूको अभावमा रहेका अर्को व्यक्तिमा पूर्ति गर्दैन। सबै जातिहरू परमेश्‍‍वरको सामुन्‍ने न्यायमा जानुपर्छ तापनि उहाँले प्रत्येक व्यक्तिको मुद्दालाई निकट अनुसन्धानकारी छानबिनसाथ जाँच्‍नुहुनेछ, जस्तो कि यस पृथ्वीमा अरू प्राणी कोही छैन। प्रत्येक जना जाँचिनुपर्छ र खोट वा चाउरी अथवा त्यस्तो कुनै थोकविना नै फेला पर्नुपर्छ।MBND 242.1

    प्रायश्‍चित्तको अन्तिम कार्यसँग सम्बन्धित दृश्‍‍यहरू गम्भीर छन्। त्यहाँ समाविष्‍ट जोखिमहरू महान् छन्। माथि भएको पवित्रस्थानमा अहिले न्याय भइरहेछ। यो काम धेरै वर्षसम्म चलिरहेको छ। चाँडै नै—कसैलाई थाहा छैन कति चाँडो—जीवितहरूका मुद्दाहरूमा न्याय सुरु हुनेछ। परमेश्‍‍वरको भयावह उपस्थितिमा हाम्रा जीवनहरू पुनर्विचारका लागि आउनुपर्नेछन्। यो समयमा अरू कुनै पनि समयभन्दा पनि प्रत्येक मानिसले मुक्तिदाताको चेतावनीलाई ध्यान दिनु उचित हुन्छ: “जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।” मर्कूस १३:३३। “यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै गरी आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।” प्रकाश ३:३।MBND 242.2

    जब छानबिन गर्ने न्यायको कार्य अन्त्य हुन्छ, तब सबै जनाको गन्तव्य मृत्यु वा जीवनका लागि निर्णय भइसकेका हुनेछ। आकाशका बादलहरूमा परमप्रभुको आगमन हुनुभन्दा अलिक अघि पश्‍चात्तापको समय अन्त भएको हुन्छ। ख्रीष्‍टले प्रकाशमा आगामी त्यो समयलाई हेर्दै घोषण गर्नुहुन्छ: “दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍‍लील काम गर्नेले अश्‍‍लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्। हेर, म चाँड़ै आउँदैछ। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।” प्रकाश २२:११, १२।MBND 243.1

    धर्मीहरू र दुष्‍टहरू तिनीहरूको विनाशी शरीरमै पृथ्वीमा जिइरहेका हुनेछन्—माथि भएको पवित्र वासस्थानमा अन्तमा अखण्डनीय निर्णय पारित भइसकेको छ भनी सब अनजान भएर मानिसहरूले रोप्‍ने र घर बनाउने, खाने र पिउने गरिरहेका हुनेछन्। नोआ जहाजभित्र पसेपछि र जलप्रलयभन्दा अगाड़ि परमेश्‍‍वरले तिनलाई भित्र थुन्‍नुभयो र अधर्मीहरूलाई बाहिर छोड्‍नुभयो; तर सात दिनसम्म मानिसहरूले तिनीहरूको विनाश निर्धारित भएको थाहा नपाएर तिनीहरूको हेलचेक्‍य्राइँपन, सुख-विलास प्रेमी जीवन बिताइरहे र सन्‍निकट इन्साफका चेतावनीहरूलाई गिल्‍ला गरे। मुक्तिदाता भन्‍नुहुन्छ, “मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।” मत्ती २४:३९। शान्तसाथ, मध्यरातको चोरझैँ नचिताएको समयमा नै निर्णायक घड़ी आउनेछ जसले प्रत्येक मानिसको गन्तव्यको निर्धारित चिन्ह लगाउनेछ, अन्तमा प्रदान गरिएको अनुग्रह दोषी मानिसहरूबाट हटाइनेछ।MBND 243.2

    “यसकारण तिमीहरू पनि जागा रहो ... नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।” मर्कूस १३:३५, ३६। जो सचेत नभई थकित हुनेहरू संसारको आकर्षणमा फर्केका छन्, तिनीहरूको अवस्थाचाहिँ जोखिमपूर्ण छ। जब व्यापारी मानिसहरू लाभ आर्जन गर्न लागी पर्छन्, जब सुख-विलास प्रेमीहरू भोगविलास खोजिरहेछन्, जब फेशन गर्ने आफ्‍ना पहिरनहरू मिलाउँछन्—शायद त्यही घड़ीमा सारा पृथ्वीको न्यायाधीशले सजाय घोषणा गर्नुहुनेछ। “हजूर तराजूमा जोखिनुभएको छ, र हल्का भेट्टाइनुभएको छ।” दानिएल ५:२७।MBND 244.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents