Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - १०
    ख्रीष्‍टको पुनरूत्थान

    विश्रामदिनमा चेलाहरू आफ्‍ना प्रभुको मृत्यु भएकोमा शोकाकुल भएर विश्राम लिइरहेका थिए भने महिमाका राजा येशूले पनि त्यस कब्रिस्थानभित्रै विश्राम लिइरहनुभएको थियो । त्यो दिन बित्यो, फेरि रात पनि बिस्तारै बित्दै जाँदै थियो । त्यस कब्रिस्तानमाथि माथिबाट हेरिरहेका स्‍वर्गदूतहरूले ती परमेश्‍‍वरका पुत्रको त्यस मृत्युको बन्धनबाट मुक्त हुने बेला थाह पाएर बड़ो उत्सुकतापूर्वक त्यस क्षणको प्रतीक्षा गरिरहेका थिए । त्यसैघरी एकजना सामर्थ्यशाली दूत स्‍वर्गदेखि वेगले उड्‍दै आए । तिनको चेहरा बिजुलीको जस्तो र तिनको पोशाक हिउँ झैं सेतो थियो । आफ्‍नो ज्योतिले अन्धकारलाई टाढा-टाढा भगाउँदै तिनी आए । तिनका ज्योति र महिमालाई देखेर शैतानिक दूतहरू पनि डरले भागे । ती स्‍वर्गबाट आउने दूतसित अर्को एकजना दूत पनि सामेल हुन आए, जसले येशूमाथि गरिएको अत्याचार देखेका थिए र उहाँको कब्रको रखवाली गरिरहेका थिए । ती दुईजना सँगै कब्रमा ओर्ली आए । जब उनीहरू आइपुगे, तब पृथ्वी हल्‍लियो अर्थात् भूकम्प भयो । त्यसपछि ती सामर्थ्यशाली दूतले कब्रको मुखदेखि त्यो ढुङ्गा हटाइदिए, र त्यही ढुङ्गामाथि तिनी बसे ।1BP 65.1

    पहरा दिनेहरू नै डरले आत्तिरहेका थिए । डरले तिनीहरूको होश-हवास नै उड़िरहेको बेलामा येशूका चेलाहरू आईकन उहाँको शरीर चोरेर पो लान्छन् कि भनेर सोच्‍न समेत तिनीहरूको होश रहेको थिएन भने उहाँको शरीरलाई रोकीराख्‍ने के तिनीहरूमा शक्ति थियो होला र ? वरिपरि सूर्यभन्दा चहकिलो ती स्‍वर्गदूतहरूको ज्योति चम्केको देखेर तिनीहरू भयभीत र चकित भइरहेका थिए । वीर रोमी सिपाहीहरू पनि स्‍वर्गदूतहरूलाई देखेर मुर्दैसरह भएर भूइँमा लड़े । तब एकजना स्‍वर्गदूतले त्यो ढुङ्गा उटाईकन यसो भन्दै कराए, “हे परमेश्‍‍वरका पुत्र, तपाईंका पिताले बोलाउँदै हुनुहुन्छ, आउनुहोस् !” तत्क्षणै उहाँ बौरी उठ्‍नुभयो । मृत्युले उहाँलाई रोक्‍नसकेन । तब अर्को दूतले चिहानभित्र पसीकन उहाँको शिरमा बेहेरिएको लुगा खोलिदिए, र उहाँ विजयी भएर हिँड़डुल गर्न थाल्‍नुभयो । त्यो देखेर स्‍वर्गदूतहरूले पनि बड़ो श्रद्धा र भक्तिसाथ भूइँमा पसारिएर उहाँलाई साष्‍टाङ्ग दण्डवत् गरे अनि मृत्युमाथि उहाँ विजयी हुनुभएकोमा उहाँको स्तुति र जयजयकार गरे । त्यसपछि शैतान झन् निराश भयो । उसका सहयोगी दूतहरू ता स्‍वर्गदूतहरूका प्रखर ज्योतिदेखि भागेका थिए । तिनीहरूले गएर उहाँ -- जसलाई तिनीहरूले औधि द्वेष र घृणा गर्थे -- कसरी बौरी उठ्‍नुभयो, त्यसबारे आफ्‍ना राजालाई सबै सुनाउँदै गुनासो पोखे ।1BP 65.2

    शैतान र उसका दूतहरूले मानिसको पतन गराईकन उसलाई आफ्‍नो मुट्ठीमा राख्‍नसकेकोले जीवनका प्रभुलाई समेत मार्न लगाएर चिहानमा गड़ाउन पाएकोमा केही क्षण ता तिनीहरूको जीत सम्झेर खुशी मनाए; तर त्यो खुशियाली केवल क्षणभरको लागि भयो । जब येशू त्यस चिहानदेखि अर्थात् मृत्युदेखि विजयी भएर निस्कनुभयो, तबदेखि नै शैतानले पनि म अवश्‍‍य मर्ने नै रहेछु र मेरो यो राज्य पनि जसको खास अधिकार थियो, उहाँकै हुने रहेछ भनी थाह पायो । कत्ति कोशिस र बल गर्दा पनि येशूमाथि शैतानको केही सीप चलेन, तर येशूले मानिसको उद्धारको मार्ग तयार गरेरै छोड्‍नुभयो, ताकि जो कोहि यसमा हिँड्‍ला उसले उद्धार पाओस् । यो देखेर शैतान आत्मग्‍लानि र क्षोभले भरिएर विलाप गर्न थाल्यो ।1BP 66.1

    हेतोत्साह र निराश भएर एकछिनसम्म घोरिएपश्‍चात् फेरि परमेश्‍‍वरको राज्यविरूद्ध के-कस्तो किसिमका कदम चल्‍नुपर्ने सो निर्णय गर्न शैतानले आफ्‍ना दूतहरूसित सर-सल्‍लाहका निम्ति सभा आयोजन गऱ्यो, र आफ्‍ना दूतहरूलाई भन्यो, “तिमीहरू झट्टै ती मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूकहाँ जाओ, जसलाई हामीले भ्रममा पारेर अर्थात् तिनीहरूका आत्मिक आँखालाई अन्धा र तिनीहरूका हृदयलाई कठोर पारिदिएर येशूलाई धोकाबाज (ठगाहा) सम्झने बनाउन सकेका छौं । त्यस रोमी सिपाहीले येशू बौरी उठेको समाचार फिँजायो भने ता हामीले जुन मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूलाई उल्क्‍याएर तिनीहरूको मनमा येशूप्रति घृणात्मक भावना जगाएर येशूलाई मार्न सुऱ्यायौं, तिनीहरूलाई ता मानिसहरूले निर्दोषलाई हत्या गरेको अभियोगमा ढुङ्गा हानेर मार्लान्, यदि उनीहरूले येशू साँच्‍चै बौरी उठेको थाह पाए भने ।”1BP 67.1

    जब ती ज्योतिर्मय स्‍वर्गदूतहरू गइसके, तब ती रोमी सिपाहीहरू उठेर डराउँदै-डराउँदै पल्याकपुलुक हेर्दै गरेका मैले देखें । त्यहाँ त्यो ठूलो ढुङ्गा चिहानको मुखदेखि गुड्‍याएर पर सारिएको अनि येशू बौरी उठिसक्‍नुभएको देखेर उनीहरू आश्‍चर्यचकित भए । त्यसपछि उनीहरूले हतार-हतार मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूकहाँ गएर उनीहरूले देखेका अचम्मका घटनाहरूबारे तिनीहरूलाई सुनाए । त्यो सुनेर ती हत्याराहरूका मुख अँध्यारो हुनथाल्यो । तिनीहरूले जे गरेका थिए, त्यस विषयमा तिनीहरू आफै भयभीत भए । ‘यदि त्यो कुरो साँच्‍चै भएकै हो भने ता हामी नाश भयौं’ भन्दै खेद प्रकट गर्नथाले । एक क्षणसम्म तिनीहरू किंकर्त्तव्यविमूढ़ भएर एक-अर्काका मुखमा हेराहेर गरिरहे । तत्पश्‍चात् तिनीहरू एकान्तमा गएर सल्‍लाह गर्नथाले । तिनीहरूलाई यो निश्‍चय थियो - मानिसहरूले येशू बौरी उठ्‍नुभएको र पहरा दिने सिपाहीहरू पनि मुर्दासरह भुइँमा लड्‍ने गरी त्यस्तो अद्‍भुत महिमा झल्केको कुरा थाह पाए भने उनीहरू क्रोधित हुनेथिए र उहाँलाई जसले मारेका थिए, तिनीहरूलाई पनि मार्ने थिए । त्यसैले तिनीहरूले त्यो कुरा गुप्‍तमै राखियोस् भनेर ती सिपाहीहरूलाई घूस दिएर मनाउने निश्‍चय गरे । त्यसपछि तिनीहरूले ती सिपाहीहरूलाई धेरै पैसा दिँदै भने, “तिमीहरूले यसो भनिदेऊ, ‘राती हामी निदाएका बेलामा उसलाई उसका चेलाहरूले आएर चोरी लगेछन्’ ।” तर ती पहरादारहरूले यसो भनी सोधे, “यदि हामी, पहारादारहरू भएर ‘सुत्यौं’ भन्ने कुरा गर्दा बड़ा हाकिमले के भन्‍लान् ?” तब तिनीहरूले उत्तर दिए, “उहाँलाई हामी मनाउनेछौं र तिमीहरूलाई जोगाउनेछौं ।” त्यसरी पैसाको लागि ती रोमी सिपाहीहरूले पनि आफ्‍नो इमान बेचेर ती पूजाहारीहरू र बूढ़ा प्रधानहरूको होहोरेमा लागे ।1BP 67.2

    जब क्रूसमा झुन्डिएकै अवस्थामा येशूले ‘अब पूरा भयो’ भनी कराउनुभयो, तब चट्टानहरू फाटे, भूकम्प भयो र कतिपय चिहानहरू उघ्रे । मृत्यु र चिहानमाथि विजयी भएर येशू बौरी उठ्‍नुभयो, र त्यस चिहानरूपी बन्दीगृहदेखि निस्की आउनुभयो । पृथ्वी धरमराउँदै र हल्‍लिँदै गरेको अनि त्यस घटनास्थल वरिपरि स्‍वर्गीय महिमा झलमल्‍ल भइरहेको बेलामै उहाँ बौरी उठ्‍नुभएको कुरालाई सत्य प्रमाणित गर्न साक्षीस्‍वरूप उत्पतिको समयदेखि लिएर ख्रीष्‍टको पालासम्मन्‌का धेरैजना धर्मीजनहरू पनि महिमित रूपमा निस्की आए । उता मुख्य पूजाहारीहरू र फरिसीहरूले ख्रीष्‍टको बौरिउठाइको घटनालाई ढाकछोप गर्न खोजे तापनि यता उहाँको बौरिउठाइ र उहाँको महिमालाई सत्य प्रमाणित गर्न साक्षीस्‍वरूप परमेश्‍‍वरले ती धर्मी जनहरूलाई चिहानहरूदेखि बौराईकन ल्याउनुभयो ।1BP 68.1

    ती बौरी उठेका धर्मीजनहरू भिन्नाभिन्नै कद, र भिन्नाभिन्नै आकारका देखिए । त्यसबाट मैले के जानकारी पाएँ भने - पृथ्वीका मानिसहरूको शारीरिक अवस्था पनि क्रमशः बिग्रँदै आएको अनि शक्ति र सौन्दर्य पनि घट्‍दै आएको रहेछ । जति युग बित्दै जान्छ त्यति नै शैतानले रोग र मृत्यु ल्याइरहेछ अनि श्राप र शैतानको शक्ति झन् झन् स्पष्‍ट गरी देखा पर्दैछन् । ती बौरी उठेकाहरूमध्ये कोही-कोही ता अरूहरूभन्दा शानदार देखिँदै थिए । मलाई यो पनि जानकारी भयो, कि नूह र अब्राहामका पालाकाहरू रूप, सौन्दर्य र शक्तिमा स्‍वर्गदूतहरू जस्ता थिएछन् । तर जति युग र पुस्ता बित्दै गए, त्यति नै मानिस झन् झन् दुर्बल, झन् रोगी र अल्पायुको हुँदै आएको रहेछ । अझै शैतानले मानिसलाई झन् दुःखी र कमजोर बनाउने प्रयास जारी नै राखेको छ ।1BP 69.1

    येशूको पुनरूत्थानसँग-सँगै पुनरूत्थित ती पवित्र जनहरू धेरैकहाँ देखा परे, र मानिसको निम्ति प्रायश्‍चितको बलिदान पूरा भएको अनि येशू - जसलाई यहूदीहरूले क्रूसमा टाँगी मारेका थिए - बौरी उठ्‍नुभएको समाचार सुनाए, र यसो पनि भने, “हामी उहाँसितै बौरी उठेका हौं ।” शैतान साथै उसका दूतहरू अथवा मुख्य पूजाहारीहरूले जत्ति नै झूटा हल्‍ला फिँजाए तापनि सत्य कुरालाई तिनीहरूले लुकाएर लुक्‍न सकेन; ती बौरी उठेर आएका पवित्र जनहरूले नै उहाँको बौरिउठाइको अद्‍भूत एवम् खुशीको समाचार फिँजाइदिईहाले । त्यतिमात्र होइन, येशू स्‍वयम् पनि शोक-विव्हल र हतोत्साहित भएका चेलाहरूकहाँ देखा परेर उनीहरूको डर, निराशा सब हर्ष र आनन्दमा परिणत गरिदिनुभयो ।1BP 69.2

    जब त्यो अद्‍भूत समाचार शहर-शहर र गाउँ-गाउँमा फिँजियो, तब उहाँका विरोधी यहूदीहरूलाई आफ्‍नो ज्यानको डर हुनथाल्यो । त्यसो हुँदा तिनीहरूले येशूका चेलाहरूप्रति मनमा घृणा र द्वेष राखेका भए तापनि प्रकट गर्नचाहिँ सकेनन् ।1BP 70.1

    आफ्‍ना ज्यान र इज्‍जत बचाउन झूटो हल्‍ला फिँजाउन सिवाय तिनीहरूका निम्ति अरू कुनै उपाय थिएन । त्यही पनि तिनीहरूकै मात्र पक्ष लिनेहरूले बाहेक अरूले विश्‍‍वास गरेनन् । पिलातस पनि त्यो सुनेर लगलग काँपे, किनकि येशू बौरी उठ्‍नुभएको कुरामा तिनलाई विश्‍‍वास थियो; तर सांसारिक मान-मर्यादा, आफ्‍नो अधिकार अनि ज्यानको मायाले गर्दा तिनले येशूलाई मार्नका निम्ति शत्रुहरूका हातमा सुम्पिदिएका थिए । उहाँको बौरिउठाइको खबर सुनेपछि तिनलाई अझ पूर्ण विश्‍‍वास भयो - जसको रगतको दोष तिनलाई लाग्यो - उहाँ केवल साधारण निर्दोष मानिस मात्र नभएर परमेश्‍‍वरका पुत्र हुनुहुँदोरहेछ भनेर । तिनले सधैँको लागि शान्ति गुमाइपठाए । जीवनको अन्तिम श्‍‍वाससम्म पिलातस पछितो र ग्‍लानिले पीड़ित भइरहे । आशा सब चकनाचूर भयो । कसैले सान्त्‍वना दिन खोज्दा पनि तिनले सुन्नै मानेनन् । अन्तमा पीर र बेदनाले तड्‍पी-तड्‍पी तिनको मृत्यु पनि भयो ।1BP 70.2

    हेरोदको चाहिँ हृदय झन् कठोर भइसकेको थियो; यतिसम्म कठोर, कि येशू बौरी उठ्‍नुभएको खबर सुनेर पनि तिनलाई त्यति प्रभाव परेन । तिनले ख्रीष्‍टको मण्डलीलाई पनि सताउन थाले, र याकूबलाई ता मारे पनि । अनि त्यसो गर्दा यहूदीहरू खुशी हुने रहेछन् भनेर पत्रुसलाई पनि मार्नको निम्ति पक्रे । तर परमेश्‍‍वरले पत्रुसलाई उहाँको काममा उपयोग गर्नु थियो, तसर्थ उहाँले आफ्‍ना दूत पठाईकन तिनलाई बचाउनुभयो । पछि परमेश्‍‍वरले हेरोदलाई यस्तो प्रकारले दण्ड दिनुभयो - जब तिनले एउटा ठूलो भीड़का सामु आफूलाई उच्‍च तुल्याइरहेका थिए, त्यतिबेलै परमेश्‍‍वरले तिनलाई भीड़कै सामु प्रहार गर्नुभयो, र तिनी स्याउँ-स्याउँ कीरा परेर मरे ।1BP 70.3

    बिहानै अर्थात् रिमरिम उज्यालो हुँदै केही पवित्र स्‍‍त्रीहरू (लुका - २४:१०) येशूको मृत देहमा घस्‍नलाई सुगन्धित मसाला लिएर आए, तर चिहानको मुखदेखि त्यो गह्रौं ढुङ्गा हटाइएको भेट्टाए, र भित्र हेर्दा त्यहाँ येशूको पार्थिव शरीर थिएन । त्यस्तो देखेर उनीहरूको हंसले ठाउँ छोड्‌यो । उहाँका विरोधीहरूले पो उहाँको लाश चोरी लगेछन् क्‍यार भन्ने उनीहरूले सोचे । अकस्मात् उनीहरूले त्यहाँ सेता पोशाक लाएका अनि उज्‍ज्‍वल र चम्किला चेहरा भएका दुइजना स्‍वर्गदूतहरूलाई देखे । स्‍वर्गदूतहरूले ती स्‍‍त्रीहरूको आशय बुझिहाले, र उनीहरूलाई यसो भने, “तिमीहरूले येशूलाई खोज्दैछौ । उहाँ ता अहिले यहाँ हुनुहुन्न; बौरी उठ्‍नुभयो । आओ, उहाँ पस्रनुभएको ठाउँ हेरिहेर, अनि गएर उहाँका चेलाहरूलाई खबर देओ । उहाँ तिनीहरूभन्दा अगाड़ि गालीलमा जाँदै हुनुहुन्छ ।’ तब ती स्‍‍त्रीहरू साह्रै भयभीत र आश्‍चर्यचकित हुँदै चेलाहरूकहाँ दगुरे । उता चेलाहरू आफ्‍ना प्रभुलाई क्रूसमा झुन्ड्‍याई मारेकोमा अति नै शोकविव्हाल भइरहेका थिए । चेलाहरूकहाँ पुगेर उनीहरूले देखका र सुनेका सबै कुरा सुनाए । पहिला ता ती चेलाहरूले उहाँ बौरी उठ्‍नुभएको समाचार विश्‍‍वास गरेनन्, र ती खबर ल्याउने स्‍‍त्रीहरूका साथमा चिहानतर्फ दगुरे; तर त्यहाँ पुगेर हेर्दा साँच्‍चै येशू त्यहाँ हुनुहुन्न थियो । त्यहाँ खालि उहाँको मृत शरीरलाई बेह्रिएको सुती (मलमल) कपड़ा मात्रै पड़िरहेको थियो, तर पनि येशू बौरी उठ्‍नुभएको कुरामा भने उनीहरूले विश्‍‍वासै गर्न सकेनन् । अझै पनि उनीहरूले देखेका कुरा र ती स्‍‍त्रीहरूले सुनाएको कुरामा अचम्मै मान्दै, ‘यो ता केही बुझ्‍ने सकिएन’ भन्दै घर फर्के । तर मरियमचाहिँ त्यहीँ चिहान वरिपरि ओल्याङ-टोल्याङ गर्दै घरि आफूले देखेका विचित्र घटनाबारे विचारमग्‍न हुँदै थिइन्, घरि यो दृष्‍टिभ्रम पो भएको हो कि भन्दै फटफटिँदै पनि थिइन् । केही क्षणपछि तिनी फेरि डाँको छोड़ेर रून थालिन्, र फेरि कब्रभित्र हेरिन् । त्यतिबेला पनि ती दुई स्‍वेत वस्‍‍त्रधारी स्‍वर्गदूतहरूलाई - एकजना, येशू पस्रनुभएको ठाउँको शिरपट्टि र अर्कोलाई पाउपट्टि - बसिरहेका देखिन् । उनीहरूका चेहरा अघिकै झैं उज्‍ज्‍वल र चम्किला थिए । उनीहरूले तिनलाई स्‍नेहपूर्वकै ‘तिमी किन रूँदैछ्‌यौ ?’ भनि सोधे । तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई कहाँ लगेर राखे, थाहै भएन ।” त्यति भनेर जब तिनी पछिल्तिर फर्किन् तब तिनले येशूलाई छेउमै उभिरहनुभएको देखिन्; तर उहाँलाई चिनिनन् । येशूले तिनलाई स्‍नेहपूर्वकै भन्नुभयो, “तिमी किन रूँदैछ्‌यौ ?” तिनले चाहिँ उहाँलाई माली भन्ठानेर भनिन्, “हजुर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको छ भने, कहाँ राख्‍नुभएको छ, मलाई बताउनुहोस्, र म उहाँलाई लैजानेछु ।” तब येशूले तिनलाई सधैंको जस्तो स्‍वरमा भन्नुभयो, “मरियम !” त्यतिखेर मात्रै मरियमले उहाँको स्‍वर चिनेर ‘रब्‍बोनी !’ (गुरूज्यु) भन्दै खुशीले अँगाल्‍न आँटेकी मात्र थिइन्, येशूले पछिल्तिर सर्दै भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍‍वर र तिमीहरूका परमेश्‍‍वरकहाँ गइरहेछु’ ।” तब तिनी औधि खुशीले रमाउँदै तुरन्तै त्यो खुशीको समाचार पुऱ्याउन चेलाहरूकहाँ दगुरिन् । येशूचाहिँ आफ्‍ना पिताका मुखारविन्दबाटै उहाँको बलिदान पिताबाट ग्रहण गरिएको अनि उहाँले गर्नुभएको सबै असल कामको परिणाम सुन्न र पिताबाट स्‍वर्ग र पृथ्वीमाथि सबै अधिकार प्राप्‍त गर्न माथि पिताकहाँ जानुभयो । अनि बादल झैं स्‍वर्गदूतहरूले परमेश्‍‍वरका पुत्रलाई घेरे अनि उहाँलाई स्‍वागत गर्दै ती स्‍वर्गीय ढोकाहरूलाई ‘खोलिजा’ भनी आज्ञा गरे । अनि मैले के देखें भने - येशू स्‍वर्गीय दूतगणका साथमा पितासित हुनुहुन्थ्यो र परमेश्‍‍वरको महिमाले उहाँलाई ढाकिरहेको थियो, र पनि उहाँले पृथ्वीमा भएका आफ्‍ना चेलाहरूलाई सम्झनुभयो, अनि आफ्‍ना पिताबाट शक्ति पाईकन चेलाहरूलाई पनि त्यस शक्तिका हिस्सेदार बनाउन त्यही दिन फर्कीकन चेलाहरूकहाँ देखा पर्नुभयो । त्यसपछि मात्र उहाँले चेलाहरूलाई ‘अब मलाई छुनसक्छौ ‘ भनी अनुमति दिनुभयो , किनभने उहाँ माथि पिताकहाँ पुगेर पनि शक्ति प्राप्‍त गरिसक्‍नु भएको थियो ।1BP 71.1

    जब येशू प्रथमचोटी चेलाहरूकहाँ देखा पर्नुभयो, त्यति बेला थोमा नामक चेला त्यहाँ थिएनन् । त्यसो हुँदा अरू चेलाहरूले देखेरै बताएको कुरामा पनि तिनले अविश्‍‍वास जनाउँदै ठोकुवा दिएर भन्नथाले, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औंला हाल्दिनँ र क्रूरतापूर्वक भाला रोपिएको उहाँको कोखामा म हात हाल्दिनँ, तबसम्म म विश्‍‍वास गर्नेछैन ।” त्यस्तो अविश्‍‍वास देखेर परमेश्‍‍वर अप्रसन्न हुनुभयो ।1BP 73.1

    अर्को दिन येशू फेरि चेलाहरूकहाँ देखा पर्नुहुँदा थोमा पनि थिए, अनि येशूलाई देख्दा मात्रै तिनले पत्याए । तर तिनले ‘उहाँलाई देखेर मात्रै होइन, छामी-छामीकन हेरेर मात्रै विश्‍‍वास गर्नेछु’ भनेका हुनाले उहाँले तिनको भनाइअनुसारै गरी देखाउनुभयो । तर थोमाले अत्तालिँदै भन्नथाले, “हे मेरा प्रभु, हे मेरा परमेश्‍‍वर !” तब येशूले थोमालाई तिनको अविश्‍‍वासको विषयमा हप्काउँदै भन्नुभयो, “थोमा, तिमीले ता मलाई देखेर मात्रै विश्‍‍वास गऱ्यौ; तर धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्‍‍वास गर्छन् ।”1BP 73.2

    त्यसपछि मैले फेरि के देखें भने - यता ती पवित्र स्‍‍त्रीहरूले येशू बौरी उठ्‍नुभएको शुभ समाचार सुनाउँदै हिँड्‍दै थिए भने उता रोमी सिपाहीहरूले चाहिँ ती मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूले सिकाए अनुसार ‘येशूको लाश तिनकै चेलाहरूले हामी सुतेका बेलामा चोरेर लागेका हुन्’ भन्दै झूटो हल्‍ला फिँजाउँदै गए । त्यसरी शैतानले मुख्य पूजाहारीहरूका हृदय र मुखमा झूटा कुरा हालिदिएको थियो, र मानिसहरूले पनि तिनीहरूकै कुरालाई निर्विवाद समर्थन जनाइहाले । तर परमेश्‍‍वरले नै येशूको बौरीउठाइ जस्तो यति महत्त्‍वपूर्ण एवम् आधारभूत घटनालाई - जसमाथि मानिसकको उद्धार आधारित छ - यति निश्‍चित र निस्सन्देह तुल्याइदिनुभयो, जसलाई ढाकछोप गर्न खोज्‍ने ती पूजाहारीहरू र अरू बूढ़ा प्रधानहरूको केही सीप चलेन । ख्रीष्‍टको बौरिउठाइलाई सत्य प्रमाणित गर्न साक्षीहरू बौरी उठे ।1BP 74.1

    येशू बौरी उठेपछि पनि अरू चालीस दिनसम्म आफ्‍ना चेलाहरूसित उनीहरूका हृदयमा आनन्द, प्रेरणा र प्रोत्साहन दिँदै अनि परमेश्‍‍वरको राज्यका बारेमा अझै स्पष्‍ट गर्दै रहनुभयो । अनि उहाँले चेलाहरूलाई उनीहरूले देखेका र सुनेका कुराहरू, अर्थात् उहाँले कष्‍ट भोग्‍नुभएको, मर्नुभएको र बौरी उठ्‍नुभएको, अर्थात् सङ्‌क्षेपमा भन्नु हो भने मानिसको पापको निम्ति बलिदान हुनुभएको कुराका साक्षी हुनू भनी खटाउनुभयो, ताकि जस कसैले विश्‍‍वास गरेर उहाँकहाँ आउला उसले अनन्त जीवन पाओस् । अनि उहाँले उनीहरूलाई यसो पनि भन्नुभयो, “तिमीहरूलाई सतावट र दुःख हुनेछ, तर पनि मैले भनेका वचन तिमीहरूले स्मरण गर्नेछौ अनि शान्ति र आराम पाउनेछौ । जसरी म पनि शैतानका परीक्षाहरूमाथि विजयी भएँ अनि विजयी हुँदै आएँ, र शैतान ममाथि प्रबल हुनसकेन, त्यसै गरी ममाथि विश्‍‍वास गर्नेहरूमाथि पनि शैतानले परीक्षा ल्याउनेछ , तापनि तिमीहरू म जस्तै विजयी हुनसक्‍नेछौ ।” फेरि उहाँले आफ्‍ना चेलाहरूलाई पनि आश्‍चर्यकर्म गर्ने शक्ति प्रदान गर्दै भन्नुभयो, “दुष्‍ट मानिसहरूले तिमीहरूको शरीरलाई हानि गर्न खोजे तापनि म आफ्‍ना दूतहरू पठाईकन तिमीहरूलाई छुटकारा दिनेछु, र तिमीहरूको आत्मिक दौड़ यानि सेवाकार्य पूरा नहोउन्‍जेल तिनीहरूले तिमीहरूको ज्यान लिन सक्‍नेछैनन् । तिमीहरूको साक्षी पूरा भइसकेपछि तिमीहरूले दिएका साक्षी बन्द गरी त्यसमाथि छाप लगाउनालाई पनि तिमीहरूको ज्यान जान सक्‍नेछ ।”1BP 74.2

    उहाँका चेलाहरूले बड़ो खुशीसाथ र उत्सुकतापूर्वक उहाँका पवित्र मुखारविन्दबाट वचन सुनिरहेका थिए । त्यतिबेला मात्रै उनीहरूले पनि येशूनै संसारका मुक्तिदाता हुनुहुँदोरहेछ भनेर चिने । उहाँको प्रत्येक वचनले उनीहरूको हृदयमा गहिरो प्रभाव पारिरहेको थियो, तर कुनै न कुनै क्षण उहाँदेखि छुट्टिनै पर्ने छ, र फेरि-फेरि उहाँको मुखारविन्दबाट त्यस्ता शान्तिदायक र अनुग्रहमय वचन सुन्न पाइनेछैन भन्ने सम्झेर उनीहरू निराश भए । अनि फेरि जब उहाँले भन्नुभयो, “म जानेछु र तिमीहरूका निम्ति ठाउँ तयार पार्नेछु, अनि फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र सधैँभरि तिमीहरू मसितै हुनेछौ,” तब उनीहरूले फेरि ढाड़स पाए र आनन्दित भए । त्यसपछि उहाँले भन्नुभयो, “म तिमीहरूका निम्ति शान्तिदाता अर्थात् पवित्र आत्मा पठाउनेछु, जसले तिमीहरूलाई पथ-प्रदर्शन गर्नुहुनेछ र तिमीहरूलाई सत्य मार्गमा डोऱ्याउनुहुनेछ।” त्यति भनिसकेर उहाँले आफ्‍ना हात उठाईकन उनीहरूलाई आशिर्वाद दिनुभयो ।1BP 75.1