Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    अध्याय - १९
    मृत्यु मृत्यु नै हो; कष्‍ट भोग्‍नुपर्ने अनन्त जीवन होइन

    हव्‍वा र आदम अदनको बगैँचामा हुँदादेखिनै शैतानले यसरी छल गर्ने काम शुरु गऱ्यो । उसले हव्‍वालाई भन्यो, “तिमी अवश्‍‍य मर्ने छैनौ ।” यहाँ प्रथमचोटी शैतानले आत्मा (प्राण) अमर हुन्छ भनी बताएको देख्‍छौं । उसले त्यसबेलादेखि अहिलेसम्म छल गर्दै र मानिसलाई धोकामा पार्दै आइरहेको छ अनि धोका दिँदै नै रहने छ, जबसम्म उसलाई हजार वर्षका लागि बाँधेर अथाह कुण्डमा फालिँदैन । मलाई अदन बगैँचामा भएका आदम र हव्‍वालाई दर्शनद्वारा देखाइँदै थियो । जब उनीहरूले निषेध गरिएको वृक्षको फल खाइसके, तब जीवनको वृक्षको फलबाट पनि खाएर अनन्तसम्मै पापी नै भएर नबाँचून् भनेर परमेश्‍‍वरले उक्त जीवनको वृक्षको वरिपरि ज्‍वालामय तरवार राखीकन उनीहरूलाई बगैँचादेखि बाहिर निकालिदिनुभयो । जीवनको वृक्षको काम अमरता (अजम्मरी जीवन)लाई कायम राखिराख्‍नु थियो । मैले एकजना स्‍वर्गदूतलाई यसो भन्दै गरेको सुनें, “आदमको परिवारबाट कसले चाहिँ त्यो ज्‍वालामय तरवारबाट पार भएर जीवनको वृक्षबाट फल खायो ?” अनि अर्को स्‍वर्गदूतले उत्तर दिए, “अहँ, कसैले पनि त्यो ज्‍वालामय तरवारदेखि पार भएर जीवनको वृक्षबाट खाएको छैन, र अब अमर (अजम्मरी) रहने पापी कोहि हुनेछैन । जुन प्राणीले पाप गर्छ त्यसैले अनन्त मृत्यु भोग्‍नेछ, अर्थात् त्यो मृत्यु जुन सदा सर्वदाको लागि हुनेछ, र फेरि बौरी उठ्‍ने आशै हुनेछैन । तब परमेश्‍‍वरको क्रोध शान्त हुनेछ ।”1BP 116.1

    तर यो कुरो देखेर मलाई अचम्मै लाग्यो कि ‘जुन प्राणीले पाप गर्छ, त्यही मर्छ’ भन्ने परमेश्‍‍वरको वचनलाई शैतानले कति सजिलै ‘जुन प्राणीले पाप गर्छ, त्यो मर्दैन, तर अनन्तसम्म कष्‍ट भोग्दै बाँच्‍नेछ’ भनेर उल्टो अर्थ लगाईकन मानिसहरूलाई विश्‍‍वास गरायो । स्‍वर्गदूतले भने, “जीवन जीवनै हो, चाहे दुःखमा होस् चाहे सुखमा; तर मृत्युमा न ता पीड़ा वा कष्‍ट छ, न ता आनन्द नै छ। ”1BP 117.1

    ‘तिमी अवश्‍‍य मर्नेछैनौ’ भनेर अदनको बगैँचामा शैतानले जुन धोखापूर्ण र झूटो कुरा हव्‍वालाई भनेको थियो, त्यही कुरालाई विस्तृत रूपमा फैलाउन उसले आफ्‍ना सहचर दूतहरूलाई हुकुम गऱ्यो । अनि जब मानिसहरूले यस भ्रममा परेर मानिस अमर रहनेरहेछ भन्ने विश्‍‍वास गर्नथाले, तब शैतानले अझै बढ़ीकन उनीहरूलाई ‘पापीले अनन्त कालसम्म दुःख भोग्दै बाँच्‍नुपर्नेछ’ भनी विश्‍‍वास गरायो। त्यति भएपछी शैतानको लागि आफ्‍ना प्रतिनिधिहरूद्वारा काम गर्नु अनि मानिसहरूको नजरमा परमेश्‍‍वरलाई एक बदला फेर्ने र उहाँलाई खुशी नतुल्याउनेहरूलाई नरकमा खाँदेर आफ्‍नो क्रोधको भयानक प्रकोपमा तिनीहरूलाई अथाह पीड़ामा तड्‍पाईकन आफू सन्तोष मानेर तिनीहरूको देखान हेर्ने एक अत्याचारी एकतन्‍‍त्री शासक तुल्याउनलाई बाटो खुल्यो । शैतानलाई थाह थियो - मानिसहरूलाई यो भ्रमजालमा हाल्‍न पाए परमेश्‍‍वरलाई प्रेम गर्न र प्रशंसा गर्नको सट्टामा धेरैभन्दा धेरैजना डरले परपरै हुनेछन् र उहाँलाई मन पराउनेछैनन् । अनि धेरैजनाले ‘परमेश्‍‍वरका भयप्रद वचनहरू अक्षरशः पूरा हुँदैनन्’ भन्नपट्टि लाग्‍नेछन्, किनकि आफैले सृष्‍टि गरेकाहरूलाई अनन्त पीड़ामा हाल्‍नु उहाँको दयालु र प्रेमी चरित्रको प्रतिकूल व्यवहार हुन्छ । फेरि, शैतानले तिनीहरूलाई अर्को धारणापट्टि लगेर परमेश्‍‍वरको न्याय र उहाँको भयप्रद वचनलाई खेलाँची तुल्याएर तिनीहरूमा यस्तो विचारधारा पैदा गरिदियो, कि परमेश्‍‍वर यति अनुग्रहकारी हुनुहुन्छ, कि कोहि पनि नाश हुने नै छैन अर्थात् चाहे धर्मी होस् वा पापी - आखिरमा उहाँको राज्यमा सबैले नै उद्धार पाउनेछन् । मनुष्यको आत्मा अमर हुन्छ र यसले नरकमा अनन्त कष्‍ट भोग्‍नुपर्छ भन्ने भ्रम-विश्‍‍वासको फाइदा उठाईकन शैतानले अर्को एउटा पन्थ खड़ा गऱ्यो, जसलाई उसले बाइबल परमेश्‍‍वर-प्रेरित वचन होइन भनी सिकायो । तिनीहरूले यति नै विश्‍‍वास गर्छन्, कि बाइबलले धेरै असल असल शिक्षा दिन्छ; तर यसले अनन्त कष्‍ट (नरकको) विषयक शिक्षा दिन्छ भनी शिक्षा पाएकाले गर्दा तिनीहरूले यसमाथि भरोसा गर्दैनन्, न ता यसलाई मन पराउँछन् ।1BP 117.2

    यही शिक्षाको मौका छोपेर शैतानले फेरि अर्को पन्थ खड़ा गरेर परमेश्‍‍वरको अस्तित्‍वलाई अस्‍वीकार गर्न लगाउँछ । तिनीहरूको धारणा छ - यदि परमेश्‍‍वरले मनुष्य-जातिको कुनै एक भागलाई अनन्तसम्म पीड़ामा तड्‍पाउनुहुन्छ भने त्यहाँ बाइबलमा गरिएका परमेश्‍‍वरको वर्णनमुताबिक उहाँको गुण देख्तैनौं । तिनीहरूले बाइबल साथै यसका रचयिता परमेश्‍‍वरलाई इन्कार गर्छन् र मृत्युलाई सधैँभरिको लागि ठान्छन् ।1BP 118.1

    त्यसपछि शैतानले अर्को यस्तो पन्थ खड़ा गऱ्यो, जो पापदेखि औधि डराउँछन्; कथङ्‌कदाचित् उनीहरूले पाप गरिहाले भने पनि शैतानले उनीहरूलाई ‘पापको ज्याला मृत्यु ता होइन, तर अनन्त-अनन्तसम्म डरलाग्दो कष्‍ट र जलन भोग्दै बाँचिरहनुपर्छ’ भनेर निराश एवम् हताश तुल्याइदिन्छ । त्यसरी शैतानले उनीहरूको कामजोर मनलाई अनन्त नरकको डर देखाएर आतङ्कित तुल्याईकन अकलगुम पारिदिईवरी आफ्‍नो कब्‍जामा ल्यायो । त्यसपछि शैतान र उसका सहचर दूतहरू रमाए, अनि अविश्‍‍वासीहरू र नास्तिकहरूले ख्रीष्‍टिय विश्‍‍वासलाई कटु निन्दा गर्नथाले । यी सब नराम्रा नतिजाचाहिँ बाइबल र परमेश्‍‍वरमाथि विश्‍‍वास गर्नाले हो भनी तिनीहरू भन्न थाले ।1BP 118.2

    त्यसरी परमेश्‍‍वरका कामविरुद्ध शैतानले धृष्‍टतापूर्वक काम गरेको देखेर स्‍वर्गीय सैन्यदल आक्रोशले भरिए । मैले प्रश्‍न गरें - “परमेश्‍‍वरका दूतहरू यति शक्तिशाली छन् र उनीहरूले आज्ञा मात्रै पाए सहजै शत्रुको शक्तिलाई तोड़िदिनसक्छन्, तर पनि किन यस्ता भ्रम र भ्रान्तिहरूले मानिसको मनलाई कुप्रभावित हुनदेखि रोकटोक नगरिएको होला ?” तब मैले के देखें भने - मानिसलाई नष्‍ट-भ्रष्‍ट पार्न शैतानले येन-केन-प्रकारेण प्रयास गरि नै रहने कुरा परमेश्‍‍वरलाई थाह हुँदोरहेछ; त्यसैले उहाँले आफ्‍नो वचनलाई यति स्पष्‍ट र सुबोध भाषा - शैलीमा लेखाई प्रकाशित गराउनुहुँदो रहेछ, ताकि कमजोरभन्दा कमजोर व्यक्ति पनि भ्रममा नपरोस् । त्यसपछि परमेश्‍‍वरले आफ्‍नो वचन मानिलाई दिइसकेपछि शैतान र उसका दूतहरूले यसलाई नाश गर्न नसकून् भनेर आफ्‍नो वचनको सुरक्षा एवम् संरक्षण उहाँ स्‍वयम्‌ले गर्नुभयो । त्यसैले अन्यान्य पुस्तकहरू नाश भएर गए तापनि यो पवित्र ग्रन्थचाहिँ अमर अनि अजर ठहरियो । समयको अन्त हुने हुने बेलामा जति शैतानले आफ्‍नो भ्रमजाल फिँजाउँदै जान्छ, त्यति नै यस पवित्रशास्‍‍त्रका प्रतिलिपि पुस्तकहरू यति प्रशस्त मात्रामा उपलब्ध गराइन्छन्, कि प्रत्येक इच्छुक व्यक्तिले सो प्राप्‍त गर्न सक्‍नेछ, र उनीहरूले चाहे भने आफै नै परमेश्‍‍वरका वचनरूपी हतियार लिई शैतानका झूटा र धोकापूर्ण चमत्कारहरूविरुद्ध सामना गर्न सक्षम बन्नेछन् ।1BP 119.1

    मैले यो पनि देखें, कि परमेश्‍‍वरले आफ्‍नो वचन (बाइबल)को रखवारी गर्दा-गर्दै पनि बाइबलको अभाव भइरहेको समयमा कतिपय विद्वान्‌हरूले परमेश्‍‍वरको रहस्यमय वचनलाई सरल र सुबोध भाषाशैलीमा रूपान्तरित गर्छौ भनेर आफ्‍नै परम्परागत विचारधारा अनुसार रूपान्तर गरे । तर म ता परमेश्‍‍वरको वचनका आद्योपान्त भागलाई नै सिद्ध र श्रृङ्‌खलापूर्ण देख्‍छु । यसको एक भागलाई नबुझे, अर्को खण्डले त्यसको अर्थ बुझाएको हुन्छ । सत्यताको खोजी गर्नेहरू भ्रममा पर्न पर्दैन; किनकि परमेश्‍‍वरको वचन जीवनको मार्ग देखाउन सरल र सुबोध नै छ, त्यतिमात्र नभएर उहाँले हामीलाई पवित्र आत्मा पनि दिनुभएको छ, जसले उहाँको वचनमा देखाइएको जीवनको मार्ग बुझ्‍नमा सहायता पुऱ्याउनुहुन्छ ।1BP 120.1

    मैले देखें - परमेश्‍‍वरका दूतहरूले पनि मानिसको इच्छा-शक्तिमाथि कहिल्यै दबाउ ल्याएनन् । परमेश्‍‍वरले मानिसको सामु जीवन र मृत्यु राखिदिनुभयो । मानिसले दुइमा एक चुन्नुपऱ्यो । धेरैले जीवनै चाहे, तर चौड़ा बाटोमै हिँड़िरहे । त्यसको मतलब उनीहरूले जीवनलाई चुनेनन् ।1BP 120.2

    परमेश्‍‍वरले मानिसलाई यति विघ्‍न माया गर्नुभयो, कि पापीको निम्ति बलि हुन भनी आफ्‍नै पुत्र दिइहाल्‍नुभयो । मानिसहरूकै निम्ति यति धेरै दाम तिरिदिनुभएको उद्धारलाई जस जसले चुन्न अस्‍वीकार गर्छन्, उनीहरूका निम्ति दण्ड अवश्‍‍य छ । परमेश्‍‍वरद्वारा सृष्‍टि भएकाहरू परमेश्‍‍वरकै राज्यविरुद्ध बागी भए, तर मैले देख्दाहुँदी परमेश्‍‍वरले उनीहरूलाई अनन्त शास्ति भोग्‍नालाई नरकमा बन्द गर्नुभएन, न ता उहाँले उनीहरूलाई स्‍वर्गमा नै लान सक्‍नुभयो; किनकि उनीहरूलाई पवित्र जनहरूका समुदायभित्र ल्याउनुचाहिँ उनीहरूलाई अत्यन्तै सन्तापित तुल्याउनु मात्रै थियो । परमेश्‍‍वरले उनीहरूलाई स्‍वर्गमा पनि लानुहुन्न अनि अनन्तकालसम्म शास्ति भोग्‍न पनि दिनुहुन्न । परमेश्‍‍वरले उनीहरूलाई बिलकुलै नाश गरीकन नामोनिशानै मेटिदिनुहुनेछ, र त्यसपछि परमेश्‍‍वरको न्याय शान्त हुनेछ । परमेश्‍‍वरले मानिसलाई पृथ्वीको धूलो (माटो)ले बनाउनुभयो, अनि अनाज्ञाकारी र अपवित्र मानिसहरू आगोद्वारा भस्म भएर फेरि माटोमै परिणत हुनेछन् । तब मलाई यो देखाइयो कि यस कुरामा परमेश्‍‍वरको दया र भलाइ प्रकट भएकोले सबैले उहाँको गुणानुवाद गर्नेछन्, र पृथ्वीबाट दुष्‍टहरू भस्म भइसकेपछि समस्त स्‍वर्गीय समुदायले भन्नेछन् “आमेन !”1BP 120.3

    आफ्‍नो भ्रमजालमा फँसेका ती ख्रीष्‍टियानहरूलाई हेरी शैतान खूब रमायो । उसले अझै नयाँ-नयाँ युक्तिहरू रच्दै जानु छ । उसको शक्ति बढ्‍दै जान्छ, र अझै ऊ धूर्त र छली हुँदै जान्छ । अनि उसले आफ्‍ना प्रतिनिधिहरू अर्थात् पोपहरू र पादरीहरूलाई सुऱ्याईकन परमेश्‍‍वरलाई प्रेम गर्ने र ती प्रतिनिधिहरूद्वारा उसले प्रसारण गरेको भ्रममूलक शिक्षाको अधीनमा आउन नचाहनेहरूलाई सताउन मानिसहरूलाई उत्तेजित गरायो । त्यसरी शैतानले आफ्‍ना प्रतिनिधिहरूद्वारा ख्रीष्‍टका अनुयायीहरूलाई नाश गर्न खोज्यो । कति दर्दनाक कष्‍ट र पीड़ा सहनुपऱ्यो परमेश्‍‍वरका ती अति बहुमूल्य लोकहरूले ! तर ती सबको लेखा स्‍वर्गदूतहरूले राखिराखेका छन् ।1BP 121.1

    शैतान र उसका दूतहरू रमाए, र ती सतावट र दुःख सहिरहेका सन्तगणलाई साथ दिई स्थिर गराउनालाई सेवारत स्‍वर्गदूतहरूलाई तिनीहरूले चुनौती दिई भने, “हामी ती सबलाई नाश गरिदिन्छौं, यहाँसम्म कि त्यहाँदेखि उसो साँचो ख्रीष्‍टियान भन्ने यो पृथ्वीमा फेरि एउटै पनी भेट्टाइनेछैन ।” त्यसपछि ता मैले परमेश्‍‍वरको मण्डलीलाई झन् सिद्ध र पवित्र भएको देखें । भ्रष्‍टाचारी हृदय भएका मानिसहरू फेरि परमेश्‍‍वरको मण्डलीमा घुस्‍ने डर रहेन; किनकि विश्‍‍वासमा अडिग रहने साँचो ख्रीष्‍टियान भएपछि कि त सिकन्‍जामा चेप्‍टाइमाग्‍नु थियो, कि ता कीलामा बाँधीमाग्‍नु थियो, अर्थात् शैतानले युक्ति रचेर जे-जस्तो मानिसहरूका मनमा हालिदिन्थ्यो त्यही अनुसारको शासना भोग्‍नुपर्ने डर हुन्थ्यो ।1BP 121.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents