अध्याय - ३५
तेस्रो दूतको सन्देश बन्द भएको
हेर्दाहेर्दै मलाई त्यो समयको दर्शनपट्टि लगियो, जुन समयचाहिँ तेस्रो दूतको सन्देश बन्द हुनलागिरहेको समय रहेछ । त्यतिबेला परमेश्वरको शक्ति उहाँका लोकमाथि बसेको थियो । उनीहरूले आफ्ना सेवाकार्य पूरा गरीकन आफ्ना अगाड़ि राखिएको त्यो जाँचको घड़ीका निम्ति तयार भइरहेका थिए । उनीहरूले प्रभुको उपस्थितिबाट पनि अन्तिम वर्षा अर्थात् चङ्गाइ पाएका थिए, र त्यहाँ ज्वलन्त गवाही भएको थियो । त्यो ठूलो अर्थात् अन्तिम चेतावनी यत्र-तत्र-सर्वत्र ध्वनित भइसकेको थियो, अनि त्यसैले गर्दा उक्त सन्देशलाई ग्रहण नगर्ने पृथ्वीवासीहरू पनि क्रोधित भए ।1BP 202.1
त्यतिबेला पनि स्वर्गका दूतगण यता र उता दौड़िरहेका थिए । त्यसैबेला एकजना दूत एकपट्टि लेख्ने मसीदानी (सीङ) लिएर पृथ्वीदेखि फर्केर आइपुगे । अनि तिनले येशूलाई भने, “सन्तहरूका संख्या अर्थात् गणना लिने र छाप लगाउने मेरो काम गरी सिद्ध्याएँ ।” तब दश आज्ञा भएको वाचाको सन्दूक अगाड़ि सेवा गर्दै रहनुभएको येशूले धूपदानी भुइँमा राखीवरि आफ्ना हातहरू उठाईकन उच्च स्वरले भन्नुभयो, “अब पूरा भयो ।” अनि समस्त दूतगणले एकछिनको लागि आफ्ना मुकुटहरू खोले र ख्रीष्टले बड़ो गम्भीरतापूर्वक यस्तो घोषणा गर्नुभयो, “जो अधर्मी छ, त्यो अझै अधर्मी नै भइरहोस्; जो फोहोरी छ, त्यो अझै फोहोरी नै भइरहोस्; जो धर्मी छ, ऊ अझै धर्मी भइरहोस्; अनि जो पवित्र छ, ऊ अझ पवित्र भइरहोस् ।”1BP 202.2
मैले ता त्यतिबेलै को को जीवनका योग्य छन् र को को चाहिँ मृत्युका योग्य छन्, सो फैसला भएको देखें । ख्रीष्टले आफ्ना जनहरूका पाप मेटाइसक्नु भएको थियो । अनि उहाँले आफ्नो राज्य अधिकारमा लिएर आफ्ना प्रजाहरूका निम्ति प्रायश्चित पनि गरिसक्नुभएको थियो । जुन समयावधिमा ख्रीष्ट पवित्र निवासस्थान (sanctuary)-मा सेवा गर्दैहुनुहुन्थ्यो, त्यसबेला पहिले मरेका धर्मी जनहरूको न्याय हुँदै थियो, त्यसपछि जिउँदा धर्मी जनहरूको । उहाँको राज्यका प्रजाहरू नियुक्त भइसकेछन् । थुमाको विवाह पनि भइसकेको रहेछ । अनि सारा स्वर्गमनिको राज्य र त्यसको महत्ता ख्रीष्टलाई साथै उद्धारका हकवालाहरूलाई दिइसकिएको रहेछ, अनि ख्रीष्टचाहिँ त्यहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु भईकन राज्य गर्नुहुँदोरहेछ ।1BP 203.1
ख्रीष्ट त्यस परमपवित्र स्थानदेखि निस्कँदैगर्नुहुँदा मैले उहाँको पोशाकमा घण्टीहरूको आवाज सुनें, र जब उहाँ त्यहाँबाट पनि जानुभयो, तब अन्धकारको बादलले पृथ्वीवासीहरूलाई छोप्यो । त्यसपश्चात् पापी (दोषी) मानिस-जाति र क्रोधित परमेश्वरको बीचमा कोही पनि मध्यस्थ रहेन । जतिबेलासम्म ख्रीष्ट दोषी मनुष्य र परमेश्वरका बीचमा खड़ा हुनुहुन्थ्यो, तबसम्म मानिसहरूमाथि शैतानको वश चल्दैनथ्यो । तर जब ख्रीष्ट परमेश्वर र मानिसको बीचमा मध्यस्थता गर्न छोड़ेर त्यहाँबाट हिँड्नुभयो, तब शैतानले मानिसमाथि पूर्णरूपले अधिकार जमाउनथाल्यो । जबसम्म त्यस पवित्र निवासस्थान (sanctuary)-मा ख्रीष्टले सेवा गर्दैहुनुहुन्थ्यो, तबसम्म ती विपत्तिहरू खनिने प्रश्नै उठेको थिएन, तर जब उहाँको सेवाकार्य पूरा हुन्छ, र उहाँले मध्यस्थता गर्नु बन्द हुन्छ, तब परमेश्वरको क्रोध खनिनदेखिन् कसैले रोक्नसक्तैन, र त्यो चाहिँ ती दोषी पापीहरूका शिरमाथि खनिनेछ, जोहरूले त्यो उद्धार र सुधारको लागि दिइएको हप्कीलाई अपमानसहित इन्कार गरेका छन् । तर त्यस्तो डरलाग्दो समयमा पनि, अर्थात् ख्रीष्टले मध्यस्थता गर्न छोड़िसकेपछि उहाँका सन्तगणचाहिँ मध्यस्थविना पनि परमेश्वरको पवित्र उपस्थितिमा सुरक्षित थिए । जीवन र मृत्युको फैसला भइसकेको थियो औ जति पनि रत्नहरूको गणना लिइसकिएको थियो । तथापि ख्रीष्टले स्वर्गीय पवित्र निवास्थान (Heavenly Sanctuary )-को बाहिरी चोकमा एकछिन पर्खिनुभयो, र उहाँ त्यो परमपवित्र स्थानमा हुनुहुँदा जतिले आफ्ना पापहरू मानिलिएका थिए, ती सब पाप उहाँले शैतानमाथिनै खन्याइदिनुभयो, जसबाट पापको शुरूआत भएको थियो । उसले ती पापहरूको दण्ड पाउनैपर्छ ।1BP 203.2
त्यसपछि मैले यस्तो देखें, कि ख्रीष्टले ता आफ्नो पूजाहारी-पोशाक खोलीवरि सबभन्दा शानदार राजकीय पोशाक पहिरनुहुँदोरहेछ । उहाँको शिरमा खापमा खाप मुकुटहरू थिए, अनि वरिपरि स्वर्गदूतहरू लिएर उहाँ स्वर्गदेखिन् पनि जानुभयो । त्यस पश्चात् मैले पृथ्वीवासीहरूमाथि विपत्तिहरू खनिएका दृश्यहरू देखें । त्यसबेला कतिले ईश्वर-निन्दा गर्दै उहाँलाई सराप्दै थिए । अरू कतिचाहिँ परमेश्वरका जनहरू भए ठाउँ दगुरेर परमेश्वरको त्यो न्यायदेखि बाँच्नलाई के उपाय गर्नुपर्ने सो सिकाइमाग्नलाई उनीहरूको खुट्टै ढोगेर विन्ती गर्दै थिए । तर तिनीहरूलाई सिकाउनालाई ती परमेश्वरका जनहरूसित कुनै उपाय नै रहेको थिएन । पापीहरूका निम्ति अघि नै अन्तिम थोपा आँसु खसाइसकिएको थियो, अन्तिम बोझसहितको प्रार्थना चढ़ाइसकिएको थियो र अन्तिम बोझसमेत उठाइसकिएको थियो । अब तिनीहरूलाई बोलाउने त्यो मधुर, अन्तिम एवम् करूणामय आवाज नै रहेन । अन्तिमभन्दा अन्तिम चेतावनीको वचनको अन्तिम शब्दसमेत दिइसकिएको थियो । जुन समयमा परमेश्वरका जन साथै समस्त स्वर्गका दूतगणले तिनीहरूको उद्धारका निम्ति त्यति बिघ्न चासो लिएका थिए, त्यो समयमा तिनीहरूले चाहिँ आफ्नै निम्ति पनि केही चासो लिएनन् । तिनीहरूका सामु जीवन र मृत्युको चुनाउ राखियो, तर तिनीहरूले जीवनलाई नै हाँसोमा उड़ाए । अब ता पापीहरूलाई शुद्ध पार्न एक थोपा पनि त्यो प्रायश्चित्तको रगत रहेनछ । अनि तिनीहरूका निम्ति अर्जविन्ती गरिदिने कुनै मध्यस्थ उद्धारकर्ता रहेनछ । समस्त स्वर्गै त ख्रीष्टसित एक भइसकेका थिए, जब ता उनीहरूले उहाँको मुखारविन्दबाट ‘अब पूरा भयो !’ र ‘अब सिद्धियो’ भन्ने भयावह स्वरमा अन्तिम शब्द सुने । उद्धारको त्यो योजना पूरा भइसकेको थियो, जुन योजनालाई थोरैले मात्रै स्वीकार गरे । अनि जब त्यो अनुग्रहको मधुर स्वर हराएर गयो, तब मुटु कँपाउने स्पष्ट आवाजमा तिनीहरूले यस्तो वाणी सुन्छन्, “भो अब यति विलम्ब भयो ! विलम्ब भो !!”1BP 204.1
जस-जसले अघि परमेश्वरको वचनलाई महत्त्व दिएका थिएनन्, तिनीहरू पनि यता र उता हस्याङ-फस्याङ गर्दै कुदिरहेका थिए र परमेश्वरको वचन खोज्दै एक समुद्रदेखि अर्को समुद्र अनि उत्तरदेखि पूर्वसम्म चक्कर मारिरहेका थिए । दूतले मलाई भने, “तिनीहरूले त्यो पाउनेछैनन् । देशमा त्यो अनिकाल लागेको छ, जुनचाहिँ अन्न (रोटी)को होइन, न ता पिउने पानीकै हो; तर परमेश्वरको वचन सुन्न नपाउने अनिकाल ।” तिनीहरूले परमेश्वरबाट एक शब्द पनि मञ्जूरी पाउन के थोकचाहिँ दिनेथिएनन् होला ? तर होइन, तिनीहरू भोकाइरहन र तिर्खाइरहनैपर्छ । अघि तिनीहरूले त्यो उद्धारको योजनाको उपहास गरेका थिए र स्वर्गीय धनभन्दा सांसारिक मनोरञ्जन र सांसारिक धनलाई बढ़ी महत्त्व दिएका थिए । तिनीहरूले ख्रीष्टलाई नकारे र उहाँका सन्तगणलाई तिरस्कार गरे । फोहोरीहरू साँच्चै सदा-सर्वदा फोहोरी नै अवस्थामा रहन अवश्य छ ।1BP 205.1
ती विपत्तिहरूमा तड्पिन पर्दा अधिकांश दुष्टहरू रिसले चूर भएका थिए । साँच्चै नै त्यो अति दारूण दृश्य थियो । आमाबाबुले छोराछोरीहरूमाथि, छोराछोरीहरूले आमाबाबुमाथि, दाज्यूभाइहरूले दिदीबहिनीहरूमाथि र दिदीबहिनीहरूले दाज्यूभाइहरूमाथि ‘तिनीहरूले गर्दा म त्यो सत्यदेखि वञ्चित हुनुपऱ्यो, अर्थात तिमीहरूले नै मलाई त्यो सत्य अपनाउन दिएनौ, जुन सत्यले मलाई यो डरलाग्दो हालतदेखि बचाउने थियो’ भन्दै, बिलौना गर्दै र डाँको छोड़ेर रूँदै दोष हालाहाल गर्दैथिए । अरू मानिसहरूले मण्डलीका पदाधिकारी सेवकहरूलाई अति घृणित दृष्टिले हेर्दै र यसो भन्दै दोष लगाइरहेका थिए, “तिमीहरूले हामीलाई चेतावनी दिएनौ हगि ? तिमीहरूले ता ‘सारा संसारले उद्धार पाउन बाँकी नै छ’ भन्दैथ्यौ, अनि हामी परमेश्वरको डरले भयभीत हुँदा पनि तिमीहरूले ‘शान्ति ! शान्ति !!’ भनेर फोस्रो सान्त्वना दियौ । अनि तिमीहरूले यो विपत्तिको विषयमा हामीलाई बताउँदै बताएनौ र हामीलाई यसको विषयमा चेतावनी दिनेहरूलाई पनि तिमीहरूले ‘यिनीहरू ता हठधर्मीहरू हुन्, राम्रा होइनन्, यिनीहरूको कुरा सुनेर बर्बाद होऔला’ भनेर सुन्नै दिएनौ ।” तर मैले देख्ताहुँदि ती सेवक भनाउँदाहरू पनि परमेश्वरको त्यो प्रचण्ड क्रोधाग्निदेखि उम्कन सकेनन् । तिनीहरूको पीड़ा त झन् तिनीहरूका मानिसहरूको भन्दा पनि दशगुणा बेसी दर्दनाक थियो ।1BP 206.1