Loading...
Larger font
Smaller font
Copy
Print
Contents
भीषण प्रतिद्वन्द्व - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - ४
    ख्रीष्‍टको पहिलो आगमन

    त्यसपछि म त्यस बेलाको दर्शनमा आइपुगेछु, जति बेला ख्रीष्‍टले मानवावतार लिएर मानिसकै रूपमा आफूलाई होँच्याइकन शैतानबाटका परीक्षाहरू भोग्‍नु परेको थियो ।1BP 23.1

    उहाँको जन्म यस संसारको कुनै शानदार महलमा नभएर गाईको गोठमा भयो, र उहाँ डुँड़मा सुताइनु भयो, तर पनि उहाँको जन्म यति भव्य रूपमा सम्मानित भयो, त्यत्तिको स्तरमा कुनै पनि मानिस पुग्‍न सक्‍तैन । स्‍वर्गदूतहरूले गोठालाहरूलाई येशू जन्मेको समाचार दिए । त्यसबेला उनीहरूले गवाही दिनासाथ-साथै परमेश्‍‍वरबाट ज्योति र महिमा झल्केको थियो । स्‍वर्गीय सेनाले आफ्‍ना वीणाहरू बजाईकन परमेश्‍‍वरको महिमा गाए । उनीहरूले विजयको नारा लाउँदै मुक्तिको काम पूरा गर्न अनि आफ्‍नो मृत्युद्वारा मानिसका निम्ति शान्ति, आनन्द र अनन्त जीवन ल्याउनलाई परमेश्‍‍वरका पुत्र आउनुभएको शुभ सन्देश पतित संसारलाई सुनाए । परमेश्‍‍वरले उहाँका पुत्रको शुभागमनलाई सम्मानित गर्नुभयो, अनि स्‍वर्गदूतहरूले पनि उहाँलाई दण्डवत् गरे । जहाँ उहाँको बप्‍तिस्मा भइरहेको थियो, त्यही स्थलका माथि माथिबाट परमेश्‍‍वरका दूतहरूले उहाँलाई नै एकटक लाएर हेरिरहेका थिए, अनि पवित्र आत्मा पनि ढुकुरको रूपमा ओर्लेर उहाँमाथि बस्‍नुभयो । मानिसहरू पनि छक्‍कै पर्दै उहाँलाई नै एकटक लाएर हेरिरहेकै बेलामा माथि स्‍वर्गबाट यसो भन्ने आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसित म औधि प्रसन्न छु ।”1BP 23.2

    जो यर्दन नदीमा यूहन्नाबाट बप्‍तिस्मा लिन भनी जानुभएको थियो उहाँनै उद्धारकर्ता हुनुहुन्थ्यो भनेर यूहन्नालाई थाह थिएन; तर उहाँलाई चिन्नका निम्ति तिनलाई परमेश्‍‍वरले एउटा लाक्षणिक चिन्ह दिने प्रतिज्ञा गर्नभएको थियो । त्यहि चिन्हस्‍वरूप ढुकुरको रूपमा पवित्र आत्मा ओर्लेर येशूमाथि बस्‍नुभयो र चारैपट्टि परमेश्‍‍वरको महिमा झल्क्‍यो । यूहन्नाले येशूपट्टि नै आफ्‍नो औँलाले देखाउँदै कराएर भने, “हेर, संसारको पाप हरण गर्ने परमेश्‍‍वरको पाठो (थुमा) !” अनि आफ्‍ना चेलाहरूलाई पनि यूहन्नाले ‘आउनेवाला मसीह अर्थात् संसारका मुक्तिदाता चाहिँ येशू नै हुनुहुँदोरहेछ’ भनी समाचार पठाए ।1BP 24.1

    तिनले गर्नुपर्ने काम अब प्रायः समाप्‍त भइसकेकोले गर्दा तिनले आफ्‍ना चेलाहरूलाई पनि येशूलाई नै महान् गुरु मानेर उहाँका पछि लाग्‍नू भनी शिक्षा दिए । यूहन्नाको जीवन सुखदायक थिएन । तिनले कष्‍टदायक एवम् आत्मत्यागको जीवन व्यतीत गर्नुपऱ्यो । तिनले ख्रीष्‍टको प्रथम आगमनको घोषणा गरेपश्‍चात् उहाँका आश्‍चर्यकर्महरू देख्‍न र सामर्थ्यका काम हेर्न पाएनन् । जब येशू गुरु भइसक्‍नुहुन्छ, तब यूहन्नाचाहिँ अवश्‍‍यै मर्नुपर्छ भनेर तिनी स्‍वयम्‌लाई थाह थियो । तिनको स्‍वर उजाड़स्थानमा बाहेक अन्य ठाउँ प्रायः सुनिँदैनथ्यो । एकलासको जीवन तिनी बिताउँथे । तिनी आफ्‍ना पिताका घर-परिवारसित संग्‍लग्‍न रहेनन्, बरू आफ्‍नो सेवाकार्यका कामहरू पूरा गर्नालाई ती त्यागिदिए । भीड़का भीड़ मानिसहरू आफ्‍ना शहर र गाउँ छोड़ी ती अचम्मका अनि असाधारण भविष्यवक्ताका वचनहरू सुन्नलाई उजाड़स्थानतिर दौड़न्थे । तिनले रूखको जरामा बञ्‍चरो उजाईकन निर्भयसाथ दोष देखाइदिन्थे, र परमेश्‍‍वरका थुमाको बाटो तयार गर्थे ।1BP 24.2

    यूहन्नाका सामर्थ्यशाली वचनहरू र प्रभावशाली गवाहीले हेरोदलाई निकै प्रभाव पारेको थियो । गम्भीर जिज्ञासा लिएर तिनले यूहन्नालाई ‘तपाईंको शिष्य बन्नलाई मैले के के गर्नुपर्छ ?’ भनी सोध्थे । तर हेरोदले आफ्‍नो भाइ जीवित छँदाछँदै बुहारी बिहे गर्न आँटेको कुरा यूहन्नालाई थाह थियो । अनि तिनले हेरोदलाई ‘तपाईंले अनुचित काम गर्दैहुनुहुन्छ’ भनेर पनि सम्झाए । तर हेरोदले त्यही कुरो त्याग्‍न सकेनन् । तिनले आफ्‍नो भाइकी पत्‍नी ल्याएरै छोड़े । त्यही स्‍‍त्रीको कुचक्रमा परेर तिनले यूहन्नालाई झ्यालखानमा हाल्‍न पनि विवश भएका थिए, तरै पनि हेरोदले चाहिँ उनलाई छोड़िदिनै चाहन्थे । झ्यालखानमा हुँदा यूहन्नाले आफ्‍ना चेलाहरूद्वारै येशूका सामर्थ्यका कामहरूका विषयमा सुन्थे, तर उहाँकै मुखारविन्दबाट चाहिँ उनले अनुग्रहका वचनहरू सुन्ने मौका पाएनन् । उनका चेलाहरूले वचनहरू सुनीकन आएर ती यूहन्नालाई सुनाइदिन्थे, जसबाट उनले ढाड़स पाउँथे । तर त्यो पनि धेर दिनसम्म हुन पाएन, किनभने त्यही स्‍‍त्रीको षड्‌यन्‍‍त्र परेर यूहन्नाको शिर काटिनपऱ्यो । अन्तमा मैले के देखें भने - ती थोरैभन्दा थोरै चेलाहरू, जसले येशूका पछि लागेर उहाँका आश्‍चर्यकर्महरू देख्‍ने र उहाँका मुखारविन्दबाट निस्केका शान्तिदायक वचनहरू सुन्ने सौभाग्य पाए, उनीहरू नै बाप्‍तिस्मादाता यूहन्नाभन्दा पनि महान् भए । अर्थात् उनीहरूले उच्‍चतर प्रशंसा अनि आदर पाए, र बढ़ी सुखमय जीवन बिताउन पाए ।1BP 25.1

    त्यसताक यूहन्ना ख्रीष्‍टको पहिलो आगमनको उद्‍घोषना गर्न एलियाहका आत्मा र सामर्थ्यमा आए भनी आत्माले मलाई बताउनुभयो । साथै अन्तका दिनहरूपट्टि लगेर मलाई यो पनि देखाउनुभयो, कि यूहन्नाले उनीहरूको पनि प्रतिनिधित्‍व गर्नुपरेको थियो, जोहरू परमेश्‍‍वरको क्रोधको दिन र ख्रीष्‍टको दोस्रो आगमनको घोषणा गर्न एलियाहकै आत्मा र सामर्थ्यमा निस्किआउनेछन् ।1BP 25.2

    ख्रीष्‍ट येशूले यर्दनमा बप्‍तिस्मा लिइसक्‍नुभएपछि आत्माले उहाँलाई शैतानबाट परिक्षा भोग्‍न उजाड़स्थानमा लैजानुभयो । चालीस-चालीस दिनसम्म केही पनि नखाई चारैतिर उजाड़ र नीरव वातावरणबीच केवल जङ्गली जनावर र शैतानका माझमा एक्‍लै शैतानका परीक्षाहरूमा पर्नु मानिसका निम्ति ता कल्पना गर्दै नसक्‍ने कुरा थियो । तर पवित्र आत्मालेनै उहाँलाई ती सब सामना गर्न सक्षम तुल्याउनुभयो । मैले उहाँलाई त्यसरी केही नखाई परीक्षा र दुःख भोग्दा-भोग्दा क्षीण र रक्तहीन भइसक्‍नुभएको देखें । तर पनि उहाँको जुन दौड़ निर्धारित भइसकेको थियो, र जुन कामका निम्ति उहाँ आउनुभएको थियो, सो उहाँले पूरा गरेरै छाड्‍नुपरेको थियो । ती परमेश्‍‍वरका पुत्रले आफूलाई होँच्याईकन आफू मनुष्यै बन्नुभएको कारणवश दुःख-कष्‍ट भोग्‍नुभयो । त्यही फाइदा उठाईकन शैतानले उहाँमाथि प्रबल भई विजय हासिल गर्न पाउँछु कि भन्ने आशाले उहाँलाई अनेक किसिमका परीक्षाहरूको घेरोमा पाऱ्यो । उहाँलाई परिक्षा गर्दै शैतानले भन्यो, “यदि तपाईं परमेश्‍‍वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई ‘रोटी भइजा’ भनी आज्ञा गर्नुहोस् ।” त्यसरी ईश्‍‍वरीय शक्ति देखाएर उहाँ साँच्‍चै मसीह हुनुहुन्छ कि हुनुहुन्न प्रमाणित गरेर देखाउनू भनी शैतानले उहाँलाई चुनौती दियो । तब उहाँले नम्रतापूर्वकै जवाफ दिनुभयो, “मानिस रोटीले मात्रै होइन, तर परमेश्‍‍वरका मुखारविन्दबाट निस्केको प्रत्येक वचनले बाँच्दछ ।”1BP 26.1

    उहाँ परमेश्‍‍वरका पुत्र हुनुहुन्छ भन्ने कुराको सन्दर्भमा शैतानले उहाँसित बहस गर्न खोजिरहेको थियो । ‘के परमेश्‍‍वरको पुत्रको पनि कहीँ यस्तो खालको दुर्बल र दुःखमय अवस्था हुन्छ र ?’ भन्ने प्रश्‍न गर्दै शैतानले आफूलाई येशूभन्दा शक्तिशाली छु भन्ने धाक पिटिरहेको थियो । तर जे होस्, ‘तिमी मेरा प्रिय पुत्र हौ, जसमा म औधि प्रसन्न छु’ भनी आकाशबाट ध्वनित त्यो दिव्य वाणी नै त्यस्तो कष्‍टपूर्ण अवस्थामा पनि उहाँका निम्ति पर्याप्‍त थियो । मैले देखें - उहाँका सेवाकार्यावधिभरि उहाँलाई आफ्‍नो ईश्‍‍वरीय शक्ति देखाएर संसारका मुक्तिदाताको रूपमा शैतानलाई आफ्‍नो परिचय दिइरहनु केही आवश्‍‍यकता थिएन । उहाँलाई उच्‍च स्थान र अधिकार दिइएको ता शैतानले प्रत्यक्षै रूपमा देखेकै थियो । त्यसैले येशूको अधिकारमनि आउन अस्‍वीकार गरेकोले त्यसलाई स्‍वर्गदेखि निष्कासित गरिएको हो ।1BP 26.2

    अर्कोपल्ट, आफ्‍नो शक्ति देखाउन शैतानले येशूलाई यरूशलेममा लगीकन मन्दिरको टुप्पामा राखेर फेरि यसो भन्दै परीक्षा गऱ्यो, “यदि तपाईं परमेश्‍‍वरकै पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्‍नुहोस् ।” त्यसले उहाँलाई यति अग्‍लो जग्गाबाट हामफाल्‍न लगाइरहेको थियो, जहाँदेखि तलतिर हेर्दा रिँगटा लाग्‍ने थियो । त्यसले उहाँलाई यसो भन्दै प्रोत्साहन पनि दिन खोज्यो, “किनकि यस्तो लेखिएको छ, ‘कथङ्‌कदाचित् तपाईंको खुट्टा ढुङ्गामा बजारिहाल्छ कि भनेर तपाईंलाई हात-हात उचालिराख्‍नलाई उहाँले तपाईंकै निम्ति आफ्‍ना दुतहरूलाई खटाउनुहुनेछ’ ।” प्रत्युत्तरमा येशूले भन्नुभयो, “यसो पनि ता भनिएको छ, ‘आफ्‍ना परमप्रभु परमेश्‍‍वरलाई परीक्षा नगर्नु’ ।” त्यसरी येशूलाई उहाँका पिताको करूणाको अनुचित फायदा उठाउनु लगाएर उहाँको सेवाकार्य पूरा हुनअघिनै उहाँको ज्यानधरि खतरामा पार्ने शैतानको दाउ थियो । अनि त्यसले त्यो उद्धारको योजनालाई विफल तुल्याउँछु नै भन्ने सोचेको थियो; तर त्यस योजनाको जग त्यसले नष्‍ट गर्न नसक्‍ने गरी गहिरो बसालिएको मैले देखें ।1BP 27.1

    अनि सबै ख्रीष्‍टका विश्‍‍वासी जनहरूले परीक्षामा पर्दा कसरी धैर्यसाथ सहन गर्नुपर्छ अनि अधिकार पाएको छु भन्दैमा त्यसलाई जथाभावी उपयोग अर्थात् दुरुपयोग गर्नु नहुने रहेछ भनी ख्रीष्‍टले स्‍वयम् नमुना भई देखाइदिनुभएको मैले देखें । उनीहरूमध्ये कसैले पनि परमेश्‍‍वरलाई पुकारीकन उहाँको सामर्थ्य प्रदर्शन गर्न लगाएर आफ्‍ना शत्रुहरूमाथि विजय हासिल गर्छु भनी कदापि सोच्‍नु हुँदैन, जबसम्म त्यसबाट परमेश्‍‍वरको आदर र महिमा हुने विशेष लक्ष्य देखिन्न । यदि येशूले त्यस मन्दिरको गजुरबाट हामफाल्‍नुभएको भए त्यसबाट परमेश्‍‍वरको महिमा हुने थिएन, किनकि त्यो शैतान र परमेश्‍‍वरका दूतहरूले बाहेक अरू कसैले पनि देख्‍ने थिएन । त्यो ता केवल परमेश्‍‍वरलाई परीक्षा गरेर उहाँका घोर शत्रुको सामु उहाँको सामर्थ्यको रहस्योद्‍घाटन गर्न खोजेजस्तो मात्रै हुने थियो, अनि त्यस शत्रुको सामु आफ्‍नो बड़प्पन देखाएको जस्तो हुनेथियो । वास्तवमा उहाँ आफ्‍नो बड़प्पन देखाउनलाई होइन, तर शैतानमाथि विजयी हुनलाई आउनुभएको हो ।1BP 28.1

    अनि फेरि एकैछिनमा शैतानले उहाँलाई एउटा अग्‍लो पर्वतमाथि लगेर संसारका सबै राज्यहरू देखायो । त्यसपछि शैतानले उहाँलाई भन्यो, “यी सबै अधिकार र यिनीहरूको गौरव म तपाईंलाई दिनेछु; किनकि यो मलाई नै सुम्पिएको छ, र जसलाई म चाहन्छु उसैलाई यो म दिनेछु । यसकारण तपाईंले मलाई दण्डवत् गऱ्यौ भने यी सब तपाईंकै हुनेछन् ।” अनि येशूले उसलाई जवाफ दिईकन भन्नुभयो, “ए शैतान, हटी जा ! किनकि यस्तो लेखिएको छ, ‘तैँले आफ्‍ना परमप्रभु परमेश्‍‍वरलाई दण्डवत् गर्नू र केवल उहाँकै सेवा गर्नु’ ।”1BP 28.2

    यहाँ शैतानले ख्रीष्‍टलाई संसारभरिका राज्यहरू देखाइदियो, जुनचाहिँ उहाँका सामु अत्यन्तै झिलिमिलि देखापरिरहेको थियो । येशूले उसलाई दण्डवत् गरिदिनुभए त्यसले ती सब उहाँलाई दिने भएको थियो, किनकि यदि त्यो उद्धारको योजना सफलीभूत भए त्यसको ती सब अधिकार अवश्‍‍यै सीमित मात्र नरहेर अन्तमा खोसिएर जाने कुरा पनि शैतानलाई थाह थियो । यदि ख्रीष्‍टले मानिसलाई उद्धार गर्ना आफ्‍नो प्राण बलि गरिहाल्‍नुभयो भने केही समयपछि उसको अधिकारको अन्त हुने, र ऊ आफै पनि नाश हुने कुरा उसलाई विदितै थियो । त्यसैकारण ती परमेश्‍‍वरका पुत्रले थाल्‍नुभएको त्यो महान् उद्धार-कार्यमा भरशक्‍य भाँजो हालेर पूरा हुन नदिने नै उसले अघिबाटै युक्ति रचिसकेको थियो । यदि मानिसको उद्धारको त्यो योजनालाई विफल पारेर उही सफल भइदिएको भए त्यस शैतानले दावा गरेको राज्य उसकै रहने थियो र ऊ स्‍वर्गका परमेश्‍‍वरको विरोधी राजा भईकन राज्य गरिरहने थियो ।1BP 29.1

    येशूले स्‍वर्ग अनि त्यहाँका अधिकार र महिमालाई छोड़िराख्‍नुहुँदा शैतान खूब रमायो । परमेश्‍‍वरको पुत्र बल्‍ल मेरो मुठ्ठीमा आयो भन्ने उसले सोच्यो । अदनको बगैँचामा हव्‍वा र आदमलाई सजिलैसँग बहकाएर गिराएझैं ती परमेश्‍‍वरका पुत्रलाई पनि आफ्‍नो शैतानिक छल र शक्तिद्वारा पुर्लुक्‍कै पारेर आफ्‍नो ज्यान र राज्य बचाउन सकुँला भन्ने उसले सोच्यो । तर यदि उसले येशूलाई परीक्षा गरेर पिताको इच्छाबाट पथभ्रष्‍ट पार्न सफल हुनसकेको भए उसको लक्ष सम्भवतः पूरा पनि हुने थियो । तर येशूले शैतानलाई भन्नुभयो, “मदेखि हटी जा । म पितालाई मात्रै दण्डवत् गर्छु ।”1BP 29.2

    येशूले आफ्‍ना लोकहरूलाई आफ्‍नै प्राण दिईकन शैतानको राज्यदेखि छुटकारा दिने अनि केही समयपछि सम्पूर्ण स्‍वर्ग र पृथ्वीकाहरूले उहाँकै अधीनता स्‍वीकार गर्ने समय निर्धारित भइसकेको थियो । त्यसैले शैतानले संसारका सबै राज्य उसकै हो भन्ने दावा गर्दै ‘यदि तपाईंले मलाई एकपल्ट दण्डवत् मात्रै गरिदिनुभए यी संसारका राज्य हासिल गर्न तपाईंले कुनै प्रकारको कष्‍ट वा मृत्यु भोगिरहन पर्नेछैन; यी सब तपाईंकै हुनेछन्’ भन्दै उहाँलाई ललाइफकाइमा पार्न खोज्यो । तर उहाँ अडिग रहनुभयो । उहाँले अवैध रूपमा होइन, विधिवत् रूपमै पृथ्वीका राज्यहरूका हकवाला बनेर अनन्त धनस्‍वरूप ती हासिल गर्न आफ्‍ना पिताले ठहराएबमोजिम बरू कष्‍टमय जीवन र दर्दनाक मृत्यु नै रोज्‍नुभयो । आखिरमा फेरि-फेरि येशूलाई र स्‍वर्गीय सन्तहरूलाई दुःख दिन नपाओस् भनेर शैतान पनि दोस्रो मृत्युद्वारा नाश गरिन उहाँकै हातमा सुम्पिइने छ ।1BP 30.1